यो लेख, जीवनप्रति बौद्ध दृष्टिकोण, हामीले बौद्ध शिक्षा कसरी आफ्नो दैनिक जीवनमा उतार्न सक्छौं भन्ने विषयसँग सम्बन्धित छ। बुद्धका शिक्षाले हाम्रो जीवनमा के अर्थ राख्छन्? यो बुझ्नु धेरै आवश्यक छ। हामी बुद्धका शिक्षाबारे पढ्छौं, दैनिक ध्यानको अभ्यास पनि गर्छौ, तैपनि यसलाई कसरी जीवनमा उतार्ने भन्ने स्पष्ट जानकारी पाउँदैनौं। व्यावहारिक स्तरमा तिनको अर्थ के हो? बौद्ध अभ्यास भनेको अरु सबैथोकको अतिरिक्त एक सोखका रूपमा गर्ने केही कुरा अथवा जीवनका समस्याबाट भाग्ने उपाय त होइन? के हामी कुनै मनोरम स्वैरकल्पनामा हराउन मात्र खोजेका हौं? कि हाम्रो साधना वास्तवमै जीवनका लागि उपयोगी तथा सहयोगी छ? यहाँ हामीले बुझ्नुपर्ने कुरा के हो भने बौद्ध शिक्षाहरूको उद्देश्य हामीलाई आफ्नो जीवनका दुःख र समस्याहरूबाट माथि उठ्न सहयोग गर्नु हो।
एक उपयोगी मार्गदर्शन
एक छोटो प्रार्थना छ जसले बौद्ध शिक्षालाई दैनिक जीवनमा उतार्नका लागि मार्गदर्शकको काम गर्न सक्छ। यसलाई अटुट रूपमा गर्नुपर्ने तीन पाठहरू (त्रिदण्डक प्रार्थना) नाम दिइएको छ। यसलाई प्रायः सबै शिक्षा उपदेशभन्दा पहिले पढ्ने गरिन्छ। यसभित्र एक पंक्ति छः
कुनै नकारात्मक काम (पाप कर्म) कदापि नगर; सकारात्मक काम (कुशल कर्म) उत्कृष्ट तवरले गर; चित्तलाई पूर्णतः आफ्नो अधीनमा राख। यही बुद्धको शिक्षा हो।
बौद्ध शिक्षाका सबैभन्दा महत्त्वपूर्ण बुँदाहरू यिनै हुन्। पहिलो बुँदाले भन्छः कुनै नकारात्मक काम (पाप कर्म) कदापि नगर । यहाँ नकारात्मकको अर्थ त्यस्तो कुरा हो जो आत्म–विनाशकारी हुन्छ। यो अरुका लागि र अन्ततः आफ्नै लागि पनि समस्या र दुःखको कारण बन्छ। त्यसैले बुद्धधर्मको अभ्यासमा हामीले गर्ने पहिलो काम भनेको अरुलाई र आफैंलाई हानि नपुर्याउने प्रयत्न गर्नु हो। दोस्रो बुँदाले भन्छः सकारात्मक काम (कुशल कर्म) उत्कृष्ट तवरले गर । यहाँ सकारात्मकको अर्थ त्यस्तो कुरा हो जसले अरुको र आफ्नो जीवन सहज बनाउँछ र खुशी ल्याउँछ।
तेस्रो बुँदाले भन्छः चित्तलाई पूर्णतः आफ्नो अधीनमा राख। यसले हाम्रो नकारात्मक र सकारात्मक दुवै कार्यहरूको स्रोततर्फ इंगित गर्छ। पहिलो प्रकारका कार्य (नकारात्मक) नगर्न र दोस्रो प्रकारका कार्य (सकारात्मक) गर्नका लागि हामीले आफूभित्र सुधार गर्नुपर्छ र आफ्नो दृष्टिकोण तथा आवेगहरूलाई ठीक ठाउँमा राख्नुपर्छ। यी सबै हाम्रो चित्तबाट आउँछन्। हाम्रा दृष्टिकोण र आवेगहरूले हामी कसरी अरुसँग व्यवहार गर्छौं, र कसरी काय, वाक्, चित्तद्वारा काम गर्छौं भन्ने कुराको निर्धारण गर्छन्। त्यसपछि अन्तिम बुँदाले भन्छः यही बुद्धको शिक्षा हो।
यथार्थको बोध
यसलाई अलि गहिरोसँग हेर्ने हो भने हामी पाउनेछौं कि बुद्धधर्मले मुख्य जोड यथार्थवादी हुनुमा दिएको छ। मेरा एक कल्याणमित्रले भन्नु भएजस्तै यसले हामीलाई यथार्थ के हो भनेर बुझ्न र यथार्थपरक ढंगले व्यवहार गर्न प्रेरित गर्छ। अर्को शब्दमा भन्ने हो भने, हामीले आफ्नो व्यवहार र दृष्टिकोण यथार्थमा आधारित भएर गर्नुपर्छ।
तर यथार्थ के हो? यथार्थ भनेको कार्य-कारणबीचको सम्बन्ध हो, जसलाई “प्रतीत्य–समुत्पाद” भनिन्छ। कुनै पनि चीज कार्य-कारणको सिद्धान्तअनुसार उत्पन्न हुन्छ अथवा घटित हुन्छ। यो कुरा हाम्रो नकारात्मक वा सकारात्मक कार्यहरूको हकमा पनि लागू हुन्छ, तिनीहरू पनि कारणहरूले गर्दा उत्पन्न हुन्छन्। आफूले गर्ने कार्यहरूमाथि विचार गर्दा पाउँछौं, तिनले हामी र अरूका लागि या त समस्या खडा गरिरहेका हुन्छन् या खुशी ल्याउने वा हित गर्ने काम गरिरहेका हुन्छन्। तर जे होस्, हामीले आफ्नो व्यवहारलाई पक्षपातरहित ढंगले हेर्नुपर्छ। जीवन जीउनका लागि पनि पक्षपातरहित भएर व्यवहार गर्नु अत्यन्तै उपयोगी हुन्छ।
बौद्ध नीतिहरू कुनै दैवी शक्ति वा कुनै नियामक निकाय अथवा शासकले बनाइदिएका नियमहरूको आधारमा निर्मित भएका होइनन्। यदि बौद्ध नीतिहरू यसरी बनाइएका नियमको अन्तर्गत हुन्थे भने हाम्रो व्यवहारका लागि पनि कसैले फैसला सुनाइदिन्थ्यो होला। त्यसो हुँदो हो त ती नियम र व्यवस्थाहरू पालना गर्ने बित्तिकै हामीलाई असल ठानेर पुरस्कृत गरिन्थ्यो होला। त्यस्तै ती नियमहरू नमानेको खण्डमा हामीलाई पापी भनेर सजायको हकदार मानिन्थ्यो होला। हामी आफैंप्रति आलोचनात्मक भैरहँदा यो कुरा बुझ्नु झन् आवश्यक हुन्छ। आफैंप्रतिको दृष्टिकोणमा हामीले धेरै गहन परिवर्तन ल्याउनु आवश्यक छ। आफैंप्रति आलोचनात्मक हुनबाट बच्नुपर्छ। म खराब छु, कामै नलाग्ने छु, असल छुईंन, र मैले निकृष्ट काम गरेँ – यस्तो ढंगबाट सोच्न बन्द गर्नुपर्छ।
यसको विपरीत हामीले जीवनलाई कारण र असरहरूको कोणबाट हेर्न थाल्नु पर्छ। यदि हामीले समस्या खडा गर्यौं र काम बर्बाद गर्यौं भने त्यसका पछाडि विविध हेतु र तिनका प्रत्ययहरू थिए भनेर बुझ्नुपर्छ। हामी भित्रैबाट खराब भएर काम बिग्रेको हुँदैन। अलि गहिरिएर विचार गर्दा पाउनेछौं कि हामी त्योबेला परिस्थितिका बारे भ्रममा थियौं, हामीले कुरा राम्रोसँग बुझेका थिएनौं। हाम्रा काल्पनिक प्रक्षेपणहरूका कारण यस्तो हुन्छ। हामी कुनै पनि कुरालाई बढाईचढाई गरेर लिन्छौं र त्यसका आधारमा आफैंमाथि, परिस्थितिमाथि र आफू वरिपरिका मानिसहरूमाथि वाहियात प्रक्षेपणहरू थोपर्छौं। त्यसपछि ती काल्पनिक प्रक्षेपणहरूलाई नै सत्य भन्न थाल्छौं, जुन बिल्कुलै होइन। आफ्नाबारे र आफूले गर्ने नकारात्मक कामहरूबारे गहिरिएर विचार गर्यौं भने पाउनेछौं, त्यो परिस्थिति निम्त्याउनका लागि हामीले कुनै न कुनै निरर्थक र काल्पनिक कुरा कसैमाथि थोपरेका हुन्छौं र त्यसैका आधारमा व्यवहार गरेका हुन्छौं।
दुई सत्य (सत्यद्वय)
परम पूजनीय दलाई लामाले पछिल्लो समयमा मानिसको जीवनलाई कम समस्यायुक्त बनाउन सार्वभौमिक स्तरमा उपयोगी हुने विषयहरूमा धेरै विस्तारपूर्वक बोल्नुभएको छ। उहाँ बुद्धधर्म मान्ने श्रोताहरूलाई मात्र उपदेश दिनुहुन्न, अपितु विश्वव्यापी रूपमा सबै मानिसलाई सम्बोधन गर्नुहुन्छ, किनकि उहाँ सबैप्रति उत्तिकै सरोकार राख्नुहुन्छ। उहाँ भन्नुहुन्छ – हामीले सत्य बुझ्नका लागि दुई सत्यहरूबाट शुरु गर्नुपर्छ। यो एकदमै आधारभूत कुरा हो। दुई सत्यमाथि अत्यन्त परिष्कृत रूपले होइन, सामान्य रूपमा सबैले बुझ्ने स्तरबाट मनन गर्नुपर्छ। एकातर्फ हाम्रा अतिरञ्जित कल्पना वा बेतुकका विचारमा आधारित हाम्रा प्रक्षेपणहरू छन् भने अर्कोतर्फ यथार्थ छ। यो दुवै सत्य हो।
दिग्भ्रमित चित्तका लागि हाम्रा काल्पनिक प्रक्षेपणहरू सत्यजस्तै लाग्छन्। जस्तैः “म एक असफल मान्छे हुँ, म कामै नलाग्ने छु, कसैले मलाई माया गर्दैन,” आदि। पकाउँदै गरेको खाना डढ्यो अथवा रेस्टुराँमा हामीले अर्डर गरेको कुरा सकिएको रहेछ भने यस्तो विचार आउन सक्छ - “यो त संसारकै सबैभन्दा अनर्थ हुनपुग्यो।” एकछिन ट्राफिक जाममा परियो भने कहिल्यै घर नपुगिएला भन्ने सोच्न थाल्छौं। सानो कुरालाई बढाईचढाई गर्छौं र सोच्छौं कि यो त अनर्थको पराकाष्ठा नै भयो। उदाहरणका लागि, ट्राफिक जाममा पर्यौं भने त्यो सधैंका लागि हो भनेजस्तै चिन्ता गर्न थाल्छौं। हामी यस्तै प्रक्षेपणहरूलाई सत्य भन्ठान्छौं। यो संवृत्ति सत्य अर्थात् लौकिक सत्यको उदाहरण हो, जसलाई दिग्भ्रमित चित्तले त्रुटिवश सत्य भन्ठान्छ।
तर त्यसभन्दा पर्तिर यथार्थ छ, गहिरो सत्य छ। बाटोमा गाडी धेरै छन्, तर त्यसको पनि कारण छ। त्यो भीड हुने समय नै हो, र सबैलाई घर पुग्नु छ। त्योबेला भीड नभएर के होस् त! यो त जाडोयाममा जाडो भयो भनेर बिलौना गर्नु जस्तै हो। जाडोयाममा जाडो नभएर के होस् त!
हामीले यी दुई सत्यबीच फरक छुट्याउन सक्नुपर्छ। र, जतिबेला हामीलाई आफूले बढाईचढाई गरेर निरर्थक कुरालाई प्रक्षेपित गरिरहेको बोध हुन्छ, त्यतिबेला आफ्नो कल्पनालाई विखण्डित गरेर हेर्नुपर्छ। संक्षेपमा भन्ने हो भने, हामीले आफ्नो जीवनमा के भैरहेको छ जान्नका लागि सत्यको दुई स्तरलाई बुझ्न, तिनको फरक थाहा पाउन, र तिनलाई आफ्नो जीवनमा उतार्न सक्नुपर्छ। यो अत्यावश्यक छ।
यो कुरा माथि उल्लिखित प्रार्थनाको दोस्रो पंक्तिमा बताइएको छ :
अरुमा निर्भर सबै चीजहरू (समुत्पन्न चीजहरू) ताराजस्ता, एक धुमिल छवि, घुम्दै गरेको मशाल, एक भ्रान्ति, शीतका थोपाजस्ता, वा एक पानीको फोका, एक सपना, एक बिजुली चम्काई वा बादलहरूजस्तै मात्र हुन्।
हामीले आफ्नो जीवनमा कतिबेला बढाईचढाई वा काल्पनिक प्रक्षेपण गर्दैछौं र एक शून्य वा तुच्छ कुरालाई चाहिनेभन्दा ठूलो बनाउँदैछौं भनेर थाहा पाउनु जरुरी छ। एकदमै ठोसरूपमा देखिने कुरा पनि भ्रान्तिमात्र हो, एक सपना हो, एक पानीको फोकाजस्तो मात्र हो भनेर हामीले थाहा पाउनु पर्छ। यो जति ठोस देखिन्छ, त्यति हुँदैन। त्यसैकारण यसले यथार्थको प्रतिनिधित्व गर्छ भन्ने कुरा पत्याउन हामी राजी छैनौं। यसलाई नपत्याउनु भनेको आफ्नो कल्पनाको बेलुनलाई फुटाउनु जस्तै हो।
प्रक्षेपण
हाम्रा प्रक्षेपणहरू मुख्य रूपमा दुई खाले हुन्छन्: कुनै उपयोगी हुन्छन्, कुनै हानिकारक। उपयोगी प्रक्षेपण कस्तो हुन्छ त? हाम्रो उद्देश्य सकारात्मक वा तटस्थ हुन सक्छ, जस्तै हामी कुनै भ्रमणको आयोजना गर्न लाग्दैछौं, वा हामी एक ठाउँबाट अर्को ठाउँमा जान लागेका छौं। त्यो अवस्थामा हामी अगाडिदेखि सोच्न थाल्छौं। यो पनि एक प्रकारको प्रक्षेपण नै हो। हामीले फलानो काम गर्नुपर्ने छ, हामीले फलानो सामान आफ्नो साथमा लैजानुपर्ने छ, रिजर्भेसन गर्नुपर्ने छ, आदि। यस्तो प्रक्षेपण दैनिक कार्यहरू गर्न वा पसल जानुअघि किन्ने सामानको सूची बनाउने बेला पनि गरिन्छ। यो हामीले कुनै काम सम्पन्न गर्न के गर्दैछौं, हाम्रो योजना के छ, आदि कुरासँग सम्बन्धित हुन्छ। प्रायजसो यस्तो प्रक्रिया कार्यालयमा आगामी वर्षको कार्ययोजना बनाउने सिलसिलामा अपनाइन्छ।
तर यसरी योजना बनाइसकेपछि हामीले आफ्नो योजना एक सपनाजस्तो हो भनेर बुझ्नुपर्ने हुन्छ। यसलाई व्यावहारिक रूपमा बुझ्ने प्रयत्न गरौं। यसको अर्थ हामी व्यवहारमा लचिलो हुनु हो। प्रार्थनामा एउटा शब्द प्रयोग भएको छ – अरुमा निर्भर चीजहरू। यी त्यस्ता कुराहरू हुन् जो हेतु र प्रत्ययमा निर्भर हुन्छन्। त्यसैले यिनीहरूलाई “समुत्पन्न धर्म” पनि भनिन्छ। जुनसुकै पनि कुरा हेतु र प्रत्ययहरूबाट उत्पन्न हुन्छन्। त्यसैले जब हामी कुनै योजना बनाउँछौं, तिनीहरू पनि कुनै हेतु र प्रत्ययमा निर्भर हुन्छन्, त्यसैले ती परिवर्तित हुन सक्छन्। उदाहरणका लागि हामीले जाने योजना बनाएको विमानमा सीट खाली नहुनसक्छ। हामीले त्यही फ्लाइट लिने विचार गरेका हुनसक्छौं, तर सीट खाली नभएपछि हामीले आफ्नो योजना बदल्नुपर्ने हुन्छ। यसका बारेमा गुनासो गरेर बस्नु र दुःखी हुनुभन्दा बस्तुस्थितिलाई स्वीकार गरेकै राम्रो हुन्छ। यसरी हामीले आफूलाई प्रशिक्षित गर्नुपर्छ। यदि माथिको प्रार्थनाको हरफमा भनिएजस्तो हामीले आफ्नो योजनालाई पनि एक भ्रान्ति, एक पानीको फोकालगायतका बिम्बका रूपमा नलिएर एकदमै ठोस तत्त्वजस्तो मानेर व्यवहार गर्यौं भने हामी त्यसैमा अल्झिनेछौं, हामी त्यसैलाई पक्डेर बसिरहनेछौं।
यसरी अल्झेर बस्नुको परिणति के हो त? यसले हाम्रो चित्तलाई एकदमै दुःखी बनाउनेछ। हामी एकदमै क्रोधित वा निराश हुनेछौं। यसले हामीलाई दुःखी त बनाउनेछ तर स्थितिलाई सुधार गर्ने छैन। ट्राफिक जाममा पर्दा गाडीहरूलाई गाली गरेर केही फाइदा हुँदैन। हर्न बजाएर पनि केही हुनेवाला छैन। हामी कुनै ठाउँमा पुग्नुपर्ने थियो, पुग्न सकेनौं। ट्रेन छुट्यो अथवा ढिला भयो। त्यो अवस्थालाई बदल्न हामी केही गर्न सक्दैनौं। त्यतिबेला एकमात्र उचित उपाय भनेको आफूले सोचेको जस्तो अवस्था भएन, त्यसमा परिवर्तन भयो भनेर जान्नु र त्यसलाई स्वीकार गर्नु हो। यसरी माथि चर्चा गरिएको शिक्षालाई व्यावहारिक जीवनमा उपयोगी ढंगले उतार्न सकिन्छ।
हामीले बुझ्नु जरुरी छ कि जुनसुकै पनि कुरालाई हेर्ने दृष्टिकोण सही वा गलत दुवै हुन सक्छ। गलत दृष्टिकोण भनेको निरन्तर परिवर्तनशील कुराहरूमा आश्रित चीजहरू स्थायी र अपरिवर्तनशील हुन्छन् भनेर सोच्नु हो। उदाहरणका लागि, कुनै योजना एकदमै स्थायी हुनुपर्छ भनेर सोच्नु गलत दृष्टिकोण हो। मानिसमा यो प्रकारको सोच सामान्यतया देखिन्छ। हामीले सोचेजस्तो अवस्था भएन भने बनाएका योजना बदल्नुपर्ने हुनसक्छ, र हामी त्यसका लागि तयार रहनुपर्छ। जस्तैः हामी ट्राफिकमा फस्यौँ वा मानिसहरूले भेट्ने कार्यक्रम रद्द गरे भने हामीले पनि सोहीअनुसार योजना बदल्नुपर्छ। यस्तो अवस्थाका लागि आचार्य शान्तिदेवले बोधिचर्यावतारमा एक उत्तम शिक्षा दिनुभएको छः
यदि कुनै चीजको समाधान छ भने त्यसलाई लिएर किन दुःखी हुनु? फेरी, यदि त्यसको समाधान नै छैन भने त्यही कुरालाई लिएर दुःखी हुनु राम्रो हो त?
यो एक आधारभूत सुझाव हो। तर यसलाई हामीले एकदमै राम्रोसँग ग्रहण गरेर आफ्नो जीवन जीउने एक शैलीका रूपमा अपनाउनु जरुरी छ। यदि हामी जीवनमा कुनै अप्ठ्यारो अवस्थामा पुग्यौं र त्यसलाई समाधान गर्न सक्छौं भने गरौं। तर समाधान गर्न सक्दैनौं भने त्यसैमा अल्झिएर दुःखी हुँदै बस्नुको कुनै अर्थ हुँदैन। उदाहरणका लागि, मानिलिऊँ यात्रामा हाम्रो सामानको पोको हरायो। केही दिन प्रयत्न गरिसक्दा पनि त्यसलाई फेला पार्न सकेनौं। त्यो अवस्थामा हामीले स्थितिलाई स्वीकार गरेर बस्नु नै उचित हुन्छ।
केही हप्ताअघि मलाई एक रमाइलो अनुभव भयो। म हल्याण्डमा परम पूजनीय दलाई लामाको उपदेश कार्यक्रममा जान लागेको थिएँ। म आम्स्टर्डम उड्नका लागि एयरपोर्ट पुगेको थिएँ। चेक–इन लाइनमा उभिएको थिएँ। कम्प्युटर सिस्टमले काम गरेको थिएन। लाइन लामो भैसकेको थियो। सबैजना समयमा चेक–इन गर्न नपाइएला र फ्लाइट छुट्ला भन्ने डरले आत्तिँदै थिए। बल्लबल्ल मभन्दा अगाडिका मानिसहरूले टिकट र पासपोर्ट निकाल्न थाले। जब मेरो पालो आयो, मेरो त पासपोर्ट नै थिएन! मैले पासपोर्ट बोक्नै बिर्सेंछु! मसँग पासपोर्ट र जर्मन आइडी कार्ड केही पनि नभएका कारण मैले चेक–इन गर्न पाइनँ।
त्यो मेरो जीवनको पहिलो त्यस्तो घटना थियो। मलाई के गरौं भन्ने भयो। एयरपोर्टमा थिएँ। घर फर्केर पासपोर्ट लिई समयमै एयरपोर्ट फर्किन र फ्लाइट पकड्न सम्भव थिएन। तर के गर्नु? त्यही कुरामा दुःखी भएर बस्नु त भएन। त्यसले केही फाइदा हुनेवाला थिएन। रिसाएर बस्नु? त्यसले पनि केही सहयोग हुने थिएन। म सूचना डेस्कमा गएँ र त्योभन्दा पछि कुनै फ्लाइट छ कि भनेर सोधेँ। रहेनछ। तर शहरको अर्को कुनामा रहेको अर्को एयरपोर्टबाट रातिको फ्लाइट रहेछ। मैले त्यो फ्लाइट पकडेँ भने पनि साँझको कार्यक्रम छुट्ने त निश्चित थियो। मैले त्यही साँझ नै कार्यक्रममा भाग लिने सोचिरहेको थिएँ। अब नहुने भयो, त के गर्नु! म घर गएँ, रातिकै भए पनि फ्लाइट रिजर्भ गरेँ, र त्यसमा उडेँ। कुरा सकियो।
यस्ताखाले अनुभवहरूले हाम्रा लागि एक मौका दिन्छन्। शिक्षालाई आफ्नो जीवनमा कतिसम्म उतारेका छौं भनेर हामीले आफ्नो परीक्षा गर्न सक्छौं। कुनै नसोचेको कुरा भयो भने त्यसैमा निराश भएर बस्ने अथवा छटपटाउने गर्छौं कि गर्दैनौं? यदि हामी रिसायौं भने त्यसले आफैंलाई हानि गर्छ र थप दुःखी बनाउँछ। अवाञ्छित परिस्थितिको यथार्थलाई तत्काल स्वीकार गरेर त्यो अवस्थामा जेले सहयोग पुग्छ त्यही गर्नुपर्छ। बुद्धको अनित्यताको शिक्षालाई आफ्नो जीवनमा व्यावहारिक रूपमा उतार्नुको अर्थ यही हो। आफ्नो काल्पनिक प्रक्षेपणहरूलाई समातेर बसिराख्दा केही फाइदा हुँदैन। माथिको उदाहरणमा एक निश्चित फ्लाइट पकड्ने, आम्स्टर्डम एयरपोर्टबाट रोटर्डम शहर जाने ट्रेन पकड्ने, र साँझको कार्यक्रममा सहभागी हुने मेरो योजना थियो। त्यो मेरो लागि एक सपना नै भयो, जुन यथार्थमा परिणत भएन। त्यसैले मैले एक वैकल्पिक योजना बनाएँ।
यसलाई हामी ध्यान अभ्यासमा दिइने एक आधारभूत निर्देशनसँग जोडेर हेर्न सक्छौं। त्यो निर्देशन हो – कुनै आशा नराखी ध्यानको अभ्यास गर्नुपर्छ। कुनै आशा राखिएन पनि निराशा पनि हुँदैन। यो बुद्धधर्मको व्यावहारिक प्रयोगको एकदमै आधारभूत पक्ष हो।
मेरी दिदीका दुई छोरा र चार नातिनातिना छन्। म उहाँलाई सधैँ भन्छु – तिनीहरूले आफूलाई फोन गरिराखुन् भन्ने अपेक्षा नगर्नु। हामीले त्यो अपेक्षा राख्यौं भने निराश हुनुपर्नेछ, किनकि उनीहरूले फोन गर्नेवाला छैनन्। बरु कसैसँग बोल्न मन लाग्यो भने तपाईं आफैं फोन गर्नुस्। यथार्थ यही हो, यो बुझ्यो भने सजिलो हुन्छ। यदि हामी परिस्थितिलाई बदल्न सक्छौं भने बदल्न सक्छौं। सक्दैनौं भने सक्दैनौं। यथार्थ त्यत्ति सरल छ। आफ्नो हराएको सामानको पोको जतिबेला पाइएला, पाइएला। सहज रूपमा यो कुरालाई स्वीकार गर्नुपर्ने हुन्छ।
यसलाई एकपटक दोहोर्याऔं – हामीले गर्ने काल्पनिक प्रक्षेपणहरू दुई प्रकारका छन्। एक उपयोगी प्रकारको हुन्छ जुन कुनै कामविशेषका लागि योजना बनाउन प्रयोग हुन्छ। जस्तै, हामीलाई कतै जानु छ भने प्लेन टिकट रिजर्भ गर्नैपर्छ। तर केही प्रक्षेपणहरू उपयोगी हुँदैनन्, बरु हामीलाई हानि गर्ने खालका हुन्छन्।
चिन्तन र व्यावहारिक उपयोग
हानिकारक प्रक्षेपणहरूबारे चर्चा गर्नुअघि हामी आफ्नै अवस्थाका बारेमा एकपटक चिन्तन गरेर हेरौं। हामी व्यवहारमा कत्तिको लचिलो छौं? आफूले सोचेबमोजिम वा योजना बनाएबमोजिम भएन भने हामी कत्तिको निराश हुन्छौं? कुनै काम निश्चित गरिसकेपछि त्यो त्यसैगरी मात्र हुनुपर्छ भनेर हामी कतिबेर अल्झिराख्छौं? उदाहरणका लागि, हामीले कुनै काम यति समयभित्र सम्पन्न भैसक्नुपर्छ भन्ने सोचेका हुन्छौं। त्यस्तै कुनै रेस्टुराँमा जाँदा हामीले सोचेबमोजिम नै खानेकुरा पाइनुपर्छ र त्यो हामीले सोचेको समयमै आफ्नो टेबलमा आइपुग्नुपर्छ भन्ने सोचेका हुन्छौं। यस्तै खालका निश्चित अपेक्षा वा योजनामा हामी कति धेरै अल्झेर बस्छौं?
कहिलेकाहीँ याद गरौं – अपेक्षा गरेबमोजिम भएन र निराश हुनुपर्यो भने हामीलाई कति नरमाइलो लाग्छ! हामी यो भ्रममा हुन्छौं कि हाम्रा योजना यथार्थसँग मेल खाँदै ठ्याक्कै त्यसैअनुरूप फलीभूत हुनुपर्छ।
तर सबैथोक हेतु र प्रत्ययहरूमा निर्भर हुन्छन्। रेस्टुराँमा हामीले खोजेका खानेकुरा सकिएको हुन सक्छ। यो पनि हेतु र प्रत्ययहरूको संयोजन हो। ट्रेन ढीला आउन सक्छ, हामी ट्राफिक जाममा पर्न सक्छौं, र प्लेन छुट्न सक्छ। यो पनि हेतु र प्रत्ययहरूको संयोजन हो। एक मिनेट अडिएर सोचौं – हामी कत्तिको लचिलो छौं? के आफ्नो स्वभावमा सुधार ल्याउनु आवश्यक छ? हामीले अनित्यताको जानकारी पाउनु वा श्वासमा ध्यान केन्द्रित गर्नु र श्वास पनि अनित्य हो भनेर जान्नु मात्र पर्याप्त हुँदैन। त्यो जान्नु धेरै उत्तम हो, तर त्यो बोधलाई आफ्नो जीवनमा कसरी उतार्ने? अनित्यता बोधको एकदमै महत्त्वपूर्ण पक्ष भनेको यसलाई जीवनमा उतार्नु हो।
केही व्यावहारिक उदाहरण लिऊँ। एउटा प्लेट भूईंमा खस्यो र फुट्यो। त्योबेला तपाईंको आवेगात्मक प्रतिक्रिया कस्तो हुन्छ? तपाईं खाना पकाउँदै हुनुहुन्छ र त्यो डढ्यो। त्योबेला उठ्ने आवेगलाई तपाईं कसरी सम्हाल्नु हुन्छ? त्यसले तपाईंको प्रगति देखाउँछ। हामी कम्प्युटर वा फोनमा केही काम गर्न लागेका छौं तर ती साधनले काम गर्दैनन्। तपाईं तत्काल केही अरुथोक गर्न सक्नुहुन्छ कि दिक्क मान्दै वा तथानाम गाली गर्दै बस्नुहुन्छ?
यी कुराहरू बौद्ध शिक्षाका व्यावहारिक पक्ष हुन्। हामी प्रतिकूल परिस्थितिमा उदास भएर बस्छौं र तत्काल वैकल्पिक उपाय अपनाइहाल्न सक्दैनौं भने त्यसको अर्थ हो, हामीले अझ धेरै काम गर्नुछ। कम्प्युटर वा फोनले काम गरेन भने त्यसको वैकल्पिक उपाय पक्कै पनि हुन्छ।
हानिकारक प्रक्षेपण
मैले माथि उल्लेख गरेजस्तै प्रक्षेपणहरू दुइखाले हुन्छन्, एक उपयोगी हुन्छ जुन योजना वा कार्यक्रम तय गर्नेबेला प्रयोग गरिन्छ। अर्को हानिकारक हुन्छ। “म असफल मानिस हुँ। मलाई कसैले माया गर्दैन। त्यो मानिस निकृष्ट छ।” यस्तो सोच हानिकारक हुन्छ। खानेकुरा डढ्यो वा ट्रेन छुट्यो भने सर्वनाश नै भयो भनेर सोच्नु पनि त्यत्तिकै हानिकारक हो। यस्तो प्रक्षेपण हाम्रो अतिशयोक्तिपूर्ण कल्पनाको उपज हो।
रिसका कारण हामी नकारात्मक गुणहरूलाई बढाईचढाई गर्छौं र तिलको पहाड बनाउँछौं। धेरै मानिसले सब-वे र मेट्रोमा आवतजावत गर्दा यसको अनुभव गरेका हुन्छन्। हामी स्टेशनको भर्याङ् ओर्लंदा ओर्लंदै ट्रेन छुटिहाल्छ। त्यो अवस्थामा हामी के गर्छौं? तथानाम गाली गर्न थाल्छौं? हामी सबैलाई थाहा छ कि स्टेशनमा अर्को ट्रेनका लागि पाँच वा दश मिनेट कुर्दा संसार नै खत्तम भैहाल्ने होइन। तर हामी ट्रेन छुटेको कुरामा एकदमै रिसाउँछौं, त्यसलाई चाहिनेभन्दा ज्यादा बढाईचढाई गर्छौं, र दुःखी हुन्छौं। यसले हामीलाई व्याकुल बनाउँछ, हाम्रो भलो गर्दैन।
लोभ र आसक्तिवश हामी कुनै कुरालाई संसारकै सबैभन्दा अद्भूत चीज भन्ठान्छौं। अथवा आफ्नो साथीलाई संसारकै सर्वोत्कृष्ट मानिस भन्ठान्छौं। हामी त्यो कुरालाई बढाईचढाई गर्छौं, प्रेममा फस्छौं। त्यतिबेला उक्त मानिसको राम्रो पक्षलाई मात्र देख्छौं। त्यो मानिसप्रति एक अपेक्षा राख्छौं र उसले हाम्रो त्यही अतिशयोक्तिपूर्ण अपेक्षाअनुरूप काम गरोस् भन्ने सोच्छौं। तर कसैले पनि त्यस्तो गर्न सक्दैन। अनि हामी निराश हुन्छौं।
यस्तो दृष्टिकोण समस्याजनक हुन्छ। अधिकांशतः हामी कुनै पनि कुरालाई एकदमै साँघुरो कोणबाट हेर्छौं। हामीले जीवनमा कुनै असफलता भोगेका छौं, कसैले हामीलाई उपेक्षा गरेको छ, वा कसैले हामीलाई केही नराम्रो काम गरेको छ भने हाम्रो रवैया यस्तो हुन सक्छ। प्रेमीले हामीलाई मन नपर्ने कुनै काम गर्यो वा जन्मदिनमा पनि फोन गरेन, वा हामीसँग रिसले चर्किएर बोल्यो, अथवा त्यस्तै केही गर्यो भने हामी त्यही एउटा घटनालाई पकडेर बसिरहन्छौं। उसँगको आफ्नो सम्बन्धको बृहत् पक्षलाई हामी बिर्सिदिन्छौं। हामी उसलाई त्यही एक साँघुरो घटनामा सीमित गरिदिन्छौं र रिसले फुलेर बस्छौं।
हामी कुनै समस्यामा छौं वा हामीलाई कुनै रोग छ भने यस्तो सोच आउन सक्छ – “अहो, बिचरा म। हेर, यसरी दुःख भोग्नुपर्ने एक्लो मै मात्र हुँला!” यो पनि एकदमै संकुचित दृष्टिकोण हो। यो पनि बृहत् पक्ष देख्न नसकेका कारण हाम्रो चित्तले गर्ने प्रक्षेपण हो। अर्को उदाहरण – “मलाई कसैले माया गर्दैन।” यस्तो सोच पनि यथार्थ होइन। नभए सोचौं, सम्पूर्ण जीवनमा कहिल्यै कसैले हामीलाई माया गरेको छैन? के हाम्रो कुकुरले पनि हामीलाई माया गर्दैन त? कहिल्यै कसैले हामीसँग राम्रो व्यवहार गरेको वा हाम्रो ख्याल राखेको छैन त? अर्को उदाहरण – “म त यस्तो असफल मान्छे हुँ।” के यो सोच यथार्थ होला? के हामी कहिल्यै पनि कुनै कुरामा पनि सफल भएका छैनौं त? हामी सबैले कम्तीमा कसरी हिँड्ने, शौचालयको प्रयोग कसरी गर्ने आदि कुरा सिक्नमा सफलता पाएका छौं, होइन त? सबैले केही न केही कुरामा सफलता पाएकै हुन्छन्।
हामी पाउँछौं, हाम्रा काल्पनिक प्रक्षेपणहरू यथार्थसँग मेल खाँदैनन्। तर हामी चाहन्छौं तिनीहरू यथार्थ होऊन्, र त्यसैअनुरूप हामी विश्वास गर्न थाल्छौं। आफ्नो पार्टनर संसारको सबैभन्दा विशेष र सबैभन्दा उत्कृष्ट मानिस होस् भन्ने चाहन्छौं। अन्टार्कटिकाको पेन्गुइनले एउटै पार्टनरसँग जिन्दगी बिताउँछ। शायद उसका लागि आफ्नो त्यो पार्टनर सबैभन्दा उत्कृष्ट होला। तर हाम्रो नजरमा त ती सबै पेन्गुइन एक समान हुन्, कोही पनि घटीबढी छैन। त्यस्तै पेन्गुइनका नजरमा हामी सबै मानिस उस्तै हौं, कोही पनि एक अर्कोभन्दा फरक छैन। तर हामीलाई चाहिँ त्यही एउटा मान्छे चाहिन्छ। “अरु कसैले माया गरेर हुँदैन, मलाई तिमीले नै माया गर्नु पर्छ – तिमी नै मेरा लागि त्यस्तो विशेष मान्छे हौ।” यो खालको अतिशयोक्तिपूर्ण सोचले भलो गर्दैन।
यथार्थको निषेध
हानिकारक प्रक्षेपणको अर्को उदाहरण यथार्थको निषेध हो। हामी अरुको यथार्थ देख्न सक्दैनौं र त्यसलाई निषेध गर्छौं। अरु मानिस त बस्तुजस्तै हुन्, उनीहरू मानिस नै होइनन्, उनीहरूको भावना नै हुँदैन आदि ठान्यो भने यस्तो दृष्टिकोण आउँछ। बुद्धधर्ममा यससम्बन्धी एक चर्चित पंक्ति छ – “सबैजना खुशी हुन चाहन्छन्, कोही पनि दुःखी हुन चाहँदैन।” हामी यो कुरालाई अरु मानिससँगको सम्बन्धमा कसरी लिन्छौं? प्रायजसो हामी यो कुरा बिर्सन्छौं र अरुसँग जसरी बोलेपनि हुन्छ, जस्तो व्यवहार गरेपनि हुन्छ, त्यसले केही फरक पर्दैन भन्ने सोचले काम गर्छौं। कारण र असरहरूको यहाँ कुनै भूमिका छैन, अरु मानिसको भावनाको कुनै मतलब नै हुँदैन भन्ने सोचका साथ काम गर्छौं।
उदाहरणका लागि, हाम्रो कार्यालयमा एकदमै घिनलाग्दो र नराम्रो देखिने कुनै मानिस छ। उ पनि खुशी नै हुन चाहन्छ, दुःखी हुन चाहँदैन। उसले पनि अरु मानिसले आफूलाई मन पराइदिऊन् भन्ने सोच्छ, मन नपराऊन् भन्ने सोच्दैन। तर उ अप्रियकर व्यवहार गर्न सक्ला, किनकि के गर्दा आफू खुशी हुन्छु भन्ने थाहा नभएका कारण उ भ्रान्तिमा हुन्छ। यहाँ हामीले पक्षपातरहित व्यवहार गर्नुपर्ने कुरालाई स्मरणमा राख्नु आवश्यक हुन्छ।आचार्य शान्तिदेवले भन्नुभएजस्तै हामी सामान्यतः खुशीलाई शत्रुवत् व्यवहार गरेर नष्ट गर्न खोज्छौं। अर्थात्, हामी बेखुशीतर्फको यात्रामा दौडिरहेका हुन्छौं। कसैले एकदमै स्वार्थी ढंगले काम गरिरहेको छ भने उसलाई सबैले त्याग्छन्। उसको तौरतरीकालाई कसैले मन पराउँदैन। तर त्यो व्यक्तिलाई चाहिँ आफ्नो व्यवहारले खुशी ल्याउँछ भन्ने लागिरहेको हुन्छ।
अरुसँग व्यवहार गर्ने बेला यो विचार गरौं – “तिमी पनि म जस्तै खुशी हुन चाहन्छौ। तिम्रो पनि मेरो जस्तै भावना छ। तिमीलाई पनि मलाई जस्तै बेखुशी हुन मन लाग्दैन, अरुले आफूलाई माया गर्दिऊन् भन्ने लाग्छ। तिमीलाई पनि मलाई जस्तै अरुले मन नपराएको वा उपेक्षा गरेको मन पर्दैन।” यस्तो भावना एकदमै महत्त्वपूर्ण हुन्छ। हामी बसमा चढेको बेला वा ट्राफिक जाममा परेको बेला यस्तो भावना धेरै उपयोगी हुन्छ। सबैजना हामी जस्तै आफ्नो गन्तव्यमा पुग्न चाहन्छन्, कोही पनि ट्राफिकमा बस्न चाहँदैन। अरु मान्छेप्रति रिस गर्नुको कुनै अर्थ हुँदैन, उनीहरुसँग पनि हामीहरूसँग जस्तै भावना छ।
शायद यो पंक्ति सबैभन्दा उपयोगी हुनसक्छ: “बुद्धलाई पनि सबै मानिसले मन पराएका थिएनन्। मलाई मात्र किन मन पराऊन्?” अथवा, “जीससलाई त मानिसहरूले शूलीमा चढाएका थिए भने हामीले आफ्ना लागि के अपेक्षा गर्नु!” के सबैले हामीलाई माया गर्नैपर्छ भन्ने छ र? यस्तो दृष्टिकोण त्यो बेला उपयोगी हुन्छ जुन बेला हामीलाई कसैले माया नगरेको जस्तो र अरुले आफूप्रति राम्रो व्यवहार नगरेको जस्तो लागिरहेको हुन्छ। यी पंक्तिहरू हामीलाई जीवनमा हावादारी अपेक्षाहरू र काल्पनिक प्रक्षेपणहरूबाट बच्न व्यावहारिक रूपमा सहयोगी हुन सक्छन्। हामीलाई लाग्न सक्छ कि “हामी सधैं सही नै हुन्छौं र सबैले हामीले भनेको कुरा सुन्नुपर्छ।” तर सबैले हामीले भनेजस्तै गर्नुपर्छ भन्ने हुँदैन।
याद राखौं, हामी यहाँ के यथार्थ हो र के होइन भन्ने कुरामा फरक छुट्याउन खोजिरहेका छौं। हाम्रो उद्देश्य आफूले पहिलाभन्दा राम्रो गर्ने, आफूलाई सुधार गर्ने, चित्तलाई एकाग्र बनाउने वा त्यस्तै अरु केही हुन सक्छ। अवश्य पनि, हामी पहिलाभन्दा राम्रो गर्न सक्छौं। त्यस हिसाबले यो एक यथार्थपरक अपेक्षा हो। तर जब हामी यसरी सोच्छौं – “म तिम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण मानिस हुनुपर्छ। तिमी मेरो पेवा जस्तो मेरा लागि जहिले पनि उपलब्ध हुनुपर्छ,” त्यो चाहिँ एक अस्वाभाविक अपेक्षा हुन्छ। हाम्रो पार्टनर जब कामबाट घर फर्कन्छ, उसको जीवनमा दिनभरीमा धेरैथोक भैसकेको हुन सक्छ। उनीहरू पक्कै पनि हावाबाट उत्पत्ति भएका होइनन्। त्यसैले उनीहरू हामीले सोचेजस्तै रूपमा हाम्रो पेवा हुनुपर्छ भन्ने अपेक्षा हावादारी हो, होइन त?
जब हामी यस्तो हावादारी अपेक्षा राख्छौं, त्यतिबेला एक क्षण अडिएर सोचौं। यस्तै कति अपेक्षाहरू हामीले राखेका छौं? के हामीलाई ती सबैको जानकारी छ? तिनीहरू हानिकारक छन् र हामीलाई चोट पुर्याउन सक्छन् भन्ने कुरा हामीलाई थाहा छ? तिनीहरूले कसरी हामीलाई भावनात्मक पीडा दिन सक्छन् भन्ने कुराको हामीलाई हेक्का छ? दलाई लामाको भनाईमा यस्ता अपेक्षाहरू हाम्रा विपत्तिका आन्तरिक कारकहरू हुन्।
पश्चिमी दुनियाँका धेरै मानिसहरू त्यहाँका फैसला सुनाइहाल्ने शैलीका दर्शनहरूबाट प्रभावित छन्। आफू काम नलाग्ने छु भन्ने सोच्नु सबैभन्दा ठूलो समस्याको जड हो। यो एकदमै अहितकर सोच हो। हाम्रा लागि यस्तो फैसला गरिदिने कोही छैन, यो कुरा जान्नु आवश्यक छ। त्यसैले हामी आफैंले पनि आफ्नाबारे यस्तो फैसला गर्नु आवश्यक छैन। हामीमा केही भ्रान्तिहरू होलान्, तर त्यसको अर्थ हामी अपूर्ण वा खराब छौं भन्ने होइन। यो ज्यादै आत्म–विनाशकारी प्रक्षेपण हो।
त्यसैले माथि उल्लेख गरिएका दुई सत्यका दृष्टिले फरक छुट्याउन सक्नुपर्छ। हामीलाई जे सत्य लाग्छ त्यो वास्तवमा असत्य हुन्छ। हामी काम नलाग्ने पत्रु हौं भन्ने सोच यसको एक उदाहरण हो। यस्तो कुरा पत्याउनुपर्ने कुनै कारण छैन। त्यसैले यसलाई विश्वास गर्नुको साटो कार्य-कारणको कोणबाट जीवन जीउनु राम्रो हुन्छ। हामी जे कुरा हासिल गर्न चाहन्छौं, त्यसैका सहयोगी कारणहरूको निर्माण गर्नुपर्छ। त्यसो गर्नु सम्भव छ भने गर्ने, होइन भने यथार्थलाई स्वीकार गरेर बस्ने। उदाहरणका लागि हामीलाई एक राम्रो जागिर चाहिएको छ। त्यसका लागि हामीले खोजी गर्नुपर्छ। यो आकाशबाट खसेर पाइने कुरा होइन। अथवा कसैले हामीलाई टक्र्याउन ल्याउने कुरा पनि होइन। यहाँ कार्य र कारणको नियम लागू हुन्छ। हामी सम्भावनाहरूप्रति खुला रहनुपर्छ र तिनको उपयोग गर्नुपर्छ। कुनै परिस्थितिमा अल्झिएर बस्ने र त्यो त साह्रै खराब भयो, म अब कहिल्यै अगाडि बढ्न सक्दिन, अब त केही हुन सक्दैन – यस्तो सोच राख्नु एकदमै नकारात्मक काम हो। माथिको प्रार्थनामा भनिएको छ – कुनै नकारात्मक काम (पाप कर्म) कदापि नगर। यो काम वा बोलीका सन्दर्भमा मात्र होइन, सोच्ने सन्दर्भमा पनि हो। यस्तो सोचले हामी आफैंप्रति र अरुप्रति कस्तो धारणा राख्छौं भन्ने कुरा दर्शाउँछ।
चार आर्यसत्य
काल्पनिक प्रक्षेपण र यथार्थबीच फरक छुट्याउने यो विधिले हाम्रो जीवनमा चार आर्यसत्यको उपयोग कसरी गर्ने पनि सिकाउँछ। परम पूजनीय दलाई लामा हामीलाई जहिले पनि दुई सत्य (सत्यद्वय) बाट चार आर्यसत्यतर्फ जानुपर्ने कुरा बताउनुहुन्छ। हामीले यो बुझ्नुपर्छ कि हाम्रा समस्याहरू अर्थात् पहिलो सत्य (दुःख सत्य) कारणहरूले गर्दा उत्पन्न हुने हो। अर्थात् दोस्रो सत्य (समुदय सत्य) अनुसार यसको उत्पत्ति हुने हो। हामी कतिपय काल्पनिक प्रक्षेपण गर्छौं, र आफ्नो अज्ञान वा बेहोशीका कारण यी प्रक्षेपणहरू यथार्थसँग मेल खाँदैनन् भनी जान्दैनौं। हामी यो अवस्थाको अन्त्य – तेस्रो आर्यसत्य (निरोधसत्य) – चाहन्छौं भने यथार्थलाई सहीरूपमा जान्नुपर्छ – चौथो आर्यसत्य (मार्ग सत्य) – अर्थात् आफ्नो कोरा कल्पनाको बेलुनलाई फुटाउनुपर्छ।
यसलाई आफ्नो जीवनमा उतार्नका लागि हामी बौद्ध धर्मावलम्बी नै हुनुपर्छ भन्ने छैन। दलाई लामाले भन्नुभए जस्तै यो एक सार्वभौमिक पद्धति हो र यसलाई चार आर्यसत्य पनि भनिरहनु पर्दैन। यसलाई हामीले जे नाम दिए पनि हुन्छ। त्रिरत्न भन्ने नाम नदिए पनि यसले हामीलाई त्रिरत्नतिरै डोहोर्याउँछ। हामी राम्रोसँग बुझ्छौं कि दुःखका कारणहरूलाई हटायौं भने दुःख पनि हराउनेछन्। दुःख र यसका कारणहरू सबै निवारण भैसकेको अवस्था र त्यो अवस्थामा पुर्याउने बोध नै धर्म रत्न हो। यो नै तेस्रो र चौथो सत्य हो। यो अवस्था र बोध पूर्णरूपमा हासिल गरिसकेका सत्वहरू बुद्ध हुन्, र आंशिक रूपमा हासिल गरेकाहरू संघ हुन्।
यस प्रकारले हामी सत्यद्वय, चार आर्यसत्य र त्रिरत्नलाई जीवनमा उतार्न सक्छौं र त्यसका लागि हामी बौद्धमार्गी भैरहनु पर्दैन। यदि भविष्यका जन्महरूको पनि सुधार गर्ने लक्ष्य राखियो भने चाहिँ बौद्धमार्गी भइन्छ। बौद्धमार्गी हुनु र नहुनुबीचको फरक छुट्याउने यही लक्ष्यले हो। तर यो कोणबाट अभ्यास गर्नका लागि पूर्व र पश्चात् जन्महरूका बारेमा विश्वास गर्नुपर्ने हुन्छ। परम पूजनीय दलाई लामाले उल्लेख गर्नुभएजस्तै तिब्बतमा अतीशको पालामा भित्रिएको शास्त्रीय सूत्र पद्धति अर्थात् लाम–रिमका अनुसार बुद्धधर्म अपनाउने सन्दर्भमा मानिसमा तीन तहका प्रेरणा हुन्छन्। ती हुन्ः पश्चात् (भविष्य) का जन्म सुधार्ने, अनियन्त्रित रूपमा हुने पुनर्जन्महरूबाट मुक्ति पाउने र अरु सबैलाई पनि भविष्यका जन्महरूबाट मुक्ति दिलाउन सहयोग गर्ने क्षमतासहितको बुद्धत्त्व प्राप्त गर्ने। धर्मसाधनाको यो संरचना पूर्व र पश्चात् जन्ममा आधारित हुन्छ। चित्तलाई धर्मतर्फ मोड्ने चार चिन्तनहरूको आधार पनि यही हो – अर्थात् पुनर्जन्म नै हो। यो सम्पूर्ण मार्ग पुनर्जन्मको मान्यतामा आधारित छ।
पश्चिमी जगतका लागि उपयुक्त सरलीकृत प्रक्रियामा सत्यद्वय, चार आर्यसत्य, र त्रिरत्नहरूबाट अभ्यासको शुरुवात गर्दा राम्रो हुन्छ। यसपश्चात् हामी कार्य-कारणको सम्बन्धमा चर्चा गर्न सक्छौं। तर जीवन–जगतको एक निश्चित शुरुवात बिन्दु छ भन्ने मान्यता राख्दा कार्य-कारणको चर्चा अर्थहीन हुन पुग्छ। कार्य र कारणको चर्चाले हामीलाई अनादि (निश्चित शुरुवात बिन्दु नभएको) चित्ततर्फ लैजान्छ। अनादि चित्त बुझियो भने पुनर्जन्म पनि बुझिन्छ। योसँगै हामी सच्चा मनले आफ्ना भविष्यका जन्महरूमा पनि सुधार ल्याउने र संसारबाट, यो बारम्बारको अनियन्त्रित पुनर्जन्महरूको चक्करबाट, मुक्ति पाउने आकांक्षा राख्छौं। लाम–रिमको क्रमिक मार्गलाई हामीले पुनर्जन्मलाई सामान्य रूपमा स्वीकार गर्ने स्तरमा मात्र अपनायौं भने हाम्रो अभ्यास त्यत्ति सशक्त हुँदैन। यो स्तरको अभ्यास अर्थहीन छ भन्न खोजेको होइन, तर यदि परम्परागत तिब्बती साधकहरूले जस्तै पुनर्जन्ममा पूर्ण आत्मविश्वासका साथ शुरु गरियो भने अभ्यास बढी सशक्त हुनेछ।
सत्यद्वय सहितको अभ्यासको यो ढाँचाअनुसार हामी बौद्ध शिक्षालाई आफ्नो दैनिक जीवनमा उतार्न सक्छौं। यसको शुरुवात काल्पनिक प्रक्षेपण र यथार्थबीचको भिन्नता छुट्याउने कामसँगै हुन्छ। हामी के कुरा प्रक्षेपित गर्दैछौं र त्यो प्रक्षेपण कसरी हाम्रो मिथ्या दृष्टिकोणमा आधारित हुन्छ भन्ने कुरा हामी बुझ्छौं। यो सबै कुरा हामी पक्षपातरहित भएर, आफैं फैसलाकर्ता हुनबाट बच्दै गर्छौं। उदाहरणका लागि हामी भन्न सक्छौं – “मैले सोचेको थिएँ तिमीले मलाई यसमा सहयोग गर्नेछौ, तर गरेनौ।” अथवा “तिमीले यो काम राम्रोसँग गर्छौ भन्ने सोचेको थिएँ तर गरेनौ।” हामीले कसैलाई कुनै काम सुम्पेका हुन्छौं। उसले त्यो काम राम्रोसँग गर्नेछ भन्ने हाम्रो अपेक्षा हुन्छ, तर उसले गर्दैन। तब के गर्ने? हामीले त्यो काम आफैं गर्नुपर्छ। काम जिम्मा दिएको मानिससँग रिसाएर बस्नुमा फाइदा छ? पक्कै पनि छैन। बरु उसलाई भविष्यमा त्यस्तो काम नदिऔं वा काम गर्ने तरीका सिकाऔं। यथार्थको आधारमा व्यवहार गरौं। उक्त मानिसले कुनै मार्गदर्शनबिना उत्कृष्ट रूपमा काम सम्पन्न गर्ला भन्ने हाम्रो अपेक्षा हुन्छ, जुन पूरा हुँदैन र हामी दुःखी हुन्छौं। जस्तो रूपमा भएपनि उसले काम सम्पन्न चाहिँ गर्ला भन्ने आशा राखेको भए बेग्लै कुरा हुनेथियो। धेरै अपेक्षा नराखेको भए निराशा पनि हुने थिएन।
नकारात्मक आवेग (क्लेश)
कुनै नकारात्मक काम (पाप कर्म) कदापि नगर भन्ने पंक्तिलाई जीवनमा उतार्नका लागि हामी कतिबेला नकारात्मक आवेग (क्लेश) को वशमा परी काम गर्छौं, बोल्छौं र सोच्छौं भन्ने जान्न जरुरी छ। क्लेशको अर्थ चित्तको त्यस्तो अवस्था हो जो यदि उत्पन्न भयो भने हामी आफ्नो शान्ति र आत्मसंयम गुमाउँछौं। जस्तै, रिस उत्पन्न भएको अवस्थामा हाम्रो मनमा शान्ति हुँदैन र हामी त्यस्ता कुरा भन्छौं वा गर्छौं जसका कारण हामीलाई भविष्यमा पछुतो हुन्छ। लोभ उत्पन्न भयो अथवा कसैप्रति आसक्ति जाग्यो भने पनि हाम्रो मन शान्त हुँदैन र त्यतिबेला त्यस्ता कुरा बोल्छौं जो पछि सम्झिँदा आफैँलाई हास्यास्पद लाग्नेछ। प्रायः त्यस्तो व्यवहारले अर्को मानिस हामीबाट टाढिनेछ किनकि उसलाई हामीले रोब जमाएको वा बढी लिप्सिएको मन पर्दैन।
नकारात्मक आवेगको अधीनमा परी व्यवहार गर्न लाग्यौं भने हामी सचेत भैहाल्नुपर्छ। आफ्नो उर्जाक्षेत्रप्रति हामी अलि सचेत छौं भने कुनै नकारात्मक भाव वा आसक्ति उत्पन्न हुन लाग्दा आफू बेचैन भएको कुरा थाहा पाउन सक्छौं। अज्ञानका कारणले अथवा होशमा नभएका कारणले यस्ता अशान्तकारी र विचलनकारी आवेगहरू उत्पन्न हुन्छन्। त्योबेला हामी हेतु र प्रत्ययबारे पनि अनभिज्ञ हुन्छौं। कुनै पनि कुरा हेतु र प्रत्ययहरूका कारण उत्पन्न हुन्छ। हाम्रा काल्पनिक प्रक्षेपणहरू यथार्थसँग मेल खाँदैनन्। हामी मूर्ख त होइनौं, तर बेहोशीमा भएकोले यो कुरा थाहा पाउँदैनौं।
सातसूत्रीय मतिशोधनमा स्पष्टसँग औंल्याइएको छः
सबै दोष केवल एउटै कुरालाई दिन मिल्छ, त्यो हो, आत्म – पोषण।
हामी सधैं सबैथोक आफ्नो सुविधाअनुसार र आफूले सोचेअनुसार मात्र होस् भन्ने चाहन्छौं। यो “मै मात्र हुँ” भन्ने प्रवृत्तिको द्योतक हो, जसले भन्छः “मैले जसरी कल्पना गरेको छु, र जस्तो अपेक्षा राखेको छु, सबैथोक त्यसैअनुरूप चल्नुपर्छ।” यो प्रवृत्ति नै हाम्रो समस्याको जड हो, र यसलाई दोष दिनु उचित हो। थप उदाहरण हेरौं – “यो रेस्टुराँ त साह्रै राम्रो होला भन्ने मैले सोचेको छु।” “तिमी यसप्रकारले मसँग व्यवहार गर भन्ने मेरो चाहना छ।” यो सबै सोच “म, म, म” भन्ने प्रवृत्तिकै उपज हो। हामी “म” को बारेमा मात्र सोच्छौं “तिमी” को बारेमा सोच्दैनौं। अरुले धेरै कठिनाइको सामना गर्नु परिरहेको होला वा उनीहरू कुनै कुरामा व्यस्त होलान् भन्ने हामी सोच्दैनौं। हामीलाई त बस् आफ्नो मात्र मतलब छ किनकि हामी “मेरो” मात्र ख्याल गरिरहेका हुन्छौं। यो प्रवृत्तिप्रति सचेत रहने र त्यसमा सुधार ल्याई आफ्नो जीवनमा उतार्ने हाम्रो प्रयास रहन्छ। बौद्ध दृष्टिले जीवन जीउने हो भने सबै समस्याको दोष “आफू” लाई पोषण गर्ने यही प्रवृत्तिलाई दिन मिल्छ। यो प्रवृत्तिले गर्दा हामी स्वार्थी र आत्मकेन्द्रित हुन्छौं। तर बौद्ध दृष्टि लिने भनेको हामीले आफ्ना आवश्यकताहरूलाई पूरै बेवास्ता गर्ने भनेको होइन, बरु आफ्नो आवश्यतालाई सर्वोपरी ठान्ने र अरुको आवश्यकताको कुनै अर्थ छैन भन्ने सोच मात्र त्याग्ने हो। यो बुद्धधर्मको एक आधारभूत दृष्टिकोण हो।
सकारात्मक काम (कुशल कर्म) उत्कृष्ट तवरले गर – यो पंक्तिले रिस, लोभ वा बाध्यताको वशमा नपरी समझदारीपूर्वक काम गर भन्छ। सधैं अरुको स्वीकृति चाहिने वा अरुले आफ्नो ख्याल गरिरहनुपर्ने खालको मानिस हामी हुन चाहँदैनौं। यस्तो मनोवृत्तिको अधीनमा पर्यौं भने हामी सबैका लागि समस्याको कारण बन्छौं। हामी अरुबाट अस्वाभाविक आश गर्न थाल्छौं र परिणामस्वरूप निराश बन्न पुग्छौं। सकारात्मक तरीकाले काम गर्नु भनेको यस्तो प्रवृत्तिबाट मुक्त भएर काम गर्नु हो। तर यसरी काम गर्दैमा हामी ती सबै नकारात्मक आवेग अर्थात् क्लेशहरूबाट पूर्णरूपमा मुक्त भैसक्यौं, तिनको पूर्ण निवारण गरिसक्यौं भन्ने होइन। यसको अर्थ यतिमात्र हो कि हामी तिनको तीब्र प्रभावबाट मुक्त भई काम गर्छौं।
जीवन नै साधनाभूमि हो
हामी अबुझजस्तो भएर अरुका गुणहरूप्रति आँखा चिम्लँदैनौं। जसरी हाम्रा भावनाहरू छन्, त्यसैगरी अरुका पनि हुन्छन्, यो कुराको हेक्का राख्नु जरुरी छ। जसरी हामीलाई अरुले उपेक्षा वा अस्वीकार गरेको मन पर्दैन, त्यसरी नै अरुलाई पनि उपेक्षा र अस्वीकार गरेको मन पर्दैन। यो बोधलाई हामीले आफ्नो जीवनमा उतार्नुपर्छ। यसका लागि हामीले प्रार्थनाको तेस्रो पंक्तिमा भनेजस्तै आफ्नो चित्तलाई पूर्णतः आफ्नो अधीनमा राख्नु आवश्यक छ।
हामीले आफ्नो जीवनलाई नै साधनाको भूमिका रूपमा लिन सक्छौं। खासमा साधनाको मूलमर्म नै यही हो। साधना भनेको सुन्दर वातावरणमा मैनबत्तीको उज्यालोमा धुप बालेर चुपचापसँग ध्यानको चकटीमा बस्नु मात्र होइन।
म एकपटक एक बौद्ध केन्द्र पुगेको थिएँ जहाँ मेरो एक शिष्यले शिक्षा दिँदै थिए। एक जना आगन्तुकले दुइवर्षे बालक लिएर आएका थिए। शिक्षण चलिरहेको बेला त्यो बालक ध्यानकक्षमा यताउता दौडिरहेको थियो। दुइवर्षे बालकबाट त्योभन्दा धेरै के अपेक्षा गर्नु? उ पक्कै पनि डेढ घण्टासम्म एक ठाउँमा हलचल नगरी त बस्दैन! सत्र सञ्चालन गर्दै गरेका शिक्षकले भने – बालकलाई लिएर आउनु एकदमै उचित थियो, बालक यताउता दौडिनाले र हल्ला गर्नाले ध्यानमा एकाग्रता कायम गर्ने राम्रो अभ्यास भयो। यही हो असली अभ्यासको झलक। के हामी त्यो अवस्थामा विचलित र व्याकुल नभई ध्यान गर्न सक्छौं? यहाँनेर के विचार गर्नुपर्छ भने ध्यानमा बस्ने भन्दैमा बालकको अभिभावकले उसको सुरक्षालाई बेवास्ता गरेर उसलाई चोट लागेपनि लागोस् भनेर छाड्ने होइन। हाम्रो अभिप्राय के मात्र हो भने बाहिर ठूलो होहल्ला भएको बेलामा अथवा ट्राफिक जाममा परेको बेलामा पनि ध्यान गर्न सकियोस्।
यो जीवन हो, र जीवन नै साधनाको भूमि हो। यहीँ बसेर हामीले अज्ञान, बेहोशी र क्लेशहरूलाई पराजित गर्नुछ। बोधिसत्त्व मण्यावलिमा अतीशले प्रष्टसँग भन्नुभएको छः
धेरै मानिसका बीच हुँदा म आफ्नो वाणीलाई सन्तुलित राख्न सकुँ। एक्लै हुँदा म आफ्नो मनलाई सन्तुलित राख्न सकुँ।
यो तरीकाको अभ्यास एकदमै हितकर छ। अरूसँग भएका बेला हामी कसरी बोल्छौं, त्यसमा ध्यान दिऊँ। यसमा शब्द मात्र होइन, बोलीको लवज, त्यसले व्यक्त गर्ने भाव, र बोली पछाडिको हाम्रो मनोभावमा पनि ध्यान दिनु जरुरी छ। यदि हामी रिसाहा वा घमण्डी पाराले बोलिरहेका छौं भने त्यसप्रति सचेत भएर आफ्नो बोल्ने शैलीलाई मन्द गरिहाल्नु पर्छ। यही तरीकाले एक्लै भएका बेला मनलाई पनि सन्तुलित राख्नुपर्छ। मनले कसरी सोचिरहेको छ, त्यसमा ध्यान दिऊँ। मनको पुरानो बानीअनुसार “अहो विचरा म, कसैले पनि मेरो कदर गर्दैन” – यो खाले विचारको शृङ्खला चलिरहेको छ भने त्यसप्रति सचेत हुनुपर्छ।
यसरी हामी सातसूत्रीय मतिशोधनको त्यो बुँदामा आइपुग्छौं जहाँ तीन कठिन कामको बारेमा बताइएको छ ः (नकारात्मक कुराको) विपरीत कुरालाई सम्झिने (आफ्नो स्मृतिमा ल्याउने), त्यसलाई व्यवहारमा उतार्ने, र त्यसलाई कायम राख्न प्रयत्न गर्ने। यसो गर्नु वास्तवमा एकदमै कठिन छ तर यी तीन कामलाई आफ्नो होशमा राख्नु धेरै उपयोगी हुन्छ। हामीले होश (माइन्डफुलनेस) को कुरा धेरै सुनेका छौं। तर यहाँ होशको अर्थ हाल पश्चिमी जगतले बुझ्ने जस्तो वर्तमान क्षणमा बाँच्ने मात्र होइन। होशको अर्थ स्मृतिमा रहनु हो। हामीले यो कुरालाई स्मृतिमा राख्नुपर्छ कि जुन कल्पनाको हामी प्रक्षेपण गर्दैछौं, त्यो सब फोहोरको डुंगुरजस्तो मात्र हो। यो कुरालाई हामीले व्यवहारमा उतार्नुपर्छ र यो बोधलाई कायम राख्नुपर्छ। दैनिक जीवनमा गर्नुपर्ने असली अभ्यास यही हो।
वैचारिक र विचारातीत अवस्था
बौद्ध अभ्यासका क्रममा बारम्बार यो शिक्षा दिइन्छ कि हामी विचारातीत अवस्थामा रहनुपर्छ, वैचारिक स्तरमा मात्र रहनु हुँदैन। यसको अर्थ के हो? यसका शास्त्रीय परिभाषा र विवेचनाहरू छन्। तर व्यावहारिक रूपमा हाम्रो उद्देश्य के हो भने यो कुरा सहज तरीकाले जीवनमा उतार्नुपर्छ, यसको विचारमा मात्र अल्झेर बस्नुहुँदैन। फ्लाइट वा ट्रेन छुटेको अवस्थामा हामीले अनित्यताको चिन्तन गरेर अथवा कसरी सबैथोक एक आपसमा हेतु–प्रत्ययको सम्बन्धले जोडिएका छन् भन्ने सोचेर बस्ने होइन। त्यस्तै क्रोध गरेर केही फाइदा हुने छैन भन्दै त्यसैको चिन्तन गरेर बस्ने पनि होइन। तत्कालको प्रतिक्रियास्वरुप यस्तो चिन्तन गर्नुपर्ने हुनसक्छ, तर त्यो स्वाभाविक रूपमा आफसेआफ आउनुपर्छ। यो हाम्रो स्वभावमै होस्, यसबारे हामीले चिन्तन गरिराख्नु नपरोस्। हामी उग्र प्रतिक्रिया गर्नबाट स्वाभाविक रूपमा बच्छौं, र आवश्यक विकल्पतिर गैहाल्छौं।
यो अवस्थामा रहनु हाम्रो लक्ष्य हो। यो कुनै रहस्यमयी अवस्था होइन। यो पूर्ण निर्वैचारिक वा विचारातीत अवस्था त नहोला, तर गैर–शास्त्रीय कोणबाट हेर्दा हाम्रो अभ्यासको लक्ष्य व्यावहारिक स्तरमा यही अवस्था हासिल गर्ने हो। हामी सबै शिक्षाहरूलाई आफ्नो दैनिक जीवनमा उतार्नका लागि अभ्यासरत छौं, ताकि आफ्नो वा अरुका लागि थप दुःखहरूको सिर्जना नहोस्। बौद्ध अभ्यासको मूल तात्पर्य यही हो।
प्रश्नहरू
अभ्यास योजनामा कहिले लचिलो हुने
म आफूलाई लचिलो बनाउन र यथार्थको सामना गर्न चाहन्छु। तर यो सधैँभरी सम्भव हुँदैन। यथार्थको बोध गर्ने सिलसिलामा मलाई एउटा समस्या पर्छ। आफ्नो योजनालाई कतिबेला पकडेर बसिरहने र कतिबेला छाडिदिने, के बदल्नु पर्छ र के पर्दैन, त्यो म थाहा पाउँदिन। उदाहरणका लागि, मेरो ट्रेन छुट्यो। म दौडिएँ र एउटा ट्याक्सी पकडेँ। ट्रेनलाई अर्को स्टेशनमा भेट्टाएँ। यस्तै गरेर आफ्नो योजनाको पछाडि कहिलेसम्म लागिपर्ने, त्यसको निर्णय कसरी गरौं?
आफ्नो योजनालाई कहिलेसम्म पकडेर राख्ने र कहिले छाडिदिने, यसलाई धेरै तत्त्वहरूले प्रभावित गर्छन्। कुनै वैकल्पिक उपाय छ कि, अथवा हामीले केही कुरालाई परिवर्तन गर्नुपर्ने छ, त्यसमा हामीले विचार गर्नुपर्छ। तपाईं ट्याक्सी पकडेर अर्को स्टेशनमा जानु र त्यहाँबाट ट्रेन चढ्नु यसैको एक उदाहरण हो। यदि त्यहाँ ट्याक्सी नभएको भए तपाईंले आफ्नो योजना त्याग्नुपर्ने हुन्थ्यो। यो व्यावहारिक स्तरको एक उदाहरण भयो। योभन्दा अर्को स्तरको उदाहरण लिऊँ – मानौं तपाईंले कुनै स्कूलमा भर्नाका लागि आवेदन दिनुभएको थियो तर तपाईं छानिनु भएन। तपाईं प्रयास छाडिदिनुहुन्छ कि अर्को वर्ष पुनः प्रयास गर्नुहुन्छ? यसमा चाहिँ अलि सोचविचार गर्नुपर्छ। तपाईंले अरुतिर गरेको आवेदन पनि अस्वीकृत भयो भने अर्को वर्ष पुनः प्रयास गर्नुमा केही खराबी हुँदैन। तर परिस्थितिको यथार्थपरक मूल्यांकन गर्नु आवश्यक हुन्छ। कतै हामीले आफ्नो क्षमता र योग्यताको अतिशयोक्तिपूर्ण मूल्यांकन त गरेका छैनौं? यस्तो बेला अरु मानिसको राय पनि लिँदा राम्रो हुन्छ।
तर फरक फरक परिस्थितिमा फरक फरक विश्लेषण गर्नुपर्ने हुन्छ। सबै परिस्थितिमा ठ्याक्कै मिल्ने एउटै निश्चित समाधान हुँदैन। हाम्रो लक्ष्यको प्राप्ति के कुरामा निर्भर हुन्छ, त्यो हामीले सोच्नुपर्छ। आखिर जे चीजका पछाडि पनि हेतु र प्रत्ययहरू हुन्छन्। ती हेतु र प्रत्ययहरू जुट्लान त? अहिले नजुटे पनि भविष्यमा जुट्न सक्लान् कि? भएन भने विकल्पहरू के छन्? हामीले एकदमै बुद्धिमत्तापूर्ण ढंगले यस्ता कुराको निर्णय र आवश्यक परिवर्तन गर्नुपर्छ।
एकदमै भावनाप्रधान व्यक्तिले के गर्ने
मैले कसरी आफूलाई दुःखको जालमा घुमाइराख्दो रहेछु, त्यो जान्न पाउनु मेरा लागि एकदमै नौलो कुरा थियो। मेरा काल्पनिक प्रक्षेपणहरू तर्कसंगत छैनन्, यो कुरालाई म स्मरणमा राख्ने प्रयत्न गर्छु। तर मेरा भावनाहरूले मलाई साथ दिँदैनन् र म फेरी जालमा फँस्छु। यसरी स्मरणमा राख्न नसकेका कारण म आफूलाई हीन ठान्न थाल्छु। यसबाट कसरी बच्ने?
केले सहयोग गर्छ र के सबैभन्दा उत्तम हो भन्ने कुरा हामीलाई प्रायः थाहा हुन्छ। तर हाम्रा भावनाहरू यति बलवान हुन्छन् कि हामी केही गर्न नसक्ने जस्ता हुन्छौं। वास्तवमा यो सबैले सामान्यतया भोग्ने कुरा हो। यस्तो अवस्थामा हामीले आफ्नो निश्चयलाई दृढ बनाउनु पर्छ। म एकदमै भावुक र व्याकुल बन्न सकुँला तर म यसलाई गम्भीरतापूर्वक लिन्न, यस्तो आत्मविश्वास हामीले राख्नुपर्छ।
यसको अर्थ के हो, त्यसमा नझुक्किनु होला। हामीलाई कुनै कुराले एकदमै व्याकुल र द्रवित बनाउन सक्छ। तर त्यो पनि केही समयपश्चात हराएर जानेछ। हाम्रा मुडहरू र आवेगहरू पनि परिवर्तन हुनेछन्, हराएर जानेछन्। हामीले तिनीहरूलाई पकडेर बसिराख्नु वा आफूलाई त्यससँग आत्मसात गरिराख्नु पर्दैन। उहाहरणका लागि, हामीले यस्तो सोच राख्नु आवश्यक छैनः “म धेरै व्याकुल छु, किनकि मैले फेरी काम बिगारेँ। मैले अपेक्षाअनुरुप गर्न सकिन। म कामै नलाग्ने मान्छे हुँ।” यसरी सोच्नु भनेको हामीले आफूलाई आफ्नो मुड वा आवेगसँग आत्मसात गर्नु र तिनैमा अल्झिराख्नु हो। हामी कुनै कुरालाई ज्यादै महत्त्वपूर्ण वा विशेष भन्ठान्छौं, तर वास्तवमा त्यस्तो हुँदैन। त्यो एक क्षणिक मनस्थिति मात्र हुन्छ। त्यो हामीले साँच्चिकै खोजेको कुरा होइन, यसमा हामी विश्वस्त हुनुपर्छ। हामी विश्वस्त हुनुपर्छ कि मनको यो मुड पनि क्षणिक हो, यो चाँडै सकिनेछ। र, यसलाई हामीले जान दिनुपर्छ। अन्तर्जगतमा हामीलाई के बोध हुन्छ भने हाम्रो प्रक्षेपण काल्पनिक मात्र हो, यथार्थ होइन। हामीले चोट पाएको अनुभव गर्छौं, तर त्यो चोट पनि क्षणिक नै हुन्छ, त्यो पनि सकिनेछ। त्यो चोटलाई संसारकै ठूलो अनर्थ भयो भनेजसरी गम्भीरतापूर्वक लिँदैनौं।
परम्परागत रूपमा मनको मुडलाई आकाशमा उड्ने बादलसँग तुलना गरिन्छ, जो केही समयमा हराउँछ। हामीले मुडबाट पार पाउने तरीका भनेको त्यसरी विचार गर्नु नै हो। हाम्रा मनमा भावहरू उठ्छन् र शान्त हुन्छन्। हामीमध्ये कोही अरुभन्दा ज्यादा भावुक हुन्छौं तर त्यसका लागि हामीले आफैंप्रति पक्षपातपूर्ण दृष्टि राख्नु आवश्यक छैन। यो आत्मअन्वेषण यथार्थलाई ग्रहण गर्ने अभ्यासको एक कडी हो। हाम्रो यथार्थ के हो भने, हामी जस्तो अवस्थामा छौं, त्यस्तै अवस्थामा छौं। हामी एकदमै भावुक र चाँडै व्याकुल भैहाल्ने प्रकृत्तिका हुन सक्छौं, तर त्यसैमा अल्झिराख्नु आवश्यक छैन। यथार्थ के हो भन्ने कुराको राम्रो बोध पाउनका लागि आफ्नो अन्तर्जगतमा बढीभन्दा बढी काम गर्नुस्।
उदाहरणका लागि, कहिलेकाहीँ यस्तो हुन सक्छः “म फलानो शिविरमा सहभागी भएँ। मैले सोचेको थिएँ कि म गज्जबको एकाग्रताका साथ काम गर्नेछु। तर शिविर अवधिभर मेरो मन भागिरह्यो।” यो धेरै ठूलो कुरा होइन। हामीले शुरुमै यथार्थभन्दा टाढाको अपेक्षा राखेका थियौं। हाम्रो मन भट्किनु नै थियो, किनकि अहिले नै सबैथोक उत्कृष्ट रूपले सम्पन्न भैहाल्ने बेला भएको छैन। आफ्नो अपेक्षालाई सानो राखौं र त्यसमा इमानदारीपूर्वक काम गरौं। उदाहरणका लागि, यस्तो धारणा सहयोगी हुन्छः “म माथिल्लो अवस्था पनि हासिल गर्न सक्छु, तर त्यसका लागि आवश्यक हेतु र प्रत्ययहरू मिल्नुपर्छ। त्यसैले मैले धेरै मेहनत गर्नुछ।”
अर्को कुरा, हामी धेरै भावुक छौं भने त्यो स्वभावलाई रूपान्तरित गरेर सकारात्मक भावहरू उत्पन्न गर्नमा प्रयोग गर्न सकिन्छ। यसबाट हामी मैत्री र करुणाको प्रबल अनुभव गर्न सक्छौं। त्यसैले भावुक हुनुको सकारात्मक पक्ष पनि छ। केही मानिस धेरै तार्किक हुन्छन्, उनीहरूका लागि भावनाको अनुभव गर्नु कठिन काम हो। उनीहरूलाई मैत्री र करुणाको सच्चा अनुभव गर्न धेरै कठिन हुन्छ। तर तपाईं एकदमै भावुक भएका कारण तपाईंसँग त्यसका लागि सकारात्मक आधार पहिल्यै विद्यमान छ। त्यसलाई रूपान्तरित मात्र गर्नुछ। त्यो काम पनि तपाईंले हेतु र प्रत्ययहरूको बोध र प्रयोगबाट क्रमिक रूपमा गर्न सक्नुहुन्छ।
आफ्नो सुविधाको घेराबाहिर निस्कनुहोस्
हामी आफू साधना गर्छौं। र, साथै देख्छौं कि मानिसले समाजमा धेरै प्रकारका जिम्मेवारीहरू निर्वाह गर्नुपर्ने आवश्यकता छ। हामीले कतिबेला आफ्नो सुविधाको घेराबाहिर निस्केर यस्ता जिम्मेवारी निभाउने र भावनात्मक रूपमा चुनौतीपूर्ण काम गर्ने? यसका लागि आफू तयार भएको कसरी थाहा पाउने?
हामीले के कुरा विनाशात्मक छ र के रचनात्मक, त्यो विचार गर्नुपर्छ। उदाहरणका लागि, आफ्नो सुविधाको घेराबाहिर निस्केर बारमा जाने र जँड्याहा साथीहरूसँग समय बिताउने काम पक्कै पनि रचनात्मक होइन। हामी यो तर्क दिन सक्छौं कि बोधिसत्त्व नर्कमा पनि जान सक्छ र त्यहाँका जीवहरूलाई सहयोग गर्न सक्छ। तर हामीजस्ता सामान्यजनका लागि त्यो अलि बढी नै होला। बरु बाटोमा भेटिएका घरवारविहीन मानिससँग केही मीठो शब्द बोल्न सकिएला। आफ्नो सुविधाको घेराबाहिर निस्केर यस्तो केही रचनात्मक काम गर्नु चाहिँ बेग्लै कुरा हो।
प्रथमतः हामीले यो विचार गर्नुपर्छ कि आफ्नो सुविधाको घेराबाहिर निस्केर गर्ने काम हाम्रो लक्ष्य प्राप्तिको दिशामा कत्तिको उपयोगी छ। केही युवायुवती क्लबमा गएर टेक्नो संगीतमा नाच्दै छर्लङ्ग रात कटाउन सक्छन्। के आफ्नो सुविधाको घेराबाहिर निस्केर यस्तो काम गर्दा हामीलाई केही लाभ होला? यो आफ्नो सुविधाको घेराबाहिर निस्कने काम हुन सक्ला, तर यसमा केही पनि सकारात्मक पक्ष छैन किनकि यसले हामीलाई आफ्ना नकारात्मक पक्षपाती दृष्टिकोणहरूबाट मुक्त हुन सहयोग गर्दैन। रातभरी नाच्ने वा चर्को संगीतबाट कानलाई बहिरो बनाउने काम नगरी पनि हामी आफ्नो सुधारको काम गर्न सक्छौं। तपाईं शरणार्थीहरूलाई सहयोग गर्न सक्नुहुन्छ, जसका लागि आफ्नो सुविधाको घेराबाहिर निस्कनुपर्छ। उनीहरूलाई सहयोग पुग्ने काम गर्नु सकारात्मक र रचनात्मक कदम हो। यसले हाम्रो दान पारमिताको विकासमा पनि सहयोग गर्छ।
बर्लिनमा मेरो एक सानो साप्ताहिक छलफल कक्षा छ। त्यहाँ हामी सबै साथीजस्तौ छौं र कक्षापछि सँगै खाना खान जान्छौं। एकपटक मैले एउटा प्रश्न राखेँ – धर्मले उनीहरूको दैनिक जीवनमा कसरी सहयोग गरेको छ? मेरा एक विद्यार्थीले भने – उनी आफ्नो सुविधाको घेराबाहिर निस्कने प्रयास गर्दैछन्। जो अलि राम्रो देखिन्छ उसप्रति बढी ध्यान दिने र उसँग नजिकिने उनको स्वभाव रहेछ। उनले सुन्दर मानिसलाई बढी महत्त्वपूर्ण ठान्दा रहेछन्, यो उनका लागि सुविधाको घेरा थियो। त्यसैले उनी आफ्नो कार्यालयमा एकजना त्यस्तो व्यक्तिलाई साथी बनाउने प्रयत्न गर्दैरहेछन् जो अरुभन्दा भद्दा मोटो थियो, जसको अनुहार कुनै कारणले नराम्रो देखिन्थ्यो, र जो आकर्षक थिएन। उनको प्रयास रहेछ, त्यो व्यक्तिलाई पनि एक त्यस्तो मानवको रूपमा व्यवहार गर्ने जो खुशी हुन चाहन्छ, अरुले आफूलाई मन पराइदिऊन् भन्ने चाहन्छ, र अरुले आफूलाई बेवास्ता वा उपेक्षा गरेको मन पराउँदैन। त्यस्तो मानिस एक लुकेको हिराजस्तो हुन सक्छ, एक महान साथी बन्न सक्छ। उनले उक्त व्यक्तिलाई बेवास्ता नगर्ने निर्णय गरेछन्। आफ्नो सुविधाको घेराबाहिर जाने सन्दर्भमा यो एक सकारात्मक उदाहरण हो। यस्तो काम हामीले गर्न सक्छौं। आफ्नो सामान्य सीमाबाहिरको कुनै काम गर्नु छ भने त्यसलाई विस्तारैसँग गर्नुपर्छ। त्यो कामलाई आफ्नो सामर्थ्य र पहुँच पुग्ने साना साना खण्डमा विभाजित गरेर क्रमैसँग गर्नुहोस्।
मेरा एक अर्को मित्र चाहिँ अतिमा पुगेछन्। उनी सधैं आफ्नो सुविधाको घेराबाहिर जाने प्रयत्नमा हुन्थे। त्यसैले उनी पार्कमा लागूपदार्थ बेच्दै गरेका केही फटाहाहरूसँग संगत गर्न गएछन्। उनलाई त्यस्ता मानिसको संगत मन पर्दैन थियो, त्यसैले त्यही काम गर्न थालेछन्। तर मैले त्यो काम गर्दा केही लाभ हुने देखिन। त्यस्तो काम आफ्नो पौरुषत्वको धाक देखाउनेजस्तो मात्र हो।
आफ्नो सुविधाको घेराबाहिर कसरी जाने? सुविधाको घेराबाहिर जानु भनेको वास्तवमा के हो? यो वास्तवमा एक रोचक विषय हुनसक्छ। हामी जहाँ आफूलाई सुरक्षित महसुस गर्छौं, त्यो हाम्रो सुविधाको क्षेत्र हो। तर कतै यो पनि काल्पनिक प्रक्षेपण त होइन? सुविधाको घेरा भनेको खासमा के हो? त्यो हामीले आफैभित्र अन्वेषण गरेर हेर्नुपर्छ। के हामी जुनसुकै बेला जोकोही मानिससँग पनि सहजताको अनुभव गर्न सक्छौं?
हामी फेरी आत्म–पोषणको बानी नै समस्याको जड हो भन्ने कुरालाई स्मरण गरेर हेरौं, किनकि यो कुराको चुरो त्यहीँ छ। यसैबाट हामीले थाहा पाउनेछौं कि कुनै मानिससँग वा कुनै स्थितिमा हामीले सहजता अनुभव गर्न नसक्नुको कारण यही “म, म, म” भन्ने भाव नै हो। हामीलाई असहज लाग्छ किनकि हामी सोच्छौं – “म लाई यो मन पर्दैन। म यसलाई सम्हाल्न सक्दिन।” हामी अरुका बारेमा सोच्दैनौं। त्यसैले सुविधाको घेराबाहिर जानु भनेको अरुप्रति रुचि उत्पन्न गर्नु हो। हामी सबै उस्तै मानवजाति हौं भनेर बुझ्नु हो।
सारांश
हामीले केही सामान्य सिद्धान्तहरूबारे चर्चा गर्यौ। यदि हामी ज्यादै स्वार्थी र आत्म–केन्द्रित हुनबाट बच्यौं भने बढी खुशी हुनेछौं। अरु मानिससँग भएका बेला आफ्नो मात्र कुरा नगरी उनीहरूका बारेमा पनि भित्रदेखि रुचि देखायौं र उनीहरूको जीवनका बारेमा सोध्यौं भने त्यसले अर्को मानिस त खुशी हुने नै छ, हाम्रो आफ्नै खुशी पनि बढ्नेछ। आफ्नो जीवन जीउने र अरु मानिससँगको सम्बन्ध सुधार्नेतर्फ यी केही मूलभूत र व्यावहारिक कामहरू हुन्। यसलाई निरन्तर स्मरणमा राखिराख्नु नै हामीले खोजेको माइन्डफुलनेस (स्मृति ध्यान) हो। यदि हामी स्वार्थी हुन्छौं वा आफ्नो बारेमा मात्र सोचिराख्छौं भने यो सुझावलाई मनन् गरी जीवनमा उतार्ने प्रयत्न गर्नुपर्छ। कहिलेकाहीँ अर्को मानिस व्यस्त हुन्छ र हामीबाट छुट्न खोजिरहेको हुन्छ, तर हामी उसलाई छोड्दैनौं र आफ्नै गफ सुनाइरहन्छौं। हामीलाई आफूले भन्नुपर्ने कुरा एकदमै महत्त्वपूर्ण छ भन्ने लाग्छ। तर के अर्को मानिसलाई त्यो सुन्ने इच्छा छ त? पक्कै पनि हुँदैन, तर हामी कल्पना गर्छौ कि उसलाई होला। हाम्रो जीवन यस्तै छ, र यहीँ हामीले धर्मलाई उतार्नु छ।