व्याख्या
बुद्धधर्ममा मैत्री भनेको अरू सुखी होऊन् र सुखका हेतुहरूले युक्त होऊन् भन्ने कामना हो। यसमा अरूलाई सुखी बनाउन आवश्यक सहयोग गर्ने तत्परता पनि आउँछ। आफू चुपचाप लागेर बस्नु र अन्य कोही आएर अरूलाई सहयोग गरिदेलान् भन्नु मैत्रीभाव होइन। यो सर्वव्यापी हुन्छ र यसले सबैलाई समाहित गर्छ। हामीलाई मनपर्ने वा हामीसँग नजीक रहेका मानिस मात्र होइन, अपरिचित र हामीलाई मनै नपर्ने मानिसलाई पनि मैत्रीभावले समेट्छ। यसप्रकारको सार्वभौमिक मैत्रीभावमा पूर्वाग्रह हुँदैन; यो आसक्ति, वितृष्णा वा बेवास्ताबाट मुक्त हुन्छ। किनभने, मैत्रीभाव त्यस्तो बोधमा आधारित हुन्छ जहाँ सुख वा खुशी चाहने र दुःख नचाहने स्वभाव भएका कारण सबैलाई हामी एक समान देख्छौं। उनीहरू आफूलाई दुःख उत्पन्न गराउने गरी नकारात्मक ढंगले सोच्ने वा व्यवहार गर्ने हुनसक्छन्। उनीहरू त्यसो गर्छन्, किनकि अज्ञानताका कारण केले खुशी दिन्छ भन्ने उनीहरूलाई थाहा हुँदैन।
त्यसैले हामी अरू सबैलाई आफूजस्तै खुशी वा सुख चाहने व्यक्तिहरूका रूपमा हेर्छौं र मैत्रीको अभ्यासलाई यसै भावमा आधारित गर्छौं। उनीहरू सामान्यतया के गर्छन्, र विशेषगरी हामीसँग राम्रो व्यवहार गर्छन् कि गर्दैनन्, हामीलाई बदलामा मैत्रीपूर्ण व्यवहार गर्छन् कि गर्दैनन्, त्यसको आधारमा हामी मैत्रीको अभ्यास गर्दैनौं। मैत्रीभावमा हामीमा कुनै अपेक्षा र पूर्वाग्रह हुँदैन, यस्तो निसर्त प्रेम चित्तको शान्त अवस्थामा हुन्छ, यसले हाम्रो चित्तलाई आसक्तिपूर्ण विवेकहीन विचार वा व्यवहारमा धमिलिन दिँदैन।
यस्तो मैत्रीको संवेगात्मक पक्ष अरू सबैसँग आफू अन्तरसम्बन्धित रहेको बोध र सबैप्रति कृतज्ञताको भावसँग जोडिएको हुन्छ। हामी जेजति पनि कुराहरू उपभोग गर्छौं, ती सबै अरूले गरेको कामको फलस्वरूप प्राप्त भएको हुन्छ। यो कुराको बोध गर्दै हामीमा अन्तरसम्बन्ध र कृतज्ञताको भाव आउँछ। यदि अरूले मेहनतपूर्वक काम नगर्ने हो भने हामीले उपभोग गर्ने सामानहरू कहाँबाट आउँथे? तिनको उत्पादन गर्ने कच्चा पदार्थ, हाम्रो खाना, हामीले लगाउने कपडा, बाल्ने बिजुली, घरघरमा आउने पानी, इन्टरनेटमा उपलब्ध सूचना आदि सबैथोक कहाँबाट आउँथे? मानिसहरूले हामीलाई अप्रत्यक्ष रूपमा बजारको निर्माण गरेर पनि सहयोग गर्छन् जहाँ अरूले हामीलाई चाहिने सामग्रीको निर्माण गरेर उपलब्ध गराइदिन्छन्।
यस्तो आपसी अन्तरसम्बन्ध र कृतज्ञताको भाव जति प्रबलतासँग आयो, त्यति नै धेरै हामी सुरक्षा र खुशीको अनुभव गर्छौं। यो हाम्रो शरीरमा उत्पन्न हुने अक्सिटोसिन हर्मोनका कारण हुन्छ – यही हर्मोन आमा र नवजात शिशुका बीचको स्नेहपूर्ण सम्बन्धमा पनि हुन्छ। ध्यानमा यस्तो स्नेह र आनन्दपूर्ण भावना उत्पन्न गरेपछि हामी पहिला यसलाई आफैंतर्फ लक्षित गर्छौं, किनकि हामी आफैं खुसी भएनौं भने अरू खुसी होउन् भनेर कसरी कामना गर्न सकौंला र? त्यसपछि यो भावलाई क्रमशः ठूलोभन्दा ठूलो समूहमा विस्तार गर्दै जान्छौं, र तबसम्म गरिरहन्छौं जबसम्म यसले सबैलाई समेट्दैन।
मैत्री अभ्यासको प्रत्येक चरणमा तीन भाव समाविष्ट हुन्छन्ः
- अरू सबैजना सुख र सुखका हेतुहरूले युक्त भैदिए कति राम्रो हुन्थ्यो होला!
- उनीहरू सबै सुखी होऊन्, जसको अर्थ हुन्छ, “उनीहरू सुखी होऊन् भनी म साँच्चिकै कामना गर्छु”।
- “म उनीहरूलाई सुख दिलाउन सकुँ”।
अरूलाई सुखका हेतुहरू दिलाउने कामना गर्नका लागि प्रथमतः उनीहरूको दुःखको हेतु के हो भन्ने थाहा हुनु पर्छ। उनीहरू भोकाएका छन् भने हामी केवल उनीहरूलाई पर्याप्त खानेकुरा प्राप्त होस् भनेर मात्र सोच्दैनौं; बरु यो पनि बोध गर्छौं कि खाना खाएपछि उनीहरू सुखको अनुभव गर्न सक्छन्, त्यसैले आवश्यकभन्दा बढी पत्रु खानेकुरा खान सक्छन् र धेरै मोटाउन सक्छन्। त्यसैले हामी उनीहरूमा भावनात्मक सन्तुलन पनि होस् र खाने बानीमा आत्म–संयम अपनाउन सकून् भन्ने कामना गर्छौं। पैसा, भौतिक पदार्थहरू आदिका हकमा पनि त्यस्तै कामना गर्छौं। केही अल्पकालीन भौतिक आवश्यकताको पूर्ति मात्र होइन, उनीहरूलाई दीर्घकालीन रूपमा टिक्ने खुशी प्राप्त होस् भन्ने कामना गर्छौं।
ध्यान
- श्वासमा ध्यान केन्द्रित गर्दै चित्तलाई शान्त गर्नुहोस्।
- आफूले उपभोग वा प्रयोग गर्ने हरेक चीजका लागि कसरी अरूमा निर्भर छौं भन्ने स्मरण गर्नुहोस्।
- अरू सबैसँग आफू कुनै न कुनै हिसाबले जोडिएको जान्दै सबैप्रति गहिरो कृतज्ञताको भावमा ध्यान केन्द्रित गर्नुहोस्।
- यो भावले कसरी आफूलाई स्नेह, सुरक्षा र खुसीको अनुभूति दिलाउँदैछ, त्यो जान्नुहोस्।
- आफूतिर फर्किनुहोस्, आफू प्रायः बेखुसी भैरहने कुराको स्मरण गर्नुहोस्।
- भावना गर्नुहोस् – म खुसी हुनसके र खुसीका हेतुहरूले युक्त हुनसके कति उत्तम हुन्थ्यो होला! म खुसी हुन सकुँ, म ती हेतुहरूको निर्माण गर्न सकुँ जसले मलाई अझ खुसी तुल्याउन्, त्यस्तो खुसी जुन केवल अल्पकालीन नभै दीर्घकालीन होस्। तपाईंले आफूलाई खुसी दिलाउने खास चीजहरूको बारेमा पनि सोच्न सक्नुहुन्छ, जस्तै – भावनात्मक सन्तुलन र स्थिरता, शान्त र निर्मल चित्त, समझदारीको विकास, अरूसँग सुसम्बन्ध राख्ने क्षमता आदि।
- [वैकल्पिक – कल्पना गर्नुहोस्, तपाईं एक न्यानो सुनौलो प्रकाशले भरिनुभएको छ, जुन प्रकाशले तपाईंभित्रको न्यानो खुसीलाई प्रतिनिधित्व गर्छ।]
- यही प्रक्रिया आफूलाई प्रिय लाग्ने कुनै व्यक्तिमा दोहोर्याउनुहोस्, र अन्य केही प्रिय व्यक्तिहरूसम्म फैलाउनुहोस्।
- [वैकल्पिक – कल्पना गर्नुहोस् त्यो न्यानो सुनौलो प्रकाश तपाईंबाट बाहिर निस्केर उक्त प्रिय व्यक्तिमा भरिइरहेको छ।]
- त्यसपछि यही प्रक्रियालाई विस्तार गर्दै जीवनमा भेटिराखिने तर आफूसँग खासै सम्बन्ध नभएका मानिसहरूलाई समेट्नुहोस्, जस्तै, सपिङ्ग स्टोरको पैसा तिर्ने काउन्टरमा बस्ने मानिस, बस ड्राइभर आदि।
- त्यसपछि आफूलाई मन नपर्ने मानिसहरूका लागि यही प्रक्रिया अपनाउनुहोस्।
- अब ती सबै समूहहरूलाई एकैसाथ समेट्नुहोस्।
- एवं रीतले आफ्नो सहर, देश, र सिंगै विश्वलाई यो मैत्रीभावले समेट्नुहोस्।
सारांश
यस्तो पूर्वाग्रहरहित र सार्वभौमिक मैत्री एक उन्नत मनोभाव हो जहाँ सबैजनासँग आफू जोडिएको बोध र उनीहरू सबैले हाम्रो जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगाएका गुणका कारण सबैप्रति कृतज्ञताको भाव समावेश हुन्छ। यो एक शान्त र स्नेहपूर्ण मनोभाव हो जहाँ आसक्ति, वितृष्णा वा बेवास्ता हुँदैन, जहाँ कोही आफ्नो र कोही बिरानो हुँदैन। यसमा निसर्त प्रेम हुन्छ जसमा सबै समाहित हुन्छन्, चाहे उनीहरूले जस्तोसुकै व्यवहार किन नगरुन्। किनभने, यसमा सबैजना सधैँ सुख नै चाहन्छन्, दुःख कसैले कहिल्यै चाहँदैन भन्ने बोधका साथ सबै एक समान रहेको भावले काम गरिरहेको हुन्छ। यसमा अरूबाट बदलामा केही अपेक्षा राखिँदैन। फेरी यो कुनै निष्क्रिय इच्छा पनि होइन, यसमा त अरूलाई हरसम्भव सहयोग गर्ने तत्परता हुन्छ ताकि उनीहरू सुखी र खुसी होउन्। त्यस्तो सुख, जुन केही भौतिक आवश्यकता पूर्ति हुँदा प्राप्त हुने अल्पकालीन सुख मात्र नहोस्, अपितु क्लेश र मिथ्या धारणाबाट मुक्त दीर्घकालीन सुख होस्।