चार आर्य सत्यबाट तीन रत्नतर्फ

पुनरावलोकन

परम पूजनीय दलाई लामाद्वारा रचित वन्दनाको पंक्तिमाथिको हाम्रो छलफललाई निरन्तरता दिँदैछौं। यसमा दुई सत्यबाट चार सत्यको बोध कसरी हासिल गर्ने र त्यसका आधारमा तीन बहुमूल्य रत्नमाथि दृढ विश्वास कसरी जागृत गर्ने भन्ने बताइएको छ। कुनै पनि चीज कसरी अस्तित्वमा रहन्छ भन्ने कुरा दुई सत्यबाट जानिन्छ ः 

  • सापेक्ष वा संवृत्ति सत्य, अर्थात् हामीले प्रत्यक्षतः देख्ने कुरा हेतु र प्रत्ययहरूमा आधारित भै उत्पन्न भएको हुन्छ। यो संसारमा कुनै पनि चीजले के काम कसरी गर्छ भन्ने जानेपछि यो बोध प्रष्ट हुन्छ। तर दुर्भाग्यको कुरा, हामी सामान्यतया चीजहरूलाई यो ढंगले देख्न सक्दैनौं।
  • गहनतम वा परमार्थ सत्य, अर्थात् कुनै पनि चीज हामीले गरेका भ्रमपूर्ण प्रक्षेपणजस्तै असम्भव तरीकाले अस्तित्त्वमा हुँदैन। उदाहरणका लागि, हामी कुनै पनि कुरा त्यसको आफ्नै बलमा उत्पत्ति भएको हुन्छ भन्ने सोच्छौं किनकि त्यसलाई त्यही रूपमा देखेका हुन्छौं। हामीलाई लाग्छ तिनीहरू सबै हेतु, प्रत्यय, सहयोगी घटक वा सम्बन्धित कुराहरूबाट अलग आफ्सेआफ अस्तित्त्वमा आएका हुन्। तर त्यो सत्य होइन। 

हाम्रो छलफलका लागि यसले आधार प्रदान गर्छ। 

यथार्थलाई सही रूपमा देख्न नसक्ने हाम्रो भ्रमका बारेमा चार आर्यसत्यका माध्यमबाट जानिन्छ। यथार्थलाई नजानेर गरिने भ्रमपूर्ण बोधका कारण हामीलाई दुःख हुन्छ। यो दोस्रो आर्यसत्य हो भने हामीले अनुभव गर्ने दुःख पहिलो आर्यसत्य हो। अर्कातर्फ, यथार्थलाई प्रष्टसँग देख्न सक्यौं र त्यसमा निरन्तर केन्द्रित रहन सक्यौं भने त्यो नै तेस्रो आर्यसत्य बन्न जान्छ, जुन दुःखको यथार्थ निरोधको अवस्था हो। यसको बोध नै त्यो मार्ग अथवा चौथो आर्यसत्य हो जसले दुःख निरोधको बाटो देखाउँछ।

यथार्थको स्पष्ट बोध नभएका कारण हामी अज्ञानता र भ्रममा आधारित व्यवहार गर्छौं र अनियन्त्रित ढंगबाट हुने पुनर्जन्मको निरन्तरतालाई कायम राख्छौं। यदि आफूलाई यो अज्ञानताबाट मुक्त गर्न सक्यौं भने हामी सांसारिक पुनर्जन्मको प्रक्रियालाई रोक्न सक्छौं वा त्यसबाट बाहिर निस्कन सक्छौं। 

तीन बहुमूल्य रत्न

अब हामी वन्दनाको तेस्रो पंक्तिमाथि चर्चा गर्छौं। 

शरणगमनका तीन रत्नहरू सत्य हुन् भन्ने हाम्रो मान्यता यसरी प्रामाणिक बोधद्वारा पुष्ट हुन्छ।

ती तीन रत्न बुद्ध, धर्म र संघ हुन् भनेर हामीले चर्चा गरिसक्यौं। यी तीनै शब्द संस्कृतबाट आएका हुन्। शाक्यमुनि बुद्ध र अन्य सबै बुद्धहरू बोधि प्राप्त गरिसकेका सत्त्वहरू हुन्। उनीहरू सबैले कसरी बोधि प्राप्त गर्न सकिन्छ भन्ने शिक्षा दिन्छन्। उनीहरूले दिने शिक्षा नै धर्म हो। संघ भनेको सिद्धिप्राप्त सत्त्वहरू हुन्। सामान्य हिसाबले बुझ्दा तीन रत्नको अर्थ यही हो। तर तिनलाई त्योभन्दा गहिरो स्तरमा पनि बुझ्न सकिन्छ।

गहिरो स्तरमा धर्मले वास्तविक बोध बुझाउँछ। यो बोध तेस्रो र चौथो आर्यसत्यको बोध हो। अघिल्लो चर्चाबाट तपाईंलाई सम्झना होला, तेस्रो सत्य भनेको दुःख र यसका कारणहरूको यथार्थ निरोध हो। यस्तो निरोधका पनि चरणहरू हुन्छन्। पूर्णरूपमा निरोध हासिल गर्नु भनेको अनियन्त्रित पुनर्जन्मको श्रृंखला (संसार) बाट मुक्त हुनु हो। कार्य र कारणको सम्बन्धलाई ठीकसँग जान्न नदिने तत्त्वहरूबाट आफूलाई मुक्त गराईसकेपछि हामी आफूलाई मात्र होइन, अरु सबैलाई पनि मुक्तिको बाटो देखाउन सक्छौं। तब हामी बोधिप्राप्त बुद्ध बन्छौं। चौथो सत्य भनेको त्यो मार्ग वा बोध हो जसले यथार्थ निरोधको अवस्थामा पुर्याउँछ। 

यी दुई सत्य नै खासमा शरणरत्न हुन्। शरणरत्न भनेको त्यो चीज हो जसले हामीलाई सुरक्षा प्रदान गर्छ। यहाँनेर यसको अर्थ दुःखबाट र अरुलाई सहयोग गर्न नसक्ने अक्षमताबाट हामीलाई सुरक्षा प्रदान गर्नु हो। यदि हामीले यथार्थ निरोध र यथार्थ मार्गबोधको चित्तावस्था हासिल गर्न सक्यौं भने आफूले गर्ने दुःखको अनुभूति र अरुलाई सहयोग गर्न नजान्ने तथा नसक्ने अवस्थाबाट बच्छौं। यसको अर्थ हामी आफैंले त्यो अवस्था हासिल गर्ने हो; त्यो अवस्थामा पुगेको अरू कसैप्रति स्वयंलाई समर्पित गरिदिएमा उसले कुनै जादुई ढंगले आफूलाई बचाइदिनेछ भन्ने कामना गर्ने होइन।

तथाकथित अब्राहमिक धर्महरू –– यहुदी, क्रिश्चियन र इस्लाम –– इतिहासमा आधारित धर्महरू हुन्। यी तीनै धर्ममा एक ऐतिहासिक व्यक्तित्व छन्, जसले निश्चित ऐतिहासिक समयमा कुनै दैवी ज्ञान पाएका हुन्छन्। उनीहरूले त्यही ज्ञान अरुसामु सत्यका रूपमा प्रकट गर्छन्, र त्यो नै अन्तिम सत्य हुन्छ। मोजेस वा जिजस वा मोहम्मदले के हासिल गरे, हामी ठ्याक्कै त्यही गर्न सक्दैनौं। तर उनीहरूले जे हासिल गरे त्यसैमा हामीले आस्था राख्नुपर्छ, त्यसैबाट हामी आफ्ना दुःखबाट पार पाउँछौं। यहाँ आस्थाको अर्थ या त ती व्यक्तिहरूप्रति व्यक्तिगत आस्था हुन्छ, या उनीहरूले सिकाएको वा प्रकट गरेको कुराप्रतिको आस्था हुन्छ, जस्तै - परमेश्वरले मोजेसलाई कुनै ऐतिहासिक समयमा दिएका दश आदेशहरू, वा जिजसले प्रकट गरेका दश नयाँ आदेशहरू (न्यू टेस्टामेन्ट), वा मोहम्मदले प्रकट गरेका कुरान। यसरी प्रकट गर्ने क्रिया महत्त्वपूर्ण ऐतिहासिक घटनाहरू हुन्, जुन ती धर्मको केन्द्रविन्दुका रूपमा रहेका छन्। 

यसका विपरीत भारतीय धर्महरू (हिन्दु, बौद्ध, जैन आदि) चाहिँ “धर्ममा आधारित धर्महरू” हुन्। यिनको प्रकृति विल्कुल फरक छ। बुद्ध, कृष्ण, वा महावीर (जैन धर्मका प्रवर्तक) को जीवनका ऐतिहासिक घटनाहरू ती धर्मको केन्द्रविन्दुका रूपमा रहेका छैनन्। ती व्यक्तिहरूले जुन अवस्था हासिल गरे हामी स्वयंले वा अन्य जोकोहीले पनि सोही अवस्था हासिल गर्न सक्छौं। बुद्धधर्मको कुरा गर्दा हामी सबैले मुक्ति वा बोधि हासिल गर्न सक्छौं। त्यसरी नै अन्य धर्ममा पनि मुक्तिको आफ्नै किसिमको व्यवस्था छ। पश्चिमा अब्राहमिक धर्महरू र भारतीय धर्महरूमा भएको यो नै मूलभूत भिन्नता हो।

यी तीन शरणरत्नहरूको चर्चा गर्दा हामी पश्चिमाहरूले आफू हुर्किएको परिवेशमा जस्तै अब्राहमिक धर्मको कोणबाट हेर्नु हुँदैन। बुद्ध एक्लैले बोधि लाभ गरेका होइनन्, र उनीप्रति आस्था राख्दैमा हाम्रो सुरक्षा भैहाल्ने होइन। त्यसैले (पश्चिमा परिवेशमा) म शरणगमन भन्ने शब्द धेरै प्रयोग गर्न रुचाउँदिन किनकि त्यसले एक खालको निष्क्रियताको भान पार्न सक्छ। “बुद्ध, मलाई बचाऊ!” यति भनेर पुकारा गर्दैमा हामी बच्ने होइन। यो बुद्धधर्म होइन। त्यसैले मलाई “सुरक्षित दिशा” भन्ने शब्द प्रयोग गर्न मन लाग्छ। यहाँ हामी त्यही अवस्था हासिल गर्न सक्छौं, जुन बुद्धले गरेका थिए। बुद्धले हामीलाई आफ्नो कल्याणको बाटो देखाएका थिए, तर त्यसलाई व्यवहारमा उतार्ने काम हामी आफैंले गर्नुपर्छ। आफ्नो सुरक्षाका लागि हामी आफैंले प्रयत्न गर्नुपर्छ, जसले हामीलाई दुःखबाट बच्न सहयोग गर्छ। 

धर्मरत्न 

गहन स्तरमा धर्मरत्न (या यसलाई तपाईंले जे नाम दिनुस्) दुर्लभ र बहुमूल्य चीज हो। तिब्बतीहरूले धर्मरत्नलाई बुझाउन दुई शब्द प्रयोग गर्छन् जसको शाब्दिक अर्थ यही हुन्छ ः दुर्लभ र बहुमूल्य। हामीले चाहेको अवस्था भनेको साँच्चिकै यथार्थ निरोधको अवस्था र त्यस्तो निरोधसम्म पुर्याउने तथा त्यसैबाट फलित हुने हाम्रो चित्तमार्गको अवस्था हो। यो अवस्था हामी आफैंले प्राप्त गर्नुछ, त्यसैले हामी त्यो अवस्था हासिल गर्न सम्भव छ भन्नेमा विश्वस्त हुनु आवश्यक छ। दुई सत्य र चार आर्यसत्यको हाम्रो चर्चाले मुक्ति र बोधिको अवस्था विद्यमान छ भन्ने कुरा बुझ्न सहयोग गर्छ, र त्यो अवस्थासम्म हामी आफैं पुग्न सक्छौं भन्नेमा आश्वस्त बनाउँछ।

बुद्धरत्न

बुद्धहरू ती हुन् जसले सम्पूर्ण रूपमा मुक्ति र बोधि हासिल गरिसकेका छन्। शाक्यमुनि मात्र होइन, यस्ता बुद्ध अरु पनि धेरै छन्। उनीहरूले आफूले हासिल गरेको अवस्था र त्यो अवस्थासम्म हामी कसरी पुग्न सक्छौं भन्ने शिक्षा दिएका छन्। उनीहरूले दुई तरीकाबाट शिक्षा दिन्छन् ः प्रत्यक्ष उपदेश दिएर र आफ्नै जीवनशैलीलाई उदाहरण बनाएर। यसको आधार हो - उनीहरूको आफ्नो बोध तथा अनुभूति। यो एकदमै महत्त्वपूर्ण विषय हो, किनकि उनीहरूबाट हामी के सिक्न सक्छौं भने शाब्दिक उपदेश दिनुका साथसाथै जे उपदेश दिने हो, त्यसलाई स्वयं आफ्नो जीवनमा उतारेर पनि शिक्षा दिन र अरुलाई सहयोग गर्न सकिन्छ। आखिर धर्म भनेको कुनै अमूर्त शास्त्रज्ञान होइन, यो त हामी सबै मानिसले आफ्नो जीवनमा वास्तविक रूपमै उतार्न सक्ने कुरा हो।

संघरत्न 

केही मानिसलाई लाग्न सक्छ, हामीलाई शरणगमनको यो तेस्रो रत्न किन चाहियो? आर्य संघ किन चाहियो? बुद्ध र धर्ममात्र पर्याप्त छैनन् र? सामान्यतया हामी भिक्षु र भिक्षुणीहरूलाई संघ भनेर बुझ्छौ। तर संघरत्न भनेको त्यो होइन। जसरी मूर्ति र चित्रहरूले बुद्धको र ग्रन्थहरूले धर्मको प्रतिनिधित्व गर्छन्, त्यसरी नै भिक्षु र भिक्षुणीहरूले पनि संघको प्रतिनिधित्व मात्र गर्ने हो। बुद्ध, धर्म, र संघको प्रतिनिधिका रूपमा यी मूर्ति, ग्रन्थ, तथा भिक्षु र भिक्षुणीहरूले हामीलाई सम्मान प्रकट गर्ने एक आलम्बन मात्र दिने हुन्। हामीलाई अमूर्त भन्दा मूर्त चीजप्रति सम्मान प्रकट गर्न सजिलो लाग्ने भएकाले तिनको सहायता लिइएको हो। त्यसैले तिनलाई गहन स्तरमा जान्नु आवश्यक छ।

संघरत्न एकदमै महत्त्वपूर्ण छ। यहाँ संघको अर्थ ती आर्यहरू हुन् जसले चार आर्यसत्यको सत्यतालाई दुई सत्यको आधारमा प्रत्यक्ष जानेका छन्। उनीहरूको बुझाई धारणागत ज्ञान मात्र होइन। उनीहरूले सम्पूर्ण रूपमा नभए पनि निश्चित हदसम्म दुःख निरोध र निरोध चित्तमार्गको अवस्था हासिल गरिसकेका हुन्छन्। माथिल्लो स्तरका आर्यहरू त्यस्ता सिद्धहरू हुन् जसले यो अवस्था अलि गहन स्तरमा हासिल गरिसकेका छन्। उनीहरू अन्ततः सम्पूर्ण रूपमा मुक्त र बोधिप्राप्त हुने दिशामा छन्। चार आर्यसत्यलाई आर्य किन भनिएको भने त्यसलाई यी सिद्धहरूले धारणाको स्तरबाट माथि पुगेर प्रत्यक्ष रूपमा सत्य भनी जानिसकेका छन्। यसबाट हामी देख्छौं ः 

  • बुद्ध भएपछि मात्र यथार्थ निरोध र चित्तमार्गको अवस्था हासिल हुन्छ भन्ने होइन। यो एक क्रमिक पद्धति हो। 
  • सम्पूर्ण मुक्ति वा बोधिप्राप्त हुनु अगावै हामी यथार्थ दुःखका अनेक आयामहरूलाई जान्न र तिनलाई केही मात्रामा क्षय गर्न सक्छौं किनकि केही हदसम्म हामीले तिनको यथार्थ कारणबाट छुटकारा पाइसकेका हुन्छौं। 

मुक्ति र बोधिप्राप्तिको क्रमिक पद्धति हुन्छ, जसको शुरुवात हामी बुद्ध वा मुक्त सत्त्व बन्नुभन्दा धेरै अगाडि शुरु भैसकेको हुन्छ। हामीलाई बुद्धसँग भन्दा यो बाटोमा अगाडि बढिसकेका आर्यहरूसँग सहयोग लिन सजिलो हुन सक्छ। उनीहरूसँग केही दोष अझै बाँकी हुन्छन्। साथै उनीहरू पुनः पुनः दोहोरिरहने अनियन्त्रित पुनर्जन्मको श्रृंखलाबाट मुक्त नभैसकेका हुन सक्छन्। त्यसैले उनीहरूसँग नजिकिएर सहयोग प्राप्त गर्न सजिलो हुन्छ।  

आर्यसंघले हामीलाई हौसला र प्रेरणा दिन्छ। यदि क्रमिक रूपमा उनीहरूजस्तै सुरक्षित दिशामा हिँड्ने हो भने मुक्ति र बोधिको महत्तम लक्ष्य हासिल गर्न सक्छौं। अन्तिम लक्ष्यसम्मै पुग्न सकिएन भने पनि हामीलाई दुःखी बनाउने अज्ञानताबाट केही हदसम्म छुटकारा पाउन सक्छौं, जसको फलस्वरूप आफ्ना दुःखहरूबाट केही मात्रामा र केही समयका लागि भए पनि मुक्ति पाउन सक्छौं। यथार्थको बोधमा आफूलाई कुन हदसम्म स्थित राख्न सक्छौं, त्यसैमा हाम्रो सफलता निर्भर गर्छ। आर्यहरूले अनवरत रूपमा त्यसमा आफूलाई स्थित राख्न सक्दैनन्, तर बुद्धले सक्छन्। 

यहाँनेर बुझ्नु जरुरी छ, मुक्ति (निर्वाण) र बोधि एउटै कुरा होइन। मुक्ति भनेको अनियन्त्रित तवरले दोहोरिरहने पुनर्जन्मको श्रृंखलाबाट मुक्त हुनु हो। यो भनेको हामी अर्हत्, अर्थात् मुक्त सत्त्व हुँदा प्राप्त हुने अवस्था हो। तर बोधिको अवस्थामा तपाईं आफ्ना अशान्तकारी आवेग र आफ्नो अस्तित्वबारेको भ्रमका पर्दाहरूबाट मात्र छुटकारा पाउनुहुन्न, अपितु बोधजन्य आवरण, अर्थात् बेहोशीमा रहिरहने निरन्तरको बानीबाट पनि छुटकारा पाउनुहुन्छ।

अर्को शब्दमा भन्ने हो भने, हाम्रो चित्तले निरन्तर रूपमा अनेक खालका असम्भव प्रक्षेपण गरिरहेको हुन्छ, र ती असम्भव प्रक्षेपणलाई पत्याइरहने हाम्रो बानी परेको हुन्छ। तिनले नै सत्यको प्रतिनिधित्व गर्छन् भन्ने भ्रममा हामी निरन्तर हुन्छौं। यसबाट हाम्रा अशान्तकारी आवेगहरू जन्मिन्छन्। यस्ता भ्रमात्मक प्रक्षेपणहरूलाई सत्य मान्न छाड्यौं हाम्रो मुक्ति हुनेछ। यो सबै वाहियात कुरा हो, र चाहे हाम्रो अनुभूति वा चीजहरूको प्रकृति त्यस्तै किन नदेखियोस्, त्यो वास्तविक यथार्थ होइन भन्ने बोध हामीलाई हुनेछ। तर हाम्रो बोधको क्षमता अझैपनि सीमित नै छ। हामी चीजहरू आफ्सेआफ अस्तित्वमा छन् भन्ने सोच्छौ तथा तिनीहरूलाई वर्ग विभाजन गरेर एकातिर थन्क्याउन प्रवृत्त हुन्छौं। तैपनि तिनीहरूको वास्तविक सत्य त्यो होइन, यति चाहिँ हामी बुझ्न सक्छौं। 

पारमाणविक भौतिकशास्त्र (एटोमिक फिजिक्स) को अत्यन्त साधारण स्तरबाट हेर्दा पनि हामी पाउँछौं, परमाणु र उर्जा क्षेत्रहरू त हुन्छन् तर कुनै पनि चीजलाई अस्तित्व प्रदान गर्ने त्यस्तो मूर्त रेखा हुँदैन जसका आधारमा हामी भन्न सकौं कि “यो रेखाबाट यो चीजको अस्तित्व शुरु भयो र त्यो परको रेखासम्म यसको अस्तित्व छ, त्यहाँभन्दा पर छैन।” कुनै पनि चीज त्यति मूर्त हुँदैन जति त्यो देखिन्छ। हामीले आफूलाई यस्तो संज्ञानात्मक अंधकारबाट मुक्त गर्न सक्यौं भने हाम्रा भ्रमकारी धारणाहरू बन्द हुनेछन्, चित्तले तिनको प्रक्षेपण गर्न बन्द गर्नेछ र हामीलाई बोध प्राप्त हुनेछ।  बोध प्राप्त भएपछि एकैसाथ सबै चीजहरूबीचको अन्तरसम्बन्धलाई तत्काल जान्न सक्छौं। यसबाट अरुलाई पनि बोधिलाभ गराउन र मुक्तिको बाटो देखाउन सक्ने सबैभन्दा कुशल बाटोको ज्ञान हामीलाई हुन्छ। 

आर्यको कुरा गर्दा हामी बोधिसत्त्व आर्यहरूको मात्र कुरा गर्दैनौं जसले बोधिप्राप्तिको लक्ष्य राखेका छन्। हामी निर्वाण (मुक्ति) को मात्र लक्ष्य राख्ने आर्यको पनि कुरा गर्छौं। आफूलाई सुरक्षित दिशा प्रदान गर्ने तीन शरणरत्नको चर्चा गर्दा हामी निर्वाण र बोधि दुइटै लक्ष्य लिएका बोधिसत्त्व मात्र होइन, स्व–निर्वाण मात्रको प्रयास गर्दै गरेका आर्यसंघलाई पनि ध्यानमा राख्छौं। 

तीन शरणरत्नमा दृढ विश्वासको विकास 

दुई सत्य र चार आर्यसत्यका माध्यमबाट यो संसारमा हामी कसरी जकडिएका छौं र यसबाट कसरी उम्किन सकिन्छ भन्ने कुराको बोध भएपछि धर्मरत्नको गहनतम स्तरका बारेमा हामीलाई दृढ विश्वास हुन्छ। गहनतम स्तरमा धर्मरत्नको अस्तित्व रहेको कुरा सत्य हो भन्नेमा हामी पक्का हुन्छौं। र, असम्भव चीजहरूका बारेमा भ्रामक प्रतीति उत्पन्न गराउने मिथ्या दृष्टि हाम्रो चित्तको अन्तर्निहित गुण होइन भन्ने कुरा हामी प्रष्टसँग बुझ्न सक्छौं। किन? किनकि जब हामी अज्ञानको विपर्याय (अर्थात् धर्म) माथि ध्यान केन्द्रित गर्छौं, तब त्यसबाट मुक्त हुन सक्छौं। 

यसलाई अर्को ढंगले बुझ्ने हो भने जब हामी चीजहरूको अस्तित्वसम्बन्धी दुई सत्यको बोधमा आफूलाई केन्द्रित गर्छौं, तब भ्रमपूर्ण प्रतीतिहरू हाम्रासामु हुँदैनन्। त्यसैले त्यसमा विश्वास गर्ने कुरै आउँदैन। यदि तपाईं यही बोधमा पूर्णरूपेण केन्द्रित रहनु सक्नुभयो भने तपाईं सत्य मार्गमा रहनुहुनेछ, र तपाईंले यथार्थ निरोधको अवस्था हासिल गर्नुहुनेछ। यो कुरा तर्कका माध्यमबाट पनि बुझ्न सकिन्छ। यो यथार्थ भएको कुरा तपाईं पुष्ट गर्न सक्नुहुनेछ। त्यसपछि तपाईंलाई दुःख र साधारण सुखका उतारचढावको अनुभूति हुँदैन र तपाईं अनियन्त्रित ढंगबाट बारम्बार हुने जन्मबाट मुक्त हुनुहुनेछ।

यहाँनेर तपाईंलाई लाग्न सक्ला – “यदि हामी जतिबेला पनि अज्ञानतामाथि ध्यान केन्द्रित गरिरहन्छौं भने ज्ञान वा बोध त प्राप्त हुँदैन,” र यी दुईमध्ये कुन तरीका ठीक हुन्छ भन्ने प्रश्न उठ्ला – अज्ञानतामाथि ध्यान केन्द्रित राख्नु जो यथार्थअनुरूप छैन, या बोधमाथि ध्यान केन्द्रित राख्नु जो यथार्थअनुरूप छ?

यसलाई विश्लेषण गर्ने हो भने हामी पाउँछौं, अज्ञानतालाई थामिराख्ने कुनै ठोस आधार हुन सक्दैन तर सही बोधलाई तर्कको बलले थाम्न सकिन्छ। चीजहरू हेतु र प्रत्ययका आधारमा उत्पत्ति हुन्छन्, तिनीहरू आफ्सेआफ नै अस्तित्वमा आउने होइनन्। यसका अलावा, यदि हामीले जुनसुकै समय पनि सही बोधमै आफ्नो ध्यान केन्द्रित राख्न सक्यौं भने परिणामस्वरूप थप दुःख वा सांसारिक पुनर्जन्महरूको चक्करबाट बच्छौँ।

यसले हामीलाई फेरी चार आर्यसत्यतर्फै लैजान्छ। हाम्रो लक्ष्य के हो? के हामी सदा सर्वदा दुःख नै चाहन्छौं? यदि चाहन्छौं भने हामी अज्ञानतामै बसौं, दुःखले हाम्रो साथ छोड्ने छैन। कति सजिलो! तपाईंलाई त्यसो गर्ने छुट छ। तर तपाईंलाई बुद्धधर्मको आध्यात्मिक मार्गले बताएजस्तै दुःखबाट छुटकारा चाहिएको छ भने यथार्थमा आधारित भई बोधमै केन्द्रित रहनु आवश्यक हुन्छ। यो कुरा एकदमै प्रष्ट छ।

शरणगमन सम्बन्धी यो दृष्टिकोण प्रामाणिक बोधबाट उत्पन्न हुन्छ। यसबाट तीनवटै शरणरत्नहरू सत्य हुन् भन्ने हाम्रो विश्वास दृढ हुन्छ। “हाम्रो शिक्षकले यही बताउनुभएको थियो” भन्ने आस्थाको आधारमा मात्र यो बाटो पकड्दा पनि सबै दुःखबाट मुक्त भैहाल्छौं भन्ने खालको सोचाई हाम्रो रहँदैन। अपितु हाम्रो विश्वास प्रामाणिक बोधमा टिकेको हुन्छ, जुन निष्कर्षात्मक बोध र तर्कमा आधारित हुन्छ।

प्रामाणिक बोध दुई तरीकाले हासिल गर्न सकिन्छ – पहिलो, तर्कको सहारा लिँदै पुगिने निष्कर्षको माध्यमले, र दोस्रो, देख्ने, सुन्ने, वा निर्वैचारिक ढंगले स्वयं अनुभूति गर्नेजस्तो मात्र बोधको सहायताले। दोस्रो तरीका कठिन छ किनकि त्यसका लागि तपाईं एकदमै उच्चकोटीको साधक हुनुपर्छ। त्यसैले पहिलो तरीका अर्थात् तार्किक निष्कर्षको उपयोग गर्दै प्रामाणिक बोधमा पुग्न सहज हुनेछ।

आध्यात्मिक मार्गमा प्रगति

अब चौथो पंक्तिमाथि चर्चा गरौं ः 

मलाई प्रेरणा दिनुहोस्, ताकि म यस्तो मुक्ति प्रदान गर्ने चित्तमार्गलाई रोप्न सकुँ।

यस्तो मुक्ति (निर्वाण) तर्फ लैजाने चित्तमार्गलाई विभिन्न तरीकाले व्याख्या गर्न सकिन्छ, जसमध्ये एक हो, प्रेरणाका तीन तह। यसलाई तिब्बतीमा लाम–रिम (मार्गक्रम) भनिन्छ। यी तीन तहले प्रगतिका तीन लक्ष्यहरू प्रस्तुत गर्छन् ः

  • पहिलो तह निकृष्ट पुनर्जन्मको क्रमलाई रोकेर उन्नत पुनर्जन्म प्राप्त गर्ने हो। उन्नत पुनर्जन्म किन चाहिन्छ भने त्यहाँ आध्यात्मिक यात्रालाई अगाडि बढाउनका लागि आवश्यक उपयुक्त वातावरण विद्यमान हुन्छ। त्यसका विपरीत साङ्लाजस्तो कुनै जीवको रूपमा जन्मिँदा आध्यात्मिक उन्नतिका लागि हामी खासै केही गर्न सक्दैनौं। निकृष्ट पुनर्जन्मबाट बच्नका लागि हामीले कार्य र कारणजस्तो सापेक्षिक सत्यका सम्बन्धमा रहेका आफ्ना भ्रमहरूबाट मुक्ति पाउन सक्नुपर्छ। निकृष्ट पुनर्जन्मको मुख्य कारण अकुशल कर्म (विनाशात्मक व्यवहार) हो। आफ्नो व्यवहारको परिणाम के हुन्छ, थाहा नभएका कारण हामी विनाशात्मक व्यवहार गर्छौं। अथवा त्यस्तो व्यवहारले खुशी प्राप्त हुनेछ भन्ने भ्रममा हुन्छौं। 
  • मध्यम तह भनेको तीन प्रकारका दुःखहरूबाट मुक्ति पाउने हो, जसमा सामान्य दुःख, साधारण लौकिक सुखहरू, र ती दुबैको कारण अर्थात् अनियन्त्रित रूपमा भैरहने पुनर्जन्मको श्रृंखलाबाट मुक्ति पर्छन्। यसका लागि हामीले परमार्थ सत्यका सम्बन्धमा रहेका भ्रमहरूबाट मुक्ति पाउनुपर्छ। शून्यताको ज्ञानद्वारा यो सम्भव हुन्छ। खासमा हामी हरेक क्षण चार वटै आर्यसत्यको बोधमा रहनुपर्छ। तर यसरी सबै सत्यको बोधमा एकै पटक केन्द्रित रहन मुश्किल हुन्छ। त्यसैले हामीले थप प्रयत्न गर्नुपर्छ।
  • उच्च तह भनेको बुद्धको जस्तै बोधिको अवस्था हासिल गर्ने हो, ताकि हामीले सबैलाई सबैभन्दा उत्तम तवरले सहयोग गर्न सकौं। यो तहमा हामी गहनतम सत्यमा केन्द्रित रहँदै सापेक्षिक सत्यलाई पनि पूर्णरूपमा जान्दछौं। केवल बुद्धहरू मात्र दुइवटै सत्यको बोधमा एकैसाथ रहन सक्छन्।

यो पंक्तिलाई अलि गहिरिएर विचार गरौं – “दुई सत्यबाट चार सत्यतर्फ, र चार सत्यबाट तीन शरणरत्नतर्फ।” माथिका तीन तहहरू र तत्सम्बन्धी लक्ष्य प्राप्तिका लागि गरिने अभ्यासहरूको मूलमा अर्थात् जरामा यही कुरा छ। वन्दनामा जरा भनिएको छ; जरा र बीउमा फरक छ। जराले कुनै पनि विरुवालाई बल र स्थायित्व प्रदान गर्छ। यी तीन तहका लक्ष्यहरू साँच्चिकै छन्, तिनलाई प्राप्त गर्न सम्भव छ, र तिनलाई हामी आफैंले हासिल गर्न सक्छौं भन्ने कुरामा तर्कको माध्यमले विश्वस्त भएपछि हामीलाई त्यस्तो बल प्राप्त हुन्छ जसबाट ती लक्ष्यतर्फ बढ्ने आध्यात्मिक बाटोमा हिँड्न सकिन्छ। 

चित्तमार्गका यी तीन तहको मूललाई व्याख्या गर्ने अर्को तरीका भनेको आध्यात्मिक गुरुसँगको स्वस्थ सम्बन्ध हो। सबै लाम–रिम ग्रन्थहरूमा यो कुरा तपाईंले पाउनुहुनेछ। यस्तो स्वस्थ सम्बन्धले सम्पूर्ण आध्यात्मिक मार्गलाई एक आधार वा जरा प्रदान गर्दछ, किनकि हामीले गुरुमार्फत नै प्रेरणा पाउँछौं, र यही प्रेरणाले हामीलाई आफ्नो लक्ष्यतर्फ अगाडि बढ्न बल र उर्जा प्रदान गर्छ। 

आध्यात्मिक मार्गमा कसरी स्थिरतापूर्वक अगाडि बढ्ने भन्ने सम्बन्धमा पनि दुई तरीकाले व्याख्या गरिएको छ ः 

  • प्रथमतः आफ्ना आध्यात्मिक गुरुहरूसँगको सम्बन्धबाट बल र प्रेरणा प्राप्त गर्ने। यहाँ हामी यस्तो तर्क गर्छौं ः “मेरो गुरुको ज्ञानको स्रोत प्रामाणिक छ। त्यसैले यदि उनले बोधि प्राप्त गर्न सम्भव छ भन्छन् भने अवश्य पनि त्यो कुरा सही हो। मेरो गुरुले नभएको कुरा बनाएर भन्नुपर्ने कुनै कारण छैन।” त्यसैले यहाँ एक प्रकारको तर्कको प्रयोग गरिन्छ। तर तर्कबाहेक धेरै मानिसले यस्तो प्रेरणाको अनुभव भावनात्मक स्तरमा गर्छन्। गुरुहरूले हामीलाई भावनात्मक रूपमा यति प्रेरित गरिदिन्छन् कि हामीलाई आफ्नो बाटोमा अगाडि बढ्नका लागि असाधारण शक्ति प्राप्त हुन्छ। यो तरीका बोधिचित्त विकसित गर्ने दुईमध्ये पहिलो तरीकासँग मिल्छ। यस्तो प्रेरणाका साथ हामी सापेक्ष बोधिचित्तको विकास गर्न शुरू गर्छौं जसबाट अरुको सहायता गर्ने प्रेरणा प्राप्त हुन्छ। यसबाट हामी लक्ष्यसम्म पुग्न सम्भव छ भन्ने आस्थाका साथ बोधि प्राप्त गर्ने दिशामा प्रवृत्त हुन्छौं। त्यसपछि तर्कका माध्यमबाट पनि यो कुरा सम्भव छ भन्ने कुरामा विश्वस्त हुन्छौं। 
  • अर्कोतर्फ, गहन स्तरमा बोधिचित्तको विकास गर्ने साधनाविधि सम्बन्धमा चिन्तन गर्दा हामीभित्र वन्दनामा बताइए जस्तै शून्यताको दृढ विश्वास विकसित हुन्छ। तब बोधिप्राप्ति, हृदयको उदारता आदि अवस्था प्राप्त गर्न सम्भव छ भन्ने कुरामा दृढ विश्वासका साथ हामी साधनाको भावनात्मक पक्षमाथि काम गर्न शुरु गर्छौं। 

आध्यात्मिक बाटोमा अगाडि बढ्नका लागि दुवै तरीका उत्तिकै मान्य छन्। बाँकी सब हाम्रो आफ्नो स्तर या क्षमतामा निर्भर गर्छ। ग्रन्थहरूमा बताइएको छ, एकदमै तीक्ष्ण मानसिक क्षमता र ज्ञानयुक्त व्यक्तिहरूका लागि तर्कमा आधारित व्याख्या आफ्नो व्यक्तित्वसँग बढी अनुकूल लाग्नेछ। तर जो मानिस त्यति धेरै ग्रहण क्षमतायुक्त छैनन्, उनीहरूका लागि भावनात्मक स्तरमा काम गर्न अधिक सहज हुन्छ। यो दोस्रो वर्गका मानिसका लागि आफ्नो गुरुसँग प्राप्त प्रेरणा र प्रेम तथा करुणाका आधारमा विकसित भावहरूमा विश्वास गर्नु सबैभन्दा उपयुक्त रहन्छ। 

विभिन्न दृष्टिले हेर्दा मलाई दुवै तरीकाबीच सन्तुलन राख्नु ठीक हुन्छ भन्ने लाग्छ। त्यसमा हामी अर्को पक्ष पनि जोड्न सक्छौं – धार्मिक आस्था। केही व्यक्तिहरूका लागि अरु साधकले हजारौं वर्षदेखि अभ्यास गर्दै आएका कर्मकाण्डको सेरोफेरोमा रहनु र त्यसमा भाग लिनुले बोधि प्राप्तिको मार्गमा अगाडि बढ्न प्रेरणा दिन्छ। बुद्धधर्म अवलम्बन गर्ने कुनै एक तरीकालाई हामी केवल यो आधारमा मात्र निम्नकोटीको मान्दैनौं कि त्योभन्दा अन्य तरीका हामीलाई ज्यादा सुविधाजनक लाग्छ। यदि हामी आफू स्वयंको र आफ्ना क्षमताहरूको विकास गर्न चाहन्छौं भने यी तीनवटै तरीकाबीच सन्तुलन कायम राख्नु जरुरी हुन्छ। 

परम पूजनीय दलाई लामाद्वारा रचित एक विशिष्ट वन्दनाका पंक्तिहरूबारे यो एक आधारभूत प्रस्तुति थियो। मेरा गुरुले सधैं भन्नुहुन्थ्यो – जसरी तपाईं कुनै गाईलाई दुहेर दुध निकाल्नुहुन्छ, त्यसरी नै यी सानासाना पंक्तिहरूबाट धेरै सार्थक ज्ञान निकाल्न सक्नुहुनेछ। 

प्रश्नोत्तर

चार आर्यसत्यको व्यावहारिक उपयोग

यदि मेरो मित्रले सधैं चिन्ता गरिरहन्छ भने म उसलाई कुनै पनि कुरालाई सामान्य ढंगले लिन र त्यसैमा चिन्तित भएर नबस्न सल्लाह दिन सक्छु। यस्तो सल्लाह हामी आफैं र अरुलाई पनि दिन सक्छौं। तर कुनैबेला अरुसँगको सम्बन्धमा म स्वार्थी भएको हुन सक्छु। त्यस्तो बेला कुनै मन्त्रजस्तो आफूलाई सम्झाउने उपाय केही होला? ताकि म आफ्नो आत्मकेन्द्रित मनको प्रक्षेपण र यथार्थबीचको फरक जान्ने कुरालाई स्मरणमा राख्न सकुँ। 

महान तिब्बती आचार्य चोङ्खापाका अनुसार शून्यताको निर्वैचारिक बोधमा रहेको अवस्था बाहेक अरुबेला हाम्रो मानसिक क्रियाकलाप अस्तित्वलाई असम्भव तरीकाले प्रक्षेपण गर्नमै केन्द्रित हुन्छ। यो हरक्षण चलिरहन्छ। गहन ध्यान साधनामा हुने उक्त बोधलाई छाडेर हाम्रो अनुभूतिका हरेक क्षणलाई खण्डन गर्न मिल्छ।

हाम्रा अनुभूतिका भ्रामक प्रतीतिहरूलाई विखण्डित गर्न सहयोग गर्ने उपायहरू पनि छन्। त्यस्ता थुप्रै साना–साना उपायहरू छन्। एक उपयोगी बिम्ब यस्तो हुन सक्छ ः “हामी आफ्नो कल्पनाको बेलुनलाई फुटाइदिऊँ”।  तर यो पनि अद्वयको भावका साथ गर्नुपर्छ। पिन बोकेर उभिरहेको “म” यहाँ छु, एउटा ठूलो बेलुन त्यहाँ छ, र “मैले” गएर त्यसलाई फुटाउनुछ – यस्तो द्वैतको भाव राखिँदैन। यहाँनेर स्वतः केवल बेलुन फुट्ने काम मात्र हुन्छ। त्यो बेलुन वास्तवमा हामी आफैंले अतिशयोक्तिपूर्ण ढंगले गरेको कल्पना मात्र हो। यस्तो कल्पनाको उदाहरणमा “तिमी त साह्रै नै खराब छौं,” वा “मैले अहिले जे भोग्दै छु, त्यो निकृष्ट अवस्था हो” आदि हुन सक्छन्। यो अवस्थालाई हामी कार्य–कारणको परिप्रेक्ष्यमा र त्यस्तै अवस्था भोगिरहेका अरु मानिसको दृष्टिकोणबाट हेर्न सक्दैनौं। अनि हामी “विचरा म!” को भाव लिएर दुःखी हुन्छौं। यो सब भ्रामक कल्पना हो, जो बेलुनजस्तै प्याट्टै फुटेको भाव हामी लिन्छौं। 

अर्को बिम्ब किताबको खुला पन्नाको हुन सक्छ। त्यो पन्नामा एकातर्फ “विचरा म, फलानो कारणले पीडित छु” लेखिएको छ र अर्कोतर्फ आफूले सम्हाल्न नसकिरहेको भयानक अवस्थाको चित्रण छ। मानिलिऊँ त्यो कुनै डरलाग्दो दन्त्यकथाको पुस्तक हो। मानसिक रूपमा हामी त्यो पुस्तक बन्द भएको बिम्ब लिन्छौं, र दन्त्यकथा बन्द हुन्छ। अलिकति क्लिष्ट शब्दावलीको प्रयोग गर्ने हो भने, हामी त्यस्तो द्वैतभावको पुस्तक बन्द गरिदिन्छौं!

तपाईंलाई मन्त्र नै चाहियो भने “रद्दी” वा “फोहोरमैला” जस्ता शब्द प्रयोग गर्न सक्नुहुनेछ। यसको अभिप्राय हो, हामीलाई लागेको कुरा वस्तुतः रद्दी नै हो। तर यसलाई आफ्नो स्मृतिमा कसरी राख्ने, मुख्य समस्या त्यहाँनेर छ। जतिबेला हामी कुनै प्रबल विनाशकारी आवेगको अनुभव गर्छौं, त्यतिबेला हामीलाई यसको सबैभन्दा ज्यादा जरुरत हुन्छ। यस्तो आवेगको उदाहरण तिब्बतीमा यसरी दिइन्छ ः मानिलिऊँ तपाईंलाई नगरेको कसुरमा कसैले गलत आरोप लगायो। त्यतिबेला “मैले त्यस्तो गरेकै छैन! तपाईंले मलाई झूठो ठानेको? के म चोर हो र?” यस्तो प्रबल भाव आउँछ। यहाँ म भन्ने भाव प्रबलरूपमा उजागर भएको हुन्छ। 

बुद्धधर्म र अन्य धार्मिक प्रणालीमा फरक

तपाईंले बताउनुभयो कि अन्य धार्मिक प्रणालीहरूले पनि हाम्रा समस्याका बारेमा र तिनबाट मुक्ति पाउने सम्बन्धमा चर्चा गरेका छन्। निश्चय नै, सबै धर्मले आफ्नै तरीका सबैभन्दा उत्कृष्ट हो भन्छन्। त्यसो भए बुद्धधर्ममा चाहिँ त्यस्तो के विशेषता छ? कृपया स्पष्ट पारिदिनुहोला।

तपाईंले सही कुरा गर्नुभयो। हिन्दू, बौद्ध, जैन सबै धर्मले अनियन्त्रित तवरले भैरहने पुनर्जन्मको श्रृंखलाबाट मुक्ति पाउनेसम्बन्धमा कुरा गरेका छन्, र तिनीहरूले मुक्तिको अवस्थाका बारेमा पनि बताएका छन्। सबैले यथार्थबोधबाट मात्रै मुक्ति हुन सक्छ भन्ने बताएका छन्। तर यथार्थबारे आ–आफ्नै व्याख्या छन्। यस हिसाबमा बुद्धधर्मले अन्य भारतीय धर्म प्रणालीहरूसँग मेल खान्छ। बुद्धधर्मको विशिष्टता भनेको चाहिँ चार आर्यसत्यको शिक्षा हो। यो शिक्षा अरुभन्दा निम्न हिसाबले भिन्न छ ः 

  • अन्य प्रणालीले दुःख के हो भनेर बताउलान्, बुद्धले यथार्थ दुःख के हो, बताउनुभयो।
  • अन्य प्रणालीले कुनै निश्चित प्रकारको अज्ञान दुःखको कारण हो भन्छन्, बुद्धले तीमध्ये सबैभन्दा गहनतम अज्ञानलाई दुःखको यथार्थ कारण हो भनेर बताउनुभयो। 
  • अन्य प्रणालीमा जेलाई दुःखको यथार्थ निरोध मानिएको छ, त्यो दीर्घकालसम्म रहँदैन र पूर्णतः मुक्त पनि हुँदैन।
  • अन्य प्रणालीमा जुन ज्ञानको कुरा बताइन्छ, त्यसले एक निश्चित विन्दुसम्म पुर्याउँछ। निर्वाणसम्म पुर्याउने यथार्थ चित्तमार्ग त्योभन्दा भिन्न हुन्छ।

स्वाभाविकै छ, अन्य धार्मिक प्रणालीले पनि आफ्नो र बुद्धधर्मको सम्बन्धमा यसै भन्लान्। त्यसैले यथार्थ के हो, हामी आफैंले अन्वेषण गरेर हेर्नुपर्छ। वन्दनाको पंक्तिमा हामीले चर्चा गर्यौं, आध्यात्मिक मार्गको मुख्य आधार यथार्थलाई हेर्ने हाम्रो नजर हो। यो बुद्धधर्ममा मात्र नभएर हिन्दू वा जैनधर्ममा पनि उत्तिकै लागू हुन्छ। तर्कपूर्ण जाँच, प्रत्यक्ष अनुभव र बोधका आधारमा हामी यथार्थलाई पुष्टि गर्न सक्छौं।

वर्तमान जीवनमा अझ बढी दयालु र करुणावान बन्नका लागि आध्यात्मिक मार्गको अनुशरण गर्नु र साँच्चिकै मुक्तिको लक्ष्य राख्नुमा निकै ठूलो भिन्नता छ। बोधिको सन्दर्भमा कुरा गर्ने हो भने तपाईं तर्क र शास्त्रार्थको आधारमा जाँच गर्न सक्नुहुनेछ कि कुन व्याख्या सबैभन्दा ज्यादा प्रामाणिक छ। तर आध्यात्मिक मार्ग अनुशरण गरिरहेका अधिकांश मानिसको वास्तविक लक्ष्य मुक्ति पाउने हुँदैन। हुनत कसैले त्यो नै आफ्नो लक्ष्य भएको बताउन सक्छन्, तर मुक्तिको सही अर्थ के हो भन्ने नै थाहा हुँदैन। उनीहरूको प्रयत्न आफ्नो जीवनमा यही जीवनकालभित्र मात्र सुधार ल्याउने हुन सक्छ। त्यो पनि राम्रै कुरा हो, त्यसमा केही खराबी छैन।

परम पूजनीय दलाई लामालाई कसैले सोध्यो, कुन धर्म सबैभन्दा श्रेष्ठ हो? उहाँको जवाफ थियो, त्यही धर्म श्रेष्ठ हो जसले व्यक्तिगत रूपमा अधिक दयालु र करुणावान बन्न तपाईंलाई सहायता गरोस्। प्रत्येक व्यक्ति अरुभन्दा भिन्न स्वभावको हुन्छ। त्यसैले हामी करुणा, दया, धैर्य, क्षमा आदि विकसित गर्नका लागि यही नै मार्ग सबैभन्दा प्रामाणिक हो भनेर ठ्याक्कै भन्न सक्दैनौं। अन्य विभिन्न धर्ममा पनि यी गुणहरूको उत्तिकै विकास गर्न सकिन्छ। यो नै धार्मिक एकताको आधार हो। 

आध्यात्मिक मार्गमा कसरी अगाडि बढ्ने

म मार्गमा प्रगति सम्बन्धी प्रश्न सोध्न चाहन्छु। हाम्रो सोभियत संघमा आर्थिक विकासका लागि पञ्चवर्षीय योजनाहरू बनाइन्थ्यो। के त्यसरी नै बौद्ध साधना शुरू गर्ने साधकहरूका लागि पनि एक वर्ष या तीन वर्ष या पाँच वर्षमा के गर्ने भन्ने सल्लाह दिनुहुन्छ, ताकि उनीहरू आफ्नो मार्गबाट नभट्किउन्?

मैले साधना गरेको पद्धतिमा र अन्यमा पनि सबैभन्दा चलेको र विश्वसनीय तरीका भनेको लाम–रिम अर्थात् मार्गक्रम हो। यसमा हामीले लिनुपर्ने शिक्षालाई क्रमिक रूपमा दिइन्छ। तिनलाई बुझ्ने, आत्मसात र आफूमा विकास गर्नुपर्ने कुराको क्रमिक मार्ग यसले देखाउँछ।

लाम–रिम अभ्यासको परम्परागत पद्धतिमा तपाईंलाई कुनै कुरा बताइन्छ, र त्यसपछि के आउँछ भन्ने जानकारीविना त्यसको अभ्यास गर्न दिइन्छ। एक भागको बोध हासिल गरेपछि तपाईं अगाडि बढ्नुहुन्छ। तर आजकल यो सम्पूर्ण शिक्षालाई पुस्तकमा दिइएको हुन्छ, त्यसैले तपाईंले सम्पूर्ण मार्गक्रमलाई एकैसाथ पढ्न सक्नुहुनेछ। तैपनि तपाईंले प्रत्येक बुँदामा पर्याप्त समय व्यतीत गर्नुपर्ने हुन्छ। तपाईंले सबै पाठ एकैपटक पढिसक्नुभयो भने पनि पुनः पुरानो पाठमा फर्किनुपर्छ र ती सबै पाठ एक आपसमा कसरी अन्तरसम्बन्धित छन् भन्ने बुझ्नु पर्छ। 

हामीले के याद राख्नुपर्छ भने प्रगति कहिल्यै पनि सीधारेखामा अगाडि बढ्दैन। हाम्रो साधनामा तलमाथि भैरहन्छ। त्यसैले एक दिन राम्रो भयो भने अर्को दिन नहुन सक्छ। यसमा केही विशेष कुरा भएन। तर जे भए पनि तपाईंले आफ्नो अभ्यासलाई निरन्तर राख्नुपर्छ। पुनर्जन्म लिनुभएका मेरो गुरुलाई मनपर्ने एक वाक्य छ ः “यसमा त्यस्तो विशेष केही छैन।” तपाईंले बेलाबेलामा गर्ने अनुभवले कुनै विशेष फरक पर्दैन। अनुभव कहिले राम्रो हुन्छ, कहिले नराम्रो। त्यसले के नै फरक पर्ला त?

त्यसैले पाँचवर्षे योजना बनाउनु अव्यावहारिक हुन्छ किनकि हरेक मानिसको प्रगति फरक ढंगको हुन्छ। यद्यपि परम पूजनीय दलाई लामा भन्नुहुन्छ – प्रगति गरेको छ कि छैन थाहा पाउन दिनदिनैको वा महिनापिच्छेको हिसाब नगर्नुस्, बरु पाँच वर्षको अवधिमा के परिवर्तन भयो फर्केर हेर्नुहोस्। पहिला कुनै समस्या आउँदा त्यसको समाधान कसरी गर्नुहुन्थ्यो, अहिले कसरी गर्नुहुन्छ, त्यसको तुलना गर्नुहोस्। के हामी पहिलाभन्दा बढी शान्त छौं? यसरी हामी आफ्नो प्रगतिको मापन गर्न सक्छौं। 

साधनाका अन्य तरीका पनि छन्, जस्तै पूर्वगत अभ्यास (ङोन्डो) जहाँ तपाईं १००,००० ढोग, शरणगमन सूत्र आदिको अभ्यास गर्नुहुन्छ। प्राय मानिसहरूले यसरी नै अभ्यास शुरु गर्छन्। यी दुई तरीकाले धर्मको शिक्षा ग्रहण गर्ने दुई दृष्टिकोण प्रस्तुत गर्छन् भन्ने मलाई लाग्छ। तपाईंले प्रायः आफ्ना गुरुको प्रेरणाबाट ङोन्डोको अभ्यास शुरु गर्नुहुन्छ। आफूलाई विषयको धेरै ज्ञान नभए पनि गुरुको असाधारण प्रेरणाबाट ओतप्रोत भएर तपार्ईंलाई दृढ विश्वास हुन्छ कि उहाँले जे सिकाउँदै हुनुहुन्छ त्यो लाभप्रद छ। त्यसैले तपाईं १००,००० पटक गर्ने ङोन्डो साधनाहरू गर्नुहुन्छ।

म आफूचाहिँ त्यही प्रणालीमा दीक्षित भएको हुँ जसको दृष्टिकोणबाट मैले वन्दनाका पंक्तिहरूको चर्चा गरेँ। दलाई लामाले सामान्यतया दिने शिक्षा यसै पद्धतिअन्तर्गत पर्छन्। प्रथमतः तपाईं आफ्नो मार्गको बारेमा बोध गर्नुहुन्छ र त्यसमाथि दृढ विश्वासको विकास गर्नुहुन्छ। लक्ष्य के हो, त्यो प्राप्त गर्न सम्भव छ, आदि कुरामा तपाईं विश्वस्त भएपछि ङोन्डोको अभ्यास शुरु गर्नुहुन्छ। 

तर तपाईंले निश्चय नै एक मध्यममार्गको छनौट पनि गर्न सक्नुहुन्छ। पहिल्यै ङोन्डोको अभ्यास शुरु गरिसकेपछि आफ्नो लक्ष्य प्राप्ति सम्भव भएको कुरामा विश्वास जगाउने अभ्यास गर्न सक्नुहुन्छ। अथवा, धर्म अध्ययन र साधनाको शुरुवातसँगै ङोन्डोको पनि अभ्यास शुरु गर्न सक्नुहुन्छ। यसरी दुवैलाई एकैसाथ लिएर जाने अलग अलग उपाय हुन सक्छन्। विभिन्न तिब्बती गुरुहरूद्वारा दिइने धर्मशिक्षाको तरीका बारे विचार गर्ने हो भने पाउनुहुनेछ, यो त्यही व्यवस्थाअनुरूप छ जसको चर्चा मैले गरेँ। यो परम्परा नागार्जुनका पालादेखि चलिआएको हो। बोधिचित्त विकसित गर्ने दुई अलग अलग तरीका यही हुन् – पहिला संवृत्ति (सापेक्ष) त्यसपछि परमार्थ (गहनतम) सत्य, या पहिला परमार्थ त्यसपछि संवृत्ति सत्य। हरेक व्यक्तिले आफ्ना लागि के सबैभन्दा उपयुक्त हो, स्वयं निर्णय गर्नुपर्ने हुन्छ। 

सारांश

बौद्ध शिक्षाअन्तर्गत यथार्थबारेको दुई सत्यसँग चार आर्यसत्य कसरी सम्बन्धित छन्, र ती फेरी शरणगमनका तीन रत्नसँग कसरी सम्बन्धित छन् भन्ने विश्लेषण असाध्यै उच्चकोटीको विश्लेषण हो। यसले ती सत्य र रत्न के हुन् भन्ने मात्र प्रस्ट पार्दैन, अपितु बौद्ध दर्शन र अभ्यासको एक स्पष्ट खाका पनि प्रस्तुत गर्छ। यो बोध र विश्लेषणका लागि हामीले परम पूजनीय दलाई लामाद्वारा रचित एक संक्षिप्त तर सटीक वन्दनाको सहारा लियौं। यो विश्लेषणको उल्लेखनीय परिणामस्वरूप न केवल हामीले आफ्नो बोधको दायरा बढाउने तर्कसंगत क्रम जान्यौं, अपितु यी आधारभूत बौद्ध शिक्षाहरूले कसरी एक अर्काको बोधलाई बढाउँछन् भन्ने पनि जान्यौं। यसप्रकारले एक सम्पूर्ण र एकीकृत आध्यात्मिक मार्ग प्रस्फुटित हुन्छ।

Top