करुणाको अनुभूति

आफ्ना दुःख र दुःखका कारणहरूबाट मुक्तिको अठोट लिइसकेपछि त्यो स्नेहभावलाई अरूप्रति लक्षित गर्दै करुणाका साथ उनीहरू पनि आफूजस्तै मुक्त होऊन् भन्ने भावको विकास गर्छौं।

व्याख्या

अरूप्रति स्नेहपूर्ण र यथार्थपरक दृष्टिकोणको विकास गरिसकेपछिको चरणमा हामी करुणाको अभ्यास गर्छौं। करुणाको अर्थ अरूलाई कमजोर ठानेर दयाको भावले हेर्ने होइन बरु समानुभूतिको भावले हेर्ने हो, अर्थात् अरूको अनुभवलाई आफ्नो अनुभव ठानेर हेर्ने हो। त्यसैले करुणाको अर्थ जसरी हामी दुःख र दुःखका हेतुहरूबाट मुक्ति चाहन्छौं, त्यसैगरी अरू पनि मुक्त होऊन् भन्ने कामना गर्नु हो। यसो भैदिए हुन्थ्यो, हुनत यो सम्भव छैन, भनेर कमजोर पाराले सोच्नु करुणा होइन। करुणामा त दुःख र दुःखका हेतुहरूबाट मुक्ति सम्भव छ भन्ने पूर्ण विश्वास राखिन्छ। यसमा आफूले सकेसम्म अरूलाई सहयोग गर्ने तत्परता र आशय पनि समावेश हुन्छ। यो निष्क्रिय कामना होइन, यसमा हामी या त शारीरिक वा भौतिक रूपमै सहयोग गर्छौं, या चित्तको स्तरमा अरूलाई दुःखबाट मुक्ति दिलाउन आवश्यक मनोभावको निर्माण गर्छौं र त्यसलाई ती व्यक्तिहरूलाई स्मरण गर्दै प्रेषित गर्छौं।

ध्यान

  • श्वासमा ध्यान केन्द्रित गर्दै चित्तलाई शान्त गर्नुहोस्।
  • कल्पना गर्नुहोस्, भूकम्पमा तपाईंको घर र सबै सम्पत्ति गुम्यो, र तपाईं बाहिर खुला आकाशमुनि सुत्नु परिरहेको छ। तपाईं खानेकुरा र पानीको खोजमा भौंतारिँदै हुनुहुन्छ। आफ्नो जीवनलाई पुनर्स्थापित गर्न तपाईंसँग पैसा छैन। तपाईं आफूलाई बिल्कुल दीनहीन र असहाय महसुस गर्दै हुनुहुन्छ।
  • अनुभव गर्नुहोस्, तपाईं यो अवस्थाबाट कसरी मुक्ति चाहनुहुन्छ। यतिबेला तपाईंलाई बिस्मात लागेको छ, त्यसैकारण तपाईं दुःखी हुनुहुन्छ। यो बिस्मातको भावबाट मुक्त हुने र जीवनको पुनर्निर्माण गर्ने संकल्प गर्नुहोस्।
  • अब कल्पना गर्नुहोस्, तपाईंको आमा पनि त्यही अवस्थामा हुनुहुन्छ। आफू त्यसबाट मुक्त हुने कामनालाई आमातर्फ प्रेषित गर्नुहोस्, र आमाप्रति करुणाको भाव विकास गर्नुहोस्। उहाँलाई यसबाट मुक्ति मिलोस् भन्ने संकल्प गर्नुहोस्। 
  • उहाँले आश नमार्नुहोस्, र जीवनको पुनर्निर्माण गर्ने हिम्मत र शक्ति उहाँलाई मिलोस् भन्ने कामना गर्नुहोस्।
  • यही अवस्था भोगिरहेका नेपालका लाखौं जनतालाई स्मरण गर्दै उहाँहरू सबैका लागि त्यसैगरी करुणाभावको विकास गर्नुहोस्। 
  • यही प्रक्रियाबाट आवेगात्मक असन्तुलन (इमोशलन इम्ब्यालेन्स) को सन्दर्भमा भावना गर्नुहोस्। आफू आवेगात्मक रूपमा असन्तुलित भएको कुनै क्षण सम्झिनुहोस्। तपाईंले शान्त र निर्मल चित्तको विकासमार्फत यो असन्तुलनबाट मुक्ति पाउनुहुनेछ र आफ्नो आवेगात्मक सन्तुलन पुनः प्राप्त गर्नुहुनेछ।
  • यो भावलाई आफ्नो आमातर्फ मोड्नुहोस् र एवं रीतले सबै सत्त्वहरूप्रति यही भाव प्रेषित गर्नुहोस्।

सारांश

हामी खुसी हुन चाहन्छौं, दुःखी कहिल्यै पनि हुन चाहँदैनौं। अरू सबैजना यही चाहन्छन्। हामीजस्तै अरू सबै आफ्ना पीडा र समस्याहरूबाट मुक्ति चाहन्छन्। उनीहरूका लागि करुणाको विकास गर्न – अर्थात् उनीहरू दुःखबाट मुक्त होऊन् भन्ने कामना गर्न – हामीले सर्वप्रथम आफूले भोग्नुपरेका समस्याहरूलाई स्वीकार गर्दै तिनको सामना गर्ने तत्परता देखाउनुपर्छ र तीनबाट मुक्त हुने प्रबल कामना राख्नुपर्छ। आफ्ना दुःखहरूबाट मुक्ति पाउने कामना जति प्रबल भयो, त्यति नै धेरै हामी अरूको दुःखमा पनि समानुभूति गर्न सक्छौं र उनीहरूलाई पनि ती सबै दुःखबाट मुक्ति दिलाउने अठोटको विकास गर्न सक्छौं। यसरी अरूप्रति लक्षित दुःखमुक्तिको अठोटलाई नै हामी “करुणा” भन्छौं।

Top