सम्यक व्यायाम (प्रयत्न), स्मृति र समाधि

संक्षिप्त विवरण

बुद्धधर्मका तीन साधनाअन्तर्गत अष्टाङ्गिक मार्गको अभ्यास कसरी गर्ने र तिनले हाम्रो दैनिक जीवनमा कसरी सहयोग पुर्याउँछन् भन्ने चर्चा गर्दैछौं। ती तीन साधनाहरू हुन्ः

  • शील (नैतिक आत्म–संयम)
  • समाधि (एकाग्रता)
  • प्रज्ञा (विवेकपूर्ण होश)

शीलको विकासका लागि हामी सम्यक वचन, सम्यक व्यवहार (कर्मान्त) र सम्यक आजीविकाको अभ्यास गर्छौं। यो लेखमा हामी एकाग्रताका अभ्यासहरूबारे चर्चा गर्नेछौं। यसअन्तर्गत सम्यक व्यायाम (प्रयत्न), सम्यक स्मृति र सम्यक समाधि (एकाग्रता) को अभ्यास आउँछन्।

सम्यक व्यायाम नकारात्मक विचारहरूको श्रृङ्खलाबाट मुक्ति पाउने र ध्यानका लागि सहयोगी मनको अवस्था विकसित गर्ने प्रयास हो।

सम्यक स्मृति मानसिक गमजस्तो हो जसले मनलाई निश्चित कुरामा जोडिराख्छ, त्यसबाट छुट्टिन दिँदैन।यसमा निम्न प्रकारका अभ्यास आउँछन् :

  • हाम्रो शरीर, भावना, मन र मानसिक तत्त्वहरूको वास्तविक प्रकृतिलाई नबिर्सनु, ताकि तिनले हाम्रो ध्यान भट्काउन नपाऊन्।
  • विभिन्न नैतिक मार्गदर्शनहरू, आफूले लिएका शील र प्रतिज्ञाहरूको पालना गर्न नबिर्सनु।
  • ध्यानको लागि छानिएको बस्तुलाई नबिर्सनु, त्यसबाट मनलाई नहटाउनु।

त्यसैले हामी ध्यान गर्दैछौं भने होशमा रहनुपर्छ र आफूले छानेको ध्यानको बस्तुबाट मनको स्मृति हटाउन हुँदैन। त्यस्तै, कसैसँग कुराकानी गर्दैछौं भने यो स्मृति उनीहरूमाथि नै केन्द्रित हुनुपर्छ, उनीहरूले के कुरा भन्दैछन्, त्यो राम्ररी सुन्नुपर्छ।

एकाग्रताको अर्थ चाहिँ ध्यानको वस्तुमाथि चित्तलाई टिकाइराख्ने हो। अर्थात, हामी कसैसँग कुरा गरिरहेका छौं भने त्यतिबेला हाम्रो एकाग्रता उनीहरूले के भन्दैछन्, उनीहरू कसरी प्रस्तुत भैरहेका छन्, हाउभाउ के छ, आदि कुरामा केन्द्रित हुन्छ। यसले हाम्रो मनलाई गमले टाँसेजसरी कुराकानीमा एकत्रित गरिराख्छ। हाम्रो ध्यान भट्किँदैन र अल्छी पनि लाग्दैन।

प्रयत्न

एकाग्रताको विकासका लागि अष्टाङ्गिक मार्गको यो पहिलो खुड्किलो हो। हामी ध्यान भङ्ग गर्ने र एकाग्रताका लागि अनुकूल नहुने विचार र भावनात्मक अवस्थाबाट छुटकारा पाउन प्रयत्न गर्दछौं। साथै राम्रा गुणहरू विकास गर्ने प्रयत्न गर्छौं। सामान्यतया, यदि हामी आफ्नो जीवनमा केही गर्न चाहन्छौं भने प्रयत्न गर्नु पर्छ। तर यस्तो प्रयत्न विल्कुल शून्यबाट उत्त्पत्ति हुँदैन, र यो सजिलो पनि छैन। तर यदि हामीले नैतिक आत्म–संयमका माध्यमद्वारा आफ्नो आचरण, अरूसँगको बोली र व्यवहारका सन्दर्भमा आत्मशक्तिको विकास गरेका छौं भने यसले हाम्रो मानसिक र भावनात्मक अवस्थालाई उपयुक्त प्रयत्न गर्नेतर्फ लगाउन सहयोग गर्नेछ।

असम्यक प्रयत्न

असम्यक प्रयत्न भनेको आफ्नो शक्तिलाई हानिकारक र विनाशात्मक विचारहरूको श्रृङ्खलामा लगाइराख्ने हो जसले हामीलाई विचलित गराउँछ र एकाग्रताको अभ्यासलाई असम्भव नभए पनि असजिलो बनाउँछ। विनाशात्मक विचारहरूका तीन मुख्य प्रकार हुन्छन्ः

  • लोभी चित्तले सोच्नु
  • दुर्भावनायुक्त विचार राख्नु
  • शत्रुताको भावले विकृत विचार राख्नु

लोभी चित्तले सोच्नु

लोभी चित्तको विचार भनेको त्यस्तो विचार हो, जसमा अरुको उपलब्धिप्रति ईर्ष्या या अरूले भोग्ने आमोद–प्रमोद र भौतिक सुखहरूप्रति ईर्ष्याको भावना हुन्छ। यस्तो चित्त हुँदा तपाईंले सोच्नुहुनेछ, “यो कुरा मलाई पनि चाहियो, यसलाई आफ्नो लागि कसरी पाउने होला?” यसको उत्पत्ति आसक्तिको कारणले हुन्छ। चाहे सफलता होस् वा सुन्दर जीवन साथी, नयाँ कार होस् वा त्यस्तै कुनै वस्तु – हामी यो पटक्कै सहन सक्दैनौं कि जे आफूसँग छैन, त्यो अरुसँग होस्। लोभी चित्त हुँदा यस्तै विचार निरन्तर आइरहन्छ। चित्तको यो दशाले हामीलाई एकदमै अशान्त बनाउँछ। यसबाट हाम्रो एकाग्रता असम्भव हुन जान्छ।

आफू र आफ्नो काममा सम्पूर्णता (पर्फेक्सन) खोज्ने प्रवृत्ति चित्तको यस्तै अवस्थामा पर्छ। हामी आफैंलाई कसरी माथ दिएर अझ राम्रो भन्ने ध्याउन्नमा हुन्छौं। यो करीब करीब आफूले आफैंप्रति गर्ने इर्ष्या हो।

दुर्भावनायुक्त विचार राख्नु

दुर्भावनायुक्त विचार राख्नुको मतलब कसरी अरुको हानि गर्ने भन्ने सोच्नु हो। “यदि यो मानिसले मलाई मन नपर्ने केही कुरा भन्छ या गर्छ भने म त्यसको बदला लिन्छु,” यस्तो सोच हामीमा आउँछ। अर्को पटक उक्त मानिसलाई भेटेँ भने यसो भन्छु वा गर्छु भन्ने सोच्न थाल्छौं। “जब उसले मलाई नराम्रो कुरा भन्दैथियो, मैले त्यत्तिखेरै किन कुनै जवाफ फर्काइनँ” – यस्तो सोच्न थाल्छौं।  हामी यही कुरा बारम्बार सोचिरहन्छौं, यो विचारलाई आफ्नो मनबाट बाहिर निकाल्न सक्दैनौं।

शत्रुताको भावले विकृत विचार राख्नु

यदि कसैले आफूलाई सुधार गर्ने वा अरूलाई मद्दत गर्ने प्रयास गरिरहेको छ भने, हामी सोच्न सक्छौं, “तिनीहरू मूर्ख हुन्। जे काम तिनीहरू गरिरहेका छन्, त्यो बेकार छ। कसैलाई मद्दत गर्ने प्रयास गर्नु वाहियात हो।” शत्रुताको भावले विकृत विचार राख्नु भनेको यस्तै सोच आउनु हो।

कसैलाई खेलकुद मन नपर्न सक्छ। उनीहरूलाई लाग्छ, जो टेलिभिजनमा फुटबल हेर्छन् वा मैदानमा कुनै टोलीको खेल हेर्न जान्छन्, तिनीहरू पटमूर्ख हुन्। तर खेल मन पराउनुमा कुनै हानि छैन। यसलाई मूर्ख्याईं हो वा समयको बर्बादी हो भनेर नकार्नुले मनको अवस्था एकदमै अराजक रहेको देखाउँछ।

त्यस्तै कसैले भिखारीलाई पैसा दिएर सहयोग गर्न खोजेको छ भने तपाईंको मनमा विचार आउन सक्छ, “यो त साँच्चिकै बेवकूफ मान्छे रहेछ।” हामीलाई जहिले पनि अरु मानिस बेवकूफ लाग्छन् र उनीहरूले जे काम गरे पनि त्यो निरर्थक हो भन्ने लाग्छ भने मनको त्यस्तो अराजक अवस्थामा हामी कहिल्यै पनि आफूलाई एकाग्र गर्न सक्दैनौं। यस्तो खाले विचारहरूलाई हामीले त्याग्दा नै राम्रो हुन्छ।

सम्यक व्यायाम (प्रयत्न)

सम्यक व्यायाम भनेको हामीले आफ्नो उर्जालाई हानिकारक र विनाशात्मक विचारहरूको श्रृङ्खलाबाट मोडेर कल्याणकारी गुणहरूको विकासमा लगाउने हो। यसका लागि हामी पालि भाषामा भन्ने गरिएको “चार सम्यक प्रहाण” को परिप्रेक्ष्यमा चर्चा गर्छौं। संस्कृत र तिब्बती भाषमा यसलाई “सम्यक मुक्तिका लागि चार तत्त्व” भनिन्छ। यसलाई अर्को शब्दमा हाम्रा कमीकमजोरीबाट पार पाउने प्रयत्न अर्थात “चार शुद्ध परित्याग” भन्न सकिन्छ।

  1.  प्रथमतः हामी त्यस्ता अकुशल (हानिकारक) वृत्तिहरूको उत्पत्ति रोक्न प्रयत्न गर्छौं जुन हामीभित्र अहिलेसम्म देखा परेको छैन। उदाहरणका लागि, यदि हाम्रो व्यक्तित्व चाँडै कुनै कुराको बानी वा व्यसनमा फसिहाल्ने खालको छ भने अनलाइन फिल्म स्ट्रिमिङ्गको सदस्यता लिनबाट बच्नु पर्छ अन्यथा हामी एक पछि अर्को सिरिज हेरेको हेर्यै गरेर दिन बर्बाद गर्न थाल्छौं। यो धेरै हानिकारक साबित हुनेछ। यसले हाम्रो एकाग्रता नष्ट गर्दछ।
  2. दोश्रो, हामी आफूमा पहिलेदेखि नै रहेका अकुशल वृत्तिहरूबाट आफूलाई मुक्त गराउने प्रयत्न गर्छौं। यदि हामीमा केही कुराको अम्मल छ भने त्यसको उपयोग कम गर्नु हाम्रो हितमा हुनेछ। उदाहरणका लागि, कतिपय मानिसहरू आफ्नो आईपडको अम्मली हुन्छन्। उनीहरू त्यसमा गीत नसुनी कतै हिँड्नै सक्दैनन्। मानिलिऊँ उनीहरूलाई मौनतासँग डर लाग्छ, उनीहरूलाई एक्लै हुन र केही कुरा सोच्न पनि डर लाग्छ, र लगातार संगीतमा मात्र आफूलाई भुलाइरहनु पर्छ। अवश्य पनि, तपाईं लामो दूरीमा ड्राइभ गर्दै हुनुहुन्छ भने निद्रा आउन नदिन र व्यायाम गर्दै हुनुहुन्छ भने गति कायम राख्न ठूलो स्वरमा संगीत बजाउँदा सहयोग नै पुग्छ। त्यस्तै काम गर्दा मधुरो संगीतले तपाईंलाई शान्त रहन सहयोग गर्छ। तर कसैसँग कुरा गर्दै गरेको बेला संगीत सुनिरहँदा तपाईंलाई मन एकाग्र बनाउन पक्कै सजिलो हुँदैन। यसले तपाईंलाई बाधा मात्र पुर्याउँछ।
  3. तेश्रो, हामीले आफूमा नभएका कुशल (हितकर) वृत्तिहरुको विकास गर्नु आवश्यक हुन्छ।
  4. त्यसपछि, हामीले आफूमा पहिल्यैदेखि रहेका कुशल वृत्तिहरूको संरक्षण र संवर्द्धन गर्नु पर्छ।

यी चार प्रकारका प्रयत्नलाई व्यावहारिक जीवनमा विभिन्न रोचक तरीकाले अपनाउन सकिन्छ। उदाहरणका लागि म आफ्नै कुरा गर्छु। आफ्नो वेबसाइट सञ्चालन गर्ने सिलसिलामा मेरो एउटा एकदमै खराब बानी थियो। मेरो टीममा करीब ११० मानिस काम गर्छन् जसले मलाई अनुवाद गरिएका फाइलहरू र तिनमा गरिने सम्पादनहरू इमेलमार्फत पठाउँछन्। त्यसैले मलाई प्रतिदिन धेरै इमेलहरू आउँछन्। मेरो खराब बानी के थियो भने म सबै इमेललाई एकै फोल्डरमा डाउनलोड गर्थें। यसको बदलामा फरक फरक फोल्डरमा डाउनलोड गरेको भए म र मेरा सहयोगीलाई ती फाइलहरू खोज्न र तिनमा काम गर्न सजिलो हुने थियो। यो खराब बानी थियो, र यसले कार्यक्षमता घटाउँथ्यो। हाम्रो धेरै समय ती फाइलहरू खोज्न र तिनलाई व्यवस्थित गरेर राख्नै खर्च हुन्थ्यो। यहाँनेर सम्यक प्रयत्न के होला? त्यस्तो प्रणालीको विकास गर्ने जहाँ फाइलहरू आउनासाथ तत्काल तिनको सम्बन्धित फोल्डरहरूमा राखियोस्। यहाँ सम्यक प्रयत्न भनेको हरेक चीजलाई तिनको ठीक ठाउँमा राख्ने हो, अल्छी भएर सबै चीजलाई जता मन लाग्यो त्यतै छरपस्ट पारेर राख्ने होइन।

यो उदाहरणमा हामी देख्छौं, फाइललाई जथाभावी राख्नु एक नकारात्मक गुण हो जसका कारण उत्पादकत्व घट्छ। तर हामी त्यो नकारात्मक गुणलाई छोडेर सकारात्मक गुण अर्थात उचित फाइलिङ्ग प्रणालीको विकास गर्न सक्छौं र त्यस्तो नकारात्मक अवस्थाको निरन्तरतालाई रोक्न सक्छौं। हामीले गर्ने सम्यक प्रयत्नको यो एक सरल र व्यवहारिक उदाहरण हो।

समाधि (एकाग्रता) का पाँच बाधाहरूबाट मुक्ति

सम्यक व्यायाममा एकाग्रताका पाँच बाधाहरूबाट मुक्तिका लागि पनि प्रयत्न गरिन्छ। ती पाँच बाधाहरू हुन्ः

कामच्छन्द अर्थात् काम राग (पाँच इन्द्रियका सुख वस्तु खोज्ने आशय)ः

पाँच इन्द्रियका पाँच सुख वस्तुहरूमा मनपर्ने दृष्य, ध्वनि, सुगन्ध, स्वाद, र शारीरिक स्पर्श पर्छन्। जब हामी केही कुरामा ध्यान केन्द्रित गर्न लाग्छौं, यो बाधा उत्पन्न हुन्छ। जस्तै, हामीलाई यस्तो विचार आउन सक्छः “मलाई फिल्म हेर्न मन लाग्यो” वा “मलाई फ्रिजबाट केही निकालेर खान मन लाग्यो”। यसले हाम्रो एकग्रता भंग गर्छ। यो बाधा हामीले इन्द्रियको स्तरमा सुख खोज्ने चाहनासँग सम्बन्धित छ, जस्तै खाने, संगीत सुन्ने आदि। यस्तो विचार आउनेबित्तिकै तिनको पछि लागिहाल्न छोड्नुपर्छ ताकि हाम्रो ध्यान भंग नहोस्। हाम्रो प्रयत्न त्यो दिशातिर केन्द्रित हुनुपर्छ।

व्यापाद (हानि गर्ने इच्छा)

यो अरूलाई हानि पुर्याउने विचार हो। अरूको सम्बन्धमा हामी द्वेषपूर्ण विचार गर्दै यस्तो सोच्न थाल्छौंः “यो मान्छेले मलाई दुःखी बनायो। म यसलाई मन पराउँदिन। योसँग मैले बदला लिनुपर्छ।” सधैं यस्तो विचार मनमा आइरहनु भनेको एकाग्रताका लागि ठूलो बाधा हो। त्यसैले यस्तो द्वेषपूर्ण भावनाबाट बच्ने प्रयत्न हामीले गर्नुपर्छ, चाहे त्यो अरुका बारेमा होस् वा आफ्नै। 

थीन-मिद्ध (मानसिक सुस्ती र आलस्य)

यो मन सुस्त भएको, बादलले छोपेजस्तो, दिग्भ्रमित भएजस्तो र स्पष्टसँग सोच्न नसक्ने अवस्था हो। मानसिक सुस्तीमा निद्राले ग्रस्त भएजस्तो हुन्छ। हामीले यो अवस्थाबाट पार पाउन प्रयत्न गर्नुपर्छ। चाहे कफी पिएर होस् वा बाहिर खुला हावामा निस्केर होस्, हामी यो अवस्थामा बसिरहनु हुँदैन। आलस्यले कामै गर्न दिएन भने हामीले आफ्नो कामबाट केहीबेर ‘ब्रेक’ लिन सक्छौं। तर त्यसका लागि एउटा निश्चित समयसीमा राख्नुपर्छ। जस्तै, तपाईं घरमा हुनुहुन्छ र निद्राले काम गर्न दिएन भने बीस मिनेटको लागि सुत्छु वा ब्रेक लिन्छ भन्न सक्नुहुन्छ। अफिसमा हुनुहुन्छ भने दश मिनेटको लागि कफी ब्रेक लिन्छु भन्न सक्नुहुन्छ। तर एउटा सीमा तोक्नुहोस् र त्यसपछि फेरी काममा फर्किनुहोस्।

औद्धत्य-कौकृत्य (चित्तको चन्चलता र ग्लानि)

जब चित्त चन्चल हुन्छ, हामीलाई कामको बीचबीचमा फेसबुक वा युट्युब हेर्न मन लाग्छ। अथवा हामीलाई आफ्नो कुनै कुराप्रति ग्लानि हुन थाल्छः “मैले बेकारमै त्यस्तो काम गरेँ। मलाई त्यो कुराप्रति पछुतो लागेको छ।” यस्तो भावले हामीलाई धेरै बाधा गर्छ र एकाग्र हुन दिँदैन।

विचिकित्सा (तर्कवितर्क, अविश्वास)

हामीले प्रयत्न गरेर पन्छाउनु पर्ने अर्को बाधा अनावश्यक मानसिक तर्कवितर्क र अविश्वास हो। “म के गरौं होला?” अथवा “बिहानको खानामा के खाने होला?यो चीज खानु पर्ला।होइन, त्यो चाहिँ खानु पर्ला।के गरौं?” यस्तो खालको अनिर्णय र तर्कनाले हाम्रो एकदमै धेरै समय नष्ट गर्छ। हामी आफ्नो काममा ध्यान एकाग्र गर्न सक्दैनौं। सधैं तर्क वितर्क र शंकामै रुमलियौं भने हामीले कुनै काम गर्न सक्दैनौं। त्यसैले यो बाधावाट मुक्ति पाउन प्रयत्न गर्नुपर्छ।

छोटकरीमा भन्नुपर्दा, सम्यक व्यायाम प्रयत्न भनेको निम्न कुराहरूको प्रयत्न गर्नु होः

  • अशान्तकारी र विनाशकारी विचारहरूबाट टाढा रहने
  • आफूभित्रका खराब बानी र कमी कमजोरीहरूबाट आफूलाई मुक्त गर्ने
  • आफूमा पहिल्यैदेखि भएका र नभएका कल्याणकारी गुणहरूको विकास गर्ने
  • एकाग्रतामा बाधा पुर्याउने दोषहरूबाट आफूलाई मुक्त गर्ने।

सम्यक स्मृति

एकाग्रताको अभ्यासको अर्को अंग सम्यक स्मृति हो।

  • सम्यक स्मृति भनेको एकप्रकारको मानसिक गमजस्तो हो। यसले हामी कुनै कुरामा एकाग्र हुन खोज्दैछौं भने त्यसैमा चित्तलाई जोडेर राख्छ। यस्तो जोडाई नै स्मृति हो। यसले हामीलाई यताउति भट्किन दिँदैन।
  • यो स्मृतिसँगै होशले काम गर्न थाल्छ, जसले हाम्रो ध्यान कतै भंग भयो वा हामी सुस्त र अल्छी भयौं भने त्यसको बोध गराउँछ।
  • त्यसपछि हाम्रो ध्यानलाई आफूले छानेको एकाग्रताको विषयमा लगाउँछौं।

यहाँनेर हामीले आफ्नो शरीर, भाव, मन र विविध मानसिक तत्त्वमाथि ध्यान दिन्छौं। आफ्नो शरीर र भावनाहरूका बारेमा अनेक त्रुटिपूर्ण दृष्टिकोणहरूलाई पकडेर राखिराख्ने र नछाड्ने हाम्रो प्रवृत्ति हुन्छ, त्यसलाई त्याग्नु पर्छ। किनकि तिनलाई हामीले छाडेनौं भने हाम्रो ध्यान भट्किन्छ र हामी एकाग्र हुन सक्दैनौं। त्यसैले हामी यहाँ स्मृतिको उपयोगको सही र त्रुटिपूर्ण तरीकाहरूका बारेमा चर्चा गर्छौं। 

शरीरको सम्बन्धमा

शरीर भन्नाले सामान्यतया यो भौतिक शरीर र यसका कतिपय शारीरिक संवेदनाहरू र यसका विभिन्न पक्षहरू भन्ने बुझिन्छ। शरीरलाई हेर्ने बुझाई गलत रहेछ भने यो स्वभावैले सुखदायी छ, सफा छ, र यो सुन्दर हुनुपर्छ भन्ने सोचिन्छ। त्यसो हुँदा हामी आफू कस्तो देखिन्छु, कपाल र मेकअप कस्तो छ, हामीले लगाएको कपडा कस्तो छ, जस्ता कुरामा सधैंभरि चिन्तित रहन्छौं र यसले मनलाई व्याकुल गराइरहन्छ। हुनत सफासुग्घर भएर बस्नु र अरुका अगाडि प्रस्तुतयोग्य हुनु पक्कै पनि राम्रो हो। तर हामी राम्रो देखिने सोचको पराकाष्ठामा पुगेर सोच्न सक्छौं – शरीर सुखको स्रोत हो, यो सधैंभरि पर्फेक्ट हुनुपर्छ तब मात्र हामी अरुलाई आकर्षित गर्न सक्छौं। यस्तो सोचमा अलमलिँदा हामीलाई अरु अर्थपूर्ण कामका लागि समय बाँकी रहँदैन।

हामी आफ्नो शरीरको वास्तविकता बुझौं। तपाईं कुनै ठाउँमा धेरैबेर बस्नुभयो भने असजिलो लाग्न थाल्छ र हलचल गर्नुहुन्छ। सुतिरहनु भएको छ भने एकै पोजिसनमा मात्र सुत्दा असजिलो हुन्छ, तपाईंले कोल्टे फेर्नुपर्छ। तर त्यसको केही बेरपछि फेरी असजिलो भैहाल्छ। हामी विरामी पर्छौं र शरीर बुढो हुँदै जान्छ। हामीले शरीरको राम्रो ख्याल राख्नु पर्छ र कसरत, पौष्टिक खानेकुरा आदिका माध्यमबाट यसलाई स्वस्थ राख्नुपर्छ। तर यसैमा मात्र हाम्रो ध्यान गैरहनु पनि भएन। यो शरीरकै माध्यमबाट म दीर्घकालसम्म सुख पाउँछु भन्ने सोच्यो भने समस्या खडा हुन्छ।

जे कुराबाट निवृत हुनु पर्ने हो, त्यसैमा मात्र मन लगाइरहनु गलत प्रकारको स्मृति हो। जस्तै, हामीले आफ्नो कपाललाई मात्र सबैभन्दा महत्त्वपूर्ण कुरा ठानेर त्यसैको मात्र पछि लाग्न हुँदैन। त्यसै गरी मेरो पहिरनमा सम्पूर्ण रंगहरूको संयोजन मिलेको हुनुपर्छ, त्यसले मलाई सुखी बनाउँछ भनेर सोच्नु भएन। हामीले उचित स्मृतिको विकास गर्नुपर्छ र यसरी सोच्न थाल्नु पर्छ, “मेरो कपाल वा पहिरन मात्र सबैथोक होइन। यिनैको बारेमा मात्र सोचिरहँदा मेरो धेरै समय बर्वाद हुन्छ र कुनै अर्थपूर्ण काममा ध्यान दिन पाउँदिन।”

विचारहरूको सम्बन्धमा

यहाँ हामी खुशी वा बेखुशीका भावहरूको कुरा गदैछौं, जुन अन्ततः हाम्रा दुःखहरूको स्रोतसँग सम्बन्धित छन्। जब हामी बेखुशी हुन्छौं, हामीलाई एक प्रकारको “तृष्णा” हुन्छ। हामीलाई दुःख दिलाउने स्रोत बन्द होस् भन्ने चाहन्छौ। त्यस्तै अलिकति खुशी भइयो अझ बढी भइयोस् भन्ने तृष्णा हुन्छ। यो तृष्णा नै खासमा समस्याहरूको जड हो।

जब हामी बेखुशीलाई संसारको सबैभन्दा खराब चीज हो भन्ठान्छौं, यसले हाम्रो एकाग्रतामा समस्या ल्याउँछ। किन? “मलाई अलिकति असजिलो महसुस भैरहेको छ” वा “मेरो मुड (मनस्थिति) ठीक छैन”, वा “म खुशी छैन” जस्ता विचारहरू आइरहन्छन्। त्यसो भए के गर्ने त? तिनमा धेरै ध्यान नदिने र आफ्नो काम गरिरहने। यदि आफ्नो ठीक नभएको मुड संसारको सबैभन्दा ठूलो समस्या हो भन्ने तपाईंलाई लाग्छ र त्यसैलाई पकडेर बसिरहनु हुन्छ भने त्यो चाहिँ तपाईंले गर्न खोजेको काममा एकाग्र हुन नदिने सबैभन्दा ठूलो बाधा हुनेछ।

जब हामी खुशी हुन्छौं, त्यो बेला पनि आफ्नो खुशी सधैं उस्तै रहिरहोस् वा अझ बढोस् भन्ने सोचेर विचलित हुनु आवश्यक छैन। यो ध्यान गरिरहेको बेला पनि हुन सक्छ। तपाईंलाई आनन्द आउँछ र एकदमै गजबको अनुभूति जस्तो लाग्न थाल्छ। तपाईंको ध्यान भङ्ग हुन्छ। आफूलाई मनपर्ने मानिससँग हुँदा वा मीठो लाग्ने कुरा खाँदा पनि यस्तो भाव आउन सक्छ, “यो त अद्भूत छ।” यस्तो भाव गलत स्मृतिको प्रकार हो र यसले हाम्रो एकाग्रतालाई विचलित गर्छ। जे चीजको महत्त्व जति हो, त्यसलाई त्यत्ति नै रूपमा लिनुपर्छ, चाहिनेभन्दा ठूलो बनाउनु हुँदैन।

चित्तको सम्बन्धमा

आफ्नो चित्तभित्र रिस, मूर्खता, वा अज्ञान मात्र भरिएको छ, यही यसको स्वभाव हो, यो चित्त नैसर्गिक रूपमा नै खराब छ भन्ने सोच पनि एकाग्रताको अभ्यासमा ठूलो बाधा हो। हामीलाई प्रायः आफू अपूरो भएजस्तो लाग्न सक्छ, र सोच्छौं “म यो पनि हुन सकिन, त्यो पनि हुन सकिन। म त केही पनि भईंन।” वा प्रयास नै नगरी भन्छौं, “यो मेरो बुझाईभन्दा परको विषय हो।” यस्तो सोचहरूलाई पकडेर बस्यो भने आशाको कुनै सम्भावना नै हुँदैन। तर सम्यक स्मृति भयो भने हामी यस्तो सोच्छौंः “यो कुरा म अहिल्यै त बुझ्न नसकुँला, केही समयको लागि म दोधारमा हुँला, तर यसको मतलब बुझ्न नसक्नु मेरो चित्तको स्वभाव होइन।” यस्तो सोचले हाम्रो आत्मविश्वास बढाउँछ र हामीलाई आफ्नो काममा एकाग्र भएर लाग्न सहयोग गर्छ।

चेतसिक (मनका तत्त्वहरू) का सम्बन्धमा

चौथो त्रुटिपूर्ण दृष्टिकोण चेतसिक अर्थात मनका तत्त्वहरू सम्बन्धमा हुन सक्छ, जस्तै बौद्धिकता, दयालुपन, धैर्य, आदि। असम्यक स्मृतिका कारण हामी यस्तो सोच्छौंः “म यस्तै त छु नि। मलाई सबैले यही रूपमा स्वीकार गर्नुपर्छ। म यसलाई परिवर्तन वा परिमार्जित गर्न सक्दिन।” सम्यक स्मृति भयो भने हामी जान्दछौं कि यी तत्त्व वा गुणहरू अपरिवर्तनीय होइनन्, तिनलाई सिक्न र विकसित सकिन्छ। तिनको उपयोग एकाग्रताको अभ्यासका लागि गर्न सकिन्छ।

आफूमाथि कसरी नियन्त्रण हासिल गर्ने

हामी कुनै खराब मुडमा भयौं वा आत्मग्लानिले ग्रस्त भयौं भने त्यही कुरालाई हामी पकडेर बसिरहेका हुन्छौं र त्यसैमा अल्झिरहेका हुन्छौं। यो कुरा हामीले त्यति ख्याल गरेका हुँदैनौं, तर जब आफ्नो विश्लेषण गरेर हेरिन्छ, तब यो बुझिन्छ। आत्मग्लानिको सन्दर्भमा हामी आफूले गरेको गल्तीमा अल्झेर बस्छौं। हामी यो बिर्सन्छौं कि हामी सबै मानव हौं र गल्ती गर्नु मानवको स्वभाव हो। असम्यक स्मृति भयो भने हामी यसलाई छाड्न सक्दैनौं र आफू साह्रै खराब भएको ठानी आफैंलाई दुत्कार्दै बस्छौं। सम्यक स्मृति भयो भने चाहिँ हामी जान्दछौं - मुडहरू परिवर्तनशील हुन्छन्, कुनै निश्चित कारण र अवस्थाका कारण तिनको उत्पत्ति हुन्छ। ती कारण र अवस्थाहरू पनि आफैं परिवर्तन भैरहेका हुन्छन्, कुनै पनि कुरा सधैंभरि उस्तै रहँदैनन्।

यस सन्दर्भमा बुद्धधर्मले हामीलाई के भन्छ भने हाम्रो आफ्नो जीवन आफ्नै नियन्त्रणमा हुनुपर्छ। यसलाई यसरी बुझौं – बिहानीपख तपाईं आफ्नो ओछ्यानमा सुतिरहनु भएको छ र निद्रा खुलिरहेको छैन। तपाईंलाई उठ्नै मन छैन। तैपनि तपाईं आफ्नो उठ्न मन नलागेको मुडलाई नियन्त्रित गर्दै उठ्नु हुन्छ, होइन त? हामीसँग त्यो क्षमता छ, होइन भने हामीमध्ये आधाजसो बिहान उठ्ने नै थिएनौं होला! यही कुरा खराब मुड वा मन खिन्न भैरहेको बेला पनि लागु हुन्छ। हामी आफूमाथि नियन्त्रण गर्न सक्छौं र भन्न सक्छौं, “होइन, यत्ति त गरिहालौं।” हामी हार खाएर बस्दैनौं, बरु के आवश्यक छ, त्यो काम गर्छौं।

स्मृतिका अन्य पक्ष

स्मृतिको महत्त्व वास्तवमै धेरै छ। यसले हामीलाई आफ्नो कर्तव्य भुल्न दिँदैन। हामीले गर्नुपर्ने केही काम छ भने सम्यक स्मृतिले त्यसमा एकाग्र हुन सहयोग गर्छ। स्मृतिको एक पक्ष संझिनु हो, जसका कारण तपाईं आफ्नो मनपर्ने टेलिभिजन कार्यक्रम कहिले हो, संझिनुहुन्छ। तर यो स्मृति अनावश्यक कुरामा केन्द्रित भयो र त्यहीँ अल्झिराख्यो भने तपाईंले आफ्ना लागि साँच्चिकै महत्त्वपूर्ण कुराहरू चाहिँ बिर्सनु हुनेछ।

हामी कुनै मानसिक प्रशिक्षणको अभ्यास गर्दैछौं भने त्यसैमा दत्तचित्त हुनु सम्यक स्मृति हो। हामी शारीरिक कसरत गर्छौं भने हरेक दिन अभ्यास गरिरहनु पर्छ, त्यसमा हाम्रो स्मृति हुनुपर्छ। त्यस्तै हामी खानपीनमा परहेज गर्दैछौं भने केकको टुक्रा अगाडि आउनेबित्तिकै खाइहाल्ने होइन, त्यसलाई होशपूर्वक छाड्ने स्मृति हुनुपर्छ।

स्मृतिको अभ्यास भनेको हामी जुन महत्त्वपूर्ण काम गर्दैछौं, त्यसैमा केन्द्रित हुनु र बाह्य गौण कुराहरूबाट विचलित नहुनु हो।

परिवारसँग भएका बेला सम्यक स्मृति

धेरै मानिसलाई साथीभाइ वा अपरिचितसँगभन्दा आफ्नो परिवारसँग भएका बेला राम्रो व्यवहार गर्न कठिन हुन्छ। यदि हाम्रो पनि त्यस्तै बानी छ भने शुरुमै एक सशक्त प्रण गर्नु आवश्यक हुन्छ। तपाईं आफ्ना नातेदारहरूसँग भेट्न गैरहनु भएको छ भने शुरुमै प्रण गर्नुहोस्ः “म आफ्नो रिसलाई काबुमा राख्नेछु। उनीहरूले विगतमा मसँग दयालुताको व्यवहार गरेका थिए, म त्यसलाई सम्झनेछु। उनीहरू मेरा नजीकका हुन्, मैले गर्ने व्यवहारले उनीहरूलाई चोट पुर्याउन सक्छ।” यस्तो भावना राख्नु एकदमै महत्त्वपूर्ण हुन्छ।

त्यस्तै हामीले उनीहरू पनि आफूजस्तै मानव भएको कुरा स्मरण गर्नुपर्छ। उनीहरूलाई आफ्ना आमा, बुवा, दिदीबहिनी, दाजुभाइ, वा अन्य प्रकारका नातेदारका रूपमा मात्र हेर्न हुँदैन। उनीहरूलाई एक निश्चित नाताको दायरामा मात्र हेर्यौं भने आमा वा बुवा वा त्यस्तै अरु भूमिकामा मात्र देख्छौं, र उनीहरूसँगको हाम्रो विगतको स्मरण, आशा, अपेक्षा आदिले काम गर्न थाल्छ। त्योभन्दा राम्रो प्रथमतः उनीहरूलाई एक मानवको रुपमा व्यवहार गर्ने हो। उनीहरू यो कुराप्रति सचेत नहुन सक्छन् र तपाईंलाई अझैपनि एक बालकको रुपमा मात्र देख्न सक्छन्। तर तपाईंले आफू बालकजस्तो भएर प्रस्तुत नहुन सक्नुहुन्छ। हामी होशपूर्वक व्यवहार गरेर त्यो नाटक बन्द गर्न सक्छौं, किनकि ताली बज्नलाई दुइटै हात चाहिन्छ, दुवैको भूमिका उत्तिकै हुन्छ।

मेरी दिदी केही समयअघि मकहाँ एक हप्ता बस्नेगरी आउनुभयो। उहाँको राति चाँडै सुत्ने बानी थियो। मेरी आमाले जस्तै मलाई पनि भन्न थाल्नु भयो, “अब सुत्न जाऊ।” मैले आफूलाई पनि एक बालकजस्तै ठानेको भए भन्नेथिएँ, “होइन, म त यति छिटो सुत्दिन। मलाई सुत्न मन लागेको छैन। अनि तपाईंले किन मलाई सुत्न सिकाउनुपर्यो?” त्यसो भनेको भए फेरी उही खेल शुरु हुने थियो। हामी दुवैलाई नरमाइलो हुने थियो। त्यसैले मैले आफैंलाई सम्झाएँ – उहाँले मेरो ख्याल राखेरै त्यसो भन्नु भएको हो। मलाई रिस उठाउने उहाँको उद्देश्य थिएन। चाँडै सुत्नु मेरा लागि राम्रो हुन्छ भन्ने उहाँलाई लाग्छ। यसरी हामी बस्तुस्थितिलाई यथार्थ दृष्टिकोणले हेर्ने प्रयास गर्छौं। आफूलाई जे लाग्छ त्यो मात्र अरुमाथि थोपर्ने काम गर्दैनौं।

त्यसैले परिवारका सदस्यहरूलाई भेट्नु अघि हामीले आफ्नो दृष्टिकोणमा होश पुर्याउनु पर्छ। यसलाई यसरी बुझौंः

  • उद्देश्यः हाम्रो उद्देश्य परिवारका सदस्यसँग सहजतापूर्वक समय बितोस् भन्ने हुनुपर्छ। किनकि हामी दुवै एक अर्काको ख्याल राख्छौं।
  • मनोभावः परिवारका सदस्य पनि प्रथमतः मानव हुन्। त्यस दृष्टिले उनीहरूको ख्याल राख्नुपर्छ।

अर्को शब्दमा, परिस्थितिलाई एक भयंकर र कठिन अनुभवका रूपमा नलिएर एक चुनौती र आफ्नो विकासको अवसरका रूपमा लिन र यसरी सोच्न सकिन्छः “आज रातीको खाना मेरो परिवारका सदस्यहरूसँग खाने भइयो। यति समयभरी म नरिसाए कसो होला?”

तपाईंको राम्ररी घरजम भएको छैन भने आमाबुवाका लागि तपाईंलाई सम्झाउने त्यो उपयुक्त अवसर हुन सक्छः “अब त बिहे गर” वा “अलि राम्रो जागिर खाए हुन्थ्यो” अथवा “अझै बच्चा किन नपाएको?” (मलाई मेरी दिदीले चाहिँ “तेरो कपाल काट्ने बेला भएछ” भन्नु भएको थियो।) होशमा रहँदा तपाईंले बुझ्न सक्नु हुनेछ उनीहरू तपाईंको भलाईप्रति चिन्तित छन्। अनि रिसाएर झर्किनुको सट्टा हाँसेर भन्न सक्नुहुनेछ, “मेरो यति ख्याल राख्नु भएकोमा धन्यवाद!”

हामी उनीहरूको परिस्थितिका बारेमा पनि सोच्न सक्छौं। उनीहरूलाई पनि मानिसहरूले सोधेर हैरान पारेका हुन सक्छन्, “तिम्रो छोरा के गर्दैछ? तिम्री छोरीको हालखबर कस्तो छ?” उनीहरूलाई पनि जवाफ दिनुपर्ने हुन्छ। बुवाआमाले पक्कै पनि मनमा शत्रुताको भाव लिएर तपाईंलाई कहिले बिहे गर्ने भनेर सोधेको त होइन होला। उहाँहरूलाई तपाईंको खुशीकै चिन्ता होला। त्यसै कारण प्रथमतः हामीले उनीहरूलाई आफ्नो ख्याल राखेकोमा धन्यवाद दिनुपर्छ। त्यसपछि तपाईंलाई मन लाग्यो भने बिहे नगर्नाको कारण बिस्तारै बताउन सक्नुहुन्छ।

असम्यक स्मृति भयो भने हामी त्यस्ता कुराहरू पकडेर बस्छौं जुन कसैका लागि पनि पटक्कै हितकर हुँदैनन्। यी कुराहरू धेरै पूराना हुन सक्छन्, जस्तो कि “तैंले दश वर्षअघि मलाई किन त्यसो भनेको?” वा “तिमीले तीस वर्षअघि मलाई यसो भनेका थियौं।” हामी यो कुरा छोड्न सक्दैनौं र उनीहरूको अहिलेको अवस्था के छ, देख्न सक्दैनौं। हामीलाई यस्तो लाग्छः “मेरा आमाबुवा आउँदैछन्, अब के बवण्डर हुने हो।” हामी पहिल्यै ठानिसक्छौं कि अब त बर्वादै हुनेवाला छ। रातीको खाना शुरु हुनुअघि नै हामी तनावमा आइसकेका हुन्छौं। सम्यक स्मृतिका माध्यमबाट हामी यो चिन्तनलाई उल्ट्याउँछौं र सोच्छौं – यो त उनीहरू अहिले कुन अवस्थामा छन् जान्ने एक अवसर हो, उनीहरूलाई राम्रो व्यवहार गर्ने एक अवसर हो। मैले पुराना कुराहरूमा मात्र अल्झिराख्नु जरुरी छैन।

स्मृति कायम राख्ने व्यावहारिक उपाय

कठिन परिस्थितिमा पनि कसरी सम्यक स्मृति राखिराख्ने? यसका लागि हामीले निम्न कुराहरूमाथि विकास गर्नु जरुरी छः

  • उद्देश्य –  हितकारी कुरा गर्न नबिर्सने, संझिरहने
  • अप्रयास – आफ्नो काममा चित्त लगाएर बारम्बार त्यसलाई दोहोर्याएपछि चित्त स्वतः र विनाप्रयास त्यसैमा लागिरहने
  • जागरुकता – आन्तरिक अलार्म सिस्टम जसले हामीलाई विस्मृति हुनासाथ सचेत गराउँछ

तर यो सब हामी आफ्नो कामको आफैंप्रति र अरुप्रति पर्ने असरको कति हेक्का राख्छौं भन्ने कुरासँग सम्बन्धित छ। तपाईंलाई आफू के गर्दैछु भन्ने कुराको पर्वाह हुँदैन भने तपाईंको आफैंमाथि कुनै अंकुश हुँदैन र त्यो अवस्थामा स्मृतिको अभ्यास हुन सक्दैन। हामीले किन अरुको ख्याल राख्नुपर्छ? किनकि हामी सबै मानिस हौं। तपाईंका आमाबुवा पनि मानिस नै हुन्। हामी सबैलाई खुशी चाहिन्छ, कोही पनि दुःखी हुन चाहँदैनौं। हामीले बोल्ने बोली र गर्ने व्यवहारले अरुको भावनामा असर पार्न सक्छ, त्यसैले हामी के गर्छौं, त्यसप्रति सचेत हुनु आवश्यक छ।

हामीले आफ्नो र आफूले गर्ने व्यवहारको उत्प्रेरणाबारे विश्लेषण गर्नुपर्छ। हामी अरुका अगाडि राम्रो अथवा जाती मात्र देखिन खोज्छौं भने त्यो बालकले गर्नेजस्तो काम हुनेछ र त्यसो गर्नु मूर्खतापूर्ण हुनेछ। अरुसँगको व्यवहारमा सम्यक स्मृति (होश) कायम राख्नुको अर्थ हो – हामी मैत्रीभावको आधारले उनीहरूको ख्याल राख्छौं।

समाधि (एकाग्रता)

अष्टाङ्गिक मार्गअन्तर्गत समाधि (एकाग्रता) अभ्यासको तेश्रो अंग सम्यक समाधि अर्थात् सामान्य शब्दावलीमा सम्यक एकाग्रता हो (याद गर्नुहोला, यहाँ हामी ‘एकाग्रता’ शब्द नै प्रयोग गर्छौं)। एकाग्रताको अर्थ कुनै वस्तुमाथि मनलाई स्थित गर्नु हो। आफूले छानेको कुनै वस्तुमा मन टिकिसकेपछि सम्यक स्मृतिले त्यसलाई त्यहाँबाट भट्किन दिँदैन। तर पहिला चित्तलाई त्यो वस्तुमा टिकाउनुपर्छ, जसका लागि एकाग्रताको अभ्यास गरिन्छ।

प्रथमतः हामी आफ्नो ध्यान (अटेन्शन) लाई कुनै चीजमाथि एकाग्र गर्छौं। पहिलाको तुलनामा आजकल मनलाई कुनै एक वस्तुमा टिकाउन कठिन भएको छ, किनकि यो विभाजित छ। टेलिभिजनमा समाचार हेर्दै हुनुहुन्छ भने बीचमा कसैले एउटा समाचार भन्दै हुन्छ, तल अर्को समाचार ‘स्क्रोल’ भैरहेको हुन्छ, र तलमाथिका कुनाहरूमा अरुथोक नै चलिरहेका हुन्छन्। हामी कुनै एकमा मनलाई टिकाउन पाउँदैनौं। हामी नामको ‘मल्टिटास्क’ गर्छौं तर जे जे कामलाई मल्टिटास्किङ गर्ने हो त्यसमध्ये कुनैमा पनि १०० प्रतिशत ध्यान दिन पाउँदैनौं। त्यसका लागि तपाईं बुद्ध नै हुनुपर्ला!

कहिलेकाहीँ हामी कसैसँग कुरा गर्दै हुन्छौं तर हाम्रो मन फोनमा हुन्छ। यो मनलाई टिकाउने गलत तरीका हो किनकि कोही हामीसँग कुरा गर्दै छन् तर हामी त्यसमा ध्यान दिनुको सट्टा अरुथोक हेर्दै हुन्छौं। कुनै बेला मन कुनै कुरामा टिकिहाल्यो भने पनि त्यहाँ धेरैबेर अडिँदैन। हरेक चीज एकदमै तीव्र गतिमा बदलिरहेको हुन्छ, र एकपछि अर्को चीज हेर्दाहेर्दै हामी चाँडै बोर हुन्छौं। यस्तो खालको एकाग्रताले हाम्रा लागि बाधा उत्पन्न गर्छ किनकि यो प्रतिक्षण एक चीजबाट अर्को चीजमा पुगिरहेको हुन्छ। यो त्रुटिपूर्ण एकाग्रता हो। एकाग्र हुनुको सही अर्थ मन परेन भन्दै यताउता नभट्किकन र बोर नभैकन कुनै कुरामा मनलाई आवश्यक हुन्जेल टिकाइराख्ने हो।

हामीलाई मनोरञ्जन चाहिन्छ अर्थात् मनलाई रमाइलो गरिरहनु पर्छ। एकाग्रताको विकासमा यो एक ठूलो बाधा हो। हाम्रो असम्यक स्मृतिको बानीका कारण यसो हुन्छ। अस्थायी सुखका साधनले हामीलाई खुशी बनाउँछ भन्ने हामी सोच्छौं। तर त्यसले हाम्रो तृष्णा मात्र बढाउँछ। समाजशास्त्रीहरूका अनुसार हाम्रा सामु मनोरञ्जन आदिका जति धेरै विकल्प हुन्छन् त्यत्ति नै धेरै हामी बोर, तनावग्रस्त, र थकानग्रस्त हुन्छौं। इन्टरनेटले हामीलाई यस्तो मनोरञ्जनको साधन प्रचुर मात्रामा दिएको छ। तपाईं कुनै कुरा हेर्दै हुनुहुन्छ भने यस्तो लाग्छ, योभन्दा बढी रमाइलो कुरा पनि छ होला। अनि त्यो छुट्ला भनेर खोज्न थाल्नुहुन्छ। तपाईं खोजेको खोज्यै गर्न थाल्नु हुन्छ र कुनै चीजमा एकत्रित भएर बस्न सक्नुहुन्न। त्यसैले हामीले आफ्नो जीवनलाई सरल बनाउनु राम्रो हुन्छ जहाँ एकैपटकमा धेरै कुरा भैरहेको नहोस्। तर यो त्यत्ति सजिलो छैन। एकाग्रताको अभ्यास पुष्ट भएपछि तपाईंले आफूले सम्हाल्न सक्ने कामको दायरा बढाउन सक्नुहुन्छ।

एकाग्रताको राम्रो अभ्यास भएपछि एउटा कुरामा ध्यान दिनुहुनेछ, र त्यो सकिएपछि मात्र अर्को कुरामा हात हाल्नुहुनेछ। तर एक पटकमा एउटा मात्र काम गर्नुहुनेछ र त्यसमा पूर्ण एकाग्र हुनुहुनेछ। उदाहरणका लागि, कुनै डाक्टरले एक दिनमा धेरै विरामी हेर्न सक्छ तर एक पटकमा एउटा मात्र विरामी हेर्छ र त्यसैमा पूर्ण ध्यान केन्द्रित गर्छ। त्यतिबेला उसले अगाडिको र पछि आउने विरामीका बारेमा सोचिरहेको हुँदैन। एकाग्रताका लागि यस्तो अभ्यास उपयोगी हुन्छ।

तर निश्चय पनि यो सजिलो छैन। मेरो हकमा वेबसाइट सञ्चालन गर्न र यसका विभिन्न भाषाका अनुवादहरूलाई प्रबन्ध गर्नेलगायत धेरै नै काम गर्नुपर्छ। एकै पटकमा धेरै थोक भैरहेको हुन्छ र एउटा कुरामा ध्यान केन्द्रित गर्न कठिन हुन्छ। जटिल व्यावसायिक काममा संलग्न सबैको अवस्था यस्तै हुन्छ। तर हामीले एकपछि अर्को गर्दै एकाग्रताको अभ्यास बढाउँदै लग्नुपर्छ।

सारांश

व्यावहारिक जीवनमा एकाग्रताको अभ्यासमा आउने कठिनाइहरूबाट आफूलाई मुक्त राख्न व्यापक प्रयासको आवश्यकता हुन्छ। एउटा सजिलो उपाय काम गरिरहेको बेला फोन स्वीच अफ गरेर राख्ने हो। अथवा दिनमा निश्चित समय छुट्याएर एक वा दुई पटक मात्र इमेल चेक गर्न सकिन्छ ताकि तपाईं जुन काम गर्दै हुनुहुन्छ, त्यसैमा केन्द्रित रहन सक्नुहोस्। यो कुनै डाक्टर वा प्रोफेसरको कार्यालय समय जस्तो हो। तपाईं जुनसुकै बेलामा उनीहरूकहाँ जान सक्नुहुन्न, एक निश्चित समयमा मात्र सक्नुहुन्छ। हामीले आफ्नै हकमा यस्तो व्यवस्था गर्न सक्छौं र एकाग्रताको विकास गर्न सक्छौं।

हाम्रो समाजको विकासक्रम पनि रोचक छ। पुरानो युगमा एकाग्रताका लागि व्यवधान भनेको धेरैजसो मनसँग सम्बन्धित कुरा मात्र हुन्थे, जस्तै मनको चञ्चलता, दिवास्वप्न आदि। तर अहिले विचलनका यति धेरै सामग्री छन् – स्मार्टफोन, फेसबुक, इमेल आदि। यी कुराहरूको वशमा पर्नबाट आफूलाई बचाउन धेरै मेहनत गर्नुपर्छ। मिडियाको हानिकारक असरका बारेमा सचेत रहनुपर्छ। प्रायः सबै मानिसले अनुभव गरेको एउटा नकारात्मक असर भनेको हाम्रो ध्यान (अटेन्सन) को अवधि दिन प्रतिदिन घट्दै जानु हो। ट्वीटरमा लेख्ने कुरामा शब्दसीमा छ, र फेसबुकको न्यूजफीड निरन्तर अपडेट भैराख्छ। यो सब यति छिटोछिटो भैरहेको हुन्छ कि हामी कुनै पनि कुरामा ध्यान एकत्र गर्नै पाउँदैनौं। यो हाम्रो ध्यानका लागि हानिकारक छ। यसमा हामीले विचार गर्नु आवश्यक छ।

Top