सबै चेतन प्राणीमा सुख र दुःख, असल र खराव, हानिकारक र लाभकारक कुराहरू छुट्याउन सक्ने क्षमता हुन्छ। मानवजातिमा त यो क्षमता झनै बढी हुन्छ। यस्ता विभिन्न भावनाहरू चिन्न र तिनमा फरक छुट्याउन सक्ने क्षमताका कारण हामी सबै समान छौं। हामी सबै सुख नै चाहन्छौं, कोही पनि दुःखी हुन चाहँदैनौँ।
यहाँनेर यी विभिन्न खाले भावनाहरू कसरी उत्पत्ति हुन्छन् भन्ने जटिल व्याख्या गर्नतिर म लाग्न सक्दिन। तर के कुरा स्पष्ट र छर्लंग छ भने हामी सबैजना सुखकै कामना गर्छौं र कष्ट तथा पीडाका अनुभवहरू मन पराउँदैनौं। हाम्रो जीवन त्यस्तो हुनु आवश्यक छ, जसले सामञ्जस्य र शान्ति ल्याओस्, विचलन र अशान्ति होइन।
शान्ति र खुशी प्राप्त गर्ने सन्दर्भमा यो सोच्नु गलत हुन्छ कि बाहिरी भौतिक सम्पत्तिले हामीलाई समग्र रुपमा शान्ति र खुशी दिन्छ। भौतिक सुविधाका माध्यमबाट हामी भौतिक खुशी र सुखमा बृद्धि गर्न सक्छौं र केही भौतिक कठिनाइहरूबाट मुक्ति पाउन सक्छौं। तर भौतिक सुविधाबाट प्राप्त हुने सुख शरीरको स्तरमा मात्र सीमित हुन्छ।
मानवजातिसँग सोच्ने, हिसाब गर्ने, मूल्यांकन गर्ने र लामो समयसम्मको योजना बनाउने अद्भूत क्षमता हुन्छ, जुन अन्य प्रजातिका प्राणीहरूसँग हुँदैन। त्यसैले मानवका रुपमा हामीले अनुभव गर्ने दुःख र सुखहरू धेरै सघन र शक्तिशाली हुन्छन्। त्यसै कारणले मानवजातिले शायद अरुभन्दा बढी दुःखको पनि अनुभव गर्छन्। यसको सम्बन्ध मानिसको सोच्न सक्ने क्षमतासँग छ।
उदाहरणको लागि मानवजातिकै कुरा गरौं। तत्कालका लागि केही सुख पाउँदैमा वा केही दुःखबाट तत्कालका लागि मुक्ति पाउँदैमा जनावरहरू सन्तुष्ट हुन सक्लान् तर हामी हुँदैनौं। त्यसको कारण के हो भने हामी मानवजाति धेरै समय पछिसम्मको योजना बनाउन सक्छौं र हिसाबकिताब राख्न सक्छौं । अनि हामी आफू र अरूका बीच भेद गर्न थाल्छौं। यिनै भेदका आधारमा हामी भिन्नाभिन्नै देशहरू, भिन्नाभिन्नै जातिहरू र भिन्नाभिन्नै धर्महरूको कुरा गर्छौं। हामी अनगिन्ति विभेदहरूको सिर्जना गर्छौं, जसका कारण हामीमा अनेकौं विसंगत विचार र भ्रान्तिहरू उत्पन्न हुन थाल्छन्। यी सबले गर्दा हामी कहिले अति धेरै आशावादी र कहिले अति धेरै आशंकित हुन्छौं।
यसरी हामी देख्छौं, मानिसको बुद्धि र अवधारणाहरूकै कारण हामी धेरै प्रकारका दुःखहरू अनुभव गर्छौं। आर्यदेवको प्रसिद्ध कृति चतुःशतक (फोर हन्ड्रेड भर्स ट्रिटीज्) मा यो कुरा स्पष्टसँग उल्लेख छ (II.8)ः “सुविधासम्पन्न मानिसहरूले मानसिक पीडा झेल्नुपर्छ, सामान्य मानिसहरू चाहिँ भौतिक पीडा भोग्छन्। ” यसको अर्थ हो, जोसँग धेरै शक्ति वा सम्पत्ति हुन्छ, उनीहरूलाई संभवतः भौतिक दुःख धेरै नहोला, तर मानसिक दुःख चाहिँ धेरै हुन्छ।यसका विपरीत सामान्य मानिसहरूका लागि चाहिँ कपडा, भोजन आदि पर्याप्त नभएका कारण भौतिक दुःख धेरै हुन्छ। के कुरा स्पष्ट छ भने हामी आफ्नो सोच्ने तरीकाका कारण नै अतिरिक्त दुःखको अनुभव गर्छौं।
मैले अघि भनेजस्तै भौतिक उन्नतिका माध्यमबाट हामी भौतिक दुःखलाई कम गर्न सक्छौं। तर मानसिक स्वभावका कारण हुने दुःखलाई जतिसुकै भौतिक सम्पन्नताबाट पनि हटाउन सकिन्न। त्यस्ता धेरै मानिस छन् जो आफूसँग सबै प्रकारका भौतिक सुखसुविधा भएपनि अनेक प्रकारका मानसिक पीडा झेलिरहेका हुन्छन्। यस्ता उदाहरण हामी सबैले देखेका हुन्छौं। यी असुविधाहरू, समस्याहरू, र दुःखहरू मानसिक रवैयाका कारण हुन्छन्, र तिनलाई बाहिरी भौतिक सुविधाबाट होइन बरु आफ्नो मानसिक दृष्टिकोणमा परिवर्तन ल्याएर कम वा निर्मूल गर्न सकिन्छ।
छोटकरीमा भन्नुपर्दा सुख र दुःखको अनुभव दुई तरीकाले गर्न सकिन्छ। पहिलो धेरै हदसम्म इन्द्रियजन्य अनुभवसँग सम्बन्धित छ । हामी हाम्रा पाँच ज्ञानेन्द्रियहरूबाट जे ग्रहण गर्छौं, त्यसमा हाम्रो सुख र दुःखको अनुभव निर्भर गर्छ। त्यसबाहेक मन र मानसिक स्तरबाट गरिने सुख र दुःखका अनुभवहरू पनि छन्। यी दुइमध्ये मनको स्तरबाट अनुभव गर्ने सुख र दुःख बढी प्रगाढ हुन्छन्। तिनीहरू ज्ञानेन्द्रियबाट गरिने अनुभवभन्दा धेरै बलशाली हुन्छन्।
उदाहरणका लागि हामीसँग भौतिक सुखसुविधाका सम्पूर्ण साधनहरू उपलब्ध छन्, र हाम्रा सामु भौतिकस्तरमा कुनै दुःख वा समस्या छैन भने पनि मन अशान्त छ र मनमा पीडा छ भने यी सबै भौतिक सुखसुविधाहरू हामीले मनभित्र अनुभव गरिरहेका पीडाहरू हटाउन असमर्थ हुन्छन्। अर्कोतर्फ, भौतिक रुपमा केही असुविधा वा पीडाहरू विद्यमान छन् भने पनि त्यो अवस्थालाई मनले स्वीकार गर्न सकियो भने त्यस्तो भौतिक पीडालाई सहन सकिन्छ।
यसलाई एक उदाहरणबाट बुझौं। कुनै व्यक्ति आफ्नो धार्मिक आस्था निभाउनका लागि पूर्णरूपमा समर्पित छ। उसका सामु अनेकौं भौतिक कठिनाईहरू हुन सक्लान्, तर उक्त धार्मिक आस्था निभाउँदा प्राप्त हुने तृप्ति र सन्तुष्टिका कारण, र आफूले हासिल गर्नुपर्ने लक्ष्यको स्पष्ट चित्र आफ्ना समक्ष भएका कारण उक्त व्यक्तिले ती भौतिक कठिनाईलाई समस्याको रुपमा नलिई आभूषणका रुपमा लिन्छ। अगाडि ठूलो लक्ष्य देखिएका कारण उसको मन उक्त अवस्थाको सामना गर्न तयार हुन्छ र भौतिक कठिनाईहरूलाई जितेर बढ्न सक्छ। यदि ठूलो उद्देश्य र लक्ष्य लिएर काम गरिरहिएको छ भने भौतिक कठिनाईहरूलाई पन्छाउन हामी सक्षम हुन्छौं। यस्ता उदाहरण धेरै छन्। भौतिक कठिनाईहरू जति धेरै भोग्नु परे पनि हामी तिनलाई अत्यधिक हर्ष र अत्यधिक खुशीका साथ सामना गर्न सक्छौं, तिनलाई आभूषणका रुपमा लिन्छौं।
छोटकरीमा भन्नुपर्दा , हाम्रा ज्ञानेन्द्रियहरूका माध्यमबाट हुने अनुभव भन्दा मनका माध्यमबाट हुने अनुभव बढी महत्वपूर्ण हुन्छ।
मानसिक समस्याहरूको सामना गर्ने क्रममा मैले अघि भनेजस्तै विशुद्ध रूपमा आफ्नो मनोवृत्ति र अवधारणाका कारण मात्र आइपरेका समस्या हुन् भने तिनलाई मनोवृत्तिमा अलिकति परिवर्तन ल्याएर कम वा निर्मूल गर्न सकिन्छ। मानसिक समस्याहरूबाट मुक्ति पाउने तरीका हुन्छ, त्यसको उपाय हुन्छ, र त्यसको कुनै प्रक्रिया हुन्छ। ती उपाय र प्रक्रियाको बारेमा जान्नु आवश्यक छ जसबाट हामी मानसिक समस्यालाई कम वा निर्मूल गर्न सक्छौं। यस्ता उपाय र प्रक्रियाको कुरा गर्दा हामीले आफूभित्र भएका जन्मजात असल मानवीय गुणहरू चिन्न र पहिल्याउन आवश्यक छ।
यसलाई म यसरी हेर्छुः मानव समाजलाई राम्रोसँग अध्ययन गर्ने हो भने हामी पाउँछौं कि हामी सबै सामाजिक प्राणी हौं। यसको मतलब हो – हामी समाजमा बस्छौं, र हामी एक आपसमा पूर्णरूपमा निर्भर हुन्छौं। जन्मेको क्षणदेखि वयस्क भएर आफ्नो हेरचाह आफैं गर्न सक्ने नहुञ्जेल हामी अरुकै दया मायामा बाँच्छौं। हाम्रो आफ्नै शारीरिक स्वास्थ्यका लागि पनि अरुको दया माया आवश्यक हुन्छ। यसको कारण हो – हाम्रो जैविक बनावट र शारीरिक संरचना। हामी अरुप्रति जति धेरै आत्मीयता देखाउँछौं र एक आपसमा जति धेरै करुणा तथा स्नेहको भाव विकास गर्छौं, त्यति नै धेरै हामी शान्त र खुशी हुन्छौं। यस्तो लाभकारी गुण भएका कारण हामी भन्न सक्छौं कि यी आधारभूत मानवीय मूल्यहरू महत्वपूर्ण छन्, तिनीहरू आवश्यक छन्, र तिनीहरू हामीमा हुनुपर्ने गुण हुन्।
केही अरु जीवको उदाहरण लिऊँ। पुतली र कछुवाको कुरा गर्ने हो भने ती जीवका सन्तान आमामाथि धेरै निर्भर भएको देखिँदैन। पुतलीले अण्डा पारेपछि हिँड्छ, त्यसबाट निस्कने सन्तानले आमाबुबालाई भेट्दा पनि भेट्दैन। त्यस्तै कछुवाले अण्डा पारेपछि छोडेर हिँड्छ। मलाई लाग्दैन कछुवाको आमालाई उसको शिशुको छेउमै पुर्यायो भने पनि त्यो शिशुले आमाप्रति कुनै प्रतिक्रिया देखाउँछ वा कुनै प्रकारको माया ममता प्रदर्शित गर्छ। यो जातिमा बच्चाहरू जन्मदेखि नै आत्मनिर्भर हुन्छन्। चाहे पूर्ववर्ती जीवनको बानीका कारणले होस् वा शारीरिक बनावटका कारणले, कछुवाका बच्चाहरू आफ्नो रेखदेख आफैं गर्न सक्छन्। समुद्रको छालको आवाज सुने भने उनीहरू स्वतः विस्तारै विस्तारै समुद्रतर्फ जान्छन्। त्यहाँ उनीहरू आफ्नो रक्षा आफैं गर्छन्। उनीहरूका आमा आफ्नो शिशुलाई समुद्रमा पौडी खेल्न सिकाउन आउँदैनन्। यी जीवहरूमा त्यस्तो कुनै कुरा देखिँदैन। उनीहरू जन्मदेखि नै स्वतन्त्र हुन्छन्, र आमाबुबा तथा सन्तानका बीच खासै मायाप्रेम देखिँदैन।
मानवजातिको सन्दर्भमा चाहिँ शारीरिक संरचनाका कारण जन्मेदेखि नै हामी आफ्ना आमाबुबाप्रति, त्यसमा पनि खासगरी आमाप्रति, प्रगाढ प्रेम र स्नेह देखाउँछौं। मैले यो कुरा पूर्व वा पछिको जन्ममा विश्वास गरेर त्यसको आधारमा वा धर्मको चर्चा गर्ने सन्दर्भमा भनेको होइन। तपाईंले मानवजाति कसरी बाँच्छन् र उनीहरूको विकास कसरी हुन्छ भन्ने कुराको अलि गहिरोसँग अध्ययन गर्नुभयो भने पाउनुहुनेछ कि हाम्रो जीवन मानवीय मूल्यहरूमा, करुणामा, र प्रेममा निर्भर गर्छ। मानवजातिको शिशुको हकमा उनीहरू जन्मेको क्षणदेखि नै आमाको दूधमा निर्भर हुन्छन्। विस्तारै आफ्नो हेरचाह आफैं गर्न सक्ने नहुञ्जेल उनीहरू पूर्णरुपमा मातापिताको दया मायामा निर्भर हुन्छन्। ठूलो भैसक्दा पनि उनीहरू आफूजस्तै अरु मानिसको दयालु व्यवहारमा निर्भर हुन्छन्।
जबसम्म कोही मान्छे तपाईंको साथमा छ र कसैले तपाईंको हेरचाह गरिरहेको छ, तपाईं आफ्नो घरमा आरामपूर्वक बसेजस्तो धेरै नै शान्ति, धेरै नै निश्चिंतताको अनुभव गर्न सक्नुहुन्छ। तपाईंले कसैलाई हानि नपुर्याउने र सकेसम्म सबैलाई सकेजति सहयोग गर्ने जीवन जीउनु आवश्यक छ। तपाईंसँग प्रेमको यस्तो भाव छ भने र अरु चेतन प्राणीहरूप्रति स्नेहको भाव छ भने तपाईंलाई पनि अरु सबैले मन पराउनेछन् र प्रेम गर्नेछन्। मृत्युको समयमा तपाईंले बेचैनी, डर, वा मानसिक विचलनको अनुभव गर्नुपर्ने छैन।
तर जब हामी ठूला हुन्छौं, कहिलेकाहीँ एक प्रकारको मानव बुद्धि हामीमाथि हावी हुन आउँछ। यस्तो बुद्धिले कहिलेकाहीँ हामीलाई खोक्रो आशा दिन्छ। यही बुद्धिमार्फत हामी नयाँ विषयहरूको ज्ञान प्राप्त गर्छौं र नयाँ जानकारीहरू ग्रहण गर्छौं। यस्ता जानकारीका आधारमा हामी सोच्न सक्छौं – “म अरु मानिसमाथि हैकम जमाउन सक्छु। अरु मानिसमाथि शोषण गर्न सक्छु। मसँग यस्तो गजबको बुद्धि र ज्ञान छ, त्यसैले मेरो हकमा सामान्य मानवीय मूल्य मान्यताहरूले धेरै अर्थ राख्दैनन्।” तपाईं धेरै सफल व्यक्ति हुनुहुन्छ भने त झन् त्यस्तो विचार आउन सक्छ। यस्तो खोक्रो सोच तपाईंको मनभित्र आयो भने तपाईंले एक बेग्लै प्रकारको मनोवृत्ति वा धारणा बनाउन सक्नुहुन्छ। अरुमाथि हैकम चलाउन वा शोषण गरेर फाइदा उठाउन सक्छु भन्दै कुनै हिच्किचाहट विना त्यसै गर्न सक्नुहुनेछ।
तर यथार्थमा के हुन्छ भने तपाईं अरुको खुशीलाई बेवास्ता गर्ने खालको जीवन जीउनुहुन्छ भने विस्तारै सबै मानिस तपाईंको दुश्मन बन्दै जानेछन्। त्यस्तो अवस्थामा आफ्नो दायाँ वायाँ अगाडि पछाडि कतैतिर पनि आफूलाई मन पराउने कोही मान्छे पाउनुहुने छैन। एकदम नकारात्मक जीवन बाँचेका कारण तपाईंको मृत्युमा सबैजना खुशी हुनेछन्, तपाईंको अन्त्य आयो भनेर। तपाईं आफैँलाई पनि पछाडि फर्केर हेर्दा कस्तो खालको जीवन बाँचेछु भनेर पश्चात्ताप हुन थाल्नेछ। आफूले बाँचेको जीवनका कारण कसैले पनि वास्ता नगर्दा तपाईंलाई धेरै दिक्क लाग्न थाल्नेछ। यी आधारभूत मानवीय मूल्यहरूलाई बेवास्ता गरेर वास्तविक खुशी पाउँछु र दीर्घकालीन शान्ति पाउँछु भनेर सोच्नु व्यर्थ हुनेछ। यो कुरा छर्लङ्गै छ। मृत्युको बेला कसैले तपाईंको हेरचाह गर्ने छैन, कसैले तपाईंलाई माया गर्ने छैन, र यो संसार छोड्ने बेला नितान्त खाली हात हुनुपर्नेछ। एक चरम खोक्रोपना, चरम निराशाको अवस्था आउनेछ। त्यसैले अन्य चेतन प्राणीहरूको खुशीको वेवास्ता गर्ने जीवन जीउनु भनेको साँच्चिकै मूर्खतापूर्ण काम हो।
यसका विपरीत आफ्नो उत्कृष्ट मानवीय बुद्धि र प्रज्ञाको उपयोग गर्दै यी सारभूत मानवीय मूल्यमान्यताको कदर गर्न र तिनको प्रवर्धन गर्न सक्नुभयो भने तपाईंले मानवीय करुणालाई अनन्तसम्म फैलाउन सक्नुहुनेछ। बुद्धिमान मान्छेले जीउने जीवन भनेको यस्तो हो। यही हो आफ्नो जीवनलाई सार्थक बनाउने सही उपाय।