व्याख्या
बौद्ध ध्यानको लक्ष्य समस्या समाधानतर्फ केन्द्रित छ। बुद्धले चार आर्यसत्यको शिक्षा दिनुभएको कारण पनि त्यही हो, ताकि हामी समस्याको सामना उचित ढंगले गर्न सकौं। हामी सबैले जीवनमा समस्याहरूको सामना गर्नुपर्छ। कुनै समस्या अन्यभन्दा अलि बढी अप्ठेरा हुन्छन्। शायद तीमध्ये हामी अधिकांशले भोग्नुपर्ने समस्या अरूसँगको सम्बन्धका कारण उत्पन्न भएका हुन्छन्।
ती सम्बन्धहरूमध्ये केही त ज्यादै जटिल र चुनौतीपूर्ण हुन्छन्। तर बुद्धले हामीलाई दिनुभएको शिक्षाअनुसार ती सम्बन्धहरूको उचित ढंगले सामना गर्न सकिन्छ। सम्बन्धमा आउने समस्या सुल्झाउन हामीले आफैभित्र फर्केर हेर्नुपर्ने हुन्छ। किनभने, समस्या उत्पन्न गराउन अरूको ठूलो भूमिका त हुन सक्छ, तर ती समस्याप्रति हामी कस्तो प्रतिक्रिया व्यक्त गर्छौं, त्यो हाम्रो नियन्त्रणमा हुन्छ। हामीले व्यक्त गर्ने प्रतिक्रिया हाम्रो दृष्टिकोण र व्यवहार दुवैको स्तरमा हुन्छ।
तर व्यवहारलाई दृष्टिकोणले निर्देशित गर्छ। त्यसैले हामीले आफ्नो दृष्टिकोणलाई सुधार्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ। यदि हामीले आफ्ना समस्याकारी दृष्टिकोणहरूलाई यथार्थ र करुणामा आधारित स्वस्थ दृष्टिकोणले प्रतिस्थापित गर्न सक्यौं भने असहज सम्बन्धहरूका कारण आफूले भोग्नुपरेको दुःखलाई निर्मूलै गर्न नसके पनि न्यून बनाउन सक्नेछौं।
ध्यान
- श्वासमा ध्यान केन्द्रित गर्दै चित्तलाई शान्त गर्नुहोस्।
- चार आर्यसत्यको पहिलो सत्य अर्थात् दुःख सत्यको रूपमा उक्त व्यक्तिमाथि आफ्नो ध्यान केन्द्रित गर्नुहोस् जोसँग तपाईंको सम्बन्ध असहज खालको छ।
- मनमा घृणाको भाव उत्पन्न हुन दिनुहोस्।
- आफू किन त्यस्तो अनुभव गर्दैछु, त्यसलाई दोस्रो आर्यसत्य अर्थात् दुःखको सत्य कारणको उदाहरणका रूपमा हेर्नुहोस्। हुनसक्छ, उक्त व्यक्ति अप्ठेरो खालको छ र हाम्रा लागि समस्या खडा गरिदिन्छ। वा हामीलाई उसको केही कुरा मन पर्दैन। अथवा जब हामीलाई उसको साथ चाहिन्छ, तब उ उपलब्ध हुँदैन, या भए पनि उसको मुड राम्रो हुँदैन।
- यसमा गहिरिएर हेर्दा हामी पाउँछौं कि उक्त व्यक्तिको त्यही मन नपर्ने पक्षमा मात्र हामीले ध्यान दिइरहेका हुन्छौं र उसलाई एक मानवका रूपमा समग्रताका साथ हेर्दैनौं। उसको जीवनमा हामीबाहेक पनि अन्य धेरै मानिस हुन्छन्, अरू धेरै कुराले उसलाई असर गरिरहेको हुन्छ। हाम्रोजस्तै उसका पनि भावनाहरू हुन्छन्, उसलाई पनि अरूले आफूलाई मन पराइदिऊन् भन्ने लाग्छ, जसरी हामीलाई लाग्छ।
- सबै मानिसले उप्रति त्यस्तै घृणाको भावना राख्दैनन्, अर्थात् उसँग भएका बेला उप्रति घृणा वा असहजताको भाव नहुने अवस्था पनि हुन्छ। यसलाई तेस्रो आर्यसत्य अर्थात् दुःखको निरोध सत्यको उदाहरणका रूपमा हेरौं।
- त्यो असहजताको भावलाई हटाउन हामीले आफ्नो दृष्टिलाई सम्यक राख्नुपर्छ। यो चौथो आर्यसत्य अर्थात् मार्गसत्यको उदाहरण हो। उ साँच्चिकै घृणायोग्य मान्छे भएको भए सबैले उसलाई जन्मेको क्षणदेखि नै घृणा गर्नुपर्ने थियो। तर त्यसो हुन सम्भव छैन।
- यसरी हामी उक्त व्यक्ति साँच्चिकै घृणायोग्य छ भन्ने आफ्नो धारणालाई समाप्त गर्न सक्छौं।
- अब हामी उसलाई घृणाबाट मुक्त नजरले हेर्छौं। उ हाम्रा लागि मात्र घृणालाग्दो छ, जुन खासमा एक भ्रम नै हो।
- त्यसपछि हामी उप्रति स्नेहको भाव विकास गर्छौं। उ एक मानव हो, उसलाई पनि अरूले आफूलाई मन पराइदिऊन् भन्ने लाग्छ। उ खुशी हुन चाहन्छ, अरूको अप्रिय हुन चाहँदैन। जसरी उसले मप्रति एक तुच्छ जीवजस्तो वा एक लामखुट्टेजस्तो व्यवहार गरेको मलाई मन पर्दैन –– त्यसले मेरो भावनामा ठेस पुग्छ –– त्यसैगरी मैले त्यही खालको व्यवहार गरेको उसलाई मन पर्दैन, त्यसले उसको भावनामा ठेस पुग्छ।
- यसरी उक्त व्यक्तिलाई स्नेहपूर्ण भावले हेरौं।
सारांश
आफूसँग असहज सम्बन्ध भएका मानिसको सामना गर्न हामीले उसलाई भेट्दा वा भेट्नुपूर्व नै सम्भव भएसम्म आफूलाई शान्त राख्नुपर्छ। उसँग भएका बेला उसलाई एक मानवका रूपमा हेर्नुपर्छ जसका भावनाहरू हाम्राजस्तै छन्। यसरी उप्रति स्नेहपूर्ण दृष्टिकोणको विकास गर्नुपर्छ। तर हामी उक्त व्यक्तिलाई उसको जीवनको यथार्थको बृहत् परिप्रेक्ष्यमा हेर्दैनौं। यसले स्नेहपूर्ण दृष्टिकोणको विकासमा अवरोध गर्छ। यदि हामीले आफ्ना भ्रमपूर्ण प्रक्षेपणहरूलाई हटायौं र एक खुला तथा स्नेहपूर्ण दृष्टिकोणका साथ उक्त व्यक्तिलाई यथार्थको धरातलबाट हेर्यौं भने उसँगको सम्बन्धलाई सहजतापूर्वक निभाउन सक्नेछौं।