बुद्धधर्मलाई अक्सर ध्यानसँग जोडेर हेर्ने गरिन्छ। तर यसले जीवनका विविध आयाममा हेर्ने अन्तर्दृष्टि पनि प्रदान गर्छ जसलाई हामी जुनसुकै क्षेत्रमा उपयोग गर्न सक्छौं। हामी यहाँ केही बौद्ध सिद्धान्तहरूको चर्चा गर्नेर्छौं जसलाई कुनै पनि परियोजना वा व्यवसायमा प्रयोग गर्न सकिन्छ।
लक्ष्य निर्धारण गरौं
बुद्धधर्मले कुनै पनि बौद्ध अभ्यास शुरु गर्नुअघि त्यसको लक्ष्य र दिशाको स्पष्ट ज्ञान हुनुपर्ने कुरामा अत्यन्तै जोड दिएको छ। हाम्रो लक्ष्य भनेको अशान्तकारी मनोभावहरूबाट पूर्ण मुक्त भई आफ्नो चित्त र हृदयको सम्पूर्ण क्षमता हासिल गर्नु हो। यस्तो उच्चतम अवस्थालाई “बोधि” प्राप्त भएको अवस्था भनिन्छ।
त्यस्तै हामीले कुनै परियोजना वा व्यवसाय शुरु गर्नुअघि त्यसको लक्ष्य निर्धारण गर्नु एकदमै जरुरी छ। त्यो लक्ष्य नाफा कमाउने हो?वा, आफ्ना ग्राहकलाई लाभ हुने कुनै सेवा दिने वा उनीहरूको कुनै समस्याको समाधान गरिदिने हो?जति स्पष्टसँग लक्ष्य निर्धारण गरिन्छ, त्यत्ति नै सजिलो गरी त्यो लक्ष्यसम्म पुग्ने बाटो निर्धारण गर्न सकिन्छ। त्यसो हुँदा हामी साँच्चिकै लक्ष्यमा पुग्ने संभावना बढ्छ।
कार्य–कारणको सिद्धान्त अपनाऔं
लक्ष्य निर्धारण गरिसकेपछि त्यहाँसम्म पुर्याउने उपायहरूको खोजी गर्नुपर्छ। बोधि प्राप्त गर्नका लागि अपनाउनु पर्ने उपायहरूमा विनाशकारी व्यवहार बन्द गर्नु र चित्तका असल गुणहरूको विकास गर्नु आउँछन्। साथै हामीले विश्वप्रति राख्ने दृष्टिकोण र गर्ने व्यवहार सकारात्मक र यथार्थवादी हुनु आवश्यक हुन्छ।
कुनै व्यावसायिक परियोजनाका हकमा पनि हामीले तर्कपूर्ण विश्लेषणबाट आफ्नो अन्तिम लक्ष्यमा पुर्याउने उपायहरू निर्क्यौल गर्नुपर्छ। यो विपरीत यन्त्रशास्त्र (रिवर्स इन्जिनियरिङ) जस्तो हो। निर्धारित लक्ष्यमा पुग्न सहयोग गर्ने कारक तत्त्वहरू के हुन सक्लान् भनी हामी तार्किक विश्लेषणबाट पछाडितर्फ 'ट्रेस' गर्न शुरु गर्छौं। यो प्रक्रियाले निर्धारित लक्ष्य प्राप्तिका लागि आवश्यक चरणहरू परिभाषित गर्न मद्दत गर्छ र आफ्नो परियोजनाको मार्गचित्र बनाउन सहयोग गर्छ।
करुणाः सेवाग्राहीको समस्या समाधान गरौं
करुणा बुद्धधर्मको सबैभन्दा प्रमुख सिद्धान्तहरूमध्ये एक हो। बुद्धको शिक्षाअनुसारः
करुणा भनेको अरुको दुःखमुक्तिको कामना हो।
व्यवसायको हकमा यसलाई कसरी बुझ्ने? कुनै पनि व्यवसायले आफ्नो ग्राहकको समस्या समाधान गर्छ। जुन व्यवसायले आफ्ना प्रतिस्पर्धीले भन्दा राम्रोसँग समस्याको समाधान गरिदिन सक्छ, उसले व्यापारको दौड जित्छ। त्यसैले आफ्ना सम्भावित ग्राहकका समस्या सम्बन्धमा जानकारी हुनु र उनीहरूप्रति समानुभूति राख्नु आवश्यक हुन्छ। आफ्ना लक्षित ग्राहकले जीवनमा भोगिरहेका वास्तविक समस्याको ख्याल गर्दै ती समस्याको सबैभन्दा उत्तम समाधान प्रस्तुत गर्न प्रयास गर्नुपर्छ। यस्तो ग्राहक–केन्द्रित वा उपभोक्ता–केन्द्रित व्यवसायको आधारशीला भनेको करुणा हो।
अनित्यताः परिवर्तनशील संसारको नियमअनुसार चलौं
बौद्ध विश्लेषणले हाम्रा सामु संसारको एक अर्को महत्वपूर्ण तथ्य उजागर गरेको छ। सबै चीज निरन्तर परिवर्तन भैरहेको हुन्छ – हामी आफैं, हाम्रो वातावरण, र हाम्रा वरिपरिका सबै मानिसहरू। कुनै चीजलाई स्पष्ट र ठोस भन्ठान्न र त्यसैमा अल्झेर बस्न हामीलाई स्वभावतः सजिलो लाग्छ। तर यो स्वभाव नै संकुचित सोच, जिद्दीपना र जडताको कारण बन्न पुग्छ।
नेटफ्लिक्सको उदाहरण लिऊँ। इन्टरनेटका कारण मानिसहरूले मिडिया उपभोग गर्ने शैलीमा परिवर्तन भैरहेको यो कम्पनीका संस्थापकहरूले बुझे। पुरानो सोचअनुसार गएको भए भिडियो हेर्नका लागि डिभिडी भाडामा दिने कुरा सोचिन्थ्यो होला। तर त्योभन्दा सजिलो तरीका भिडियो स्ट्रिमिङ् हुन सक्छ भन्ने नेटफ्लिक्सका संस्थापकहरूले बुझे। अन्य कुनै मिडिया उद्योगीले बजार र उपभोक्ताको रोजाई बदलिँदै गरेको ठम्याउन सकेनन्। नेट्फ्लिक्स यो कुरा बुझ्ने पहिलो कम्पनी बन्यो, र यसले सम्पूर्ण मिडिया उद्योगलाई नै सधैँका लागि परिवर्तित गरिदियो।
नैतिकताः आफू, आफ्नो टीम र उपभोक्ताप्रति सम्मान गरौं
बौद्ध नीतिशास्त्र अहिंसाको सिद्धान्तमा आधारित छ। सबैजना खुशी हुन चाहन्छन्, कोही पनि दुःखी हुन चाहँदैन। यो कुरा बुझेर हामी अरुलाई हानि पुग्ने कुनै काम गर्दैनौँ। यसबाट हामी सबैको भरोसा र सम्मान जित्न सक्छौं।
आफ्ना सहकर्मीहरूको सम्मान गर्यौं भने टीममा विश्वास र समझदारीको वातावरण बन्छ। सम्मान गर्ने बानी भयो भने हामी उनीहरूको अगाडि वा पछाडि कुनै नराम्रो कुरा गर्दैनौं र पारदर्शी व्यवहार गर्छौं। त्यस्तै हामी आफ्ना ग्राहकको जत्ति धेरै सम्मान गर्छौं, हामीप्रति उनीहरूको विश्वास र निष्ठा पनि उत्तिकै बढी हुन्छ। ज्यापोसजस्ता ठूला कम्पनीहरूले आफ्नो व्यावसायिक मोडेल ग्राहकको आवश्यकताहरूप्रति सम्मान र आफ्ना कर्मचारीहरूप्रति समानता र पारदर्शिताको आधारमा बनाएका हुन्छन्।
सारांश
माथिका ५ बौद्ध सिद्धान्तहरूको उपयोगबाट हामी आफ्नो व्यवसायलाई सुदृढ बनाउन सक्छौं। संक्षेपमा, ती हुन् :
- लक्ष्य निर्धारण गर्ने
- कार्य–कारणको नियम आत्मसात गर्ने
- उपभोक्ताप्रति समानुभूति र करुणापूर्ण व्यवहार गर्ने
- अनित्यताप्रति सजग हुने, लचिलो हुने तथा नवीनताको सोच राख्ने
- नैतिक व्यवहार गर्ने र सहकर्मी तथा उपभोक्ताको सम्मान गर्ने