बौद्ध मार्ग अपनाउनुपूर्वको सुझाव

बुद्धधर्मले हामीलाई दैनिक जीवनका चुनौतीहरूको सामना गर्दा आइपर्ने समस्याहरूबाट बच्न आवश्यक व्यावहारिक र सुरक्षात्मक उपायहरूको ज्ञान दिन्छ। बुद्धधर्मले हाम्रा भ्रमपूर्ण दृष्टिकोणहरू र अव्यावहारिक सोचहरूलाई सुधार्ने काम गर्छ, जो हाम्रा समस्याहरूको मूल स्रोत हुन्, र जसका कारण हामी आवेगात्मक उतारचढाव र बाध्यकारी कर्मको वशमा पर्छौं। सोच्ने र व्यवहार गर्ने असंगत तरीकाहरूबाट माथि उठ्न हामी ध्यानको अभ्यास गर्छौं र मैत्रीपूर्ण तथा सकारात्मक गुण भएका मानिसहरूबाट प्रेरणा प्राप्त गर्छौं। यसप्रकारले हामी आफ्नो चित्तको रूपान्तरण गर्दै दैनिक जीवनको गुणस्तरमा सुधार ल्याउन सक्छौं।

बुद्धधर्म के हो र यसलाई हाम्रो जीवनमा कसरी उतार्न सकिन्छ भन्ने जान्नका लागि बौद्ध शिक्षा र अभ्यासमा प्रयोग हुने एक परम्परागत शब्दको निहितार्थ बुझ्नु जरुरी हुन्छ। त्यो शब्द हो - धर्म। “धर्म” एक संस्कृत शब्द हो, जसको एक शाब्दिक अर्थ हुन्छ, “सुरक्षात्मक उपाय”। यो त्यस्तो उपाय हो जसको उपयोग हामी समस्याहरू पन्छाउनका लागि गर्छौं। यति बुझ्यो भने बुद्धले हामीलाई दिनुभएको शिक्षाको अभिप्राय के थियो भनेर बुझ्न सहज हुन्छ।

यस्तो सुरक्षात्मक उपायको प्रयोग गर्ने तत्परता जाग्रृत हुन हामीले जीवनमा समस्याहरू छन् भन्ने देख्न सक्नुपर्छ। तर समस्याहरू छन् भन्ने स्वीकार गर्न पनि प्रशस्तै साहस चाहिन्छ। धेरै मानिसहरू आफूलाई र आफ्नो जीवनलाई गम्भीरतापूर्वक लिन सक्दैनन्। उनीहरू दिनभर जोतिएर काम गर्छन्, र साँझ परेपछि लखतरान भएर विभिन्न मनोरञ्जनका माध्यममा आफूलाई भुलाउन थाल्छन्। उनीहरू आफ्नो अन्तर्जगतमा गई जीवनका समस्याहरूबारे जान्न खोज्दैनन्। आफ्ना समस्याहरूको सामना गरिहाले पनि जीवनमा असन्तुष्टि व्याप्त रहेको कुरा स्वीकार गर्न सक्दैनन् किनकि त्यसो गर्दा घोर निराशा हात लाग्नेछ। आफ्नो जीवन हुन हालतमा छ भनेर विवेचना गर्न र त्यहाँ असन्तुष्टि व्याप्त रहेको छ भने त्यसलाई इमान्दारीपूर्वक स्वीकार गर्न साँच्चिकै साहस चाहिन्छ। 

असन्तोषपूर्ण अवस्था तिनका कारण 

असन्तोषका पनि तहहरू हुन्छन्। हामी यसरी सोच्न सक्छौं – “कहिलेकाहीँ मेरो मुड खराब हुन्छ। कहिलेकाहीँ सबै राम्रै भैरहेको हुन्छ। यो ठीकै छ। जीवन यस्तै हो।” यसरी नै हामी सन्तुष्ट छौं भने ठीकै छ। तर यदि आफ्नो अवस्थामा अलिकति सुधार ल्याउन सकिन्छ भन्ने आशा भयो भने हामी त्यसै दिशामा प्रयत्न गर्न थाल्छौं। आफ्नो जीवनलाई अलि सन्तोषजनक बनाउने तरीका थाहा पाउनका लागि पहिला त समस्याका कारणहरू के हुन्, जान्नुपर्छ। धेरै मानिसहरू आफ्नो समस्याको कारण बाहिर छ भनेर बाहिर हेर्न थाल्छन्। “मलाई तिमीसँगको सम्बन्धमा समस्या भैरहेको छ। यसको कारण तिमी हौ। तिमी मैले सोचेजस्तो तरीकाले चलिरहेका छैनौ” – यसो भन्न थाल्छन्। कहिलेकाहीँ हामी आफ्नो समस्याको दोष राजनीतिक र आर्थिक प्रणालीलाई दिन्छौं। मनोविज्ञानका केही पद्धतिअनुसार बाल्यकालमा भोगेका मानसिक आघातहरूका कारण हाम्रो हालका समस्याहरू सिर्जित भएका हुन् भन्ने मानिन्छ। आफ्नो दुःखको दोष अरुलाई दिनु एकदम सजिलो छ। तर यसरी अरु मानिस वा सामाजिक तथा आर्थिक कारणहरूमाथि दोष थोपर्दैमा हाम्रो समस्याको समाधान हुँदैन। यति कुरा वैचारिक स्तरमा बुझ्दा मात्र पनि हामीमा केही क्षमाशील हुन सक्छौं र हामीलाई केही फाइदा पुग्न सक्छ। तर धेरै मानिसहरूको अनुभव हेर्ने हो भने यति वैचारिक दृष्टिकोण राख्नाले मात्र उनीहरूका मनोवैज्ञानिक समस्याको समाधान हुँदैन र उनीहरू आफ्ना दुःखबाट बाहिर निस्कन सक्दैनन्।  

बुद्धधर्मले के भन्छ भने हाम्रा दुःखका पछाडि अन्य मानिस, समाज आदि बाह्य तत्त्वहरूको भूमिका त हुन्छ, तर दुःखको यथार्थ स्रोत ती होइनन्। दुःखको मूल स्रोत भेट्नका लागि हामीले आफैंभित्र हेर्नुपर्ने हुन्छ। हामीले जीवनमा कुनै दुःखको अनुभव गरेका छौं भने त्यस्तो अनुभव कुनै अवस्थाप्रति हामीले गर्ने प्रतिक्रियास्वरूप आएको हुन्छ। एउटै अवस्थाप्रति भिन्नाभिन्नै मानिसले गर्ने प्रतिक्रिया भिन्नाभिन्नै हुन्छ। हामीले आफ्नै व्यवहार हेर्ने हो भने पनि समस्याप्रति हामीले गर्ने प्रतिक्रिया सधैँ उस्तै हुँदैन, हरेक दिन त्यो फरक हुन सक्छ। यदि दुःखको स्रोत बाहिर भएको भए हामीले कुनै बाह्य कारणप्रति सधैँभरी एकैखाले प्रतिक्रिया व्यक्त गर्नुपर्थ्यो, तर हामी त्यसो गर्दैनौं। हुनत केही तत्त्वहरू हुन्छन् जसले हाम्रो प्रतिक्रियालाई प्रभावित गर्छन्। जस्तै, हाम्रो अफिसमा सबैथोक ठीकठाक चलेको छ भने हाम्रो एकखालको प्रतिक्रिया हुन सक्छ। तर यस्तो बाह्य तत्त्वले पार्ने प्रभाव सतही मात्र हुन्छ। हाम्रो अन्तरमनमा ती जान सक्दैनन्। 

अलि गहिरिएर हेर्यौं भने हामीलाई थाहा हुनेछ कि जीवनप्रति, आफैंप्रति र आफ्नो अवस्थाप्रति हामीले कस्तो दृष्टिकोण राख्छौं, त्यसले हाम्रो चित्तको अवस्था निर्धारण गर्छ। उदाहरणका लागि, हाम्रो दिन ठीकठाक चलिरहेको छ भने आफूप्रति दुःखी हुँदैनौं। तर यदि कुनै दिन खराब भयो भने फेरी आफूप्रति दयाको भाव उत्पन्न हुन थाल्छ। जीवनप्रति सामान्यता हाम्रो दृष्टिकोण जस्तो हुन्छ, त्यसैका आधारमा हाम्रो जीवनको भोगाई हुन्छ। यसलाई थप गहिरोसँग विचार गर्यौं भने थाहा हुनेछ, हाम्रो दृष्टिकोण हाम्रा भ्रमहरूमा निर्भर हुन्छ।

भ्रम, हाम्रो समस्याको जड 

भ्रमको विश्लेषण गर्यौं भने हामी पाउनेछौं, यसको एक पक्ष हामीले व्यवहारगत कारण र असरका सम्बन्धमा राख्ने भ्रम हो। हामी के गर्छौं र भन्छौं, र त्यसको नतिजा के हुन्छ, हामीलाई थाहा हुँदैन। कस्तो खालको जागिर खाने, बिहे गर्ने कि नगर्ने, बच्चा जन्माउने कि नजन्माउने इत्यादि कुराबारे हामीमा धेरै अन्यौल हुन सक्छ। कुनै व्यक्तिसँग हाम्रो सम्बन्ध छ भने त्यो कहाँसम्म पुग्छ? हामीलाई थाहा हुँदैन। हाम्रा छनौटहरूको नतिजा के हुन्छ, हामीलाई थाहा हुँदैन। तर आफ्नो कुनै चाहना वा डर वा उन्मादका आधारमा त्यसबारे एक काल्पनिक धारणा बनाउँछौं। कुनै मानिससँग गहिरो सम्बन्ध स्थापित गर्यो भने दन्त्यकथामा भनेजस्तै हामी चिरकालका लागि सुखी रहन सक्छौं भन्ने सोच पनि आउन सक्छ। त्यस्तै उक्त मानिसले छाडेर जाला कि भनेर पहिल्यै एकखालको भावनात्मक दूरी कायम गर्छौं। कुनै अवस्थामा हामी विचलित भएका छौं भने अरुप्रति रिस पोख्दा शान्ति होला भन्ने लाग्छ। अर्को मानिसले हाम्रो व्यवहारमा कस्तो प्रतिक्रिया देखाउँछ भन्ने कुरामा हामी एकदमै भ्रान्तिपूर्ण ढंगले सोच्छौं। हामीलाई लाग्छ कि अरुसँग रिसाएर चिच्याउँदा र आफ्नो मनको कुरा पूरै पोख्दा सबैथोक ठीक हुनेछ। तर त्यसरी सबैथोक ठीक हुँदैन। हामीलाई भविष्यमा के होला भन्ने जान्न मन लाग्छ। त्यसैले ज्योतिषीहरूको चक्करमा पर्न थाल्छौं वा “द बुक अफ चेन्जेज, द आइ चिङ्” जस्ता पुस्तकमा पैसा फ्याँक्न थाल्छौं। तर त्यस्तो काम हामी किन गर्छौं? किनकि हामीलाई सबै कुरा आफ्नो नियन्त्रणमा होस् भन्ने लाग्छ। 

बुद्धधर्मअनुसार भ्रमको अर्को गहिरो स्तर छ जसमा हामी आफ्नो, अरुको र यो संसारका बारेमा भ्रान्त दृष्टिकोणहरू बनाउँछौं। सबैथोक आफ्नो नियन्त्रणमा हुनुपर्ने कुराको भ्रम पालेर बस्छौं। हामीले भोग्ने सबै कुरा आफ्नो पूर्ण नियन्त्रणमा हुन सम्भव छ भन्ने सोच्छौं। उदाहरणका लागि, हामी सोच्न सक्छौं कि यदि अरु कसैलाई आफ्नो कम्प्युटर छुन दिएन भने त्यो कहिल्यै पनि बिग्रँदैन। यस्तो सोच भएपछि आफूले चाहेअनुसार भएन भने हामीलाई घोर निराशा हुन्छ। तर कुरा के हो भने सधैँभरी सबैथोक आफ्नो नियन्त्रणमा हुन सम्भव छैन। यस्तो सम्भावना असत्य कुरा हो। सत्य कुरा के हो भने हामी जे गर्छौं, त्यसले मात्र सबैथोक निर्धारित गर्दैन। अरु धेरै कुराको भूमिका त्यहाँ रहन्छ। तर त्यसो भन्दैमा हाम्रो कुनै भूमिका हुँदैन, र हामी पूर्णरूपमा बाह्य तत्त्वबाट निर्देशित हुन्छौं भन्ने पनि होइन। जे हुन्छ, त्यसमा हाम्रो भूमिका हुन्छ, तर हामी एक्लैको मात्र भूमिका हुँदैन। 

भ्रमपूर्ण दृष्टिकोण र असुरक्षाको भावनाले गर्दा हामी कतिपय बेला नजानिकनै विनाशात्मक कामहरू गर्छौं। आफूले गरेको काम विनाशात्मक हो भन्ने पनि थाहा पाउँदैनौं। यस्तो किन हुन्छ भने हामी नकारात्मक आवेग (क्लेश), नकारात्मक दृष्टिकोण, र कर्मका बाध्यकारी बन्धनको अधीनमा हुन्छौं। हामी अरुका लागि हानिकारक हुने काम मात्र गर्दैनौं, अपितु मूलतः आफ्नै लागि हानिकारक हुने काम गर्छौं। अर्थात्, हामी आफ्नै लागि समस्याहरूको सिर्जना गर्छौं। यदि हामी दुःखहरू कम होउन्, वा आफू दुःखबाट पूर्ण मुक्त हुनसकुँ अथवा त्योभन्दा माथिल्लो स्तरमा पुगेर अरुलाई पनि दुःखबाट मुक्त गर्न सहयोग गर्नसकुँ भन्ने चाहन्छौं भने प्रथमतः हामीले आफ्ना दोष र कमीकमजोरीहरूको स्रोत थाहा पाउनुपर्छ। 

भ्रमबाट मुक्ति

मानिलिउँ हामीले आफ्ना दुःखहरूको स्रोत आफ्नै भ्रम हो भन्ने थाहा पायौं। यो कुरा बुझ्न धेरै गाह्रो छैन। हामीमध्ये कतिपयले यसो पनि भन्छौं – “म साँच्चिकै अलमलमा छु। यसले गर्दा मेरो विजोग अवस्था छ।” त्यसपछि के हुन्छ? हामी कुनै कोर्स वा शिविरमा भाग लिन पैसा खर्च गर्छौं। तर त्यसो गर्नुअघि सोचौं, के त्यसबाट हामी भ्रमहरूबाट मुक्ति पाउन सक्छौं भनी साँच्चिकै विश्वास लाग्छ? आफ्ना भ्रमहरूबाट मुक्ति पाउन सकिन्छ भन्ने लाग्दैन भने केका लागि हामी त्यहाँ जान्छौं? भ्रमबाट मुक्ति पाइहालिएला कि भन्ने आशले जाँदा पनि कुनै ठोस लाभ हुँदैन। यो केवल एक कोरा कल्पनाजस्तो मात्र हुन्छ। 

हामीलाई लाग्न सक्ला कि मुक्ति अन्य उपायबाट पनि पाइएला, या कोही आएर हामीलाई बचाइदेला। परमेश्वर वा त्यस्तै कुनै उच्च दैवी शक्तिले हामीलाई बचाउला भन्ने सोचेर आफूलाई त्यसप्रति आस्थावान बनाउँछौं। अथवा कुनै धार्मिक शिक्षक, साथी, वा अरु कोहीले हामीलाई हाम्रा भ्रमबाट बचाउँछन् भन्ने आश गर्न सक्छौं। यस्तो अवस्थामा हामी अर्को मानिसमा निर्भर हुनुपर्ने हुन्छ, र हामी अपरिपक्व व्यवहार गर्न थाल्छौं। अरु कसैले आफूलाई आएर बचाइदेला भन्ने आशमा हामी जो पायो त्यहीसँग फस्न सक्छौं। हामी जोसँग फस्छौं, उ आफैं पनि अनेक भ्रम, नकारात्मक आवेग र दृष्टिकोणको दास हुन सक्छ र उसले हाम्रो अबोध अवस्थाको लाभ उठाउन सक्छ। यसले हामीलाई अगाडि बढ्न सहयोग गर्दैन। कुनै धार्मिक शिक्षक वा साथीले हाम्रा सबै भ्रमहरूको निवारण गरिदिन सक्दैन। हामीले आफ्नो भ्रमको निवारण आफैं गर्नुपर्छ। 

धार्मिक शिक्षक वा साथीसँगको सम्बन्धले हामीलाई सहयोगी वातावरण चाहिँ दिन सक्छ। तर त्यसको लागि उक्त सम्बन्ध स्वस्थकर हुनुपर्छ। सम्बन्ध स्वस्थकर रहेनछ भने हाम्रो अवस्था झन् खराब हुनसक्छ। यसले थप भ्रमको सिर्जना गर्नसक्छ। प्रारम्भमा हामीलाई आफ्नो शिक्षक वा साथी उत्कृष्ट छ भन्ने लाग्न सक्छ, यसको विरुद्धमा हामी कुनै कुरा सुन्न चाहँदैनौं। तर यो धारणामा विस्तारै परिवर्तन आउन थाल्छ। हामी उक्त मानिसका दोष देख्न थाल्छौं, र उसले हामीलाई भ्रमबाट बाहिर निस्कन सहयोग गर्न सक्दैन भन्ने जान्दछौं। यसबाट हामीलाई आघात पुग्छ। आफूले धोका पाएको महसुस हुन्छ। हाम्रो आस्था र विश्वासमा चोट पुग्छ। हाम्रो अवस्था असाध्यै दारुण बन्न पुग्छ।   त्यसैले त्यो अवस्थामा पुग्नुभन्दा अगाडि नै हामीले आफूलाई बचाउनुपर्छ। पूर्व सतर्कता अपनाउनुपर्छ। के सम्भव छ र के छैन भन्ने कुरा बुझ्नुपर्छ। एक धार्मिक शिक्षकले हाम्रा लागि के गर्न सक्छ र के गर्न सक्दैन, त्यो जान्नु आवश्यक हुन्छ। चोट खाएर तड्पिनबाट बच्न हामीले शुरुमै सावधानी अपनाउनुपर्छ। 

हामीले त्यस्तो मानसिक अवस्थाको निर्माण गर्नुछ जुन भ्रमहरूबाट मुक्त होस्। भ्रमको विपरीत गुण हो, ज्ञान। ज्ञान भयो भने हामीमा भ्रमहरू उत्पन्न नै हुन पाउँदैनन्। बुद्धधर्मको अभ्यासमा हामी आफूभित्र मोडिएर हेर्छौं र आफ्ना अहितकर दृष्टिकोण, नकारात्मक आवेग, र बाध्यकारी तथा विक्षिप्ततापूर्ण व्यवहार सुधार्ने प्रयत्न गर्छौं। यसको अर्थ हो, हामी आफ्नो अन्तर्मनमा प्रवेश गरेर त्यस्ता नकारात्मक गुण, जसलाई हामी सामान्यता पन्छाउन वा नकार्न खोज्छौं, तिनको सामना गर्छौं। आफ्ना लागि समस्या खडा गर्ने वा समस्याको लक्षण पैदा गर्ने चीजहरू देख्न थाल्छौं, र तिनको समाधानका उपायहरू अवलम्बन गर्न थाल्छौं। यो अध्ययन र ध्यानको अभ्यासबाट सम्भव हुन्छ। नकारात्मक आवेग (क्लेश) र दृष्टिकोण (मिथ्या दृष्टि) के हुन् र ती कहाँबाट उत्पन्न हुन्छन् भन्ने जान्नुपर्छ। 

ध्यान 

समस्या समाधान गर्ने विभिन्न प्रतिकारी उपायको अभ्यास हामी एक सुरक्षित वातावरणमा गर्छौं ताकि हामी त्यसमा अभ्यस्त हुन सकौं र आफ्नो वास्तविक जीवनमा त्यसलाई उतार्न सकौं। ध्यान भनेको यस्तै अभ्यास हो। उदाहरणका लागि, सामान्यतया अरु मानिसले हामीले चाहेजस्तो काम गरेनन् भने हामी उनीहरूसँग रिसाउँछौं। तर ध्यानमा हामी यस्तो अवस्थालाई फरक कोणबाट हेर्न खोज्छौं। अर्को व्यक्तिको प्रतिकूल व्यवहारका पछाडि धेरै कारणहरू हुन्छन्। उसले हामीलाई प्रेम नगरेर वा हामीप्रति रिस राखेर त्यस्तो व्यवहार गरेको हुनुपर्छ भन्ने छैन। ध्यानमा हामी यस्तोखालको मनोभावलाई विखण्डित गर्ने प्रयत्न गर्छौंः “मेरो साथीले मलाई माया गर्न छाडिसक्यो किनकि उसले मलाई फोन नै गर्दैन।”

यदि चित्त शान्त भएको बेला सुझबुझ र धैर्यतापूर्वक हामीले आफूलाई यस्तो खालको अभ्यासमा अभ्यस्त गरायौं भने साथीले एक हप्तासम्म फोन नगर्दा पनि हामी धेरै दुःखी हुँदैनौं। दुःखी हुन लाग्यौं भने यो कुरालाई स्मरणमा राख्छौं कि साथी धेरै व्यस्त भयो होला।   उसको जीवनमा मजति महत्त्वपूर्ण मानिस अरु कोही छैन भनेर सोच्नु हुँदैन, त्यस्तो सोच आत्म–केन्द्रित सोच हो। यसरी आफ्नो दृष्टिकोण परिवर्तन गर्नाले आवेगलाई शान्त राख्न मद्दत पुग्छ। 

बौद्ध साधना पूर्णकालीन जीवनचर्या हो 

बौद्ध साधना कुनै सोखको विषय होइन। यो कुनै खेल खेलेजस्तो वा शरीरलाई आराम दिन गरेको कुनै कामजस्तो होइन। बौद्ध साधना त एक पूर्णकालीन पेशाजस्तो हो। यहाँ हाम्रो काम भनेको आफ्नो दृष्टिकोणमा सुधार ल्याउनु हो, जसलाई हामी सम्पूर्ण जीवनमा लागू गर्छौं। यदि ध्यानमा हामी सबै जीवप्रति मैत्रीको भाव विकसित गर्छौं भने त्यो भावलाई हामी आफ्नै परिवारका सदस्यको हकमा पनि लागू गर्छौं। कतिपय मानिस आफ्नो ध्यान कक्षमा मैत्रीभावको ध्यान गर्दै बस्छन्, तर आफ्ना मातापिता वा पार्टनरसँग मैत्रीको सम्बन्ध राख्न सक्दैनन्। त्यसो हुनु दुर्भाग्यको कुरा हो। 

अतिवादबाट बचौं

घरमा होस् या अफिसमा, दैनिक जीवनमा बौद्ध शिक्षालाई उतार्नका लागि हामी अतिवादबाट बच्नुपर्छ। अतिवादको एक विन्दुले सबै समस्याको सबै दोष अरुमाथि थोपर्छ। अर्को विन्दुले सबै दोष आफैंमाथि थोपर्छ। तर वास्तव हाम्रो जीवनमा जे भैरहेको छ, त्यो एकदमै जटिल छ। यसमा दुवै पक्षको भूमिका हुन्छ - हाम्रो आफ्नै र अरुको पनि। हामी अरुको व्यवहार र दृष्टिकोण परिवर्तन गराउने प्रयत्न गर्छौं, तर त्यो काम सजिलो छैन। यो कुरा हामी सबैजना आफ्नो अनुभवका आधारमा भन्न सक्छौं। यदि हामी आफूलाई सही तथा पवित्र ठान्छौं र अरुलाई पापी ठान्छौं भने त स्थिति झनै जटिल हुन्छ। बरु आफूलाई परिवर्तन गर्नु त्योभन्दा सजिलो छ। हुनत हामी अरुलाई सुझाव दिन सक्छौं, तर त्यो पनि तबमात्र जब उनीहरू हाम्रो सुझाव लिन इच्छुक हुन्छन् र हामीले सुझाव दिँदा उग्र प्रतिक्रियामा उत्रिँदैनन्। मुख्य काम हामीले आफैंभित्र गर्नुपर्छ। 

आफ्नो अन्तर्जगतमा काम गर्दा पनि हामी अतिवादबाट बच्नुपर्छ। यहाँ पनि दुइवटा अति हुन सक्छन्ः पहिलो, आफ्ना भावनाहरूबाहेक अरु केही पनि देख्न नसक्ने, र दोस्रो, आफ्ना भावनाहरूप्रति पूर्ण अन्जान रहने। पहिलो अवस्था अति आत्म–आसक्तिको अवस्था हो। यहाँ आफ्नो मनोभाव कस्तो छ र आफूले कस्तो अनुभव गरिरहेको छु, त्योबाहेक अरु केही कुराको पनि मतलब हुँदैन। अरु मानिसको भावनाको हामीलाई कुनै सरोकार हुँदैन। अरुको भावना जे भएपनि त्योभन्दा धेरै महत्त्वपूर्ण हामीलाई आफ्नै भावना लाग्छ। दोस्रो अवस्थामा हामी आफ्नो भावनाप्रति पूर्ण अनभिज्ञ हुन्छौं। आफ्नो मनोभाव कस्तो छ, त्यो हामीलाई थाहै हुँदैन, मानिलिऊँ हाम्रो भावनालाई “नोवोकेन” इन्जेक्सन दिएर चेतनाशून्य बनाइएको छ। यस्ता दुवै अतिहरूबाट बच्नका लागि सतर्कतापूर्वक सन्तुलन बनाउनु आवश्यक हुन्छ, जुन सजिलो छैन।

अरुसँग भएका बेलामात्र हामी आफूलाई जान्ने वा हेर्ने अभ्यास गर्छौं भने त्यसले हामीलाई अरुबाट एकखालको काल्पनिक दूरीको अवस्थामा राख्छ। हामी आफू र आफ्नो भावनाप्रति मात्र सचेत हुन्छौं, जसका कारण अगाडिको व्यक्तिसँग भएको अनुभव गर्न र उनीहरूसँग सम्बन्ध कायम गर्न सक्दैनौं। अरुसँग व्यवहार गर्ने वास्तविक कला भनेको स्वाभाविक रूपमा इमान्दारितापूर्वक व्यवहार गर्नु हो। तर यस्तो व्यवहारका लागि पनि आफ्नो प्रेरणा र दृष्टिकोणप्रति चाहिँ केही मात्रामा सजग हुनुपर्छ। तर यस्तो सजगताको प्रयत्न त्यति धेरै पनि गर्नु हुँदैन कि अगाडिको मान्छेलाई हामी उसँग छैनौं भन्ने भान होस्। अरुसँग भएका बेला कहिलेकाहीँ उसलाई म आफ्नो भावनाका बारेमा होश राख्ने प्रयत्न गर्दैछु भनेर जानकारी दिनु उपयुक्त हुनसक्छ। तर अर्को मान्छेले त्यो थाहा पाउनैपर्छ भन्ने सोच्यो भने फेरी आत्म–आसक्तिको अवस्था हुन्छ। उनीहरूलाई हामी के सोच्दैछौं थाहा पाउन मन हुनैपर्छ भन्ने छैन। उनीहरूलाई त्यस्तो मन हुनैपर्छ भनेर सोच्नु भनेको आफैंलाई बढाइचढाइ गर्नु हो। यसरी जब आफू स्वार्थी भएको थाहा हुन्छ, हामी तत्काल त्यसलाई रोक्न सक्छौं। तर फेरी, त्यसको जानकारी अरूलाई दिइरहनु जरुरी छैन। 

अतिवादको अर्को उदाहरण आफूलाई एकदमै खराब वा एकदमै असल भनेर सोच्नु हो। आफ्ना कठिनाई, समस्याहरू, र नकारात्मक आवेगका बारेमा मात्र सोचिरहँदा हामीलाई आफू निकृष्ट मानिस भएको महसुस हुन्छ। त्यो भाव चाँडै अपराधबोधमा परिणत हुन्छ। “मैले साधना गर्नुपर्छ, किनकि म एक निकृष्ट मानिस हुँ।” यस्तो भाव बौद्ध साधनाका लागि राम्रो भाव होइन।

त्यस्तै हामी आफ्नो सकारात्मक पक्षलाई एकदमै बढाइचढाइ गरेर सोच्न सक्छौं। “हामी सर्वोत्कृष्ट हौं। हामी सबै बुद्ध हौं। सबैथोक उत्कृष्ट छ” – यसरी सोच्नु पनि अर्को अति हो। यो खतरापूर्ण छ, किनकि यसरी सोच्यौं भने हामीलाई लाग्नेछ कि कुनै चीज पनि परिवर्तन गर्नुपर्दैन, हामीले आफ्ना कुनै पनि नकारात्मक गुणलाई बदल्नु जरुरी छैन। केवल आफ्ना असल गुणहरूको मात्र स्मरण गरे पुगिहाल्छ। “म सर्वोत्कृष्ट छु। म परिपूर्ण छु। मैले आफ्नो नकारात्मक कर्म बन्द गर्नु जरुरी छैन। म त बुद्ध नै हुँ” – यस्तो सोच आउन सक्छ। त्यसैले हामीले आफ्नो सोचलाई सन्तुलित राख्नु आवश्यक हुन्छ। आफ्नो बारेमा एकदमै हीन भावना आयो भने हामीले आफ्नो कमीकमजोरीहरूबाट पार पाउन सक्ने र बुद्ध बन्न सक्ने क्षमताको स्मरण गर्नुपर्छ। त्यस्तै चाहिनेभन्दा बढी उत्साहित भयौं भने आफ्ना नकारात्मक पक्षको पनि स्मरण गर्नुपर्छ। 

जिम्मेवारी लिनु आवश्यक

हामीले आफ्नो जिम्मेवारी आफैं लिनु आवश्यक छ, आफ्नो सुधार र समस्याहरूबाट मुक्ति दुवैका लागि। हामीलाई बाह्य सहयोग पनि चाहिन्छ किनकि यो काम हामी एक्लैले गर्न कठिन छ। हामी आफ्ना आध्यात्मिक शिक्षकबाट सहयोग लिन सक्छौं। त्यस्तै आफ्ना आध्यात्मिक मित्रहरूको समुदायबाट पनि सहयोग लिन सक्छौं जो हामीजस्तै सोच्छन् र अरुलाई दोष नदिई आफ्नो समस्या आफैं समाधान गर्नेतर्फ क्रियाशील छन्। पार्टनरसँगको सम्बन्धमा पनि हाम्रो उस्तैखाले दृष्टिकोण हुनु आवश्यक हुन्छ, खासगरी कुनै पनि समस्याको दोष अरुमाथि नथोपर्ने विषयमा। दुवै पार्टनर एकअर्कामाथि दोष थोपरेर बस्छन् भने काम बन्दैन। यदि एक पार्टनर आफ्नो सुधारको काम गरिरहन्छ र अर्को चाहिँ अरुलाई दोष मात्र दिइरहन्छ भने पनि काम बन्दैन। यदि हामी पहिल्यै एक सम्बन्धमा छौं र हाम्रो पार्टनर खाली अरुलाई दोष मात्र दिइरहने खालको छ, तर हामी चाहिँ कसरी आफूलाई सुधार गर्न सकिन्छ भनेर प्रयत्नशील रहने खालका छौं भने अवस्था निकै कठिन हुन्छ। हुनत त्यसको मतलब सम्बन्धविच्छेद गरिहाल्नुपर्छ भन्ने होइन। तैपनि हामीले आफूलाई सम्बन्धको सहिद हुनबाट बचाउनु पर्छ। “मैले यो सहिरहेको छु। तर यो एकदमै गाह्रो छ।” यस्तो अवस्था विक्षिप्तापूर्ण हुन सक्छ। 

प्रेरणा लिनु

बौद्ध मार्ग सजिलो छैन। यसले जीवनको कुरूप पक्षको पनि चर्चा गर्छ। त्यसैले हामीलाई यसमा अगाडि बढ्नका लागि एकखालको बल चाहिन्छ। त्यसका लागि प्रेरणाको स्थिर स्रोत चाहिन्छ। यस्तो प्रेरणा हामीलाई आफ्ना शिक्षकले अरुका र आफ्नै बारेमा सुनाएका चामत्कारिक कथाहरूले पनि दिन सक्छन्। तर त्यो स्थायी हुँदैन। पक्कै पनि, त्यस्तो कथा रोमाञ्चक हुन्छ। तर त्यसले हामीलाई कसरी प्रभावित गर्दैछ भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ। कतिपय मानिसका लागि त्यसले एक तिलिस्मी दुनियाँ खडा गरिदिन्छ जसबाट चमत्कारका माध्यमले मुक्ति सम्भव छ भन्ने सोचलाई थप बल पुग्छ। कुनै महान जादुगरले आफ्नो जादुइ शक्तिद्वारा हामीलाई बचाउँछ अथवा उसको जस्तै जादुइ शक्ति आफैँमा विकसित गर्नसक्छौं भन्ने कल्पना हामी गर्नथाल्छौं। यस्ता तिलिस्मी कथाहरूबाट हामी धेरै सावधान हुनुपर्छ। तिनीहरू हाम्रो विश्वासलाई अलि मजबुत बनाएर हामीलाई सहयोग गर्न त सक्छन्, तर हाम्रो प्रेरणाको स्थिर आधार हुन सक्दैनन्। हामीलाई स्थिर आधार चाहिन्छ। 

उदाहरणका लागि बुद्धकै जीवनी हेरौं। उहाँले कहिल्यै पनि मानिसहरूलाई तिलिस्मी कथा सुनाएर “प्रेरित” वा प्रभावित गर्ने काम गर्नुभएन। उहाँले आफूलाई अरुभन्दा उत्तम देखाउने प्रयत्न गर्दै यताउति घुम्ने, मानिसहरूलाई आशीर्वाद दिनेजस्ता काम गर्नुभएन। बुद्ध आफैंले र बुद्धपछिका सम्पूर्ण शिक्षाले बारम्बार बुद्धलाई सूर्यको उपमा दिएका छन् जसले मानिसहरूलाई तातो बनाउने प्रयत्न कहिल्यै गर्दैन। बरु प्राकृतिक रूपमा, स्वभावैले सूर्यले स्वतः सबैलाई न्यायो दिन्छ। हामीलाई कुनै तिलिस्मी कथा सुन्दा वा निधारमा कसैले कुनै मूर्तिले छोइदिँदा अथवा घाँटीमा रातो डोरा बाँधिदिंदा रोमाञ्चको अनुभूति हुनसक्छ। तर प्रेरणाको स्थिर स्रोत त्यो हुन सक्दैन।   बरु आफ्नो शिक्षक एक स्वाभाविक मानवका रूपमा कस्तो छ, उसको चरित्र कस्तो छ, उसले बुद्धधर्मको अभ्यास गरेका कारण उसमा कस्तो गुणको विकास भएको छ, आदि कुरा चाहिँ प्रेरणाको स्थिर स्रोत हुन सक्छ। उसले हाम्रो मनोरञ्जनका लागि के गर्छ वा भन्छ, त्यसले हामीलाई प्रेरित गर्न सक्दैन। उसको स्वाभाविक जीवन कुनै तिलिस्मी कथा सुनेजस्तो रोमाञ्चक नहोला, तर त्यसले हामीलाई साधनाको एक ठोस आधार चाहिँ दिन्छ। 

साधनामा हाम्रो प्रगति हुँदै जाँदा त्यहि प्रगतिले नै हामीलाई प्रेरणा दिन सक्छ। कुनै चामत्कारिक शक्तिले भन्दा पनि आफ्नो चरित्र कसरी विस्तारै परिवर्तित भैरहेको छ, त्यो कुराले हामीलाई बढी प्रेरित गर्नसक्छ। तर के कुरा भुल्नु हुँदेन भने आध्यात्मिक प्रगति कहिल्यै पनि सोझो रेखामा अगाडि बढ्दैन। हरेक दिन राम्रो मात्र भइरहँदैन। हाम्रो मुड तलमाथि भैरहन्छ। हाम्रो जीवनको प्रकृति नै यस्तै हो। जबसम्म हामी आफ्ना बाध्यकारी  कर्महरूको चक्रबाट मुक्त हुन सक्दैनौं, तबसम्म यो चलि नै रहन्छ। तर यसरी मुक्त हुनु भनेको हाम्रो कल्पनाभन्दा माथिको उच्चतम अवस्था हो। हामी कहिले खुशीको अनुभव गर्छौं त कहिले दुःखको। यो कुरालाई हामीले स्वीकार गर्नुपर्छ। कुनै बेला सकारात्मक ढंगले काम गर्न सक्छौं भने कुनै बेला आफ्ना विक्षिप्त मानसिक आदतको वशमा पर्छौं र त्यसैअनुरूप काम गर्न थाल्छौं। हाम्रो अभ्यास तलमाथि भैरहन्छ। चमत्कारहरू सामान्यता घटित हुँदैनन्। 

जीवनका आठ अनित्य चीजका कारण हुने दुःखबाट मुक्तिका लागि जुन शिक्षा दिइएको छ, त्यसले आफ्नो अनुकूल हुँदा खुशीले फुल्ने र अनुकूल नहुँदा पीरले खुम्चिने बानीबाट बच्न सिकाउँछ। अनुकूल हुने वा नहुने त जीवनको रीत नै हो। हामीले दीर्घकालीन नतिजालाई ध्यानमा राखेर काम गर्नुपर्छ, तत्क्षणको असर मात्र हेर्न हुँदैन। यदि हामी पाँच वर्षअघिदेखि साधना गर्दैछौं भने पाँच वर्ष पहिलाको भन्दा अहिलेको अवस्थामा धेरै सुधार भैसकेको हुन्छ। हुनत हामी अझै पनि विचलित हुन्छौं, तर कतिपय बेला शान्त र स्पष्ट चित्त तथा हृदयले काम गर्न सक्छौं। त्यसले हाम्रो प्रगति देखाउँछ। यो प्रेरणादायी कुरा हो। हामीलाई नाटक मन पर्छ र नाटकीय प्रस्तुतिमा फुरुङ्ग पर्छौं। तर आफ्नो प्रगति नाटकीय नभए पनि हाम्रा लागि यो स्थायी प्रेरणाको स्रोत बन्न सक्छ। 

व्यावहारिक बनौं

हामी व्यावहारिक र यथार्थपरक बन्नु आवश्यक छ। उदाहरणका लागि, यदि हामी शुद्धिकरणको अभ्यास गर्दैछौं भने कुनै महान् सन्त वा त्यस्तै कुनै व्यक्ति आएर हाम्रा सबै पापबाट क्षमा दिन्छन् भनेर सोच्नु हुँदैन। बुद्धधर्ममा हामीलाई आएर बचाइदिने र शुद्धिकरणको आशीर्वाद दिने कुनै सन्तहरू छैनन्। यहाँ यो प्रक्रिया नै छैन। हाम्रो चित्त आफ्नो प्राकृतिक स्वरूपमै शुद्ध छ, त्यसैले हामीलाई शुद्ध बनाउँछ। भ्रमले हाम्रो चित्तलाई भित्रैदेखि दूषित बनाएको हुँदैन, र हामी भ्रमलाई हटाउन सक्छौं। हाम्रो चित्तको प्राकृतिक शुद्धतालाई हामी आफ्नै प्रयत्नले जान्न सक्छौं, र आफ्ना अपराधबोध तथा नकारात्मक प्रवृत्ति आदिलाई हटाउन सक्छौं। यसरी शुद्धिकरणको प्रक्रियाले काम गर्छ। 

बौद्ध शिक्षाहरूको अभ्यास गर्दा र तिनलाई आफ्नो जीवनमा उतार्दा आफू कुन स्तरमा छु, त्यसको हेक्का राख्नु र त्यसलाई स्वीकार गर्नु आवश्यक हुन्छ। हामीले मिथ्या अभिमान गर्नु हुँदैन र आफू जुन स्तरमा छु, त्योभन्दा माथिल्लो स्तरमा छु भन्ने सोच्नु हुँदैन। यो कुरा एकदमै महत्त्वपूर्ण छ। 

क्याथोलिक पृष्ठभूमिकाले बुद्धधर्मलाई कसरी लिने

बुद्धधर्ममा रुचि भएका मानिसहरू क्याथोलिक पृष्ठभूमिबाट पनि आएका हुन सक्छन्। हाम्रो पृष्ठभूमि त्यो हो भने बुद्धधर्मबारे जानकारी लिँदा र यसको अध्ययन शुरु गर्दा आफ्नो क्याथोलिक धर्म छाडेर बुद्धधर्म ग्रहण गरिहाल्नुपर्छ भन्ने छैन। तर ती दुइका अभ्यासहरूलाई मिसाउन चाहिँ हुँदैन। चर्चमा बस्नुअघि हामी वेदीको अगाडि तीनपटक ढोग गरेर बस्दैनौं। त्यस्तै हामी बौद्ध अभ्यास गर्दा भर्जिन मेरीको ध्यान गर्दैनौं, बुद्धको गर्छौं। दुबैको अभ्यास हामी अलग अलग रूपमा गर्छौं। हामी चर्च जाँदा केवल चर्च जान्छौं, र बौद्ध ध्यान गर्दा केवल बौद्ध ध्यान मात्र गर्छौं। 

दुवैमा थुप्रै साझा विशेषताहरू छन्। उदाहरणका लागि, दुवैमा अरुलाई प्रेम गर्ने, सहयोग गर्ने आदि कुरामा जोड दिइन्छ। यस्तो आधारभूत स्तरमा कुनै विरोधाभास छैन। यदि हामी प्रेमभाव, परोपकार, अरुलाई सहयोग गर्ने आदि कुराको अभ्यास गर्छौं भने हामी असल क्याथोलिक पनि हौं र असल बौद्धमार्गी पनि हौं। अन्ततः हामीले एक मार्ग छान्नुपर्ने हुन्छ, तर त्यतिबेला मात्र जब हामी अत्यधिक आध्यात्मिक प्रगतिको पथमा आफ्नो पूर्ण प्रयत्न लगाउन तयार हुन्छौं। मानौं तपाईं कुनै भवनको माथिल्लो तल्लामा जान चाहनुहुन्छ र त्यहाँ दुइवटा भर्याङ छन्। ती दुइवटामा हामी एकैपटक हिँड्न सक्दैनौं, एउटा भर्याङ छान्नुपर्ने हुन्छ। भूईंतल्लामा हुञ्जेल त हामी त्यत्तिकै रहन सक्छौं, त्यसका लागि कुनै चिन्ता गर्नुपर्दैन। त्यहाँ हामी दुवैको लाभ लिन सक्छौं।

अनुपयुक्त निष्ठाबाट बच्नु आवश्यक

बुद्धधर्मलाई आफ्नो जीवनमा उतार्दा हामीले आफ्नो मूल धर्मलाई तुच्छ वा हीन मानेर त्यसको उपेक्षा गर्नुहुँदैन, यो कुरामा हामी सावधान रहनुपर्छ। त्यसरी उपेक्षा गर्नु ठूलो गल्ती हो। त्यसो गर्यौं भने हामी उग्र बौद्धमार्गी र उग्र क्याथोलिक–विरोधी बन्छौं। साम्यवाद र प्रजातन्त्रको मामिलामा पनि मानिसहरू त्यस्तै गर्छन्। यहाँ एक मनोवैज्ञानिक प्रक्रिया हामीमाथि हावी हुन्छ, जसलाई अनुपयुक्त निष्ठा (मिस्प्लेस्ड लोयल्टी) भनिन्छ। आफ्नो परिवार, पृष्ठभूमि आदिप्रति निष्ठावान भैरहने प्रवृत्तिले गर्दा हामी क्याथोलिक धर्म छाडिसक्दा पनि फेरी त्यसैप्रति निष्ठा राखिराख्छौं। हामी आफ्नो पृष्ठभूमिप्रति निष्ठावान भएनौं र त्यसलाई खराब भनेर सम्पूर्ण रूपमा त्याग्यौं भने आफू नै पूरै काम नलाग्ने भएको महसुस हुन्छ। यो ज्यादै नै नरमाइलो अवस्था हो, र हामी अचेतन रूपमा आफ्नो पृष्ठभूमिका केही कुराहरू खोजिरहन्छौं जसप्रति हामी निष्ठावान रहन सकौं। 

अचेतन रूपमै आफ्नो पृष्ठभूमिका केही कम हानिकारक पक्षहरूप्रति निष्ठावान भैरहने प्रवृत्ति हुन्छ। उदाहरणका लागि, हामीले क्याथोलिक धर्म छाडिसकेर बुद्धधर्म अपनाउँदा त्यहाँ पनि नर्कको डरलाई गहिरोसँग पकडेर बस्न सक्छौं। मेरो एकजना साथी कट्टर क्याथोलिक थिइन्, जो पछि बुद्धधर्ममा पनि कट्टर भएर लागिन्। उनका लागि अस्तित्वको संकट आइलाग्यो। “मैले क्याथोलिक धर्म छाडेँ। त्यसैले अब म क्याथोलिक नर्कमा पुग्छु। तर बुद्धधर्म छाडेर फेरी क्याथोलिक धर्ममा फर्कें भने म बौद्ध नर्कमा पुग्छु!” हामीलाई सुन्दा हाँसउठ्दो लाग्ला, तर उनको लागि यो साँच्चिकै ठूलो समस्या थियो। 

हामी प्रायः अचेतन रूपमै क्याथोलिक धर्मका केही अवधारणाहरू बुद्धधर्मको अभ्यासमा लिएर आउँछौं। त्यसमा प्रायः अपराधबोध तथा अरुले आफ्नो रक्षा गरिदिऊन् भनेर चमत्कारको आश गर्नु पर्छन्। हामीले कुनै दिन साधना गरेनौं भने हामीलाई लाग्छ कि साधना त गर्नुपर्छ। होइन भने अपराधबोध हुन्छ। यस्तो विचारले पटक्कै सहयोग गर्दैन। यस्तो सोच आयो भने त्यसप्रति सचेत भैहाल्नुपर्छ। हामीले आफ्नो पृष्ठभूमिलाई विचार गर्नुपर्छ र त्यसका सकारात्मक पक्षहरू हेर्नुपर्छ ताकि हामी नकारात्मक पक्षप्रति नभै सकारात्मक पक्षप्रति निष्ठावान हुन सकौं। “मैले त अपराधबोध र चमत्कारको आशलाई विरासतको रूपमा लिएर आएको छु” – हामी यस्तो सोच्दैनौं। बरु यस्तो सोच्छौं – “मैले क्याथोलिक धर्मबाट प्रेम, परोपकार र दुःखीहरूलाई सहयोग गर्ने गुणहरू लिएर आएको छु।”

आफ्नो परिवारको सम्बन्धमा पनि हामी यस्तै गर्न सक्छौं। हामी उनीहरूलाई बेवास्ता गरिरहेका हौंला, तर साथै उनीहरूको सकारात्मक नभै नकारात्मक परम्परालाई चाहिँ अचेतन रूपमै अपनाइरहेका हुन सक्छौं। परिवारले हामीलाई क्याथोलिक पृष्ठभूमि दिएकोमा त्यसप्रति कृतज्ञताको भाव राखेर आफ्नो बाटोमा अगाडि बढ्यौँ भने हामीमा आफ्नो विगतप्रति कुनै द्वन्द्वको भाव हुँदैन। यसरी हामी त्यस्तो नकारात्मक मानसिकताबाट बच्छौं जसले हाम्रो प्रगतिमा निरन्तर व्यवधान गरिरहेको हुन्छ। 

यस पछाडिको मनोवैज्ञानिक तथ्यलाई बुझ्नु महत्त्वपूर्ण छ। यदि हामीले आफ्नो विगत – आफ्नो परिवार, जन्मदेखिको धर्म, वा त्यस्तै अरुथोक – प्रति नकारात्मक भाव राख्यौं भने हामी सिङ्गै आफूप्रति नै नकारात्मक बन्छौं। तर त्यसका विपरीत हामीले आफ्नो विगत र त्यसका सकारात्मक पक्षहरूलाई स्वीकार गर्न सक्यौं भने हामी आफैंप्रति पनि सकारात्मक बन्छौं। यसले हामीलाई आफ्नो आध्यात्मिक यात्रामा स्थिरतापूर्वक अगाडि बढ्न सहयोग गर्छ। 

सारांश

हामी शनैः शनैः क्रमिक रूपमा आफ्नो मार्गमा अगाडि बढ्नुपर्छ। बुद्धधर्मका महान् आचार्यहरूले “कुनै पनि शिक्षा सुन्ने बित्तिकै त्यसलाई व्यवहारमा उतारिहाल” भन्नुभएको छ। तैपनि जब हामी धेरै उच्चतहका शिक्षाहरूका बारेमा सुन्छौं वा पढ्छौं, हामीले यो निर्क्यौल गर्नु जरुरी हुन्छ कि उक्त शिक्षा हामीले तत्काल अपनाउन सक्नेभन्दा माथिल्लो तहको हो या तुरुन्तै व्यवहारमा उतारिहाल्न सक्ने खालको हो। यदि उक्त शिक्षा धेरै माथिल्लो तहको रहेछ भने त्यसलाई अपनाउनुपूर्व के के तयारी गर्नुपर्छ, त्यो निधो गर्नु र त्यसैअनुरूप अभ्यास गर्नु आवश्यक हुन्छ। सारांशमा, मेरा एक गुरु गेशे ङावाङ् धार्ग्येले भन्नुभएजस्तै - “यदि हामी काल्पनिक उपायहरू अपनाउँछौं भने हाम्रा नतिजाहरू पनि काल्पनिक हुनेछन्। र, यदि व्यवहारिक उपायहरू अपनाउँछौ भने हाम्रा नतिजाहरू पनि व्यावहारिक नै हुनेछन्।”

Top