हाम्रो जीवनमा सधैँ उतारचढाव आइरहन्छ — कहिले हामी खुसी हुन्छौं र रमाउँछौं, कहिले दुःखी र व्यथित हुन्छौं। अक्सर हामी “जीवन भनेको यस्तै हो” भनेर चित्त बुझाउँछौं, यसको गहिराइसम्म पुग्ने कोसिस गर्दैनौं। तर के हामीले चाहेको जीवन त्यस्तै नै हो त — अब आउने क्षणमा के हुन्छ थाहापत्तो नै नहुने? सौभाग्यवश बुद्धले यसलाई गहिराइसम्म पुगेर हेर्नुभयो र यो परिस्थिति पछाडिको खास कारण पत्ता लगाउनुभयो। यो सबैको कारण हाम्रो अहिलेको शरीर र मनको प्रकृति रहेछ। यो जुन शरीर र मन हाम्रो छ, त्यसले चुम्बकले तानेसरी जीवनका उतारचढावलाई तान्ने रहेछ, र यसैका आधारमा हाम्रा सबै भोगाइ हुने रहेछन्। अझ गहिरोगरी समस्याको कारण खोतल्ने हो भने, यस्तै खालको शरीर र मन भएका कारण हामी जीवनका यी यावत उतारचढावलाई निरन्तरता दिँदा रहेछौं, र यो क्रमलाई आज वा आउने हप्ता मात्र होइन, नमरुञ्जेल निरन्तरता दिँदा रहेछौं। तर यो क्रम एक जीवनमा मात्र सीमित नहुने रहेछ, पुनर्जन्मको सन्दर्भमा बुद्धले के बताउनुभएको छ भने यो क्रम आगामी जन्महरूमा पनि निरन्तर चल्ने रहेछ। पुनर्जन्मको कुरा अहिल्यै बुझ्न वा स्वीकार गर्न सक्दैनौं भने पनि यति त बुझ्न सक्छौं कि हामीले भविष्यका पुस्ताहरूका लागि यस्तै समस्याको निरन्तरता दिइरहेका छौं। उदाहरणका लागि जलवायु परिवर्तनको समस्यालाई लिउँ — हामीले गरेका कामका कारण हामी यो पृथ्वीबाट गैसक्दा पनि भविष्यका पुस्ताका लागि समस्या उत्पन्न भैरहनेछ।
त्यसो भए यो शरीर र मनको वास्तविक समस्या के हो त? समस्या के हो भने यिनीहरूको क्षमता सीमित छ। शरीरको सीमितता हो — यो विरामी पर्छ, बुढो हुँदै जान्छ, जर्जर बन्दै जान्छ। बोतलको दुधजस्तो यो पनि “एक्स्पायर” हुन्छ। तर सायद बोतलको दुधभन्दा पनि यसको हालत खराब छ, किनकि यसको एक्स्पायरी तिथि पनि निश्चित छैन। यो शरीरको एक्स्पायरी वा समाप्ति कहिले हुन्छ, केही थाहा छैन। जबसम्म यो शरीर छ, तबसम्म यसको हेरचाहका लागि हामी कति समय खर्च गर्छौं, सोच्नुस् त! यसलाई सफा गर्नुपर्यो, लुगा लगाइदिनुपर्यो, खुवाउनुपर्यो, यसलाई शौचालयसम्म लग्नुपर्यो, कसरत गराउनुपर्यो, आराम गर्न र सुत्न दिनुपर्यो, र कुनै बेला चोटपटक लाग्यो वा बिरामी भयो भने यसको स्याहार सुसार गर्नुपर्यो। यो सबै गर्न कति आनन्द छ हगि? एक महान् भारतीय बौद्ध आचार्यले यसलाई सुन्दर तरीकाले भन्नुभएको छ — हामी सबै आफ्नो शरीरका दास हौं।
हाम्रो आवेग र भावनाजस्तै यो मनको पनि क्षमता सीमित छ। यो मनलाई हामीले शिक्षा दिनुपर्यो, तालिम दिनुपर्यो, तैपनि कैयौं कुरा यसले जान्न सक्दैन। कुनै पनि कुराको पूर्ण चित्र यसले देख्न सक्दैन – उदाहरणका लागि, विश्वव्यापी तापमान बृद्धि, कृत्रिम बुद्धि (आर्टिफिसियल इन्टेलिजेन्स), रोबोटिक्स, भर्चुअल रियालिटी आदिको असर के हुन्छ, त्यो हामी देख्न सक्दैनौं; आफ्नो जीवनमा के भैरहेको छ भन्ने कुरा जान्न त परै जाओस्। अझ खराब त के भने शरीरजस्तै यो मन पनि समयसँगै बुढो हुँदै जान्छ —स्मरणशक्तिमा ह्रास आउँछ, मस्तिष्कले ढीलो काम गर्न थाल्छ, हामी सजिलैसँग भ्रमित हुन थाल्छौं।
यी सबै थोकका अतिरिक्त हाम्रो भावनाहरूमा सजिलै चोट लाग्छ र आवेगहरू यसरी अनियन्त्रित दौडन्छन् कि हामी राम्रोसँग सोचविचार समेत गर्न सक्दैनौं। तर यो सबैका पछाडिको मुख्य समस्या के हो भने हाम्रा सीमित क्षमतायुक्त शरीर, मन, आवेग, भावनाहरू दोहोरिरहन्छन्, तिनीहरूले आफ्नो पुनरोत्पादन गरिरहन्छन्।