शारीरिक र मानसिक अशान्ति
पूर्व, पश्चिम, उत्तर वा दक्षिण जहाँसुकै बस्ने भए पनि शान्ति हामी सबैको चाहिने कुरा हो। चाहे धनी होस् वा गरिब, सबैलाई शान्तिको खाँचो हुन्छ। हामी सबै मानिस हौं, त्यसैले हामी सबैको सरोकारका विषय उस्तै हुन्छन्ः खुशी हुने, सुखपूर्वक जीवन जीउने। हामी सबै खुशीका हकदार हौं। यसै सम्बन्धमा हामी आज कुरा गर्दैछौं। हामी सबै ‘म’ र ‘आफू’ को चर्चा गरिरहेका हुन्छौं, तर हामीलाई ‘म’ र ‘आफू’ के हो भन्ने कुरा नै राम्रोसँग थाहा छैन। तैपनि हामी सबैले यो ‘म’ को भावलाई प्रगाढ रूपमा अनुभव गरिरहेका हुन्छौं। यही भावका कारण हामी खुशी रहन र दुःखी नहुन खोजिरहेका हुन्छौं।
तर आफ्नो जीवनकालमा कैयौं अप्रिय अवस्था र बाधाहरूको हामीले सामना गर्नुपर्छ, जुन अवश्यम्भावी छ। यस्ता अप्रिय अवस्था र बाधाहरूका दुई प्रकार छन्। एक प्रकारका दुःखहरू भौतिक कारणहरूले गर्दा हुन्छन्। यसमा रोग वा बुढ्यौली जस्ता अवस्थाहरू आउँछन्। मेरै कुरा गरौं, मलाई यसको केही मात्रामा अनुभव भैसकेको छ। मलाई सुन्नमा, देख्नमा, र हिँड्नमा कठिनाई छ। यस्ता कुराहरू त हुनु नै छ। अर्को प्रकारको दुःख मानसिक स्तरमा हुन्छ। भौतिक स्तरमा हामीसँग सुख सुविधाका सबै साधन छन् तथा आराम र विलासिताको सबै व्यवस्था छ भने पनि मनमा तनाव र आफूप्रति शंका छ भने हामी आफूलाई एक्लो महसुस गर्छौं। हामीमा ईर्ष्या, डर, र घृणाको भाव छ भने हामी दुःखी हुन्छौ। त्यसैले भौतिक स्तरमा जेसुकै भए पनि मानसिक स्तरमा हामी धेरै दुःखको अनुभव गरिरहेका हुन सक्छौं।
हामी भौतिक स्तरमा धनको माध्यमले केही मात्रामा आफ्ना दुःख कम गर्न र भौतिक सन्तुष्टि प्राप्त गर्न सक्छौं। तर त्यस्तो भौतिक कुरा, जुन चाहे सत्ता होस् वा नाम या प्रतिष्ठा, ले हामीलाई आन्तरिक शान्ति प्रदान गर्न सक्दैन। बरु कहिलेकाहीँ धेरै धन र सम्पत्तिले हाम्रो चिन्ता मात्र बढाउँछ। त्यस्तै आफ्नो ख्याति वा प्रतिष्ठाको चिन्तामा मात्र अल्झिराख्यौं भने त्यसले हामीलाई ढोंगी बनाउँछ। अशान्ति र तनावको सिर्जना गर्छ। वास्तवमा मानसिक सुख बाहिरी साधनमा होइन, हामी भित्रबाट कसरी सोच्छौं, त्यसमा भर पर्छ।
हामी देख्छौं, कतिपय मानिस धनले सम्पन्न नभए पनि भित्रबाट स्थिर र सुखी हुन्छन्। वास्तवमा भन्ने हो भने भित्री सन्तुष्टि भएको खण्डमा जस्तोसुकै कठिन भौतिक समस्या आए पनि हामी त्यसलाई सहन र रूपान्तरित गर्न सक्छौं। त्यसैले शारीरिक र मानसिक दुःखको कुरा गर्नुपर्दा मलाई लाग्छ, मानसिक दुःख बढी कष्टकर हुन्छ। किनभने भौतिक दुःख मानसिक सुखले कम गर्न सकिन्छ, तर मानसिक दुःख भौतिक सुखले हटाउन सकिँदैन।
मानिसका मानसिक पीडा र समस्या जनावरहरूको तुलनामा बढी प्रबल र कष्टकर हुन्छन्। शारीरिक स्तरमा दुबैको पीडा उस्तै होला, तर मानिसको बुद्धिका कारण उसको मनमा शंका, असुरक्षाको भावना र तनाव हुन्छ। यसले मानिसलाई निराशातर्फ लैजान्छ। यो सबको कारण हामीमा रहेको विकसित बौद्धिक क्षमता नै हो। तर यही मानवीय बौद्धिक क्षमता प्रयोग गरेर हामी यी सबैको सामना गर्न सक्छौं। भावनात्मक स्तरमा कुनै मनोभावहरू उत्पन्न हुने वित्तिकै हामी आफ्नो मनको शान्ति गुमाउँछौं। त्यसको विपरीत कुनै मनोभावले चाहिँ हामीलाई अझ सबल बनाउँछ। त्यस्ता मनोभावहरू हाम्रो बल र आत्मविश्वासका आधार हुन्। तिनले हाम्रो चित्तलाई शान्ति र स्थिरता प्रदान गर्छन्।
मनोभाव (संवेग) का दुई प्रकार
मनोभावहरू दुई प्रकारका हुन्छन्। पहिलो प्रकारका मनोभावहरू हाम्रो मानसिक शान्तिका लागि हानिकारक हुन्छन्। ती विध्वंसात्मक प्रकृतिका हुन्छन्, जस्तै रिस र घृणा। ती हाम्रो मनको शान्ति खलबल्याउने मात्र होइन, हाम्रो वचन र शरीरका लागि पनि धेरै घातक हुन्छन्। अर्को शब्दमा भन्ने हो भने तिनले हाम्रो व्यवहारलाई प्रभावित गर्छन्। तिनका कारण हामी हानिकारक कामहरू गर्छौं, त्यसैले ती घातक हुन्छन्। तर दोश्रो प्रकारका मनोभावहरूले चाहिँ हामीलाई भित्री बल र शान्ति प्रदान गर्छन्। यसको उदाहरण करुणा हो। यसले हामीलाई क्षमा गर्नसक्ने शक्ति दिन्छ। कुनै बेला कुनै व्यक्तिसँग हामीलाई कुनै समस्या भयो भने क्षमाको बलले अन्ततः हाम्रो चित्तलाई स्थिरता प्रदान गर्छ, र मनमा शान्तिको प्रादुर्भाव हुन्छ। हामीलाई रिस उठाउने व्यक्ति हाम्रो सबैभन्दा राम्रो साथी पनि बन्न सक्छ।
बाह्य शान्ति
शान्तिको कुरा गरिरहँदा हामीले यी मनोभावहरू र आन्तरिक शान्तिको कुरा गर्नैपर्छ। कुन मनोभावले हाम्रो मनमा शान्तिको प्रादुर्भाव गराउँछ, त्यो पत्ता लगाउनु आवश्यक छ। तर त्योभन्दा पहिला म बाह्य शान्तिको कुरा गर्न चाहन्छु।
बाह्य शान्ति भनेको हिंसाको अनुपस्थिति मात्र होइन। शीतयुद्धका बेला हामीले शायद त्यस्तो शान्तिको अनुभव गरेका पनि थियौं होला। तर त्यो शान्ति डरमा आधारित थियो। त्यसका पछाडि पारमाणविक विध्वंशको डर थियो। दुबै पक्ष एकले अर्कामाथि बम खसाल्ने हुन् कि भन्ने डरले ग्रस्त थिए। त्यसैले त्यो वास्तविक शान्ति थिएन। वास्तविक शान्ति भित्री शान्तिबाट आउनुपर्छ। मलाई लाग्छ, यदि कहीँ द्वन्द्व छ भने त्यसको शान्तिपूर्ण समाधान खोज्नुपर्छ।अर्थात् वार्ताको माध्यमबाट त्यसको समाधान खोज्नुपर्छ।
शान्तिका लागि अरुको जीवनप्रति प्रेम र सम्मानको भाव राख्नु आवश्यक छ। उनीहरूलाई हानि पुर्याउनबाट आफूलाई रोक्नु, र उनीहरूको जीवन पनि आफ्नो जत्तिकै सम्मान योग्य छ भन्ने भावना राख्नु आवश्यक छ। यो कुरामा हामीले ध्यान दिनुपर्छ। यही भावनाका साथ सकिन्छ भने अरुको सहायता गर्ने प्रयत्न गर्नुपर्छ।
जब हामी कुनै समस्यामा हुन्छौं र कोही हाम्रो सहयोगका लागि तत्पर हुन्छ, हामी अवश्य पनि त्यसको कदर गछौं। त्यस्तै अरु कोही दुःखमा छ र हामी केवल मानवीय सहानुभूति मात्र पनि दर्शाउँछौं भने उसले पनि त्यसको कदर गर्छ र खुशी हुन्छ। भित्रबाट आउने करुणा र शान्त चित्तले हाम्रो सबै कर्म शान्तिपूर्ण बनाउँछ। हामी भित्रबाट शान्त भयौं भने बाहिरी दुनियाँमा पनि शान्ति ल्याउन सक्छौं।
अरुसँग कुराकानीका क्रममा विभिन्न वैचारिक भिन्नताहरू आउँछन्। यो मानिसको स्वभाव नै हो। तर “म” र “उनीहरू” को भिन्नता जति सघन हुन्छ, हामी त्यति नै “मेरो हित” र “तिम्रो हित” भनेर छुट्याउन थाल्छौं। यसले युद्धको अवस्था समेत निम्त्याउन सक्छ। शत्रुलाई समाप्त गर्यो भने आफू विजयी हुन्छु भन्ने हामीलाई लाग्न सक्छ। तर अहिले हाम्रा सामु नयाँ सत्य उजागर भैसकेको छ। आर्थिक हिसाबले र पर्यावरणीय हिसाबले पनि हामी एक आपसमा धेरै नै निर्भर छौं। त्यसैले “हामी” र “उनीहरू” भन्ने विचार अप्रासंगिक हुन थालिसक्यो। हामीले जसलाई “उनीहरू” भन्छौं, तिनीहरू “हाम्रो” अंश भैसके। मानसिक शान्तिको प्रादुर्भाव गराउने सबैभन्दा महत्वपूर्ण कडी करुणा हो। हामीलगायत छ अरब मान्छे यो पृथ्वीमा बस्छौं। सबै हामीजस्तै खुशीका हकदार हुन्। यो कुराप्रति सचेत हुँदै हामीले सबैलाई आदरपूर्वक व्यवहार गर्नुपर्छ। यसका आधारमा अनुभव गरिने करुणाका माध्यमबाट हामी बाह्य शान्ति स्थापित गर्न सक्छौं।
शुरुवात सानै स्तरबाट हुनसक्छ
शान्तिका लागि हामीले पहिला त आफैंभित्रबाट शुरु गर्नुपर्छ। त्यसपछि परिवारमा र समुदायमा शान्ति स्थापित गर्न सक्छौं। उदाहरणका लागि, मेक्सिकोमा एक मित्रले आफ्नो समुदायमा “शान्ति क्षेत्र” को शुरुवात गरे। उनले उक्त शान्ति क्षेत्रभित्र हिंसा परित्याग गर्ने योजनाबद्ध अभियानको थालनी गरे। त्यसमा उनले समुदायका सबैजनालाई सहमत गराए। झगडा वा विवाद गर्नै पर्यो भने उक्त क्षेत्रको परिधि बाहिर गएर गर्ने कुरामा उनीहरू सबै सहमत भए। त्यो निकै राम्रो कदम थियो।
विश्वमा शान्ति स्थापना गर्नु चानचुने काम होइन। यद्यपि त्यसो गर्न सकियो भने त अति उत्तम हुने थियो। त्यसो नहुँदा बरु सानै स्तरबाट भए पनि शुरु गर्नु बढी व्यावहारिक हुन्छ। हामीले आफू, परिवार, गाउँशहर, जिल्ला आदिमा शान्ति क्षेत्रहरू स्थापित गर्न सक्यौं भने निकै राम्रो हुनेछ। यहाँनेर ध्यान दिनुपर्ने कुरा के हो भने आन्तरिक शान्ति र करुणाबीच गहिरो सम्बन्ध हुन्छ।
वास्तवमा अहिले संसारमा निकै धेरै परिवर्तनहरू भईरहेका छन्। स्वर्गीय फ्रेडरिक वन् वाइज्याकर मेरा एक प्रिय जर्मन मित्र हुनुहुन्थ्यो। उहाँ मेरा गुरुसमान हुनुहुन्थ्यो। उहाँले एकपटक आफू युवा छँदाको संस्मरण सुनाउनुभयो – त्यतिबेला हरेक जर्मन नागरिकले फ्रेन्चहरूलाई आफ्नो शत्रु ठान्दथे र हरेक फ्रेन्च नागरिकले जर्मनहरूलाई। तर अहिले विश्व परिस्थिति बदलिएको छ। हामीसँग युरोपियन युनियनको संयुक्त शक्ति छ। यो धेरै राम्रो कुरा हो। पहिला पहिला हरेक राज्यले सबै थोक आफ्नै दृष्टिकोणबाट मात्र हेर्थे र उनीहरूका लागि आफ्नो सार्वभौमसत्ता मात्र सबैभन्दा प्यारो हुन्थ्यो। तर अहिलेको युरोपको यथार्थ बेग्लै छ। अहिले राज्यहरूले संकीर्ण स्वार्थलाई भन्दा सामूहिक हितलाई बढी महत्व दिएका छन्। यो सोचलाई संसारका सबै छ अरब मानिसहरूमा जागृत गर्न सकियो भने कति राम्रो हुन्थ्यो होला! हामीले सबै मानिसलाई एक विशाल परिवारका सदस्यको रुपमा हेर्नु जरुरी छ।
करुणा, एक जैविक तत्व
करुणाको कुरा गर्दा आफ्नो आमाबाट जन्मिने सबै स्तनधारी, मानिस, चराचुरुङ्गी र अन्य धेरै जीवको विकास उनीहरूले पाउने माया र स्नेहबाट हुन्छ। अपवादका रूपमा केही प्रजातिबाहेक यो सबैमा लागु हुन्छ। समुद्री कछुवा, पुतली र साल्मन माछाजस्ता अण्डा पारेर मरिहाल्ने जीवहरू यसका अपवाद हुन सक्लान्। उदाहरणका लागि समुद्री कछुवालाई लिऊँ। यसको आमाले समुद्रको तटमा अण्डा पारेर छोडिदिन्छ, त्यसैले उसको बच्चा बाँच्ने नबाँच्ने आफ्नै भरमा हुन्छ। उसलाई आमाको ममता आवश्यक हुँदैन, तैपनि बाँच्छ। त्यसैले म कहिलेकाहीँ भन्ने गर्छु कि एक त्यस्तो नयाँखाले वैज्ञानिक प्रयोग गरौँ। अण्डाबाट निस्केको बच्चा र उसको आमालाई सँगै राखेर हेरौं। उनीहरूले एक आपसमा माया ममता देखाउलान् कि नदेखाउलान्? त्यो एक रोचक वैज्ञानिक प्रयोग हुनसक्छ। तर मलाई लाग्छ, उनीहरूले त्यस्तो माया ममता देखाउने छैनन्। प्रकृतिले उनीहरूलाई त्यसरी नै बनाएको हुन्छ। तर स्तनधारी जीव, त्यसमा पनि मानवजातिको कुरा गर्ने हो भने आमाको रेखदेख बिना हामी कोही पनि बाँच्न सक्दैनौं।
सानो शिशुको रेखदेखको लागि मनमा करुणा, स्नेह, सहानुभूति, र सेवाको भाव हुनु आवश्यक हुन्छ। वैज्ञानिकहरूका अनुसार जन्मेको केही हप्तासम्म बालकको मस्तिष्कको विकासका लागि आमाको स्पर्श अपरिहार्य हुन्छ। हामी देख्छौं, परिवारमा स्नेह, प्रेम, आत्मीयताको भावना छ भने त्यस्तो परिवारका बच्चाहरू अरुभन्दा खुशी हुन्छन्। शारीरिक स्तरमा पनि उनीहरू बढी स्वस्थ हुन्छन्। तर सानो छँदा स्नेहपूर्ण वातावरण भएन भने उनीहरूमा धेरै जटिलता उत्पन्न हुन सक्छ।
वैज्ञानिकहरूले बाँदरमा यसको परीक्षण गरेका छन्। बाँदरको शिशुलाई आमासँग छुट्याएर राख्दा उनीहरूको मनोदशा कहिल्यै राम्रो भएन। उनीहरू सधैँ झगडा गरिरहे। एक आपसमा मिलेर बसेनन् र राम्रोसँग खेलेनन्। तर आमासँगै राखिएका शिशु चाहिँ खुशी देखिए । उनीहरू एक आपसमा मिलेर बसे र खेले। मानिसहरू पनि शिशु छँदा माया पाएनन् भने रुखो व्यवहार गर्ने हुन पुग्छन्। अरुप्रति माया दर्शाउन उनीहरूलाई त्यति सहज हुँदैन। उनीहरू कहिलेकाहिँ हिंसात्मक पनि हुन सक्छन्। त्यसैले माया भनेको जैविक तत्त्व हो। यो जीवविज्ञानमा आधारित तत्त्व हो।
मलाई लाग्छ, हामीभित्रको करुणा र हाम्रा मनोभावहरू यही जैविक–भौतिक मूलसँग जोडिएका हुन्छन्। वैज्ञानिकहरूका अनुसार रिस वा घृणा वा डरको भाव हामीमा निरन्तर रहिरह्यो भने यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता ह्रास गराउँछ, यसलाई कमजोर बनाउँछ। तर करुणामय चित्त भयो भने रोग प्रतिरोधात्मक क्षमता सबल हुन्छ।
अर्को उदाहरण लिऊँ। स्वास्थ्य उपचारमा क्रममा डाक्टर वा नर्स र विरामीका बीच विश्वासको वातावरण भयो विरामीको अवस्थामा चाँडै सुधार आउँछ। त्यस्तो विश्वासको आधार के हो? डाक्टर वा नर्सले आफ्नो तर्फबाट विरामीको स्वास्थ्यलाभका लागि हृदयदेखि नै प्रयास गरे भने विश्वासको वातावरण बन्छ। त्यसका विपरीत डाक्टर जतिसुकै दक्ष किन नहोस्, उसले विरामीलाई एउटा मेशिनको रुपमा यन्त्रवत व्यवहार गर्यो भने विश्वासको वातावरण बन्दैन। डाक्टर एकदमै अनुभवी छ भने केही हदसम्म त विश्वास सिर्जना होला, तर उसले प्रेमपूर्ण व्यवहार गर्छ भने विश्वास झनै बढी हुन्छ। विरामी राम्रोसँग सुत्न सक्छ र उसको मनमा शान्ति आउँछ। त्यसो नभई भित्रबाट उसको मन विचलित भयो भने चाहिँ उ झन तनावमा पर्न सक्छ र त्यो अवस्थामा निको हुन गाह्रो पर्न सक्छ।
तर जीवनमा समस्याहरू त आउँछन् नै। महान् भारतीय आचार्य शान्तिदेव भन्नुहुन्छः समस्या आयो भने त्यसलाई विश्लेषण गरेर हेरौं। कुनै तरीकाले समस्याबाट मुक्त हुन सकियो भने ठीकै छ, त्यो उपाय अपनाउनुस्। यदि त्यसमा केही गर्न सकिँदैन भने पनि ठीकै छ, चिन्ता लिनु जरुरी छैन। किनकि चिन्ताले कुनै फाइदा हुने होइन। हामीले यसरी सोच्न सक्यौं भने धेरै राम्रो हुन्छ। हाम्रा सामु ठूलै समस्या छ भने पनि यो ढंगबाट सोचेर समस्यालाई सानो बनाउन सक्छौं।
जबसम्म हामीलाई अरुको स्नेह र रेखदेखको को आवश्यकता हुन्छ, हामीमा पनि माया र करुणा हुन्छ। हामी सानो बालक छँदा यो अवस्था विद्यमान हुन्छ। तर जब हामी केही ठूलो हुन्छौं र आफ्नो खुट्टामा उभिन थाल्छौं, हामीलाई लाग्न थाल्छ कि आफ्नो काममा सफल हुनका लागि करुणामय हुनुभन्दा आक्रामक हुनु जरुरी छ। हामी विर्सन्छौं कि छ अरब मानिस आमाकै कोखबाट जन्मेका हुन्छन्। आमाको माया ममता पाइरहँदा सबैजना खुशी र सन्तुष्ट हुन्छन्। आमा नै नभए पनि अरु कसैको माया ममताले हामीलाई शिशु हुँदा बचाउँछ। तर विस्तारै जब हामी ठूलो हुन्छौं, यो मायाको भाव कमजोर हुन थाल्छ। हामी आक्रामक हुन थाल्छौं। अरुलाई डराउन र धम्क्याउन थाल्छौं। त्यहाँबाट समस्या उत्पन्न हुन थाल्छ।
वास्तविकतालाई बुझ्नु आवश्यक
जब हाम्रो चित्तमा रिस उत्पन्न हुन्छ, हाम्रो मस्तिष्क पनि रिसकै वशीभूत हुनपुग्छ। स्वीडेनका एक वैज्ञानिकले मलाई बताएअनुसार जुन मानिससँग हामी रिसाउँछौं र त्यो मानिसको जुन खराब छवि हाम्रो मनमा बनेको हुन्छ, त्यसको ९० प्रतिशत त हाम्रै कल्पनाको उपज मात्र हो। अर्को शब्दमा भन्ने हो भने ९० प्रतिशत नकारात्मकता मनकै कल्पनाको उपज हो। हामीमा कुनै व्यक्तिप्रति ज्यादै धेरै आसक्ति वा आकांक्षा भयो भने पनि यही कुरा लागू हुन्छ – त्यो मानिस हामीलाई १०० प्रतिशत सुन्दर वा राम्रो लाग्न थाल्छ। त्यसको पनि ठूलो भाग हाम्रो मनकै कल्पनाको उपज हुन्छ। तर हामी यो कुरा देख्न सक्दैनौं। त्यसैले वास्तविकता के हो, राम्रोसँग बुझ्नु जरुरी छ।
अर्को महत्वपूर्ण कुराः कसैलाई पनि समस्यामा पर्न मन लाग्दैन। तैपनि समस्या किन उत्पन्न हुन्छ? समस्याहरू हाम्रो अबोधपन, हाम्रो अज्ञान, र हाम्रो दृष्टिकोणका कारण उत्पन्न हुन्छन्। हामी वास्तविकतालाई देख्न सक्दैनौं। हाम्रो संकुचित दृष्टिकोणका कारण नै हामी समग्र यथार्थलाई बुझ्न सक्दैनौं। हामी दुई कोणबाट मात्र देख्न सक्छौं, तर वास्तविकता त्यति मात्र हुँदैन। हामीले तीन, चार, वा छ कोणबाट वास्तविकतालाई हेर्न सक्नुपर्छ। कुनै पनि कुरालाई तटस्थ भावले हेर्नका लागि पहिला त हाम्रो चित्त शान्त भएको हुनुपर्छ।
यी सबै कुरा राम्रोसँग बुझ्नका लागि सकारात्मक र हानिकारक भावनाहरू बीचको अन्तर चिन्नु आवश्यक छ। हामी ठूलो हुँदै जाँदा हामीमा रहेको करुणाको जैविक गुण विस्तारै क्षीण बन्दै जान्छ। यसलाई पुन: मजबुत बनाउन शिक्षा र अभ्यासको आवश्यकता पर्छ। तर यो जैविक रुपमा विद्यमान करुणामा पूर्वाग्रह मिसिएको हुन्छ। यो अरुबाट माया पाउँदा मात्र प्रकट हुन्छ। यो जैविक गुणलाई हामीले आधार बनाउन सक्छौं। विवेक र वैज्ञानिक दृष्टिकोणमार्फत हामी करुणाको जैविक आधारलाई कायम राख्दै यसको दायरालाई अझ फराकिलो बनाउन सक्छौं। शिक्षा र अभ्यासको माध्यमद्वारा सीमित पूर्वाग्रही करुणालाई असीमित र पक्षपातरहित करुणाको रुपमा विस्तार गर्न सक्छौं र यसलाई सबै छ अरब मानिसबीच बाँड्न सक्छौं।
शिक्षाको महत्व
यो सबका लागि शिक्षा आवश्यक छ। आधुनिक शिक्षाले मस्तिष्क र बुद्धिको विकासमा जोड दिएको छ, तर त्यति मात्र काफी छैन। हाम्रो शिक्षा प्रणालीलाई मैत्रीपूर्ण भावको विकास गर्न सक्षम बनाइनु पर्छ। किंडरगार्टनदेखि शुरु गरेर यसलाई विश्वविद्यालय स्तरसम्म पुर्याइनु पर्छ।
अमेरिकामा केही वैज्ञानिकहरूले बालबालिकामा करुणा र होसपूर्ण मन विकास गराउने खालका शैक्षिक कार्यक्रमहरू ल्याएका छन्। यी कार्यक्रमहरू भविष्यको जन्म सुधार्नलाई वा निर्वाण प्राप्तिका होइन, अपितु यही जीवनमा लाभ प्राप्त गर्ने उद्देश्यले ल्याइएका हुन्। कुनै कुनै विश्वविद्यालयमा मैत्री र करुणाको विकास गर्ने शैक्षिक कार्यक्रमहरु सञ्चालनमा आइसकेका छन्। यिनमा सिकाइने निष्पक्ष करुणा भाव अरुले गर्ने व्यवहार वा राख्ने दृष्टिकोणमा निर्भर हुँदैन, बरु उनीहरू सबै मानवजाति भएको तथ्यमाथि मात्र निर्भर हुन्छ। यो पृथ्वीका छ अरब मानिसको समूहमा हामी पनि एक हौं। यहाँका सबैजना समान रूपले हाम्रो करुणाको हकदार छन्।
आन्तरिक र बाह्य निःशस्त्रीकरण
आन्तरिक शान्ति र विश्व शान्ति दुवैका लागि हामीलाई आन्तरिक र बाह्य दुवै स्तरमा निःशस्त्रीकरणको आवश्यकता पर्दछ। हामीले आन्तरिक स्तरमा करुणाको भाव विकसित गर्न सक्यौं भने त्यसैमा आधारित भई बाह्य स्तरमा सबैतिर र सबै देशमा निःशस्त्रीकरण गर्न सकिन्छ। मानिलिऊँ हामी फ्रेन्च–जर्मन र सबै युरोपेली सेनाको एकीकृत सैन्य बलको निर्माण गर्न सक्छौं। त्यसो गर्न सके धेरै राम्रो हुने थियो। युरोपेली संघका सबै सदस्य राष्ट्रहरूका लागि एक एकीकृत सैन्य बल निर्माण गर्न सकियो भने ती राष्ट्रहरूबीच कुनै सशस्त्र द्वन्द्व हुने छैन।
एक पटक ब्रसेल्समा विदेश मन्त्रीहरूको बैठक चलिरहेको थियो। त्यसबेला मैले भनेको थिएँ, भविष्यमा युरोपेली संघको मुख्यालय केही पूर्वतिर सार्न सकियो भने धेरै राम्रो हुनेछ। पोल्याण्ड वा अन्य कुनै पूर्वी युरोपेली देश यसका लागि उपयुक्त हुन सक्छ। अनि यसको विस्तार गर्दै रसियालाई पनि त्यसमा समावेश गर्न सके र ‘नाटो’ मुख्यालयलाई मस्कोमा सार्न सके राम्रो हुनेछ। त्यसो भयो भने शान्ति हुनेछ र युरोपमा युद्धको कुनै खतरा हुने छैन। अहिले रुस र जर्जियाबीच केही समस्या चलिरहेको छ। तर हामीले राम्रो हुने आशा छाड्नु हुँदैन।
यसरी शान्तिको बृहत् विस्तारसँगै अन्ततः यहाँ फ्रान्समा रहेको हतियार उद्योग बन्द गरेर अर्थतन्त्रलाई अधिक उत्पादनशील क्षेत्रमा मोड्न सकिन्छ। उदाहरणका लागि ट्याङ्क निर्माण गर्ने उद्योगले बुलडोजर निर्माण गर्न सक्छन्!
अफ्रिकी देशहरूलाई पनि हाम्रो सहयोगको आवश्यकता छ। धनी र गरीबका बीच निकै ठूलो खाडल छ। विश्वस्तरमा मात्र होइन, राष्ट्रियस्तरमा पनि यो खाडल भयावह रुपमा रहेको छ। उदाहरणका लागि फ्रान्सकै कुरा गरौं। यहाँ धनी र गरीबका बीच धेरै असमानता छन्। केही मानिसहरू खान पनि नपाउने अवस्थामा छन्। तर पनि हामी सबै मानवजाति हौं। हाम्रा आशा, आवश्यकता र समस्याहरू समान छन्। आन्तरिक शान्तिका माध्यमबाट बाह्य शान्तिको विकासका लागि हामीले यी सबै कुराहरूमा ध्यान पुर्याउनु आवश्यक छ।