मृत्यु र अनित्यता चिन्तनका लागि चार प्रमाण

ध्यानसाधना तीन चरणको प्रक्रिया हो भन्ने हामीले जान्यौं, जसमा शिक्षाको श्रवण, चिन्तन र तिनमाथि गरिने ध्यान पर्छन्। तेस्रो चरण अर्थात् ध्यानमा हामी सिकेका कुरालाई आफ्नो जीवनमा उतार्ने अभ्यास गर्छौं। यसका लागि बारम्बार आफ्नो अभ्यासलाई दोहोर्याउनुपर्ने हुन्छ। मूलतः एक सकारात्मक चित्तावस्थाको निर्माण गर्नु हाम्रो उद्देश्य हो, जसलाई हामी आफ्नो स्वाभाविक प्रवृत्तिका रूपमा विकास गर्न चाहन्छौं। यसका लागि अभ्यासलाई बारम्बार दोहोर्याउनुपर्छ। 

हामी शिक्षाको श्रवण गर्छौं। यसबाट प्रज्ञाको विकास हुन्छ, र “यो त बुद्धकै शिक्षा हो” भनेर छुट्याउन र त्यसमा विश्वास गर्न सकिन्छ। हामीले अर्को चर्चा पनि गर्यौं – शिक्षा पूरै बुझिएन भने पनि त्यसलाई निश्चित पूर्व मान्यताको आधारमा ग्रहण गर्न सकिन्छ। हामीमा शिक्षा ग्रहणको आकांक्षा र प्रेरणा हुन्छ। त्यसैले प्राप्त शिक्षालाई सही नै होलान् भनेर लिन्छौं, र जबसम्म ती गलत साबित हुँदैनन्, तबसम्म ती ठीकै होलान् भन्ने मान्यताअनुसार चल्छौं। कुनै कुरा सत्य होइन भन्ने हामीले पत्ता लगायौं भने त्यसलाई हामी छाड्न सक्छौं। तर हामीले प्रारम्भमा मान्यताकै स्तरमा भए पनि शिक्षा सही नै होलान् भनेर आफ्नो मनलाई खुला राख्नु जरुरी छ। त्यसपछि हामी ती शिक्षा सही हुन कि होइनन् भनेर अन्वेषण गर्छौं। शिक्षालाई हामी भिटामिनसँग तुलना गर्न सक्छौं। हाम्रा लागि ती भिटामिनजस्तै हितकारी होलान् भन्ने मान्यता राख्छौं। विषजस्तो लाग्ने कुरालाई त हामी अपनाउने प्रयत्न नै गर्दैनौं, “यसलाई एकपटक चाखिहालौं, यसले म मर्छु कि मर्दिन जाँचेर हेरौं” – विषको हकमा हामी यसरी सोच्दैनौं, तर भिटामिनको हकमा एकपटक परीक्षण गरेर हेरौं भनेर सोच्छौं। धेरै मानिसले यसबाट लाभ हुन्छ भनेका छन्, त्यसैले म पनि एकपटक आफैं जाँचेर हेर्छु – यस्तो भावले हामी शुरु गर्छौं।

शिक्षामाथि चिन्तन गर्दा हामी चिन्तनमयी प्रज्ञा अर्थात् चिन्तनका माध्यमबाट प्रज्ञा जागृत गर्न खोज्छौं। यो चरणमा हामी शिक्षालाई पूर्ण रूपमा बुझिसक्छौं। बुद्धले सिकाएका कुरा सत्य रहेछन्, त्यसबाट साँच्चिकै हामीलाई लाभ हुन्छ, र हामीले चाहेको अवस्था प्राप्त गर्न सम्भव छ भन्ने जान्दछौं। यी चरणहरू पार नगरी अगाडि बढ्न खोज्दा मानिसहरू प्रायः अल्मलिन्छन् र केही समयपछि “निष्कर्षहीन दुविधा” मा पर्छन्। यो अविश्वासको अवस्था हो। वाञ्छित अवस्था प्राप्त गर्न सम्भव छ भन्ने कुराप्रति नै शंका हुन थाल्छ, र उनीहरू अभ्यास छाडिदिन्छन्।

Top