बुद्धधर्मको आधारभूत अभ्यासमा हामी तीन क्षेत्रमा आफूलाई प्रशिक्षित गर्छौं। स्वकल्याणको दृष्टिले हामी आफ्नै समस्या र दुःखकष्टहरू हटाउन यी क्षेत्रमा आफूलाई प्रशिक्षित गर्छौं। अथवा हाम्रो उद्देश्य परकल्याण पनि हुन सक्छ, हामी अरुप्रति मैत्री र करुणाले युक्त भई तिनको साधना गर्न सक्छौं।
ती तीन साधनाहरू के हुन् त?
- शील (नैतिक आत्म–संयम) – यो नकारात्मक व्यवहारबाट बच्ने क्षमता हो। यसको विकासका लागि सकारात्मक व्यवहार गर्न थाल्नुपर्छ। यो आत्म–संयमसँग सम्बन्धित छ। यसमा हामी आफ्नो संयम गर्छौं, अरुमाथि नियन्त्रण गर्न खोज्दैनौं।
- समाधि (एकाग्रता) – यो आफ्नो मनलाई एकत्रित गर्ने क्षमता हो, ताकि हाम्रो मन अनेक थरी बाह्य विचारहरूमा नभट्कियोस्। यो अभ्यासद्वारा हामी आफ्नो चित्तलाई प्रखर बनाउँछौं, ताकि त्यो सुस्त पनि हुन नपाओस्। मानसिक स्थिरताका अतिरिक्त भावनात्मक स्थिरताको विकास गर्नु पनि आवश्यक हुन्छ ताकि हाम्रो मन रिस, आसक्ति, ईर्ष्या आदि आवेगहरूको वशीभूत नहोस्।
- प्रज्ञा (विवेकपूर्ण होश) – यो कुन कुरा ग्रहण गर्न योग्य छ र कुन छैन भनेर छुट्याउन सक्ने क्षमता हो। हामी तरकारी किन्न जाँदा “यो त्यत्ति राम्रो देखिँदैन, तर त्यो चाहिँ राम्रो जस्तो देखिन्छ” भन्ने छुट्याएर लिन्छौं। त्यस्तै आफूले गर्ने व्यवहारको हकमा पनि परिस्थिति अनुसार कुन ठीक हो, कुन ठीक होइन भनेर छनौट गर्न सक्छौं। अलि गहिरो स्तरमा कुन चाहिँ साँच्चिकै यथार्थ हो र कुन हाम्रो मनको कल्पना र प्रक्षेपण मात्रै हो भनेर छुट्याउन सक्छौं।
बौद्ध विज्ञान, दर्शन, र धर्म
यी तीन साधनाहरू हामीले आफ्नो कल्याणका लागि गर्न सक्छौं, वा अरुको कल्याणका लागि। तर जसका भएपनि यसलाई दुई दृष्टिकोणबाट हेर्न सक्छौं। यो दुईखाले दृष्टिकोणबारे परम पूजनीय दलाई लामाले सामान्य श्रोताहरूले बुझ्ने गरी स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार बुद्धधर्मका तीन पक्ष छन्ः बौद्ध विज्ञान, बौद्ध दर्शन र बौद्ध धर्म।
बौद्ध विज्ञानले विशेषतः चित्तको विज्ञान (मनोविज्ञान) बारे बताउँछ। चित्तले कसरी काम गर्छ तथा हाम्रा मनोवेगहरू कस्ता हुन्छन् भन्ने सम्बन्धमा र दलाई लामाले उल्लेख गर्नुहुने मानसिक र संवेगात्मक स्वास्थ्य सम्बन्धमा चर्चा गर्छ। विभिन्न खाले भावनात्मक अवस्थाहरू र तिनीहरूको प्रक्रियाको अन्तरसम्बन्धबारे विस्तृत व्याख्या यसमा गरिएको छ। यसका अलावा बौद्ध विज्ञानले निम्न कुराहरू समेटेको छः
- संज्ञानात्मक विज्ञान – हाम्रो बोधले कसरी काम गर्छ, चेतनाको प्रकृति के हो, एकाग्रता विकसित गर्न हामीलाई सघाउने साधना पद्धतिहरू के हुन् आदि।
- ब्रह्माण्ड विज्ञान – ब्रह्माण्डको उत्पत्ति कसरी हुन्छ, यो कसरी कायम रहन्छ, र यसको अन्त कसरी हुन्छ जस्ता कुराको विस्तृत विश्लेषण।
- पदार्थको अध्ययन – पदार्थ, ऊर्जा, सूक्ष्माणु आदि कसरी काम गर्छन् भन्ने कुराको विस्तृत विश्लेषण।
- चिकित्सा पद्धति – शरीरभित्रका ऊर्जाहरूले कसरी काम गर्छन् भन्ने कुराको अध्ययन।
यी कुराहरू जोकोहीले पनि पढ्न, जान्न, र यसबाट लाभ लिन सक्छन्। दलाई लामाले यस विषयमा वैज्ञानिकहरूसँग प्रायः परामर्श गरिरहनु हुन्छ।
दोश्रो विभाजन अर्थात बौद्ध दर्शनले निम्न कुराहरू समेट्छः
- नीति – दया र उदारता जस्ता आधारभूत मानव मूल्यहरूबारे चर्चा। यी मूल्यहरू कुनै धर्मविशेषसँग जोडिएका हुँदैनन् तर यसबाट सबैजना लाभान्वित हुन सक्छन्।
- तर्क र तत्त्वमीमांसा – समुच्चय सिद्धान्त, सार्वभौमिक तत्त्व, व्यक्तिगत तत्त्व, गुण, विशेषता आदिको बारेमा विस्तृत चर्चा। तिनीहरूको कार्यप्रणाली कसरी अन्तरसम्बन्धित छ र हामी तिनीहरूका बारेमा कसरी जान्दछौं भन्ने विश्लेषण।
- कारण र प्रभाव – कारण-कार्य सिद्धान्त, वास्तविकताको स्वरुप र हाम्रो कल्पनाहरूले कसरी वास्तविकतालाई बंग्याउँछन् भन्ने कुराहरूको विस्तृत विश्लेषण।
बौद्ध दर्शन पनि बौद्ध धर्मावलम्बीका लागि मात्र होइन, सबैका लागि हो। यसबाट सबैले लाभ लिन सक्छन्।
तेश्रो विभाजन अर्थात बौद्ध धर्मले बौद्ध अभ्यासको वास्तविक धरातल प्रदान गर्छ। यसमा कर्म, पुनर्जन्म, धार्मिक अनुष्ठानहरू, मन्त्र आदि शिक्षाहरू समावेश छन्। यो चाहिँ विशेष रूपमा बौद्ध धर्मावलम्बीहरूका लागि हो।
माथिका तीनै साधनाहरू (शील, समाधि, प्रज्ञा) लाई बौद्ध विज्ञान र बौद्ध दर्शनको दृष्टिकोणबाट मात्र पनि सबैका लागि प्रासङ्गिक र उपयुक्त हुने गरी प्रस्तुत गर्न सकिन्छ। र, तेश्रो पक्ष अर्थात् बौद्ध धर्मलाई पनि सँगै राखेर प्रस्तुत गर्न सकिन्छ। यो वर्गीकरणलाई मैले “धर्म–लाइट” तथा “द रियल थिंग धर्म” भनेर सम्बोधित गरेको छु।
- धर्म–लाइट – वर्तमान जीवनलाई उन्नत बनाउने उद्देश्यले बौद्ध विज्ञान र बौद्ध दर्शनका विधिहरूको अभ्यास गर्ने।
- द रियल थिंग धर्म – तीन बौद्ध लक्ष्यहरू अर्थात उन्नत पुनर्जन्म, बारम्बारको जन्मचक्रबाट मुक्ति र बोधि प्राप्तिका लागि तीनवटै पक्षहरू (विज्ञान, दर्शन र धर्म) लाई एकसाथ अपनाउने।
धर्म–लाइट भन्नाले मेरो आशय रियल थिंग धर्मतर्फको एक शुरुवाती चरण हो। किनभने जब हामी आफ्नो सामान्य जीवनमा सुधार ल्याउँछौं, तबमात्र यसभन्दा पर जान सक्छौं र आफ्ना आध्यात्मिक लक्ष्यहरू प्राप्त गर्नेबारे सोच्न सक्छौं। यो कुराको महत्त्व हामीले बुझ्नु आवश्यक छ। तर बौद्ध विज्ञान र बौद्ध दर्शन बौद्ध धर्मका लागि आवश्यक पूर्व तयारीहरू मात्र होइनन्। चाहे हामी यसलाई बौद्ध मार्गको प्रारम्भिक तैयारीका रूपमा लिऊँ वा सामान्य जीवनयापनको आवश्यकताका रूपमा लिऊँ, आफ्नो जीवनलाई समुन्नत बनाउन यी तीन वटै पक्षहरू उपयोगी हुन्छन्। हामीले तिनको उपयोग कसरी गर्ने भन्ने कुरा निर्क्यौल गर्नु आवश्यक छ।
चार आर्यसत्य
बौद्ध दर्शनका आधारमा हामी चार आर्यसत्यको बौद्ध चिन्तनले कसरी काम गर्छ भन्ने कुरा जान्ने प्रयास गर्छौं। यसलाई हामी जीवनका चार तथ्यहरूका रूपमा लिन सक्छौं।
- हामी सबैले अनेक दुःख र समस्याहरू भोग्नु पर्छ। त्यसैले हामी भन्न सक्छौं, जीवन कठिनाइहरूले भरिएको छ। यो पहिलो तथ्य हो।
- दोश्रो तथ्य हो – हाम्रो जीवनमा समस्याहरू विभिन्न कारणले गर्दा उत्पन्न हुन्छन्।
- यी समस्याहरूलाई उत्पन्न हुनबाट रोक्न सकिन्छ। चुपचाप समस्या सहेर बसिरहनु आवश्यक छैन, हामी तिनलाई हल गर्न सक्छौं। यो तेश्रो तथ्य हो।
- चौथो तथ्य के हो भने हामी समस्याका कारणहरूलाई हटाएर ती समस्याबाट मुक्त हुन सक्छौं। यसका लागि हामीले कसरी कर्म गर्ने, कसरी बोल्ने आदि सुझावसहितको ज्ञानको मार्ग अनुसरण गर्नु आवश्यक हुन्छ।
हामीले गर्ने कर्म र बोल्ने बोलीले समस्याहरू खडा गर्छन् भने तिनलाई बदल्नु आवश्यक हुन्छ। यहाँ हामीले चर्चा गर्न लागेका तीन साधनाहरू समस्याबाट पार पाउन के गर्नुपर्छ भन्ने कुरासँग सम्बन्धित छन्। यसरी बुझ्यो भने ती तीन साधनामा आफूलाई प्रशिक्षित गर्न सहज हुन्छ। तसर्थ, यदि हाम्रो जीवनमा समस्याहरू छन् भने सोचौंः
- के मेरो नैतिक आत्म-संयममा केही समस्या छ? मैले गर्ने कर्म र मेरो वचनमा समस्या छ?
- मेरो मानसिक एकाग्रतामा केही समस्या छ? मेरो मन र आवेगहरू सबैतर्फ छरपष्टिएर सम्हाल्न नसकिने भएका त छैनन्?
- के मैलै यथार्थ र आफ्नै मनगढन्ते कल्पनाहरूबीचको फरक छुट्याएर हेर्न सकेको छु? के समस्या त्यहाँ छ?
यसरी विचार गरेर हामी साधनाका यी तीन अंगलाई यो जीवनकालमा उपयोग गर्न सक्छौं, र योभन्दा पछिको जीवनहरूमा आउन सक्ने समस्याको हल खोज्न पनि उपयोग गर्न सक्छौं। प्रारम्भिक चरणमा हामी यो प्रशिक्षणलाई यही जीवनकालको सन्दर्भमा मात्र सोचेर हेरौं। के यो हाम्रा लागि उपयोगी हुन सक्छ? हामी आफ्ना लागि समस्या निम्त्याउने कस्ता कामहरू गर्दैछौं? तिनको निराकरण कसरी गर्न सकिएला?
दुःखका कारण
बौद्ध दर्शनका हिसाबले दुःखको कारण हाम्रै अज्ञान हो। हामी खासगरी दुइ कुराप्रति अनभिज्ञ अथवा अन्यौलमा हुन्छौं।
पहिलो, हामी कारण र असरको सम्बन्धबारे अनभिज्ञ हुन्छौं, खासगरी आफ्नो व्यवहारको सिलसिलामा। रिस, लोभ, आसक्ति, घमण्ड, ईर्ष्या आदि विनाशकारी संवेगहरू हामीभित्र छन् भने विध्वंसात्मक व्यवहार गर्छौं। रिस उठेको छ भने मानिसहरूमाथि खनिन्छौं। ईर्ष्या जागेको छ भने अरुलाई हानि पुर्याउने काम गर्छौं। हामी मानिसहरूसँग आसक्त हुन्छौं र उनीहरूसँग टाँसिइरहन खोज्छौं। यस्ता संवेग (इमोसन) हरूले हामीलाई विनाशात्मक काम गर्न लगाउँछन्। खासमा यस्ता काम आत्म–विनाशकारी हुन्छन, हामी अन्ततः आफैं दुःखी हुन्छौं।
यहाँनेर विनाशात्मक संवेग (डिस्ट्रक्टिभ इमोसन) को परिभाषा बुझ्नु आवश्यक छ। यो मनको त्यो अवस्था हो, जुन उत्पन्न भयो भने हामी आफ्नो मनको शान्ति र आत्म–संयम गुमाउँछौं। रिसको वशीभूत भई हामी कसैसँग चिच्यायौँ भने त्यसले उनीहरूलाई दुःखी बनाउन पनि सक्छ, नबनाउन पनि सक्छ। हाम्रो बोली उनीहरूले सुन्दै नसुन्न पनि सक्छन्। सुनिहाले भने हाँसेर हामीलाई वेवकूफ भन्ठान्न सक्छन्। तर हामी आफूले चाहिँ मनको शान्ति गुमाउँछौं र भावनात्मक रूपमा विचलित हुन्छौं। चिच्याउन बन्द गरेको धेरै समयसम्म यसको असर रहन्छ। यो एकदमै अप्रिय अनुभव हुन्छ। आत्म–संयम गुमाएको कारण हामीले पछि पश्चात्ताप गर्नुपर्ने गरी काम गर्छौं। यस्तो व्यवहार हामी किन गर्छौं? केही कारण निम्नानुसार छन्ः
- हामीलाई कारण र त्यसको असरबारे वास्तविक ज्ञान हुँदैन। हामी प्रायः यो पनि बुझ्दैनौं कि अशान्तकारी संवेगको वशमा परी कुनै काम गर्यौ भने त्यसले हामीलाई दुःखी बनाउँछ।
- वा, हामी कारण र त्यसको असरबारे भ्रममा हुन्छौं र यसलाई गलत तरीकाले बुझिरहेका हुन्छौं। हामी प्रायः सोच्छौं, “यदि रिस उठेको बेला म यो मान्छेसँग कराएँ भने मलाई शान्ति हुनेछ।” तर खासमा त्यसो हुँदैन। त्यस्तै हामी कसैप्रति आशक्त छौं भने उसलाई भन्न सक्छौं, “किन तिमी मलाई धेरै फोन गर्दैनौ, वा मलाई भेट्न आइराख्दैनौ?” तर यस्तो व्यवहारले प्रायः उनीहरूलाई हामीबाट टाढा बनाउँछ। हामी जे चाहन्छौं, त्यो हुँदैन किनकि हामी कारण र असरको अन्तरसम्बन्ध कस्तो हुन्छ भन्ने कुराप्रति भ्रममा हुन्छौं।
दोश्रो प्रकारको अज्ञान यथार्थप्रति हाम्रो अनभिज्ञतासँग सम्बन्धित छ। यथार्थप्रति भ्रम भएका कारण हामी अशान्तकारी मनोभावहरूको प्रभावमा आउँछौं। उदाहरणका लागि हामी प्रायः आफू–केन्द्रित हुन्छौं। सधैँ म, मेरो, मलाई भन्ने कोणबाट मात्र सोचिरहेका हुन्छौं। यो भावले एकदमै असन्तुष्टि ल्याउँछ, किनकि हामीभित्र आफू परिपूर्ण (पर्फेक्ट) हुनुपर्छ भन्ने भाव उत्पन्न हुन थाल्छ। सकारात्मक नै काम गरिरेहका छौं भने पनि त्यो ‘पर्फेक्ट’ हुनुपर्छ, हरेक चीज ठीक ठाउँमा हुनुपर्छ भन्ने खालको बाध्यकारी भाव आउन थाल्छ। यस्तो परिपूर्णता खोज्ने बानीले हामीलाई केही बेर सुखको अनुभूति दिन सक्छ, तर त्यो चाँडै असन्तुष्टिमा बदलिन्छ, किनकि हामीलाई लाग्छ, “ममा अझै कमी छ।” अनि हामी आफूलाई अझ सुधार्न थाल्छौं। यसलाई एक उदाहरणबाट बुझौं। मानिलिऊँ कसैमा सरसफाईको सनक छ, उसलाई आफ्नो घर सफा राख्ने कुरामा अलिकति पनि तलमाथि पर्न हुँदैन। उनीहरूलाई लाग्छ कि हरेक चीज आफ्नो नियन्त्रणमा हुनुपर्छ, र हरेक चीज सफा र ठेगानमा राख्ने उनीहरूको काम हो। तर त्यसो गर्न सम्भव हुँदैन। तपाईं आफूले चाहेजस्तो घर सफा राख्नुहुन्छ, त्यसमा मक्ख पर्दै बस्नुहुन्छ। तर जब तपाईंका केटाकेटी घर आउँछन् र हरेक चीज भद्रगोल पारिदिन्छन्, तपाईंको खुशी हराउँछ र तपाईं घरलाई पुनः सफा गर्न थाल्नुहुन्छ। यो तपाईंको बाध्यकारी काम हुन थाल्छ। हरेक पल्ट सफाइ सकेपछि तपाईंलाई लाग्छ, “अहो, अब त सब ठीक भो!” तर त्यो खुशी धेरै बेर टिक्दैन। कहीँ न कहीँ कतै न कतै केही न केही छुटेकै हुन्छ, तपाईं फेरी त्यसलाई मिलाउन थाल्नुहुन्छ।
यस्तो मनस्थिति दोहोरिरह्यो र तपाईंले बाध्यकारी काम गरिरहनु भयो भने “सर्वव्यापी दुःख” को राम्रो अनुभव गर्नुहुनेछ। यस्तो मनस्थिति कुनै अशान्तकारी भाव वा धारणाका कारण हुन सक्छ। हामीमा बानीहरूको विकास यसै गरी हुन्छ। यसबाट हाम्रो समस्या बढ्छ।
यसले हामीलाई मानसिक मात्र नभई शारीरिक दुःख पनि दिन्छ। उदाहरणका लागि, हामी सधैँ रिसको मात्र अनुभव गरिरहन्छौं भने हाम्रो रक्तचाप उच्च हुन्छ। त्यस्तै चिन्ता मात्र लिइराख्छौं भने अल्सर हुन सक्छ। तपाईंमा सरसफाईको सनक छ भने आराम गर्न सक्नुहुने छैन। तपाईं सधैँ तनावमा हुनुहुनेछ किनकि हरेक चीज ‘पर्फेक्ट’ हुनुपर्छ, जुन सम्भव छैन।
यी तीन साधनाले समस्याको कारणबाट मुक्तिमा कसरी सहयोग गर्छन्?
हामीलाई यी तीन साधना निम्न कारणले चाहिन्छः
- भ्रमबाट मुक्त हुन विवेकपूर्ण होश चाहिन्छ। उदाहरणका लागि, तपाईं सरसफाई–सनकी हुनुहुन्छ भने यस्तो विचार आउन सक्छः “सबै कुरा सधैं सही र सफा हुनुपर्छ। घरको सरसफाइमाथि मेरो पूरा नियन्त्रण हुनुपर्छ।” यसको विपरीत तपाईं यस्तो विचार पनि लिन सक्नुहुन्छः “जे गरे पनि घर फोहोर त भइहाल्छ, यसलाई कसैले रोक्न सक्दैन।” यो दोश्रो विचारले तपाईंको मन शान्त हुनेछ। तपार्इं आफ्नो घर सफा गर्नुहुनेछ, र फोहोरका कारण मन अशान्त पनि हुने छैन। परम्परागत ग्रन्थहरूमा रुख काट्नका लागि धारिलो बञ्चरोको प्रयोग गर्नुपर्छ भन्ने उदाहरण दिइन्छ।
- बञ्चरोले रूख काट्न निरन्तर उही स्थानमा हिर्काउनु पर्छ, जुन एकाग्रता हो। यदि मन सँधै यताउता भागिरहन्छ भने हामी आफ्नो विवेकपूर्ण होश गुमाउँछौं। हामीमा एकाग्रता हुनु आवश्यक छ, ताकि बन्चरोलाई जहिले पनि रुखको उही ठाउँमा हिर्काउन सकियोस्।
- बञ्चरो प्रयोग गर्न बल चाहिन्छ। बल भएन भने बञ्चरो उठाउन पनि सकिने छैन। यो बल नैतिक आत्म-संयमबाट प्राप्त हुन्छ।
यी तीन अभ्यासले हामीलाई समस्याहरूको स्रोतबाट मुक्ति पाउन मद्दत गर्दछन्। हामी माथिका सबै कुरा बुद्धधर्मलाई नजोडिकन पनि अपनाउन सक्छौं। त्यसैले यो सबैका लागि उपयुक्त छ। थप चर्चा गर्नुअघि माथिका बुँदाहरूको निचोड हेरौंः
- कल्पना र यथार्थबीचको भिन्नता जान्न हामी विवेकपूर्ण होशको अभ्यास गर्छौं, ताकि आफ्नै व्यवहारमा पनि कारण र असरको अन्तरसम्बन्ध देख्न सकौं। विवेकपूर्ण होशको अभावमा हामीले गर्ने व्यवहार र मनोवृत्तिले दुःख ल्याउँछ। केही गरी सुख ल्याइहाले पनि त्यसले हामीलाई सन्तुष्टि दिँदैन।
- माथिको कुरा राम्रोसँग बुझ्न एकाग्रता चाहिन्छ, ताकि हामी यताउति नभट्किऔं।
- एकाग्रताको विकासका लागि आत्म–संयम चाहिन्छ, ताकि मन भट्किहाल्यो भने त्यसलाई पुनः फिर्ता ल्याउन सकियोस्।
- ·जीवनका समस्याहरूसँग जुध्न र जीवनमा सुधार ल्याउन हामी यी तीन साधनालाई व्यवहारमा उतार्छौं।
यो सम्पूर्ण चर्चामा जान्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा के हो भने हामी आफ्नो जीवनमा जुन सुख र असन्तोषको अनुभव गर्छौं, त्यसको उत्पत्ति हाम्रो आफ्नै भ्रमपूर्ण दृष्टिकोणका कारण हुन्छ। आफ्नो समस्याका लागि अरु मानिस, समाज, वा अर्थव्यवस्था आदिलाई दोष दिनुको सट्टा हामी भित्री तहबाट समस्यालाई हेर्न थाल्छौं। समस्याको सामना गर्दै आफ्नो मनोदशामाथि ध्यान दिन्छौं। हामीले जीवनमा अनेक प्रकारका कठिन स्थितिहरूको सामना गर्नुपर्ने हुन्छ। तर यहाँ हामीले अधिकांश समय अनुभव गर्ने दुःखका भाव र अस्थायी खुशीहरूका बारेमा चर्चा गर्दैछौं। हाम्रो लक्ष्य योभन्दा माथिल्लो स्तरको खुशीको हुनुपर्छ, जुन चित्तको शान्तिमा प्रकट हुन्छ र दीर्घकालीन प्रकृतिको हुन्छ।
कठिन परिस्थितिको सामना गर्ने क्रममा हामी निराशाले भरिन सक्छौं र विल्कुल दुःखी हुन सक्छौं। त्यसका विपरीत, हामी शान्त चित्तले पनि कठिन परिस्थितिको सामना गर्न सक्छौं। परिस्थितिलाई स्पष्टसँग हेर्यो भने हामीले त्योसँग सम्बन्धित पक्षहरूबारे जान्नेछौं। आफैंसँग दुःखी भएर बस्नुको सट्टा समाधानका उपायहरू देख्न सक्नेछौं।
मानिलिऊँ तपाईंका छोराछोरी रातको समयमा घरबाहिर गएका छन् र तपाईं एकदमै चिन्तित हुनुहुन्छ। “उनीहरू सुरक्षित घर फर्किने हुन् कि होइनन्” भन्ने चिन्ताले तपाईंलाई सताइरहेको छ। “मेरो बच्चाको सुरक्षा मेरो नियन्त्रणमा हुनुपर्छ,” भन्ने भावले तपाईंलाई बेचैन वा चिन्तित बनाइरहेको हुन्छ। खासमा तपाईंको डर तपाईंकै कल्पना मात्र हो। उनीहरू सुरक्षित घर फर्किए भने तपाईंलाई शान्ति मिल्नेछ, तपाईं खुशी हुनुहुनेछ। तर अर्को पटक फेरी उनीहरू बाहिर जाँदा तपाईं त्यसरी नै चिन्ता गर्न थाल्नुहुन्छ। अघि प्राप्त खुशी र शान्तिको अवस्था अब रहँदैन। चिन्ता गर्ने हाम्रो स्वभाव बढ्दै जान्छ र विस्तारै बानीको रूपमा परिणत हुन्छ अनि हामी सबै कुरामा चिन्ता गर्न थाल्छौं। यसले हाम्रो स्वास्थ्यमा असर गर्छ। यो ज्यादै दुःखको कुरा हो।
यी सबैको कारण हाम्रो आफ्नै भ्रम हो, यो बुझ्नु आवश्यक छ। हामी सोच्छौं कि कुनै निश्चित तरीकाले व्यवहार गर्दा हामी खुशी हुन्छौं। अथवा सबै कुरा नियन्त्रणमा राख्न सकियो भने राम्रो हुनेछ। यस्तो दृष्टिकोणलाई त्याग्नयोग्य जानेर त्याग्नु नै उचित हुन्छ।
सारांश
जीवनका चार सत्यहरूमाथि विचार गर्यौं भने हामीले देख्नेछौं, समस्याहरू र नकारात्मक भावहरू स्थायी हुँदैनन्। तिनमा सुधार ल्याउन सकिन्छ र अझ, पूर्णरूपले हटाउन सकिन्छ। यो जानेर हामी उत्साहित हुन्छौं। दुःखका कारणहरूमाथि नियन्त्रण गर्न सक्यौं भने दुःख हराउँछ। तैपनि यी कारणहरू आफैँ चाहिँ समाप्त हुँदैनन्।
नैतिक आत्म-संयम, एकाग्रता र विवेकपूर्ण होश – यी तीन अभ्यासहरूसहितको जीवन एक अद्भूत जीवन हुनेछ। एक साथ यी तीनै साधनाको अभ्यासले हामी सबैले जीवनमा खोजिरहेको खुशीको बाटोमा डोहोर्याउनेछ।