प्रज्ञा पारमिता

वास्तविकता र कोरा कल्पनाबीचको फरक विवेकसम्मत ढंगले छुट्याउने ज्ञान नहुनु भनेको हाम्रो आफ्नै र अरूको सांसारिक तथा आध्यात्मिक लक्ष्यहरू पूरा गर्ने महत्त्वपूर्ण उपायहरूबाट रहित हुनु हो। बेहोसी र भ्रमको अवस्थामा हामी आफ्नो र अरूका लागि के उचित होला भन्ने अनुमान त गर्न सकौंला तर प्रायः त्यस्तो अनुमान गलत हुन्छ। प्रज्ञाको दूरमागी चित्तावस्था, अर्थात् प्रज्ञा पारमितामा हामी बुद्ध बन्न सक्छौं र यो संसारमा जति पनि सत्त्व छन्, ती सबैको हितका लागि सबैभन्दा प्रभावकारी र उपयुक्त उपाय के हुन्छ भन्ने कुरा पूर्णरूपमा जान्दछौं।

प्रज्ञाको दूरमागी चित्तावस्था, अर्थात् प्रज्ञा पारमिता षट्पारमितामध्ये अन्तिम हो। यसमा हामी बोधि प्राप्त गर्न र अरू सबैलाई हित गर्न आवश्यक हरेक कुराको स्वभाव र सूक्ष्म सत्यबारे सम्पूर्ण रूपमा, सही सही, र यकीनका साथ अन्वेषण र भेद गर्न सक्छौं। प्रज्ञापारमितामा सटीक रूपमा जानिने तथ्यका तीन प्रकार छन् :

१. गहनतम (परमार्थ) तथ्य – यथार्थको वास्तविक स्वरूप, अर्थात् कुनै पनि चीज आफ्सेआफ अस्तित्ववान हुने स्वभावबाट रहित हुन्छ। यसको बोध या त अप्रत्यक्ष ढाँचामा विचारको मद्दतले या प्रकट रूपमा अविकल्पात्मक तवरले गरिन्छ। 

२. सतही, व्यवाहारिक (संवृत्ति) तथ्य – ज्ञानका मुख्य पाँच क्षेत्र – हस्तकला तथा शिल्पकला, औषधी विज्ञान, भाषा तथा व्याकरण, तर्क र बौद्ध शिक्षाका आन्तरिक विषयवस्तु, र खासगरी बोधका स्तरहरू तथा मार्ग र तिनलाई हासिल गरेको लक्षण।

३. दुःखपूर्ण अवस्थामा रहेका सबै सत्त्वहरूको हित – शील पारमिता, क्षान्ति पारमिता र ध्यान पारमितामा चर्चा गरिएका ११ प्रकारका मानिसहरूको हित गर्ने उपाय। 

प्रज्ञाको पारमिताबाट हामी सही तरीकाले ढुक्कसँग निम्न कुराहरूबारे जान्न सक्छौं :

  • हामीले हासिल गर्न चाहेका सकारात्मक लक्ष्यहरू
  • तिनलाई हासिल गर्दा हुने लाभ
  • तिनलाई हासिल नगर्दा हुने हानि
  • ती लक्ष्य हासिल गर्न सघाउने सबैभन्दा प्रभावकारी उपायहरू
  • ती उपायहरूलाई सही ढंगले कसरी अभ्यास गर्ने
  • अभ्यासका क्रममा आइपर्ने अवरोधहरू
  • ती अवरोधहरूलाई पन्छाउने वा तिनबाट मुक्त हुने उपाय

प्रज्ञा पारमितामा आउने सही ज्ञानको अभावमा हामी बौद्ध मार्ग अन्धाले जसरी मात्र अभ्यास गरिरहेका हुनेछौं। आफ्नो लक्ष्य के हो, किन त्यो लक्ष्य हामीले लिएका छौं, तिनलाई कसरी हासिल गर्ने, त्यसलाई हासिल गर्यौं भने त्यो उपलब्धिलाई के गर्ने आदि कुरा थाहा हुँदैन। त्यसैले आफ्नो अभ्यासलाई स्वार्थी, अज्ञानी आशयले दूषित गरिदिन्छौं। तिनलाई आफ्ना क्लेश र दृष्टिकोणद्वारा मैला गराइदिन्छौं। यसरी आफ्नो सफलताको सम्भावनालाई हामी जोखिममा पारिदिन्छौं।

अन्य पाँच पारमिता अर्थात् दान पारमिता, शील पारमिता, क्षान्ति पारमिता, वीर्य पारमिता, र ध्यान पारमितालाई साँच्चिकै व्यवहारमा उतार्नका लागि पनि प्रज्ञा पारमिता अपरिहार्य छ। प्रज्ञा पारमिताको मद्दतले हामी निम्न कुरालाई सटिक ढंगले र पक्कासँग जान्न सक्छौं :

  • के र कसलाई दान गर्नु उचित हुन्छ, के र कसलाई दान गर्नु उचित हुँदैन – यो जान्दछौं। त्यस्तै आफ्नो, दान गरिने व्यक्तिको, र दान गरिने चीजको निःस्वभावता जान्दछौं। यसरी कुनै पनि अहंकार, आसक्ति, वा पछुतोबिना के दान गर्नु हितकारी हुन्छ भन्ने जान्दछौं। 
  • आफ्नो र अरूको लागि के हानिकारक छ; संसारको दुःख के हो; निर्वाणको शांत र निस्पृह अवस्थामा हराउने प्रवृत्तिका दोष के हुन् आदि जान्दछौं। यसरी हामी विशुद्ध रूपमा नैतिक आत्म–संयम कायम गर्न सक्छौं, जसको एकमात्र उद्देश्य आफ्नो स्वार्थी आशयको पूर्तिभन्दा अरूको हित गर्नु हुन्छ।
  • असहिष्णुताका दोष र सहिष्णुताका लाभबारे जान्दछौं। कसैको हित गर्ने हाम्रो प्रयत्नविरुद्ध उनीहरूले गर्ने नकारात्मक तथा आक्रामक प्रतिकृया र धर्मको अभ्यासमा आइपर्ने कठिनाइलाई क्रोधबाट मुक्त हुँदै मैत्री र करुणामार्फत सम्हाल्न सक्छौं। 
  • आध्यात्मिक लक्ष्य किन हासिल गर्न खोजिरहेका छौं र हामीले हिंडिरहेको बाटोले त्यो लक्ष्यप्राप्तिमा कसरी सहयोग गर्छ, जान्दछौं। यसरी हामी अल्छीपनाबाट मुक्त हुँदै हरेस नखाइ तथा पलायन नभइ आफ्नो बाटोमा अडिग भएर लागिपर्छौं।
  • यथार्थ के हो र असम्भव अस्तित्वबारे हामी आफैंले गरेको प्रक्षेपण के हो, जान्दछौं। र, चित्तको स्थिरतासहितको एकाग्रता सत्यको यथार्थ स्वरूप जान्नमा केन्द्रित हुन्छ जसबाट हामी निर्वाण र बोधि प्राप्त गर्छौं। फेरी आफ्नो लक्ष्यबारेको विवेकपूर्ण बोधका मद्दतले ध्यानमा प्राप्त आनन्द र सुखमा आफूलाई भट्किन नदिइ सबै सत्त्वको हितको लक्ष्यमा लागिरहन्छौं। 

दश पारमिता

कहिलेकाहीँ दश पारमिताको चर्चा गरिन्छ। यसका पछिल्ला चार पारमिता प्रज्ञा पारमिताकै भेद मात्र हुन्। 

  • उपाय कौशल्यको पारमिता यो त्यस्तो प्रज्ञा हो जसले आन्तरिक रूपमा धर्मको शिक्षालाई आत्मसात गर्न र बाह्य रूपमा अरूलाई निर्वाण र बोधिलाभमा सहयोग गर्न सक्षम बनाउँछ। 
  • प्रणिधानको पारमिता यो त्यस्तो विशेष प्रज्ञा हो जसले हाम्रो बोधिचित्तको लक्ष्य र आफ्ना कृत्यहरूले अविच्छिन्न रूपमा अरूको हित गरिरहून् भन्ने प्रणबाट जन्मौँ जन्मसम्म हामीलाई छुटिन दिँदैन। 
  • बलको पारमिता यो त्यस्तो विशेष प्रज्ञा हो जुन विश्लेषणात्मक तथा स्थिरकारी ध्यानबाट प्राप्त हुन्छ। यसलाई आफ्नो प्रज्ञाकै विस्तारमा उपयोग गरिन्छ ताकि यसलाई राग लगायतका कुनै विघ्नकारी क्लेशले ध्वस्त नपारोस्। 
  • ज्ञानको पारमिता यो त्यस्तो विशेष प्रज्ञा हो जसले सर्वधर्म शून्यताको सही ज्ञानलाई हाम्रो चित्तमा पूर्ण एकाकार गराउँछ। यसबाट हामी कुनै पनि कुराको व्यावहारिक र गहनतम सत्यलाई एकैसाथ जान्न सक्छौं। 

सारांश

प्रज्ञा पारमिताको माध्यमबाट हामी आफूले गर्ने कुनै पनि अभ्यासको उपादेयता के हो, स्पष्ट रूपमा यकीनका साथ थाहा पाउँछौं। त्यो अभ्यासले जुन अवस्थाबाट मुक्त गर्न खोजेको हो, त्यही अवस्थामा बसिरहँदा हुने बेफाइदाबारे पनि थाहा पाउँछौं। यस्तो दृढ बोध र विश्वासको जगमा उभिएर तथा कहिल्यै कमजोर नहुने मैत्री, करुणा र बोधिचित्त लक्ष्यबाट बल प्राप्त गरेर हामी जेजति धर्म अभ्यास गर्छौं, ती सबै बोधि प्राप्त गर्न तथा सबै सत्त्वलाई सकेसम्म हित गर्न प्रभावकारी बन्छन्। 

Top