५० औं पृथ्वी दिवसको अवसरमा दलाई लामाको सन्देश

Sb nasa earth

हामी ५० औं पृथ्वी दिवस मनाउँदैछौं। तर अहिले यो पृथ्वी मानिसको स्वास्थ्य र कल्याणमाथि आएको एक अत्यन्तै ठूलो चुनौतीको सामना गर्न बाध्य छ। यो संघर्ष चलिरहँदा हामी करुणा र आपसी सहयोगको महत्त्वसम्बन्धमा सोच्न बाध्य हुन्छौं। विश्वमा फैलिएको महामारीले जाति, संस्कृति, वा लिंगको भेदभावबिना हामी सबैलाई उत्तिकै आक्रान्त बनाएको छ। यो अवस्थालाई हामी सबैले मानवजातिका रूपमा एकजुट भई सुल्झाउनु पर्छ र सबैको आधारभूत आवश्यकताहरूको परिपूर्ति गर्नेतर्फ पहल गर्नुपर्छ।

हाम्रो जन्म यस पृथ्वीको बृहत् परिवारको एक सदस्यका रूपमा भएको छ, चाहे हामीलाई यो कुरा मन परोस् वा नपरोस्। चाहे धनी हौं वा गरीब, शिक्षित हौं वा अनपढ, चाहे जुनसुकै राष्ट्रका नागरिक हौं, अन्ततः हामी सबै अरुजस्तै मानव मात्र हौं। हामी सबैलाई खुशी खोज्ने र दुःखबाट मुक्त हुने उत्तिकै अधिकार छ। यस दृष्टिले सबै प्राणी उस्तै हुन् भन्ने बुझेपछि हामी स्वतः अरुसँग समानुभूति र आत्मीयताको अनुभव गर्छौं। यसबाट हामीमा सार्वभौमिक उत्तरदायित्वको बोध उत्पन्न हुन्छ र हामी अरुलाई समस्याबाट मुक्ति दिलाउनेतर्फ सक्रिय रुपमा सहयोग गर्न तत्पर हुन्छौं।

पृथ्वी माताले हामीलाई सार्वभौमिक जिम्मेवारीको शिक्षा दिएकी छिन्। यो निलो ग्रह प्राणीहरूको अपूर्व वासस्थल हो। यसको जीवन भन्नु हामी सबैको जीवन हो, यसको भविष्य भन्नु हाम्रो भविष्य। यो पृथ्वी साँच्चिकै हाम्री आमाजस्ती हुन्, र हामी उनका सन्तानजस्ता, उनीमाथि पूर्णतः निर्भर। सबैले सामना गर्नु परिरहेको अहिलेका विश्वव्यापी समस्याहरूको समाधानका लागि हामी एकजुट भएरै काम गर्नुपर्छ।

सन् १९५९ मा तिब्बतबाट बाहिर निस्केपछि मात्र मलाई वातावरणीय समस्याको बारेमा जानकारी भयो। त्यहाँ रहुञ्जेल हामी वातावरण सधैँ शुद्ध नै हुन्छ भन्ने सोच्थ्यौं। उदाहरणका लागि, कुनै खोला देख्दा त्यसको पानी खानयोग्य छ कि छैन भनेर चिन्ता गर्नै पर्दैनथ्यो। तर दुर्भाग्य, अहिले विश्वभरी नै शुद्ध खानेपानी सबैका लागि ठूलो समस्याको रूपमा रहेको छ।

हामीले विश्वभरी सबै बिरामी र साहसी स्वास्थ्यसेवा प्रदायकहरूका लागि शुद्ध खानेपानी र स्वच्छताका सामग्रीहरूको सुनिश्चितता गर्नुपर्छ। रोगको अनियन्त्रित विस्तारमा रोक लगाउन यो आवश्यक छ। स्वास्थ्यसेवाको प्रभावकारिताका लागि स्वच्छता र सरसफाई अनिवार्य हुन्छ।

जनशक्ति र साधनसम्पन्न स्वास्थ्यसेवा प्रदायक संस्थाहरूको दीगो उपलब्धताले अहिले विश्वलाई अस्तव्यस्त बनाइरहेको महामारीबाट बच्न सहयोग गर्छ। यसले भविष्यमा आउन सक्ने सार्वजनिक स्वास्थ्यका सङ्कटहरूको सामना गर्न पनि हामीलाई सक्षम बनाउनेछ। मलाई लाग्छ, संयुक्त राष्ट्रसंघको दीगो विकास लक्ष्यले विश्व स्वास्थ्यका चुनौतीहरूको सामना गर्न निर्धारण गरेको उद्देश्य पनि यही हो।

यो सङ्कटको सँगै सामना गरिरहँदा हामीले एकता र सहकार्यको भावनाका साथ काम गर्नु जरुरी हुन्छ ताकि विश्वभरका हामीभन्दा कम भाग्यशाली दाजुभाइ दिदीबहिनीको आधारभूत आवश्यकताहरूको पूर्ति गर्न सकौं। मलाई आशा छ, र म प्रार्थना गर्छु कि आउँदा दिनहरूमा हामी सबैले यो विश्वलाई अझ सुखी र स्वस्थ ठाउँ बनाउन आफूले सकेसम्म प्रयास गर्नेछौं।

दलाई लामा

२२ अप्रिल २०२०

Top