परिचय

चार आर्यसत्य

बुद्धले करीब २५०० वर्ष अघि हालको भारतमा शिक्षा दिनुभएको थियो। उहाँका शिष्यहरू विभिन्न पृष्ठभूमि र क्षमताका थिए। त्यसैले बुद्धले उनीहरूका लागि उपयुक्त हुने र उनीहरूले बुझ्न सक्ने गरी भिन्नाभिन्नै हिसाबले शिक्षा दिनुभएको थियो। तर उहाँले आफ्नो पहिलो शिक्षा सबैलाई एकै हिसाबले दिनुभएको थियो, जुन “चार आर्यसत्य” को शिक्षा थियो। यो शिक्षा उहाँले कसरी बोधिलाभ गर्नुभयो भन्ने कुराको आधारभूत ज्ञानमा आधारित थियो। चार आर्यसत्य जीवनका ती तथ्यहरू हुन् जसलाई यथार्थलाई कल्पनाभन्दा अलग राखेर देख्न सक्ने उन्नत क्षमताका मानिस (आर्य) ले मात्र सत्य हो भनी चिन्न सक्छन्। सामान्यजनले तिनमा रहेको सत्यलाई चिन्न सक्दैनन्। संक्षेपमा भन्नुपर्दा यी चार सत्यले निम्न कुराहरूलाई संबोधित गर्छन्ः

  • मानिसले जीवनमा अनुभव गर्ने दुःख र समस्याका मुख्य प्रकारहरू के के हुन्?
  • तिनका कारण के हुन्?
  • ती समस्याहरूबाट साँच्चिकै मुक्त हुन सम्भव छ? के तिनलाई फेरी कहिल्यै नदोहोरिने गरी निरोध गर्न सम्भव छ? 
  • ती समस्याहरूको निरोध हुनु भनेको हामी दुःखका कारणबाट पनि मुक्त हुनु हो। यसरी निरोध गर्न कुन ज्ञान चाहिन्छ? 

यी प्रश्नहरूको उत्तरलाई बुद्धले आफ्नो प्रारम्भिक शिक्षामा समेट्नुभएको थियो, जसलाई गहिराईमा बुझाउने प्रयत्न उहाँले आफ्नो जीवनपर्यन्त गर्नुभयो।

यी चार आर्यसत्यको विवेचना गर्ने हो भने हामी पाउँछौं, यी सत्यहरू त्यत्तिकै निरपेक्ष रूपमा हावामा अडेका होइनन्। यिनीहरूको एक ठोस आधार छ, र यसलाई राम्रोसँग बुझ्यो भने एक निश्चित लक्ष्यमा पुगिन्छ। सरल शब्दमा भन्ने हो भने यी चार सत्य जीवनका यथार्थहरू हुन्, र यिनीहरू “यथार्थ” कै जगमा अडेका छन्। 

मेरा एक मित्र तथा बौद्ध शिक्षकले बताएजस्तै बुद्धधर्मलाई एक शब्दमा ब्याख्या गर्नुपर्यो भने त्यो शब्द हुनेछ, “यथार्थवाद”। 

यदि यथार्थलाई हेर्न तथा यसलाई असम्भव र अवास्तविक कल्पनाबाट अलग राखेर जान्न र स्वीकार गर्न सक्यौं भने हामी जीवनका समस्याजनक स्थितिहरूको यथार्थ ढंगले सामना गर्न सक्नेछौं।

तसर्थ यथार्थको शिक्षा यी चार सत्यको आधार हो। यो यथार्थभित्र हरेक कुरा कसरी विभिन्न तहमा अस्तित्ववान हुन्छ र मानव जीवनमा तिनको कार्य  के-कस्तो हुन्छ भन्ने कुरा पनि समेटिएको हुन्छ। बुद्धले ती सबैका बारेमा बताउनुभएको थियो। 

तीन बहुमूल्य रत्न

चार आर्यसत्यको ज्ञानबाट दुःख र समस्याहरूमाथि विजय हासिल गर्नका लागि हामीले आफ्नो जीवनलाई कुन दिशा प्रदान गर्नुपर्छ भन्ने जान्दछौं, । बौद्ध शब्दावलीमा “तीन बहुमूल्य रत्न” या “शरणगमनका तीन रत्न” – बुद्ध, धर्म, संघ – ले यो दिशा दर्शाउँछन्। यी प्रत्येक रत्नलाई बुझ्ने पनि विभिन्न तहहरू हुन्छन्। गहनतम स्तरमा यी रत्नहरूको अर्थ यस्तो हुन्छः 

  • धर्म – हामी सबैले जीवनमा लिएको लक्ष्य, अर्थात् दुःख र तिनका कारणहरूबाट मुक्ति। त्यस्तो ज्ञान हासिल गर्ने जसले हामीलाई यी सबैबाट मुक्त हुन सहयोग गरोस्। 
  • बुद्ध – ती सत्त्वहरू जसले यो लक्ष्य पूर्णरूपमा प्राप्त गरिसकेका छन् र जसले हामीलाई पनि सही बाटो देखाउँछन्।
  • संघ – ती सत्त्वहरू जसले बुद्धको शिक्षा अनुसरण गर्दैछन् र लक्ष्यलाई पूर्णरूपमा होइन, आंशिक रूपमा हासिल गरिसकेका छन्।

नालन्दाका १७ आचार्यहरूप्रति वन्दना

परम पूजनीय दलाई लामाले प्राचीन भारतको महान् बौद्ध विहार नालन्दाका १७ महानतम् आचार्यहरूप्रति समर्पित गर्दै उहाँहरूबाट प्रेरणा प्राप्त गर्ने एक सुन्दर वन्दना लेख्नुभएको छ। करीब हजार वर्षअघिसम्म अस्तित्वमा रहेको यो विहार तत्कालीन भारतको सबैभन्दा प्रसिद्ध विश्वविद्यालय थियो। यो भारतीय बौद्ध परम्पराका धेरै महान आचार्यहरूको केन्द्र थियो। दलाई लामाले तीमध्ये १७ महानतम् आचार्यहरूको सम्मानमा लेख्नुभएको श्लोकमा “मलाई पनि तपाईंहरूकै पदचिन्ह अनुसरण गर्ने प्रेरणा प्राप्त होस्” भनेर वन्दना गरिएको छ। व्यक्तिगत वन्दनाहरूको अन्तमा उहाँले संयुक्त रूपमा सबै आचार्यलाई सम्बोधन गर्नुभएको छ। 

यहाँ म ती समापन पदहरूमध्ये एकमा टिप्पणी प्रस्तुत गर्दैछु। मैले माथि चर्चा गरेको दुई सत्य, चार आर्यसत्य र शरणगमनका तीन रत्नलाई यो टिप्पणीले संक्षेपीकृत गरेको छ। शरणगमनको अर्थ हो, हामी यी तीन रत्नले देखाएको दिशामा हिँड्छौं र आफूलाई संसारका दुःख र समस्याहरूबाट बचाउँछौं। 

त्यो पद यसप्रकारको छः 

यी दुई सत्य, जसले हामीलाई सबै चीजको अस्तित्वको आधार प्रदान गर्छन्, को अर्थ जानेपछि,

यहाँ “अस्तित्व” को अर्थ चीजहरू कसरी विद्यमान छन्, तिनीहरूले कसरी कार्य गर्छन् भन्ने हो। यथार्थको मतलब नै त्यही हो। 

हामी अनियन्त्रित पुनर्जन्मको चक्करमा कसरी पर्छौं र त्यसलाई कसरी उल्ट्याउन सकिन्छ भन्ने कुरा पनि चार (आर्य) सत्यका माध्यमले पक्कासँग जान्दछौं।

यदि यथार्थलाई जान्न सक्यौं भने चार आर्यसत्यका मार्फत यो पनि जान्न सक्नेछौं कि हामी आफ्ना समस्याहरूमा कसरी उल्झिरहन्छौं र तिनबाट मुक्त हुने उपाय के हो। 

शरणगमनका तीन रत्नहरू सत्य हुन् भन्ने हाम्रो मान्यता यसरी प्रामाणिक बोधद्वारा पुष्ट हुन्छ।

याद राखौं, यी तीन शरण रत्नहरूले त्यस्तो लक्ष्य प्रस्तुत गर्छन् जुन वास्तविक छन् र जसलाई हामी हासिल गर्न सक्छौं। त्यो लक्ष्य हो –  हाम्रा सबै समस्याको पूर्ण निरोध गर्नु र त्यस्तो निरोधको ज्ञान प्राप्त गर्नु ताकि ती फेरी कहिल्यै उत्पन्न नहुन्। 

बौद्धमार्गमा चल्नु भनेको एक लक्ष्य लिएर अगाडि बढ्नु हो। तर त्यो लक्ष्य प्राप्त गर्न सम्भव छ भनेर कसरी थाहा पाउने? के यो कुनै कल्पना मात्र त होइन? के यो सत्य नभएर सुन्दर कथा मात्र त होइन? कैयौं मानिसहरू केवल आस्थाको आधारमा मात्र त्यस्तो लक्ष्य लिन्छन् र सोच्छन्ः “मेरो गुरुले त्यसो भन्नुभएको थियो। मलाई त्यो पत्याउन मन लाग्छ, त्यसैले पत्याउँछु।”

यो तरीका धेरै मानिसका लागि प्रभावकारी हुन सक्छ, तर अभ्यासका लागि यही नै सबैभन्दा भरपर्दो उपाय भने होइन। लामो समय अभ्यास गरिसकेपछि अक्सर तपाईं आफूले गरिरहेको अभ्यासप्रति प्रश्न गर्न सक्नुहुनेछ। म के गर्दैछु भनेर सोच्न थाल्नुहुनेछ। यसको कारण के हो भने समस्याका असली जड अर्थात् रिस, आसक्ति, स्वार्थीपना, आदि क्लेशहरूले तपाईंलाई अझै पनि छाडेका छैनन्। तिनीहरूबाट मुक्ति पाउन साँच्चिकै कठिन हुन्छ। त्यसैले हाम्रो प्रगतिको गति सुस्त हुन्छ। तर के बुझ्नु जरुरी छ भने सफलता कहिले पनि सीधा रेखामा जाँदैन, यसमा तलमाथि भैरहन्छ। कुनै दिन हामीलाई राम्रो अनुभव हुन्छ, कुनै दिन नराम्रो। आस्थाको आधारमा मात्र अभ्यास गर्दा कहिलेकाहीँ हतास भइन्छ, आफू कतै पुगिरहेको छैन भनेजस्तो लाग्छ। त्यतिबेला आफैँलाई प्रश्न गर्न थाल्नुहुनेछः “के लक्ष्य प्राप्त गर्न सम्भव छ?”

त्यसैले माथिको पंक्तिमा “प्रामाणिक बोधबाट प्रमाणित भएको” भनिएको छ। अर्को शब्दमा भन्ने हो भने तपाईंले तर्क र बुद्धिका माध्यमले लक्ष्यको अस्तित्व रहेको र त्यसलाई प्राप्त गर्न सम्भव रहेको कुरा बुझ्नुभयो भने झन् दृढतापूर्वक त्यसलाई ग्रहण गर्न तथा त्यसरी लक्ष्य प्राप्त गरेका मानिस साँच्चिकै छन् भन्ने कुरामा विश्वस्त हुन सक्नुहुनेछ। र तपाईंले यो कुरा साँच्चिकै हो, कुनै धर्मग्रन्थमा लेखिएको कुरा मात्र होइन भन्ने बुझ्नुहुनेछ। ती कुराहरू यथार्थ हुन् किनकि ती दुई सत्य यथार्थ हुन्, र चार आर्यसत्य तथा तीन शरणरत्नहरू यथार्थमा आधारित र तर्कसंगत छन् भन्ने कुरामा तपाईंलाई दृढ विश्वास हुनेछ।

मलाई प्रेरणा दिनुहोस्, ताकि म यस्तो मुक्ति प्रदान गर्ने चित्त–मार्गलाई पैदा गर्न सकुँ।

सामान्यतः हामी बिउ रोप्छौं, तर यहाँ हामी बिउ होइन, जरा रोप्छौं। यो शब्दावलीले दुई सत्य, चार आर्यसत्य र शरणगमनका तीन रत्न सम्पूर्ण बुद्धधर्मको मूलमा छन् भन्ने कुरा दर्शाउँछ, किनकि बौद्ध मार्गको सबै कुरा त्यहीँबाट शुरु हुन्छ। यो जरालाई आफ्नो चित्तमा सफलतापूर्वक स्थापित गर्नु भनेको हामीले गर्ने सबै अभ्यासलाई दृढ विश्वासको आधार प्रदान गर्नु हो।  त्यसो हुँदा आफू के गर्दैछु थाहा हुन्छ, लक्ष्य प्राप्त गर्न सम्भव छ भन्ने कुरा हामी बुझ्छौं, र लक्ष्य के हो भन्ने पनि राम्रोसँग जान्दछौं। 

मलाई लाग्छ यो बुद्धधर्मको एकदमै महत्त्वपूर्ण पाटो हो, किनकि यदि हामी एउटा आध्यात्मिक बाटो रोजिरहेका छौं भने त्यो बाटो यथार्थपरक छ भन्ने कुरामा आफूलाई दृढतापूर्वक विश्वास हुनु एकदमै जरुरी हुन्छ। यो कुनै विल्कुलै असम्भव आदर्शवादी कल्पना हैन जसप्रति हामी भावनात्मक कारणहरूले गर्दा आकृष्ट भएका होउँ। तर यदि हामीलाई आफ्नो आध्यात्मिक जीवनमा जे गर्दैछौं त्यो यथार्थपरक छ भन्ने दृढ विश्वास भयो भने त्यसमा हितकारी आवेगहरूलाई जोड्न सक्छौं। हामीले आफ्नो बोध र करुणा, उत्साह, धैर्यजस्ता हितकारी आवेगहरूबीच सन्तुलन स्थापित गर्नु आवश्यक हुन्छ।

दुई सत्य

संवृत्ति (सापेक्षिक, व्यावहारिक) सत्य

दुई सत्यहरूको अर्थ जानेपछि, जुन कुनै पनि चीज कसरी अस्तित्त्वमा रहेको छ, जान्ने आधार हो,

यो पंक्तिको पहिलो लाईनले दुई सत्यहरूका बारेमा बताउँछ। ती सत्यहरू हुन् - “संवृत्ति (सापेक्षिक, व्यावहारिक) सत्य” र “गहनतम सत्य”। अर्को शब्दमा भन्नु पर्दा,  ती सत्यहरू कुनै पनि चीजको यथार्थसम्बन्धी दुई सही तथ्यहरू हुन् । यीमध्ये पहिलो सतही हुन्छ भने अर्को गहिरो। दुवै सत्य नै हुन्, तर फरकफरक दृष्टिकोणबाट। यी दुवैलाई फरकफरक ढंगले प्रस्तुत गर्ने गरिन्छ। यहाँ हामी परम पूजनीय दलाई लामाले आम जनसमुदायलाई सम्बोधन गर्दा प्रायः प्रस्तुत गर्ने कोणबाट चर्चा गर्दैछौं।

कारण र कार्य

हामीले अनुभव गर्ने कुनै पनि कुराको सतही सत्य के हो? त्यो के हो भने हामी वर्तमान क्षणमा जे पनि अनुभव गर्छौं, त्यो त्यसका पूर्ववर्ती कारणहरूले गर्दा हुन्छ। अर्को शब्दमा भन्दा, हरेक कुरा कार्य र कारणको सम्बन्धमा आधारित भएर उत्पत्ति वा घटित हुन्छ। आधुनिक भौतिकशास्त्रले पनि कार्यकारणको सिद्धान्तको शिक्षा दिएको छ तर त्यो भौतिक जगतसँग मात्र सम्बन्धित छ, जस्तै भकुन्डोलाई खुट्टाले हान्यो भने त्यो भकुन्डो गुड्छ। तर यस्तो कार्यकारणको सम्बन्ध सामान्य यान्त्रिक सम्बन्ध मात्र हुन्छ।

यद्यपि कुनै कुराको अस्तित्त्व कुन कुन तत्त्वले गर्दा सम्भव हुन्छ भन्ने विश्लेषण गर्ने हो भने कारण र कार्यको सम्बन्धलाई त्योभन्दा निकै गहिरो स्तरमा बुझ्न सकिन्छ। उदाहरणका लागि, आर्थिक समस्या, विश्व तापमान वृद्धि, क्षेत्रीय युद्ध जस्ता मुद्दाहरूमाथि विचार गर्ने हो भने पाउनेछौं, ती कुनै एक कारणले गर्दा उत्पन्न भएका होइनन्। तिनको पछाडि कुनै कारण नहुने पनि हुँदैन, असम्बन्धित कारणहरूले मात्र त्यो कुरा घटित हुने पनि हुँदैन। थुप्रै तत्त्वहरूसँग अन्तरसम्बन्धित रही त्यो कुरा घटित भएको हुन्छ। यसका पछाडि अहिले के भैरहेको छ मात्र होइन, विगतमा के भएको थियो भन्ने पनि महत्त्वपूर्ण हुन्छ। यो देश, अर्थात् युक्रेनकै उदाहरण लिने हो भने अहिले यहाँ जे भैरहेको छ, त्यसका पछाडि सोभियत युनियन, दोश्रो विश्वयुद्ध आदि विविध तत्त्वहरूसँगको सम्बन्धलाई विचार गर्नुपर्ने हुन्छ। हालको आर्थिक र पर्यावरणीय अवस्थाका पछाडि इतिहासदेखिकै विविध घटनाक्रमहरू कारणका रूपमा रहेका हुन्छन्। त्यसैले अहिलेको अवस्थाका पछाडि कुनै एक मानिस वा कुनै एक घटनालाई मात्र जिम्मेवार ठहर्याउन सकिन्न। हेतु र प्रत्ययको एक विशाल अन्तरसम्बन्धित जालोका कारण कुनै पनि चीजको उत्पत्ति हुन्छ। यो एक सत्य हो, होइन त? 

यसलाई मनोविज्ञानको दृष्टिकोणबाट हेरौं - तपाईंको कुनै पारिवारिक समस्या छ भने त्यो कुनै एक कारण वा कुनै कारणबिना नै उत्पन्न भएको हो भन्न सक्नुहुन्न। पारिवारिक समस्याका लागि परिवारका प्रत्येक सदस्यले कुनै न कुनै अनौपचारिक भूमिका खेलेका हुन्छन्। त्यस्तै कार्यालयमा, विद्यालयमा, वा साथीभाईसँगको सम्बन्धमा उनीहरूले जस्तो अनुभव गर्छन्, त्यसमा उनीहरूको आफ्नो व्यवहारको कुनै भूमिका छैन भन्न सकिँदैन। हरेक कुराको कुनै न कुनै प्रभाव हुन्छ। पारिवारिक अवस्था पनि बृहत् सामाजिक, राजनैतिक, वा आर्थिक परिस्थितिभन्दा पृथक रहन सक्दैन। सबै परिस्थिति र तत्त्वले हाम्रो समस्यामा कुनै न कुनै ढंगले प्रभाव पारिरहेको हुन्छ।  

यहाँनेर, यथार्थवादले सबै कुरा एक आपसमा अन्तरसम्बन्धित छन् र एकले अर्कालाई कुनै न कुनै तरीकाले प्रभावित गर्छन् भन्ने तथ्यतर्फ इंगित गर्छ। जे पनि घटित भैरहेको छ, त्यसका पछाडि हेतु र प्रत्ययहरूको एक विशाल जालोले काम गरिरहेको हुन्छ। यो नै यथार्थ हो।

यदि यो कुरा भौतिक वस्तु, सार्वभौमिक विषय तथा पारिवारिक समस्याहरूको हकमा लागू हुन्छ भने हाम्रो व्यक्तिगत जीवनमा पनि लागू हुन सक्ला? सुख र दुःखका बारेमा के भन्न सकिन्छ? के यसको कुनै कारण छ? या यो अकारण नै उत्पन्न हुन्छ? कुनै बेला मलाई खुशीको अनुभव हुन्छ भने कुनै बेला हुँदैन। अब आउने क्षणमा म खुशी हुन्छु कि हुन्न भनेर जान्ने कुनै उपाय छैन। के यस्तो अनुभव कुनै कारणबिना नै हुन्छ? वा यो म अहिलेको क्षणमा के गर्दैछु भन्ने कुरामा निर्भर गर्छ? यो कुरा हामीलाई अर्थहीन लाग्छ, होइन त? हामी कुनै चीज दुई अलग अलग दिनमा खान सक्छौं, एक दिन त्यही कुरामा हामीलाई खुशी लाग्छ, अर्को दिन दुःख। अर्थात्, हाम्रो खुशी र दुःख खानेकुराले गर्दा उत्पन्न भएको होइन। त्यस्तै आफूलाई एकदमै मनपर्ने मानिससँग बस्दा पनि हामीलाई कुनैदिन खुशी हुन्छ, कुनैदिन बेखुशी। म धनाढ्य व्यक्ति हुन सक्छु र मेरो सबै व्यवहार ठीकठाक चलिरहेको हुन सक्छ। तैपनि म दुःखी हुन सक्छु। 

त्यसो भए यो खुशी र बेखुशी कहाँबाट आउँछ? के यो खुशी कुनै माथिल्लो निकायबाट आउने हो जसले कुनै बटन थिचिदिँदा म खुशी हुने वा बेखुशी हुने हो? माफ गर्नुहोला, मेरो आशय तपाईंलाई पीडा पुर्याउने होइन। तैपनि म यो कुरालाई पागलपनको हदसम्म लग्दैछु। तर, यदि तपाईंको हरेक अनुभूति र हरेक घटना – जस्तै भौतिक चीजहरू अगाडि वा पछाडि चल्ने क्रिया वा तपाईंले झुक्किएर तातो चुलोलाई छुँदा हात पोल्ने वा दुख्ने अनुभव – आदि सबै चीज कार्य र कारणको नियम अनुसार चल्छन् भने खुशी र बेखुशी पनि कार्य र कारणको सामान्य नियम अनुसार उत्पन्न नहोलान् र? उपरोक्त श्लोकका सन्दर्भमा सापेक्ष सत्यसम्बन्धी यथार्थको मुख्य विषय नै यही हो। यसले हाम्रो व्यवहार र त्यसको परिणामस्वरूप हामीलाई हुने खुशी वा बेखुशीको अनुभवका बीचको कार्य–कारणको सम्बन्धतर्फ इंगित गर्छ। 

कर्म

अब हामी बुद्धधर्म अनुसार कर्मका बारेमा चर्चा गर्नेछौं। कर्म के हो? यो त्यति सजिलो विषय चाहिँ होइन। कर्मका सम्बन्धमा धेरै व्याख्याहरू उपलब्ध छन्, र धेरै प्रकारका भ्रमहरू पनि छन्। तर मूलतः

कर्मको आशय त्यस्तो बाध्यकारी प्रवृत्तिसँग छ जसद्वारा हाम्रो व्यवहार, वचन, र सोच निर्देशित र निर्धारित हुन्छ। 

विनाशात्मक, सकारात्मक, वा तटस्थ जस्तो भए पनि यदि हाम्रो व्यवहार निम्नानुसारको भएमा त्यसलाई बाध्यकारी भन्न सकिन्छः

  • मलाई रिस उठ्छ, र कसैमाथि चिच्याऊँ भन्ने इच्छा हुन्छ। अन्ततः बाध्य भएर म रिसले चिच्याऊँछु नै।
  • मलाई आफ्नो बच्चाको सुरक्षाको धेरै नै चिन्ता लाग्छ। त्यसैले बेलाबेलामा उ ठीक छ कि छैन भनेर हेरिरहने इच्छा हुन्छ। बाध्य भएर म अनावश्यक रूपमा र सामान्यभन्दा बढी उसको रेखदेख गर्न थाल्छु। 
  • मलाई धेरै भोक लाग्छ र फ्रिजमा गएर केही खानेकुरा टिप्न मन लाग्छ। बाध्य भएर म जान्छु र केही कुरा लिइहाल्छु।

यस्तो बाध्यकारी व्यवहार कहाँबाट आउँछ? यसले हामीलाई कहाँ लिएर जान्छ? कर्म सम्बन्धी शिक्षाले यिनै कुराको चर्चा गर्छ। यसको बौद्ध व्याख्याले के भन्छ भने तपाईंले बाध्यकारी ढंगले व्यवहार गर्दा, बोल्दा, वा सोच्दा त्यस्तो मनोदशाको निरन्तरता हुन्छ र त्यस्तो सम्भाव्यता र प्रवृत्तिहरूको निर्माण हुन्छ, जुन तपाईंको अनुभूतिमा हरक्षण बसिरहन्छन्। विभिन्न परिस्थितिहरूका कारण सक्रिय भए भने यी सम्भाव्यता र प्रवृत्तिहरूले तपाईंलाई आफ्नो व्यवहारको उक्त ढाँचालाई बारम्बार दोहोर्याउन प्रेरित गर्छन्। उक्त मानसिक प्रेरणाका कारण तपाईं अनियंत्रित ढंगले आफ्नो कृत्यलाई बारम्बार दोहोर्याउन विवश हुनुहुन्छ। यस्तो बाध्यता नै वास्तवमा कर्म हो।  

तपाईंले यो प्रक्रियालाई शरीर–क्रियात्मक स्तरमा पनि व्याख्या गर्न सक्नुहुन्छ। कुनै विशिष्ट प्रकारले व्यवहार गर्नका लागि एक स्नायुपथ (न्युरल पाथवे) को निर्माण हुन्छ र विस्तारै त्यो सुदृढ हुँदै जान्छ। त्यसको परिणाम के हुन्छ भने तपाईं आफ्नो व्यवहारको ढाँचालाई सहज रूपमा दोहोर्याउन थाल्नुहुन्छ। निश्चय नै बुद्धधर्म यस्तो भौतिक आधारको खण्डन गर्दैन। यो त त्यस्तो प्रक्रियालाई अनुभवको दृष्टिकोणले  हेर्छ, र साथै त्यसको विश्लेषण कारण र कार्यको एउटा अर्को दृष्टान्तका रूपमा गर्छ। 

उसो भए सुख र दुःखलाई हामीले कसरी बुझ्ने? बुद्धधर्ममा यी कुराहरूलाई पनि कर्मको सिद्धान्तअनुरूप कारण र कार्यको कोणबाट हेरिन्छ। तपाईंले चित्तमा दुःखको अनुभव गर्दै हुनुहुन्छ भने त्यो लामो समयसम्म विनाशकारी आवेगको वशीभूत भएर गरिएको विनाशात्मक व्यवहारका कारणले भएको हुन्छ। सामान्य सुख वा खुशीको अनुभव गर्नुहुन्छ भने त्यो लामो समयसम्म सकारात्मक आवेग (जस्तै धैर्य र दया) बाट प्रभावित भई गरेका सिर्जनात्मक व्यवहारका कारणले भएको हुन्छ। तर यस्तो सामान्य सुख धेरै समयसम्म टिक्दैन र यसले तपाईंलाई सन्तुष्ट पनि बनाउँदैन। यस्तो व्यवहार पनि बाध्यकारी नै हुन्छ किनकि यसमा आफ्नो अस्तित्वका बारेमा भ्रमहरू विद्यमान हुन्छन्, र तपाईं राम्रो काम गर्नै पर्ने, वा पर्फेक्ट हुनै पर्ने बाध्यताबाट प्रेरित हुनुहुन्छ। 

यस्तो कार्यकारणको सम्बन्धलाई हामीले कसरी बुझ्ने? प्रथमतः हामीले विनाशात्मक र सिर्जनात्मक व्यवहारका बीच फरक थाहा पाउनुपर्छ। यो फरक तपाईंले गर्ने कार्यले अरूमा के परिणाम हुन्छ भन्ने कुरामा आधारित हुँदैन। उदाहरणका लागि, तपाईंलाई कसैप्रति रिस उठ्यो र उसमाथि छुरा चलाउनुभयो भने त्यो विनाशात्मक व्यवहार हुन्छ। तर अर्कातर्फ तपाईं शल्यचिकित्सक हुन सक्नुहुन्छ र जीवन बचाउने अपरेसन गर्नका लागि कसैमाथि छुरा चलाउन सक्नुहुन्छ। स्पष्टै छ, दुवै केसमा अर्कामाथि छुरी चलाइएको छ, तर त्यसले मात्र त्यो कार्य विनाशात्मक हो कि सिर्जनात्मक भन्ने कुरा निर्धारित गर्दैन। त्यसको निर्धारण उक्त कार्य के उद्देश्यले गरिएको हो, त्यसले गर्छ। उक्त कार्य गर्नुका पछाडि हाम्रो चित्तको अवस्था कस्तो थियो? उक्त कार्यबाट हामीले के उद्देश्य हासिल गर्न खोजेका थियौं?

हाम्रो उक्त कार्य रिस, आसक्ति, लोभ, अबोधपन, इर्ष्या, अहंकार, स्वार्थजस्ता कुनै अशान्तकारी आवेगको प्रभावमा गरिएको त होइन? हो भने त्यो कार्य विनाशात्मक हो, भलै तपाईंले गरेको काम आफैँमा राम्रो किन नहोस्। उदाहरणका लागि, यदि तपाईंले कसैलाई राम्रोसँग मालिश गरिदिनुभयो, तर तपाईंको उद्देश्य उप्रतिको आसक्ति वा यौनशोषण गर्ने खालको रहेछ भने तपाईंको त्यो व्यवहार विनाशात्मक हुन्छ। त्यसका विपरीत तपाईंको कार्य यस्ता अशान्तकारी आवेगबाट अपेक्षाकृत मुक्त छ भने त्यो कार्य आफैंमा त्यति उत्तम नहुँदा नहुँदै पनि सिर्जनात्मक हुन सक्छ। जस्तै, तपाईं अभिभावक हुनुहुन्छ र आफ्नो चकचके बच्चालाई अनावश्यक उपद्रो नगर्न सिकाउने उद्देश्यले उसको कोठामा पठाउनुहुन्छ, त्यसो गर्दा तपाईंको मनोभाव रिसको होइन प्रेम र स्नेहको छ भने त्यो सिर्जनात्मक व्यवहार हुन्छ। तर यस्तो सिर्जनात्मक व्यवहार पनि अधिकांशतः बाध्यकारी नै हुन्छ किनकि त्यसका पछाडि अचेतन रूपमै तपाईंको आत्मग्राहको भावले काम गरिरहेको हुनसक्छ। माथिको उदाहरणमा तपाईंको चाहना एक असल अभिभावक बन्ने हुन सक्छ।

त्यसो भए अशान्तकारी आवेगको वशमा परी गरिने विनाशात्मक व्यवहार र दुःखका बीच कार्य–कारणको सम्बन्धलाई कसरी बुझ्ने? त्यस्तै, अशान्तकारी आवेगबाट अपेक्षाकृत मुक्त रहेर गरिने सिर्जनात्मक व्यवहार र खुशीका बीच कार्य–कारणको सम्बन्धलाई कसरी बुझ्ने? यो प्रश्न रोचक मात्र होइन, महत्त्वपूर्ण पनि छ। बुद्धले कर्म, विनाशकारी आवेग र आफ्नो अस्तित्वका बारेमा हामीमा रहेको भ्रम नै हाम्रो चित्तावस्थाको कारण हुन् भन्नुभएको छ। ती नै दुःख र सन्तुष्टि नदिने सामान्य सुखका कारण हुन्। दुवै प्रकारका चित्तावस्थामा हुने दुःखबाट मुक्तिका लागि यी दुवै प्रकारका व्यवहारको सीमाबाट पर्तिर गएर हेर्नु आवश्यक हुन्छ।

यसबारे केही चिन्तन गरौं। मानिलिउँ तपाईं रिसले चुर भएर कुनै व्यक्ति वा चीजसँग सम्बन्धित कुनै व्यवहार गर्दै हुनुहुन्छ, बोल्दै वा सोच्दै हुनुहुन्छ भने तपाईंको चित्तमा सहजता हुन्छ? तपाईंको उर्जा शान्त हुन्छ? कुनै हालतमा पनि हुँदैन, बरु व्याकुल हुन्छ। यस्तो बेला तपाईं खुशी हुनुहुन्छ? कोही रिस वा अन्य त्यस्तै विनाशकारी आवेगको वशमा छन् भने त्योबेला उनीहरूले खुशीको अनुभव गर्छन् भन्ने मलाई त लाग्दैन। त्यस्तै, लोभले वशीभूत भएको बेला तपाईंको उर्जा शान्त हुँदैन, तपाईंलाई अझ बढी नपाइएला कि भन्ने डरले सताउँछ। तपाईं कसैसँग एकदमै आसक्त हुनुहुन्छ र उसको सामीप्यताका लागि व्याकुल हुनुहुन्छ भने  तपाईंको उर्जा एकदमै विचलित हुन्छ र तपाईं सहज महसुस गर्नुहुन्न। यसका विपरीत यदि तपाईं रिस, लोभ, स्वार्थ, वा त्यस्तै आवेगद्वारा ग्रस्त हुनुहुन्न र केवल दयाको मात्र अभ्यास गर्दै हुनुहुन्छ भने तपाईंको चित्त अपेक्षाकृत शान्त हुन्छ र उर्जा सहज हुन्छ, होइन त? त्योबेला तपाईं मूलतः खुशी महसुस गर्नुहुन्छ, भलै त्यस्तो खुशी नाटकीय स्तरको नभै सूक्ष्मरूपमा मात्र अनुभव गरिने किन नहोस्! भलै तपाईंको स्वभाव बाध्यात्मक रूपमा “असल काम गर्ने” र हरेक कुरा पर्फेक्ट बनाउन खोज्ने खालको होस्, यदि तपाईंले क्रोधप्रेरित व्यवहारका साटो कल्याणप्रेरित व्यवहार गर्नुहुन्छ भने तपाईंको उर्जा बढी शान्त हुन्छ। त्यसका विपरीत, कुनै सकारात्मक नै काम गर्दै हुनुहुन्छ भने पनि कुनै गल्ती गरिने हो कि वा उत्कृष्ट नभइने हो कि भन्ने डर र चिन्ता राखेर काम गर्नुहुन्छ भने तपाईं अवश्य नै सहज महसुस गर्नुहुन्न। 

यहाँनेर याद राख्नु जरुरी छ, तपाईंको बेखुशी वा सापेक्षिक खुशी तपाईंले गरेको कार्यको समाप्तिपछि पनि केही समय रहिरहन्छ। यसबाट के बुझिन्छ भने तपाईंले अहिले बेग्लै काम गर्दा अनुभव गरिरहेको कुरा पनि पहिला के काम गर्नुभएको थियो, त्यसबाट प्रभावित हुन्छ। कर्म र हामीले अनुभव गर्ने खुशी वा बेखुशीबीचको सम्बन्धबारे बताउने क्रममा बुद्धले कुनै काम गरेको तत्काल पछि हामी कस्तो अनुभव गर्छौं भन्ने कुरा मात्र बताउनुभएको थिएन। उहाँले मूलतः दीर्घकालीन असरहरूबारे बताउनुभएको थियो। तर प्रारम्भिक बुझाईका लागि हामी बाध्यात्मक ढंगले गरिने आवेगात्मक व्यवहार र त्यसले हाम्रो शरीरको उर्जा प्रवाहलाई कसरी प्रभावित गर्छ भन्ने कुरालाई हेर्न सक्छौं। 

हामीले जे अनुभव गर्छौं, त्यो कार्य–कारणको सिद्धान्तअनुसार उत्पन्न हुन्छ, त्यो नै सापेक्षिक सत्य हो। त्यसमा हाम्रो सामान्य मनोदशा पनि पर्छ; हामीलाई के गर्न मन लागिरहेको छ मात्र होइन, हामी खुशी छौं वा बेखुशी छौं भन्ने कुरा पनि पर्छ। यो यथार्थको एक पक्ष हो – यसलाई वन्दनाको पंक्तिमा ‘आधार’ भनिएको छ, जसमा सबै चीज टिकेका हुन्छन् र जसले कुनै पनि चीजको अस्तित्व र काम कारवाहीलाई निर्धारित गर्छ।

परमार्थ सत्य 

यो दोश्रो सत्यले सबै चीजहरूको गहनतम स्तरमा अन्वेषण गर्छ। हाम्रो काल्पनिक प्रक्षेपणका कारण चीजहरू निश्चित ढंगले अस्तित्वमा रहेको र सञ्चालित भएको जस्तो प्रतीत हुन्छ, जुन असम्भव कुरा हो। यसले यथार्थसँग मेल खाँदैन। 

हाम्रा काल्पनिक प्रक्षेपणसँग मेल खानेगरी यथार्थ हुँदैनन्। हाम्रा काल्पनिक प्रक्षेपणहरू यथार्थबाट पूर्णत “रहित” हुन्छन् अर्थात् यथार्थबाट “शून्य” हुन्छन्। 

भ्रमपूर्ण कल्पना गर्ने आदतका कारण चित्तले हाम्रो अस्तित्वको यथार्थका सम्बन्धमा जुन असम्भव प्रक्षेपणहरू गर्छ त्यसका पनि अनेक सूक्ष्म तहहरू हुन्छन्। यो गहनतम (परमार्थ) सत्यको अन्वेषण गर्ने काम हामी अत्यन्त प्राथमिक स्तरबाट शुरु गर्छौं र जान्दछौं, कुनै पनि चीज असम्भव तरीकाले अस्तित्वमा रहेको हुँदैन। होस् पनि कसरी? यथार्थ के हो भने हाम्रो दिग्भ्रमित चित्तले विल्कुलै असम्भव र निरर्थक कुराहरू प्रक्षेपित गर्छ, जससँग मेल खाने कुनै कुरा हुँदैन। त्यसैले त्यो कुरा यथार्थबाट शून्य हुन्छ।

एउटा शास्त्रीय उदाहरणका माध्यमबाट यसलाई बुझ्ने प्रयत्न गरौं ः मानिलिउँ खाटमुनि बिरालो छ तर बालकलाई आफ्नो खाटमुनि राक्षस छ भन्ने लाग्यो। यहाँनेर बालकले बिरालोलाई राक्षसका रूपमा प्रक्षेपित गर्छ, जुन विल्कुलै वाहियात कुरा हो। तर उसलाई खाटमुनि राक्षस छ भन्ने विश्वास भैसक्यो, त्यसैले उ एकदमै डराउँछ। यो वाहियात कुरालाई प्रक्षेपित गर्नाले बालकको मनमा असर त भैसक्यो, तर त्यसले मात्र बिरालोलाई साँच्चिकै राक्षस बनाउँदैन किनकि यस्तो राक्षस भन्ने कुरा हुँदैन। यहाँ शून्यता भनेको त्यस्तो राक्षसको अभाव हो जसलाई बालकले साँच्चिकै राक्षस भनेर प्रक्षेपित गरिरहेको हुन्छ। यस्तो राक्षस न थियो, न हुनेछ। तर त्यो प्रक्षेपणलाई हटाइदिने हो भने पनि खाटमुनि बिरालो त हुन्छ नै। त्यहाँ फिटिक्कै केही नहुने होइन।

आफ्नो आदतका कारण हामी कुनै चीज आफूलाई जस्तो लाग्छ, त्यो त्यस्तै नै हुन्छ भन्ने कल्पना गर्छौं। आफ्नो आँखा अगाडि जे देखिन्छ, अथवा अहिले हामी जे अनुभव गर्दैछौं त्यसको मात्र हामीलाई जानकारी हुन्छ। जस्तै, मलाई अहिले दिक्क लागिरहेको छ भने मलाई लाग्न सक्छ, त्यो बिना कुनै कारण आफसेआफ उत्पत्ति भएको हो। म आफसेआफ नै दिक्दारी महसुस गरिरहेको छु। किन? मलाई थाहा नै हुँदैन। म उदासी वा त्यस्तै मनोदशामा हुनसक्छु। म बेखुशी छु, तर यो अवस्था अहिले मैले गर्दै गरेको कामसँग वा मेरो वरिपरिका मानिससँग कसरी सम्बन्धित छ भन्ने कुराको म भेउ नै पाउँदिन। अनायास नै केही हुन्छ र म बेखुशीको अनुभव गर्न थाल्छु। यस्तो अनुभव एकदम नाटकीय स्तरको हुनुपर्छ भन्ने पनि छैन। यो एक प्रकारले मन्दस्तरमा हुने असन्तुष्टिको अनुभव हुनसक्छ। तर यो अवस्था आउँछ चाहिँ कसरी? सामान्यतः कुनै कारण नै छैन जस्तो लाग्छ। तर त्यस्तो हुँदैन। कारण नहुने कुरा यथार्थ होइन। यो नै परमार्थ सत्य हो।

तसर्थ, संवृत्ति अथवा व्यावहारिक सत्य हो -  मैले अनुभव गर्ने खुशी वा बेखुशीलगायत सबैथोक कार्य–कारणको सिद्धान्तअनुसार चल्छ। यो यथार्थ हो, यद्यपि हामीलाई यथार्थजस्तो लाग्दैन। मलाई जे अनुभव भैरहेको छ, त्यो कुनै कारणबिना नै हावाबाट उत्पत्ति भएको जस्तो लाग्छ। परमार्थ अथवा गहनतम सत्य हो - मैले जस्तो ठानिरहेकोछु, त्यो यथार्थभन्दा फरक हुन्छ। मलाई लागेको कुरा चाहिँ जुन छैन, अर्थात् जुन असम्भव हो, त्यसको प्रक्षेपण मात्र हो। यसलाई अलि राम्रोसँग विचार गर्ने हो भने पाउनुहुनेछ, यो कुरा असाध्यै गहन छ।

एउटा अर्को उदाहरण प्रस्तुत गर्न चाहन्छु। मानिलिऊँ, मेरो प्यारो साथी कुनैबेला मसँग रिसले उफ्रिन्छ। हाम्रो सम्बन्ध असाध्यै राम्रो छ, तर उ कुनैबेला एकाएक मसँग रिसाउँछ र ममाथि खनिन्छ। मलाई के लाग्छ? मलाई लाग्छ, “उसले मलाई माया गर्न छाडिसक्यो।” मलाई एकदम दिक्क लाग्छ र म आफ्नो साथी रिसाएको मात्र सम्झिरहन्छु। म उसलाई त्यही रिसाएको रूपमा मात्र देख्छु उसको अरु सबै कुरा बिर्सन्छु। तर मेरो मनको यस्तो प्रक्षेपण यथार्थभन्दा भिन्न हुन्छ। उ रिसले कराउनु पनि त्यत्तिकै हावामा उत्पत्ति भएको होइन। यस्तो घटना हाम्रो दीर्घकालीन सम्बन्धमा फ्याट्टै कतैबाट असम्बन्धित तवरले आएको हुँदैन। यस्तो अवस्था तपाईंले पनि भोग्नुभएको हुनसक्छ। 

यो अवस्थामा हामी आफ्नो साथीसँगको सम्बन्धको सम्पूर्णतालाई नजरअन्दाज गरिरहेका हुन्छौं। उसँग बिताएका सबै क्षण, उसँगका बाँकी सबै गफगाफ बिर्सन्छौं। त्यत्तिमात्र होइन, हामी यो कुराको बृहत्त् पक्ष देख्दैनौं। त्यो के भने उसको जीवनमा हामीमात्र छैनौं, र हामीसँगको सम्बन्ध मात्र उसको जीवनको समग्रता होइन। मबाहेक पनि मेरो साथीको जीवनमा धेरैथोक चलिरहेको हुन्छ, र ती सबैथोकले उसको व्यवहारलाई प्रभावित गरिरहेका हुन्छन् । उसलाई दिनभरी आफ्नो काममा तनाव भैरहेको होला। अथवा उसलाई आफ्नो आमाबुबासँग केही कुरामा समस्या परिरहेको होला। उसको त्योबेलाको मनस्थितिका कारण मसँग रिसले उफ्रेको होला। यहाँनेर गहनतम सत्य के हो भने मैले उसका बारेमा जुन कुरा प्रक्षेपण गरिरहेको छु, यथार्थ त्यस्तो हुँदैन। उसले मसँग रिसाएर बोल्नु आफैंमा एक छुट्टै घटना हुँदैन। यो हाम्रो सम्बन्धका अन्य विविध आयाम र उसको जीवनमा घटिरहेका अन्य विविध घटनाहरूसँग असम्बन्धित हुँदैन। यो वा अन्य यस्तै घटना अरुसँग असम्बन्धित रही आफैं अस्तित्वमा आएको जस्तो प्रतीत हुन सक्ला, तर यथार्थ त्यस्तो हुँदैन। त्यस्तो यथार्थ हुन सम्भव छैन। अस्तित्वको सत्य त्यो होइन। यस्तो अस्तित्वको सम्भावना पूर्णतया शून्य छ। यसैलाई संस्कृतमा “शून्यता” भनिएको हो। हामीले सामान्यतया शून्य अर्थात् जीरो भनेर बुझ्ने शब्द पनि यही हो।

यसरी दुई सत्यको सन्दर्भबाट हेर्दा कुनै पनि चीज अरुबाट निरपेक्ष रूपमा, अलग्गैसँग अस्तित्ववान हुन सम्भव छैन। त्यसैले यहाँनेर कार्य र कारणको सिद्धान्तले काम गर्छ भन्ने कुरा स्थापित हुन्छ। कार्य र कारण एक अर्कासँग सम्बन्धित हुन्छन् र तिनले सापेक्षिक रूपमा काम गर्छन्। कुनै पनि कुराको कार्य (परिणाम) हुन सम्भव छैन भने त्यसको कारण पनि अस्तित्वमा हुन सक्दैन। यदि कुनै कुराले कुनै कार्य (परिणाम) घटित गराउन सक्दैन भने त्यो कुरा कारण कसरी हुन सक्छ? कुनै पनि चीजको गहनतम सत्य (अर्थात् परमार्थ सत्य) के हो भने त्यो चीज अरु सबैसँग असम्बद्ध र एक्लै अस्तित्वमा रहेको हुँदैन, त्यसरी रहन सम्भव हुँदैन। यसैको आधारमा असर र कारणको यो सापेक्षिक सत्यले काम गर्छ।

यसरी यी दुई सत्य एक अर्काको परिपूरकका रूपमा रहेका हुन्छन्। वन्दनाको पंक्तिमा भनिएजस्तै यस्तो सम्बन्धले त्यो आधार प्रदान गर्छ, जसमा सबै चीज अडेको हुन्छन्। यहाँ “आधार” शब्दले त्योभन्दा पछिको पंक्तिमा आउने कुरातर्फ पनि इंगित गर्छ। त्यो के भने, यथार्थलाई जान्ने यही दुई आधार, अर्थात् दुई सत्य, को सहायताले बुद्धले चार आर्यसत्यको ज्ञान प्राप्त गर्नुभएको थियो।

प्रश्नहरू

यथार्थको वास्तविक अनुभूति 

के वास्तविक यथार्थको प्रत्यक्ष अनुभूति गर्न र भ्रमपूर्ण अवधारणाबाट मुक्त सकिन्छ? कि यो असम्भव कुरा हो? 

होइन होइन, यो सम्भव कुरा हो। हुनत हाम्रो चित्तमा भैरहने गतिविधिका कारण हरेक चीज जस्तो होइन त्यस्तो स्वरूपमा देख्न सकिन्छ। तर त्यसको यथार्थसँग कुनै सम्बन्ध हुँदैन। जे कुराले हाम्रो दृष्टिलाई भ्रमित गरिरहेको हुन्छ, त्यसलाई हटाउन सकिन्छ। किनभने यथार्थ कहीँ जाँदैन, त्यो त छँदैछ। चित्तले जति भ्रमको सिर्जना गरेपनि त्यो यथार्थको अंग हुन सक्दैन। हाम्रो चित्तले कुनै प्रक्षेपण वा भ्रमबिना पनि काम गर्न सम्भव छ। 

यसरी हामी जान्दछौं कि जब हाम्रो चैतसिक गतिविधिले सत्यलाई बंग्याउँछ, तब हामीलाई समस्या हुन्छ, दुःख र बेखुशीको अनुभव हुन्छ। तर यसरी सत्य बंग्याएर हेर्नबाट आफ्नो चित्तलाई रोक्न सकिन्छ। त्यसो हुँदा हामी आफ्ना लागि समस्या खडा गर्ने र त्यसैमा रुमलिने प्रक्रियाबाट जोगिन्छौं। यस्तो अवस्था प्राप्त गर्न हाम्रो चित्त सक्षम छ भन्ने जानेपछि यसको प्राप्तिलाई नै आफ्नो जीवनको सबैभन्दा सुरक्षित दिशानिर्देशका रूपमा लिन्छौं र दुःखबाट टाढा रहन सक्छौं। यो सुरक्षित दिशा नै “शरणगमन” हो। तर जीवनलाई यस्तो लक्ष्यमा डोर्याउनका लागि प्रथमतः यस्तो लक्ष्यको प्राप्ति साँच्चिकै सम्भव छ भन्ने विश्वास हुनुपर्छ। मैले माथि चर्चा गरेको कुरा यथार्थमा आधारित छ र यसलाई हामीले बोध गर्न सक्छौं भन्ने जानेपछि हामीमा त्यस्तो विश्वास जाग्न सक्छ। 

तर यसरी यथार्थसँग आफूलाई परिचित गराउन र मनले उत्पन्न गर्ने बाधाहरू पन्छाउन निकै लामो प्रशिक्षणको आवश्यकता पर्छ। यसैका लागि ध्यानको अभ्यास चाहिने हो। यो परिप्रेक्ष्यमा ध्यान अभ्यासको अर्थ हामी आफैंलाई यथार्थ जान्ने कुरामा अभ्यस्त गराउनु हो। यथार्थलाई जान्नु एक हितकारी अभ्यास हो भन्ने बुझेर यसलाई बानीको रूपमा विकास गर्नुपर्छ। तपाईंले यस्तो बानीको विकास गर्नुभयो भने कसैलाई भेट्दा उसको बाहिरी रंगरूप कस्तो देखिन्छ भन्ने आधारमा मात्र उसलाई हेर्नुहुने छैन। बरु तपाईं उसको शिशु अवस्था, बाल्यकाल, जवानी, र उसको जीवनलाई प्रभावित गर्ने कैयौं कुरालाई एकसाथ विचार गर्न सक्नुहुनेछ। उनीहरू पक्कै पनि बृद्ध हुनेछन् र अन्य धेरै कुराले उनीहरूलाई प्रभावित पार्नेछ। तपाईंले उक्त मानिसको जीवनको सम्पूर्णता देख्न सक्नुहुनेछ, र त्यहाँ जे पनि हुन्छ, त्यो सबै एक आपसमा अन्तरसम्बन्धित छ भन्ने बुझ्न सक्नुहुनेछ। यसरी कुनै मानिसको सम्पूर्ण यथार्थलाई विचार गर्न सकियो भने उसलाई फगत तत्क्षणमा उब्जिएको चित्रजस्तो व्यवहार नगरी समग्रतामा यथार्थपरक र कल्याणकारी ढंगले व्यवहार गर्न सक्नुहुनेछ। 

यसका लागि तपाईंलाई तालिमको आवश्यकता पर्छ। पक्कै पनि तपाईंले उसको जीवनको सबै विवरण र त्यसलाई प्रभाव पार्ने कुराहरूबारे जान्नुहुन्न। तर त्यसले खासै फरक पर्दैन। केवल यो मात्र जान्नुहोस् कि उक्त मानिसको एक इतिहास छ, जसलाई अनेक कुराले प्रभावित पारेको थियो, र सम्भवतः त्यस्तै उसको एक भविष्य पनि हुनेछ। यति मात्र विचार गर्यो भने तपाईं उक्त मानिसको वास्तविक यथार्थलाई खुलारूपले हेर्न सक्षम पाउनुहुनेछ। उदाहरणका लागि, तपाईंले कुनै बालक देख्नुभयो भने उक्त बालकमा एक सम्भावित वयस्क मानिस पनि देख्नुहुनेछ। अहिले म जे गर्छु, त्यसको असर यो बालक वयस्क हुँदा पर्नेछ भन्ने पनि जान्नुहुनेछ। तपाईंले चित्रलाई समग्रतामा हेर्नुहुनेछ। यसरी तपाईं यथार्थसँग जोडिनुहुनेछ।

Top