जब हामी कसैको अपराध वा गल्तीमा ध्यान केन्द्रित गर्नुका साटो त्योबेला उक्त व्यक्ति निराश वा दिग्भ्रमित थियो भन्ने कुरा जान्दछौं, तब उसँग रिसाउनुका साटो करुणापूर्वक उसलाई क्षमा गर्न सक्छौं।
Meditation forgiving others 1

व्याख्या

अक्सफोर्ड डिक्सनरीका अनुसार, क्षमा (फर्गिभ्नेस) को अर्थ कसैको कुनै अपराध, खोट वा गल्तीका लागि उनीहरूप्रति रिस या आक्रोशको भाव राख्न बन्द गर्नु हो। कतिपय व्यक्तिहरूले क्षमा भनेको पीडित वा कुनै उच्च अधिकारीले पीडकलाई माफी दिनु हो भनेर बुझ्छन्, जसबाट उक्त व्यक्ति आफूले गरेको कामबापत सजाय पाउनबाट बच्छ।

मानसिक तत्त्वहरूसम्बन्धी बौद्ध व्याख्याभित्र ठ्याक्कै क्षमा भन्ने शब्द आउँदैन, तर यहाँ रिस र आक्रोश (जसभित्र कुण्ठा पनि पर्छ) र तिनका विपरीत अर्थ लाग्ने शब्दावलीहरू पर्छन्, जस्तै, नरिसाउनु र क्रुरताको व्यवहार नगर्नु। 

  • नरिसाउनु भनेको अरू वा आफैंप्रति ती व्यवहारका कारण बदला लिने वा हानि पुर्याउने कामना नगर्नु हो जसका कारण हामीले दुःख पाएका छौं वा पाउनेवाला छौं। 
  • क्रुरताको व्यवहार नगर्नु भनेको त्यसमा करुणा जोड्नु हो, जसको अर्थ अरूले दुःख र दुःखका कारणहरूबाट मुक्ति पाउन् भन्ने कामना हो। 

तसर्थ, बौद्ध दृष्टिकोणबाट हेर्ने हो भने हामी आफ्ना र अरूका लागि हानिकारक कामहरू गरेवापत भोग्नुपर्ने दुःखबाट मुक्तिको कामना गर्छौं। तर कुनै गलत कर्म गरेको छ भने त्यसको कार्मिक फलबाट माफी दिने शक्ति कसैसँग पनि हुँदैन। त्यसैले यहाँ “तिमीभन्दा म पवित्र छु” भनेजस्तो आफ्नाबारे अतिसयोक्तिपूर्ण धारणा बनाउने खतरा हुँदैन, जुन धारणा कुनै पादरी वा न्यायाधीशले अपराधीलाई माफी दिँदा आउन सक्छ। 

बौद्ध पद्धतिभित्र अरूलाई क्षमा गर्ने मूल अभ्यास भनेको सम्बन्धित व्यक्ति – चाहे त्यो अरू कोही होस् या हामी आफैं – लाई उसले गरेका हानिकारक वा अकुशल कर्म र गल्तीहरूबाट अलग राखेर हेर्ने हो। यहाँ के याद राख्नुपर्छ भने, अकुशल कर्म वा कुनै गल्ती गर्छौं भने त्यसको अर्थ हामी नीच रहेछौं भन्ने होइन, अपितु कार्य–कारण र यथार्थबारे हामी भ्रममा छौं भन्ने हो। हाम्रो ज्ञान सीमित छ, त्यसैले हामी गल्ती गर्छौं। सांसारिक सत्त्वका रूपमा हाम्रो क्षमता सीमित छ, र भ्रम र दुःखका अनियन्त्रित चक्रले हामीलाई सताइरहन्छन्। त्यसैले हामी करुणाका पात्र हौं। हामीले आफ्ना लागि यति धेरै हानि र दुःखको सिर्जना गरेका छौं कि त्यसमा अरू थप्नु आवश्यक हुँदैन। 

त्यसैले, बुद्धधर्मअनुसार क्षमाको अर्थ हो – 

  • व्यक्ति र उसले गरेको कर्मलाई अलग गर्ने – चाहे त्यो अरू कोही होस् वा हामी आफैं
  • अरूप्रति वा आफूप्रति नरिसाउने र क्रुरताको व्यवहार नगर्ने, बरु त्यसका बदलामा
  • करुणाको भाव राख्ने र हामी आफैं तथा अरूलाई अकुशल कर्म वा गल्ती गर्न लगाउने कारणबाट मुक्ति मिलोस् भनी कामना गर्ने। 

तर कसैले हानिकारक (अकुशल) कर्म वा गल्ती गरेकामा कुनै पहल नगरी चुपचाप लागेर बस्नुपर्छ भन्ने होइन। भविष्यमा फेरी हानिकारक काम वा गल्ती गर्नबाट रोक्न हामी सकेसम्म पहल गर्छौं। त्यस्तो पहलमा रिस वा द्वेषको भाव राख्ने वा मैले तँलाई माफी दिएँ भनेजस्तो दम्भ राख्ने काम गरिँदैन। 

ध्यान 

क्षमा हामीले अरू र आफू दुवैलाई गर्ने हो। यहाँ प्रस्तुत ध्यान अभ्यास चाहिँ अरूलाई क्षमा गर्नेमा केन्द्रित छ। अर्कोपटक आफ्नो सन्दर्भमा अभ्यास गर्नेछौं। 

  • श्वासमा ध्यान केन्द्रित गर्दै चित्तलाई शान्त राख्नुहोस्। 
  • कुनै त्यस्तो व्यक्तिलाई सम्झनुहोस् जसले तपाईंलाई चोट पुग्ने वा रिस उठ्ने काम गर्यो र जसप्रति तपाईंलाई रिस उठ्यो र आक्रोशको भाव आयो। उप्रति तपाईंको मनमा गाँठो पर्यो र उसले गरेको काम सम्झँदै क्रोधित वा व्यथित हुनुभयो। 
  • त्यस्तो भाव आउँदा आफूलाई के अनुभूति भयो, स्मरण गर्नुहोस्। त्यो अनुभूति खुसी वा आरामको अवस्था थिएन भन्ने जान्नुहोस्। 
  • अब आफ्नो मनभित्रै उक्त व्यक्तिलाई उसले गरेको कृत्यबाट अलग राखेर हेर्नुहोस्। त्यो कृत्य एउटा घटना मात्र थियो, यद्यपि उसले आफ्नो जीवनमा त्यही काम धेरैपटक गरेको हुनसक्छ।
  • म र अरू सबैजना जस्तै उक्त व्यक्ति पनि खुसी हुन चाहन्थ्यो, दुःखी हुन चाहँदैनथ्यो। तर के गर्दा खुसी प्राप्त हुन्छ भन्ने कुरामा उसलाई भ्रम थियो। आफूमा भएको दुःख र अनभिज्ञता तथा अज्ञानतावश उसले हामीलाई चोट पुग्ने वा रिस उठ्नेगरी कुनै हानिकारक काम गर्यो।
  • यस्तो बोधमा जति ध्यान केन्द्रित गर्यो, त्यति तपाईंको रिस र आक्रोश घट्दै जान्छ, त्यसलाई अनुभव गर्नुहोस्।
  • उक्त व्यक्तिप्रति करुणाको भाव जगाउनुहोस्। कामना गर्नुहोस्, उ आफ्नो त्यो भ्रम र दुःखबाट मुक्त होस् जसका कारण तपाईंलाई चोट पुग्ने वा रिस उठ्ने काम गर्यो। 
  • कुनै उपयुक्त समयमा आफू शान्त भएको र उ सुन्न तयार भएको अवस्थामा उसले गरेको कृत्यले आफूलाई चोट पुर्याएको कुरा बताउने र त्यो समस्याको समाधान खोज्ने प्रयत्न गर्नेछु, यस्तो निश्चय गर्नुहोस्।

अरूले गरेका गल्तीका सन्दर्भमा यही प्रक्रिया दोहोर्याउनुहोस् – 

  • उक्त व्यक्तिले कुनै गल्ती गरेको र त्यसबाट आफूलाई रिस उठेको स्मरण गर्नुहोस्। 
  • त्योबेला तपाईंलाई कस्तो अनुभूति भयो, सम्झनुहोस्। त्यो पक्कै पनि खुसी र आरामको अनुभव थिएन, जान्नुहोस्। 
  • अब आफ्नो मनभित्रै उक्त व्यक्तिलाई उसले गरेको गल्तीबाट अलग राखेर हेर्नुहोस्। 
  • अरू सबैजना र मजस्तै उ पनि सहयोग गर्न चाहन्थ्यो, गल्ती गर्न चाहँदैनथ्यो। तर के गर्न उचित हुन्छ, के गर्नु उत्तम हो भन्ने कुराप्रति उसमा भ्रम थियो। अथवा उसले ध्यान दिइरहेको थिएन, वा अल्छी थियो, वा अरू जेसुकै पनि कारण हुन सक्छ। यस्तो अज्ञानता र क्लेशले भरिएका कारण उसले गल्ती गर्यो। उ एक सीमित क्षमतावाला सांसारिक प्राणी हो, त्यसैले उ सधैं परिपूर्ण (पर्फेक्ट) हुन्छ र उसले कहिल्यै गल्ती गर्न हुँदैन भन्ने सोच्नु व्यावहारिक हुँदैन। 
  • यस्तो बोधमा जति ध्यान केन्द्रित गर्यो, त्यति तपाईंको रिस घट्दै जान्छ, त्यसलाई अनुभव गर्नुहोस्। 
  • उक्त व्यक्तिप्रति करुणाको भाव जगाउनुहोस्। कामना गर्नुहोस्, उ आफ्नो त्यो भ्रम, अज्ञानता र क्लेशबाट मुक्त होस् जसका कारण उसले गल्ती गर्यो। 
  • कुनै उपयुक्त समयमा आफू शान्त भएको र उ सुन्न तयार भएको अवस्थामा उसले गरेको गल्ती औंल्याउनेछु र त्यो सुधार्न उसलाई सहयोग गर्नेछु, यस्तो निश्चय गर्नुहोस्। 

सारांश 

क्षमाको अर्थ कसैले गरेको कुनै हानिकारक काम वा गल्तीका लागि उसलाई माफी प्रदान गर्नु होइन। आफूलाई अरूभन्दा पवित्र वा उत्तम ठान्नु; अरूलाई आफूभन्दा नीच देख्नु; आफ्नो दम्भपूर्ण अधिकारको प्रयोग गर्दै अरूलाई माफी र उन्मुक्ति प्रदान गर्नु, भलै उनीहरूलाई आफ्नो कृत्यप्रति पश्चात्ताप नहोस् – क्षमाको अर्थ यो होइन। क्षमाको अर्थ रिस उत्पन्न नगर्नु, द्वेषको भाव नराख्नु, मनमा कुण्ठा नपाल्नु, र बदलाको भाव नलिनु हो। हामी व्यक्तिलाई उसले गरेको काम वा गल्तीबाट अलग राखेर हेर्छौं, उसप्रति करुणाको भाव विकसित गर्छौं, र उसको कामलाई सच्याउन वा गल्ती नदोहोर्याउन सहयोग गर्ने पहल गर्छौं। यसप्रकार रिसले उत्पन्न गराउने विषाक्त विचार, आक्रामक तथा हिंस्रक वचन, तथा क्रुद्ध र विवेकहीन व्यवहारहरूका कारण आइपर्ने संकट र दुःखबाट हामी आफूलाई बचाउँछौं। 

Top