संसार कसरी परिवर्तन गर्ने

How%20to%20change%20the%20world

परिचय

तपाईं एक अभियन्ता हुनुहुन्छ! बधाई छ। एक अर्थमा, बुद्ध पनि अभियन्ता नै थिए। उहाँको जीवनीले देखाउँछ कि उहाँ पनि आफ्नो समयमा संसारको अवस्थाबाट दिक्क भइसकेका थिए। युवावस्थाको धेरैजसो समय उहाँ आफ्ना बुवाको दरबारमा सुरक्षित रूपमा बिताउनु भएको थियो, तर जब उहाँ पहिलो पटक दरबार बाहिर जानु भयो, तबमात्र उहाँले दरबारका पर्खलहरूभन्दा बाहिरको अथाह दुःख र पीडाको बारेमा थाहा हुनु भयो, ठीक तपाईंले आज समाचार हेर्दा महसुस गर्नुभएको जस्तै। 

यद्यपि दुःखको सामना गर्दा बुद्धको आरामदायक संसारको दृष्टि चकनाचूर भयो, तर यसले उहाँलाई डर वा उदासीनतामा फर्काएन। वास्तवमा, बुद्धको प्रतिक्रिया एक कार्यकर्ताको जस्तै बन्यो, सबै जीवित प्राणीहरूको दुःखको अन्त्य गर्न लागिपर्नुभयो। त्यसैले, बुद्ध र उहाँको शिक्षाले आजको अस्थिर राजनीतिक अवस्था र मानवीय मूल्यहरूको क्षय भइरहेजस्तो देखिएको संसारमा बाँचिरहेका धेरै युवाहरूले अनुभव गर्ने तिव्र आवश्यकतालाई प्रत्यक्ष सम्बोधन गर्छन्।

संसारलाई कसरी परिवर्तन गर्ने

त्यसो भए, बौद्ध धर्मको अनुसार हामी संसारलाई कसरी परिवर्तन गर्छौं त?

बौद्ध दर्शनको अन्वेषण गर्दा, हामीले उत्तरका विभिन्न पक्षहरू देखा पर्न थाल्छन्। पहिलो कुरा त, संसारको अवस्थाबाट दिक्क लाग्नु आफैंमा नराम्रो कुरा होइन। बल्कि ठीक उल्टो हो। बौद्ध धर्ममा, हामी यस्तो मोडलाई "वैराग्य" भन्छौं – जब हामीले सबै कुरा देखेका छौं र हाम्रो असहजता कम गर्न प्रयास गर्ने सामान्य तरिकाहरू अब काम नलाग्ने महसुस हुन्छ। त्यसैले, हामी सक्रिय रूपमा फरक दृष्टिकोण खोज्न थाल्छौं।

बुद्धले पाएको समाधान एकदम क्रान्तिकारी थियो। उहाँले प्रश्नलाई लिएर एउसटा क्रान्तिकारी अभिव्यक्ति दिनुभयो: यदि तपाईं संसारलाई परिवर्तन गर्न चाहनुहुन्छ भने, पहिले आफैंलाई परिवर्तन गरेर सुरु गर्नुहोस्। पहिलो चरण भनेको हामीले "म" भन्ने संकुचित धारणालाई केही धेरै महान् कुरामा परिवर्तन गर्नु हो।

जब हामी आफैंको यो महान् संस्करणको रूपमा, हामी संसारलाई यो सानो "म" का लागि नभएर सबैका लागि परिवर्तन गर्न चाहन्छौं। यो सुन्नमा निकै ठूलो कुरा लाग्न सक्छ, हैन र? तर यसैसँग, अन्तिम लक्ष्य सबैको दुःखको अन्त्य गर्नु भन्दा कम केही हुँदैन: भोकमरी, युद्ध, बिरामी, सबै मानसिक असहजता र पीडाको दुःख सबै कुरा। यस विस्तृत दृष्टिकोणले केवल आफ्नो स्वार्थका लागि, आत्मकेन्द्रित भएर संसार परिवर्तन गर्ने सोचबाट टाल्छ। बुद्ध धर्मका ग्रन्थहरूमा यस्तो व्यक्तिलाई “बोधिसत्त्व” भन्छन्, जसले सम्पूर्ण प्राणीहरूलाई दुःखबाट मुक्त गराउन र उनीहरूलाई बोधिस्थितितर्फ लैजान खोज्छन्, र जसको मन असीम करुणाले भरिएको हुन्छ। हामी सबै समान रूपमा सुखी हुन चाहन्छौं, र कोही पनि दुःखी हुन चाहँदैन। त्यसैले, संसारलाई परिवर्तन गर्ने हाम्रो प्रयास केवल आफ्नै लागि होइन, सबैको हितका लागि हुनु अत्यावश्यक हुन्छ।

शून्यता र पारस्परिक निर्भरता

त्यसोभए, बोधिसत्त्वले संसार परिवर्तन गर्न कसरी लाग्छ त?

बोधिसत्त्वले संसार सुधार गर्न कसरी काम गर्छ भन्ने बारेमा बौद्ध धर्मको क्रमिक मार्ग शिक्षाहरूमा धेरै कुरा बताइन्छ। तर तपाईंलाई थोरै झल्को दिनका लागि, हामी “म कसरी संसार परिवर्तन गर्न सक्छु?” भन्ने प्रश्नलाई मोडेर सोध्छौं — यो “म” भन्ने आखिर को हो वा के हो? अनि “संसार” भन्नाले वास्तवमै के जनाइएको हो?  बौद्ध धर्मको दृष्टिकोणबाट “संसार” र “म” स्थिर वा निश्चित छैनन् भन्ने कुरा देखाउँछ। बुद्धले हामीहरूलाई आफ्ना धारणाहरूलाई प्रश्न गर्न प्रोत्साहन गर्नुभएको थियो। उहाँले पत्ता लगाउनुभयो कि जब हामी “म” भन्ने कुरालाई विश्लेषण गर्छौं, तब हाम्रो शरीर वा मनमा कुनै पनि एकल, ठोस अंश फेला पार्न सक्दैनौं जुन वास्तवमा “आत्मा” हो भनेर चिनिन्छ। र जब “म” स्थिर वा स्वतन्त्र छैन भने, हामीले परिवर्तन गर्न खोजिरहेको “संसार” पनि स्थिर र अपरिवर्तनीय कसरी हुन सक्छ? हामीले जति गहिरो रूपमा विश्लेषण गर्छौं, उति नै हामी बौद्ध धर्मका केन्द्रीय शिक्षाहरू — शून्यता (emptiness) र प्रतीत्य समुत्पाद (dependent origination) सँग परिचित हुन्छौं। शून्यता भन्नाले कुनै पनि चीजको आफ्नै बलमा कायम रहेको अस्तित्व हुँदैन भन्ने हो, र प्रतित्य समुत्पाद भन्नाले केवल केही कुरामा नभई, सबै कुरा अनगिन्ती कारण र सन्दर्भहरूमा निर्भर भएर उत्पन्न हुन्छन्। यो बुझेपछि, आफू, संसार वा आफूले गरिरहेको कार्यलाई लिएर ठूलो कुरा नगरीकन हामी जे सक्छौं, त्यति मात्र योगदान दिन्छौं ।

के बुद्ध असफल भए?

यहाँ एक निकै चुनौतीपूर्ण प्रश्न उठ्छ। बुद्धले आफ्नो अपार करुणा र प्रज्ञाको आधारमा सबै प्राणीहरूको कल्याणका लागि सर्वोच्च बोधि प्राप्त गर्नुभयो। तर अहिले वरिपरि हेर्नुस्, युद्धहरू अझै भइरहेकै छन्, अन्याय जारी छ, र हामीले जहाँ हेरे पनि दुःख देख्न सक्छौं। त्यसो भए, त्यो महान् बुद्ध-अभियन्तालाई के भयो? यदि बुद्धको लक्ष्य सबै प्राणीहरूलाई दुःखबाट मुक्त गराउनु थियो भने, हामी कसरी भन्न सक्छौं कि उहाँ सफल हुनुभयो?

यो अत्यन्त महत्वपूर्ण एउटा प्रश्न हो, र यसको उत्तरको गहिराइ बुद्धको शिक्षालाई आफु कति गहिराईले बुझिएको छन् भन्ने कुरामा निर्भर हुन्छ। बुद्धले संसारलाई एकै रातमा रूपान्तरण गर्नुभएको थिएन — र वास्तवमा गर्न सक्नुहुन्थेन पनि — यो कुनै जादुको छडी हल्लाएर हुने कुरा थिएन। तर, अन्य महान् अभियन्ताहरू — जस्तै गान्धी वा मार्टिन लुथर किङ — जस्तै, बुद्धको प्रभाव तत्काल परिणामबाट होइन, संसारका चुनौतीहरूसँग जुध्ने एकदमै नयाँ दृष्टिकोण प्रस्तुत गरेर आयो। परस्परिक निर्भरताको विशाल जालभित्र हामी भन्न सक्छौं कि बुद्धका गहिरा अन्तर्दृष्टिहरूद्बारा संसारलाई पहिले नै परिवर्तन गरिसकेका छन्। निस्सन्देह, अझै पनि हामी प्रत्येक व्यक्तिले ती शिक्षाहरू अपनाउन र अभ्यास गर्न आवश्यक छ। तर ती सबै कुराहरू अहिले पनि हाम्रो सामु उपलब्ध छन् — बुद्धले यो दुःखले भरिएको संसार परिवर्तन गर्न एक शक्तिशाली उपकरणहरूको संग्रह दिएका छन्, जुन सबैले जुनसुकै समयमा प्रयोग गर्न सक्नुहुन्छ। 

यदि हामी अझ गहिरो रूपमा हेर्छौं भने, बुद्धले यसो पनि भन्नुहुन्थ्यो कि “संसार” भन्नाले एउटा मात्र चीज जनाइँदैन। यसभन्दा पहिले पनि थुप्रै संसारहरू भइसकेका छन्, र भविष्यमा पनि धेरै संसारहरू आउनेछन्। केही शिक्षाहरूले त यो पनि भन्छन् कि अहिले नै अनगिन्ती समानान्तर ब्रह्माण्डहरू (multiverses) विद्यमान छन्। हाम्रो संसारको अवस्था — वा सम्भावित कुनै पनि संसारको अवस्था — स्थिर छैन, र न त यसको भविष्य नै निश्चित छ। तर एउटा कुरा भने निश्चित छ — संसार सधैं परिवर्तनशील छ, त्यसैले हामीले त्यसमा पुर्‍याएको कुनै पनि सकारात्मक प्रभाव अमूल्य हुन्छ। र हाम्रो भौतिक कार्यहरू मात्र महत्त्वपूर्ण छैनन्, किनभने परिवर्तन सधैं बाहिरी घटनाबाट मात्र आउँदैन। बौद्ध शिक्षाको दृष्टिमा मानसिक गतिविधि — हाम्रो विचारहरू, आकांक्षाहरू, र मनसायहरू — पनि हाम्रा कार्यहरू जत्तिकै शक्तिशाली हुन्छन्।

प्रबोधनले सबै कुरा परिवर्तन गर्छ। 

अन्ततः, जब कसैले पूर्ण बोधि प्राप्त गर्छ, त्यसपछि सबै समीकरण नै पूर्ण रूपमा परिवर्तन हुन्छ। पूर्ण रूपमा प्रबुद्ध बुद्धको गतिविधि समय, स्थान वा देखिने-नदेखिने सीमितताले बाँधिएको हुँदैन। उनिहरूले दिनु भएको सहायता प्रायः मानव आँखामा स्पष्ट नहुन सक्छ,  तर यो जेसुकै भए पनि  निरन्तर भइरहन्छ। 

त्यसैले, सायद हाम्रो सुरुको प्रश्नको उत्तर त्यति जटिल छैन। साँच्चिकै परिवर्तन तब सुरु हुन्छ, जब हामी आफ्नो दृष्टिकोणलाई फराकिलो बनाउँछौं, र जब हामी “म” र “संसार” अनगिन्ती सम्भावनाहरूको साथमा अन्तरसम्बन्धित छन् र सधैं परिवर्तनशील अवस्थाबाट गुज्रिरहेका छन् भन्ने कुरा बुझ्छौं। बुद्धले देखाउनुभयो कि परिवर्तन वास्तवमै भित्रबाट सुरु हुन्छ, तर त्यहीँ अन्त्य हुँदैन। यदि हामीले पनि करुणा र प्रज्ञाका ती अद्भुत गुणहरू विकास गर्‍यौं भने, हामी साँच्चै दिगो परिवर्तन ल्याउन सक्छौं। र यदि मार्ग कठिन लाग्छ भने? त्यसो भए तपाईं ठ्याक्कै त्यही ठाउँमा हुनुहुन्छ जहाँ बुद्ध एक पटक हुनुहुन्थ्यो, र त्यही स्थान हो जहाँबाट यात्रा सुरु गर्न सबैभन्दा उपयुक्त हुन्छ।

Top