सम्यक दृष्टि र संकल्प

विवेकपूर्ण होश (प्रज्ञा) भनेको उचित र अनुचित तथा हितकारी र हानिकारक कुराहरूबीच फरक छुट्याउने अभ्यास हो। यसका लागि अष्टाङ्गिक मार्गका अन्तिम दुइ अङ्ग छन्ः सम्यक दृष्टि र सम्यक संकल्प (सम्यक मानसिक प्रेरणा)।

सम्यक दृष्टि हामी केलाई सत्य मान्छौं भन्ने कुरासँग सम्बन्धित छ। यो उचित र अनुचित तथा हितकारी र हानिकारकबीच विवेकपूर्ण ढंगले फरक छुट्याई सत्यका बारेमा हामीले लिने दृष्टिकोण हो। यसले जुन सकारात्मक मानसिक स्थितितर्फ लैजान्छ, त्यो सम्यक संकल्प हो।

दृष्टि

हाम्रो विवेकपूर्ण होश उपयुक्त वा अनुपयुक्त दुवै प्रकारका हुन सक्छन्ः

  • हामी कुशलतापूर्वक भिन्नता छुट्याउँछौं र त्यसलाई सत्य मान्छौं।
  • हामी अकुशलतापूर्वक भिन्नता छुट्याउँछौं र त्यसलाई सत्य मान्छौं।

अकुशलतापूर्वक भिन्नता छुट्याउनु र त्यसलाई सत्य मान्नु असम्यक दृष्टि हो। कुशलतापूर्वक भिन्नता छुट्याउनु र त्यसलाई सत्य मान्नु सम्यक दृष्टि हो।

असम्यक दृष्टि

हाम्रो कर्मलाई विनाशकारी अथवा रचनात्मक भनेर छुट्याउनका लागि कुनै नैतिक आयाम छैन र तिनीहरूको फल हामीले भोग्नु पर्दैन भन्ने सोच्नु असम्यक दृष्टि हो। आजकल धेरै मानिसले “जेसुकै होस्” भन्ने मानसिकताले लिने गरेको देखिन्छ। यस्तो सोच असम्यक दृष्टि हो। यसको केही अर्थ छैन, मलाई केही मतलब छैन, मैले फलानो काम गरेपनि नगरेपनि केही फरक पर्नेवाला छैन – यस्तो सोचाइ गलत हो। यो असम्यक दृष्टि हो। तपाईंले धुम्रपान गर्नुभयो भने पक्कै पनि फरक पर्छ। तपाईंको स्वास्थ्यमा त्यसको नकारात्मक प्रभाव अवश्यै पर्छ।

हामी आफूलाई सुधार्न सक्दैनौं र आफ्ना कमी कमजोरीहरूलाई हटाउन सक्दैनौं, त्यसको कुनै उपाय छैन, व्यर्थमा किन परिश्रम गर्नु भनेर सोच्नु पनि असम्यक दृष्टि हो। यो गलत धारणा हो किनकि कुनै पनि कुरा कन्क्रिटजस्तो अचलायमान र स्थिर हुँदैन। कसैकसैले यो पनि सोच्न सक्छन् कि अरुलाई सहायता गरेर वा दयालु व्यवहार गरेर केही फाइदा छैन; जतिसक्दो सबैलाई उपयोग गर्ने हो र सबैबाट फाइदा उठाउने हो, त्यसो गरेमा मात्र मेरो खुशीको बाटो खुल्नेछ। तर यस्तो सोचले द्वन्द्व सिर्जना गर्छ, ईर्ष्या जगाउँछ र अरुले मेरो सम्पत्ति लगिदिने हुन् कि भन्ने डर उत्पन्न गराउँछ।

गलत दृष्टिकोणका धेरै प्रकारहरु छन्। यो दुःख र यसका कारणहरूको बारेमा पनि हुन सक्छ। उदाहरणका लागि मानौं तपाईंको बच्चाले स्कूलमा राम्रो नतीजा ल्याइरहेको छैन। गलत दृष्टिकोण भएमा तपाईंले सोच्नुहुनेछः “यो सबै मेरो कारणले भएको हो। आमा वा बुबाको धर्म मैले राम्रोसँग ननिभाएको कारण यस्तो भएको हो।” यो एक प्रकारको भ्रम हो, जुन हामीले कार्य–कारणको सम्बन्ध राम्रोसँग नबुझ्नाले उत्पन्न हुन्छ। कुनै पनि कुरा कहिल्यै पनि एउटा मात्र कारणले हुँदैन, धेरै कारण र परिस्थितिहरूको संयोजनले गर्दा हुन्छ। त्यहाँ हाम्रो पनि केही भूमिका होला, तर हामी समस्याको एकमात्र कारण हुन सक्दैनौं। कहिलेकाहीँ त हाम्रो कुनै भूमिका नै हुँदैन, भूमिकाको भ्रममात्र हुन्छ। मानिलिऊँ कुनै मानसिक समस्या भएको मानिस फूटबल हेर्न गयो र उसले रोजेको टीमले हार्यो। उसले सोच्न सक्छ, उ फूटबल हेर्न गएकाले अलच्छिन लाग्यो र उसको टीमले हार्यो। उसले यसो भन्न सक्छ – “मेरो टीमले हार्नुमा मेरो दोष छ।” त्यो भन्दा हास्यास्पद कुरा के हुन सक्ला! यस्तो सोच कार्य–कारण सिद्धान्त नबुझेर बनाइने गलत धारणाको उपज हो।

सम्यक दृष्टि

समुचित विवेकपूर्ण होश एकदमै महत्त्वपूर्ण छ र यसका लागि हामीले कार्य–कारण सम्बन्धको यथार्थ र अन्य धेरै सत्य जान्नु पर्छ। जसरी मौसम धेरै कारणमा निर्भर गर्छ, त्यसरी नै हाम्रो बच्चाले स्कूलमा गर्ने पढाई धेरै कारण र परिस्थितिहरूको संयोजनमा निर्भर हुन्छ। हामीले आफूलाई भगवान जस्तो सोच्ने भूल गर्नु हुँदैन – हामीले कुनै एउटा कुरा मात्र गरेर आफ्नो बच्चाले स्कूलमा ल्याउने सबै नतीजा ठीक गर्न सक्दैनौं। त्यसरी काम बन्दैन।

विवेकपूर्ण होशका लागि हामीमा सामान्य बुद्धिमत्ता, सूझबुझ र एकाग्रताको आवश्यकता हुन्छ ताकि हामी सम्यक विवेकको उपयोग गर्न सकौं। यसका लागि आत्म–संयम चाहिन्छ। यसरी हामी देख्छौं, साधनाका तीन अभ्यास एक आपसमा जोडिएका छन्।

संकल्प (मानसिक प्रेरणा)

के हितकारी हो र के हानिकारक हो, के वास्तविकता हो र के हैन भन्ने अन्तर छुट्याइ सकेपछि हाम्रो संकल्प वा मानसिक प्रेरणाले काम गर्न थाल्छ। यसले हाम्रो बोल्ने वा व्यवहार गर्ने तरीका तथा कुनै पनि कुरालाई हेर्ने दृष्टिकोणमा प्रभाव पार्छ। यदि हामीले असम्यक तरीकाले हितकारी वा हानिकारकबीच अन्तर छुट्याएका छौं भने असम्यक संकल्पले पछ्याउनेछ र सम्यक तरीकाले अन्तर छुट्याएका छौं भने सम्यक संकल्पले।

असम्यक संकल्प

संकल्प वा मानसिक प्रेरणाले तीन क्षेत्रमा हामीलाई प्रभाव पार्छन्ः

कामसंकल्प (इन्द्रियजन्य इच्छाहरू)

असम्यक मानसिक प्रेरणा इन्द्रियजन्य इच्छाहरू पूर्ति गर्नेतर्फ केन्द्रित हुन्छन्। यसमा सुन्दर देखिने कुराहरू, संगीत, स्वादिष्ट खाना, राम्रो लुगा आदिको चाहना र लिप्सा पर्छन्। गलत मानसिक प्रेरणाले गर्दा हामीलाई ती सबैभन्दा महत्त्वपूर्ण चीज हुन् भन्ने लाग्छ र त्यसैको पछाडि दौडिने विचार आउँछ। तर हामीले सम्यक विवेकले काम गर्यौ भने समतापूर्ण चित्तको उत्पत्ति हुन्छ। यस्तो चित्त सन्तुलित हुन्छ र इन्द्रियजन्य इच्छाहरूको आसक्तिबाट मुक्त हुन्छ।

विवेक सम्यक नहुँदाको अवस्थामा हाम्रा लागि कुन ठाउँमा रातीको खाना खाने र के खाने भन्ने कुरा पनि सर्वोच्च महत्त्वको कुरा हुन सक्छ। हामीले खाने सही ठाउँ र मेनुबाट सही परिकार छान्न सक्यौं भने अपार सुख प्राप्त हुन्छ जस्तो लाग्छ। तर सम्यक विवेकले काम लियौं भने हामीलाई थाहा हुन्छ कि यो कुरा धेरै महत्त्वपूर्ण होइन। जीवनमा कहाँ र के खाने वा टीभीमा के कार्यक्रम आउँदैछ भन्नुभन्दा महत्वपूर्ण कुराहरू अरु धेरै छन्। यसप्रकार सम्यक विवेकले काम गर्यौं भने हाम्रो मन शान्त र सन्तुलित हुन्छ।

व्यापादसंकल्प (दुर्भाव)

दोश्रो असम्यक संकल्प दुर्भाव हो। यो अरुलाई चोट पुर्याउने वा हानि गर्ने इच्छा हो। उदाहरणका लागि कसैले केही गल्ती गर्यो भने तपाईंलाई रिस उठ्छ र उनीहरू एकदमै खराब हुन् भन्ने सोच्न थाल्नुहुनेछ। तपाईंलाई लाग्छ, उनीहरूलाई सजाय दिनुपर्छ। यो असम्यक विवेकका कारण हुन्छ।

हामी मानिसले कहिल्यै गल्ती गर्नुहुँदैन भन्ने सोच्छौं, जुन गलत विवेकको परिणति हो। यस्तो बेला हामीलाई यति रिस उठ्छ कि हामी अरुलाई कुटपीट गर्न पनि उद्यत हुन्छौं। तर सम्यक विवेक भयो भने हामीमा सद्भाव उत्पन्न हुन्छ। हामी अरुलाई सहयोग गर्ने र उनीहरूलाई खुशी दिने चाहना राख्छौं। यसो गर्दा हामीमा बल र क्षमाशीलता आउँछ। कसैले कुनै गल्ती गर्यो भने हामीलाई त्यो स्वाभाविक हो भन्ने थाहा हुनेछ र त्यससम्बन्धमा मनमा कुनै कुण्ठा पालेर बस्दैनौं।

अभिहिंसासंकल्प (क्रूरता)

असम्यक संकल्पको तेश्रो प्रकार क्रूरता हो। मनमा क्रूरता भरिनुका परिणति विभिन्न हुन सक्छन्ः

  • बर्बरता – करुणाको पूर्ण अभाव जहाँ हामी अरुले दुःख पाएको र दुःखी भएको चाहन्छौं। उदाहरणका लागि, फूटबल खेलमा हामी अरु टीमका समर्थकलाई खराब देख्छौं र उनीहरूलाई मारपीट गर्न थाल्छौं, किनकि उनीहरूले अरु टीमलाई मन पराउँछन्।
  • आत्म–घृणा – आत्म–प्रेमको पूर्ण अभाव जहाँ हामी आफैं आफ्नो खुशी नष्ट गर्दछौं किनकि हामीलाई लाग्छ, हामी धेरै खराब छौं र यति खुशीको योग्य छैनौं। यसो गर्ने विभिन्न माध्यम हुन सक्छन्, जस्तै, अस्वस्थकर सम्बन्धमा फस्ने, खराब लत लिने, चाहिनेभन्दा बढी खाने, इत्यादि।
  •  विकृत आनन्द – अरु मानिसले दुःख पाएको देख्दा वा सुन्दा आनन्द आउँछ भने त्यो विकृत आनन्द हो। अरुहरू दुष्ट छन् र कष्ट पाउन लायक छन् भन्ने हामी सोच्छौं। हामीलाई मन नपर्ने कुनै राजनीतिज्ञले चुनावमा हार्यो भने हामीलाई खुशी लाग्छ। हामी अनुपयुक्त विभेद गर्छौ र भन्छौं – केही मानिसहरु खराब हुन्छन् र उनीहरूले सजाय पाउनुपर्छ। तिनीहरूलाई राम्रो हुनुहुँदैन। यस्तोबेला उनीहरूबाहेक अरु सबैलाई, विशेषगरी आफैंलाई, चाहिँ राम्रो मात्र होस् भन्ने सोच्छौं।

सम्यक संकल्प

सम्यक विवेकमा आधारित सम्यक संकल्पमा चाहिँ अहिंसक र क्रुरतारहित मनोवृत्ति हुनेछ। तपाईंको मनोवृत्ति यस्तो हुनेछ कि तपाईं दुःखमा परेका मानिसलाई कुनै हिसाबले हानि गर्न, हैरानी दिन वा रिस उठाउन चाहनुहुन्न। अरुको काम बिग्रँदा खुशीमा रमाउनुहुन्न।तपाईंमा करुणाको भाव हुन्छ र अरु दुःख तथा दुःखका कारणहरूबाट मुक्त होऊन् भन्ने सोच्नुहुन्छ। किनकि तपाईंलाई थाहा हुन्छ, सबै दुःखी छन्, कोही पनि दुःखी हुन चाहँदैन र कसैले पनि दुःख पाउनु हुँदैन। यदि कसैले कुनै गल्ती गर्यो भने हामी यसरी सोच्छौं – यसको कारण उनीहरूको भ्रमपूर्ण दृष्टिकोण हो; उनीहरू भित्रैदेखि खराब छन् भन्ने होइन। सम्यक विवेक र सम्यक संकल्प भयो भने हाम्रो वचन र व्यवहार पनि स्वाभाविक रूपमै सम्यक हुन्छ।

आठ अङ्गको संयोजन

अष्टाङ्गिक मार्गका आठवटै अङ्गहरूलाई एकत्र गरेर हेरौंः

  • सम्यक दृष्टि र संकल्पले साधनाको सबल आधार प्रदान गर्छन् र हामीलाई स्वाभाविक रूपमै सम्यक वचन, कर्मान्त (व्यवहार) र आजीविकातर्फ डोहोर्याउँछन्। हामी विवेकको प्रयोग गर्छौं र आफ्नो व्यवहारको अरुमाथि कस्तो असर पर्छ, त्यो आधारमा आफूले गर्नुपर्ने उचित कार्यको निर्क्यौल गर्छौं। यसमा हाम्रो उद्देश्य अरुलाई हानि गर्ने होइन, सहयोग गर्ने हुन्छ।
  • यस आधारमा हामी आफूलाई सुधार गर्दै लैजाने, असल गुणहरूको विकास गर्ने तथा आफ्नो शरीर, रोजाई आदिका भ्रमपूर्ण विचारहरूबाट विचलित नहुने प्रयत्न गर्छौं। हामी एकाग्रताको अभ्यास गर्दै हितकारी काममा केन्द्रित हुन्छौं। यसैमा हाम्रो मानसिक प्रेरणा सबल बन्दै जान्छ। यसप्रकार यी आठै अङ्ग एकआपसमा सम्बन्धित छन्।

हामीले तीन साधना र अष्टाङ्गिक मार्गलाई एक निश्चित क्रममा पनि प्रस्तुत गर्न सक्छौं। तर हाम्रो मुख्य उद्देश्य ती सबैलाई एकीकृत र सम्पूर्ण रूपमा अभ्यास गर्ने हो।

सारांश

बिहान निद्रा खुलेदेखि राती नसुतुञ्जेल हाम्रा इन्द्रियहरू कुनै न कुनै सुखभोगको लालसामा व्यस्त हुन्छन्। आँखाले सुन्दर रूप खोज्छ, कानले मधुर संगीत र मुखले स्वादिष्ट परिकार खोज्छन्। सुखको चाहना गर्नुमा केही खराबी त छैन, तर हाम्रो जीवन त्यसैमा मात्र अल्झिरह्यो भने हामी कहिल्यै पनि सन्तुष्ट हुन सक्दैनौं। हामी आफ्नो कुनै काममा अलिकति पनि एकाग्र हुन सक्दैनौं।

तर त्यसको विपरीत शील, समाधि र प्रज्ञाको तीन साधनाबाट हामी जीवनका प्रत्येक क्षण उत्कृष्ट ढंगले जीउन सक्छौं। व्यक्तिगत सुखको मात्र चाहना गर्न छाडेर आफ्नो र अरुको पनि कल्याणका लागि काम गर्ने खाका अष्टाङ्गिक मार्गले प्रदान गर्छ। किन सम्यक दृष्टि उपयोगी हुन्छ र असम्यक दृष्टि हुँदैन, किन सम्यक व्यवहारले हाम्रो हित गर्छ र असम्यकले हानि गर्छ भन्ने जानेपछि त्यसैअनुरूप हामी काम गर्छौं र हाम्रो जीवन स्वतः उत्तम बाटोमा हिँड्नेछ। हामी एक “सम्पूर्ण बौद्ध जीवन” जीउनेछौं। 

Top