भौतिकवादको सामना कसरी गर्ने

भौतिक वस्तुहरूले भौतिक सुख प्रदान गर्न सक्छन्, मानसिक होइन। भौतिकवादी मानिसको र हाम्रो मस्तिष्क उस्तै हुन्छ। हामी दुवै मानसिक पीडा, एक्लोपन, डर, शंका, ईर्ष्या आदिको अनुभव गर्छौं। यी मनोभावहरूले सबैको चित्तलाई विचलित पार्छन्। तर यिनलाई पैसाले हटाउन सकिँदैन। तनावग्रस्त विचलित चित्तका कारण कतिपय मानिस विभिन्न औषधिको सेवन गर्छन्। यसले केही समयका लागि तनावबाट मुक्ति दिन्छ, तर यसका प्रतिकूल असरहरू धेरै हुन्छन्। तपाईंले मनको शान्ति पैसाबाट किन्न सक्नुहुन्न। सबैलाई मनको शान्ति नै चाहिन्छ, तर कसैले शान्ति बेच्न सक्दैनन्। कतिपय मानिस निंद्रा लगाउने औषधिको सेवन गर्छन्। तर साँच्चिकै फाइदा गर्ने औषधि त्यो होइन, करुणा हो। त्यसैले भौतिकवादी मानिसका लागि करुणाको आवश्यकता छ।

शारीरिक स्वास्थ्यका लागि चित्तको शान्ति सर्वोत्तम औषधि हो। यसले शारीरिक अंगहरूमा पनि सन्तुलन ल्याउँछ। राम्रो गहिरो निंद्रा पनि यसमा सहयोगी हुन्छ। हामी शान्त चित्तका साथ सुत्यौं भने छट्पटी हुँदैन र निंद्राको औषधि पनि चाहिँदैन। आफ्नो अनुहार राम्रो होस् भन्ने चाहना सबैको हुन्छ। तर तपाईंलाई रिस उठिरहेको छ भने अनुहारमा जतिसुकै रंग दले पनि राम्रो देखिँदैन, तपाईं कुरुप नै देखिनुहुन्छ। तर तपाईं रिसाउनुहुन्न र मुखमा मुस्कान छ भने त्यसै राम्रो र आकर्षक देखिनुहुनेछ।

तपाईंले करुणाको अभ्यास राम्रोसँग गर्नुभएको छ भने रिस उठेपनि धेरै समय टिक्दैन। यो हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सुदृढ हुनुजस्तै हो, भाइरसले आक्रमण गरेपनि धेरै फरक पर्दैन। त्यसैले हामीले दृष्टिकोण फराकिलो बनाउँदै करुणाको अभ्यास गर्नु आवश्यक छ। साथै सम्पूर्ण मानवजातिको अन्तरसम्बन्धबारे चिन्तन र विश्लेषण गर्दै गयौं भने हामी अझ सबल बन्छौं।

हामी सबैसँग राम्रोपनको उत्तिकै सम्भाव्यता छ। त्यसैले एकपटक आफैंलाई हेरौं। आफ्ना सबै सकारात्मक क्षमताहरूबारे विचार गरौं। नकारात्मक पक्ष पनि होलान्, तर राम्रो चीजका लागि पनि धेरै सम्भाव्यता छ। मानवजातिको मूल स्वभाव हेर्ने हो भने नकारात्मकभन्दा सकारात्मक पक्ष बढी छ। हाम्रो जीवन नै करुणाबाट शुरु हुन्छ। त्यसैले मानिसमा रिसको बीऊभन्दा करुणाको बीऊ शक्तिशाली हुन्छ। आफूप्रति सकारात्मक दृष्टि राखौं। यसले चित्तलाई शान्त गर्न सहयोग गर्छ। र, समस्याहरूको सामना सजिलै गर्न सकिन्छ। 

महान् भारतीय आचार्य शान्तिदेवले लेख्नुभएको छ – समस्या आउन लागेको खण्डमा त्यसको विश्लेषण गरौं। त्यसलाई रोक्न सकिन्छ वा कुनै समाधान छ भने चिन्ताको विषय नै भएन। यदि समाधान छैन भने पनि चिन्ता गरेर केही फाइदा हुनेवाला छैन। त्यसैले वास्तविकतालाई स्वीकार गरौं।

Top