शरणगमनः जीवनको सुरक्षित र अर्थपूर्ण बाटो

34:45
शरणगमन सबै बौद्ध शिक्षा र अभ्यासहरूको आधार हो। यसलाई “बौद्ध मार्गको प्रवेशद्वार” भनिन्छ। शरणगमन आफैंभित्र सुधार गर्ने अभ्यास हो। यो जीवनलाई सुरक्षित र अर्थपूर्ण दिशा दिनका लागि सक्रियतापूर्वक अपनाइने प्रक्रिया हो। हामी भ्रम, नकारात्मक आवेग र बाध्यकारी आचरणबाट आफूलाई स्वतन्त्र बनाउन बुद्धले सिकाउनु भएको पद्धतिहरू अनुसरण गर्दै आफूलाई सुधार गर्ने कोसिस गर्छौं र सबै असल गुणहरूको विकास गर्ने प्रयत्न गर्छौं। सबै बुद्ध र ज्ञानप्राप्त गुरूहरूले यही शिक्षा दिएका छन्, र हामी उनीहरूको पदचिन्हमा हिँडेर त्यसैअनुरुप गर्ने प्रयास गर्छौं।

आफ्नो जीवनबाट बौद्ध साधनाबारेको भ्रम निवारण

मलाई दैनिक जीवनमा शरणगमनको प्रासंगिकताको बारेमा बोल्न अनुरोध गरिएको छ। मलाई यतिबेला भारतका महान आचार्य अतीशको सम्झना भैरहेको छ, जो एघारौं शताब्दीमा तिब्बत पुग्नुभएको थियो। तिब्बतमा भारतबाट बुद्धधर्मको आगमनको केही समयपछि धर्म हराउन थालेको बेला यसलाई पुनर्जीवन दिन सहयोग पुर्याउने महान् गुरुहरू मध्ये उहाँ एक हुनुहुन्थ्यो। त्यस समयमा तिब्बतमा धर्मबारे धेरै भ्रम थियो, विशेष गरी तन्त्र र केही उन्नत शिक्षाका बारेमा गलत धारणाहरू व्याप्त थिए। त्यहाँ कुनै योग्य शिक्षकहरू उपलब्ध थिएनन्। त्यहाँ त्यस्ता शिक्षकहरू उपलब्ध थिएनन् जसले धर्मको स्पष्ट व्याख्या गर्न सकुन्। यद्यपि त्यहाँ धेरै ग्रन्थहरूका अनुवाद चाहिँ उपलब्ध थिए। तर तिनीहरूलाई पढ्न सक्ने मानिसहरूको संख्या एकदम थोरै थियो, र ती ग्रन्थहरूको प्रति पनि पर्याप्त संख्यामा उपलब्ध थिएन। केही व्यक्तिहरू पढ्न सक्थे, तर उनीहरूलाई आफूले पढेको कुराको थप व्याख्या पाउन धेरै गाह्रो थियो। 

यस्तो अवस्थामा सुधार ल्याउनका लागि पश्चिमी तिब्बतका एक राजाले भारतका एक महान बौद्ध आचार्यलाई तिब्बतमा आमन्त्रित गर्ने र साथै लिएर आउने उद्देश्यका साथ केही साहसी बौद्ध विद्यार्थीहरूलाई भारत पठाए। तिनीहरूले कठिन पैदल यात्रा गरे, भाषाहरू सिके, र मौसमका कठिनाइहरूको सामना गरे। तिनीहरूमध्ये धेरैजनाको बाटोमै वा भारत पुगेपछि मृत्यु भयो। तर अन्ततः उनीहरू महान भारतीय आचार्य अतीशलाई तिब्बतमा आमन्त्रित गर्न सफल भए। अतीश तिब्बतमा धेरै वर्ष बस्नुभयो र यस समयमा उहाँले मुख्यतः शरणगमन र कर्मको शिक्षा दिनुभयो। त्यसैले तिब्बतीहरूले अतीशलाई “शरणगमन र कर्मका लामा” उपनाम दिएका थिए।

अहिलेको युगमा पनि अतीशको उदाहरण धेरै प्रासंगिक छ। किनकि अहिले पनि बुद्धधर्म र दैनिक जीवनमा यसको अभ्यासको महत्त्व सम्बन्धमा धेरै द्विविधा छ। तन्त्र र अन्य उन्नत शिक्षाहरूको बारेमा पनि धेरै भ्रम छ। आधारभूत बौद्ध शिक्षाको थोरैमात्र पनि अभ्यास नगरीकन मानिसहरू सीधै यी साधनाहरू गर्न थाल्छन्। कतिपयले सोच्छन्, बौद्ध अभ्यास भनेको कुनै जादुई अनुष्ठान गर्नुजस्तै हो। हाम्रो दैनिक जीवनमा शरणगमनको प्रासंगिकता र यसको महत्त्वलाई कम आँकलन गरेर यी व्यक्तिहरूले धर्मको मूलमर्म बिर्सिरहेका छन्।

जीवनको वर्तमान अवस्था जस्तोसुकै हालतमा भए पनि बौद्ध अभ्यासको उद्देश्य आफूभित्र सुधार गर्नु र आफूलाई अझ राम्रो व्यक्ति बनाउने प्रयास गर्नु हो। बौद्ध अभ्यास कुनै सानोतिनो शोख वा खेलजस्तो दिनको आधा घण्टा वा हप्ताभरी काम गरेर थाकेपछि एक पटक गरिहालौं न त भनेर गर्नेजस्तो अभ्यास होइन। यो त आत्मसुधारको कार्य हो, त्यसैले व्यावहारिक रूपमा हामी हर समय यसको अभ्यास गर्ने प्रयास गर्दछौं। यसअन्तर्गत हामी आफ्ना कमीकमजोरीहरू चिनेर तिनबाट मुक्त हुने र सकारात्मक गुणहरू चिनेर तिनको विकास गर्छौं। हामी ती विधिहरू सिक्छौं जसले हाम्रा कमीकमजोरीहरूको प्रभावलाई कम गर्दछ र सकारात्मक गुणहरूलाई सुदृढ पार्दछ। यो हाम्रो आफ्नो मात्र स्वार्थका लागि होइन, यद्यपि बौद्ध अभ्यासद्वारा जीवनमा खुशीको बृद्धि हुन्छ र हामी लाभान्वित हुन्छौं। यो अभ्यासद्वारा हामी अरूलाई सहयोग गर्न सक्षम हुन्छौं, जसबाट सबैलाई लाभ हुनेछ। यो बौद्ध अभ्यासको उद्देश्य हो। यो उद्देश्यको प्राप्ति बुद्धधर्मको विशेषता हो। शरणगमनको अर्थ यसमा प्रयोग हुने विधिहरूलाई अवलम्बन गरेर त्यसैअनुरुप जीवन जीउनु हो। 


शरणगमन निष्क्रिय हुँदैन

त्रिरत्न अर्थात् बुद्ध, धर्म र संघको शरणमा जानु सम्पूर्ण बुद्धधर्मको शिक्षाको आधार हो। बौद्धमार्गी हुनु वा नहुनुबीच फरक छुट्याउने रेखा भनेको शरणगमन हो। छोटकरीमा भन्नुपर्दा, “धर्म” ले आत्मसुधारका लागि प्रयोग गरिने विधिहरू र हामी सबैले प्राप्त गर्न सक्ने लक्ष्यलाई जनाउँदछ। “बुद्ध” हरू ती हुन् जसले यी विधिहरू सिकाएका छन् र आफैंले पनि यो लक्ष्य पूर्णरूपमा हासिल गरेका छन्। “संघ” भनेका ती हुन् जसले आंशिक रूपमा त्यो लक्ष्य हासिल गरेका छन्। वास्तवमा, “धर्म” भनेको “निवारक उपाय” हो, जसमा हामीले आफैंलाई र सम्भवतः अरूलाई उत्पन्न हुने समस्याहरू रोक्नका लागि लिने कदमहरू पर्छन्। खासमा यी कदमहरू हामी आफैंलाई सुरक्षित राख्नका लागि लिन्छौं। 

“शरण” शब्दले “सुरक्षा” वा “ओत” भन्ने अर्थ दिन्छ। यो अर्थ धर्म शब्दको अर्थसँग मिल्छ। शरणको मतलब यो होइन कि हामी आफैंलाई कुनै बाह्य शक्तिको अगाडि निष्क्रिय रूपमा आत्मसमर्पण गरिदिन्छौं। बौद्ध सन्दर्भमा, “शरण लिनु” एक धेरै सक्रिय प्रक्रिया हो, जसबाट हामी आफूलाई सुरक्षित राख्छौं।

मेरा शिक्षकहरूले प्रायः एउटा उदाहरण दिने गर्नुहुन्थ्यो। मानौं पानी परिरहेको छ र नजिकै गुफा छ। यदि हामी केवल “म आश्रयका लागि यो गुफाभित्र जान्छु” भन्छौं, तर बाहिरै बसेर वर्षामा भिज्दै यो वाक्यांश दोहोर्याइरहन्छौं, हामीलाई केही फाइदा हुँदैन। हामी वास्तवमै गुफाभित्र पस्नु पर्छ। त्यस्तै गरी, यदि हामी केवल “म बुद्धको शरणमा जान्छु, धर्म र संघको शरणमा जान्छु । म उनीहरूको आश्रय लिन्छु” भन्ने गरिरहन्छौं, तर वास्तवमा उनीहरूले देखाएको बाटो हिँड्दैनौं र उनीहरूको शिक्षालाई जीवनमा उतार्दैनौं, हामीलाई केही फाइदा हुनेवाला छैन। समस्याहरूबाट आफूलाई सुरक्षित गर्न उनीहरूले सिकाएको कुरा पनि अवलम्बन गर्नुपर्छ। यसैले म यसका लागि “सुरक्षित दिशा” र “आफ्नो जीवनलाई एक सुरक्षित दिशामा मोड्ने” जस्ता अभिव्यक्तिहरू प्रयोग गर्दछु।

गुफाकै उदाहरण लिँदा, हामीलाई लाग्न सक्छ कि गुफाभित्र गएर उभिने बित्तिकै पानीबाट मात्र होइन जीवनका सबै समस्याहरूबाट टाढा हुनेछौं। तर त्यस्तो हुँदैन। हामीले आफ्नो अन्तर्जगतको साधना निरन्तर गर्नुपर्दछ ताकि हामी बुद्ध, धर्म, र संघले प्रस्तुत गरेको आदर्शसम्म पुग्न सकौं, यो चाहिँ महत्त्वपूर्ण कुरा हो। बुद्ध, धर्म र संघको शरणमा जानु पर्याप्त हुन्छ र बुद्धले हामीलाई बचाइहाल्छन् भन्ने सोच्नु भनेको इसाई धर्मको मुक्तिदाता (सेभियर) को अवधारणासँग झुक्किनु हो। यसरी सोच्यौं भने बुद्ध परमेश्वरजस्तो र संघ सन्तमण्डलीजस्तो हुन जान्छन्। पश्चिमी विश्वका धेरैजसो समाजहरूमा इसाई धर्मको प्रभाव गहिरोसँग गडेको छ। यस प्रकारको सोचाइका कारण कुनै ईश्वरीय शक्तिले हामीलाई चामत्कारिक ढंगले बचाओस् भनी प्रार्थना गरिन्छ। अर्थात्, आफ्ना सबै दुःखबाट चामत्कारिक ढंगले पार पाइयोस् भन्ने सोचिन्छ। 

यदि त्यस्तो हुँदो हो त तिब्बती भाषाको एक बौद्ध नाम ग्रहण गर्नु, रातो धागो लगाउनु, केही चामत्कारिक मन्त्रहरू उच्चारण गर्नु, र अनेकखाले प्रार्थना गरिराख्नुबाटै हाम्रा सबै दुःख सकिने थिए। अझ त्यो तिब्बती भाषाको प्रार्थना र साधनाका श्लोकहरू उच्चारण गर्दा त्यसको कुनै अर्थ हामीले नबुझ्ने रहेछ भने त झनै ती चामत्कारिक र जादुई शक्तियुक्त होलान् भन्ने लाग्छ। हालै म बस्ने शहर बर्लिनमा महान् बौद्ध गुरू झोङ्सार ख्येन्चे रिन्पोछे आउनुभएको थियो। उहाँले एक अद्भूत कुरा बताउनुभयो। मानिलिऊँ, तिब्बती मानिसहरूले उच्चारण गर्ने साधनाका सबै श्लोकहरू जर्मन भाषामा छन् जसलाई तिब्बती वर्णमालामा लिपीकृत मात्र गरिएको छ। उनीहरूलाई आफू के उच्चारण गर्दैछु थाहापत्तो छैन। त्यो अवस्थामा तिब्बतीहरूले गर्ने अभ्यास सही अर्थमा बुद्धधर्मको अभ्यास होला? रिन्पोछेको कुरा सुनेर सबै हाँस्न थाले। तर सोचौं, यसमा कति गहिरो कुरा छ! शरणगमन गर्दा कुनै उच्च शक्तिमा आत्मसमर्पण गरेर आफ्ना दुःखहरूबाट जादुई र अलौकिक ढंगबाट पार पाइन्छ भन्ने सोच आउन सक्छ, यस्तो सोचबाट आफूलाई मुक्त राख्नु आवश्यक छ।

हामीले ध्यान दिनुपर्ने वास्तविक प्रश्न यो होः “म आफ्नो जीवनमा के गर्दैछु?” “के मेरो जीवन कुनै ठीक दिशामा चल्दैछ?” हामी मध्ये धेरैले यो बुझेको हुनुपर्छ कि हाम्रो जीवन कुनै प्रगतिको पथमा छैन, बरु गोलचक्करमा घुमिरहेको छ। पुनर्जन्मका चक्रहरूको गहन छलफलतिर नलागौं, यति मात्र बुझे पुग्छ कि हाम्रो दैनिक जीवन पनि कुनै अर्थपूर्ण दिशामा गइरहेको छैन र फलहीन भइरहेको छ। आखिर, हामी केका लागि जीवित छौं? यस्तो प्रश्न उठ्नु भनेको निश्चय नै दुःखपूर्ण अवस्था हो। त्यसकारण यो आवश्यक छ कि हाम्रो जीवनको एक अर्थपूर्ण दिशा हुनुपर्दछ, हाम्रो जीवनको उद्देश्य वा लक्ष्य निर्धारित हुनुपर्छ। यस्तो दिशा र लक्ष्य हामीले आफ्नो जीवनका लागि आफैं निर्धारण गर्ने हो। यसमा हामी सक्रियतापूर्वक पहल गर्छौं। जीवनमा एक सार्थक उद्देश्य र लक्ष्य भयो भने हामी आफूलाई अझ सुरक्षित र सकुशल महसुस गर्छौं। 


जीवनमा सार्थक लक्ष्यको निर्धारण

हामी आफ्नो जीवनमा कस्तो लक्ष्य निर्धारण गर्छौं? सामान्यतया हामी आफ्नो वर्तमान असन्तुष्ट स्थितिका आधारमा कुनै लक्ष्य निर्धारण गर्छौं जसले हामीलाई यो सन्तुष्टिबाट बाहिर निकालोस्। मूलभूत रूपमा हेर्ने हो भने हामी सबैलाई खुशी चाहिन्छ, कोही पनि दुःखी हुन चाहँदैन। बुद्धधर्ममा यो कुरा स्वयंसिद्ध तथ्य जस्तै हो। जैविक दृष्टिले पनि यो कुरामा सत्यता छ। हामी पीडाबाट बच्न चाहन्छौं। हामी दुःखबाट बच्न चाहन्छौं। हामी कठिनाइबाट टाढा रहन चाहन्छौं। सबै प्राणी, यहाँसम्म कि कीटपतङ्गहरू पनि यही चाहन्छन्, हैन र? यो हाम्रो लक्ष्य हो।

यहाँनेर प्रश्न आउँछ, हामी आफ्ना दुःख वा असन्तुष्टिसँग कति परिचित छौं? के हाम्रो लक्ष्यले हाम्रा तत्कालका समस्याहरू मात्र सुल्झाउँछ कि भविष्यमा आइपर्ने अन्य सबै समस्याहरू पनि सुल्झाउँछ? उदाहरणका लागि, हाम्रो तत्कालको समस्या पैसाको अभाव वा आर्थिक कठिनाइ हुन सक्छ। त्यो अवस्थामा हामीले राम्रो रोजगारी पाउने र धेरै पैसा कमाउने लक्ष्य लिन सक्छौं। त्यो भएन भने कुनै आपराधिक काम गरेर पनि धनी हुन सक्छौं। जे गरेर भए पनि पैसा थुपार्छौं। तर एकपटक हेरौं, र धेरै पैसा कमाएका मानिसलाई अलि अन्तरंग ढंगले उनीहरूको जीवनका बारेमा सोधौं। हामी पाउनेछौं, उनीहरू खुशी हुने कुराको केही ग्यारेन्टी छैन। उनीहरूलाई पैसाले कहिल्यै पुगेको हुँदैन। जति करोड रूपैयाँ साथमा भए पनि उनीहरूलाई अझै धेरै चाहिन्छ। उनीहरू कहिल्यै सन्तुष्ट हुँदैनन्। 

मलाई यो देख्दा अचम्म लाग्छ। मानिलिऊँ कसैसँग एक अरब डलर थियो, तर वर्तमान विश्वको आर्थिक परिस्थितिका कारण उनीहरूसँग आधा अरब मात्र बाँकी भयो। अब उनीहरूलाई कुनै दानधर्म वा परोपकारको काम गर्न मन लाग्दैन किनकि आधा अरब डलर मात्र बचेपछि उनीहरूमा असुरक्षाको भाव आउन थाल्छ। आफूसँग भएको पैसा बचाउनुपर्छ, पुरानो स्तरकै धन आर्जन गरेपछि मात्र फेरी अरुलाई बाँडौला भन्ने सोच आउँछ। उनीहरू सधैँ स्टक मार्केटको मूल्य हेरिरहन्छन् र आफूसँग भएको धन अझै गुम्ला कि भनेर हरेक दिन चिन्तित हुन्छन्। आफ्नो घरबाट कसैले केही चोरी गर्ला वा आफ्ना सन्तानलाई कसैले अपहरण गर्ला भनेर सधैँ डराइरहन्छन् र यसबाट बच्न निजी सुरक्षा गार्ड राख्छन् वा अन्य संयन्त्रको उपयोग गर्छन्। दक्षिणी अमेरिकाका धनीहरूका लागि यो साझा समस्या हो। उनीहरूलाई यस्तोसम्म लाग्न सक्छ कि पैसा हत्याउने बाहेक अरु कुनै कारणले मानिसहरू उनीहरूसँग मित्रता गर्न चाहँदैनन्। कोही मानिस आफूसँग राम्रो व्यवहार गर्छ भने त्यसको उद्देश्य पैसा कुम्ल्याउने मात्र हो भन्ने लाग्छ। निश्चय नै, उनीहरूलाई गरीब भएका कारण दुःख भोग्नु पर्दैन, तर पैसा भएका कारण चाहिँ अनेकौं समस्याहरू भोग्नु पर्छ। 

सांसारिक लक्ष्यहरूका आधार कमजोर हुन्छन् 

धन आर्जनबाहेक बुद्धधर्ममा अन्य धेरै “सांसारिक लक्ष्यहरू” को चर्चा गरिएको छ। अंग्रेजीमा “सांसारिक” शब्दको अर्थ अलि नकारात्मक जस्तो सुनिन्छ। तर कुरा त्यसो होइन। मेरा गुरु सेरकोंग रिन्पोछेका अनुसार तिब्बती भाषामा “सांसारिक” शब्दको अनुवाद जिक्तेन हुन्छ, जसले यसको सही अर्थ दर्शाउँछ। तेनको अर्थ हो – आधार, र जिक्को अर्थ हो – त्यो चीज जुन विखण्डित हुन लागेको छ। यदि हाम्रो लक्ष्य विखण्डित हुन लागेको कुनै चीज हो भने त्यसले हाम्रा लागि खुशी ल्याउँदैन। त्यसले थप समस्या मात्र निम्त्याउँछ, किनकि त्यसको आधार नै गतिलो हुँदैन। 

उदाहरणका लागि, मानिलिऊँ हाम्रो जीवनको लक्ष्य यस्तो छ – एक सुन्दर परिवार होस्, धेरै केटाकेटी हुन्, उनीहरूले बुढेसकालमा हाम्रो हेरचाह गरुन्, यस्तो भयो भने म खुशी र सुरक्षित हुनेछु। तर त्यस्तो सधैँभरी सम्भव हुँदैन। अर्को उदाहरण मानसम्मान कमाउने हुन सक्छ। तर तपाईं जति लोकप्रिय हुनुहुन्छ, त्यत्ति नै मानिसहरूले तपाईंको समय बर्बाद गरिदिन्छन्। ठूला फिल्म कलाकारहरूको जीवन हेर्नुहोस्, उनीहरू सामान्य भेषमा घरबाहिर निस्कन सक्दैनन् किनकि मानिसहरूको भीडले उनीहरूलाई घेर्छ, पागल समर्थकहरूले उनीहरूको कपडा धुजाधुजा पारिदिन सक्छन्। सुपरस्टार हुनु वास्तवमा एक ठूलो समस्या हो। 

हामीले आफ्नो जीवनलाई गम्भीरतापूर्वक हेर्यौं भने पाउनेछौं, भौतिक रूपमा केही आरामदायी स्थिति प्राप्त गर्नु मात्र पर्याप्त छैन। त्यस्तै आफ्नो वरपरका मानिसहरूसँग भावनात्मक स्तरमा आरामदायी स्थितिमा हुनु मात्रैले पनि हाम्रो जीवनका सबै समस्याहरू समाधान हुँदैनन्। यदि हामी रिस, आसक्ति, लोभ, इर्ष्या, अहंकार, अबुझपन आदि जस्ता दोषहरूले युक्त छौं भने हाम्रा समस्याहरू अझै बाँकी नै रहनेछन्। हामी कथित “सांसारिक” स्तरमा जति सफल भएपनि केही अर्थ हुँदैन।

नकारात्मक आवेग (क्लेश)

बुद्धधर्मले भविष्यका जन्महरू र हामीले भोग्नसक्ने सबै दुःख र पीडादायी अवस्थाको बारेमा चर्चा गर्छ। यो अवस्था तब आउँछ जब हामी “नकारात्मक आवेग” (क्लेश) को प्रभावमा परेर बाध्यतापूर्वक व्यवहार गर्छौं र नकारात्मक प्रवृत्तिलाई बढावा दिन्छौं। बौद्ध दृष्टिकोणमा यो अवस्था एकदम नराम्रो हो। कुन अवस्था राम्रो हो त्यो थाहा पाएपछि नराम्रो अवस्थाबाट टाढा बस्नुपर्दछ। नकारात्मक प्रवृत्तिले हाम्रा लागि समस्या र बेखुशी मात्र निम्त्याउँछ।

तर अधिकांश पश्चिमी मानिसहरू भविष्यको जन्मका बारेमा विश्वास गर्दैनन्। त्यसैले हामी वर्तमान जीवनको सन्दर्भमा मात्र कुरा गर्नेछौं। अहिलेको हाम्रो जीवनलाई गहिरिएर हेर्यौ भने पाउनेछौं, हाम्रा भावनात्मक समस्याहरूको वास्तविक स्रोत हामीभित्रै छ। बाह्य कारणहरूले त तिनलाई सक्रिय हुने वातावरण मात्र दिन्छन्। हाम्रो मनको शान्ति र खुशी खोसेर लिने असली कारण रिस, आसक्ति, लोभजस्ता हाम्रा आफ्नै नकारात्मक मनोभावहरू नै हुन्। तिनले नै हामीलाई आफ्ना असल गुणहरूको उपयोग गर्न दिँदैनन्। हामी कसैलाई सहयोग गर्न चाहन्छौं, जुन एक असल गुण हो। तर हामीलाई उनीहरूसँग रिस उठ्छ, र सहयोग गर्दैनौं। हामी उनीहरूलाई सही सल्लाह दिन चाहन्छौं, तर उनीहरू त्यसलाई लिँदैनन्, हामीसँग विवाद गर्छन्। र, हामी आफ्नो धैर्य गुमाउँछौं। यस्तो नकारात्मक मनोभावले हामीलाई कसैलाई सहयोग गर्न दिँदैन।

खासगरी आफ्ना सन्तानको हकमा यस्तो भयो भने एकदमै गाह्रो हुन्छ। उनीहरूले जे गर्दा राम्रो हुन्छ भन्ने हामीलाई लाग्छ, त्यहीअनुरुप उनीहरूलाई सल्लाह दिन्छौं। तर उनीहरूले त्यो कुरा मानेनन् भने हामी आफ्नो धैर्य गुमाउँछौं, हामीलाई रिस उठ्छ। यसले गर्दा हाम्रा सन्तानसँगको सम्बन्ध जटिल बन्न पुग्छ, होइन त? यसलाई सुधार्न हामीले केही गरेनौं भने यो सम्बन्ध झन् झन् खराब हुँदै जानेछ। उमेर ढल्कँदै जाँदा हामी केही नरम बन्न सकौंला किनकि त्यो बेला हामीमा धेरै बल बाँकी रहँदैन। तर हाम्रो रिस जीवितै हुन्छ। यस्तो आवेग त्यत्तिकै हराएर वा खिएर जाँदैन। 

बुद्धधर्मका सन्दर्भमा यो बेला हामीले प्रयोग गर्ने शब्द “भय” हो। तर अन्य भाषामा भयको नराम्रो अर्थ लाग्छ। अरु भाषामा यसको धेरै राम्रो स्थान छैन। त्यसैले म कहिलेकाहीँ अंग्रेजीमा “ड्रेड” (अत्यास) शब्दको प्रयोग गर्छु। यसलाई अरु भाषामा ठ्याक्कै अनुवाद गर्न सजिलो छैन। अत्यासको अर्थ “मलाई यो अवस्थाको सामना गर्नु छैन” भन्ने लाग्छ। उदाहरणका लागि, हामीलाई आफ्नो कार्यालयको एक दिक्कलाग्दो मिटिङमा जानु छ। त्यो बेला हामीलाई मिटिङमा जान ठ्याक्कै भय चाहिँ होइन, बरु अत्यास लाग्न सक्छ। हामीलाई त्यहाँ बस्न पटक्कै मन हुँदैन। 

यसलाई अलि सटीक ढंगले बुझ्नका लागि भयलाई दुई प्रकारमा विभाजन गर्नुपर्ने हुन्छ, चाहे हामी भविष्यका भयपूर्ण जन्महरूका बारेमा कुरा गरौं अथवा बुढेसकालको दुःखको वा अरु केही कुराको। एकप्रकारको भय त्यो हो, जसबाट मुक्तिका लागि हामी केही गर्न सक्दैनौं। त्यसमा हामी आफूलाई एकदमै निरीह र असहाय महसुस गर्छौं। झण्डै पक्षघात भएजस्तो अवस्थामा पुगिन्छ। भयको यो अवस्था अस्वस्थकर हुन्छ, तैपनि हामी यसलाई भोगिरहेका हुन्छौं। शरणगमनको सन्दर्भमा हामी दोस्रो प्रकारको भयको कुरा गर्छौं। हाम्रो उद्देश्य समस्याबाट मुक्ति हो, र हामी असहाय, निराश बनाउने भयको चर्चा गर्दैनौं। तर मैले पहिला भनेजस्तै हाम्रो भयबाट हामीलाई कुनै अलौकिक शक्ति वा प्राणीले बचाउने होइन। हामीले पूरा परिश्रमका साथ प्रार्थना गर्दैमा मात्र पुग्दैन, त्यसबाट हामी भयमुक्त भइहाल्दैनौं।

यहाँ हामीले बुझ्नुपर्ने कुरा के हो भने, एक हदसम्म हामी आफ्नो सुरक्षा आफैं गर्न सक्छौं। त्यो कुरा के हो जसले हामीलाई आफ्नो जीवनका दुःखहरूबाट मुक्त गर्न सक्ला? दुःखबाट मुक्ति कसरी सम्भव हुन सक्ला? हाम्रा दुःखका कारक तत्त्वहरू रिस, लोभ, आसक्ति जस्ता नकारात्मक आवेगहरू हुन् जो यथार्थप्रति हामीमा भएको भ्रमका कारण उत्पन्न हुन्छन्। यी नकारात्मक आवेग (क्लेश) हरू हाम्रो चित्तको नैसर्गिक स्वभावमा पर्दैनन्। तिनीहरूलाई सधैँका लागि हटाउन सकिन्छ, ताकि ती फर्केर नआऊन्। धर्म रत्नले ती आवेगहरूको “यथार्थ निरोध” हुने कुरा बताउँछ। 

चित्त वा मानसिक गतिविधि

बुद्धधर्ममा चित्त शब्दको सतही अर्थ मानसिक गतिविधि भन्ने बुझिन्छ। यो एक व्यक्तिगत, क्षण–प्रतिक्षण घटित हुने मानसिक गतिविधि हो जुन हामी निदाएको बेला पनि चलिरहेको हुन्छ। चित्त भन्नाले हामी यो मानसिक गतिविधिको व्यक्तिपरक अनुभूति बुझ्छौं। मस्तिष्क विज्ञानले चाहिँ यो प्रक्रियाको शरीरक्रिया–वैज्ञानिक आधारको चर्चा गर्छ। मानसिक गतिविधिको आधारभूत प्रकृति भ्रम, रिस, अथवा त्यस्तै कुनै आवेगबाट ग्रस्त हुने खालको होइन। वास्तवमा हरेक क्षण हाम्रो चित्तमा जुन चीज उत्पन्न भैरहेको हुन्छ, त्यसलाई हामी एक प्रकारको मानसिक होलोग्राम (थ्री–डी छवि) भन्न सक्छौं। उदाहरणका लागि, भौतिक दृष्टिकोणबाट फोटोन (प्रकाश) हाम्रो आँखामा प्रवेश गर्दछ र यसले एक प्रकारको विद्युतीय आवेग उत्पन्न गर्दछ जुन न्यूरोट्रान्समिटरहरू मार्फत हाम्रो मस्तिष्कमा पुग्छ, र त्यसपछि दिमागले आन्तरिक होलोग्राम उत्पन्न गर्दछ। हामीले कुनै कुरा “देख्नु” भनेको यही हो।  निस्सन्देह, माकुरो वा झिंगाको आँखाका कोषहरूले देख्नुभन्दा मानव आँखाका कोषहरूले देख्नु धेरै फरक हुन्छ। त्यस्तै हामीले जुन कम्पनलाई “ध्वनि तरंग” भन्छौं त्यसको हकमा पनि यही प्रक्रिया लागु हुन्छ, जसका कारण हामी सुनेको अनुभव गर्छौं। यस्तो मानसिक होलोग्राम कुनै ज्ञानेन्द्रियको विषयसँग वा मनको विचारसँग पनि सम्बन्धित हुन सक्छ।

तर देख्ने प्रक्रिया क्यामेरामा फोटोन प्रवेश गरेर कुनै प्रकारको विद्युतीय आवेगमा परिणत हुने र एक चित्रको निर्माण गर्नेजस्तो मात्र होइन। हाम्रो देखाइ त्योभन्दा फरक हुन्छ। कुनै चीजको मानसिक होलोग्राम उत्पन्न भए सँगसँगै त्यसमा “संज्ञानात्मक प्रक्रिया” पनि जोडिन्छ। तपाईं यसप्रति सचेत अथवा अचेत हुन सक्नुहुन्छ, होशमा वा बेहोशीमा हुन सक्नुहुन्छ, तर सबै अवस्थामा कुनै प्रकारको संज्ञानात्मक गुण विद्यमान हुन्छ। 

मानसिक गतिविधि कम्प्युटरजस्तो पनि हुँदैन जहाँ हामी किबोर्डका स–साना “की” हरू थिच्छौं र त्यसबाट केही विद्युतीय सन्देशहरू कम्प्युटरभित्र पुग्छन्। त्यहाँ ती विद्युतीय सन्देश चित्र वा ध्वनिमा परिणत हुन्छन् जुन स्क्रीनमा देखिन्छ वा स्पीकरमा सुनिन्छ। हामीलाई लाग्न सक्छ कि कम्प्युटरमा कुनै संज्ञानात्मक क्षमता छ, किनकि यसको कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) ले सूचना सोधनको काम गर्दछ। तर कम्प्युटर जीवित प्राणी होइन। हामी र कम्प्युटरमा के फरक छ भने हामी आफ्नो मानसिक गतिविधि सँगसँगै एक प्रकारको खुशी वा बेखुशीको अनुभव गर्छौं, जुन कम्प्युटरले गर्न सक्दैन। कम्प्युटरले केही कुरामा पनि खुशी वा बेखुशीको अनुभव गर्न सक्दैन। यसले यसरी सोच्न सक्दैन – “हत्तेरिका! मभित्र केही गडबडी भयो। मैले रि–बुट हुँदा काम गर्दै गरेको फाइल मेटाएँछु।” यस्तो सोच्दै दुःखी हुने काम कम्प्युटरले गर्न सक्दैन। तर हाम्रो हकमा त्यस्तो केही गडबडी भयो भने हामी धेरै नै दुःखी हुन्छौं।

यो क्षण-प्रतिक्षण घटित हुने मानसिक गतिविधि हाम्रो जीवनको प्रत्येक पलमा निरन्तर जारी रहन्छ। कुनै न कुनै प्रकारको मानसिक होलोग्राम हरेक क्षण बनिरहेको हुन्छ। त्योसँग सम्बन्धित मानसिक प्रक्रिया हुन्छ, र साथसाथै एक प्रकारको खुशी वा बेखुशीको अनुभव पनि हुन्छ। निद्रामा भएको बेला यो होलोग्राम अँध्यारो खालको हुन सक्छ। त्यो बेला हाम्रो मानसिक सहभागिता बेहोशीको हुन सक्छ। तर त्यो बेला पनि केही सचेतनता बाँकी हुन्छ। नत्र निद्राबाट बिऊँझनका लागि राखिने अलार्म घडीको आवाज हामीले सुन्ने थिएनौं। हाम्रो चेतना सम्पूर्ण रूपमा बन्द भएको हुँदैन। एक खालको अनुभूति भैरहेको हुन्छ, चाहे त्यो स्पष्ट रूपमा खुशी वा बेखुशीको नभएर तटस्थ भावको नै किन नहोस्। यो सपना नआएको बेलाको कुरा हो। सपना देखिरहेको बेला त स्पष्टै रूपमा खुशी वा बेखुशीको भाव अनुभव हुन्छ, साथसाथै रिस, लोभ आदि अनेक प्रकारका आवेगहरू पनि आउँछन्। तर यी सब नकारात्मक आवेगहरू हाम्रो चित्तमा निरन्तर, क्षण–प्रतिक्षण चल्ने मानसिक गतिविधिको अपरिहार्य अंग भने अवश्यै होइनन्।

त्यस्ता धेरै जटिल दर्शनहरू विद्यमान छन् जसको सहायताले हामी आफ्नो मानसिक गतिविधि जस्तो देखिए पनि यो मूलभूत रूपमा शुद्ध रहेको कुरा जान्न सक्छौं। यस्ता दर्शनहरू हुनु स्वाभाविक पनि हो। तर अहिले हामी त्यसको छलफल गरिरहेका छैनौं। हाम्रा मानसिक गतिविधिसँग जोडिएर आउने नकारात्मक विषयहरूबाट मुक्ति पाउन संभव छ। जति गहिरिएर यसबारे विचार गर्यो, त्यति हामी यो कुराको सत्यतालाई राम्रोसँग जान्न र विश्वास गर्न सक्छौं।

नकारात्मक आवेग (क्लेश) लाई परिभाषित गर्नुपर्दा यो त्यस्तो भाव हो जसको उत्पत्ति हुँदा हाम्रो चित्तको शान्ति भंग हुन्छ र हामी आफूमाथि आफ्नो नियन्त्रण गुमाउँछौ। यसको परिणामस्वरूप हामी रिस, लोभ आदिद्वारा प्रेरित भएर विभिन्न प्रकारका बाध्यकारी व्यवहार गर्न थाल्छौं। यी बाध्यकारी व्यवहारले अरु थुप्रै प्रकारका समस्याहरू उत्पन्न गराउँछन्। उदाहरणका लागि, हामी आत्म–नियन्त्रण गुमाएर सोचविचार नगरी अरु व्यक्तिमाथि रिसले कराउन चिच्याउन र अनेक कुरा भन्न थाल्छौं। तर पछि त्यही कुराले गर्दा हामीलाई पछुतो हुन्छ। हामीले गरेको व्यवहारले एक प्रकारको “नकारात्मक संभाव्यता” को निर्माण हुन्छ, जसका कारण हामीले पछि दुःखको अनुभव गर्नुपर्छ। 

यदि हामी साँच्चिकै भित्रैदेखि भविष्यमा उत्पन्न हुन सक्ने समस्याहरूबाट जोगिन चाहन्छौं भने हामीले यी सबै नकारात्मक मनोभाव र भ्रमपूर्ण दृष्टिकोणबाट मुक्त रहनु पर्छ। यिनीहरूबाट मुक्ति पाउन सम्भव पनि छ, किनकि यी मनोभावहरू चित्तको आफ्नो सहज प्रकृति र मानसिक गतिविधिको यथार्थ अंग होइनन्। यसका अतिरिक्त यदि हामीले क्षण प्रतिक्षण निरन्तर चल्ने यो मानसिक गतिविधिका बारेमा अलि गहिरोसँग विचार गर्यौं भने पाउनेछौं कि यिनै मानसिक गतिविधिको सहायताले हामी विविध विषयहरूको जानकारी लिन सक्छौं। हामी भित्र मैत्री र करुणा जस्ता धेरै सकारात्मक भावहरू पनि हुन्छन्। यी सकारात्मक भावहरूलाई हामीले अझ धेरै विकसित गर्न सक्छौं। 

तर यी नकारात्मक र सकारात्मक भावहरूमा के अन्तर छ त? नकारात्मक मनोभाव भ्रममा आधारित हुन्छ। यसका विपरीत सकारात्मक अवस्था (जस्तै जान्नु अथवा बोध गर्नु) यथार्थमा आधारित हुन्छ। एक सामान्य उदाहरणबाट यसलाई बुझौं। भ्रमका कारण हामीमा यस्तो विचार आउन सक्छ – “म नै यो ब्रह्माण्डको केन्द्रबिन्दु हुँ। म नै सबैभन्दा महत्वपूर्ण हुँ। सधैंभरी मेरो इच्छा अनुसार नै सबै काम हुनु पर्छ। सबैको ध्यान सधैंभरी ममाथि नै केन्द्रित रहनु पर्छ,” आदि। यदि हामी यसरी सोच्छौं, तर केहीगरी सबैको आकर्षणको केन्द्र हुन सकेनौं र आफूले भनेमुताबिक काम भएन भने हामी रिस उठ्छ। कुकुरले अरुमाथि भुकेजस्तै गरी हामी अरुमाथि रिस पोख्न थाल्छौं। “मैले जसरी भनेको थिएँ, तैंले फलानो काम त्यसरी गरिनस्!” यसरी कराउन थाल्छौं। यो सब भ्रम या मिथ्या दृष्टिका कारण हुन्छ। वास्तविकता के हो भने यो दुनियाँमा हामी सबै बराबर छौं। सबैजना आफूले भनेजस्तै सबैथोक होस् भन्ने सोच्छौं, जुन सम्भव हुँदैन। हामी सबैले एक आपसमा मिलेरै बस्न सिक्नु पर्छ। यो संसारको वास्तविकता त्यही हो। 

यथार्थ निरोध 

यो कुराको जति गहिरोसँग जाँच गर्यो त्यत्ति राम्रोसँग हामी देख्नेछौं कि हाम्रो भ्रम वास्तवमा आफैं धेरै समय टिक्दैन। किनकि यो मिथ्या हुन्छ। तर अर्कोतर्फ सही बोध भनेको तथ्यद्वारा प्रमाणित गर्न सकिन्छ। त्यो चाहिँ यथार्थ हुन्छ। यसै कारण यथार्थमाथि आधारित बोध भ्रमभन्दा शक्तिशाली हुन्छ, यसका सामु भ्रम टिक्न सक्दैन। यदि हामीले एकाग्रता र आत्म-अनुशासनको सहायताले यथार्थको सही बोधलाई हर समय कायम राख्न सक्यौं भने भ्रमले फेरी उत्पन्न हुने अवसर नै पाउन सक्दैन। त्यो समाप्त हुन्छ। 

शरणगमनको मूलमर्म यही हो। हामी आफ्नो जीवनलाई कुन दिशा दिइरहेका छौं? कस्तो अर्थ दिइरहेका छौं? हामी आफ्ना लागि कुन लक्ष्य निर्धारित गर्न लागेका छौं? हाम्रो लक्ष्य हो – यस्ता सबै प्रकारका भ्रमको “यथार्थ निरोध” गर्न सकौं ताकि तिनबाट पूरै मुक्ति पाइयोस्, र तिनीहरू फेरी कहिल्यै पनि उत्पन्न हुन नसकुन्। चाहे वर्तमान जन्मको कुरा गरौं वा भविष्यको, हाम्रो भ्रम नै हाम्रा समस्याहरूको वास्तविक कारण हो। यसबाट पूर्ण रूपमा, सधैँका लागि मुक्ति पाउन सम्भव छ, किनकि यो भ्रम हाम्रो मानसिक गतिविधिको यथार्थ र अन्तर्निहित स्वभाव होइन। हामी यसलाई सही बोधले प्रतिस्थापित गरेर यसबाट मुक्ति पाउन सक्छौं। जब हामी भ्रमबाट मुक्त हुन्छौं, हामीभित्र नकारात्मक मनोभाव उत्पन्न हुन पनि बन्द हुन्छ। यसबाट हामी आफ्ना लागि थप दुःख वा पीडा उत्पन्न गर्ने काम गर्न पनि बन्द गर्छौं। 

यहाँ यसका दुइ पक्ष छन्। पहिलो, हामी नकारात्मक भावहरूबाट सधैंका लागि मुक्ति पाउन सक्छौं। अर्को, सकारात्मक भावहरूको बृद्धि र तिनलाई राम्रोसँग विकसित गर्न सक्छौं। सही बोध अर्थात् सम्यक दृष्टि सकारात्मक पक्ष हो। यो कुरालाई हामी “चार आर्यसत्य” को परिप्रेक्ष्यमा विचार गर्न सक्छौं। “चार आर्यसत्य” ले बुद्धको शिक्षाको प्रमुख खाका प्रस्तुत गर्छ। पहिलो सत्य हो, हामी सबैका लागि यथार्थ दुःख एक सत्य हो (दुःख सत्य), जुन हाम्रा विभिन्न प्रकारका अनेकौं समस्याहरूसँग सम्बन्धित छ। दोस्रो सत्य हो, यो दुःखको यथार्थ कारण पनि छ (समुदय सत्य), र हाम्रो भ्रमपूर्ण दृष्टिकोण नै त्यो कारण हो। तेस्रो सत्य हो, यो भ्रमपूर्ण दृष्टिकोणको यथार्थ निरोध (निरोध सत्य) सम्भव छ ताकि यो फेरी उत्पन्न हुन नसकोस्। चौथो सत्य हो, हामी यस्तो यथार्थ निरोधलाई “यथार्थ मार्ग” को अनुसरण गरेर सम्भव बनाउन सक्छौं (मार्ग सत्य)। यहाँनेर “मार्ग” भन्नाले हामी बोध प्राप्त गर्ने त्यस्तो प्रक्रिया बुझ्छौं जसले मार्गको काम गर्छ। यस्तो बोध या ज्ञानले नै हाम्रो यथार्थ शोधन सम्भव हुन्छ। यो बोध हामीले आफ्ना नकारात्मक मनोभावबाट मुक्ति पाए सँगसँगै उत्पन्न हुन्छ। 

स्पष्टै छ, हामी आफ्नो जीवनलाई त्यस्तो दिशा दिन चाहन्छौं, जसले निरोध सत्य र मार्ग सत्यको बाटोमा चित्तलाई स्थापित गरोस्। धर्मको शरणमा जानुको मतलब यही हो। आफूभित्र गहिरिएर सुधारको प्रयत्न गर्नु भनेको पनि यही हो। 

हामी आफ्ना नकारात्मक अवस्थाहरूबाट मुक्ति पाउनका लागि धेरैभन्दा धेरै प्रयत्न गर्छौं। त्यस्तै, सकारात्मक अवस्था प्राप्त गर्नका लागि आफ्ना क्षमताहरूको धेरैभन्दा धेरै विकास गर्न प्रयासरत रहन्छौं। हामी त्यसो गर्छौं किनभने हामीलाई एक प्रकारको सकारात्मक डर हुन्छ कि हामी जस्तो छौं, त्यही अवस्थामा मात्र रह्यौ भने चाहे जतिसुकै धेरै धन–सम्पत्ति पाइयोस्, वा हाम्रा जतिसुकै धेरै मित्र–हितैषीहरू हुन्, वा हामीलाई जतिसुकै धेरै मान–सम्मान प्राप्त होस्, हाम्रा समस्याहरू जहाँको तहीँ अर्थात् हामीसँगै रहन्छन्। यस्तो किन हुन्छ भने हामी आफ्ना लोभ र असुरक्षा जस्ता भावहरूबाट ग्रस्त नै रहन्छौं। हामी क्रोध आदि नकारात्मक आवेगहरूबाट प्रभावित भइ नै रहन्छौं। हामीलाई आफ्नो यो अवस्थाप्रति डर त हुन्छ, तर साथै बोध पनि हुन्छ कि यसबाट बच्ने उपाय छ। यसलाई यसरी बुझौं, हामीलाई आगोले पोल्ने डर हुन्छ तर यो पनि ज्ञान हुन्छ कि सावधानी अपनायो भने आफूलाई जल्नबाट बचाउन सकिन्छ। यो एक डर नै हो, तर सकारात्मक प्रकृत्तिको। यो मानसिक विभ्रम (प्यारानोइया) भन्दा फरक कुरा हो। 

हामी आफ्ना नातेदारहरू र साथीहरूसँग रिसाएर मात्र बस्छौं, उनीहरूलाई सधैं चिच्याएर, कराएर गाली मात्र गर्छौं भने हाम्रो बुढेसकालमा के हालत होला? हामी त्यस्ता बृद्ध/बृद्धा हुनेछौं जोसँग एक छिन पनि समय बिताउन मुस्किल हुनेछ। हामीलाई कसैले भेट्न खोज्दैन, कसैले हाम्रो हेरचाह गर्न खोज्दैन। हामी सधैं अरुको सिकायत मात्र गर्छौं, मानिसहरूलाई तथानाम गाली गरिरहन्छौं भने कोही हाम्रो छेउ पर्न खोज्ला? धेरै सन्तान भए उनीहरूले हाम्रो हेरचाह गर्नेछन् भन्दै धेरै सन्तान जन्माउनु यसको समाधान होइन। धेरै पैसा बैंकमा जम्मा गरेर पछि कुनै सुविधासम्पन्न नर्सिङ होममा बुढेसकाल बिताउँछु भनेर सोच्नु पनि यसको उपाय होइन। यी सबका वाबजूद पनि हामी दुःखी नै रहन्छौं। सीधा भाषामा कुरा गर्ने हो भने हाम्रो सुखको उपाय भनेको हामीले आफ्नो व्यक्तिगत गुणमा सुधार ल्याउनु हो।

सबैले आफूमा परिवर्तन ल्याउन सक्छन् 

हामी प्रायः यो सोच्छौं कि हाम्रा व्यक्तिगत गुणहरू अपरिवर्तनीय हुन्छन् र हामी यस्तै नै हुन्छौं। “म अलि झोक्की पाराको छु, तिमीलाई मसँग बस्नु छ भने मेरो पारालाई सहन सिक।” यस्तो व्यवहार हामीले गर्यौं भने काम चल्दैन, होइन त? आफ्नो यस्तो नकारात्मक गुणलाई बदल्न सकिन्छ र राम्रा गुणहरूको विकास गर्न सकिन्छ। नकारात्मक गुणलाई बदलेन भने के हुन्छ भन्ने स्वस्थ डर र आफूलाई सुधार गरेर यस्ता नकारात्मक गुणहरूलाई निषेध गर्न र सकारात्मक गुणहरूको विकास तथा प्रवर्धन गर्न सम्भव छ भन्ने आत्मविश्वासका माध्यमद्वारा हामी आफ्नो जीवनलाई माथि भनिए जस्तै एक सुरक्षित दिशा प्रदान गर्न सक्छौं। 

यदि हामी यो कार्यलाई “महायान” पद्धतिबाट गर्न चाहन्छौं भने यसमा करुणाको भाव जोड्नु पर्ने हुन्छ। महायानका दृष्टिले, यदि हामीलाई कसैप्रति रिस उठ्यो भने त्यो व्यक्तिको कसरी सहायता गर्न सकिन्छ भन्ने कोणबाट सोच्छौं। हामी भित्रैदेखि अरुको सहायताको प्रयत्न गर्छौं, र उसको रिस गर्यो, वा उप्रति आसक्ति राख्यो, वा उसँग ईर्ष्या गर्न थाल्यो भने परिस्थिति पूरै बिग्रेला भनी हामी डराउँछौं। नकारात्मक आवेगहरू र भ्रमबाट हामी मुक्त हुनैपर्छ ताकि हामी साँच्चिकै धेरैभन्दा धेरै अरुलाई सहायता गर्न सकौं। हामीभित्र साँच्चिकै अरुलाई सहायता गर्ने भाव त हुन्छ, तर साथै त्यति धेरै सहयोग गर्न नसकिएला कि भन्ने आशंका पनि हुन्छ। हामीसँग पर्याप्त धैर्य पनि हुँदैन वा पर्याप्त सुझबूझको कमी हुन्छ। कतै अरुको सहयोग गर्नुको बदला नोक्सानी त गर्दै छुईंन भन्ने शंका पनि उब्जिन सक्छ। शायद हामीलाई आफ्ना बालबालिकाको राम्रोसँग हेरचाह गर्ने काममा विफल पो भइएला कि भन्ने चिन्ताले पनि सताउन सक्छ। त्यस्तो अवस्था एकदमै नराम्रो हो, होइन त? यस्ता विभिन्न खालका डरहरूका कारण हामीलाई आफ्नो जीवनलाई आत्मसुधारको सही र सुरक्षित दिशामा लगाउन प्रेरणा मिल्छ। 

धर्म रत्न हाम्रो दैनिक जीवनका लागि ज्यादै प्रासंगिक छ। शरणगमनको दृष्टिले यो आफ्नो परिस्थिति र समस्याहरूका बारेमा एकदमै ईमानदारीपूर्वक विचार गर्नुसँग सम्बन्धित छ। हामी सबै अनेक समस्याहरूको सामना गरिरहेका हुन्छौं। यी नकारात्मक मनोभावहरूले हामी सबैलाई प्रभावित गर्छन्। यसमा विशेष नौलो कुरा केही पनि छैन। केही नकारात्मक आवेग अरुभन्दा ज्यादा प्रबल हुन सक्छन्। तिनीहरूको प्रकार पनि अनेक हुन सक्छ। तर हामी सबैले यी भावनात्मक कठिनाइहरूको सामना त गर्नै पर्छ। यहाँ हामी मनोवैज्ञानिक स्तरमा धेरै अशान्त मानिसको मात्र चर्चा गरिरहेका छैनौं। हामी त्यो कुराको चर्चा गर्दैछौं जसलाई सबैले मान्छन्। तर यसमा खतरा के छ भने हामी आफू रिसाउने, लोभ गर्ने, डाहा गर्ने आदि कुरा सामान्य हुन्, यी त हुँदै गर्छन्, यो ठीकै त हो नि भनेर यसलाई आफ्नो स्वभावको रूपमा ग्रहण गरिदिन्छौं। तर यो ठीक होइन, किनकि यस्तो नकारात्मक मनोभावका कारण हामी आफ्नै लागि र ती मानिसका लागि समस्या खडा गर्छौं जसको हामी सहायता गर्ने प्रयत्न गर्दैछौं।

आफ्नो रिसलाई कसरी खपेर बस्ने र भित्रभित्रै यसले हामीलाई जलाइरहेको भए पनि कसरी यसलाई नियन्त्रणमा राख्ने – यो सिक्नु मात्र हाम्रो लक्ष्य होइन। आफ्नो रिसलाई कमजोर बनाउनु मात्र हाम्रो उद्देश्य होइन, बरु यी सबै प्रकारका नकारात्मक आवेगबाट पूर्णरूपमा मुक्त हुनु हाम्रो उद्देश्य हो। हामी केवल केही समयका लागि अलिकति ज्ञानको विकास गर्न मात्र चाहँदैनौं, बरु सत्यको बोधलाई पूर्णरूपमा विकसित गर्न चाहन्छौं। हाम्रो अस्तित्वको आधार के हो, अरु सबै जीवहरूको अस्तित्वको आधार के हो, दुनियाँको अस्तित्वको आधार के हो, हामी चाहन्छौं यी सबै चीजहरूको बोध हर समय हामीलाई भइरहोस्। यस्तो अवस्था हासिल गर्नु पूर्णतया सम्भव छ, किनकि हाम्रो मानसिक गतिविधिको प्रकृति मूलतः शुद्ध हुन्छ र त्यसमा सबै असल गुणहरूलाई विकसित गर्ने पूर्ण क्षमता हुन्छ। 

प्रातिभासिक स्तरमा बुद्धका असल गुणहरू

जीवनलाई सुरक्षित दिशा वा आश्रय प्रदान गर्ने सन्दर्भमा कुरा गर्नुको हाम्रो अभिप्राय बुद्ध, धर्म र संघको कुरा गर्नु हो। यी तीन रत्नलाई बुझ्ने स्तरहरू पनि फरक फरक हुन्छन्। प्रत्येकको एक प्रत्यक्ष (प्रतिभासिक) स्तर हुन्छ, एक गूढतम स्तर हुन्छ, र एक त्यस्तो स्वरूप हुन्छ जसले यी रत्नहरूको बाह्य प्रतिनिधित्व गर्छ। हामी प्रथमतः प्रत्येकको प्रातिभासिक स्तरमा असल गुणहरूको चर्चा गर्छौं।

कुनै पनि बुद्धको शरीरमा असाधारण गुणहरू हुन्छन्। उनीहरूको शरीरको लक्षण पनि विशेष हुन्छ। उदाहरणका लागि, बुद्धहरू एकै क्षणमा जुनसुकै ठाउँमा पनि पुग्न सक्छन्, आफ्नो शरीरबाट अनेकानेक रूप धारण गर्न सक्छन्। सबै स्थानमा एकैपटक उपस्थित हुन सक्छन्, आदि। यो कुरा सुन्दा अलि काल्पनिक लाग्न सक्छ र सजिलैसँग विश्वास गर्न सकिँदैन। यसका अतिरिक्त बुद्धले बोलेको कुरा सबै मानिसले आफ्नो–आफ्नो भाषामा बुझ्छन्। उनीहरू जतिसुकै टाढा रहेका भए पनि बुद्धले बोलेका कुरा स्पष्टसँग सुन्न सक्छन्। योभन्दा बढी, बुद्धहरू सर्वप्रेमी, सर्वदर्शी सत्व हुन् जसले सबैलाई समान रूपले प्रेम गर्छन् र सबै कुराको एकै समयमा बोध गर्न सक्षम हुन्छन्।

यो विवरण सुन्दा धेरै काल्पनिक र अविश्वसनीय लाग्छ। त्यसैले यदि हामी बुद्धका बारेमा यो स्तरमा मात्र विचार गरेर बस्यौं भने वास्तविक कुरा बुझ्नमा गल्ती हुन सक्छ। यस्तो लाग्छ कि हामी कुनै काल्पनिक ज्ञानातीत सत्वको कुरा गर्दैछौं, मानिलिऊँ उनी कुनै ईश्वर हुन्। तर कुरा त्यसो होइन। सर्वदर्शी हुनुको मतलब यो होइन कि बुद्धलाई यो पृथ्वीका हरेक मानिसको टेलीफोन नम्बर थाहा हुन्छ। यसको मतलब यो हो कि बुद्धले कुनै पनि मानिसको अवस्था र त्यसका मूल कारणहरू जान्दछन् र ती कारणहरूलाई प्रभावित गर्ने कारक तत्त्वका बारेमा पनि जान्दछन्। जब कुनै बुद्धले कसैलाई केही शिक्षा दिन्छन्, उनीहरूले त्यसको परिणाम के हुन्छ भन्ने होश राख्छन्। शिक्षा लिनेलाई प्रत्यक्ष पर्ने प्रभाव मात्र होइन, उनीहरूको सम्पर्कमा आउने सबै मानिसलाई यसको के असर पर्छ, त्यसको बोध बुद्धलाई हुन्छ। परिणामतः अरुलाई शिक्षा दिने सबैभन्दा उत्तम तरीका के हो, बुद्धलाई ठीक–ठीक थाहा हुन्छ। यो ज्यादै राम्रो कुरा हो, होइन त? यस्तो गर्ने क्षमता हुनु भनेको त धेरै उत्तम कुरा हो। 

बुद्धहरू ज्ञानी हुन्छन् र हाम्रो सहायताका लागि सबैभन्दा उत्तम तरीका के हो उनीहरूलाई थाहा हुन्छ। यो कुराको हामीलाई विश्वास हुन्छ। त्यस्तै बुद्धले मेरो भाषा बोल्छन् र जहिले मलाई आवश्यकता हुन्छ, तत्क्षण सहायताको लागि मेरो सामु उपस्थित हुन सक्छन्। यसरी हामी बुद्धलाई कुनै ईश्वरको रूपमा ग्रहण गर्ने दिशामा अगाडि बढ्छौं भने यो अलि व्यक्तिगत कुरा भयो। “उनी व्यक्तिगत रूपमा मेरो सहायता गर्न सक्छन्। मेरो कुरा बुझ्न सक्छन्। मेरो कुरा अरु कसैले पनि बुझ्न सक्दैन, तर बुद्धले सक्छन्।” तर हामी यो पनि जान्दछौं कि बुद्धहरूले सबैलाई समान रूपले मैत्रीपूर्ण प्रेम गर्छन्। “यो त झनै राम्रो भयो। हुनत बुद्धले अरुलाई भन्दा मलाई ज्यादा प्रेम गरुन् भन्ने मलाई लाग्छ। तैपनि ठीकै छ।” कुनै पनि बुद्धले सबैलाई समान रूपले मैत्रीपूर्ण प्रेम गर्छन् र बदलामा हामीले उनीहरूसँग कस्तो व्यवहार गर्छौं, त्यो कुराले उनीहरूको प्रेम प्रभावित हुँदैन। यो कुरा हामीलाई राम्रो लाग्छ किनकि हामीले बुद्धका अगाडि प्रार्थना गर्नु पर्दैन र उनीहरूलाई केही कुरा चढाउनु पनि आवश्यक हुँदैन। जे भएपनि बुद्धले हाम्रो सहायता त गरिहाल्छन्। त्यसैले यो हाम्रा लागि एकदम सजिलो कुरा भयो। हामीले बदलामा केही दिनु पनि पर्दैन। गज्जबको सौदा हुने भयो हाम्रो लागि। यसका अलावा, बुद्ध अत्यधिक धैर्यवान हुन्छन्, त्यसैले हामी अन्य कुनै परम्पराका शिक्षकको शरणमा गयौं भने पनि त्यसको ईर्ष्या गर्दैनन् र कहिल्यै पनि रिसाएर हामीमाथि कुनै वज्रपात गर्ने वा कुनै दण्ड सजाय दिने काम गर्दैनन्। त्यसैले यो बाटो एकदम सुरक्षित छ।

यस्तो सोच जानीबुझी वा नजानीकनै पनि आउन सक्छ। यो मानिसले सामान्यतया गर्ने गल्ती हो। हामी बुद्धलाई ईश्वरको कुनै विकल्पका रूपमा देख्न सक्छौं जोसँग कुनै नाफाघाटाको हिसाब गर्न सकिन्छ र जो सुरक्षित पनि हुन्छ। धर्मशिक्षामा यो खालको कुरा बताइन्छ कि बुद्धले तपाईंलाई कहिल्यै निराश गर्ने छैनन्, आदि। यो कुरा सुन्दा धेरै राम्रो लाग्छ। तर यस्तो शिक्षा पनि छ कि हामीले खुट्टामा बिझेको काँडा निकालेर फ्याँकेजस्तै सजिलो गरी बुद्धले हामीलाई दुःखहरूबाट निकालिदिन सक्ने छैनन्। बुद्धहरू सर्वशक्तिमान हुँदैनन्। तर हामी यो कुरालाई धेरै गम्भीरतापूर्वक लिँदैनौं। बुद्धका यी गुणहरू त प्रातिभासिक स्तरमा हुन्छन्। यो भनेको कुनै पनि बुद्धका बारेमा लिइने सामान्य दृष्टिकोण हो। योभन्दा गहन र गूढ स्तरमा बोध नगरीकन आफ्नो दृष्टिकोणलाई यत्तिकैमा सीमित राखिदिने हो भने बुद्धलाई निजी वैकल्पिक ईश्वरका रूपमा लिने र हाम्रो रक्षा गरिदेलान् भनेर आश गरेर बस्ने खतरा हुन्छ।  

बुद्धहरूलाई प्रतिमा तथा चित्रहरूको माध्यमबाट दर्शाउने गरिन्छ। ती प्रतिमा र चित्र सुन्दर हुन्छन्, तर के हामी तिनलाई कुनै पारम्परिक क्रिश्चियन सम्प्रदायले मान्ने प्रतिमाजस्तै मानिरहेका हौं त? यो सब के हो? के हामी मुस्लिमहरूले आरोप लगाएजस्तै मूर्तिपूजा गरिरहेका हौं त? खासमा यहाँ के भैरहेको छ? के हामीलाई कुनै प्रतिमाको अगाडि टाउको निहुर्याएर बस्नु पर्छ र? यो स्तरमा हामीले बुद्धलाई मानेर छाडिदियौं भने पनि समस्या उत्पन्न हुन्छ। यसबाट भ्रांति उत्पन्न हुने सम्भावना रहन्छ। केही मानिसका लागि बुद्धका बारेमा यस प्रकारले विचार गर्नु लाभप्रद हुन सक्छ तर यो गहनतम बोध होइन। यो स्तरमा बुद्धलाई बुझ्नु भनेको कुनै ईश्वरजस्तो शक्तिलाई प्रतिमा र चित्रहरूको सहायताले प्रदर्शित गर्नु र तिनको पूजा–अर्चना गर्नु हो। 

प्रातिभासिक स्तरमा धर्मका असल गुणहरू

सबै शिक्षाहरू धर्मका प्रातिभासिक स्तर हुन्। बुद्धले आफूभित्र ज्ञानको खोज गर्नुभयो र पछि यसैका बारेमा शिक्षा दिनुभयो। सामान्य अर्थमा यसलाई यसरी लिन सकिएला – हाम्रा एक निजी ईश्वर छन्, जो बुद्ध हुन्, र हाम्रो आफ्नो एक धर्मग्रन्थ छ। अब बाइबल या कुरानको बदला म बुद्धको ग्रन्थलाई मान्छु। त्यो ग्रन्थ मेरो बौद्ध बाइबल जस्तै हो, म त्यसमा लेखिएका हर शब्दलाई पवित्र मान्छु। तर त्यसो सोच्नु ठीक होइन। हुनत हामीले ती ग्रन्थप्रति सम्मानको भाव राख्नु पर्छ, तर बुद्ध आफैंले भन्नुभएको छ कि “मैले भनेको कुनै पनि कुरालाई मप्रति आदरभाव राखेका कारणले मात्र विश्वास नगर्नु। मेरो कुरालाई त्यसरी नै परीक्षण गर्नु जसरी तिमी आफ्ना लागि सुन किन्ने बेलामा गर्छौ।” बुद्ध आफ्ना अनुयायीहरूलाई आफूले दिएको शिक्षाको सधैं आलोचना गरेर हेर्न प्रेरित गर्नुहुन्थ्यो। तर आलस्यका कारण हामी हरेक कुराको विश्लेषण र जाँच परख गर्न चाहँदैनौं। बुद्धले हामीलाई प्रेम गर्नुहुन्छ, हाम्रो कुरा बुझ्नुहुन्छ, सबै नियम पवित्र ग्रन्थमा दिइएकै छ, हामी तिनको पालना गरिहाल्छौं – यस्तो कुराको दैनिक जीवनमा महत्त्व नभएको होइन। तथापि बुद्धधर्म भनेको त्यत्ति मात्र होइन। हुनत कसैकसैका लागि यो तरीकाले काम पनि गर्ला। तर बुद्धधर्मको मर्म भनेको यसलाई क्रिश्चियानिटीको अर्को कुनै रूपजस्तो बनाएर मान्नु होइन। 

प्रातिभासिक स्तरमा संघका असल गुणहरू

संघको सम्बन्धमा चाहिँ यसलाई कसरी बुझ्ने त? दुर्भाग्यको कुरा, पश्चिमी जगतमा हामीले यस्तो बानी बसालेका छौं कि आफू आवतजावत गरिराख्ने धर्मकेन्द्रका सबै सदस्यलाई “संघ” भनेर सम्बोधित गर्छौं। तर संस्कृत या तिब्बती भाषामा यो शब्दको आशय पक्कै पनि त्यस्तो थिएन। अहिले धेरै मानिसका लागि “संघ” शब्दको अर्थ केवल आफ्नो धार्मिक सभा, आफ्नो बौद्ध चर्चका सदस्यहरूमा मात्र सीमित भएको पाइन्छ। तर यिनै समूहका केही सदस्य एकदमै अशान्त प्रकृतिका रहेछन् भने के हामी उनीहरूको शरणमा जान्छौं? हुनत एकै प्रकारको लक्ष्य प्राप्तिका लागि काम गर्दै गरेका समान विचारका मानिसहरूको यस्तो आध्यात्मिक समुदायको महत्वलाई कम आँक्नु हुँदैन, र मेरो अभिप्राय पनि त्यो होइन। उनीहरूले हामीलाई कुनै प्रकारले सहायता वा सल्लाह सुझाव दिन सक्छन्। यो कुरा एकदमै महत्वपूर्ण हुन्छ। तर त्यो शरणगमनको अर्थ होइन।

योभन्दा अर्को स्तरमा संघलाई हामी सन्न्यासीहरूको समुदायका रूपमा लिन सक्छौं। अर्थात् बौद्ध भिक्षु र भिक्षुणीहरूको समूहलाई संघका रूपमा लिन सक्छौं। तर यहाँ पनि सधैँ आदर्श भिक्षु या भिक्षुणीहरू मात्र भेटिँदैनन्। धेरै अशान्त मानिसहरूले पनि भिक्षु भेष धारण गरिरहेका हुन सक्छन्। उनीहरू सन्न्यासी बनेर सच्चा मनले आफूभित्र सुधारको काम गर्दैछन् भने उनीहरूलाई सम्मान गर्नु र सहयोग गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। तर कतिपय भिक्षु भिक्षुणी त जीवनका कठिनाइहरूबाट बच्नका लागि भिक्षु भेष धारण गर्ने हुन्छन्। मेरा एक मित्रको भनाईमा कतिजना त सित्तैको खानाका लागि मात्र पनि भिक्षु बन्छन्। 

संघको एक अर्को स्तर पनि छ। तन्त्रका आचार्यहरूबाट हामी सुन्छौं कि अवलोकितेश्वर, तारा, मञ्जुश्री आदि “तान्त्रिक देवी–देवता” नै संघ हुन्। त्यसैले हामी कुनै होली मदर या सन्त ताराको प्रार्थना शुरु गर्न सक्छौं ताकि उनीहरूले हाम्रो रक्षा गरुन्। यस्ता तथाकथित “तान्त्रिक देवी–देवता”, जसलाई म चाहिँ बुद्ध–स्वरूपहरू भन्छु, त्यस्ता सन्त होइनन् जसले कुनै प्रकारले मध्यस्थता गरेर हामीलाई “बुद्ध भगवान्” को नजीक पुर्याउन सहायता गरुन्।

बुद्ध, धर्म संघको गहनतम अर्थ

बुद्ध, धर्म र संघको गहनतम अर्थमाथि विचार गर्दा हामी पाउनेछौं – धर्मको गहनतम अर्थ निरोध सत्य अर्थात् हाम्रो भ्रमको यथार्थ निरोध हो, र हाम्रो चित्तको निरन्तरतामा मार्ग सत्य अर्थात् चित्तको यथार्थ मार्गको यथार्थ बोध हो। यही वास्तविक धर्म हो। यदि हामीले आफ्नो चित्तको निरन्तरतामा यो स्थिति हासिल गर्न सक्यौं भने यसैले हामीलाई दुःखबाट बचाउनेछ। हामी त्यस्तो अवस्थामा पुग्न सक्छौं जुन भ्रम, नकारात्मक आवेग, दृष्टिकोण, र समस्याहरूबाट मुक्त हुन्छ र हाम्रो बोधि पूर्ण हुनेछ। बुद्ध ती हुन् जसले यो अवस्था पूर्णतः प्राप्त गरेर हामीलाई पनि त्यो अवस्था कसरी प्राप्त गर्ने भन्ने शिक्षा दिन्छन्। संघको अर्थ वास्तवमा त्यस्तो “आर्य संघ” हो जसमा धेरै उच्च सिद्धि प्राप्त गरेका साधकहरू हुन्छन्। उनीहरूले पूर्णरूपमा त होइन तर केही हदसम्म दुःखको यथार्थ निरोध (निरोध सत्य) को अवस्था प्राप्त गरिसकेका हुन्छन्। वस्तुतः भ्रमका अनेक स्तर र दशाहरू हुन्छन्, जसबाट हामीले मुक्ति प्राप्त गर्नुपर्छ। साथै बोधिका पनि अनेक स्तर हुन्छन्, प्रत्येक स्तर त्यसको पूर्ववर्ती स्तरभन्दा उच्च कोटीको हुन्छ। बोधि प्राप्त भएपछि भ्रमको निवारण हुन्छ, तर यो पनि विभिन्न स्तरहरूमा घटित हुँदै जान्छ। आर्य संघले अझै भ्रमबाट पूर्णतः मुक्ति प्राप्त गरिसकेको हुँदैन। तर उनीहरू पूर्ण मुक्तिको दिशामा प्रगतिरत हुन्छन्।

हाम्रो दैनिक जीवनमा बुद्धहरू र आर्य संघ (जस्तै, विगतका र वर्तमानका भारतीय तथा तिब्बती आचार्यहरू) बाट हामीलाई धेरै प्रेरणा प्राप्त हुन्छ। यसबाट हामीभित्र ठूलो आशा जागृत हुन्छ। हामीलाई परम पूजनीय दलाई लामाजस्ता प्रेरणादायी व्यक्तित्वसँग भेट गर्ने वा उहाँको बारेमा जान्ने अवसर मिलेको छ। सोचौं, उहाँ जस्तो हुनुहुन्छ, त्यस्तो कसरी हुनुभयो होला? अवश्य पनि, धर्मको माध्यमले। उहाँ बुद्ध भैसक्नु भयो कि हुन बाँकी नै छ, त्यो धेरै ठूलो कुरा भएन। यदि हामी उहाँ जत्तिकै बन्न सक्यौं भने त्यो चाहिँ धेरै ठूलो कुरा हुनेछ। म उहाँको यो योग्यताको कुरा गर्दै छुइन कि उहाँ धर्म सम्बन्धी कुनै पनि विषयको शिक्षा दिन सक्नु हुन्छ, वा उहाँ विशेषज्ञ हुनुहुन्छ, अथवा सबैभन्दा ज्ञानवान हुनुहुन्छ, वा अरु सबै शिक्षकभन्दा ज्यादा निपुण हुनुहुन्छ। उहाँको कार्यक्रम ज्यादै व्यस्त हुन्छ, र उहाँ लगातार विश्वभर यात्रा गरिरहनु हुन्छ, अरुलाई शिक्षा दिनुहुन्छ, सहायता गर्ने प्रयत्न गर्नुहुन्छ, आदि। कुरा त्यत्ति मात्र होइन। उहाँलाई चीनमा सबैभन्दा प्रमुख जनशत्रु ठानिन्छ। कल्पना गरौं, एक अरबभन्दा बढी मानिसले तपाईंलाई शैतान ठान्छन् र तपाईंको समुदायमाथि हर प्रकारले दुर्व्यवहार गर्छन्, तैपनि तपाईं आफ्नो मनमा उनीहरूप्रति प्रेम र करुणाको भाव राख्नुहुन्छ। त्यो अवस्था कसरी सम्भव होला? उहाँ दुःखी हुनुहुन्न, बरु सुखी तथा शान्त चित्तले आफ्ना सबै कार्य गर्नुहुन्छ। हाम्रा लागि यो विश्वास गर्न नसकिने कुरा हो, होइन त? यदि हामी नकारात्मक आवेगहरूबाट मुक्त छैनौं र बोधि प्राप्त गरेका छैनौं भने के यो अवस्था सम्भव हुन सक्ला? पक्कै पनि हुँदैन। त्यसैले उहाँले बुद्धत्व प्राप्त गर्नु भएको छ कि छैन, त्यो प्रश्न अप्रासंगिक हो।

हुन सक्छ हामी बुद्धका सबै गुणहरूलाई बुझ्न नसकौंला। तर हामी कम से कम परम पूजनीय दलाई लामाजस्ता व्यक्तित्त्वका गुणहरू त अवश्य पनि देख्न सक्छौं। यो हाम्रा लागि एकदमै प्रेरणादायी कुरा हो। यदि उहाँ जस्तो कुनै व्यक्तिका लागि त्यो स्तरको उपलब्धि हासिल गर्न सम्भव हुन्छ भने हामीले पनि ती गुणको विकास गर्न नसक्ने कुनै कारण छैन किनकि हामी सबैको चित्त विशुद्ध स्वभावको र पूर्ण क्षमतायुक्त छ। कोही पनि मानिसले त्यो अवस्था प्राप्त गर्न नसक्ने हुँदैन। तर अवश्य पनि त्यसका लागि ज्यादै कठिन परिश्रम चाहिन्छ। तर त्यो सम्भव छ र त्यस दिशामा अगाडि बढ्नु धेरै लाभकारी हुन्छ। यदि दलाई लामालाई बुद्धजस्तै ठान्ने हो भने वर्तमान समयका ती उच्च लामाहरू जो शिक्षा दिन्छन्, उनीहरू पनि संघजस्तै हुन्। उनीहरूमा संभवतः दलाई लामाका सबै गुण नहोलान्, तर केही गुण अवश्य छन्। यो कुराले पनि हामीलाई धेरै प्रेरणा दिन्छ।

दलाई लामा र अन्य महान लामाहरूबीच के समानता छ? उनीहरू सबैले रिस, लोभ, घृणा, ईर्ष्या, आदि सबै नकारात्मक आवेगहरूबाट कुनै न कुनै हदसम्म मुक्ति पाइसकेका छन्। उनीहरूले ज्ञान, करुणा, धैर्य आदि असल गुणहरू धेरै हदसम्म विकसित गरिसकेका छन्। यी गुणहरूलाई अलग–अलग स्तरमा कसरी विकसित गर्न सकिन्छ भन्ने कुरा हामी यी विभिन्न लामाहरूलाई देखेर थाहा पाउँछौं। उनीहरूलाई देखेर जान्नु भनेको बुद्ध या मिलारेपा या यस्तै अन्य कुनै ऐतिहासिक व्यक्तित्वको तुलनामा सहज हुन्छ। ऐतिहासिक व्यक्तित्वलाई जान्नु हाम्रा लागि अपेक्षाकृत कठिन हुन्छ। तर यदि हामीलाई सान्निध्यको मौका मिल्छ भने यी जीवित गुरुहरू हाम्रा लागि जीवन्त उदाहरण हुन्छन्। पुराना प्रचलित कथाहरू राम्रा त हुन्छन्, तर के हामी ती व्यक्तित्वहरू साँच्चिकै त्यस्तै होलान् भनेर विश्वास गर्न सक्छौं? हामी पढ्छौं कि गुरु रिन्पोछेको जन्म एक कमलको फूलबाट भएको थियो। तर के हामी साँच्चिकै यसलाई पत्याउन सक्छौं? यो कुरा बुझ्न कठिन हुन सक्छ। तर त्यसो नगरी हामी उहाँहरूमा नकारात्मक गुणहरूको अभाव र सकारात्मक गुणहरूको प्रचुरता रहेको कुरामा आफ्नो ध्यान केन्द्रित गर्न सक्छौं।  यसको उदाहरण दलाई लामा र अन्य महान लामाहरूले प्रस्तुत गरेका छन्। उनीहरू वर्तमान समयमा हाम्रा लागि बुद्ध र धर्म जत्तिकै छन्। उनीहरूका कारण हामीलाई विश्वास हुन्छ कि हामी पनि त्यो अवस्था प्राप्त गर्न सक्षम छौं। यथार्थ निरोध (निरोध सत्य) र चित्तको यथार्थ मार्ग (मार्ग सत्य) त्यस्ता लक्ष्य हुन् जसलाई प्राप्त गर्न सकिन्छ। यो नै धर्म हो। यो लक्ष्य सम्भव छ, र यसको प्रयत्नले हामीलाई एक सुरक्षित, स्थिर र सार्थक दिशा प्राप्त हुन्छ जसलाई हामी आफ्नो जीवनमा उतार्न सक्छौं।

शरणगमन, अर्थात् हाम्रो जीवनको सुरक्षित दिशा

व्यावहारिक स्तरमा बुद्ध, धर्म र संघलाई अपनाउने यो बाटोलाई आफ्नो जीवनमा उतार्नुको अर्थ के हो त? यसको मतलब हो, हामी हर बखत आफूभित्र निखार ल्याउने दिशामा प्रयत्नरत हुन्छौं। यो प्रयत्न गर्ने क्रममा यदि हामीलाई दिक्दारी लाग्छ वा रिस उठ्छ वा स्वार्थी व्यवहार गर्नथाल्छौं भने हामी त्यसप्रति धेरैभन्दा धेरै सचेत हुनु पर्छ। हामीलाई यो कुराको ज्ञान हुन्छ। तर हामी त्यो स्थितिमा आफैंप्रति दुःखी हुन हुँदैन, र “म त एकदमै खराब छु, म एकदमै काम नलाग्ने छु, किनकि मलाई अझै पनि रिस उठ्छ,” यस्तो सोच राखेर मन भारी बनाएर बस्ने वा आफैंलाई सजाय दिने काम गर्नु हुँदैन। यो कुरा बिल्कुल ठीक होइन। तर साथै यो त एकदमै सामान्य कुरा हो भनेर नजरअन्दाज गर्ने काम पनि निश्चित रूपमा सही होइन। अर्को एक स्थिति हुन्छ जसमा हामी यस्तो सोच्छौं, “आखिर के भयो त?म त यस्तै नै रहने हो।” यो पनि उचित समाधान होइन। बरु हामी आफ्ना नकारात्मक आवेगप्रति सचेत हुने र तिनको निर्जराको प्रबल ईच्छा राख्ने हो भने तिनको प्रबलता घट्छ। 

यहाँनेर मुख्य कुरा के हो भने हाम्रो जीवनमा जब यी नकारात्मक आवेगहरू उत्पन्न हुन्छन् र हामीलाई त्यसको जानकारी हुन्छ, त्यतिबेला सबैभन्दा आदर्श स्थिति भनेको ती आवेगमाथि नियन्त्रण पाउने कुनै उपाय सिकेर तिनलाई जित्ने हो। हामीले यो बुझ्नु पर्यो कि रिस उठ्छ भने हामीले धैर्यको विकास गर्नुपर्छ। कसैले मप्रति धेरै खराब व्यवहार गर्छ भने त्यसको अर्थ हो त्यो व्यक्ति एकदमै दुखी छ। कुनै कुराले उसलाई अशान्त बनाइरहेको छ। त्यस्तो मानिससँग रिसाउनुको सट्टा उप्रति करुणाको भाव राख्नु आवश्यक हुन्छ। 

यसलाई अलि स्पष्टसँग बुझौं। रिस उठेको खण्डमा मलाई किन रिस उठ्यो भन्दै आफैंसँग रिसाउने काम हामी गर्दैनौं। त्यस्तै एक नाबालकलाई केही बिग्रेको छैन, सबै ठीकै छ भनेर सम्झाएजस्तै आफूलाई सम्झाएर पनि बस्दैनौं। बरु हामी आफ्नो रिसबाट मुक्त हुने प्रयत्न गर्छौं किनकि हामीलाई बोध हुन्छ कि त्यसो गर्नु सम्भव छ। निश्चित रूपमा, हामी धेरै छिटो यसबाट मुक्ति पाउन सक्दैनौं। तर यही त्यो दिशा हो जसमा हामीले जीवनभर हिँड्ने प्रयास गर्नुछ। हामी यही दिशा पकड्छौं किनकि हामीलाई पक्का थाहा छ, यस्तो अवस्थाबाट मुक्ति पाउनु सम्भव छ र यो काम कुनै निष्फल आदर्शवादी प्रयास मात्र होइन। 

कहिलेकाहीँ कुनै कठिन परिस्थितिको सामना गरिरहेको बेला हामी अलिकति धैर्य, अलिकति सूझबूझ, र अलिकति उदारतापूर्ण भावनाले काम गर्छौं भने यो जानौं कि यस्ता सकारात्मक भावहरूलाई बढाउन सकिन्छ। तिनलाई अझ प्रबल बनाउँदै लैजान सकिन्छ। त्यसो गर्नु सम्भव छ। अरूले गर्न सक्छन् भने म पनि सक्छु, किनकि अरु मानिस पनि मजस्तै हुन्। उनीहरू कुनै विशेष मानिस होइनन्, जस्तो कि म पनि कुनै विशेष मानिस हुईंन। यो नै हाम्रो शरणगमन हो, हाम्रो जीवनको सुरक्षित दिशा हो। यो दिशामा हामी जति अगाडि बढ्छौं, त्यत्ति नै आफूलाई दुःख र समस्याहरूबाट सुरक्षित गर्न सक्छौं। 

सारांश

शरणगमन भनेको के हो, जीवनको सुरक्षित दिशा के हो र हामीले आफ्नो जीवनमा यसलाई अपनाउनु पर्ने कारणहरू के के हुन्, त्यो जान्नु आवश्यक छ। बौद्ध अभ्यासमा यस्तो बोध हुनुलाई सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा आधारभूत कुराको रूपमा लिइन्छ। कतिपय मानिस यसलाई महत्त्वहीन ठानेर उडाइदिन खोज्छन्, जुन एकदमै लज्जाको विषय हो। यो दिशा लिनु वा नलिनुलाई हाम्रो जीवनको सबैभन्दा ठूलो परिवर्तन मानिन्छ, र यही दिशाले हाम्रो जीवनमा सबैभन्दा ठूलो उपलब्धि पनि ल्याउँछ। तर शरणगमन गर्नुको अर्थ केवल कुनै एक अनुष्ठानमा शामिल हुने, कलिकति कपाल काट्ने, एक तिब्बती नाम लिने, घाँटीमा एउटा रातो डोरा लगाउने, र एउटा सम्प्रदायभित्र छिर्नेमा मात्र सीमित हुनु हुँदैन। यसले शरणगमनको मूल अर्थलाई नै कमजोर बनाउँछ, त्यो निरर्थक हुन जान्छ। 

हामी सबैले आफूलाई यो प्रश्न सोध्नु आवश्यक छ – “शरणमा गएपछि र बुद्धधर्म ग्रहण गरिसकेपछि के म साँच्चिकै जीवनमा त्यो दिशामा अगाडि बढिरहेको छु? कुनै एक क्लबको सदस्यता लिएजस्तो मात्र नभई के यसले मेरो जीवनमा साँच्चिकै महत्त्व राख्छ?” यदि शरणगमन पश्चात् पनि हाम्रो जीवनमा कुनै महत्वपूर्ण परिवर्तन देखिएको छैन भने हामीले यो परिस्थिति सुधार्नेतर्फ गम्भीरतापूर्वक काम गर्नुपर्ने हुन्छ। यो आधारभूत कुरा नै नजानिकन कुनै उन्नत प्रकारको साधनाबाट लाभ पाउने कुराको सम्भावना एकदमै न्यून हुन्छ। 

Top