श्वासका आवृत्तिहरूको गणना गर्दै यसमा ध्यान केन्द्रित गर्नाले हामी आफूलाई शान्त बनाउन तथा चित्तमा सकारात्मक वृत्तिको विकास गर्न सक्छौं।
Meditation calming down cesar couto unsplash

व्याख्या

ध्यान नयाँ सकारात्मक बानीहरूको विकास गर्ने पद्धति हो, जसमा नयाँ स्नायुपथ (न्युरल पाथवे) हरूको निर्माण र पुरानाको क्षयीकरण हुन्छ। यसका लागि प्रथमतः हाम्रो चञ्चल मनलाई शान्त बनाउनु आवश्यक हुन्छ ताकि नयाँ र हितकर सुझबुझ तथा दृष्टिकोण उत्पन्न हुनका लागि उपयुक्त ठाउँ मिलोस्। शान्त रहनसक्ने क्षमता आफैंमा एक हितकर अभ्यास हो, तर शान्त मात्र रहँदा एक तटस्थताको स्थिति बन्छ, जसले सकारात्मक वा नकारात्मक दुवै व्यवहारका लागि आधार प्रदान गर्नसक्छ। हामी यस्तो शान्त अवस्थालाई एक स्वतन्त्र भूमिको रूपमा प्रयोग गर्न चाहन्छौं जहाँ चित्तको सकारात्मक अवस्था विकसित गर्न सकियोस्। चित्तको सकारात्मक अवस्थाका लागि शान्त रहनु अनिवार्य प्रारम्भिक चरण हो। 

शान्त रहनाले हामीलाई जीवनमा आइपर्ने कठिनाइहरूको उचित ढंगले सामना गर्न सहयोग मिल्छ। अधिकांशतः मन अस्पष्ट हुनाले हामी ती कठिनाइहरूलाई राम्रोसँग सुल्झाउन सक्दैनौं। थकान र तनावका कारण हाम्रो मन यताउता भट्किरहन्छ। उदाहरणका लागि, मानौं आजको दिन कार्यालयको काम अति पट्यारलाग्दो र कठिन छ, कार्यालय समय सकिनलाई अझै एक घण्टा बाँकी छ, र गर्नुपर्ने काम अझै धेरै बाँकी छन्। यस्तोबेला हामी आफ्नो श्वासमा ध्यान केन्द्रित गर्नसक्छौं जसले हामीलाई शान्त रहन मद्दत गर्छ र हामी यो चुनौतीपूर्ण समयलाई स्पष्ट चित्तावस्थाका साथ सल्टाउन सक्छौं। 

ध्यान 

  • सीधा बसेर हातलाई आफ्ना काखमा राख्नुहोस्, आँखालाई आधा खुला राख्दै नजरलाई अगाडि भूईंतर्फ छाडिदिनुहोस्, बंगाराहरूलाई कस्सिन नदिनुहोस्। 
  • शरीरमा भैरहेका तनावलाई ढीला छाडिदिनुहोस्। खासगरी आफ्ना काँध, मुख र निधारलाई खुकुलोसँग छाडिदिनुहोस्। शरीरमा भैरहेका तनावलाई शिथिल नगरी हामी चित्तलाई शान्त गर्न सक्दैनौं। 
  • नाकबाट स्वाभाविक श्वास लिनुहोस्। 
  • मनलाई नाकभित्र र बाहिर आउनेजाने गरिरहेको श्वासको संवेदनामा टिकाउँदै श्वासलाई मनमनै गन्न थाल्नुहोस्। पूरा श्वासको संख्या ११ पुगेपछि पुनः शुरु गर्नुहोस्। यो क्रम दोहोर्याइरहनुहोस्।
  • श्वासको संवेदना र गणनाप्रति स्मृति कायम राख्नुहोस्। (मनलाई गमजस्तै टाँसिराख्नुहोस्।) 
  • आफ्नो होशलाई कायम राख्नुहोस् र आलस्य वा चञ्चलताका कारण मन यताउता भट्कियो भने त्यसप्रति सजग हुनुहोस्। 
  • मन भट्केको थाहा भयो भने त्यो विचारलाई आरामपूर्वक जान दिनुहोस्। बाहिर निस्कने श्वाससँगै यो विचार पनि जान्छ भनेर सोच्नुहोस्, र पुनः ध्यानलाई श्वास र यसको गणनामा फर्काउनुहोस्।
  • काँध वा अनुहार कस्सिन थाले भने तिनलाई पुनः खुकुलो छाडिदिनुहोस्। 
  • अन्तमा ध्यानबाट बाहिर निस्कनका लागि मनलाई पुनः शान्तिपूर्वक आराम गर्न दिनुहोस्।

सारांश 

जब हामी थकित र तनावग्रस्त हुन्छौं तब चुनौतीपूर्ण अवस्थाको सामना गर्न हामीलाई मानसिक स्पष्टता र भावनात्मक स्थिरताको झन् बढी आवश्यकता पर्छ। यसका लागि हामीले शान्त रहेर आफ्नो मानसिक तथा भावनात्मक सन्तुलनलाई पुनः प्राप्त गर्नुपर्छ। कम्प्युटरले जस्तै हामीले आफ्नो मनलाई “रिबुट” गर्नु आवश्यक हुन्छ। यसका लागि शरीरलाई खुकुलो छाड्दै मनलाई श्वासमा अडाउनुपर्छ र श्वासको गन्ती गरिरहनुपर्छ। घरमा गर्ने ध्यान साधनामा हामीले यो अभ्यास गरिराख्यौं भने यसले नयाँ स्नायुपथ र बानीको विकास गर्छ। यसबाट दैनिक जीवनमा आवश्यक परेका बेला हामी यो उपाय अपनाउन सम्झिन्छौंऽ र यसको प्रयोग सहज तथा दीगो बन्दै जान्छ।

Top