खुशी के हो?
सबैले आफ्नो जीवनमा खुशीको कामना गर्छन्। प्रश्न उठ्छ – खुशी भनेको के हो?साँच्चिकै स्थायी र भरपर्दो खुशी के हो? यो विषयलाई हामीले गहिरोसँग विचार गर्नु आवश्यक छ। इन्द्रियहरूका माध्यमद्वारा अनुभव गरिने सुख या खुशीले केही हदसम्म संतुष्टि प्रदान गर्छन्। यसमा केही राम्रो देख्ने, राम्रो सुन्ने, मीठो स्वाद या सुगन्ध लिने जस्ता अनुभूति पर्छन्। तर यस्ता इन्द्रियजनित अनुभूतिमा आधारित खुशी एकदमै सतही हुन्छ। जबसम्म सुखसुविधाका माध्यमहरू रहन्छन्, सुखको अवस्था रहन्छ। तर जब कुनै ठूलो व्यवधान उत्पन्न हुन्छ, सुख कता भाग्छ कता। कसैलाई टेलिभिजन हेर्दा सुखको अनुभूति हुन सक्छ। तर टेलिभिजन बन्द भयो भने उनीहरू एक घण्टा पनि टिक्न सक्दैनन्, बोर हुन थाल्छन्। कसै कसैलाई मोजमस्ती गर्ने र संसार डुल्ने सोख हुन सक्छ। उनीहरू विभिन्न ठाउँ घुमिरहन्छन्। नयाँ नयाँ संस्कृति, संगीत, र स्वादहरूको भोगाईमा उनीहरूलाई बडो सुखको अनुभूति हुन्छ। मलाई लाग्छ, मानसिक अभ्यासबाट आन्तरिक शान्ति पाउन नसकेका कारण त्यसरी बाहिर भौंतारिनुपर्ने भैरहेको हो।
यसका विपरीत ती मानिसहरू जो वर्षौदेखि जोगीको जस्तो जीवन विताइरहेका हुन्छन्, तिनीहरू साँच्चिकै सुखमय जीवनको अनुभव गर्छन्। एक पटक मैले बार्सिलोनामा एकजना क्याथोलिक संन्यासीलाई भेटेको थिएँ। उहाँको अंग्रेजी मेरो जस्तै थियो, त्यसैले मैले उहाँसँग गफ गर्ने साहस गरेँ। कार्यक्रमका आयोजकले मलाई बताएअनुसार उहाँले पहाडमा पाँच वर्ष संन्यासीको जीवन विताउनुभएको थियो। मैले उहाँलाई पहाडमा के गर्नुभयो भनेर सोधेँ। उहाँको उत्तर थियो – प्रेमका बारेमा चिन्तन गरेँ, र प्रेमकै बारेमा ध्यान साधना गरेँ। त्यसो भनिरहँदा उहाँको आँखामा एक विशेष प्रकारको भाव थियो। उहाँको चित्त साँच्चिकै शान्त भएको कुरा स्पष्टै झल्किन्थ्यो। चित्तको शान्ति इन्द्रिय विषय भोगबाट नभई निश्चित जीवन मूल्यहरूको विकासद्वारा प्राप्त गर्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण उहाँ हुनुहुन्थ्यो। प्रेमको बारेमा निरन्तर चिन्तन गरेका कारण उहाँ भित्रैबाट साँच्चिकै विश्रामको अवस्थामा हुनुहुन्थ्यो।
आजकल प्रवचनका क्रममा म जहिले पनि भन्ने गर्छु – भौतिक उन्नति शारीरिक सुखसुविधाका लागि धेरै आवश्यक छ। तर त्यस्तो भौतिक साधनले चित्तको वास्तविक शान्ति कहिल्यै प्रदान गर्दैन। कहिलेकाहीँ मानिसहरू धनी सँगसँगै लोभी पनि हुन्छन् र त्यसकारण तनावमा हुन्छन्। परिणामतः मानिस दुःखी हुन पुग्छ। त्यसैले, जीवनमा खुशी चाहिन्छ भने भौतिक मूल्यमा मात्र धेरै भर नपर्नु। भौतिक साधन चाहिन्छन्, तर त्योसँगै हामीले आफ्नो आन्तरिक मूल्यहरूलाई पनि गम्भीरतापूर्वक लिनु पर्छ। हामी धार्मिक आस्थावान भए पनि नभए पनि मानव भएका नाताले हामीलाई आन्तरिक शान्ति आवश्यक हुन्छ।
चित्तशान्ति र सबल स्वास्थ्य
वैज्ञानिकहरूको अध्ययन अनुसार अत्यधिक तनावले रक्तचाप सम्बन्धी र अन्य अनेक प्रकारका समस्याहरू उत्पन्न गराउँछ। चिकित्सा वैज्ञानिकहरूको भनाई अनुसार निरन्तरको डर, रिस, र घृणाले हाम्रो रोग प्रतिरोधात्मक क्षमता नष्ट हुन्छ। त्यसैले राम्रो स्वास्थ्यका लागि चित्तको शान्ति सबैभन्दा महत्वपूर्ण कारक तत्त्वमध्ये एक हो, किनकि स्वस्थ मन र स्वस्थ शरीरको बीच गहिरो सम्बन्ध हुन्छ। मेरो आफ्नै एक अनुभव छ। दुई वर्षअघि एक पत्रकार भेटघाटका बेला एक मीडियाकर्मीले मलाई मेरो पुनर्जन्मबारे प्रश्न सोध्नुभयो। मैले ठट्टाको अन्दाजमा उहाँलाई हेरेँ। आफ्नो चश्मा फुकालेँ, र सोधेँ – “मेरो अनुहार हेर्दा तपाईंलाई के लाग्छ? मेरो पुनर्जन्म अविलम्ब हुनु पर्ला कि नपर्ला?” उहाँले जवाफ दिनुभयो – कुनै हतार छैन!
हालै म युरोपमा थिएँ। केही पुराना मित्रहरू मेरो पुराना फोटाहरू हेर्दै तुलना गर्दै हुनुहुन्थ्यो। बीस वर्ष, तीस वर्ष, चालिस वर्ष पुरानो फोटो हेर्दै भन्दै हुनुहुन्थ्यो, म अझै युवा नै देखिन्छु अरे। मेरो जीवनको घटनाक्रम हेर्ने हो भने केही अत्यन्तै कठिन र समस्यापूर्ण समय मैले पार गरेको छु। मलाई अशान्त बनाउने, निराशा र एकाकीपनतर्फ धकेल्ने थुप्रै कुराहरू भएका छन्। तर मलाई लाग्छ मेरो चित्त अपेक्षाकृत शान्त नै छ। कहिलेकाहीँ मेरो पारा तात्छ, तर प्रायःजसो मेरो मानसिक अवस्था शान्तिपूर्ण हुन्छ।
मलाई ती युवतीहरूलाई गिज्याउन मन लाग्छ जो सौन्दर्य प्रशाधनमा धेरै नै पैसा खर्च गर्छन्। पहिलो त, तपाईंको श्रीमानले धेरै पैसा खर्चेकोमा गाली गर्नेछन्। बाहिरी सौन्दर्य राम्रो कुरा हो, तर भित्री सौन्दर्य चाहिँ त्योभन्दा धेरै महत्वपूर्ण हुन्छ। तपाईंको मुहार सुन्दर हुन सक्छ, तर नमिलेको अनुहारमा पनि यदि मेकअप छैन तैपनि इमानदार मुस्कान र प्रेम छ भने त्यो राम्रो देखिन्छ। हामी भित्रका मूल्यहरू नै वास्तविक सौन्दर्य हुन्। बाहिरी कुराका लागि धेरै पैसा चाहिन्छ। अझै ठूलाठूला पसलहरू र सुपर मार्केटहरू चाहिन्छन्। तर भित्री शान्तिका लागि कुनै पैसा चाहिन्न। त्यस्ता आन्तरिक मूल्यहरूका बारेमा सोच्नुहोस्, र आफूलाई त्यसमा अभ्यस्त बनाउनुहोस्। त्यसो भएमा नकारात्मक प्रवृत्तिहरूको विस्तारै विस्तारै समन हुन थाल्छ। यसले आन्तरिक शान्ति ल्याउँछ।
अरुको भलाईको चाहना र करुणापूर्ण दृष्टिकोण राख्नाले आत्मविश्वासको उदय हुन्छ। आत्मविश्वास भयो भने तपाईंले आफ्ना सबै कर्तव्य पारदर्शी ढंगले, सत्यनिष्ठापूर्वक र इमानदारीपूर्वक गर्न सक्नुहुनेछ। त्यसबाट अरुको विश्वास जितिनेछ, जुन मित्रताको आधार बन्छ। हामी मानवजाति सामाजिक प्राणी हौं। हामीलाई मित्रहरू चाहिन्छन्। पैसा र शक्तिले मात्र मित्रहरू बन्दैनन्, न त शैक्षिक योग्यताले वा ज्ञानले। मित्रताका लागि चाहिने सबैभन्दा महत्वपूर्ण कुरा विश्वास हो। अन्य मानिसको जीवन तथा कल्याण प्रति सरोकार र सम्मानको भाव भयो भने परस्पर संवाद शुरु हुन सक्छ।