आध्यात्मिक लक्ष्य प्राप्तिका लागि परिश्रम
कुनै पनि आध्यात्मिक लक्ष्य प्राप्तिका लागि दुई तरीकाले काम गर्न सकिन्छः
- निष्ठाका आधारमा – जब लक्ष्य प्राप्त गर्न सम्भव छ भन्ने कुराप्रति हामीलाई निष्ठा हुन्छ। यो निष्ठाका आधारमा तपाईं काम गर्न शुरु गर्नुहुन्छ, र स्वप्रशिक्षणमा अगाडि बढ्दै जाँदा तपाईंलाई पक्का विश्वास हुन्छ कि लक्ष्य प्राप्त गर्न सम्भव छ। उदाहरणका लागि, तपाईंको लक्ष्य दुःखलाई सदाका लागि पन्छाएर त्यसबाट मुक्ति पाउने हो भने तपाईंलाई त्यो सम्भव छ भन्ने कुरामा निष्ठा हुन्छ। काम गर्दै जाँदा तपाईंको दुःख कम हुन थाल्यो भने आफ्नो लक्ष्य प्राप्त गर्न सम्भव छ भन्ने कुरामा पक्का विश्वास हुन्छ। अगाडि बढ्दै जाँदा तपाईं थप अध्ययन र ध्यान अभ्यास गर्न थाल्नु हुन्छ। यसबाट तपाईंलाई तार्किक हिसाबले पनि आफ्नो लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने कुरामा दृढ विश्वास हुन जान्छ।
- दृढ विश्वासका आधारमा – तपाईं तर्क र विवेकका आधारमा लक्ष्य प्राप्त गर्न सम्भव छ भन्ने कुरामा दृढ विश्वस्त हुनुहुन्छ र त्यसै अनुरूप काम गर्न थाल्नुहुन्छ।
बौद्ध पद्धतिको शास्त्रीय दृष्टिबाट हेर्ने हो भने बोधिचित्त विकसित गर्नका लागि सामान्यतया यिनै दुई तरीकाको चर्चा गरिन्छ।
पहिलो तरीकामा हामी सापेक्षिक बोधिचित्तको विकास गर्छौं, जसको लक्ष्य बोधि प्राप्ति हो। बोधिको अवस्था प्राप्त भैसकेको छैन तर भविष्यमा हुन सक्छ। सबैको हित गर्ने उद्देश्यका साथ हामी यो अवस्था प्राप्त गर्न चाहन्छौं। किनकि हामीलाई यो ज्ञान हुन्छ कि सबैको सहायता गर्नसक्ने हुनका लागि एकमात्र उपाय हो – कार्य–कारणको सम्बन्धलाई राम्रोसँग जान्नु, अरुको सहायता गर्ने सबैभन्दा उत्तम तरीकाबारे जान्नु। यसका अलावा, हामीलाई यो लक्ष्य हासिल गर्न सम्भव छ भन्ने कुराप्रति निष्ठा हुन्छ।
लक्ष्यतर्फ अगाडि बढ्दै जाँदा हामी बोधिचित्तलाई गहन स्तरमा विकसित गर्न सक्छौं। गहन स्तरले शून्यताको ज्ञानतर्फ इंगित गर्छ, जसबाट हामी यो जान्दछौं कि चीजहरू असम्भव तरीकाले अस्तित्वमा रहेका हुँदैनन्। हामीलाई यथार्थको बोध हुन्छ, र हामी यो पनि जान्दछौं कि चित्तको खास प्रकृति कल्पना गर्ने होइन, बरु स्वयं यथार्थलाई अनुभव गर्ने हो। यो बोध भएपछि हामीलाई तर्कका आधारमा लक्ष्य हासिल गर्न सकिन्छ भन्ने कुरामा दृढ विश्वास हुन्छ। त्यसो हुँदा हाम्रो निष्ठा दृढ विश्वासमा बदलिन्छ।
दोश्रो तरीकामा हामी प्रथमतः यथार्थका बारेमा जानकारी हासिल गर्छौं र जान्दछौं कि बोधि प्राप्त गर्न सम्भव छ। त्यसैले गहनतम स्तरमा बोधिचित्तको उत्पाद गर्छौं। यसको आधारमा हामीलाई बोधि प्राप्त गर्न सकिन्छ भन्ने कुरामा अझ गहन विश्वास हुन्छ। यसै दृढ विश्वासका कारण हामी लक्ष्य प्राप्त गर्न प्रयत्नशील हुन्छौं। यो दोश्रो तरीकाको उल्लेख भारतका महान आचार्य नागार्जुनको ग्रन्थ बोधिचित्त–विवरणमा पाइन्छ।
यो पद्धतिको विवरण हामीले अघिल्लो लेखमा चर्चा गरेको वन्दनामा छ। त्यहाँ हामीले मनन गर्यौं कि दुई सत्यबाट चार आर्यसत्यमा पुगिन्छ, र चार आर्यसत्यबाट त्रिरत्नमा पुगिन्छ। यो चर्चाको उद्देश्य हामीलाई यो जान्न सहयोग गर्नु हो कि मुक्ति र बोधिलाभ यथार्थमा आधारित छन् र तिनलाई प्राप्त गर्न सम्भव छ।
- मुक्तिको अर्थ हाम्रो नियन्त्रणबाहिरको पुनर्जन्मको सिलसिलाबाट सदाका लागि मुक्ति पाउनु हो, र संसारको चक्रबाट सम्पूर्ण रूपमा अलग हुनु हो ताकि हामी दुःखबाट सदाका लागि मुक्त हुन सकौं। जसले यसरी मुक्ति प्राप्त गरेको छ, उसलाई “अर्हत्” वा मुक्त सत्त्व भनिन्छ।
- बोधिको अर्थ त्यो अवस्था हो, जहाँ हामी त्यस्ता सबै आवरणबाट मुक्त हुन्छौं जसले हामीलाई अरु सत्त्वहरूलाई पनि मुक्ति र बोधि प्राप्तिमा सहयोग गर्नबाट रोकिरहेका हुन्छन्। यसरी बोधिको अवस्था पुगेका सत्त्वहरूलाई “बुद्ध” भनिन्छ।
यो लक्ष्य प्राप्त गर्न सम्भव छ र शाक्यमुनि बुद्ध मात्र होइन हामी आफैं पनि उक्त अवस्था प्राप्त गर्न सक्षम छौं भन्ने कुरामा विश्वस्त हुन्छौं। यो कुरा जानेपछि आध्यात्मिक अभ्यासमा अद्भूत उर्जा र स्थायित्व प्राप्त हुन्छ। तर यो जान्न त्यति सजिलो छैन। हुनत आजसम्म कसैले यो सजिलोसँग जानिन्छ भनेका पनि छैनन्।
दुई सत्य
अघिल्लो सत्रमा हामीले पहिलो पंक्तिको चर्चा गरेका थियौंः
यी दुई सत्य, जसले हामीलाई सबै चीजको अस्तित्वको आधार प्रदान गर्छन्, को अर्थ जानेपछि,
यो सम्पूर्ण शिक्षणको आधार यिनै दुई सत्यले दिन्छन्, जसबाट हामी कुनै पनि चीज कसरी अस्तित्ववान र क्रियाशील हुन्छ भन्ने जान्दछौं। अर्को शब्दमा भन्ने हो भने कुनै पनि चीज कसरी विद्यमान छ भन्ने कुरा जान्दछौं। प्रत्येक वस्तुका सम्बन्धमा यी दुवै सत्य मान्य छन्, ती सत्य नै हुन्।
- सापेक्ष सत्यः हरेक चीजको उत्पत्ति हेतु र प्रत्ययहरूमा निर्भर गर्छ। हुनत त्यो चीजको घटक तत्त्व र त्यससँग सम्बन्धित अवधारणाहरूमा पनि उक्त चीज अनेक तरहले निर्भर रहेको हुन्छ। मुख्य कुरा चाहिँ अनुभवको स्तरमा कार्य र कारणको सम्बन्धले कसरी काम गर्छ भन्ने जान्नु हो, त्यो पनि खास गरी कर्मको बाध्यकारी बन्धन र त्यसमा हाम्रो खुशी र बेखुशीको अनुभव कसरी निर्भर गर्छ भन्ने सन्दर्भमा।
- परमार्थ सत्यः हुनत हामीलाई भ्रम हुन सक्छ कि कुनै पनि चीज अरुसँग असम्बद्ध हुन्छन्, र ती आफसेआफ उत्पत्ति भएका हुन्छन्। तर यस्तो असम्भव तरीकाको अस्तित्व कसैको पनि हुँदैन, र यस्तो भ्रम यथार्थसँग मेल खाँदैन। अर्थात्, हामीले गर्ने प्रक्षेपणहरूसँग मेल खाने यथार्थको सम्पूर्ण रूपमा अभाव हुन्छ। यसरी कुनै पनि चीज आफसेआफ अस्तित्वमा हुनु र कार्य–कारणको सिद्धान्त त्यसमा लागू नहुनु भनेको असम्भव कुरा हो, यसको सम्भाव्यता शून्य हुन्छ। यसैलाई “शून्यता” भनिएको हो।
चार आर्यसत्य
यी दुई सत्यको आधारमा बुद्धले चार आर्यसत्यको बोध गर्नुभएको थियो, र त्यसैलाई आधार बनाई चार आर्यसत्यलाई सूत्रबद्ध गर्नुभएको थियो। यो कुरा दोश्रो पंक्तिमा बताइएको छः
हामी अनियन्त्रित पुनर्जन्मको चक्करमा कसरी पर्छौं र त्यसलाई कसरी उल्ट्याउन सकिन्छ भन्ने कुरा पनि चार (आर्य) सत्यका माध्यमले पक्कासँग जान्दछौं।
उच्च सिद्धिप्राप्त सत्त्वहरूले चार आर्यसत्यको सत्यतालाई देख्छन्। यहाँनेर रोचक कुरा के छ भने केवल बुद्धहरू मात्र होइन, बुद्धत्व प्राप्तिभन्दा धेरै पहिला नै निश्चित सिद्धि प्राप्त गरिसकेका सत्त्वहरूले यो कुराको सत्यतालाई देख्न सक्छन्। यो अवस्था तब प्राप्त हुन्छ जब हामीलाई शून्यताको धारणातीत बोध हासिल भैसकेको हुन्छ। अर्थात्, यथार्थको गहनतम बोध हासिल भैसकेको हुन्छ। यस्तो बोध धारणातीत हुन्छ, त्यसैले हामी कुनै पनि चीजको यथार्थलाई यो वा त्यो भनेर वर्ग विभाजन नगरी जान्न सक्छौं।
चीजहरूलाई वर्ग विभाजन गरेर जान्न खोज्दा के हुन्छ? मानिलिऊँ तपाईंले “कुकुर” भनेर सोच्नुभयो। त्यतिबेला तपाईं जेले कुकुरको प्रतिनिधित्व गर्छ, त्यो सोच्नुहुन्छ। हरेक मानिसले कुकुरलाई बुझ्ने तरीका फरक हुन्छ। तपाईंले बाटोमा कुकुर देख्नुभयो भने आफूले गरेको वर्ग विभाजनका आधारमा देख्नुहुन्छ। हामीले कुकुरको जुन छवि आफ्नो मनमा लिएका हुन्छौं, त्यसको आधारमा कुकुरको अनुभूति गर्छौं। यस्तो छवि तस्वीरको रूपमा मात्र हुनुपर्छ भन्ने छैन। तर धारणातीत तरीकाले कुनै चीजको अनुभूति गर्छौं भने त्यो अनुभूति कुनै श्रेणी विभाजनको चश्माले प्रभावित हुँदैन अथवा उक्त चीजलाई प्रतिनिधित्व गर्ने कुनै कुरामा आधारित हुँदैन। त्यसैले यस्तो बोधलाई “मात्र बोध” भनिन्छ। यसमा तपाईं उक्त चीजलाई आफ्नो सोचको साँचोमा नढाली अनुभूति गर्नुहुन्छ।
सिद्धिप्राप्त सत्त्वहरूलाई संस्कृतमा आर्य भनिन्छ। उनीहरू “अब म यथार्थलाई अनुभव गरिरहेको छु” भनेर यथार्थलाई “यथार्थ” को अलग साँचोमा हालेर अनुभव गर्दैनन्। उनीहरूलाई त आफू के अनुभव गरिरहेको छु भन्ने कुराको पूर्ण, सटिक, र निश्चयात्मक बोध हुन्छ। उनीहरूले बोध गर्ने विशुद्ध यथार्थ मात्र हो। त्यसलाई कुनै साँचोमा हालेर वा वर्गमा विभाजित गरेर जान्नु आवश्यक हुँदैन। तर यो काम त्यति सजिलो छैन। हामी आफ्ना साँचोहरूलाई कुनै नाम नदिऔंला, तैपनि चीजहरूलाई आफ्नो साँचोमा ढालेरै मात्र अनुभव गर्छौं। सामान्यतया सबैले गर्ने त्यही हो। हामी सबै चीजलाई अलग–अलग साँचोमा ढालेर हेर्छौं, र ती अरूबाट अलगथलग, आफसेआफ अस्तित्वमा छन् भन्ने ठान्छौं।
यहाँनेर धारणागत बोधसम्बन्धमा थप चर्चा गर्नु आवश्यक देख्दिन। तर हामीले के जान्नु आवश्यक छ भने यथार्थलाई धारणातीत रूपमा जान्नका लागि बुद्ध नै भैहाल्नुपर्दैन। यथार्थलाई धारणाबाट अलग राखेर जान्न सक्यौं भने चार आर्यसत्यको सत्यता पनि जान्नेछौं, र यसका बारेमा थप विश्वस्त हुनेछौं।
ती चार सत्य के हुन् त? पहिलो हो, दुःख। दोस्रो हो, दुःखको उत्पत्तिको कारण। तेस्रो, दुःख र यसका कारणहरूको निरोध। चौथो, त्यस्तो मार्ग अथवा बोध जसले हामीलाई दुःखको निरोधतर्फ लैजान्छ। यी सबै सत्य हुन्, र यिनलाई दुःखसत्य, समुदयसत्य आदि नाम दिइएको छ।
यो सम्पूर्ण चर्चा पुनर्जन्म तथा चेतनाको अनादि र अनन्त निरन्तरताको सन्दर्भमा गरिन्छ। यो सबको आधार पुनर्जन्म हो, यसका बारेमा हामीले चर्चा गरिसक्यौं। हामीलाई चीजहरूको अनुभव व्यक्तिगत स्तरमा क्षण–प्रतिक्षण भैरहन्छ। यसरी गरिने अनुभव अकारण नै हावाबाट फ्याट्टै उत्पत्ति हुने होइन, यो त कार्य र कारणको क्रममा चल्छ। यसको शुरुवातको एक निश्चित विन्दु पाईंदैन। त्यस्तै यसको कुनै एक अन्तिम विन्दु पनि हुन सक्दैन जहाँबाट यो पूर्णतः अस्तित्वहीन बनोस्। त्यसो हुनु असम्भव छ। कार्य र कारणको यो आधारभूत सत्यलाई विचार गर्ने हो भने हामी यस्तो निष्कर्षमा पुग्नै पर्ने हुन्छ कि हाम्रो चेतनाको निरन्तरताको आदि या अन्त छैन, त्यसैले पुनर्जन्म पनि सत्य हुनैपर्छ।
दुःख सत्य
दुःख सत्यका तीन आयामहरू छन्ः
- पहिलो, हाम्रो सामान्य दुःख हो, जसलाई हामी दुःखको दुःख (दुःख–दुःख) भन्छौं। हामी सबैले यस्तो दुःखको अनुभव गरेका हुन्छौं। दुःख र पीडा उस्तै हुनुपर्छ भन्ने छैन। सुख (खुशी) र दुःख (बेखुशी) तथा आराम र पीडा दुई फरक समूहका अनुभूतिहरू हुन्। आराम र पीडा शारीरिक अनुभूतिहरू हुन् भने सुख र दुःख मानसिक अवस्थाहरू हुन्। कसैले पीडाको अनुभव गरिरहेको बेला पनि खुशी हुन सक्छ, जस्तै कडा शारीरिक कसरतपछि मानिसलाई खुशीको अनुभव हुन्छ। तर शारीरिक आरामको अवस्थामा पनि मानिस दुःखी हुन सक्छ, जस्तै, कसैलाई इच्छाविपरीत यौनसम्पर्क गर्न लगायो भने उ दुःखी हुन्छ। त्यसैले यी दुई भिन्नाभिन्नै समूह अन्तर्गत पर्ने अनुभूतिहरू हुन्। यहाँ हामी दुःख (बेखुशी) को कुरा गर्दैछौं, जुन हामी सबैले बुझ्छौं। बुद्धधर्ममा यो अनुभूतिलाई निकृष्ट प्रकारका पुनर्जन्महरूको सन्दर्भमा चर्चा गरिन्छ, जो सबै प्रकारका दुःखले युक्त छन्।
- दोस्रो प्रकारको दुःख अनित्यताको दुःख (विपरिणाम दुःख) हो, यसलाई हामी आफ्ना सामान्य खुशीको सन्दर्भमा हेर्छौं। यस्ता सामान्य खुशीहरूको समस्या के हो भने यी धेरैबेर टिक्दैनन् र हामीलाई सन्तुष्टि दिँदैनन्। हामीलाई जति छ, त्यतिले पुग्दैन, अझ धेरै चाहिन्छ। तर धेरै पाएपछि हामीलाई वाक्क लाग्छ, र त्यही नै बेखुशीको कारण बन्न थाल्छ। उदाहरणका लागि हामीलाई कुनै खानेकुरा मन पर्छ र हामी त्यसलाई खान थाल्छौं। तर धेरै खाएपछि हामी विरामी पर्छौं। त्यतिबेला हामीलाई केही खान मन लाग्दैन, र मनमा दुःख हुन्छ। समस्या के हो भने यस्ता सामान्य खुशीहरू न त सन्तुष्टिदायक हुन्छन्, न स्थायी नै। सामान्यतया हाम्रो जीवनमा तलमाथि भैरहन्छ, कहिले हामी खुशी हुन्छौं, कहिले बेखुशी। के हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन। हाम्रो वर्तमान परिस्थिति जेसुकै होस्, अब आउने क्षणमा के हुन्छ भन्ने हामीलाई थाहा हुँदैन। कुनैबेला अचानक नै हामी बेखुशी वा उदास वा निराश बन्न सक्छौं। जीवनमा ऊँचनीच, ऊँचनीच भैरहन्छ।
- तेस्रो प्रकार हो, सर्वव्यापी दुःख (संस्कारधर्म दुःख)। यो नै त्यो आधार हो, जसका कारण हामीले अनुभव गर्ने बेखुशी र सामान्य खुशीहरू निर्धारित हुन्छन्, र हाम्रो जीवनमा ऊँचनीचको अनुभव भैरहन्छ। यसका पछाडि हाम्रो अनियन्त्रित अस्तित्व र पुनर्जन्मको श्रृंखला छ। संस्कृतमा यसलाई संसार भनिएको छ। हामी बारम्बार त्यस्तो शरीर र मन लिएर जन्मिरहन्छौं जसबाट हामीले अनुभव गर्ने सामान्य खुशी वा बेखुशी र जीवनका उतार चढावहरू निर्धारित हुन्छन्। यो नै दुःखको असली स्रोत हो, हाम्रो समस्याको मूल जड हो। हामीले यथार्थलाई देख्न सक्यौं भने बुझ्नेछौं, यो नै हाम्रो मुख्य दुःख हो।
समुदय सत्य
तपाईंले यथार्थलाई आत्मसात गर्न सक्नुभयो भने पाउनुहुनेछ, हामी जे अनुभव गर्छौं, त्यसमा तलमाथि भैरहेको हुन्छ। त्यतिमात्र होइन, त्यो अनुभवको आधार जे छ, त्यो पनि तलमाथि भैरहेको हुन्छ। यो कुरालाई तपाईंले सत्य हो भनी जान्नुहुनेछ। तर यो जानिसकेपछि तपाईंलाई थप के बोध हुनेछ भने यो सबका पछाडि कुनै कारण छ। सापेक्ष सत्यले भन्छ, हरेक चीज (कार्य) का पछाडि कुनै कारण हुन्छ। त्यसो भए, वन्दनाको पंक्तिमा उल्लिखित बारम्बार दोहोरिने अनियन्त्रित पुनर्जन्ममा प्रवेश गर्नुपर्ने कारण चाहिँ के होला त? अर्थात्, यो कसरी हुन्छ? के कारणले गर्दा यस्तो अनवरत चक्र चलिरहन्छ?
अघिल्लो सत्रमा हामीले चर्चा गर्यौं, हामीले बेखुशीको अनुभव गरिरहेका छौं भने त्यो कुनै न कुनै विनाशकारी व्यवहारको परिणामस्वरूप आएको हुन्छ। त्यस्तै सामान्य खुशीको अनुभव कुनै न कुनै सिर्जनात्मक व्यवहारको परिणामस्वरूप आएको हुन्छ। यसमा हामी कर्मलाई जोडौं, जसलाई मैले बाध्यात्मकता भनेर अनुवाद गर्ने गरेको छु। यसरी हामी बाध्यात्मक विनाशकारी व्यवहार (बाध्यात्मक अकुशल व्यवहार) गर्छौं, वा बाध्यात्मक सिर्जनात्मक व्यवहार (बाध्यात्मक कुशल कर्म) गर्छौं। यस्तो कुशल कर्म बुद्धको जस्तो हुँदैन, किनकि यहाँ हामी बाध्यात्मक ढंगले काम गरिरहेका छौं। बाध्यात्मक ढंगले गर्ने कुशल कर्मका पछाडि हाम्रो अहंकार (इगो) को बन्धन हुन्छ, जहाँ हामी सबैथोक राम्रोसँग गर्न वा पर्फेक्ट तरीकाले गर्न बाध्य हुन्छौं। यस्तो व्यवहार एक प्रकारको पागलपन हो।
यसरी हामी बाध्यात्मक ढंगले काम गर्छौं भने हामी पक्कै पनि कुनै विनाशकारी आवेग वा मनोभावको वशमा हुन्छौं। यसको चर्चा बाध्यात्मक विनाशकारी व्यवहार (अकुशल कर्म) अन्तर्गत गरिसक्यौं। रिसबाट वशीभूत भै हामी कसैको हत्या गर्नसक्छौं, लोभबाट वशीभूत भै चोरी गर्न सक्छौं, र मोहको वशमा परी आफ्नो व्यवहारको कुनै परिणाम हुँदैन भनेर सोच्न सक्छौं। “आखिर म पक्राउ पर्नेवाला हैन। जे गरेपनि हुन्छ। मैले चोरी नै गरेपनि रमाइलो नै हुन्छ!” यसरी सोच्न सक्छौं।
यस्तो बाध्यात्मक विनाशकारी व्यवहारका पछाडि हाम्रो अविद्याले काम गरिरहेको हुन्छ। “अविद्या” को अर्थ हामी मूर्ख हौं भनेको होइन, हामी केवल भ्रममा छौं भनेको हो । तर अविद्या के को? प्रथमतः हामी कार्य–कारण (परिणाम र कारण) को सम्बन्धबारे अज्ञानमा हुन्छौं। यो सम्बन्धलाई हामीले राम्रोसँग बुझ्यौं र यसप्रति विश्वस्त भयौं भने कदापि विनाशकारी काम गर्नेछैनौं। हामीलाई थाहा हुनेछ, त्यस्तो व्यवहारले दुःख मात्र सिर्जना गर्छ। यसलाई दुष्कर्मको सजायभन्दा पनि हामी आफैंले सिर्जना गरेको कारणको परिणाम भनेर बुझ्नुपर्छ।
वास्तवमा अविद्याका दुई प्रकार छन्। या त हामीलाई विनाशकारी ढंगले काम गर्दा दुःख हुन्छ भन्ने नै थाहा हुँदैन, या, त्यसका विपरीत, यस्तो सोच्न सक्छौं – “विनाशकारी ढंगले काम गर्दा मलाई खुशी प्राप्त हुन्छ। यदि मैले आफूलाई चाहिएको कुरा चोरी गरेँ भने, त्यसले त मलाई खुशी बनाउँछ। आफ्नो शत्रुको हत्या गरेँ भने, त्यसले मलाई खुशी दिन्छ।” यस्तो काम गर्नासाथ तत्काल त हामीलाई केही खुशीको अनुभव होला, जस्तै “आहा, मैले त्यो लामखुट्टेलाई मारेँ। अब म आराम गर्न सक्छु।” तर दीर्घकालीन रूपमा हेर्ने हो भने यस्तो विनाशकारी व्यवहारको परिणामस्वरूप हामी कुनै कारणविना नै मनमा दुःखको अनुभव गरिरहने हुन्छौं। यस्तो विनाशकारी व्यवहार कार्य–कारणको सम्बन्ध नबुझेर हुने हो, अर्थात् योसम्बन्धी सापेक्ष सत्य नजानेर हुने हो। मलाई थाहा छ, यो कुरा बुझ्न सजिलो छैन। त्यसैले सजिलो छ भनेर म भन्दिन। तर यो जान्नलाई हामी प्रयत्न अवश्य गर्न सक्छौं।
संक्षेपमा भन्नुपर्दा, कार्य–कारणको सम्बन्ध नजानेका कारण म दुःखको अनुभव गरिरहेको हुन्छु। मेरो चित्त रिस, लोभ, इर्ष्या आदि भावले भरिएको छ भने म बाध्यात्मक ढंगले विनाशकारी व्यवहार गर्न थाल्छु। यो आत्म–विनाशकारी हुन्छ, किनकि यसका कारण म अधिकांश समय बेखुशीको अनुभव गर्छु। यो सम्बन्धलाई हामीले जान्नुपर्छ।
हामीले अनुभव गर्ने सामान्य खुशी पनि अविद्याकै कारणले आउँछ, तर यहाँनेर अविद्या गहनतम अर्थात् परमार्थ सत्यका सन्दर्भमा हुन्छ। सटीकरूपमा भन्ने हो भने, हाम्रा विनाशकारी र सिर्जनात्मक दुवै व्यवहारको जडमा अविद्या रहेको हुन्छ। विनाशकारी व्यवहारमा हामी परमार्थ र सापेक्ष दुवै सत्यबाट अनभिज्ञ हुन्छौं। सिर्जनात्मक व्यवहारमा चाहिँ केवल परमार्थ सत्यका बारेमा मात्र अनभिज्ञ हुन्छौं। हाम्रो दिमागमा एक मनोवाद चलिरहेको हुन्छ, “म के गरुँ? मलाई सबैथोक आफूले चाहेजसरी होस् भन्ने लाग्छ। म चिन्तित छु।” हामीलाई लाग्छ कि हामीभित्र कुनै त्यस्तो सानो “म” छ जो बोलिरहेको छ र जसलाई हामी भेट्टाउन सक्छौं। तर यो यथार्थसँग मेल खाँदैन। यस्तो “म” भन्ने कुनै कुरा हुँदैन। हाम्रो विचारश्रृंखलामा एक शाब्दिक तत्त्व हुन्छ, तर हामीले ठानेजस्तो “म” हुँदैन जसले शिकायत गरोस् र चिन्ता लियोस्। आफू कसरी अस्तित्ववान छु भन्ने नजानेपछि र आफ्ना बारेमा गहनतम सत्य नजानेपछि भ्रमपूर्ण प्रक्षेपणलाई नै “म” भनेर स्वीकार्छौं। तर यो यथार्थसँग मेल खाँदैन, र हामी आफूलाई लिएर असुरक्षित भैरहन्छौं। अनि आफूलाई सुरक्षित बनाउनेतर्फ लाग्छौं। तर यो कुरामा कहिल्यै सफल हुन सक्दैनौं।
यो कल्पित लघु “म” लाई सुरक्षित राख्नका लागि हामी आफ्ना विनाशकारी आवेगहरूको सहायता लिने गर्छौं। हामी सोच्छौं, “फलानो चीज पाएँ भने म सुरक्षित हुनेछु।” यसरी उक्त चीजप्रति लोभ, आसक्ति र लालसा उत्पन्न हुन्छ। त्यस्तै अरु केही चीजका बारेमा हामी सोच्छौं, “यसलाई आफूबाट टाढा राख्न सकेँ भने म सुरक्षित हुनेछु।” यसरी उक्त चीजप्रति रिस र घृणा उत्पन्न हुन्छ। अथवा हामी अबोध भएर सोच्न सक्छौं, “फलानो चीजका कारण म असुरक्षित महसुस गर्दैछु। यदि त्यो अस्तित्वमै छैन भनेर बेवास्ता गरेँ भने म सुरक्षित हुनेछु।” यस्तो मनोभावका कारण हामी विनाशकारी व्यवहार गर्न थाल्छौं, जस्तै हामी आफ्नो मानसिक तनावलाई बेवास्ता गर्न सक्छौं। रिसको झोँकमा व्यवहार गर्दा कसैमाथि रिसले खनिन सक्छौं, उसलाई हानि पुर्याउन वा मार्न नै सक्छौं। त्यस्तै लोभले ग्रस्त भयौं भने चोर्न वा अरुलाई पीडा पुग्नेगरी अनुपयुक्त यौनक्रिया गर्न सक्छौं। अबोधपनका कारण हामी वर्काहोलिक (कामको किरो) बन्न सक्छौं, अस्वस्थकर खानेकुरा खान सक्छौं, वा कहिल्यै शारीरिक कसरत नगर्न सक्छौं। यस्ता सबै व्यवहार कार्य–कारणको सम्बन्ध वा आफ्नो अस्तित्वबारे गहनतम स्तरमा भएको अविद्याका कारण गरिन्छ।
सिर्जनात्मक व्यवहारको सन्दर्भमा पनि अविद्याले काम गरिरहेको हुन्छ, यद्यपि त्यहाँ अशान्तकारी आवेगहरूको उपस्थिति नरहेको हुन सक्छ। हामी उत्तम वा सर्वोत्कृष्ट (पर्फेक्ट) व्यवहार प्रदर्षित गर्दै आफ्नो अस्तित्व प्रमाणित गर्न वा आफूलाई स्थापित गर्न खोज्छौं, चाहे त्यो उत्तम आमाबुवाका रूपमा आफूलाई स्थापित गर्न होस् वा अन्य केही। हामीलाई लाग्छ, “यसले मेरो दिमागमा रहेको यो सानो “म” लाई सुरक्षित गर्छ।” जबकि त्यस्तो हुँदै हुँदैन। हामी त्यसरी कहिल्यै सुरक्षित महसुस गर्न सक्दैनौं। अरुलाई सहयोग गर्दा हामीलाई केही खुशीको अनुभव हुन सक्छ, तर त्यो पनि साधारण खुशी मात्र हुन्छ र धेरैबेर टिक्दैन। यसले हामीलाई कहिल्यै सन्तुष्टि दिँदैन, किनकि हामीलाई निरन्तर आफू सर्वोत्कृष्ट नभएको, परिपूर्ण नभएको कुराले सताइरहन्छ। मैले आफ्नो उत्कृष्टता सिद्ध गर्न बाँकी नै छ भन्ने भाव आइरहन्छ। स्पष्टै छ, आफ्नो अस्तित्वका बारेमा रहेको गहन स्तरको अविद्याका कारण हामी यस्तो व्यवहार गर्छौं।
तेस्रो प्रकारको दुःख, जसका कारण बेखुशी र साधारण खुशीका अनुभूतिहरूमा उतार–चढाव भैरहन्छ, लाई बुझ्न हामीले “प्रतीत्यसमुत्पादका द्वादश निदान” को सहायता लिनुपर्ने हुन्छ। यसको व्याख्या जटिल छ, यससम्बन्धमा म यहाँ विस्तारमा चर्चा गर्दिन। यो कर्मले कसरी काम गर्छ भन्ने कुरासँग सम्बन्धित छ।
सामान्यतम स्तरमा बुझ्ने हो भने कर्मले बाध्यात्मकता भन्ने अर्थ दिन्छ। यो त्यस्तो बाध्यात्मकता हो, जसका कारण हामी कुनै निश्चित प्रकारको व्यवहार गर्छौं चाहे त्यो विनाशात्मक होस् या सिर्जनात्मक। बाध्यताको खास अर्थ चाहिँ के हो त? बाध्यात्मकताले त्यस्तो अवस्थातर्फ इंगित गर्छ जहाँ तपार्ईंको कुनै कुरामाथि नियन्त्रण हुँदैन। जस्तै कसैले औंला चलाइरहन्छन्। केही न केही गरिरहनुपर्ने इच्छाको बाध्यताले उनीहरूलाई प्रेरित गर्छ। यसका लागि प्रयुक्त तिब्बती भाषाको शब्दको अर्थ हो – “म फलानो काम गर्न चाहन्छु, त्यो काम गर्ने मेरो कामना छ, मलाई त्यसो गर्न मन लाग्छ।” जस्तै, कसैमाथि रिसले खनिनु, वा अंकमाल गर्नु, वा कुनै खानेकुरा खानु। जब यस्तो बाध्यात्मकताको साधन हाम्रा सामु आउँछ, हामी त्यो काम गरिहाल्छौं। यसले गर्दा उक्त कार्य दोहोर्याइरहने प्रवृत्ति बढ्छ। यदि त्यो कार्य विनाशात्मक पर्यो भने हाम्रो मनमा बेखुशीको अनुभव हुन्छ, सिर्जनात्मक पर्यो भने खुशीको अनुभव हुन्छ। कुनै निश्चित अवस्था भयो भने यो प्रवृत्ति सक्रिय हुन्छ। यो फस्टाउँछ, बढ्छ, र हामीलाई खुशी या बेखुशीको अनुभूति दिन्छ। हामीलाई पुन: रिसले कसैमाथि खनिन वा मायाले अंकमाल गर्न मन लाग्छ।
यो एक अनवरत प्रक्रिया हो जुन चलि नै रहन्छ, किनकि हामीलाई बारम्बार उक्त व्यवहार दोहोर्याइरहने इच्छा भैरहन्छ। यसरी हाम्रो व्यवहारको निश्चित ढाँचा (प्याटर्न) अन्तहीन तरीकाले चलिरहन्छ। किनकि, हामी उक्त प्रवृत्तिलाई मलजल दिइरहन्छौं, त्यसलाई मजबुत बनाइरहन्छौं। यसरी हामी लगातार खुशी र बेखुशीको यो उतार–चढावपूर्ण श्रृंखलाको अनुभूति गरि नै रहन्छौं।
यहाँनेर, सबैभन्दा प्रासंगिक प्रश्न हो – यी प्रवृत्तिहरू कसरी सक्रिय हुन्छन् र आफ्नो परिणाम दिन्छन्, र किन हामीलाई उक्त व्यवहार दोहोर्याइरहन मन लाग्छ? प्रतीत्यसमुत्पादको द्वादश निदानमा यसको सुन्दर व्याख्या गरिएको छ, यद्यपि त्यो व्याख्या निकै जटिल छ। हामी आफ्नो मनोदशामा हुने उतार–चढावको अनुभूति निरन्तर गरिरहेका हुन्छौं, यद्यपि यस्तो अनुभव नाटकीय पाराको हुनुपर्छ भन्ने छैन। कुनै बेला सुतिरहेको वा अर्धनिद्राको अवस्थामा पुगेका हुन सक्छौं। त्यो बेला पनि चित्तमा दुःखको अनुभूति हुन सक्छ। यस्तै र अन्य दुःख वा साधारण खुशीको अनुभव गरिरहेको बेला हाम्रो चित्तको अवस्था कस्तो हुन्छ? संस्कृत भाषामा यसका लागि “तृष्णा” शब्दको प्रयोग गरिएको छ, जसको सामान्य अर्थ “तिर्खा” हुन्छ। अंग्रेजीमा यसको अनुवाद अक्सर ‘क्रेविंग’ भनेर गरिन्छ, तर तृष्णाको सही अर्थ तिर्खा नै हुन्छ।
मूलतः जतिबेला हामीलाई दुःखको अनुभूति हुन्छ, त्यतिबेला त्यसबाट मुक्ति पाउने तिर्खा प्रबल हुन्छ। ठीक त्यसरी नै जसरी (पानीको) तिर्खा लागेका बेला त्यसबाट मुक्ति चाहन्छौं। त्यस्तै, खुशीको अनुभूति भैरहेको बेला हामी त्यसबाट अलग हुन चाहँदैनौं, बरु अझ बढी त्यसलाई पाउने तिर्खा हुन्छ। ठीक त्यसरी नै जसरी भयंकर तिर्खा लागेको बेला एक घुट्को पानी पाइयो भने अझ धेरै पानी खान मन लाग्छ। एक घुट्को कहिल्यै पर्याप्त हुँदैन, होइन त? तपाईं त्यसबाट अलग हुन चाहनुहुन्न, अपितु अझ धेरै त्यसलाई पिउन चाहनुहुन्छ। त्यस स्थितिमा एक ठोस “म” भावले हामीलाई पकड्छ, र हामी सोच्छौं, “मलाई यो दुःखबाट मुक्त हुनु छ।” अथवा “मलाई यो खुशीबाट अलग हुनु छैन।” यस्तो तिर्खाले कर्मका प्रवृत्तिहरूलाई सक्रिय बनाउँछ। यो नै सर्वव्यापी दुःख (संस्कारधर्म दुःख) को वास्तविक कारण हो। यसप्रकार, खुशी र बेखुशी आदि अनुभव गर्ने हाम्रो प्रवृत्ति अशान्तकारी आवेगहरूसँगै जोडिएर आउने बाध्यकारी व्यवहारका कारण उत्पन्न हुन्छ। यी आवेगहरू स्वयं चाहिँ गहनतम स्तरमा यथार्थका बारेमा हुने अनभिज्ञताका कारण उत्पन्न हुन्छन्। यो यथार्थ हाम्रा आवेगहरूको अस्तित्व (तिनीहरूको निरन्तर परिवर्तन भैरहने स्वभाव) र हाम्रो स्वयंको वास्तविक अस्तित्व (जुन हाम्रो दिमागले सोच्ने र खोजेर भेटिने त्यस्तो असुरक्षित तत्त्व होइन जसलाई कुनै चीजप्रतिको आसक्तिको माध्यमले सुरक्षित राख्न सकियोस्) सँग सम्बन्धित छ।
यो अज्ञान नै दुःखको मुलभूत कारण हो, जो हाम्रा सिर्जनात्मक र विनाशात्मक व्यवहारहरूसँग सम्बन्धित छ। हाम्रो समस्याको मूल कारक नै यही हो जसले गर्दा हामीलाई खुशी वा बेखुशी बनाउने अथवा कुनै निश्चित व्यवहार दोहोर्याइरहन प्रेरित गर्ने प्रवृत्तिहरू अस्तित्त्वमा आउँछन्। आफूमा रहेको तृष्णाको अन्वेषण गर्ने हो भने पाउनेछौं, यो हामी स्वयंको अस्तित्वबारेको अज्ञानसँग जोडिएको छ। हामी सोच्छौं – “म मै हुँ, म नै एकमात्र महत्त्वपूर्ण चीज हुँ, त्यसैले म यो खुशीबाट अलग हुनु हुँदैन। म बेखुशी हुनु हुँदैन। मेरो खुशी नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।” तर यसरी सोच्दैनौं – “ल ठीकै छ, म खुशी वा बेखुशी जेसुकै होऊँ। त्यसले के फरक पर्छ त?” खासमा, हामीले अनियन्त्रित ढंगबाट बारम्बार पुनर्जन्म लिइरहनु पर्ने वास्तविक कारण त दुई सत्यबारेको अज्ञान नै हो।
निरोध सत्य
तेस्रो सत्य दुःखको यथार्थ निरोध हो। यहाँ दुःखका कारणहरूको निरोध हुन्छ, त्यसैले दुःखको पनि निरोध हुन्छ। तर यथार्थको अज्ञानबाट सधैँका लागि मुक्त हुन कसरी सम्भव होला? तपाईंलाई यदि कुनै चीज यथार्थ होइन भन्ने बोध भयो त्यो चीज रहने कुनै आधार हुँदैन। त्यसले कुनै पनि यथार्थ कुरासँग मेल खाँदैन भने त्यसको पुष्टि गर्ने पनि कुनै चीज हुँदैन।
उदाहरणका लागि कुनै नाटकघरको सेट लिऔं। त्यहाँ राखिएका सुन्दर दृश्यपटललाई पछाडिबाट लठ्ठीहरूले अड्याइएको हुन्छ। तिब्बती व्याख्याअनुसार यसलाई बुझ्ने हो भने यी दृश्यपटललाई अड्याउने लठ्ठी भएजस्तो हाम्रा असम्भव मानसिक प्रक्षेपणलाई अड्याउने कुनै वास्तविक आधार हुँदैन। त्यो दृश्यपटललाई अड्याइराख्ने कुनै आधार भएन भने के हुन्छ? गर्ल्यामगुर्लुम ढल्छ।
हामीले गर्ने मिथ्या कल्पनाहरूलाई अड्याइराख्ने कुनै वास्तविक आधार छैन भन्ने कुरामा चित्तलाई केन्द्रित गर्न सक्यौं र त्यो अभ्यासलाई कायम राख्न सक्यौं भने अन्ततः हामी त्यही बोधमा निरन्तर स्थित रहिरहन सक्छौं। अनि उक्त दृश्यपटल पुनः आफ्नै बलमा खडा हुन सक्दैन। हाम्रो मानसपटलभित्र रहेको यो लघुतापूर्ण म, जो सधैँभरी “म के गर्ने होला?” या “म त सर्वोत्तम हुनै पर्छ।” भन्ने चिन्ता गरिरहेको हुन्छ, यसको सम्पूर्ण नाटक बन्द हुन्छ। हाम्रा मिथ्या प्रक्षेपणहरूलाई अड्याएर राख्ने ठोस आधार केही नभएको थाहा पाउने बित्तिकै मनले असम्भव प्रक्षेपणहरू पनि गर्न छाड्छ। त्यसो हुँदा हामी त्यस्ता प्रवृत्तिहरूलाई फेरी फेरी दोहोर्याउनबाट जोगिन्छौं, किनकि तिनलाई सक्रिय बनाउने आधार नै रहँदैन। “म, म, म। म खुशी मात्रै हुनुपर्छ, म बेखुशी त हुनै हुँदैन” – हाम्रो यस्तो सोचाई नै रहँदैन।
त्यस्तो प्रवृत्तिलाई सक्रिय बनाउने आधार तत्त्व नै रहेन भने त्यो प्रवृत्ति पनि बाँकी रहने छैन। यदि कुनै परिणाम हुनेवाला छैन भने त्यो परिणामको कारणका रूपमा रहने तत्त्व पनि हुने छैन। कारण तबमात्र कारण रहन्छ, जब त्यसको कुनै परिणाम होस्, अर्थात् कारणको अस्तित्त्व परिणाममा निर्भर गर्छ। परिणाम नहुनुको मतलब कारण पनि नहुनु हो।
यहीँबाट हामीले अनियन्त्रित पुनर्जन्मको श्रृंखलालाई उल्ट्याउन सक्छौं। हाम्रो चित्त अनादिकालदेखिका प्रवृत्तिहरूले भरिएको छ, तर ती प्रवृत्तिलाई सक्रिय बनाउने कारण भएन भने ती प्रवृत्तिहरू पनि रहने छैनन्। हामी यथार्थकै बोधमा मात्र रहिरहन सक्यौं भने त्यस्तो बाध्यकारी व्यवहार गर्दैनौं जसले चित्तका प्रवृत्तिहरूलाई थप बढाओस्। यसरी बाध्यकारी ढंगले बारम्बार हुने पुनर्जन्म तथा हाम्रो चित्तमा निरन्तर तलमाथि भैरहने आवेगहरूको श्रृंखला सदाका लागि रोकिनेछ। निरोधको सत्य यही हो, र यही अवस्थामा हामी मुक्त हुन्छौं।
मार्ग सत्य
चौथो आर्यसत्यलाई प्रायः “सत्य मार्ग” भनेर अनुवाद गरिन्छ। यसले चित्तको त्यो अवस्था वा बोधलाई बुझाउँछ जसले एक सही मार्गले जस्तै तपाईंलाई लक्ष्यसम्म पुर्याउँछ। यो दुई सत्यको सटीक र निश्चयात्मक बोधको अवस्था हो। हामी यो अवस्थामा अभ्यस्त हुन सक्यौं भने अन्ततः यसमा नै निरन्तर स्थित रहन सक्छौं, र यो त्यस्तो मार्ग हुनेछ जसले हामीलाई बारम्बार दोहोरिरहने बाध्यकारी पुनर्जन्महरूको श्रृंखलाबाट सही निरोधको अवस्थामा पुर्याउनेछ।
निष्कर्ष
यसरी हामी दुई सत्यबाट चार सत्यको बोध गर्न सक्छौं।
हामी यो संसारमा आउँछौं चाहिँ कसरी? जुन पद्यको हामीले चर्चा गर्यौं, त्यसअनुसार यसको व्याख्या चार आर्यसत्यमध्ये पहिलो र दोस्रो सत्य, अर्थात् दुःख सत्य र समुदय सत्यले गरेका छन्। हामी दुई सत्यको अनभिज्ञताले गर्दा यो संसारमा आउँछौं। अर्थात्, हामी या त यथार्थलाई जान्दैनौं, या त वास्तविक यथार्थ जे हो त्यसबाट विल्कुल भिन्न कुरालाई यथार्थ भनी कल्पना गर्छौं। यो चक्करबाट बाहिर कसरी निस्कने? त्यसको उपाय तेस्रो र चौथो आर्यसत्य हुन्, अर्थात्, निरोधको सत्य र चित्त मार्गको सत्य। यसरी यथार्थबारेको दुई सत्य थाहा नहुने अवस्थाबाट हामी चार आर्यसत्यको पहिलो र दोस्रो सत्यसम्म पुग्छौं, र त्यो बोध भएपछि तेस्रो र चौथो सत्यसम्म पुग्छौं।
हुनत यो एक असाध्यै जटिल विषय हो। तथापि हामीले जसरी चर्चा गर्यौं, त्यसरी गर्दै जाँदा बुद्धधर्मका शिक्षाहरूको अनुशीलन गर्नाले धर्मले व्याख्या गरेको लक्ष्यसम्म पुग्न साँच्चिकै सम्भव छ भन्ने कुरामा विश्वस्त हुन्छौं। अनि आफ्नो साधनामार्फत तिनै लक्ष्यहरू प्राप्त गर्न प्रयत्नशील हुन्छौं। शिक्षाका यी सबै आयामहरूलाई राम्रोसँग जानेपछि तिनलाई सबै अन्तर्निहित पक्षहरूसँग समन्वित गर्न सक्छौं। त्यसपछि ध्यान अभ्यासको सहायताले आफूलाई यसमा अभ्यस्त बनाउछौं र यथार्थको अनुभूति गर्ने आफ्नो बानीको विकास गर्छौं।
श्रवण, चिन्तन, र ध्यानको अभ्यास गर्दै हामी आफूले साधनामार्फत प्राप्त गर्न खोजेको लक्ष्य प्राप्त गर्न सम्भव भएको कुरामा दृढ विश्वास हासिल गर्छौं, यो एक सत्य हो भन्ने जान्दछौं, र यथेष्ट प्रयत्न भयो भने हामी आफैंले त्यो लक्ष्य प्राप्त गर्न सक्छौं भन्ने जान्दछौं। यसप्रकारले हाम्रो अभ्यास अझ सुदृढ बन्छ, किनकि यतिबेला हाम्रो अभ्यास एक अनिश्चित र ढुलमुले विश्वासमा मात्र आधारित हुँदैन। आफ्नो लक्ष्य प्राप्त गर्न सक्छौं भन्ने कुरामा द्विविधा रहँदैन, बरु हामी उक्त लक्ष्य प्राप्त गर्न सक्छौं भन्ने कुरामा निश्चित भएर काम गर्न सक्छौं।