मृत्युबारे यथार्थपरक दृष्टिकोण

जीवन छोटो छ र कुनै पनि बेला यसको अन्त हुन सक्छ भन्ने तथ्य स्वीकार गर्दै हामी आफूलाई प्राप्त यो अमूल्य अवसरलाई गुम्न दिँदैनौं, मौका छँदै अर्थपूर्ण उपयोग गर्छौं।

व्याख्या

मृत्यु धेरै मानिसले चर्चा गर्न मन नपराउने विषय हो। तर यो जीवनको यथार्थ हो। हरेक मानिसले यसको सामना गर्नैपर्छ। जुन कुरा जीवनमा अनिवार्य रूपले घटित हुन्छ, त्यसमा आफूलाई तयार गरेनौं भने हामी अत्यन्तै भय र पश्चात्तापका साथ मर्नुपर्ने हुनसक्छ। त्यसैले हाम्रा लागि मृत्यु ध्यान एक अति उपयोगी र महत्त्वपूर्ण अभ्यास हो। 

मृत्युका सम्बन्धमा गरिने ध्यान धेरै प्रकारका हुन सक्छन्, जस्तै – आफूलाई कुनै असाध्य र प्राणघातक रोग लागेको जानकारी पाएको कल्पना गर्नु। तल प्रस्तुत ध्यान एक मानक ध्यान अभ्यास हो, जसबाट हामीलाई अहिले अवसर छँदै आफ्ना दृष्टिकोण र कर्म सुधार्न प्रयत्न गर्ने प्रेरणा प्राप्त हुन्छ। श्वासमा ध्यान केन्द्रित गर्दै चित्तलाई शान्त गरेपछि हामी निम्नानुसार चिन्तन गर्छौं –

ध्यान

मृत्यु अपरिहार्य छ, किनभने – 

  • यो आउने कुरा निश्चित छ, केही गरी पनि यसलाई नआउने बनाउन सम्भव छैन। मानव इतिहासमा कोही पनि त्यस्तो छैन जसले जन्मेपछि मर्नु परेको नहोस्। हामी चाहिँ कुनै खास तत्त्व हौं र नमर्नलाई?
  • मृत्युको बेला आएपछि त्यसलाई केही गरी टार्न र हाम्रो जीवनलाई तन्काउन सकिँदैन। जिउनका लागि हामीसँग जति समय बाँकी छ, त्यो अनवरत रूपमा घटिरहेको छ। प्रत्येक क्षण हामी बुढा हुँदैछौं, मृत्युतर्फ अगाडि बढ्दैछौं – हामी मृत्युबाट टाढा जवानीतर्फ फर्कंदैछैनौं। मानौं हामी एक घुम्ने पट्टी (कन्भेयर बेल्ट) मा निरन्तर नरोकिकन अगाडि बढ्दैछौं र आफ्नो अनिवार्य मृत्युको नजिक पुग्दैछौं।
  • शान्तिपूर्वक र पछुतोबिना मर्न पाउने परिस्थिति बनाउन हामीले जीवन छँदै प्रयत्न गर्यौं कि गरेनौं, मृत्युले त्यो विचार गर्दैन। मृत्यु त आइ नै हाल्छ। चाहे एक्कासि हृदयगति बन्द भएर होस् या कार दुर्घटनामा परेर होस्, हामीले सोच्दै नसोचेको क्षणमा मृत्यु घटित हुनसक्छ।  

हामी कहिले मर्छौं भन्ने कुराको कुनै निश्चितता छैन, किनभने – 

  • सामान्यतया हाम्रो जीवनकाल कति लामो हुन्छ भन्ने निश्चित छैन। मर्नका लागि हामी बृद्ध पनि हुनुपर्दैन।
  • मर्ने सम्भावना धेरै र बाँचिरहने सम्भावना थोरै छ। विश्व तापमान बृद्धिसँगै प्राकृतिक प्रकोप, महामारी बढ्दो क्रममा छन्। घट्दो प्राकृतिक स्रोतसाधन र आर्थिक असमानताका कारण दिनप्रतिदिन हिंसामा बृद्धि हुँदै जान्छ। बढ्दो निराशाका कारण औषधिको अति दुरुपयोगको खतरा छँदैछ। यस्ता अनेक समस्या छन्। 
  • हाम्रो शरीर अति नाजुक छ – सानै रोग वा दुर्घटना पनि यसको मृत्युको कारण बन्न सक्छ।

आफ्ना दृष्टिकोण र कर्म सुधार्न गरिएका प्रयत्नबाहेक हामीलाई अरू कुनै चीजले पनि शान्त र पश्चात्तापरहित चित्तका साथ मर्न सहयोग गर्न सक्दैन। अहिले यही क्षणमा मृत्युवरण गर्नुपर्ने भएमा – 

  • सारा सम्पत्ति बेकामको हुनेछ – हामीसँग भएको पैसा कम्प्युटर स्क्रीनमा देखिने अंकभन्दा बढी हुनेछैन।
  • साथीभाई र नातेदारहरू पनि बेकामका हुनेछन् – हामीले उनीहरूलाई छाडेर जानुपर्छ, र यदि उनीहरू आसपास छन् र रूने कराउने गर्दैछन् भने त्यसले हाम्रो चित्तलाई झन अशान्त मात्र गर्नेछ। 
  • यहाँसम्म कि हाम्रो आफ्नै शरीर पनि बेकामको हुनेछ – तौल घटाएर सुन्दर बनाएको शरीरले हामीलाई के सहयोग गर्ला र? 

त्यसैले हामी यो निष्कर्षमा पुग्छौं कि मर्नेबेलाको भय र पश्चात्तापपूर्ण अवस्थाबाट बचाउने केही उपाय छ भने त्यसलाई अपनाउनु नै जीवनको एकमात्र सारपूर्ण कुरा हुने रहेछ। 

सारांश

मृत्यु अपरिहार्य छ, यो कुरा बोध गर्नुको उद्देश्य आफूलाई भयभीत र निराश बनाउनु होइन। जब हामी आफ्नो जिउने समय सीमित मात्र छ र यो कति लामो छ कसैले भन्न सक्दैन भन्ने कुराको बोध गर्छौं, तब आफूलाई अहिले प्राप्त यो समय र अवसरको सकेसम्म बढी सदुपयोग गर्ने प्रेरणा प्राप्त हुनेछ। मृत्युको बोधले हामीलाई अल्छीपना त्याग्न र काम टार्ने प्रवृत्तिबाट मुक्त हुने सहयोग गर्छ। यसबाट हामी सकारात्मक कदमहरू चाल्दै आफ्नो भविष्यलाई निकृष्ट हुनबाट बचाउन सक्छौं।  

Top