दोस्रो आर्यसत्य ः दुःखको यथार्थ कारण

पहिलो आर्यसत्यले हामी सबैले भोग्नुपर्ने दुःखहरूका बारेमा बताउँछ। ती सबै दुःखको अन्त गर्न हामी प्रतिबद्ध छौं भने त्यसको यथार्थ कारण सही तवरले थाहा पाउनु पर्छ। बेखुसी वा असन्तुष्टियुक्त अस्थायी खुसी — जो हरसमय अप्रत्यासित ढंगले बदलिइरहन्छ र जुन क्रमलाई हामी आफैं निरन्तरता दिइरहन्छौं — हाम्रो यथार्थ समस्या त्यति मात्र होइन। त्योभन्दा खराब त हामी त्यस्तो बेखुसी र खुसीको अनियन्त्रित उतारचढाव भोगिरहन बाध्य सीमित क्षमतायुक्त शरीर र मन धारण गर्ने क्रमलाई अनवरत कायम राख्छौं। एक भनाइ नै छ – “तिम्रो टाउको नै छैन भने टाउको दुखाइ पनि हुँदैन!” हुनत यो भनाइ मजाकजस्तो लाग्छ, तैपनि यसमा केही सत्यता छ। अद्भूत कुरा त के भने बुद्धले टाउको दुखाइको मात्र होइन, यस्तो दुख्ने टाउको भैराख्ने भवचक्रकै वास्तविक कारण पत्ता लगाइदिनुभयो। उहाँले के स्पष्ट पारिदिनुभयो भने यो सबैको वास्तविक कारण हाम्रो आफ्नो अज्ञानता हो, जसले गर्दा कार्य–कारणको सम्बन्ध र यथार्थबारे सही बोध हुँदैन।

आफ्नो अस्तित्वबारेको अज्ञानता

यो एक्काइसौं शताब्दीमा हामी त्यस्तो युगमा आइपुगेका छौं, जहाँ गलत सूचनाको प्रवाह छ्याप्छ्याप्ती छ र “सत्यको विकल्प” मा धेरै मानिस भर पर्छन्। बुद्धले अढाइ हजार वर्षअघि के जान्नुभयो भने सम्पूर्ण दुःखको यथार्थ कारण ज्ञानको अभाव अर्थात् “अविद्या” रहेछ। बुद्धले भन्नुभएको अविद्या इन्टरनेटले कसरी काम गर्छ भन्ने ज्ञानको अभाव होइन। यो अविद्या हामीले गर्ने कर्मको दीर्घकालीन असरबारे अज्ञानता र भ्रम हो। यसको अन्तर्निहित पक्ष भनेको अस्तित्वकै सम्बन्धमा र हामी कसरी अस्तित्ववान छौं भन्ने सम्बन्धमा अज्ञानता र भ्रम हो। यस्तो त्रुटिपूर्ण धारणालाई परम सत्य ठान्नाले कुरा झन बिग्रन्छ। 

यसलाई अलि नजिकबाट नियालौं। हाम्रो मनभित्र एक “म, म, म” भन्ने स्वर चलिरहेको हुन्छ, यो हामी सबैले अनुभव गरेकै कुरा हो। यसैको आधारमा हामीलाई के लाग्छ भने “म” भन्ने त्यस्तो कुनै सत्ता छ जो भेटिन सक्छ, जो यो शरीर र मनभन्दा भिन्न छ, जसले यो सबै बोलिरहेको छ। हामी “म” सँग भैरहेको परिस्थितिलाई लिएर मनमनै गन्थन गर्छौं, “म” अब के गर्छु भन्ने कुरा सोच्छौं, यसले “म” भन्ने एक ठोस सत्ता छ भन्ने भ्रम पर्न जान्छ, र यसका बारेमा हामी चिन्तित हुन्छौं। यसरी यो भ्रमपूर्ण धारणा थप सुदृढ बन्छ। पक्कै पनि, हामी अस्तित्ववान छौं, बुद्धले हाम्रो अस्तित्वलाई नकार्नुभएको छैन। समस्या के मात्र हो भने हामी त्यसरी अस्तित्ववान छैनौं, जसरी हामी ठान्दछौं। यो कुराप्रति हामी अनभिज्ञ छौं र “सत्यको विकल्प” मा दृढतापूर्वक विश्वास गर्छौं। त्यसैले हामी पूर्ण रूपले भ्रमित छौं।

असुरक्षाबीच क्लेश र कर्म कायम राख्दै सुरक्षा खोजीको निरर्थक प्रयास

आफ्नाबारे हामीमा भएको मिथ्या धारणा समस्याजनक छ। यो कुराको स्पष्ट संकेत के हो भने जब हामी यस्तो धारणालाई सत्य भन्ठान्छौं, तब असुरक्षाको पीडा महसुस हुन थाल्छ। र, आफ्नो सुरक्षाको निरर्थक प्रयासस्वरूप आफूलाई प्रमाणित गर्नुपर्ने, आफ्नो बचाउ गर्नुपर्ने वा आफ्नो ठोस सत्ता स्थापित गर्नुपर्ने बाध्यता अनुभव गर्नथाल्छौं। यस्तो भावना र कार्यले विचलनकारी आवेग (क्लेश) उत्पन्न गर्छः

  • के चीजले आफूलाई सुरक्षित महसुस गराउँछ, त्यो प्राप्त गर्ने व्यग्र चाहना
  • के चीजलाई हटाउँदा सुरक्षित महसुस हुन्छ, त्यसप्रति वैरभाव र रिस
  • आफ्ना वरपर पर्खाल खडा गर्ने र त्यसभित्र सुरक्षित हुन्छु भन्ने अबोधतापूर्ण सोच

यस्ता विचलनकारी आवेगका कारण हामी आफ्नो चित्तको शान्ति र आत्म–संयम गुमाउँछौं, र विगतको संस्कारबाट आएका प्रवृत्ति र आदतको वशमा परी कुनै काम गर्न वा बोल्न इच्छुक हुन्छौं। अनि, बाध्यकारी व्यवहार (कर्म) को वशमा परी त्यो कुरा साँच्चिकै गर्छौं वा भन्छौं।  

हाम्रो मनोभावमा आउने उतारचढावको असली कारण अज्ञान, विचलनकारी आवेग र बाध्यकारी व्यवहार हुन्

कार्मिक कार्य–कारण हाम्रो व्यवहारको अल्पकालीन नतिजासँग होइन, दीर्घकालीन प्रभावसँग सम्बन्धित छ। उदाहरणका लागि आफूप्रति असुरक्षा महसुस भएकै कारण हामी सोसल मिडियामा हालेका आफ्ना पोष्टमा “लाइक” आवोस् भनी तीव्र इच्छा गर्छौं, यस्तो लाइकले मेरो अस्तित्व प्रमाणित गर्छ र मलाई आत्मसम्मान दिन्छ भन्ने ठान्छौं। तपाईं सोसल मिडिया चलाउनुहुन्छ र कहिलेकाहीँ सेल्फी पोस्ट गर्नुहुन्छ भने आफ्नो व्यवहार सम्झनोस् त! फोन चेक गर्ने र कतिवटा लाइक आएछन् भनेर हेर्ने तीव्र इच्छा दिनभरमा कतिपल्ट हुन्छ? कसैले लाइक गरेको देख्नुभयो भने त्यो खुसीको तरंग कतिञ्जेल टिक्छ? त्यसको कति बेरपछि तपाईं फेरि आफ्नो फोन चेक गर्नुहुन्छ? कहिल्यै चाहेजति वा पर्याप्त “लाइक” प्राप्त भएको छ? के यसरी बाध्यकारी ढंगले दिनभर फोन चेक गरिरहनु चित्तको सुखी अवस्था हो? यसरी “लाइक” को इच्छा गरिरहनुको दीर्घकालीन फलस्वरूप बेखुसी अथवा दुःखको अवस्था उत्पन्न हुन्छ। यो दुःख पर्याप्त संख्यामा “लाइक” प्राप्त गरेर सुरक्षित बनाउन मिल्ने एक ठोस, आफ्सेआफ सत्तामा आएको “म” विद्यमान छ भन्ने मिथ्या धारणामा आधारित छ। 

कुनैबेला हाम्रो आशय उत्तम हुनसक्छ र स्नेहको भावले आफ्ना हुर्किसकेका सन्तानलाई सहयोग गर्न लागेका हुनसक्छौं। तर त्यो काम बाध्यकारी भयो र हामीले आफूलाई उपयोगी देखाउने वा आफू जरुरी भएको महसुस गराउने ढंगको अबोधतापूर्ण काम गर्यौं भने त्यसबाट केही सुख अनुभूति भएपनि साँच्चिकै सन्तुष्टि कदापि प्राप्त हुँदैन।

संक्षेपमा भन्नुपर्दा, हामीमा भावनात्मक उतारचढाव भैरहने यथार्थ कारणहरू हामी आफैं र अरू कसरी अस्तित्ववान छन् भन्ने सम्बन्धमा ज्ञानको अभाव र त्रुटिपूर्ण सोच तथा तिनले उत्प्रेरित गर्ने विचलनकारी आवेग, बाध्यकारी कार्मिक बल र बाध्यकारी व्यवहार हुन्।  

अज्ञानता, विचलनकारी आवेग र बाध्यकारी व्यवहार नै हाम्रो अनियन्त्रित जन्मचक्रको यथार्थ कारण

बुद्धले दिनुभएको शिक्षाअनुसार अज्ञानता (अविद्या), विचलनकारी आवेग (क्लेश) र बाध्यकारी व्यवहार (कर्म) नै अनियन्त्रित रूपमा बारम्बार भैरहने पुनर्जन्मका यथार्थ कारणहरू हुन्। वर्तमान र भविष्यका जन्महरूमा यस्तै सीमित क्षमतायुक्त शरीर र मनका कारण बेखुसी अथवा असन्तुष्टिपूर्ण खुसी जस्ता दुःख हामीले भोगिरहनु पर्छ। बुद्धले के बताउनुभएको छ भने यो अवस्थाप्रतिको भ्रम नै संसारमा अनियन्त्रित रूपमा हाम्रो बारम्बार पुनर्जन्म भैरहनुपर्ने यथार्थ कारण हो, अर्थात् हाम्रो “संसार” को कारण हो। 

कुनैबेला अल्पकालीन खुसीको अनुभूति हुनसक्छ, तर हामी त्यो कहिल्यै नसकियोस् भन्ने चाहन्छौं। त्यस्तो चाहना निरर्थक हो, किनकि हाम्रो कुनै अनुभूति कहिल्यै स्थायी हुँदैन। त्यस्तै बेखुसीको अनुभूति भयो भने त्यो सधैँका लागि गैहालोस् भनेर तृष्णा गर्छौं, जबकि हाम्रै बाध्यकारी व्यवहारले त्यसलाई फेरिफेरि जागृत गराइरहन्छ। त्यस्तै कुनै शक्तिशाली दुखाइनिवारक औषधि खाएर वा समाधिको गहन अवस्थामा प्रवेश गरेर केही थाहा नहुने स्थितिमा पुग्यौं भने त्यो स्थिति पनि निरन्तर रहँदैन; नबदलियोस् भन्ने चाहौंला तर त्यो बदलिइहाल्छ। 

यसका अतिरिक्त जब हामी यो “म” लाई साँच्चिकै ठोस पदार्थ हो कि भन्ठानेर पकडेर बस्छौं, र “विचरा म” भनेर सोच्छौं, तब यस्तो लाग्न थाल्छः “ यो खुसीबाट अलग हुन चाहन्न; यो बेखुसीबाट अलग हुन चाहन्छु; यो भावशून्य अवस्था अन्त नहोस् भन्ने चाहन्छु।” यसरी यदि “म” प्रतिको भ्रमित धारणालाई हामीले पकडेर बस्यौं र मर्ने बेला यस्तै विचलनकारी आवेगको प्रभाव भयो भने त्यसबाट एक कार्मिक बल, अर्थात् एक बाध्यकारी चित्तको अवस्था उत्पन्न हुन्छ जसले चुम्बकले तानेसरी हाम्रो चित्तलाई त्यस्तै खालको विचलनकारी आवेगवाला शरीरतर्फ पुनर्जन्मका लागि लैजान्छ, ताकि त्यस्तै परिस्थितिमा जीवनलाई निरन्तरता दिन सकियोस्। यो एक हदसम्म जिजीविषा (बाँचिरहने प्रवृत्ति) को बौद्ध संस्करण हो।

दुःखको यथार्थ कारणका चार पक्ष

यथार्थ दुःखका यथार्थ कारणहरू हाम्रै भ्रमित धारणाहरू हुन्। कुरा के हो भने हामी दुःखको अनियन्त्रित पुनरावृत्तिलाई आफैं निरन्तरता दिन्छौं। यसका चार पक्ष छन्, जो हाम्रो बारम्बारको पुनर्जन्मको सिलसिलासँग सम्बन्धित छन्। यी पक्षहरूमाथि विचार गर्यो भने ती किन दुःखका यथार्थ कारण हुन् भन्ने बोध हुन्छः 

  • पहिलो, हामी कसरी अस्तित्ववान छौं भन्ने बारेको भ्रम, विचलनकारी आवेग र बाध्यकारी कर्म बलहरू नै हाम्रा सबै दुःखका यथार्थ कारणहरू हुन्। हाम्रो दुःख कुनै कारणबिनै अथवा ज्योतिषविद्या वा फगत दुर्भाग्यजस्तो अनमेल कारणबाट उत्पन्न भएका होइनन्।
  • दोस्रो, ती हाम्रा दुःखलाई बारम्बार दोहोर्याइरहने मूल हुन्। दुःख कहिल्यै एक कारणले मात्र आउँदैन, जुनसुकै परिस्थिति किन नहोस्, दुःखका लागि अनेक हेतु र प्रत्ययहरूको मेल हुनुपर्छ।
  • तेस्रो, ती हाम्रो दुःखका बलिया आन्तरिक उत्पादक हुन्। हाम्रा दुःख कुनै बाह्य सत्ता वा कुनै परम शक्तिशाली ईश्वरबाट उत्पन्न हुने होइनन्।
  • चौथो, ती हाम्रा दुःख उत्पन्न हुने अवस्थाहरू हुन्। कुनै सांसारिक परिस्थिति आफैंबाट मात्र दुःख उत्पन्न हुने होइन, बरु त्यसप्रतिको हाम्रो भ्रमित दृष्टिकोणबाट हुने हो।

सारांश

हाम्रा बारम्बार दोहोरिरहने दुःख र समस्याका यथार्थ कारण हामीलाई चाहिएका होइनन् यद्यपि हामी तिनबाट गुज्रिरहन्छौं। यी यथार्थ कारण आफ्नै सत्य सम्बन्धमा मिथ्या प्रक्षेपण, त्यस्तो प्रक्षेपण काल्पनिक मात्र हो भन्ने बोधको अभाव तथा त्यसबाट उत्पन्न हुने विचलनकारी आवेग र बाध्यकारी व्यवहार हुन् भन्ने थाहा पाएपछि त्यस्ता उपद्रवी कारणहरूबाट सदाका लागि छुटकारा पाउने प्रयत्न गर्नु नै बुद्धिमानी हुन्छ, होइन त?

Top