सम्यक वचन, व्यवहार र आजीविका

पृष्ठभूमि

शील (नैतिक आत्म-संयम), समाधि (एकाग्रता) र प्रज्ञा (विवेकपूर्ण होश) को साधनाले हामीलाई विभिन्न प्रकारका समस्याहरू र दुःखहरूबाट मुक्ति पाउन सहयोग गर्छ। यसका लागि हामी प्रथमतः समस्याका कारणहरू पत्ता लगाउँछौं र यी तीन अभ्यासहरू मार्फत ती कारणहरूलाई निर्मूल गर्ने प्रयास गर्छौं।

यी तीन साधनाको अभ्यास दैनिक जीवनमा अरूसँग व्यवहार गर्न पनि अत्यन्तै सहयोगी हुन्छ।

  • शील (नैतिक आत्म-संयम) – हामी अरूसँग कसरी व्यवहार गर्छौं र कस्तो बोली बोल्छौं भनेर ध्यान पुर्याउनु महत्त्वपूर्ण हुन्छ। हानिकारक वा विनाशकारी हुने कुनै पनि कुरा गर्नबाट जोगिन हामीलाई नैतिक आत्म-संयम चाहिन्छ।
  • समाधि (एकाग्रता) – हामीले अरूसँग कुराकानी गर्दा त्यसैमा एकाग्र हुनु आवश्यक हुन्छ, ताकि उनीहरूको कुरा के हो र आवश्यकताहरू के हुन् भनेर जान्न सकौं। यदि हाम्रो चित्त एक ठाउँमा छैन, सबैतिर छरिएको छ र हामी आफ्नो फोनमात्र चलाइरहन्छौं भने अरूसँगको कुराकानी धेरै असजिलो हुन्छ।
  • प्रज्ञा (विवेकपूर्ण होश) – यदि हामीले अर्को व्यक्तिको कुरा राम्ररी सुनेका छौं भने विवेकपूर्ण होशको अभ्यासबाट कस्तो प्रतिक्रिया उपयुक्त हुन्छ, निर्णय गर्न सक्षम हुनेछौं। यसले उचित तरीकाले सोच्न, कार्य गर्न र अरूसँग बोल्न सहयोग गर्दछ।

यी तीन साधनाको अभ्यास साथसाथ गरिन्छ। एकको अभ्यासले अर्को पनि सुदृढ हुन्छ, त्यसैले सबैको एकैसाथ अभ्यास आवश्यक हुन्छ। हामी एक्लै भएको बेलामा पनि यी साधनाको अभ्यास अत्यन्तै उपयोगी हुन्छः

  • यसले हामीलाई आत्म–विनाशकारी कामहरू गर्नबाट बचाउँछ।
  • हाम्रो चित्त एकत्रित हुन्छ र हामी आफूले चाहेको कुरा गर्न सक्छौं।
  • आफ्नो सामान्य बुद्धिको प्रयोग गर्दै हामी उचित र अनुचित कुराहरू छुट्याउन सक्छौं।

यी तीन साधनाहरू हामीले आफ्नो व्यावहारिक जीवनमा पनि अपनाउन सक्ने सामान्य सिद्धान्तहरू हुन्। व्यक्तिगत जीवन र सामाजिक व्यवहार दुवैका लागि यो सहयोगी हुन्छ।

अष्टाङ्गिक मार्ग

माथिका तीन साधनाको प्रशिक्षणलाई “अष्टाङ्गिक मार्ग” को रूपमा प्रस्तुत गर्न सकिन्छ। यसमा आठ अङ्गहरू छन्, जसको अभ्यासले माथिका तीन साधनालाई विकसित गर्न सहयोग गर्छन्।

नैतिक आत्म-संयमको प्रशिक्षण अन्तर्गत तीन अभ्यासहरू पर्दछन्ः

  • सम्यक वाक (वचन) – अरूसँग गरिने कुराकानी, सञ्चार
  • सम्यक कर्मान्त – हामीले गर्ने व्यवहार
  • सम्यक आजीविका – जीविका आर्जन गर्ने तरीका

एकाग्रताको प्रशिक्षण अन्तर्गत तीन अभ्यासहरू पर्दछन्ः

  • सम्यक व्यायाम – विनाशकारी विचारहरूको श्रृङ्खलाबाट चित्तलाई मुक्त गर्दै ध्यानका लागि सहयोगी चित्तावस्था सिर्जना गर्ने
  • सम्यक स्मृति – आफ्नो ध्यानको विषयबाट नभट्किने र मानसिक प्रेरणालाई कायम राख्ने
  • सम्यक समाधि – कुनै सकारात्मक कुरामा केन्द्रित भइरहने

विवेकपूर्ण होश अन्तर्गत दुइ अभ्यासहरू पर्दछन्ः

  • सम्यक दृष्टि – सही र गलत वा हानिकारक र लाभकारकबीचको फरक राम्रोसँग छुट्याएर देखिने सत्य
  • सम्यक संकल्प (सम्यक मानसिक विचार) – दृष्टि सम्यक भएपछि प्राप्त हुने चित्तको सकारात्मक अवस्था

यीमध्ये प्रत्येक अभ्यासलाई गलत तरीकाले पनि गर्न सकिन्छ र सही तरीकाले पनि। हामी पहिलो तरीकालाई त्यागेर दोश्रो तरीका अपनाउँछौं।

वचन

हामी कसरी बोल्छौं भन्ने कुराले हाम्रो चित्तको अवस्था प्रतिविम्बित गर्छ। अरुले हामीलाई कसरी लिन्छन् र हामीप्रति कस्तो व्यवहार गर्छन् भन्ने कुरा हाम्रो बोलीमा निर्भर गर्छ। त्यसैले कस्तो वचन लाभकारक हुन्छ र कस्तो हानिकारक भन्ने जान्नु आवश्यक छ।

असम्यक वचन

हामीलाई दुःखी बनाउने र समस्याहरू खडा गर्ने वचन अनुपयुक्त वचन हुन्। यी निम्न प्रकारका हुन्छन्ः

  • झूठो बोल्नु – असत्य कुरा बोल्नु र अरुलाई धोका दिनु। हामी झूठ बोल्छौं र अरुलाई ठग्छौं भन्ने थाहा भएपछि अरु मानिसले हामीलाई विश्वास गर्ने छैनन्, हाम्रो भरोसा गर्ने छैनन्, र हामीले बोलेको पनि सुन्न खोज्ने छैनन्। यसले हामीलाई दुःखी बनाउँछ।
  • विभाजनकारी कुरा गर्नु – मानिसहरूको बारेमा खराब कुरा उनीहरूका साथी सम्बन्धीहरूलाई लगाउनु र उनीहरूबीच फूट ल्याउनु। यसो गर्नाले जसलाई कुरा लगाइएको हो, उनीहरू पनि आफ्ना पछिल्तिर तपाईंले कस्तो कुरा गर्नुहोला भनी सशंकित हुन्छन्। यसले तपाईंको आफ्नै सम्बन्ध बिग्रिन्छ।
  • रुखो बोली बोल्नु – अरुसँग क्रूर तरीकाले बोल्नु, चिच्याउनु वा अपशब्द बोल्नु। हामी अरुलाई बोलीका माध्यमबाट चोट पुर्याउँछौं भने उनीहरू पनि हामीसँग त्यस्तै कठोर बोली बोल्न थाल्छन्। उनीहरू परपीडक प्रवृत्तिका भए बेग्लै कुरा, नत्र उनीहरू हाम्रो नजीक पनि आउन रुचाउँदैनन्।
  • अनावश्यक बकबक गर्नु – सधैँभरी अनापसनाप बोलिरहनु, अरुलाई बोल्ने मौका नै नदिनु, अनावश्यक विषयहरूमा कुरा गरिरहनु र व्यर्थको गफ हाँकिरहनु। यसले गर्दा हामीलाई कसैले गम्भीरतापूर्वक लिँदैन र हामीसँग बस्नु उनीहरूका लागि कष्टकर हुन्छ। हामी आफ्नो र अरुको समय बर्वाद मात्र गर्छौं।

सम्यक वचन

सम्यक वचनले हामीलाई माथि उल्लिखित चार प्रकारका अनुचित वचनबाट टाढा राख्छ। नैतिक आत्म-संयमको पहिलो सींढीमा जब हामीलाई अरुसँग असत्य बोल्ने, चिच्याएर गाली गर्ने, वा व्यर्थको कुराकानी गर्ने इच्छा हुन्छ, तब हामी यो महसुस गर्छौं कि त्यसो गर्नु हानिकारक छ, दुःख निम्त्याउने खालको छ। यो बोधका साथ हामी आफूलाई ती काम गर्नबाट रोक्न भरसक प्रयत्न गर्छौ।

तर यो भनेजस्तो सजिलो हुँदैन। जब हामी त्यस्तो बोली बोल्न लागेका हुन्छौं, ठ्याक्कै त्यही बेला हामीले आफूलाई रोक्नुपर्छ। तब मात्र हामी बाध्यकारी तरीकाले उक्त काम गर्नबाट जोगिन्छौं। यसलाई केक खान मन लागेको उदाहरणबाट बुझौं। कहिलेकाहीँ हामीलाई केक खान मन लाग्छ र एक पछि अर्को केकको टुक्रातर्फ हात बढाउन थाल्छौं। त्यतिबेला सोच्न सक्छौं, “मलाई अझै केक खान मन लागेको त छ, तर मन लाग्यो भन्दैमा खाइहाल्नु पर्छ भन्ने छैन। मलाई यो थप केक आवश्यक पनि छैन। यसले मलाई झन् मोटो मात्र बनाउँछ, जबकि मैले तौल घटाउनु छ।” आत्म–संयमको अर्थ यही हो।

हामीलाई यस्तो अनावश्यक कुरा गर्न मन लाग्यो भने प्राचीन भारतीय आचार्य शान्तिदेवको सल्लाह अपनाउन सक्छौं। उहाँले हामीलाई काठको टुक्राजस्तो बन्ने सुझाव दिनुभएको छ। मलाई तपाईंसँग रिस पोख्न मन लागेको छ र केही कटु वचन बोल्न मन लागेको छ। त्यतिबेलै म यो जान्दछु कि यसरी कराउँदा म र तपाईं दुबै जना दुःखी हुन्छौं। त्यसैले म यो कुरा गर्दिन। म काठको टुक्राजस्तै भैदिन्छु। त्यस्तै मलाई कुनै वाहियात जोक वा उट्पट्याङ् कुरा भन्न मन लागेको छ, तर म तत्क्षण यो व्यर्थको बातचीत हो भन्ने जान्दछु र आफूलाई बोल्नबाट बचाउँछु।

आत्म–संयमको दोश्रो स्तरमा हामी केही भन्नबाट बच्ने मात्र होइन, बरु सक्रियतापूर्वक केही सकारात्मक कुरा गर्छौं। अर्थात्, हामी सबैको कल्याण हुने कुराहरू गर्छौं। यसो गर्दा खुशी भइन्छ र हरेक अवस्थालाई सौहार्दपूर्ण बनाउन सहयोग पुग्छ भन्ने बोध हामीलाई हुन्छ। हामी कारणहरू र यसका असरहरूको कोणबाट सोच्छौं।

सम्यक वचनलाई सुदृढ गर्न हामीले सक्रियतापूर्वक अभ्यास गर्नुपर्छ र सत्य बोल्ने, नम्रता र प्रेमपूर्वक कुरा गर्ने तथा उपयुक्त समयमा मात्र बोल्ने दृढ संकल्प गर्नुपर्छ। बोलिने बोली उपयुक्त मात्राको र अर्थपूर्ण हुनुपर्छ। यसका लागिः

  • अरु मानिसले बोल्दै गर्दा उसलाई बारम्बार रोक्ने काम गर्न हुँदैन, न त कसैलाई बारम्बार फोन वा टेक्स्ट मेसेज पठाइरहने। तपाईंले बिहानको खाजामा के खानुभयो भन्ने जस्ता महत्त्वहीन बातचीतमा समय खेर नफाल्नुहोस्। यसको कुनै अर्थ हुँदैन। यसले तपाईंको र अरुको काममा बाधा मात्र पुर्याउँछ।
  • मानिसहरूसँग कुरा गर्दा चाहिनेभन्दा बढी गफ गरिरहनु हुँदैन। त्यस्तै उनीहरूलाई चाहिनेभन्दा बढी कुनै कुरामा विश्वस्त तुल्याउन खोज्नु पनि हुँदैन, खासगरी तब जब उनीहरू तपाईंको कुरामा सहमत भैसकेका हुन्छन्।

तर त्यसो भन्दैमा जुनसुकै बेला माथि भनेजस्तै गर्नुपर्छ भन्ने होइन। हामीले विवेकका साथ काम गर्नुपर्छ। सत्य बोल्ने उदाहरणमा, कसैले भद्दा सर्ट वा कपडा लगाएको छ भने “यो त साह्रै कुरुप देखियो,” भनिहाल्न हुँदैन, किनकि त्यसो भन्दा उसलाई दुःख लाग्न सक्छ। तपाईं सावधान हुनु आवश्यक छ। तर यो कुरा अगाडिको मान्छेमा पनि भर पर्छ। मानिलिऊँ मेरी बहिनी मेरो घरमा आइपुगी र हामी बाहिर जान लागेका छौं। उसले लगाएको ब्लाउजले उसलाई असजिलो देखिइरहेको छ भने उ मेरी बहिनी भएको नाताले म भन्न सक्छु त्यो कपडा उसलाई भद्दा देखिएको छ। तर घरबाहिरको मानिसलाई त्यसरी भनिहाल्न सजिलो हुँदैन। तपाईंले आफ्नो नयाँ केटी साथीलाई “तिमीले लगाएको ब्लाउज राम्रो छैन। अरु कुनै कपडा लगाऊ” भनिहाल्न सक्नुहुन्न, भलै त्यो सत्य किन नहोस्।

रुखो वचनको मामिलामा कहिलेकाहीँ तपाईंले कडा बोली बोल्नुपर्ने हुन सक्छ। तपाईंको बच्चाले सलाई, लाइटर, वा त्यस्तै केही खेल्दै छ भने तपाईंले कडा बोली बोल्नैपर्ने हुन्छ। तर यसलाई रुखो वचन मानिँदैन, किनकि यसमा तपाईंको उद्देश्य रिस पोख्नु होइन। कुनै पनि कामका पछाडि त्यसको प्रेरणा महत्त्वपूर्ण हुन्छ।

असम्यक वचनका अन्य प्रकार

असम्यक वचन अन्तर्गत अरुप्रति बोलिने अनुचित वचन मात्र होइन, आफूले आफैँप्रति लक्षित गरेका वचन पनि आउँछन्। यस प्रकारको विनाशकारी वचनलाई हामी बृहत् ढंगले बुझ्न सक्छौं।

झूठ बोल्नु अन्तर्गत हामीले आफ्ना भावनाका सम्बन्धमा अरुसँग बोल्ने झूठ वा उनीहरूप्रति हाम्रो अभिप्रायको सम्बन्धमा बोल्ने झूठ आउँछन्। हामी कसैसँग धेरै राम्रो व्यवहार गरिरहेका हुन सक्छौं, हामी उनीहरूलाई माया गरेको कुरा पनि बताउन सक्छौं। यसरी गरिने मायाको सम्बन्धमा आफूले आफैँलाई झुक्याइरहेका हुन सक्छौं। हाम्रो उद्देश्य उनीहरूको सम्पत्ति वा अरु केही हुन सक्छ। एक अर्थमा यो धोखा हो। हामी त्यस व्यक्तिसँग गएर भन्न पनि सक्दैनौं – “म वास्तवमा तिमीलाई माया गर्दिन, मलाई तिम्रो पैसा मात्र चाहिएको हो।” त्यसो भन्नु उपयुक्त हुँदैन। यस्तो अवस्थामा हामीले आफैंलाई जाँच्नु आवश्यक छ – के म आफ्नो भावना र अभिप्रायहरूका सम्बन्धमा सत्य बोल्दैछु?

विभाजनकारी वचनका सम्बन्धमा कुरा गर्दा, हामी त्यस्ता अपमानजनक कुराहरू बोल्न सक्छौं जसका कारण हामी आफैं आफ्नो साथीबाट छुट्छौं। केही व्यक्तिहरू हरबखत गुनासो मात्र गर्दछन् वा लगातार नकारात्मक कुरा मात्र बोलिरहन्छन्। यसले उनीहरूलाई अरुबाट टाढा बनाउँछ। यदि हामी त्यस्तै नकारात्मक छौं भने कसले हामीसँग समय बिताउन खोज्ला? आफू मात्र निरन्तर बोलिरहँदा अन्य व्यक्तिले केही पनि भन्ने मौका पाउँदैनन्। यसले मानिसहरूलाई हामीबाट टाढा बनाउँछ। हामी आफ्नो संगतका त्यस्ता मानिसहरू चिन्छौं, र भरसक उनीहरूको छेउ पर्न खोज्दैनौं। त्यसैले अरूका बारेमा राम्रा कुरा गर्नु र सकेसम्म सकारात्मक कुरा गर्नु उपयोगी हुन्छ।

त्यस्तै रुखो वचन पनि अरूलाई मात्र होइन, हामी आफैंप्रति बोलिरहेका हुन सक्छौं। अरुलाई तिमी मूर्ख छौ वा एकदमै खराब छौ भन्नु निश्चय पनि क्रुर वचन हो। हामीले आफैंलाई यसो भन्छौं भने त्यो पनि क्रुर वचन नै हो। यसले हामीलाई खुशी बनाउँदैन। त्यसैले हामीले आफैंप्रति पनि राम्रो सोच राख्नुपर्छ, आफूलाई राम्रो व्यवहार गर्नुपर्छ र मनमा आफूप्रति राम्रो वचन बोल्नुपर्छ।

व्यर्थको कुरा बोलिरहने सन्दर्भमा, हामीले आफ्नो निजी विषयमा पनि अनापसनाप बोल्नुहुँदैन। आफ्ना शंका, चिन्ता, आदिका विषयमा अरुसँग वेकारको कुरा गरिरहन हुँदैन। आफ्नो वा अरुको केही कुराहरू त्यस्ता हुन सक्छन्, जुन अन्य मानिसलाई त्यत्तिकै सुनाइहाल्नु हुँदैन। उदाहरणका लागि, कसैले तपाईंलाई आफू समलिङ्गी भएको वा क्यान्सरको रोगी भएको कुरा बतायो र त्यो कुरा अरुलाई नबताउन आग्रह गर्यो भने तपाईंले त्यो कुरा मान्नु पर्छ। कसैले तपाईंलाई विश्वास गरेर भनेको कुरालाई अरुसामु खोलिदिनु पनि व्यर्थ वचनअन्तर्गत आउँछ।

सम्यक वचनको सही अर्थ जुन कुरा जति बेला र जुन अवस्थामा आवश्यक छ, त्यसैबेला मात्र उचित तवरले बोल्नु हो। कहिलेकाहीँ हामीले औपचारिक रुपमा बोल्नुपर्ने हुन्छ, कहिलेकाहीँ अनौपचारिक रुपमा। हामी भरसक त्यसरी बोलौं जसबाट अरुले सहजताको अनुभव गरुन्। बालबालिकालाई केही कुराको बारेमा बताउनुपर्दा उनीहरूले बुझ्ने तरीकाले भन्नुपर्छ। सोही कुरा ठूला मानिस र अरु देश वा संस्कृतिका मानिसको हकमा पनि लागू हुन्छ।

व्यवहार (कर्मान्त) को मर्यादा

अष्टाङ्गिक मार्गको दोश्रो अङ्गमा उचित मर्यादायुक्त व्यवहार पर्दछ। यहाँनेर मर्यादा भन्नाले “मैले व्यवहार गर्ने सीमा यतिसम्म हो, योभन्दा पर जान्न” भन्ने अर्थमा बुझ्नु जरुरी हुन्छ।

असम्यक व्यवहार

अनुचित व्यवहार भन्नाले तीन प्रकारका विनाशकारी व्यवहारहरू बुझिन्छ।

  • कसैको प्राण हरण गर्नु – सजीव प्राणीको हत्या गर्नु
  • आफूलाई नदिएको कुरा लिनु – जे चीज हाम्रो होइन त्यो लिनु, चोरी गर्नु
  • अनुपयुक्त यौन व्यवहार गर्नु

प्राणीहत्या

सामान्य अर्थमा यसको मतलब अरुको प्राण हरण गर्नु हो। यसमा मानिस मात्र पर्दैनन्, जनावर, जलचर, कीटपतङ्ग, आदि सबै प्रकारका प्राणीहरू पर्छन्।

मलाई लाग्छ, हामीमध्ये धेरैलाई जनावरको शिकार नगर्नु र माछा नमार्नु सजिलो काम हुनुपर्छ। कसैकसैलाई किराफट्यांग्रा मार्न छोड्नु अलि कठिन हुन सक्छ। पूर्वजन्म वा भविष्यको जन्मलाई जोडेर “यो झिंगा पूर्वजन्ममा मेरी आमा थिइन्” भन्ने सोचिराख्नु पर्दैन, त्यो हदसम्म जानु पर्दैन। हत्या नगर्नुको अभिप्राय कुनै चीज हामीलाई मन नपर्ने वा पीडा दिने खालको भयो भने हाम्रो पहिलो र स्वाभाविक रोजाई त्यसलाई मारिहाल्ने नहोस् भन्ने हो। मारिहाल्ने काम गर्यो भने विस्तारै यो बानीको रुपमा विकसित हुँदै जान्छ र आफूलाई मन नपर्ने जुनसुकै कुरालाई पनि विध्वंशात्मक ढंगले सिध्याउन खोजिन्छ। यो बानी सामान्य झिंगामा मात्र सीमित रहँदैन। तपाईंको नाक वरिपरि घुमेर झिंगा वा लामखुट्टेले साह्रै सताइरहेको छ भने त्यसको प्राण नलिई शान्तिपूर्ण तरीकाले त्यसबाट छुटकारा पाउन  सकिन्छ। जस्तो कि, जब त्यो झिंगा वा लामखुट्टे भित्तामा बस्छ, तपाईंले एउटा सिसाको गिलासले त्यसलाई छोप्न सक्नुहुन्छ, मुनिबाट कागज छिराएर झिंगालाई गिलासभित्र थुन्न सक्नुहुन्छ, र त्यसलाई बाहिर लगेर उडाइदिन सक्नुहुन्छ। यस्तै अधिकांश अवस्थाहरूमा हामी शान्तिपूर्ण र अहिंसात्मक उपायहरूद्वारा आफूलाई मन नपर्ने कुराको समाधान खोज्न सक्छौं।

मैले भारतमा रहँदा किराफट्यांग्रासँग बाँच्न सिकेको थिएँ। भारतमा बस्नुहुन्छ भने तपाईंले पनि सिक्नु भएकै होला। भारतभरीका सबै किराफट्यांग्राबाट मुक्ति पाउनु सम्भव छैन। कुनैबेला म सोच्थेँ, म विज्ञापन निर्माता भएको भए यस्तो ट्रावल एजेन्टहरूका लागि यस्तो विज्ञापन बनाउँथे होला –“तपाईंलाई कीरा मन पर्छ भने भारत पनि मन पर्नेछ!” म पहिलोपटक भारत जाँदा मलाई कीरा पटक्कै मन पर्दैन थियो। म विज्ञान कथाहरू पढ्थेँ र सोच्थेँ, कुनै दिन म टाढाको कुनै ग्रहमा पुगेँ र त्यहाँका सबै प्राणीहरू यिनै किराहरूजस्तै भए भने म तिनीहरू सबैलाई किचिपिचि पारिदिनेछु। तर यदि हामीले आफूलाई ती किराको ठाउँमा राखेर हेर्यौ भने पाउनेछौं उनीहरू पनि यो दुनियाँमा आफ्नै काम गर्दैछन्। त्यसरी हेर्यौ भने उनीहरूको जीवनलाई पनि सम्मान गर्न सकिन्छ। 

हुनत जसरी हानिकारक मानिसहरू हुन्छन्, त्यसैगरी हानिकारक कीराहरू पनि हुन्छन्। कहिलेकाहीँ तिनलाई नियन्त्रण गर्न कडा उपायहरू प्रयोग गर्नुपर्ने हुन्छ। तर सबैभन्दा पहिला शान्तिपूर्ण विधि प्रयोग गर्नु राम्रो हुन्छ, चाहे हामी मानव द्वन्द्वको बारेमा कुरा गरिरहेका हौं वा कमिला वा साङ्लाले ग्रस्त घरको।

तर सलह कीराले तपाईंको बाली खाइरहेको छ भने अवस्था अलि फरक हुन सक्छ। मुख्य कुरा हाम्रो उद्देश्य के हो भन्ने हो। बुद्धको एक पूर्ववर्ती जीवनको उदाहरण लिऊँ। उनी एक पानीजहाजको सञ्चालक थिए र मानिसहरूसहित त्यो जहाज कतै जाँदै थियो। त्यहाँ एक मानिस यस्तो थियो जसले सबैलाई मार्ने योजना बनाइरहेको थियो। बुद्धले देखे कि यो सामूहिक हत्याको योजनालाई शान्तपूर्वक रोक्न सक्ने कुनै उपाय थिएन। उक्त मानिसको ज्यान लिनु एकमात्र उपाय थियो। यसमा व्यक्तिहत्या भए पनि त्यसको उत्प्रेरणा महत्त्वपूर्ण हुनपुग्यो। एकजना मान्छे मर्दा अरु धेरैको ज्यान जोगिने अवस्था थियो।  बुद्धको कदम करुणाले निर्देशित थियो – अरु यात्रुहरूको ज्यान बचाउने र उक्त व्यक्तिलाई एकदमै नकारात्मक कर्मको भारबाट जोगाउने। बुद्धको उक्त कदम विनाशात्मक भए पनि क्रोध वा डरद्वारा निर्देशित थिएन। “म अरूलाई बचाउनको लागि यो काम गर्दैछु, र यसबाट उत्पन्न हुने कर्मको परिणाम स्वीकार्न तयार छु,” यस्तो भाव उनको थियो।

त्यस्तै बाली बचाउनका लागि विनाशकारी सलह किराहरूको ज्यान लिनु आवश्यक हुनसक्छ। तर यसका लागि चित्तमा क्रोध, भय वा बाली बेचेर धेरै सम्पत्ति थुपार्ने उत्प्रेरणा हुनु हुँदैन। रिसले प्रेरित भई गरेको प्राणीहिंसा भन्दा करुणाले प्रेरित भई गरेको हिंसामा नकारात्मक परिणाम धेरै कम हुन्छ। फेरी बुद्धले जस्तै यो कुरा स्वीकार गर्नु जरुरी हुन्छ कि यसरी हिंसा गर्नु नकारात्मक काम हो र यसको जे परिणाम भए पनि म त्यसलाई स्वीकार्नेछु।

चोरी

प्रायजसो मानिसका लागि जीवनभन्दा ठूलो सम्पत्ति होइन। तैपनि कसैले आफ्नो सम्पत्ति चोर्छ भने धेरै दु:ख हुन्छ। तर चोरी गर्नेको दुःख झन् ठूलो हुन्छ, उ सँधै डराउँछ, उसलाई “म कतै पक्राऊ पर्ने त होइन” भने डरले छाड्दैन।

हामी आफूलाई आइपर्न सक्ने समस्याहरूबाट बच्न चाहन्छौं। तपाईंले कुनै माछा वा कुनै कीरा मार्नुभयो भने त्यसको पीडा तिनीहरूलाई हुन्छ। तर हामी कीराहरूप्रति असहिष्णु भइराख्यौं हामीलाई पनि धेरै समस्या हुन्छ। जस्तै, हामीले जति लामखुट्टे मारे पनि त्यसको त्रासबाट मुक्ति पाईंदैन। उनीहरू हाम्रो कोठामा आउलान्, जुन हामीलाई सहन हुँदैन। मध्यरातमा हामी तिनको शिकार गर्न उठ्छौं। यो पक्कै पनि शान्त मनको अवस्था होइन। त्यसका विपरीत शान्तिपूर्ण तरीकाले समस्याको समाधान खोज्यौं भने हाम्रो मन पनि शान्त हुन्छ।

चोरीको सम्बन्धमा पनि यही लागु हुन्छ। तपाईंले लुकिछिपी चोरी गर्नुपर्ने हुन्छ, र सधैँभरी पक्राउ खाइने हो कि भनेर डराइरहनु पर्छ। यसका पछाडि तीब्र आसक्तिले काम गरेको हुन्छ। जे चोरिने हो, त्यो कुरा पाउन आवश्यक पर्ने मेहनतका लागि तपाईंसँग धैर्य हुँदैन, तपाईं तुरुन्तै त्यसलाई पाइहाल्न खोज्नुहुन्छ, र अरुबाट चोरेर लिनुहुन्छ।

चोरी र हिंसा दुवैमा विभिन्न उत्प्रेरणाहरूले काम गरिरहेका हुन सक्छन्। जस्तैः

  • तपाईंले रिसको कारण नभइ लोभ वा आसक्तिको वशमा परी हत्या गर्न सक्नुहुन्छ।  जस्तै, तपाईंलाई साँच्चिकै कुनै जनावर वा माछा खान मन लाग्नसक्छ। हुनत कुनै बेला तपाईसँग खानका लागि अरु केही उपाय नहुन सक्छ, तर अरु उपाय हुन्जेल प्राणीहिंसातिर लागियो भने कुरा बेग्लै भयो।
  • तपाईंले लोभका कारण नभइ रिसका कारण पनि चोरी गर्न सक्नुहुन्छ। जस्तै, तपाईंलाई कसैसँग रिस उठेको छ भने उसँग भएको केही कुराबाट उसलाई वञ्चित गराउन र उसलाई पीडा दिन चोरी गर्न सक्नुहुन्छ।

अनुपयुक्त यौन व्यवहार

यो अलि जटिल विषय हो। हाम्रो यौन व्यवहारको प्रबल कारण वासना र तृष्णा हो। यससम्बन्धमा उचित व्यवहार गर्न बुद्धधर्मले निम्न कुराबाट बच्ने सुझाव दिन्छः

  • आफ्नो यौन व्यवहारका लागि अरुलाई हानि पुर्याउनु, जस्तै बलात्कार वा हिंसा
  • यौनकर्मका लागि कसैलाई उसको इच्छा विपरीत दबाव दिनु, चाहे त्यो आफ्नो यौनसाथी होस् वा अरु कोही।
  • अरुको पार्टनरसँग यौन सम्बन्ध राख्नु, वा आफ्नो पार्टनर हुँदाहुँदै अरु कसैसँग यौन सम्बन्ध राख्नु। यसमा हामीले जतिसुकै सावधानी अपनाए पनि केही न केही समस्या त खडा भैहाल्छ, हैन र?

अनुपयुक्त यौन व्यवहारका अन्य धेरै पाटाहरू छन्। तर यसको सार के हो भने हाम्रो यौन व्यवहार जनावरहरूको भन्दा फरक हुनुपर्छ। हामी देख्छौं, जनावरहरू जतिबेला पायो त्यतिबेला अरु जनावरसँग समागम गर्न थालिहाल्छन्। छेउछाउमा जोसुकै होऊन्, उनीहरूलाई परवाह हुँदैन। उनीहरूको गतिविधि पूर्णतः यौनआवेशको नियन्त्रणमा हुन्छ। हामी यस्तो स्थितिबाट बच्न चाहन्छौं।

त्यसैले हामी मर्यादाको केही सीमारेखा कोर्न चाहन्छौं र त्यसैभित्र आफू रहने संकल्प गर्छौं, त्यसबाहिर जाने काम गर्दैनौं। यी सीमाहरू कतिपटक यौन सम्बन्ध राख्ने, कस्तो यौनकार्य गर्ने, कुन आसनमा गर्ने, वा त्यस्तै कुराहरूमा निर्धारण गर्न सकिन्छ। मूल कुरा के हो भने हामी आफ्नो यौन जीवनमा निश्चित मार्गनिर्देशन स्थापित गर्न चाहन्छौं र पशुजगतको जस्तो जुनसुकै ठाउँमा जतिबेला पायो त्यतिबेला, जोसँग पायो त्योसँग यौन सम्बन्ध राख्दैनौं। नैतिक आत्म–संयमका दृष्टिले यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। आत्म–संयम भनेको आफूले निर्धारण गरेको मर्यादाबाहिर नजाने हो। किनकि त्योभन्दा बाहिर जानु भनेको कामलिप्सा हो, र यस्तो लिप्साले असंख्य समस्याहरू लिएर आउँछ।

नशालु पदार्थको सेवन

नशालु पदार्थको सेवन माथि उल्लिखित विनाशकारी व्यवहारमध्ये पर्दैन, तर हामीले आफ्नो विकासका लागि यसबाट छुटकारा पाउनु एकदमै जरुरी छ।

हामी एकाग्रता र आत्म–संयमको विकास गर्न चाहन्छौं। तर जब हामी रक्सीको नशामा हुन्छौं, सबै संयम कतै गायब हुन्छ, हैन र? हामी मनोद्दीपक लागुऔषध वा गाँजा लिन्छौं भने हाम्रो सारा एकाग्रता हराउँछ। हाम्रो चित्त कल्पनामा हराउँछ। रक्सी वा अन्य विभिन्न प्रकारका लागुपदार्थले हामीमाथि पार्ने प्रभाव हामीले आफ्नो व्यक्तिगत उन्नतिका लागि गर्न चाहेका कुराको विल्कुल विपरीत हुन्छ। रक्सीले खाउञ्जेल मात्र असर गर्दैन, त्यसपछि पनि गरिरहन्छ।जस्तै, रक्सी खाएपछि ‘ह्यांगओभर’ हुन्छ। त्यसैले यस्ता सामग्रीको सेवनसम्बन्धमा हामीले एक सीमा निर्धारण गर्नुपर्छ, र पूरै छोड्न सक्यो भने झन् राम्रो हुन्छ।

व्यवहारको सम्यक मर्यादा (सम्यक कर्मान्त)

आत्म–संयमको एक महत्त्वपूर्ण पक्ष भनेको विनाशात्मक व्यवहारहरूबाट बच्नु हो। यसको अर्को पक्ष सकारात्मक व्यवहारहरूको अभ्यास गरिरहनु हो। सम्यक कर्मान्तको अर्थ यही हो।

तसर्थ, हामी अन्य प्राणीको ज्यान लिने होइन, बरु प्राणीहरूको जीवन रक्षाको सक्रिय प्रयत्न गर्छौं। यो अभ्यासले हामीलाई वातावरणको विनाश होइन, संरक्षण गर्न प्रेरित गर्छ ताकि जनावरहरू र माछाहरू शान्तिपूर्वक बाँच्न सकुन्। तपाईंले सुंगुर पालन गर्नु भएको छ भने तिनलाई खाना खुवाउन सक्नु हुन्छ। तर तिनीहरू मोटाउलान् र तिनीहरूलाई खाउँला भन्ने सोचाइ राखेर होइन कि तिनीहरू फस्टाउन् र स्वस्थ होऊन् भन्ने भावनाका साथ। यस्तो भावना राख्नु जीवनको रक्षा गर्ने प्रयत्न हो। त्यस्तै कुकुरलाई खान दिनु, विरामीको सेवा गर्नु र घाइते भएकालाई सहयोग गर्नु पनि जीवन रक्षाको प्रयत्न हो।

मानिलिऊँ तपाईंको कोठामा एउटा झिंगा वा मौरी पस्यो। यसलाई तपाईंको कोठामा बसिरहन पटक्कै मन हुँदैन। यो बाहिर निस्कन खोज्छ, तर सक्दैन। तपाईंको कोठाभित्र पस्ने सानो भूल गर्यो भन्दैमा यसको ज्यानै लिइहाल्ने काम पक्कै पनि राम्रो होइन होला, कि कसो? झ्याल खोलेर यसलाई बाहिर जान दिन पनि सकिन्छ। त्यो कामले जीवनको रक्षा गर्छ। र, मौरीलाई पनि आफ्नो जीवन प्यारो लाग्छ। तपाईंको कोठाभित्र अन्जानमा एउटा चरा पस्यो भने आफ्नो बन्दुक निकालेर त्यसलाई मार्न खोज्नुहुन्न होला, होइन? बुझ्नुपर्ने कुरा के हो भने मौरी र चराबीच आकारप्रकार, बाहिरी बनावट, र तिनीहरूले निकाल्ने आवाज मात्र फरक हुन्छ। तपाईंलाई मौरी आफ्नो कोठाभित्र पसेको मन पर्दैन भने झ्याल नखोले भैहाल्यो। अथवा झ्यालमा एउटा आवरण लगाउन सक्नुहुनेछ।

त्यस्तै चोरी नगर्ने मामिलामा सही काम भनेको अन्य मानिसको सम्पत्तिको पनि रक्षा गर्ने हो। जस्तैऽ कसैले तपाईंलाई कुनै चीज राख्न दिएको छ भने त्यसलाई भरसक जतन गरेर राख्नुहुन्छ र विग्रन दिनुहुन्न। अरू मानिसलाई राम्रो सामानहरू जोगाइराख्न सहयोग गर्नुहुन्छ।

त्यस्तै यौन व्यवहारका मामिलामा अनुपयुक्त व्यवहार गर्नु हुँदैन, अरुसँग मात्र नभई आफैंसँग पनि। यौनको मामिलामा हामी करुणाले युक्त र नम्र हुनु पर्छ, उत्तेजित कुकुरजस्तो व्यवहार गर्नु हुँदैन। 

सम्यक र असम्यक व्यवहारका अन्य उदाहरण

माथिको चर्चाबाट स्पष्ट हुन्छ कि तीन साधनाको अभ्यासमा धेरै पक्षहरूमा ध्यान पुर्याउनु आवश्यक हुन्छ।

उदाहरणका लागि, हिंसा नगर्नुको अर्थ अरुसँग शारीरिक स्तरमा कठोर व्यवहार नगर्नु हो। यसमा मानिसलाई कुटपिट गर्नु मात्र पर्दैन, उनीहरूलाई काममा जोत्नु वा कामका लागि धेरै दवाब दिनु पनि पर्छ। किनकि त्यसो गर्दा मानिसहरूलाई शारीरिक स्तरमा हानि पुग्न सक्छ। यही कुरा हामी आफ्नो हकमा पनि लागु गर्न सक्छौं। हामीले अति परिश्रम गरेर आफूलाई दुःख दिनु हुँदैन। त्यस्तै राम्रोसँग नखाने र एकदमै कम सुत्ने गरेर आफैंलाई सताउनु हुँदैन। हामी प्रायः आफ्नो व्यवहारलाई अरुको सम्बन्धमा मात्र सोच्ने गर्छौं, तर यसलाई आफ्नै सन्दर्भमा पनि सोच्नु आवश्यक हुन्छ।

त्यस्तै, चोरीअन्तर्गत अरुको अधीनमा भएको वस्तु हरण गर्नु मात्र पर्दैन। उनीहरूको सामान उनीहरूलाई नसोधि प्रयोग गर्नु पनि चोरीमा गनिन्छ। अरुको फोन लिएर नसोधिकनै महंगो कल गर्नु वा अरुको फ्रिज खोलेर स्वीकृति नलिई खानेकुरा खाइदिनु पनि चोरीमै गनिन्छ। सिनेमाहलभित्र टिकट नलिई प्रवेश गर्नु, र कर नतिर्नु पनि चोरी हो, भलै यो दोश्रो कुरा मानिसहरूलाई मन नपरोस्। हामी भन्न सक्छौं – “मलाई कर तिर्न मन लाग्दैन, किनकि मैले तिर्ने पैसा युद्ध गर्न र हतियार किन्न प्रयोग गरिन्छ।” तर सत्य के हो भने, तपाईंले तिर्ने कर सडक, अस्पताल, विद्यालय आदि बनाउन पनि प्रयोग हुन्छ। तपाईंलाई ती सबै चाहिन्छ भने कर त तिर्नै पर्छ।

लाइसेन्सरहित वा पाइरेटेड सफ्टवयर डाउनलोड गर्नु चाहिँ नि? मलाई लाग्छ, त्यो पनि चोरी हो, यदि उक्त सफ्टवयरमा प्रष्टसँग त्यो कुरा उल्लेख छ भने। कुनैमा त लेखिएको नै हुन सक्छ, “पैसा नतिरी यो डाउनलोड नगर्नुस्।” त्यो अवस्थामा त कुरा प्रष्टै भयो। तपाईंले यसलाई चोरी होइन भन्नै पाउनु हुन्न। यहाँनेर पनि हाम्रो उद्देश्य सीमारेखा निर्धारण गर्ने हो। परिणामको चिन्ता नगरी आफूलाई जे मन लाग्छ त्यही गर्नु र विल्कुलै केही नगर्नुबीच धेरै विकल्पहरू हुन्छन्। चोरीको सम्बन्धमा तपाईं भन्न सक्नु हुन्छ – “ठीक छ, म बैंक लुट्न वा पसलबाट चोर्न त जान्नँ। तर यो सफ्टवयर डाउनलोड गर्नुसम्म त ठीकै होला। म अहिल्यै यसलाई रोक्न सक्दिन।” जेहोस्, यस्तो सोचले एउटा सीमा निर्धारण गर्न सहयोग गर्छ। तैपनि यो जान्नु चाहिँ आवश्यक छ कि पैसा नतिरी डाउनलोड गर्नु पनि चोरी हो। फेरी, तपाईंसँग तिर्ने पैसा छ तर पनि तिर्नुभएन भने झनै राम्रो भएन किनकि त्यो गलत र अनुचित व्यवहार हुनेछ। यसलाई हामीले त्याग्नु पर्छ।

चोरीसम्बन्धमा यसरी विचार गर्दा हामी आफ्नै पनि निरीक्षण गर्न सक्छौं। हामी आफ्नो पैसा अनावश्यक काममा खर्च गर्नबाट आफूलाई रोक्न सक्छौं। यसको एउटा उदाहरण जुवा हुन सक्छ। जुवा खेल्नु सम्पत्तिको दुरुपयोग हो। त्यस्तै हामीले सही उपयोगका लागि कुनै चीजमा खर्च गर्न सक्छौं भने कञ्जुसीका कारण त्यसो नगर्नु पनि राम्रो हुँदैन। तपाईं पोषणयुक्त र उपयुक्त खाना किन्न सक्नुहुन्छ तर कञ्जुसी गरेर सबैभन्दा सस्तो र रद्दी खाना खानुहुन्छ भने त्यो तपाईंले आफैंसँग चोरी गरेबराबर हुन्छ।

फेरी, अनुपयुक्त यौन व्यवहारको कुरा गर्दा हामीले अरु मानिस वा उनीहरूको पार्टनरसँग यौन सम्बन्ध राख्ने प्रयत्न नगर्नु मात्र होइन, आफ्नो शारीरिक वा भावनात्मक स्वास्थ्यलाई खतरा पुर्याउने कुनै पनि यौन व्यवहारबाट आफूलाई बचाउनु पनि आवश्यक हुन्छ। उदाहरणका लागि मानिलिऊँ तपाईंले कुनै मानिस भेट्नुभयो र उप्रति एकदमै आकर्षित हुनुभयो। तपाईं उसँग यौन सम्बन्ध राख्न चाहनुहुन्छ। तर उक्त मानिस धेरै नै भावनात्मक समस्या र अन्य जटिलताहरूबाट ग्रस्त छ। त्यस अवस्थामा उसँगको सम्बन्धले तपाईंका लागि भविष्यमा समस्या खडा हुन सक्नेछ। तपाईंले आफ्नै स्वास्थ्यका लागि पनि उसँगको चक्करमा पर्नुहुँदैन। कोही मान्छे आकर्षक छ भन्दैमा आफ्नो कामवासनाको दास बन्नु हुँदैन।

हामी आफ्नो मर्यादाबाहिर गयौं भने के गर्ने?

बेलाबेलामा हामी आफैंले निर्धारण गरेको मर्यादाको सीमाबाहिर जान सक्छौं। यो अवश्यम्भावी छ। यस्तो अवस्थाको सामनाका लागि बुद्धधर्ममा केही शिक्षा दिइएको छ:

  • आफूले गर्नुभएको भूल स्वीकार गर्नुहोस्। आफैंप्रति इमान्दार बन्नुहोस्।
  • आफूले गरेको कार्यप्रति पश्चात्ताप गर्नुहोस्। त्यस्तो नगरेको भए हुन्थ्यो भन्ने भाव जागृत गर्नुस्। यो आत्मग्लानि भन्दा फरक कुरा हो। आत्मग्लानिमा तपाईंले आफूलाई एकदमै गएगुज्रेको मानिस भन्ठान्नु हुन्छ र त्यो कुरालाई पकडेर बसिरहनु हुन्छ।
  • उक्त काम फेरी नदोहोर्याउने प्रण गर्नुहोस्।
  • आफ्नो उत्प्रेरणाको पुनः स्मरण गर्नुस् र आफैंले निर्धारण गरेको मर्यादा रेखाभन्दा बाहिर नजाने संकल्प गर्नुहोस्, किनकि गइयो भने आफ्नै लागि दुःख र समस्या उत्पन्न हुनेछन्।
  • गरेको काम सुधार्नुहोस्।   मानिलिऊँ, तपाईं कसैसँग चिच्याएर कराउनुभयो। पछि तपाईंले उसँग माफी माग्न सक्नुहुन्छ। इमानदारीपूर्वक उसलाई भन्नुहोस्, तपाईं त्यतिबेला खराब मुडमा अथवा त्यस्तै मनोदशामा हुनुहुन्थ्यो।

आजीविका

यो हामी आफ्नो जीवनयापनका लागि के काम गर्छौं भन्ने कुरासँग सम्बन्धित छ। कुनै काम नैतिक हुन्छन्, कुनै हुँदैनन्।

असम्यक आजीविका

कुनै पनि प्रकारको हानिकारक व्यवसाय चलाउनु असम्यक आजीविका हो, जसले हामीलाई वा अरुलाई कुनै न कुनै हिसाबले नोक्सान गर्छ। केही उदाहरणहरूः

  • हातहतियारको निर्माण वा व्यापार
  • जनावरहरूको वध, शिकार, माछा र किराफट्यांग्रा मार्ने काम
  • अल्कोहल वा लागूपदार्थ उत्पादन, विक्री, वा पस्किने (सर्व गर्ने) काम
  •  जुवाघर, क्यासिनोको सञ्चालन
  • यौन उत्तेजक सामग्री प्रकाशन वा विक्रीवितरण

आजीविकाको यस्तो कामले हामीलाई र अरुलाई हानि पुर्याउँछ। जस्तै, यौन उत्तेजक साहित्यले हाम्रो कामवासना जगाउँछ र कामलिप्सा बढाउँछ। हामी कुनै नियमित प्रकारको रोजगारी गरिरहेका छौं भने पनि इमानदारीपूर्वक काम गर्नु जरुरी छ।

बेइमानीका निम्न कामहरू गर्नबाट बच्नुपर्छः

  • आफ्ना ग्राहकसँग चाहिनेभन्दा बढी पैसा लिने, उनीहरूबाट धेरैभन्दा धेरै असुल्न खोज्ने
  • भ्रष्टाचार गर्ने, कार्यालयको पैसा आफ्नो व्यक्तिगत खर्चमा लगाउने
  • अरुलाई धाकधम्की दिएर वा तर्साएर पैसा असुल्ने
  • घुस लिनेदिने
  • अरुको शोषण गर्ने
  • गलत विज्ञापन गर्ने
  • खानेकुरा वा अन्य उत्पादनमा मिसावट गरेर नाफा कमाउन खोज्ने

आम्दानीका अनेक बेइमान तरीकाहरू हुन सक्छन्। हामीले आत्म–संयम अपनाउँदै आजीविकाका लागि गलत कामहरू गर्न बन्द गर्नु पर्छ।

सम्यक आजीविका

हामीले आफ्नो आजीविकाका लागि त्यस्तो तरीका अपनाउनु आवश्यक छ जुन इमानदार होस् र समाजलाई लाभ गर्ने होस्। जस्तैः

  • औषधोपचार
  • सामाजिक सेवाको कार्य
  • इमान्दारीपूर्वक गरिने व्यापार
  • अरुलाई लाभकारी हुने सामग्री वा सेवाको उत्पादन वा विक्रीवितरण

समाजको स्वस्थ सञ्चालनमा सहयोगी हुने र अरुको कल्याण गर्ने कुनै पनि पेशा व्यवसाय राम्रो हो। यसका अतिरिक्त हामीले निम्न कुरामा ध्यान पुर्याउनु पर्छः

  • अरुलाई नठग्ने, बढी पैसा असुल नगर्ने
  • उचित मूल्य राख्ने, ताकि हामीलाई उचित सीमाभित्र नाफा पनि होस्
  • कामदारलाई उपयुक्त तलब दिने, ताकि उनीहरूको शोषण नहोस्।

यो सब चर्चामा आवश्यकताको प्रश्न प्राय: उठ्ने गर्छ। मैले एक पटक एक तिब्बती शिक्षकका लागि अष्ट्रेलियामा अनुवादकको काम गरेको थिएँ। अष्ट्रेलियामा धेरै संख्यामा भेडापालन गर्ने गरिन्छ। कसैले सोध्यो, “म बस्ने शहरमा भेडा पाल्ने बाहेक अरु काम पाईंदैन। यो मासु र ऊनका लागि प्रयोग गरिन्छ। म के गरौं? अर्को शहरमा गएर अरु केही काम खोज्न पनि सक्दिन।” जवाफमा तिब्बती लामाले भन्नुभयो, “मुख्य कुरा आफ्नो काममा इमानदार हुने हो र ठगी नगर्ने हो। तपाईंले भेडालाई दुव्र्यवहार नगर्नुस्, उनीहरूसँग दयालु व्यवहार गर्नुहोस्, राम्रोसँग खान दिनुहोस्, उनीहरूको राम्रो ख्याल राख्नुहोस्।” त्यसैले यो सबै अभ्यासको मूलमा अरुप्रति दयालुताको व्यवहार गर्ने र इमानदार हुने हो।

सारांश

अष्टाङ्गिक मार्गबाट प्राप्त सुझावहरूलाई हामीले बन्धनकारी नियमहरूको सूचीका रुपमा लिनु हुँदैन। नकारात्मक व्यवहारले हामीलाई र अरुलाई पनि हानि गर्छ। यी सुझावहरूले हामीलाई त्यस्तो परिधि प्रदान गर्छन् जसबाट हामी आफूलाई नकारात्मक व्यवहारबाट मुक्त राख्न सक्छौं।

Top