ध्यान पारमिता

03:27
हाम्रो मन सधैँ यताउता भट्किरहेको हुन्छ। कुनै कुरामा एकाग्र हुन खोज्यो, एकछिन पनि टिक्न सक्दैन। स्मार्टफोनमा आउने नानाभाँति नोटिफिकेसनले होस् या भविष्यका तानाबुनाको कल्पनाले, हाम्रो मन सधैँ अस्थिर भैरहन्छ। हाम्रा आवेगहरू तलमाथि भैरहन्छन्। खासगरी जब व्यग्रता, चिन्ता र डरले सताउँछ तब हामी कुनै एक चीजमा एकाग्र हुन सक्दैनौं। एकाग्रताको पूर्णता अर्थात् ध्यान पारमितामा मानसिक र भावनात्मक स्थिरता हुन्छ र हामी आफ्नो सम्पूर्ण क्षमतालाई सफलतापूर्वक कुनैपनि सकारात्मक काम सम्पन्न गर्न उपयोग गर्न सक्छौं।

परिचय 

षट्पारमिता अर्थात् ६ दूरगामी मनोवृत्तिहरूमध्ये पाँचौ हो ध्यान अर्थात् चित्तको स्थिरता वा एकाग्रता। यसमा हामी कुनै एक वस्तुमा पूर्णरूपमा एकाग्र भएर बस्न सक्षम हुन्छौं, र यस्तो एकाग्रता आफूले चाहेको समयसम्म सकारात्मक मनोभाव र गहन बोधका साथ राख्न सकिन्छ। यतिबेला हाम्रो चित्त अतिशय मानसिक भट्कावहरूबाट, क्लेशहरूका कारण (खासगरी वस्तुहरूप्रतिको तृष्णाका कारण) हुने चञ्चलता र मानसिक सुस्तताबाट पूर्ण मुक्त हुन्छ। यो अवस्थामा मन तीक्ष्ण हुन्छ र हाम्रा उर्जाहरू एकत्रित तथा साधिएका हुन्छन्। तिनीहरूले हामीभित्र उपद्रव मचाउँदैनन्। हामी मानसिक र शारीरिक स्तरमा उल्लासपूर्ण र शान्तिपूर्ण आनन्दको अनुभूति गर्छौं। व्याकुल विचारहरू र असंगत आवेगहरूबाट मुक्त हुनाले चित्तमा अद्भूत स्पष्टता आउँछ। यस्तो खुला, सुस्पष्ट र आनन्दपूर्ण अवस्थाप्रति आसक्ति नराखी हामी यसलाई आफ्नो चाहनाअनुसारको उद्देश्य प्राप्तिका लागि उपयोग गर्न सक्छौं। 

ध्यान पारमिता अर्थात् एकाग्रताको अभ्यासलाई प्रकृति, प्रकार र कार्य आदिका आधारमा विविध तरिकाले वर्गीकृत गर्न सकिन्छ। 

प्रकृतिका भेदले एकाग्रताको वर्गीकरण

ध्यान पारमिताका विविध अवस्थालाई व्यक्तिको उपलब्धिका आधारमा वर्गीकरण गर्न सकिन्छ। यस्तो वर्गीकरणमा दुई अवस्था पर्छन् – 

  • पृथग्जनको एकाग्रता – त्यस्तो व्यक्ति जसले अहिलेसम्म शून्यताको अविकल्पात्मक बोध गर्न सकेको छैन। 
  • आर्यको एकाग्रता –  त्यस्तो उच्च सिद्धिप्राप्त व्यक्ति जसले शून्यताको अविकल्पात्मक बोध गरेको छ। 

जसले शून्यताको थोरै मात्र पनि अविकल्पात्मक बोध गर्न सकेको छ, उसको चित्तबाट केही मात्रामा क्लेशहरू नाश भएका हुन्छन्। भावनात्मक विचलनले अवरोध पुर्याएका कारण दैनिक जीवनमा ध्यान पारमिताको अभ्यास उतार्न नसक्ने भन्ने खतरा उनीहरूका लागि कम हुन्छ।

प्रकारको भेदले एकाग्रताको वर्गीकरण 

यो वर्गीकरण हामीले ध्यान पारमिताको अभ्यासमा के हासिल गर्न लागेको हो भन्नेसँग सम्बन्धित छ। हाम्रो एकाग्रता निम्नानुसार अवस्था हासिल गर्नेतर्फ लक्षित हुन सक्छ –

  • शमथ – एक शान्त र स्थिर चित्तावस्था जुन चञ्चलता र सुस्तता दुवैबाट पूर्ण मुक्त हुन्छ। यसमा अति आनन्द र उल्लासपूर्ण अवस्थाको शारीरिक र मानसिक स्वस्थताको अनुभूति हुन्छ र चित्त कुनै सकारात्मक स्थितिमा आफूले चाहेजति समय एकाग्र रहन सक्छ। चित्त कुनै एक वा धेरै सत्त्वहरूप्रति करुणाको भाव अथवा विवेकपूर्ण होश आदि सिर्जनात्मक विषयको आलम्बनमा एकनासले केन्द्रित भएर रहन्छ।
  • विपश्यना – यो अवस्थामा चित्त असाधारण रूपमा बोधयुक्त हुन्छ। यो पनि चञ्चलता र सुस्तता दुवैबाट पूर्ण मुक्त हुन्छ, र अति आनन्द तथा उल्लासपूर्ण स्वस्थतामा चित्तले कुनै विषयलाई त्यसको हरेक पक्षको पूर्ण बोधका साथ जान्न सक्छ। शमथ जस्तै यसमा पनि करुणा आदि कुनै सिर्जनात्मक विषयमा चित्त एकाग्र रहन सक्छ। तर यसमा उक्त विषयका स्वभावहरू (जस्तै अनित्यता, दुःख) को स्थूल बोधका साथै त्यसका सबै विशिष्ट गुणहरू (जस्तै, सबै जीवले भोग्नु पर्ने सबै प्रकारका दुःख) को सूक्ष्म बोध पनि हुन्छ।  
  • शमथ र विपश्यनाको युगनद्धता – शमथको पूर्ण अवस्था हासिल भयो भने हामी त्यसलाई विपश्यनासँग जोड्न सक्छौं। विपश्यनाको पूर्ण अवस्था शमथ लाभ गरिसकेपछि मात्र आउन सक्छ। यस्तो युगनद्ध अवस्थामा अति आनन्द र उल्लासपूर्ण अनुभूतिमा आफूले लिएको कुनै विषयमा एकाग्र भएर रहन सक्ने स्वस्थता आउँछ र उक्त विषयको सबै पक्षको बोध हुन्छ। ती सबै पक्षको बोध स्थूल र सूक्ष्म दुवै तहमा हुन्छ। 

कार्यको भेदले एकाग्रताको वर्गीकरण

ध्यान पारमिताबाट चित्तमा एकाग्रता आएपछि त्यसका अनेक नतीजा देखिन्छन्। तिनलाई एकाग्रताको कार्य भन्न सकिन्छ, जो यसप्रकार छन् –

  • यो जीवनकालमा शरीर र चित्तमा आनन्दपूर्ण अवस्थाको प्रादुर्भाव – यस्तो अवस्थामा उल्लास र शारीरिक तथा मानसिक स्वस्थताका कारण प्रसन्नताको अनुभूति हुन्छ। हाम्रा विचलनकारी क्लेशहरू अस्थायी रूपमा शान्त हुन्छन्।
  • सद्गुणहरूको विकास – आफ्नो मात्र निर्वाणका लागि प्रयासरत साधकसमान अनेक सिद्धिहरू प्राप्त हुन्छन्, जस्तै दिव्य दृष्टि, दिव्य बोध, प्रकटीकरणको क्षमता, एकाग्रताको उच्चतर अवस्था, भ्रमयुक्त मनोभावबाट अस्थायी मुक्ति, विचलनकारी क्लेशहरूको क्षयीकरण आदि। 
  • दुःखमा रहेका सत्त्वहरूको हित गर्ने क्षमता – शील पारमिता र क्षान्ति पारमिताको चर्चाअन्तर्गत उल्लेख गरिएका ११ प्रकारका सत्त्वहरूको हित गर्ने क्षमता हामीलाई प्राप्त हुन्छ। 

सारांश

हामीलाई प्रकट रूपमा थाहा नभैरहेको हुन सक्छ, तर जुत्ताको तुना बाँध्नेजस्तो सानोभन्दा सानो काम सम्पन्न गर्नका लागि पनि एकाग्रता चाहिन्छ। हामीमध्ये अधिकांश मानिस त्योभन्दा जटिल विषयहरूमा एकाग्रता राख्न सक्षम छौं, र यो क्षमतालाई विकसित गर्दै आफ्नो आध्यात्मिक लक्ष्य हासिल गर्न सक्छौं। अन्य पारमिता तथा बोधिचित्तको प्रणका साथ अभ्यास गरियो भने हाम्रो चित्तको एकाग्रता र ध्यान पारमिता पूर्ण बन्न सक्छ र यसले हामीलाई बोधिलाभको अवस्थासम्मै लैजान सक्छ।

Top