पहिलो तीन आर्यसत्यहरू
बुद्धले बताउनुभए अनुसार हाम्रो यथार्थ दुःख भनेको हामी आफैंले आफ्ना बेखुसी र असन्तुष्टिपूर्ण सुखका उतारचढावलाई निरन्तरता दिइरहनु हो, र यो अवस्था भोग्ने सीमित क्षमतायुक्त शरीर र मनलाई बारम्बार ग्रहण गरिरहनु हो। यसको यथार्थ कारण हामी स्वयंको र यी मनोभावहरूको अस्तित्व कसरी हुन्छ भन्नेसम्बन्धमा रहेको अज्ञान (अविद्या) हो। तिनको असम्भव अस्तित्वको हामी प्रक्षेपण गर्छौं (जस्तैः आत्म–निहित ठोस सत्ताको रूपमा) र त्यो भ्रामक रूप जसमा हामी तिनलाई देख्छौं, त्यही तिनीहरूको वास्तविक अस्तित्व हो भन्ठान्छौं। यो मिथ्या धारणाले विचलनकारी आवेगहरू (क्लेश) उत्पन्न गराउँछ, जसबाट बाध्यकारी कार्मिक प्रवृत्तिको निर्माण हुन्छ र हामी जसलाई “आफू” भन्ने ठानिरहेका छौं त्यसैको बचाउ गर्ने वा त्यसैलाई प्रबल बनाउने काम गर्छौं। तर यो धारणा एक भ्रम मात्र हो। मर्ने बेला यही भ्रमले हामीलाई धकेल्छ र हामी सीमित क्षमतायुक्त शरीर तथा मनका साथ संसारमा अनियन्त्रित ढंगले बारम्बार पुनर्जन्म लिइरहन्छौं।
बुद्धले आफैंले बोध गरेर के बताउनुभयो भने यी यथार्थ कारणहरूलाई निर्मूल गर्न सम्भव छ, त्यसैले यथार्थ दुःखहरूलाई पनि फेरी कहिल्यै उत्पन्न नहुने गरी निर्मूल गर्न सकिन्छ। चौथो आर्यसत्यले एक पक्का उपचारको काम गर्दै यस्तो यथार्थ निरोधको अवस्था ल्याउँछ।
सही बोध नै अविद्यालाई सदाका लागि निर्मूल गर्ने यथार्थ मार्ग हो
सामान्यतया, कुनैबेला बेखुसी वा असन्तुष्टिपूर्ण खुसी वा भावविहीनताको अनुभूति भयो भने हामी त्यसलाई असाध्यै ठूलो र सघन बनाइदिन्छौं; मानिलिउँ त्यो अनन्त कालसम्म कायम रहनेछ। तर वास्तविकता के हो भने हामीलाई हुने कुनै पनि अनुभव त्यस्तो विशेष हुँदैन – ती सबै अ–स्थिर र अस्थायी हुन्छन्। जबसम्म ती छन्, तिनको सघनतामा परिवर्तन आइरहेको हुन्छ। र, आखिरमा स्वाभाविक रूपमा तिनीहरूको अन्त पनि हुन्छ। हामी यो कुराप्रति अनभिज्ञ हुन्छौं र यसको विपरीत कुरा सोच्छौं। र, आफ्नो दिमागमा चर्कोसँग चलिरहेको बकवादको फन्दामा पर्छौं – “म यो खुसीबाट कहिल्यै अलग्गिन चाहन्न; यो यस्तो अद्भूत छ,” वा “म यो बेखुसीबाट छुटकारा चाहन्छु, यो अति भयानक छ, म यसलाई सम्हाल्न सक्दिन,” अथवा “म यो भावविहीनता कहिल्यै अन्त नहोस् भन्ने चाहन्छु, यो यस्तो आरामदायक छ।” यो “म” प्रतिको पकड र यही “म” लाई बढाएर कुनै ठोस सत्ता बनाउने कामले हाम्रा विचलनकारी आवेग (क्लेश) र बाध्यकारी व्यवहार (कर्म) लाई सक्रिय गराउँछ, र यसैबाट हामी दुःखी भैरहन्छौं।
म भन्ने एक ठोस सत्ता हो, जसलाई म “आफू” भन्छु त्यो स्वयं–स्थापित हो, त्यो शरीर, मन तथा विचारहरूसँग बिल्कुल असम्बन्धित अलग सत्ता हो – यस्तो धारणा तपाईंको छ भने किन छ, आफैँलाई प्रश्न गर्नुहोस्। “म त्यस्तो सोच्छु, किनकि मलाई त्यस्तै लाग्छ” – यदि तपाईंको जवाफ यो हो भने फेरी आफूलाई सोध्नुहोस्, “के कुनै पनि कुरामा विश्वास गर्नका लागि मलाई त्यस्तै लाग्छ भन्ने तर्क मात्र पर्याप्त हुन्छ?” मलाई त्यस्तै लाग्छ भन्नेमा मात्र भर परेर यदि हामीले कुनै काल्पनिक प्रक्षेपणमा विश्वास गर्यौं, र त्यो पनि आफैंसँग सम्बन्धित कुरा रहेछ भने, फेरी किन त्यसलाई लिएर हामी असुरक्षित महसुस गर्छौं? हामी असुरक्षित महसुस गर्छौं किनभने त्यस्तो मिथ्या धारणालाई अड्याइराख्नका लागि कुनै आधार नै छैन - न कुनै तथ्य न कुनै तर्क।
सत्य कुरा के हो भने कुनै कुरा देख्दा, सुन्दा, सुँघ्दा, चाख्दा, स्पर्श गर्दा, वा सोच्दा हुने खुसी, बेखुसी वा भावविहीनताको कुनै पनि अनुभूतिमा त्यस्तो केही खास तत्त्व हुँदैन। तिनलाई पकडेर नै बस्नुपर्ने गरी केही विशेष कुरा छैन। तिनलाई पकड्नु भनेको त बादललाई पकड्नु जस्तै हो, बिल्कुलै निरर्थक काम हो। त्यस्तै यो “म” र यसले विभिन्न समयमा गर्ने अनुभवमा त्यस्तो केही खास कुरा छैन। एक आत्म–निहित ठोस तत्त्व जो दिमागी बकवादमा रुमल्लिरहन्छ र आफूले मन लागेको कुरामात्र गर्न खोज्छ, हाम्रो अस्तित्व त्यो रूपको होइन। हाम्रो अस्तित्व त छ। तर “मलाई त्यस्तै लाग्छ” भनेको आधारमा जुन असम्भव रूपमा कल्पना र विश्वास गर्छौं, त्यो रूपमा होइन।
आफ्नो बारेको यस्तो मिथ्या धारणा र भ्रमपूर्ण विश्वासलाई काट्न हामीलाई त्यस्तो प्रतिपक्ष चाहिन्छ जसले तिनलाई पूर्णरूपमा नष्ट गरोस्। त्यत्तिकै मनलाई चुप लगाएर र सोच्न बन्द गराएर केही बेरका लागि आफ्नो भ्रमलाई दबाउन सकौंला, तर त्यसैले मात्र तिनीहरू फेरी उत्पन्न नहुने होइनन्। हाम्रो यथार्थ दुःखको यथार्थ कारणलाई समूल नष्ट गरेर यथार्थ निरोध प्राप्त गर्ने चित्तको यथार्थ मार्ग भनेको त्यस्तो चित्तावस्था हुनुपर्छ जसले यसप्रकारको अज्ञानलाई बिल्कुलै रहन नदिने प्रतिपक्षको काम गरोस्। अज्ञानको प्रतिपक्ष ज्ञान हो। त्यसो भए हामीलाई केको ज्ञान हुनुपर्ने हो? हामी आत्म–निहित ठोस सत्ताको रूपमा अस्तित्ववान छौं भन्ने मिथ्या धारणालाई त्यस्तो सत्ता हुँदैन भन्ने कुराको अविकल्पात्मक बोधले नष्ट गर्छ। त्यस्तो सत्ताको शून्यताको अविकल्पात्मक प्रत्यक्ष बोध चाहिन्छ। शून्यता सम्बन्धमा कुनै धारणाद्वारा आएको विकल्पयुक्त एकाग्र चिन्तनले काम गर्दैन – चाहे त्यो सही नै किन नहोस्। हामीले जेलाई सत्य भन्ठानेका थियौं, त्यो खासमा सत्य होइन रहेछ भन्ने कुरा युक्तिसंगत तवरले अविकल्पात्मक अनुभवबाट बोध भयो मात्र त्यो मिथ्या धारणा नष्ट हुन्छ। अर्थात् “मलाई त्यस्तै लाग्छ” भन्ने आधारमा सत्य ठानिएको, र त्यो असत्य हो भन्ने कुरा थाहा नभएको अवस्था अन्त्य हुन्छ। यस्तो अविद्याले हामीमा प्रवृत्ति र आदतको रूपमा अत्यन्तै गहिरो जरो गाडेर बसेको हुन्छ, त्यसैले तिनीहरूको उन्मूलन पनि क्रमशः तथा चरणबद्ध रूपमा हुन्छ।
मार्गका चार पक्ष
बुद्धले यथार्थ मार्ग विवेकपूर्ण बोध (प्रज्ञा) सँग सम्बन्धित भएको बताउनुभएको छ जुन अविकल्पात्मक शून्यताको बोधका साथ आउँछ। यो प्रज्ञा त्यस्तो मानसिक तत्त्व हो जसले सत्यलाई असत्यबाट अलग राखेर हेर्छ।
- प्रथमतः विवेकपूर्ण बोध (प्रज्ञा) चित्तको त्यस्तो मार्ग हो जसले अविद्याका विभिन्न पत्रहरूलाई क्रमैसँग उखाल्दै र पूर्ण रूपमा नष्ट गर्दै लैजान्छ। प्रारम्भिक चरणमा यसले हामीलाई ती अविद्या र भ्रमहरूबाट सधैंका लागि मुक्त गर्छ जो अनेक विश्वास र मान्यताका अनेक पद्धतिहरूबाट हामीले सिकेका कारण आएका हुन्छन्, जो हामीले आफ्ना मातापिता वा समाजबाट ग्रहण गरेका हुन्छौं। यसमा व्यावसायिक विज्ञापन र सोसल मिडियाबाट परेका प्रभाव पनि पर्छन्।
सोसल मिडियामा मानिसहरूले राखेका सेल्फी तपाईंले देख्नुभएको होला, जसमा तिनीहरू सुन्दर देखिन्छन् र मोजमस्ती गरिरहेका हुन्छन्। त्यो देख्दा आफ्नो रूप कस्तो हुनुपर्छ, जीवन कसरी बिताउनुपर्छ, आदि विषयमा तपाईंको धारणा कसरी प्रभावित हुन्छ? त्यसले तपाईंलाई खुसी बनाउँछ वा दुःखी? विवेकपूर्ण बोधका माध्यमबाट हामी जान्दछौं कि त्यहाँ जे राखिएका छन्, तिनले वास्तविक जीवनको यथार्थ प्रतिविम्बित गर्दैनन्। अर्थात् तिनले वास्तविक जीवनको यथार्थ प्रतिविम्बित गर्छन् भन्ने मिथ्या धारणाबाट हामी मुक्ति पाउँछौं। फलस्वरूप ती सेल्फीसँग आफूलाई तुलना गर्दै आफू पनि त्यस्तै हुनुपर्ने लालसा र त्यसका कारण हुने दुःख र निराशाबाट हामी मुक्ति पाउँछौं।
यो पहिलो चरणबाट माथि उठेर जब हामी “आर्य” अर्थात् उच्च क्षमतायुक्त बन्छौं, तब सहज उपलब्ध प्रज्ञाका माध्यमले आफूमा स्वचालित रूपमा उत्पन्न भैरहने अविद्याबाट क्रमशः तर पूर्णतः छुटकारा पाउँछौं। आफूभित्र हरसमय चलिरहने दिमागी बकवादसँगै “म” नामको भेटिने ठोस सत्ता छ भन्ने धारणा उत्पन्न भैरहन्छ, यो अविद्याको उदाहरण हो। यसबाट हामी मुक्ति पाउँछौं र अन्ततः पूर्ण बोधिलाभ पनि। शून्यताको बोधले हामीलाई यथार्थ दुःखका यी यथार्थ कारणहरूबाट सदाका लागि मुक्त गर्छ भन्ने ज्ञान भएसँगै तिनबाट मुक्ति सम्भव छैन भन्ने मिथ्या धारणा नष्ट हुन्छ।
- दोस्रो, प्रज्ञाका माध्यमले हामी के जान्दछौं भने त्यस्तो कुनै आत्म–निहित ठोस सत्ता छैन जसलाई साँच्चिकै “म” भन्न सकियोस्। त्यस्तो सत्ता छ भन्ने अविद्या र मिथ्या धारणालाई सदाका लागि निर्मूल गर्ने उपयुक्त माध्यम प्रज्ञा हो। प्रज्ञा त्यस्तो अविद्याको परस्पर निषेधी (एउटा हुँदा अर्को नहुने) प्रतिपक्ष हो। त्यस्तो कुनै चीज छ र त्यस्तो कुनै चीज छैन भन्ने परस्पर निषेधी कुराहरूलाई एकैसाथ लिएर बस्न सकिँदैन नि, होइन? यो तथ्यले प्रज्ञा यथार्थ निरोधको उपयुक्त माध्यम होइन भन्ने मिथ्या धारणालाई पनि काट्छ।
- तेस्रो, शून्यताको विवेकपूर्ण बोध आर्य, मुक्त सत्त्व र सम्यक सम्बुद्ध बन्ने क्रमिक चरणहरूको प्राप्तिको पनि साधन हो। यो तथ्यले कुनै एक प्रकारको गहिरो समाधिको अभ्यास मात्रले ती चरणहरू प्राप्त हुन्छन् भन्ने मिथ्या धारणालाई काट्छ।
- अन्तिममा, प्रज्ञा हाम्रो मुक्ति तथा संबोधि रोक्ने विचलनकारी आवेग (क्लेश) र तिनका आदत तथा प्रवृत्ति (कर्म) लाई सम्पूर्ण रूपमा निर्मूल गर्ने साधन हो। यो तथ्यले ती हाम्रो चित्तको मूल स्वभावका अंग हुन् र पूर्ण रूपमा कहिल्यै पनि निर्मूल हुँदैनन् भन्ने मिथ्या धारणालाई काट्छ।
सारांश
विवेकपूर्ण बोध (प्रज्ञा) सँगै आउने अविकल्पात्मक शून्यताको बोध नै चित्तको त्यो यथार्थ मार्ग हो जसले हाम्रा यथार्थ दुःखका यथार्थ कारणहरूलाई निर्मूल गर्ने प्रतिपक्षको काम गर्छ। एक पटक प्राप्त भैसकेपछि चित्तको यो यथार्थ मार्गले हामीलाई क्रमिक रूपमा ती अविद्या र मिथ्या धारणाबाट सदाका लागि मुक्त गराउँछ जो हामीलाई जन्मौंजन्म बारम्बार अनियन्त्रित रूपमा यथार्थ दुःख भोग्न बाध्य बनाइराख्ने यथार्थ कारण हुन्। चित्तको यस्तो मार्गको प्राप्ति हामीले लिनसक्ने सबैभन्दा सार्थक लक्ष्य होइन र?