स्मृति ध्यान या “माइन्डफुलनेस” लाई पश्चिमा समाजमा तनाव घटाउने, दुखाई कम गर्ने वा व्यवसाय र सामान्य दैनिक जीवनका काममा प्रभावकारिता बढाउनका लागि व्यापक रूपमा प्रयोग गर्न थालिएको छ। विभिन्न बौद्ध ध्यान अभ्यासहरूबाट विकसित गरिएको स्मृति ध्यानमा हामीलाई आफ्नो मनलाई अलि शान्त गर्न तथा श्वास, विचार, आवेग, खुसी वा पीडाका भावहरू, शारीरिक संवेदना आदिको अवलोकन गर्न सिकाइन्छ। सामान्यतया, यस्तो ध्यानमा निरन्तर परिवर्तन भैरहेको वर्तमान क्षण र त्यसैगरी निरन्तर परिवर्तन भैरहेको हाम्रो मनले ग्रहण गरेको वस्तुलाई हेर्न सिकाइन्छ।
भारतीय बौद्ध स्रोत
थेरवाद पद्धतिको स्मृति ध्यान (पालि भाषामा सति) उपतिस्सले लेख्नुभएको विमुक्तिमार्ग (पालि – विमुत्तिमग्ग) र बुद्धघोषले लेख्नुभएको विशुद्धिमार्ग (पालि – विशुद्धिमग्ग) मा आधारित छन्। ती ग्रन्थहरूमा स्मृतिको अभ्यासलाई विभिन्न प्रकारका ध्यान अभ्यासमा अभिन्न पक्षका रूपमा प्रस्तुत गरिएको छ। ध्यानको अभ्यासभित्र स्मृतिको विशिष्ट पक्ष भनेको संझनु वा स्मरणमा ल्याउनु हो; उदाहरणका लागि श्वासलाई वा मृत्युको तथ्यलाई निरन्तर स्मरणमा ल्याउनु। यसको कार्य भनेको बिर्सन नदिनु हो, मनलाई आफ्नो आलम्बन गुमाउनबाट बचाउने रूपमा यो प्रकट हुन्छ। एक अर्थमा यो “मानसिक गम” या लस्साजस्तो हो जसले मनलाई आफ्नो आलम्बनमा टाँसेर राख्छ, त्यसबाट भाग्न दिँदैन। जब यसरी आलम्बनमा मन टिक्छ, तब स्मृतिमा होसपूर्ण विश्लेषण (सम्प्रजन्य) सामेल गरिन्छ र उक्त आलम्बनको कुनै पक्ष (जस्तै अनित्यता) बारे जानिन्छ।
वसुबन्धुले हीनयान वैभाषिक दर्शनको प्रतिनिधित्व गर्ने आफ्नो ग्रन्थ अभिधर्मकोष मा स्मृतिलाई ती दश चैतसिकहरूमध्ये एक हो भनी बताउनुभएको छ जो हाम्रो बुझाइको प्रत्येक क्षणमा विद्यमान हुन्छन्। बुझाइका ती क्षणहरू चाहे कुशल हुन् या अकुशल या अव्याकृत (नैतिक रूपमा तटस्थ), स्मृति ती सबैमा विद्यमान हुन्छ। तसर्थ स्मृति ध्यान अभ्यासको अवस्थामा मात्र होइन, हरेक क्षण विद्यमान हुन्छ। वसुबन्धुले आफ्नो अर्को ग्रन्थ अभिधर्मकोष–भाष्य मा स्मृतिलाई मनको आलम्बन हराउन नदिने वा त्यसलाई बिर्सन नदिने चैतसिकका रूपमा व्याख्या गर्नुभएको छ। त्यसैले स्मृति आलम्बनलाई ध्येय बनाइराख्न वा त्यसलाई जानिरहनका लागि अपरिहार्य हुन्छ। आलम्बनलाई ध्येय बनाइराख्ने वा जानिरहने भएकाले त्यसलाई पछि स्मरणमा ल्याउन पनि स्मृतिले मद्दत गर्छ।
त्यसैगरी महायान चित्तमात्र दर्शनको ग्रन्थ पञ्चस्कन्ध–प्रकरण मा वसुबन्धुले स्मृतिलाई आलम्बनको स्मरण गर्ने सन्दर्भमा व्याख्या गर्नुभएको छ। त्यहाँ उहाँले स्मृतिलाई त्यस्तो मानसिक तत्त्वका रूपमा उल्लेख गर्नुभएको छ जसबाट कुनै परिचित आलम्बनलाई बिर्सिइँदैन र त्यसलाई पुनः आफ्नो जानकारीमा ल्याइन्छ। स्थिरमतिले उक्त ग्रन्थमाथि भाष्य लेख्दै बताउनुभएको छ - “परिचित आलम्बन” भनेको त्यस्तो वस्तु हो जसलाई हामीले पहिला पनि अनुभव गरिसकेका छौं। त्यसैले कुनै वस्तुको स्मरण भनेको ध्यानका लागि लिइने आलम्बन वा हाम्रो दैनिक जीवनका कुराहरूलाई स्मरणमा ल्याउने सन्दर्भमा हुन सक्छ।
त्यस्तै असङ्गले चित्तमात्र दर्शनको ग्रन्थ अभिधर्मसमुच्चय मा स्मृतिलाई पाँच विषयनियत चैतसिकहरूमध्ये एकका रूपमा प्रस्तुत गर्नुभएको छ। यी पाँचमध्ये स्मृति त्यस्तो चैतसिक हो जो केवल कुशल बोधमा हुन्छ, र त्यो पनि त्यस्तो कुशल बोधमा जसले आफ्नो आलम्बनलाई जान्न सकोस्। अर्थात्, त्यस्तो बोध जसले आफ्नो आलम्बनलाई सटिक र निश्चित रूपमा जान्न सकोस्। यसको आलम्बन कुनै कुशल विषय हुनुपर्छ जोसँग हामी परिचित होउँ; यसको दृष्टि त्यही आलम्बनमा केन्द्रित हुनुपर्छ र त्यसलाई गुमाउनु हुँदैन; र यो मनलाई भट्किनबाट रोक्ने खालको हुनुपर्छ।
चोङ्खापाको प्रस्तुति
तिब्बती गुरु चोङ्खापाले आफ्नो ग्रन्थ लाम–रिम छेन–मो मा गहिरो एकाग्रता (समाधि) तथा शान्त र स्थिर चित्त (समथ) को विकाससँग सम्बन्धित खण्डमा असङ्गको स्मृतिको परिभाषालाई व्याख्या गर्नुभएको छ। स्मृति (तिब्बतीमा डेन्-पा) लाई उहाँले समथ ध्यानको सन्दर्भमा व्याख्या गर्दै यसका तीन विशेषताबारे बताउनुभएको छ :
- यसमा त्यस्तो विषयलाई आलम्बन बनाइन्छ जोसँग हामी पहिल्यै परिचित छौं; परिचित नभएको विषयलाई आलम्बन बनाइँदैन। त्यसैले हामी पहिल्यै सुपरिचित भएको विषय, जस्तै बुद्धको मानसचित्र जस्तो कुनै कुशल विषय वा आफ्नो शरीरजस्तो कुनै अनिर्दिष्ट (गुणदोषको हिसाबले तटस्थ) विषयलाई आलम्बन बनाइन्छ।
- उक्त आलम्बनमा यसको राम्रो मानसिक पकड हुन्छ, जसले गर्दा हामी त्यसलाई भुल्दैनौं। यहाँ “नभुल्नु” को अर्थ कसैले सोधेको खण्डमा हामीलाई प्राप्त ध्यान अभ्यासको निर्देशन सम्झिनु वा ध्यानको विषय यस्तो वा त्यस्तो छ भनी बताउनु मात्र होइन। यसको अर्थ आफ्नो मनलाई आलम्बनमा केन्द्रित गर्नासाथ त्यसबाट मानसिक रूपमा रत्तिभर पनि नभट्किकन त्यसैमा स्थित हुनु हो। त्यसबाट मन भट्कियो भने हामीले आफ्नो स्मृति गुमाएको ठहर्छ। त्यसैले मनलाई ध्यानको आलम्बनमा केन्द्रित गरेर मैले आफ्नो मनलाई यो विषयमा यसप्रकारले लगाइसकेँ भन्ने भाव उत्पन्न गरेर, नयाँ र असम्बद्ध कुराहरूको तर्कनामा मनलाई भट्किन नदिने अवस्थामा रहेर, र यो अवस्थालाई सबल तथा निरन्तर बनाएर हामी स्मृतिको अभ्यासमा आफूलाई सुम्पिन्छौं। यस हिसाबले स्मृतिको अभ्यासमा आफूलाई सुम्पिनुको अर्थ चिकित्सक वा आध्यात्मिक गुरुको शरणमा आफूलाई सुम्पिनुजस्तै हो। चिकित्सक वा आध्यात्मिक गुरुको शरणमा हामी तब मात्र आफूलाई सुम्पिन्छौं जब उसको योग्यतामाथि पूर्ण विश्वास हुन्छ। त्यस्तै हामी स्मृतिको अभ्यासमा आफूलाई तब मात्र सुम्पिन्छौं जब हाम्रो चित्तले स्मृतिको अवस्थामा रहने योग्यता हासिल गरेको हुन्छ।
- यसको कार्य मनलाई आलम्बनबाट हटेर अन्य कुनै विषयमा केन्द्रित हुनबाट रोक्ने हो। अर्को शब्दमा भन्नुपर्दा, ध्यानको आलम्बनमा केन्द्रित हुन बिर्सेर वा उक्त आलम्बनलाई भुलेर मनलाई यताउता भाग्नबाट स्मृतिले रोक्छ। यसले ध्यानको आलम्बनमा हामीलाई बलियोसँग जोडेर राख्छ र निरन्तर त्यसको बुझाइलाई कायम राख्छ।
स्मृति ध्यान
समथ अर्थात् शान्त र स्थिर चित्तको अवस्था प्राप्त गर्ने अभ्यास गर्दा ध्यानको जुन आलम्बन लिइन्छ त्यो अपरिवर्तनशील रहन्छ, जस्तो कि बुद्धको मानसचित्र। तर अहिले पश्चिमा समाजमा सिकाइने माइन्डफुलनेस (स्मृति) ध्यानमा लिइने आलम्बन भनेको निरन्तर परिवर्तन भैरहेको वर्तमान क्षण हो, जो हाम्रो मन वा शरीरले थाहा पाउने निरन्तर परिवर्तनशील कुनै विषयमाथि हुन्छ। आलम्बनको हिसाबले यो थेरवाद परम्पराको स्मृति ध्यानको पद्धतिसँग मिल्छ। वैभाषिक दर्शनको व्याख्या गर्ने क्रममा वसुबन्धुले स्मृति ध्यान हाम्रो बुझाइको प्रत्येक क्षणमा विद्यमान रहन्छ भनी बताउनुभएको छ। तर त्यसको विषय भनेको वसुबन्धु र असङ्गले चित्रमात्रका ग्रन्थहरूमा बताउनुभए जस्तो हामी पहिल्यै परिचित रहेको वस्तु हुँदैन (जस्तो कि बुद्धको शारीरिक रूप); बरु त्यस्तो विषय हुन्छ जसलाई हामी प्रत्येक क्षणमा बेग्लै अनुभव गरिरहेका हुन्छौं (जस्तो कि शारीरिक संवेदना, विचार, आवेग, वा मनोभाव)। असङ्गले गर्नुभएको व्याख्याअनुसार हामीले ती विषयमा सटिक र निश्चित रूपमा ध्यान केन्द्रित गर्नुपर्छ।
हामीले विकास गर्न खोजेको वर्तमान क्षणको स्मृति वास्तवमा चित्तको बौद्ध विश्लेषण अन्तर्गत बताइएका अनेक चैतसिकहरूको सम्मिश्रण हो। त्यसमध्ये मुख्यरूपमा स्मृति स्वयं, सम्प्रजन्य, र अप्रमाद आउँछन्। स्मृति ध्यानको अभ्यास प्रभावकारी ढंगले गर्नका लागि यी तीनै चैतसिकहरूबारे जान्नु पर्छ ताकि यिनीहरूमध्ये कुनै कमजोर भयो भने हामी त्यसलाई सही अवस्थामा ल्याउन सकौं।
स्मृति
स्मृति, जसलाई “मानसिक गम” सँग तुलना गर्न सकिन्छ, स्वयंलाई दुई अलग चैतसिकको साथ चाहिन्छः संज्ञा र मनसिकार।
संज्ञा (तिब्बतीमा दु-शे) ले हामीले अनुभव गर्ने प्रत्येक क्षणका विभिन्न घटकहरूको लाक्षणिक विशेषतामा ध्यान केन्द्रित गर्छ। यसले तिनलाई अन्य सबै चीजबाट अलग गर्छ। शारीरिक पीडाको उदाहरण लिने हो भने संज्ञाले हामीले उक्त क्षणमा थाहा पाइरहेका अन्य सबै शारीरिक संवेदना (जस्तै, कोठाको तापक्रम) बाट पीडालाई अलग गर्छ। त्यसपछि मनसिकारले उक्त चीज ठ्याक्कै के हो भन्ने जान्दछ –– शारीरिक पीडा एक संवेदना मात्र हो, त्योभन्दा केही बढी वा घटी होइन।
यसरी संज्ञा र मनसिकारले युक्त स्मृतिका साथ हामी निरन्तर परिवर्तनशील वर्तमान क्षणको विषयमा केन्द्रित हुने प्रयास गर्छौं। यसप्रकारले वर्तमान क्षणको विषयलाई ध्यानको आलम्बन बनाउँदा मन यताउता भट्किन नदिने र त्यसलाई नबिर्सने प्रयास गर्छौं। प्रायः विगतमा भएका वा भविष्यमा हुनसक्ने अनुभवका बारेमा सोचिराख्ने भएकाले हाम्रो मन भट्किने हुन्छ। तर विगत वा भविष्यसम्बन्धी यस्तो सोच वर्तमान क्षणमै आइरहेको हुन्छ, त्यो कुरा चाहिँ हामी बिर्सन्छौं। उक्त विचार वर्तमान क्षणमै अनुभव भैरहेको एक विषय हो भन्ने कुरा जान्न छाडेर हामी तिनले बुन्ने “कथानक” मा चाहिँ हराउन थाल्छौं। फलस्वरूप, विचारमा हराउँदै आफ्नो ध्यानको विषयबाट भट्किन्छौं। तर यदि हामीले आफ्नो मनको अवस्थालाई अविचलित राख्न सफल भयौं भने एक स्थिर स्मृति प्राप्त गर्नेछौं जसले ध्यानको विषयबाट हामीलाई भट्किन दिँदैन। यसप्रकार स्मृतिले एक मानसिक गमले जस्तो काम गर्न थाल्छ र हाम्रो ध्यानलाई निरन्तर परिवर्तनशील वर्तमान क्षणको अनुभूतिमा जोडेर राख्छ।
असङ्गको मध्यान्तविभाग माथि भाष्य लेख्दै स्थिरमतिले बताउनुभएको छ कि स्मृतिको अभ्यास सुदृढ बनाउन हामीले आफैंलाई बेलाबेलामा ध्यानको आलम्बनबारे सम्झाइरहनुपर्छ। अर्थात्, मनमनै एक बीजशब्दलाई दोहोर्याइरहनु पर्छ ताकि हाम्रो स्मृतिको पकड मजबुत भैरहोस्। वसुबन्धुले पनि यसैगरी स्मृतिको अभ्यासमा आलम्बनमाथि ध्यान केन्द्रित गरिराख्नुपर्ने बताउनुभएको छ। यो तरिकालाई जोड दिँदै चोङ्खापाले भन्नुभएको छः “यदि तिमी यसो गर्न अस्वीकार गर्छौ र यसरी शाब्दिक रूपमा आफूलाई सम्झाउँदा ध्यानबाट विचलित हुन्छु भन्ठान्छौ भने सबल स्मृति र सम्प्रजन्यको विकास गर्न अति कठिन हुनेछ।”
सम्प्रजन्य
सम्प्रजन्य (तिब्बतीमा से-शिन) त्यस्तो चैतसिक हो जसले स्मृतिको अभ्यास गर्दा मनले आफ्नो ध्यानको आलम्बनलाई कसरी पकडेको छ, त्यसलाई निरीक्षण र नियन्त्रण गर्छ। ध्यानको आलम्बन (अर्थात् वर्तमान क्षणको हाम्रो अनुभूतिको कुनै विषय) मा स्मृति रहेको अवस्थामा यसले काम गर्छ। एक हिसाबले सम्प्रजन्य सबल स्मृतिकै एक अंग हो। चोङ्खापाले भन्नुभए जस्तै, स्मृतिको अभ्यास जति बलवान हुन्छ, हामी बिना विचलन आलम्बनको स्मरणमा रहिरहन त्यति नै अभ्यस्त हुन्छौं। परिणामस्वरूप, मन यताउता भट्कियो भने त्यो थाहा पाउने हाम्रो सचेतना बढ्छ। अर्थात्, स्मृति जति बलवान हुन्छ, हाम्रो सम्प्रजन्य त्यति नै सबल हुन्छ।
हामीले सम्प्रजन्यलाई द्वैतवादी रूपमा बुझ्न र प्रशिक्षित हुँदै गरेको मनलाई एक स्वतन्त्र चौकिदारले अलग्गै बसेर ध्यानपूर्वक हेरेको जस्तो रूपमा लिन हुँदैन। चोङ्खापा स्मृति र सम्प्रजन्यबीचको फरकलाई सावधानीपूर्वक जान्नुपर्ने कुरा बताउनुहुन्छ। उहाँले हामीलाई सावधान गर्दै भन्नुभएको छ, “तिमीले चित्तका यी विभिन्न अवस्थाहरूलाई भ्रमपूर्वक मिसमास पार्यौ र तिनीहरू बीचको फरक जानेनौ भने सबैथोक अस्पष्ट हुनेछ। तिब्बतमा धेरै ध्यान साधकहरूले हाल त्यसै गर्छन्। त्यसो गर्दा उनीहरू गहिरो समाधिको अवस्थामा पुग्न सक्छन् भन्ने कुरामा मलाई विश्वास छैन।”
सम्प्रजन्यले हाम्रो स्मृतिमा आउने विचलनलाई मात्र जान्दैन। बरु यसले हामीमा एक प्रकारको आन्तरिक “चेतावनी प्रणाली” लाई सक्रिय गर्छ जसले गर्दा हामी पुनः सजग हुन्छौं र आफ्नो ध्यानलाई ठीक ठाउँमा राख्दै स्मृतिलाई पुनर्स्थापित गर्छौं। सम्प्रजन्य र यसबाट आएको पुनः सजगताले राम्रोसँग काम गर्न हामीलाई स्मृति ध्यानको तेस्रो प्रमुख अंगको आवश्यकता पर्छ, जुन हो : अप्रमाद।
अप्रमाद
अप्रमाद (तिब्बतीमा भाग्-यो) अथवा सावधानी वा सचेतता त्यस्तो चैतसिक हो जसले कुनै कुराको ख्याल राख्छ। यसले हाम्रो मनको अवस्थाप्रति सचेतता राख्छ। यसले मनलाई अकुशल अर्थात् अहितकर कुरातर्फ ढल्किनबाट बचाउँछ र कुशल अर्थात् हितकर, सकारात्मक कुरातर्फ प्रवृत्त गराउँछ। त्यसैले अप्रमादले युक्त भएर हामी आफ्नो मनको अवस्थाप्रति सचेत हुन्छौं, त्यसको ख्याल राख्छौं। यसरी अप्रमाद एक प्रकारले त्यस्तो चैतसिकसँग मिल्दोजुल्दो हुन्छ जसले आफ्नो ध्यानको विषयप्रति लगाव राख्छ; वसुबन्धुले यसलाई स्मृति ध्यानको एक अंगको रूपमा बताउनुभएको छ।
वसुबन्धुले के स्पष्ट पार्नुभएको छ भने कुनै निश्चित क्षणमा हामीले लिएको ध्यानको आलम्बनप्रति लगाव राखेनौं भने, अर्थात् त्यसलाई सम्हालेर राखेनौं भने र स्मरणमा राख्न योग्य ठानेनौं भने त्यसलाई पुनः ध्यानमा ल्याउन सक्दैनौं। यद्यपि अप्रमाद भनेको आलम्बनप्रति लगाव राख्नु मात्र होइन। आलम्बनको पर्याप्त ख्याल गर्ने ताकि हामीले त्यसलाई सम्झन सकौं भन्ने मात्र यसको तात्पर्य होइन। बरु, अप्रमादको सहयोगले हामी तब आफ्नो स्मृतिको पकडलाई सही रूपमा पुनर्स्थापित गर्न प्रेरित हुन्छौं जब त्यो सही रूपमा छैन भन्ने कुरा सम्प्रजन्यबाट थाहा पाउँछौं। अप्रमाद भएन भने मन भट्किसक्दा पनि हामीले आफ्नो आलम्बन र वर्तमान क्षणलाई गुमाएको कुराको परवाह गर्दैनौं। तसर्थ अप्रमाद नैतिक आत्मानुशासन वा शीलको आधार हो जसको मद्दतले हामी अकुशल कर्म गर्नबाट आफूलाई रोक्छौं।
अप्रमादको तिब्बती अनुवाद भाग्-योको शाब्दिक अर्थ हो, “सतर्कता अपनाउनु”। यसको विपरीत शब्द भाग्-मे हो जसको अर्थ हो, सतर्कता नहुनु वा लापरवाह हुनु। भाग्-योको मौलिक संस्कृत शब्द अप्रमादको अर्थ “प्रमाद नहुनु” हो। प्रमाद भनेको मातेको वा मानसिक स्थिरता नभएको अवस्था हो जसमा हामी के बोल्दैछौं वा गर्दैछौं भन्ने कुराको परवाह गर्दैनौं, ती दुवै कुराको ख्याल राख्दैनौं। तर अप्रमादमा हामी मातेको मान्छेजस्तो हुँदैनौं। हामी शान्त, संयमित र जिम्मेवार हुन्छौं, त्यसैकारण आफ्नो मनको अवस्थालाई ख्यालमा राख्छौं।
सारांश
स्मृति ध्यानको अभ्यासमा चैतसिकहरूको एक मिश्रित समूहलाई उपयोगमा ल्याइन्छ, जो वर्तमान क्षणको निरन्तर परिवर्तनशील अनुभूतिहरूको विषयवस्तुमा केन्द्रित हुन्छ। यसमा आवश्यक पर्ने तीन प्रमुख तत्त्वहरू स्मृति, सम्प्रजन्य र अप्रमाद हुन भने थप तत्त्वहरूमा विभेद (संज्ञा), सटिक मनसिकार र शील पर्छन्; र आवश्यकता अनुसार सजगतालाई पुनर्स्थापित गर्नुपर्ने हुन्छ। त्यसैले हामीलाई यी सबै चैतसिकहरूलाई निश्चित रूपले जान्न प्रज्ञाको सहारा लिनुपर्छ। स्मृति ध्यान अभ्यासको सन्दर्भमा प्रज्ञा केवल आलम्बनको कुनै एक पक्ष (जस्तै हाम्रो अनुभूतिको प्रत्येक क्षणको अनित्यता) मा केन्द्रित हुनमा मात्र सीमित हुँदैन। यो ध्यान अभ्यासका बेला हाम्रो चित्तावस्थाका अन्य विविध पक्षहरूमा पनि केन्द्रित हुन्छ।
त्यसैले शमथको शान्त र स्थिर चित्तावस्था विकसित गर्ने सन्दर्भमा चोङ्खापाले महान भारतीय आचार्यहरूको आधिकारिक ग्रन्थलाई आधार बनाउनुपर्ने कुरालाई जोड दिनुहुन्छ र भन्नुहुन्छ :
आफ्नो आशालाई केवल अन्ध उत्साहका साथ गरिने कठोर परिश्रममा मात्र नटिकाऊ। आर्याशुरले आफ्नो ग्रन्थ पारमितासमास मा बताउनुभए जस्तै, “केवल उत्साहको मात्र भर पर्दा तिमीलाई अन्ततः थकान मात्र हात लाग्नेछ। तर यदि प्रज्ञाको सहयोग लिएर आफूलाई परिष्कृत गर्दै लग्यौ भने महान लक्ष्यहरू पूरा गर्नेछौ।”