कहिलेकाहीँ साथीहरूले मलाई “जादुई शक्ति” को प्रयोग गर्दै संसारका समस्या समाधान गरिदिन आग्रह गर्नुहुन्छ। म उहाँहरूलाई सधैँ भन्छु, दलाई लामासँग त्यस्तो कुनै जादुई शक्ति छैन। त्यस्तो शक्ति भएको भए मेरो खुट्टामा पीडा हुने थिएन र मेरो घाँटी दुख्ने थिएन। मानवका रुपमा हामी सबै उस्तै हौं। हामी सबै उस्तै डरहरू, उस्तै आशाहरू र उस्तै अनिश्चितताहरूबीच बाँच्छौं।
बौद्ध दृष्टिकोणबाट हेर्दा, हरेक चेतन प्राणी दुःख, रोग, बृद्धावस्था र मृत्युसँग परिचित हुन्छ। तर मानवजातिका रुपमा हामीमा आफ्नो मनको उपयोग गरेर रिस, त्रास र लोभलाई जित्ने क्षमता हुन्छ। हालका वर्षहरूमा मैले “भावनात्मक नि:शस्त्रीकरण” मा जोड दिँदै आएको छु। यसको अर्थ डर वा रिसका कारण हुने भ्रमबाट मुक्त भई संसारलाई यथार्थको कोणबाट स्पष्टताका साथ हेर्ने हो। कुनै समस्याको समाधान छ भने त्यो दिशामा प्रयत्न गर्नुपर्छ। समाधान छैन भने त्यसका बारेमा सोचेर समय खेर फाल्नुहुँदैन।
हामी बौद्धमार्गीहरू सम्पूर्ण संसार एक आपसमा अन्तरसम्बन्धित छ भन्नेमा विश्वास गर्छौं। त्यसैले म प्रायः सार्वभौमिक उत्तरदायित्वमा जोड दिन्छु। कोरोना भाइरसको यो भयानक प्रकोपले प्रस्ट पारेको छ कि एक व्यक्तिलाई जे हुन्छ त्यसले चाँडै नै अन्य सबै प्राणीहरूलाई असर गर्न सक्छ। तर साथै यसले हामीलाई स्मरण गराएको छ कि करुणायुक्त रचनात्मक काममा धेरैलाई मद्दत गर्ने क्षमता हुन्छ – चाहे त्यो अस्पतालमा सेवा गर्ने काम होस् वा सामाजिक दूरी पालना गर्ने।
वुहानमा कोरोना भाइरस देखिएको समाचारहरू आएदेखि नै म चीन र अरू सबैतिरका मेरा दाजुभाई दिदीबहिनीहरूका लागि प्रार्थना गर्दैछु। तर हामी देख्दैछौं, यो भाइरसबाट कोही पनि सुरक्षित छैन। हामी सबैलाई आफ्ना प्रियजन र विश्व तथा आफ्नो व्यक्तिगत अर्थव्यवस्थाको चिन्ता छ। यस्तो अवस्थामा प्रार्थना मात्र पर्याप्त हुँदैन।
यो संकटमा हामी सबैले आफूले सक्ने जिम्मेवारी वहन गर्नु आवश्यक छ। डाक्टर तथा नर्सहरूले देखाएको साहस र प्रयोगसिद्ध विज्ञानका तथ्यहरूलाई एक ठाउँमा ल्याएर अहिलेको अवस्थालाई बदल्नुपर्छ र हाम्रो भविष्यलाई यस्ताखाले खतराहरूबाट जोगाउनुपर्छ।
यो त्रासदीपूर्ण समयमा हामीले सम्पूर्ण विश्वको दीर्घकालीन चुनौतीहरू र सम्भावनाहरूका बारेमा सोच्नु आवश्यक छ। अन्तरिक्षबाट खिचिएका हाम्रो निलो ग्रहका फोटोहरूमा कुनै सीमारेखाहरू देखिँदैनन्। हामी सबैले यसबारे विचार गर्नुपर्छ, र जलवायु परिवर्तन तथा अन्य विनाशकारी शक्तिहरू रोक्नेतर्फ पहल गर्नैपर्छ। यो महामारी एक चेतावनीको रूपमा आएको छ, जसले हामीलाई भन्छ कि एक समन्वित र विश्वव्यापी पहलका माध्यमबाट मात्र हामी यस्तो अकल्पनीय चुनौतीको सामना गर्न सक्नेछौं।
हामीले यो पनि ख्याल राख्नुपर्छ कि कोही पनि दुःखबाट मुक्त छैन। जसको सुरक्षाका लागि घर, परिवार वा कुनै स्रोतसाधन छैन, उनीहरूका लागि हामीले सहयोगको हात बढाउनुपर्छ। यो संकटले हामीलाई देखाउँछ कि हामी एकअर्काबाट अलग छैनौं चाहे हामी टाढाटाढा नै बसेका किन नहोऊँ। हामी सबैले करुणायुक्त सेवाको जिम्मेवारी लिनु जरुरी छ।
एक बौद्धमार्गी भएकाले म अनित्यताको सिद्धान्तमा विश्वास गर्छु। यो भाइरसको प्रकोप अन्ततः सकिनेछ। मैले आफ्नै जीवनकालमा युद्धहरू र अन्य भयानक खतराहरू समाप्त भएको देखेको छु। विगतमा जस्तै हामीले विश्वसमुदायको पुनर्निर्माण गर्ने अवसर पाउनेछौं। सबैजना सुरक्षित र शान्त रहन सकुन् भन्ने म हार्दिक कामना गर्दछु। अनिश्चिततायुक्त अहिलेको घडीमा यो महत्त्वपूर्ण छ कि यति धेरै मानिसहरूले जुन रचनात्मक प्रयास गरिरहेका छन्, तिनमा हामीले विश्वास र भरोसा गर्न छाड्नु हुँदैन।