क्षान्ति पारमिता

भनिन्छ, “सहनशीलता एक सद्गुण हो।” त्यसको अर्थ के हामीले हरेक कुरा ङिच्च हाँसेर सहने मात्र हो? बुद्धधर्ममा क्षान्ति (सहनशीलता) एक बलशाली अभ्यास हो जसको अर्थ केवल सहेर मात्र बस्ने होइन, अपितु हामीले आफ्नो मनलाई साध्ने र यसलाई क्लेशको वशीभूत बन्नबाट बचाउने हो। सहनशीलताले हामीलाई आफ्नै र अरूको हितका लागि काम गर्ने शक्ति प्रदान गर्छ। यो निर्वाण र बोधितर्फ हामीलाई प्रस्थान गराउने तत्त्वहरूमध्ये एक हो।

परिचय

६ दूरगामी मनोवृत्तिहरू (षट्पारमिता) मध्ये तेस्रो क्षान्ति भनेको चित्तको त्यस्तो अवस्था हो जहाँ हामी क्रोधमा आउँदैनौं र अनेक कठिनाइ तथा दुःख सहन सक्षम हुन्छौं। अरूबाट आफूलाई अनेक प्रकारका हानि होलान्, तर त्यसले हामीलाई विचलित बनाउँदैन। यसको अर्थ यो होइन कि हाम्रा कुनै शत्रु वा हामीलाई चोट पुर्याउन प्रयत्न गर्ने मानिस नै हुने छैनन्। तर जे भए पनि हामी उनीहरूप्रति रिसाउँदैनौं, निराश वा हतोत्साहित बन्दैनौं, वा उनीहरूलाई सहयोग गर्ने काममा आनाकानी गर्दैनौं। यदि प्रायः हाम्रो पारा चढिरहन्छ भने अरूको हित गर्न कसरी सकौंला र? क्षान्ति पारमिताभित्र हामी तीन प्रकारका क्षान्ति अर्थात् सहनशीलताको चर्चा गर्छौं -

आफूलाई हानि पुर्याउनेहरूप्रति कलुष नराख्नु

आफूलाई कसैले हानि पुर्यायो भने उनीहरूप्रति कलुषित भाव वा रिस नराख्नु क्षान्तिको पहिलो प्रकार हो। यो केही नकारात्मक व्यवहार गर्ने मानिसको मात्र कुरा होइन, अपितु ती सबै मानिसको कुरा हो जो यथार्थमै हामीप्रति क्षुब्ध छन् र जसले हामीलाई साँच्चिकै शारीरिक वा मानसिक रूपमा हानि पुर्याएका छन्। यसमा त्यस्ता मानिस पनि पर्छन् जसले हामीलाई धन्यवाद दिँदैनन् वा हाम्रो कामको कदर गर्दैनन्। अरूलाई सहयोग गर्ने क्रममा यदि उनीहरूले हाम्रो सल्लाह मानेनन् वा हाम्रो प्रयासले काम गरेन भने त्यो अवस्थामा रिसाउनबाट बच्नु महत्त्वपूर्ण हुन्छ। कैयौं मानिस त्यस्ता हुन्छन् जसको हित गर्न औधी कठिन हुन्छ। त्यो अवस्थामा हामीले आफ्नो सहनशीलता नगुमाइकन आइपर्ने हरेक कठिनाइको सामना गर्नु जरुरी हुन्छ। 

हामी शिक्षक रहेछौं भने आफ्ना विद्यार्थीप्रति कहिल्यै पनि सहनशीलता गुमाउनुहुँदैन, चाहे उनीहरू हदैसम्मका सुस्त वा बुद्धु किन नहुन्। हामीले दिने शिक्षा धर्मसम्बन्धी होस् वा अन्य केही, शिक्षक भएका नाताले धैर्य गुम्न नदिने र निराशापूर्वक बीचमै पलायन हुनबाट बच्ने जिम्मेवारी हाम्रो हो। यो एक शिशुलाई सिकाएजस्तै हो : उनीहरूले वयस्क मानिसजस्तो छिटो सिक्न सक्दैनन्। 

दुःखमा धैर्य 

क्षान्तिको दोस्रो प्रकारमा हामीले आफ्नै दुःखलाई स्वीकार्नु र सहनु पर्छ। आचार्य शान्तिदेवले यसको बारेमा धेरै बताउनुभएको छ। उहाँ भन्नुहुन्छ, यदि हाम्रो समस्याको समाधान छ भने रिसाउनु, दुःखी हुनु, वा चिन्ताग्रस्त हुनुको कुनै तुक छैन। त्यतिबेला त्यो समस्याको समाधान गर्न जे गर्नुपर्छ, त्यही गर्ने हो। तर त्यसको समाधान छैन भने पनि किन रिसाउनु? रिसले त केही सहयोग गर्नेवाला छैन। जाडोको उदाहरण लिऊँ – हामीसँग न्यायो कपडा छ भने खुरुक्क त्यो कपडा खप्टाएर लगाउनुको साटो जाडो छ, जाडो छ भन्दै रिसाउँदै वा दुःखी हुँदै बस्नुको कुनै तुक हुन्छ? र यदि न्यानो कपडा छैन भने पनि रिसाउनु वा त्यसैबाट दुःखी हुनुको कुनै तुक हुँदैन, त्यसले हामीलाई न्यानो बनाउँदैन। 

त्यस्तै, अहिले भोग्दै गरेका दुःखलाई हामी आफ्ना नराम्रा अवरोधहरू पन्छिँदै गएको रूपमा लिन सक्छौं। नकारात्मक कर्मको विपाक अहिल्यै हुन लाग्यो, भविष्यमा भएको भए अझ खराब पो हुने थियो कि! अर्थात्, हामी सस्तैमा उम्किन पायौं। मानिलिऊँ, असाध्यै दुख्नेगरी टेबलमा हाम्रो खुट्टा ठोक्कियो – राम्रै भयो, किनकि खुट्टा भाँचिनबाट जोगियो! यसप्रकारले सोच्नाले हामी रिसबाट बच्छौं। खुट्टा ठोक्कियो भनेर तमासा खडा गर्ने र रन्थनिएर उफ्रिनाले हामीलाई एक रत्ती पनि फाइदा हुने होइन। आफ्नो आमा नै आएर मायाले म्वाईं खाइदिँदा पनि हाम्रो दुखाइ खासै कम हुने त होइन!

धैर्यको अर्को पक्ष हामीले सुरु गर्न लागेको अति नै सकारात्मक र सिर्जनात्मक कामसँग सम्बन्धित छ। यसमा लामो ध्यान साधना आरम्भ गर्ने, अरूको मद्दतका लागि लामो यात्रामा निस्कने, वा धर्मको कुनै परियोजनामा काम गर्ने आदि काम पर्न सक्छन्। त्यसको सुरुवातमै अनेक अवरोध र कठिनाइ आउँछन् भने अति उत्तम हो। अवरोधहरूबाट सुरुमै छुटकारा मिल्यो, बाँकीको काम राम्रोसँग सम्पन्न हुन्छ। पछि गएर हाम्रा लागि ठूला समस्या खडा हुनुभन्दा पहिल्यै ती बाधाहरू सकिए भनेर हामी खुशी हुनुपर्छ।  

दुःख र समस्याका राम्रा पक्षहरू पनि हुन्छन् भनेर शान्तिदेवले बताउनुभएको छ। तर यसको अर्थ हामीले सक्रियतापूर्वक दुःखको सिर्जना गर्ने र आफूलाई पीडा दिने होइन। बरु जब हामी दुःख भोगिरहेका हुन्छौं, तब त्यसपछाडिका कैयौं राम्रा पक्षहरू देख्न सिक्नुपर्छ। दुःखले हाम्रो अहंकार क्षीण गराउँछ र हामीलाई विनयी बनाउँछ। यसले आफूजस्तै दुःखमा परेका अरूप्रति करुणाको विकास गर्न सहयोग गर्छ। उदाहरणका लागि हामीलाई कुनै रोग लाग्यो भने आफूजस्तै रोगका कारण दुःखी मानिसहरूप्रति सहज रूपमा करुणाको भाव आउँछ, उनीहरूको पीडा हामी बुझ्न सक्छौं। आफू बुढा भएपछि बुढेसकालको पीडा यथार्थमै जान्न सक्छौं। पक्कै पनि, १६ वर्षे उमेरमा हामीलाई बुढाबुढीको भावना बुझेर उनीहरूप्रति करुणा राख्न सहज हुँदैन, किनकि त्यतिबेला ७० वर्षको मान्छेले भोग्ने पीडा थाहै हुँदैन। तर जब हामी आफैं बुढेसकालमा पुग्छौं र ती सब पीडाबाट गुज्रिन्छौं, तब ती बृद्धबृद्धाप्रति स्वाभाविक रूपमा गहन करुणा र समझदारीको भाव राख्न सक्छौं।

फेरी, कर्म अर्थात् व्यवहारगत कार्य र कारणको सम्बन्ध थाहा भयो भने त्यसले हामीलाई नकारात्मक कृत्य गर्नबाट बचाउँछ। किन? किनकि नकारात्मक कृत्य गर्नु नै दुःखको कारण हो। यो जानेर हामी सकारात्मक कृत्यतर्फ अझ सबलतापूर्वक प्रवृत्त हुन्छौं, जुन सुखको कारण बन्न पुग्छ। 

धर्मका खातिर कठिनाइको सामना गर्नु 

क्षान्तिको तेस्रो प्रकार हो – धर्म अध्ययन र अभ्यासका क्रममा आइपर्ने कठिनाइको सामना गर्नु। बोधि प्राप्त गर्न अत्यन्त ज्यादा परिश्रम र प्रयासको आवश्यकता हुन्छ। यसका लागि हामी पहिल्यै तयार हुनुपर्छ, ताकि बीचमा हरेस नखाइयोस्। अर्थात् हामी आफैंप्रति सहनशील हुनुपर्छ। 

संसारको स्वभाव नै कस्तो छ भने यहाँ सधैँ उँचनीच भैरहन्छ। उच्च र नीच पुनर्जन्मको कुरा मात्र होइन, सामान्यता यो संसारको हरेक क्षेत्रमा सधैँभरी उँचनीच भैरहन्छ। कहिले हामीलाई साधना गर्न मन लाग्छ, कहिले लाग्दैन। कहिले साधनाको राम्रो अनुभूति हुन्छ, कहिले हुँदैन। यो संसार हो, यसबाट हामीले ज्यादा के आश गर्नु? हरेक दिन राम्रै मात्र हुन्छ भन्ने छैन, त्यसैले हामीले आफ्नो धैर्य कायम राख्नुपर्छ र कुनै दिन आफूले भनेजस्तो भएन भने हरेस खाइहाल्न हुँदैन। हामीलाई लाग्न सक्ला कि मैले रिसमाथि विजय प्राप्त गरिसकेँ, अब फेरी रिसले मलाई सताउनेछैन। तर फेरी केही नसोचेको कुरा भैदिन्छ र हामी आफ्नो पारा गुमाउँछौं। यस्तो त भैरहन्छ! हामीले अर्हत् अवस्था प्राप्त गरेर मुक्त नहुन्जेल रिसबाट पूर्ण छुटकारा पाउन सक्दैनौं। त्यसैले धैर्य नै मुख्य कुँजी हो। 

क्षान्तिको विकासमा शान्तिदेवको शिक्षा

बोधिचर्यावतारमा शान्तिदेवले क्षान्तिको विकासका लागि केही उपायहरू बताउनुभएको छ। त्यसमध्ये केही उदाहरणहरू निम्नानुसार छन् -

आगो वा चुल्होमा हात जल्यो भने हामी त्यो आगोप्रति किन तातो भइस् भन्दै रिसाउँदैनौं। त्यो आगोको स्वभाव नै हो। त्यस्तै, संसारसँग के आस गर्नु? यहाँ अरूबाट हामीलाई निरासा नै हात लाग्नेछ, मानिसले हामीलाई पीडा दिनेछन्, परिस्थिति कठिन हुनेछ। कसैलाई केही काम गर्न अनुरोध गर्यौं भने उनीहरूले त्यसलाई गलत तरिकाले गर्नेछन् भन्ने ठाने हुन्छ। हामीले चाहेजस्तो तरिकाले उनीहरूले त्यो काम गरेनन् भने त्यसमा दोष कस्को भयो? दोष हाम्रो नै हुनेछ, किनकि हामी अति अल्छी थियौं र आफूले गर्नुको साटो अरूलाई त्यो काम गर्न लगायौं। कसैसँग रिसाउनै छ भने केवल आफ्नो अल्छीपनासँग रिसाए हुन्छ!

“संसारसँग के आस गर्नु?” यसरी सोच्नाले हामीलाई विभिन्न प्रकारका क्षान्तिको विकास गर्न सहयोग पुग्छ। के हामी यो जीवन सधैँभरी सजिलोसँग बित्छ र हरेक चीजले सदा सर्वदा उत्तम तरिकाले नै काम गर्छ भन्ने सोच्छौं? यो जीवनको प्रत्येक क्षण नै संसार हो – अर्थात्, हरेक क्षणमा अनियन्त्रित ढंगले दुःख र समस्याहरू आइरहन्छन्। त्यसैले आफूले सोचेअनुसारको परिस्थिति बनेन भने वा अरू मानिसले हामीलाई पीडा दिए, निरासा दिए भने अचम्म नमान्नुहोस्। त्योबाहेक हामी अरू के नै आस गर्न सक्छौं र? त्यसैकारण नै हामी यो सबैथोकबाट मुक्त हुन चाहन्छौं।  

यो त जाडोका दिनहरू चिसा र अँध्यारा हुन्छन् भनेर गुनासो गरेजस्तै भयो। के जाडो महिनामा हामी तातो र उज्यालो दिनको आश गर्न सक्छौं र? जसरी आगो तातो हुन्छ र हातले आगो चलायौं भने हामीलाई पोल्छ, त्यसैगरी जाडो ऋतुमा दिनहरू अँध्यारा र चिसा हुन्छन्। त्यसमा रिसाएर हामीलाई केही फाइदा हुनेवाला छैन। 

शान्तिदेवले सुझाउनुभएको अर्को तरिका हो – अन्य मानिसलाई दिमागी सन्तुलन ठीक नभएको वा बालकजस्तो ठानेर हेर्ने। मानसिक सन्तुलन ठीक नभएको वा रक्सीले मातेको मानिस हामीसँग करायो र जवाफमा हामी पनि त्यसरी नै करायौं भने त उभन्दा हामी बेवकूफ भयौं, होइन त? टेलिभिजन बन्द गरेर आफ्नो दुईवर्षे बालकलाई सुत्न पठाउँदा उसले रिसमा “तिमी मलाई मन पर्दैन” भन्यो भने के हामी त्यो कुरालाई गम्भीरतापूर्वक लिँदै उदास हुन्छौं? पक्कै पनि हुँदैनौं, किनकि उ त बालक हो। त्यसरी नै अरू मानिसले कुनै गलत व्यवहार गर्दा उसलाई एक रिसाएको बालक वा सनकी मानिसको रूपमा हेर्ने हो भने उनीहरूप्रतिको रिस नियन्त्रण गर्न सजिलो हुन्छ। 

त्यसैगरी, कसैले हामीलाई धेरै सताइरहेको छ भने उसलाई आफ्नो स्कूल शिक्षकका रूपमा हेर्दा निकै मद्दत पुग्छ। हामी सबैले जीवनमा त्यस्तो अति नै सताउने तर उसबाट छुटकारा पाउन नसकिने मानिस झेलेकै हुन्छौं, होइन त? उसँग भएका बेला यस्तो सोच्नु उपयोगी हुन्छ ः “यो व्यक्ति मेरो धैर्यको शिक्षक हो।” खासमा भन्ने हो भने कसैले हामीलाई कहिल्यै सताएन वा दुःख दिएन भने हामी क्षान्तिको अभ्यास गर्नै पाउँदैनौं। तर हामी क्षान्तिको अभ्यास गर्छौं, र आफूलाई त्यसको अवसर दिने ती मानिसहरू कति हितकारी रहेछन् भन्ने सोच्छौं। त्यसो हुँदा हामीले चुनौतीको सामना नै गर्नुपर्दैन। परम पूजनीय दलाई लामा अक्सर भन्नुहुन्छ, तिब्बती नेताहरू उहाँका शिक्षक हुन्, र क्षान्ति अभ्यासका लागि माओत्सेतुङ् उहाँको सबैभन्दा ठूला गुरु हुन्। 

सारांश

संसारमा रहुञ्जेल हरेक दिन हामी समस्या र निराशाको सामना गरिरहन्छौं। कहिले ठ्याक्कै हामीले भनेजस्तो परिस्थिति बन्छ भने कहिले जीवन पूर्णतया नियन्त्रणबाट बाहिर गएजस्तो हुन्छ। हामीले गर्ने हरेक कुरा बिग्रन सक्ने सम्भावना हुन्छ, हामीले बनाउने हरेक मित्र कुनैबेला शत्रु बन्नसक्छ। आफ्नो परम मित्रका लागि जतिसुकै मद्दत किन नगरौं, उनीहरूले हाम्रो पछाडि नानाभाँति कुरा काट्न सक्छन्। 

यस्तो अवस्थामा रिसाउनु स्वाभाविक जस्तो लाग्छ। शत्रुलाई सिध्याएँ भने मेरो मनलाई शान्ति मिल्नेछ भन्ने हामीलाई लाग्न सक्छ। तर दुर्भाग्य, आफ्नो परम शत्रुलाई आज सिध्याएँ भने भोलि अर्को र पर्सि फेरी अर्को शत्रु उत्पन्न भैहाल्छ। सिँगै पृथ्वीलाई छालाले ढाकेर सुरक्षित गर्न खोज्नुभन्दा आफ्नो खुट्टालाई छालाको जुत्ताले ढाकेर सुरक्षित बनाउने सल्लाह आचार्य शान्तिदेव दिनुहुन्छ। अर्थात्, आफ्ना बाहिरी शत्रुमाथि विजय प्राप्त गर्नुको खासै अर्थ छैन। बरु आफू भित्रै रहेको शत्रु अर्थात् रिसलाई सिध्याउनु जरुरी छ। यहाँ हाम्रो लागि छालारूपी सुरक्षा भनेको क्षान्ति हो, जसबाट हामी अरूले दिने पीडा र निर्वाणको बाटोमा आउने अवरोधहरूको सामना गर्न सक्छौं। 

Top