खुशीको स्रोतको रूपमा करुणा

खुशीको लागि प्रयत्नशील रहनु जीवनको ध्येय

हामी यो संसारमा छौं। हामी जीवित छौ र जीवन हाम्रो अधिकार हो। हाम्रो मात्र होइन, फूलहरू जस्ता अचेतनशील जीवको पनि बाँच्ने अधिकार हुन्छ। उनीहरूका विरुद्ध कुनै प्रतिकूल बल प्रयोग गरियो भने फूलले आफ्नो अस्तित्व कायम राख्न रासायनिक स्तरमा आफ्नो उपचार गर्छन्। हामी मानवजाति लगायत ससाना किरा फट्याङ्ग्रा, यहाँसम्म कि सबैभन्दा साना मानिने अमीवाहरू चेतनशील जीवमा गनिन्छौं। [र चेतनशील भएका कारण हामीसँग जीवित रहनका लागि अझ धेरै उपायहरू हुन्छन्।]

वैज्ञानिकहरूसँग गरेको छलफलबाट मैले जानेअनुसार “चेतनशील जीव” भन्नाले हामी ती जीवलाई बुझ्छौं जो आफ्नो इच्छाअनुसार हिँडडुल र चलफिर गर्न सक्छन्। “चेतनशील” भनेको चैतन्य अवस्थामा हुनु वा चेतनाको स्तरबाट मानिस हुनु मात्र होइन। वास्तवमा “चेतना” वा “चैतन्य” को परिभाषा दिन सजिलो छैन। सामान्य अर्थमा भन्ने हो भने यसले मन सबभन्दा स्पष्ट अवस्थामा रहेको बुझाउँछ। तर के हामी अर्धचेतन वा अचेतन भएको अवस्थामा “चेतना” हुँदैन त? किरा फट्याङ्ग्रामा यो हुन्छ कि हुँदैन? त्यसैले “चेतना” भन्दा “संज्ञानात्मक क्षमता” भन्नु ठीक हुन्छ होला।

जे होस्, यहाँनेर [संज्ञानात्मक क्षमता भन्नाले] हामीले भन्न खोजेको कुरा होः पीडा, सुख, वा तटस्थ भावनाहरू अनुभव गर्नसक्ने क्षमता।वास्तवमा सुख र पीडा [र खुशी र दुःख] त्यस्ता चीज हुन् जसलाई हामीले अझ गहिरोसँग विचार गर्नु आवश्यक छ। सबै चेतनशील जीवको बाँच्न पाउने अधिकार छ। बाँच्नु सँगसँगै खुशी र सुखको चाहना स्वतः आउँछन्, किनकि हरेक चेतनशील प्राणी यही चाहनाका कारण नै जीवित रहन खोज्ने हुन्। हाम्रो अस्तित्व एक प्रकारको आशासँग जोडिएको छ। त्यो आशा हो केही राम्रो हुनेः अर्थात् खुशी हुने। त्यसैकारण म सधैं एउटै निष्कर्षमा पुग्छुः जीवनको लक्ष्य भनेको नै खुशी रहने हो। आशा र खुशीको भावले हाम्रो शरीर स्वस्थ हुन थाल्छ। यी भावहरू हाम्रो शारीरिक स्वास्थ्यका लागि सहयोगी तत्त्व हुन्। हाम्रो स्वास्थ्य मनको खुशीसँग जोडिएको छ।

अर्कातिर, रिस भने असुरक्षाको भावनासँग जोडिएको छ। यसले हामीमा डर पैदा गर्छ। तर हाम्रो सामु कुनै राम्रो कुरा आयो भने हामी सुरक्षित महसुस गर्छौं। केही कुराले हामीलाई भयभीत बनायो भने हामी असुरक्षित महसुस गर्छौं र हामीलाई रिस उठ्छ। रिस भनेको मनकै एक भाग हो जसले हाम्रो अस्तित्वमा हानी पुर्याउने कुराहरूबाट बचाइरहेको हुन्छ। तर रिस [जसले हामीलाई दुःखी बनाउँछ, अन्ततः] हाम्रो स्वास्थ्यका लागि हानिकारक छ।

आसक्ति त्यस्तो तत्त्व हो जो जीवन जिउनका लागि सहयोगी हुन्छ। एक विरुवामा चेतन तत्त्व हुँदैन, तैपनि यसमा केही रासायनिक कुराहरू हुन्छन् यसले यसलाई आत्मरक्षा र बृद्धिमा सहयोग पुर्याउँछ। भौतिक स्तरमा हाम्रो शरीर पनि त्यस्तै हो। तर मानव भएका कारण हाम्रो शरीरमा भावनात्मक स्तरमा त्यस्ता सकारात्मक गुणहरू हुन्छन्, जसले गर्दा हामीमा अर्को व्यक्तिप्रति वा आफ्नै खुशीप्रति आसक्ति वा अनुराग उत्पन्न हुन्छ।  [अर्कातर्फ रिस र] अरुलाई हानी पुर्याउने [यसको] प्रकृतिका कारण हामी धेरै कुराबाट टाढा हुन्छौं [त्यसमा खुशी पनि पर्छ]। भौतिक स्तरमा [खुशीले ल्याउने] सुख शरीरका लागि राम्रो हुन्छ, तर रिस [र यसले उत्पन्न गराउने दुःख] हानिकारक हुन्छ। [बाँच्न पाउने दृष्टिकोणबाट हेर्दा] जीवनको ध्येय भनेको खुशीपूर्वक बाँच्ने नै हो।

मानवजातिको यही आधारभूत तहबाट मैले कुरा गरिरहेको छु। यसमा कुनै धर्म र त्यस्तै अन्य गौण कुराहरु समावेश छैनन्। धार्मिक स्तरबाट हेर्ने हो भने जीवनको ध्येयबारे विभिन्न व्याख्याहरू गर्न सकिएला। यी गौण कुराहरू वास्तवमा धेरै नै जटिल छन्। हामीले मानवजातिका आधारभूत पक्षबारे मात्र कुरा गर्न उचित हुन्छ।

खुशी के हो?

खुशीको प्राप्ति नै जीवनको लक्ष्य र ध्येय हो। तर खुशी चाहिँ के हो त? कहिलेकाहीँ शारीरिक पीडाले समेत हामीलाई धेरै सन्तोष दिलाउन सक्छ [उदाहरणका लागि, पुरै थाक्ने व्यायामले पनि खेलाडीलाई सन्तोष दिन्छ]। खुशीको मुख्य अर्थ भनेको गहिरो सन्तुष्टि नै हो। अर्थात, जीवनको ध्येय भनेको सन्तुष्ट रहनु हो।

सुख, दुःख, वा कष्ट – सबैका दुई स्तर हुन्छन्ः एक शारीरिक संवेदनाको स्तर र अर्को मानसिक स्तर। शारीरिक संवेदना सबैले अनुभव गर्न सक्छन्, चाहे ती स–साना स्तनपायी जनावर हुन् वा किरा फट्याङ्ग्रा वा झिङ्गा।   चिसो मौसममा जब घाम झुल्किन्छ, झिङ्गा समेत खुशी हुन्छ र यताउता उड्न थाल्छ। चिसो कोठाभित्र उसको चाल कम हुन थाल्छ र उदास तरिकाले एकातिर बस्छ। तर यदि मस्तिष्क विकसित छ भने शारीरिक संवेदनाको बोध अझ गहिरो हुन्छ। [यसका अतिरिक्त] हाम्रो विकसित मस्तिष्क आकारमा पनि सबैभन्दा ठूलो छ, र हामीमा बुद्धि पनि छ।

[मानिसको उदाहरण लिऊँ। ] मानिलिऊँ हामीलाई कुनै भौतिक खतरा छैन। सुख र आरामका साधन छन्, राम्रा साथीहरू छन्, राम्रो कमाई र नाम पनि छ। तैपनि हामीमध्ये कतिजना व्यक्तिगत रुपमा एकदमै दुःखी हुन्छौं, चाहे अरबपति नै किन नहोउँ र आफूलाई समाजको धेरै महत्वपूर्ण अंग हुँ भन्ने किन नठानौं। मैले त्यस्ता अत्यन्त धनी र प्रभावशाली मान्छेहरू भेटेको छु, जो भित्रबाट पीडामा छन्, एक्लोपन, तनाव, र चिन्ताले ग्रस्त छन्। मानसिक स्तरमा उनीहरू कष्टमा छन्।

हामीसँग अद्भूत बुद्धि छ। त्यसैले हाम्रो मानसिक स्तरको भोगाई शारीरिक स्तरको भन्दा बलशाली हुन्छ। शारीरिक पीडा मनद्वारा कम वा शान्त गर्न सकिन्छ। उदाहरणका लागि केही समय अघि मलाई ठूलो विमारीले सतायो। मेरो पेटभित्र आन्द्रामा एकदमै पीडा भैरहेको थियो।  त्यतिबेला म बोधगया र नालन्दा हुँदै जाने क्रममा भारतको सबैभन्दा गरीव राज्य विहारमा थिएँ । त्यहाँ धेरै गरीव बालकहरू थिए। उनीहरू गाईको गोबर भेला गर्दै थिए। उनीहरूसँग पढ्ने कुनै उपाय थिएन। त्यो देखेर मलाई एकदमै दु:ख लाग्यो। म विहारको राजधानी पटना पुगेँ, मेरो पेटको दुखाई झन् झन् बढ्दै थियो। म पसिनाले लतपत थिएँ। तब मैले एक बृद्ध मानिस देखेँ। उनी बिरामी थिए।  उनको सेतो कपडा एकदमै झुत्रोमैलो भएको थियो। त्यो रात होटलको कोठामा मेरो दुखाई असाध्यै बढ्यो। तर मेरो मन चाहिँ तिनै बालकहरू र ती बृद्धकै सम्झनामा हराइरहेको थियो। मलाई आफ्नो दुःख केही लागिरहेको थिएन। त्यो भावनाले मात्रै पनि मेरो शारीरिक पीडा धेरै कम भयो।

ओलम्पिक खेलको तयारी गर्दै गरेका खेलाडीको उदाहरण लिऊँ। उनीहरूको अभ्यास एकदमै कठिन हुन्छ। तर त्यस्तो अभ्यास शारीरिक स्तरमा जतिसुकै पीडादायी वा कष्टकर भए पनि मानसिक स्तरमा ती खेलाडीहरू खुशी हुन्छन्। शरीरको भोगाईभन्दा मनको भोगाई बढी महत्वपूर्ण हुन्छ।हाम्रो जीवनमा खुशी र सन्तुष्टिको महत्व धेरै छ।

खुशीका कारण

खुशीको कारण के हुन सक्छ? मलाई लाग्छ, यसका लागि शान्त मन आवश्यक हुन्छ। किनकि मन शान्त छ भने हाम्रो यो शरीर पनि ठीकै हुन्छ, मन अशान्त भए हुँदैन। हाम्रो शरीरको अवस्था कस्तो छ भन्ने कुराले धेरै फरक पार्दैन। बरु मनको शान्तिले चाहिँ फरक पार्छ। त्यसो भए मनको शान्ति चाहिँ कसरी पाउने त?

सबै समस्याबाट मुक्ति पाउने कुरा असंभव होला। त्यस्तै मनलाई सुस्त बनाउने र समस्याहरूप्रति आँखा चिम्लेर बस्ने कुरा पनि भएन। हामीले हाम्रो समस्या राम्रोसँग बुझ्नु पर्छ र तिनको समाधान खोज्नु पर्छ। तर त्यसका साथै हाम्रो मन शान्त रहनु जरुरी छ, ताकि हामी समस्यालाई यथार्थपरक ढंगले हेर्न सकौं र तिनको राम्रोसँग सामना र समाधान गर्न सकौं।

कति जनाले निद्रा लगाउने औषधि लिनुहुन्छ। त्यसको मलाई अनुभव छैन। जतिबेला उहाँहरूले त्यस्तो औषधि लिनुहुन्छ, त्यतिबेला उहाँहरूको बुद्धि प्रखर हुन्छ वा सुस्त, मलाई थाहा छैन। शायद सोध्नु पर्ला। सन् १९५९ मा जब म मसुरीमा थिएँ, मेरो आमा वा अरु कोही कुनै कारणले अशान्त हुनुहुन्थ्यो। वेचैनीका कारण निद्रा बिग्रिएको थियो। डाक्टरले भने – त्यसको औषधि छ र उहाँले लिन सक्नुहुन्छ, तर त्यो औषधिले मनलाई अलि सुस्त बनाउँछ। त्यसबेला मलाई लाग्यो, यो त ठीक भएन। मन अलिकति शान्त त हुन्छ, तर त्यो सँगसँगै उ सुस्त पनि भयो भने त ठीक हुँदैन। मलाई अर्को उपाय ठीक लाग्छ – बुद्धिले राम्रैसँग काम गरोस् र होसमा पनि रहोस्, तर अशान्त नहोस्। सर्वोत्तम उपाय भनेको अविचलित मानसिक शान्ति हो।

यसका लागि करुणामय मानवीय प्रेम अत्यन्तै महत्वपूर्ण हुन्छ। हाम्रो मन जति करुणामय हुन्छ, मस्तिष्कले त्यति नै राम्रोसँग काम गर्छ। हाम्रो मनले डर र रिस पनि उत्पन्न गर्छ। त्यो अवस्थामा मस्तिष्कले राम्रोसँग काम गर्दैन। मैले एकपटक अस्सी वर्षमाथिका एक वैज्ञानिक भेटेको थिएँ। उहाँले मलाई एक पुस्तक दिनुभएको थियो।मलाई ठ्याक्कै सम्झना त छैन, तर पुस्तकको नाम ‘वी आर प्रिजनर्स अफ एङ्गर’ (हामी रिसका बन्दी हौं) भएजस्तो लाग्छ। उहाँको भनाई अनुसार जब हाम्रो मनमा कसैप्रति रिस उत्पन्न हुन्छ, तब त्यो चिज एकदमै नकारात्मक लाग्न थाल्छ। तर त्यस्तो नकारात्मकताको नब्बे प्रतिशत हाम्रै मनको प्रक्षेपण मात्र हुन्छ। उहाँले आफ्नै अनुभव बताउनुभएको थियो।

बौद्धदर्शनले त्यही भन्छ। कुनै नकारात्मक भावना उब्जियो भने हामी यथार्थलाई देख्न सक्दैनौं। कुनै निर्णय लिनुपर्ने बेला हाम्रो मनमा रिस हावी छ भने हामीले गलत निर्णय लिने सम्भावना धेरै हुन्छ। कसैलाई पनि गलत निर्णय गर्न मन लाग्दैन। तर रिसको क्षण हाम्रो बुद्धि तथा मस्तिष्कका ती भागले काम गर्दैनन् जसले सही र गलत छुट्याउन सक्नु पर्ने हो। यो कुरा ठूला नेताहरूले पनि अनुभव गर्दछन्।

वास्तवमा करुणा र स्नेहले हाम्रो मस्तिष्कलाई राम्रोसँग काम गर्न सहयोग गर्छन्। अर्को कुरा, करुणाले हामीलाई भित्री खुशी दिन्छ, हामीलाई आत्मविश्वास दिन्छ र डर घटाउँछ। यसबाट हाम्रो मन शान्त हुन्छ।   करुणाका दुई काम हुन्छन्ः पहिलो, यसले हाम्रो मस्तिष्कलाई राम्रोसँग काम गर्न सघाउ पुर्याउँछ, र दोश्रो, यसले हामीलाई आन्तरिक शक्ति दिन्छ। यी सबै हाम्रो खुशीको कारण बन्छन्। मलाई त त्यस्तै लाग्छ।

त्यसो त खुशीका अरु तत्त्व पनि छन्। उदाहरणका रुपमा सबैले मन पराउने तत्त्व हो, पैसा। हामीसँग पैसा छ भने राम्रा सुविधाहरू उपभोग गर्न पाउँछौ। प्रायः हामी तिनैलाई सबैभन्दा महत्वपूर्ण चिज भन्ठान्छौं। तर मेरो विचारमा त्यसो होइन। भौतिक सुख शारीरिक प्रयत्नबाट आउन सक्छ, तर मानसिक सुखका लागि मनकै प्रयास आवश्यक हुन्छ। हामी कुनै पसलमा गयौं र पसलेलाई पैसा दिएर खुशी किन्न खोज्यौं भने उसले हामीलाई पागल भन्ठान्छ र हाँस्छ। कुनै इन्जेक्सन वा औषधिले अस्थायी रुपमा खुशी वा मनको शान्ति दिन सक्छ, तर त्यो पनि अधुरै हुन्छ। मनोपरामर्शको उदाहरण लिने हो भने हामी देख्छौं छलफल र तर्कहरूले मनोभावलाई नियन्त्रण गर्न सकिन्छ। त्यसैले हामीले मानसिक पद्धति अपनाउनु जरुरी छ। आफ्नो भाषणमा म सधैं यो कुरा भन्ने गर्छु – आजको आधुनिक युगमा हामी बाहिरी विकासको अति नै धेरै चिन्तन गर्छौं। तर हामीले त्यही स्तरमा मात्र सोचिरहेर काम बन्दैन। असली खुशी र सन्तुष्टि भित्रबाट मात्र आउँछ।

त्यसको आधारभूत तत्त्व भनेको करुणा र मानवीय प्रेम हुन्, जो हाम्रा जैविक गुण नै हुन्। एक शिशुका रुपमा हाम्रो जीवन पूर्णतया अरुको मायामा निर्भर गर्छ। माया भयो भने हामी सुरक्षित महसुस गर्छौं। तर भएन भने हामी बेचैनी र असुरक्षित महसुस गर्छौं। हामीलाई कसैले आफ्नो आमाबाट अलग्यायो भने हामी रुन थाल्छौं। आफ्नो आमाको अंगालोमा हुँदा र आमाले मायाले च्याप्दा हामी खुशी र शान्त हुन्छौं। शिशुका लागि त्यो जैविक आवश्यकता हो। मेरो एक जना शिक्षक जीव वैज्ञानिक हुनुहुन्छ। उहाँ पारमाणविक हिंसाविरुद्ध सक्रिय हुनुहुन्छ। उहाँले मलाई बताउनुभए अनुसार केही हप्तासम्म आमाको स्पर्श शिशुको मस्तिष्कको बृद्धि र विकासका लागि अत्यन्तै महत्वपूर्ण हुन्छ। यसले एकप्रकारको सुरक्षा र आरामको अनुभूति दिन्छ, जसले हाम्रो मस्तिष्क र शरीर दुवैको उपयुक्त विकासमा सहयोग पुर्याउँछ।

करुणा र प्रेमको बीऊ धर्मबाट आउने होइनन्, ती त हाम्रो जैविक स्वभावबाट आउने हुन्। हामीमध्ये प्रत्येक आमाको गर्भबाट नै जन्मिन्छौं। हामी सबै जना आमाको माया र लालनपालनले नै बाँच्दछौं। हुनत भारतीय परम्परामा हामी पवित्र भूमिमा कमलको फूल भित्रबाट जन्म वा उत्पत्तिको कुरा पनि गर्छौ। शायद त्यहाँका मानिसलाई कमलको फूलप्रति धेरै नै लगाव भएर होला। तर आमाको कोखबाट जन्मिनु अझ राम्रो हो। किनकि त्यसो हुँदा हामीमा करुणाको बीऊ शुरुदेखि नै विद्यमान हुन्छ। यी सब खुशीका कारणहरू हुन्।

Top