अरूका लागि खुशी र खुशीका कारणहरूको कामना गर्नु मैत्री (प्रेम) हो। मैत्री सबैजना उत्तिकै खुशी हुन चाहन्छन् भन्ने बुझाइमा आधारित हुन्छ। यो सार्वभौमिक र निःशर्त हुन्छ। मैत्रीमा अरूको आवश्यकताप्रति संवेदनशील हुने गुण र उनीहरूको खुशीमा योगदान दिने तत्परता हुन्छ। मैत्रीलाई सबैमाझ समान रूपमा विस्तार गर्न सकिन्छ। उनीहरूको हामीसँग कस्तो सम्बन्ध छ वा उनीहरूले के गरे, त्यसले केही फरक पर्दैन। यसले बदलामा केही आशा पनि गर्दैन। बुद्धधर्ममा मैत्री आनन्दको सबैभन्दा ठूलो स्रोत हो।
प्रेम कि आसक्ति?
प्रेम या मैत्रीसँग प्रायः अन्य मनोभावहरू पनि आउँछन्। अस्वस्थ्यकर आसक्तिका कारण साथ हामी अरुको राम्रो गुणको बढाइचढाइ गर्छौं, जुन वास्तविक हुन सक्छ वा कल्पना मात्र पनि हुन सक्छ। उनीहरुको कमीकमजोरीमा आँखा चिम्लिदिन्छौ। हामी उनीहरुसँग टाँसिइरहन खोज्छौं। उनीहरुले हामीलाई अलिकति मात्र पनि बेवास्ता गरे भने हामी दुःखी हुन्छौं। “म तिमीलाई माया गर्छु, मलाई छाडेर कहिल्यै नजाऊ, म तिमीबिना बाँच्न सक्दिन” – यस्तो सोच्छौं।
सच्चा मैत्री निष्पक्ष भावले सबै प्राणीको खुशीको कामना गर्नु हो, चाहे हामी उनीहरुलाई मन पराऔं या नपराऔं। – योङ्जिन लिङ रिन्पोछे
बुद्धधर्ममा प्रेम वा मैत्री भनेको अरुप्रति आत्मीयताको भाव हो। मैत्रीमा अरुले हामीलाई माया वा हाम्रो ख्याल गर्छन् कि गर्दैनन् भन्ने हेरिँदैन। त्यसैले मैत्री अरुमा आश्रित हुँदैन। प्रेममा आसक्ति वा पराश्रय जोडियो भने त्यस्तो प्रेम अस्थिर हुन्छ। प्रेम गरेको मान्छेले दुःख पुग्ने काम गर्यो भने हामी उसलाई प्रेम गर्न छाड्छौं। हामी देख्छौं, धेरै विवाहहरु प्रेमबाट शुरु हुन्छन् र पारपाचुकेमा टुंगिन्छन्। बदलामा केही आश गर्दैनौं भने कुनै कुराले पनि हाम्रो प्रेमलाई विचलित गर्न सक्दैन। जसरी मातापिताले आफ्नो सन्तान जतिसुकै बदमास भएपनि उसलाई माया गर्छन् र उसको भलो चाहन्छन्, त्यस्तै सच्चा प्रेम गर्यो भने जस्तोसुकै कठिन मान्छेसँग पनि व्यवहार गर्न सकिन्छ। यसका लागि प्रशिक्षण चाहिन्छ, तर हामी सबैसँग त्यो क्षमता छ।
आफूलाई पनि प्रेम गरौं
सार्वभौमिक प्रेममा प्रायः बेवास्ता गरिने एक पक्ष समावेश हुन्छ - हामीले आफैलाई पनि प्रेम गर्ने। आत्मकेन्द्रित भई आत्मपूजनको रूपमा होइन, बरु आफ्नो तात्कालीन र दीर्घकालीन कल्याणको सच्चा कामनाका साथ। हामीलाई आफ्नो व्यक्तित्वको केही स्व–विनाशकारी पक्षहरू मन नपर्न सक्छ, तर त्यसको मतलब यो होइन हामी आफूलाई दुःखी देख्न चाहन्छौं। यो त प्रेमको विपरीत कुरा भयो। हामी स्वाभाविक रूपमा आफूलाई पनि खुशी देख्न चाहन्छौं।
प्रेमलाई आफैँतर्फ लक्षित गर्नु भनेको केवल रमाइलो वा मनोरन्जन गर्ने आफ्नो चंचल इच्छालाई तृप्त पार्ने कामना मात्र होइन। त्यस्ता चीजहरूबाट प्राप्त हुने थोरै खुशी धेरैबेर टिक्दैनन्, र हामीलाई जहिले पनि अझ धेरै मात्रामा त्यो कुरा चाहिन्छ। यदि हामी आफूलाई सच्चा प्रेम गर्छौं भने अस्थायी सुख होइन, दिगो आनन्द खोज्ने प्रयास गर्नेछौं। जब हामी साँचो अर्थमा आफूलाई माया गर्न थाल्छौं, तब हामी अरूलाई पनि साँच्चिकै प्रेम गर्न सक्दछौं।