व्याख्या
अनित्यताको अर्थ हो परिवर्तन – हेतु र प्रत्ययहरूद्वारा प्रभावित हुने कुनै पनि चीज सधैँ स्थिर रहँदैन, क्षण प्रतिक्षण परिवर्तन भैरहन्छ। कुनै चीज त्यस्ता हुन्छन् जसको निर्माणसँगै बिस्तारै क्षयीकरण शुरु हुन्छ, तिनीहरू विच्छिन्न हुन थाल्छन् र एक दिन तिनको अन्त हुन्छ, जस्तै तपाईंको कम्प्युटर, कार वा शरीर। कुनै चीज त्यस्ता पनि हुन्छन् जसमा प्रतिक्षण परिवर्तन आइरहन्छ, तिनको हरेक क्षण पुननिर्माण भैरहन्छ, त्यसैले तिनीहरूको क्षयीकरण हुँदैन; जस्तै हाम्रो चित्तको आधारभूत गतिविधि जो बाल्यकालमा होस् या सक्रिय यौवनावस्था या अल्जाइमर रोग लागेको बुढेसकालमा, हरेक क्षण रहन्छ र परिवर्तन भैरहन्छ। फेरी कुनै चीज त्यस्ता हुन्छन् जसमा उतारचढाव भैरहन्छ; जस्तै तापक्रम वा हाम्रो ध्यानको अनुभूति। कुनै चीज भेला हुने र छुट्टिने प्रकृतिका हुन्छन्; जस्तै हवाईजहाजमा सवार यात्रीहरू। कुनै चीज बारम्बार चक्रीय प्रणालीमा दोहोरिरहन्छन्; जस्तै मौसम वा दिन–रातको सिलसिला। त्यस्तै कुनै चीज बारम्बार उत्पन्न हुने, केही समय रहने र नष्ट हुने हुन्छन्; जस्तै बौद्ध प्रणालीअनुसारका ब्रह्माण्डहरू। अनित्यताका अनेक रूप हुन सक्छन्।
दुर्भाग्यवश, हाम्रो चित्तले समयको सम्पूर्ण विस्तारलाई एकै पटक एकै क्षणमा जान्न सक्दैन। त्यसैले हामी भ्रममा पर्छौं र कहिलेकाहीँ यस्तो सोच्न सक्छौं कि हाम्रा सम्बन्धहरू, हाम्रो जवानी, मनोदशा, आदि यावत चीजहरू सधैँ एकैनास रहनेछन्, कहिल्यै बदलिने छैनन्। यसरी सोच्यौं भने हामीले आफ्ना लागि आफैँ दुःख र समस्याको सिर्जना गर्नेछौं। उदाहरणका लागि, मानौं हामी कसैसँग प्रेमसम्बन्धमा छौं। त्यस्तो सम्बन्ध केही हेतु र प्रत्ययहरूको मेल भएर उत्पन्न हुने हो – जस्तै, हामी दुवै कुनै बेला एकै ठाउँमा थियौं, दुवै आफ्ना लागि प्रेमीको खोजी गर्दै थियौं, हामी दुवैका जीवनमा अन्य कुराहरू पनि चलिरहेकै थिए। र केही समयपछि त्यो परिस्थितिमा परिवर्तन आउन सक्छ। प्रेमीले आफ्नो जागिर बदल्न सक्छ, अर्को सहरमा बसाईं सर्न सक्छ, वा उसको कुनै पाहुना आउन सक्छ, उसले नयाँ साथीहरू बनाउन सक्छ, वा त्यस्तै केही परिवर्तन आउन सक्छ। यदि त्यतिबेला हामीले आफ्नो सम्बन्धका शुरुवाती दिनहरूलाई पकडेर बसिराख्यौं र ठ्याक्कै त्यस्तै मात्र खोजिराख्यौं भने सम्बन्धलाई नयाँ परिस्थितिअनुसार निभाउन सक्ने छैनौं। पहिला जे गरिन्थ्यो त्यही खोज्छौं, तर बदलिएको परिस्थितिमा त्यो सम्भव हुन्न। त्यसैले हामी दुःखी र बेखुसी हुन्छौं।
ध्यानको अभ्यासमा हामी आफ्नो जीवनका विविध चीजहरूको स्मरण गरौं जो अनित्य छन्। तिनमा यो बोधका साथ ध्यान केन्द्रित गरौं कि तिनीहरू परिवर्तित भएका छन्, समयको गतिसँगै परिवर्तित भैरहने छन्, र अन्ततः एकदिन तिनीहरू समाप्त हुनेछन्।
ध्यान
- श्वासमा ध्यान केन्द्रित गर्दै चित्तलाई शान्त गर्नुहोस्।
- आफ्नो आमासँगको सम्बन्धलाई स्मरण गर्नुहोस्।
- त्यो कसरी शुरु भयो, त्यसलाई सम्झनुहोस्। तपाईं शिशु हुनुहुन्थ्यो, त्योबेला तपाईंको सम्बन्ध एक खालको थियो।
- तपाईं र तपाईंकी आमा दुवैको उमेर बढ्दै गयो। तपाईं बालक हुनुभयो, युवावस्थामा प्रवेश गर्नुभयो, र वयस्क हुनुभयो। त्यस्तै आमाको उमेर बढ्यो। तपाईंको सम्बन्ध बदलियो – हो त?
- आमाको मृत्यु भयो, अथवा पहिल्यै भैसकेको छ भने उहाँसँग तपाईंको अन्तरक्रियात्मक सम्बन्ध रहँदैन। उहाँप्रति तपाईंको धारणा र सम्झनामा के परिवर्तन आयो र आइरहेको छ, त्यसमा ध्यान दिनुहोस्।
- एवं रीतले आफ्नो बुवासँगको सम्बन्धलाई स्मरण गर्नुहोस्।
- आफूले अति माया गर्ने वा विगतमा माया गरेको पार्टनरसँगको सम्बन्धलाई त्यसैगरी स्मरण गर्नुहोस्।
- आफ्नो व्यावसायिक जीवनलाई स्मरण गर्नुहोस्।
सारांश
अनित्यता जीवनको सत्य हो। हामीले चाहे पनि नचाहे पनि हरेक चीज हरेक क्षण परिवर्तन भैरहेको हुन्छ। कुनै पनि कुरा सधैँ एकैनास रहँदैन। यो सत्यलाई आत्मसात गरेपछि हामी जान्नेछौं, कुनै कुरालाई सधैँ एकनास रहिरहन्छ भन्दै पकडेर बस्नुको कुनै तुक छैन। जीवनका परिस्थितिहरू, सम्बन्धहरू, शरीर आदिमा अनिवार्य रूपले आउने परिवर्तनहरूलाई स्वीकार्न सक्यौं भने सामान्यतया अनुभव गरिने बेखुसी र समस्याहरूबाट धेरै हदसम्म बच्न सक्नेछौं।