ईर्ष्याका कारण हामीलाई शंकाले घेर्छ – कतै मेरो साथी वा जीवनसाथीले मलाई छाडेर हिँड्ने त होइन? यसले हाम्रो सम्बन्धमा असर पार्छ र हाम्रो मानसिक शान्ति हराउनेछ। हामी जति ईर्ष्यालु हुन्छौं वा अधिकार देखाउन थाल्छौं, त्यति हाम्रा साथी हामीबाट टाढिन खोज्छन्। हामीसँग असंख्य मानिसलाई वा चीजहरूलाई प्रेम गर्नसक्ने क्षमता छ भन्ने बोध भएपछि हामी ईर्ष्याबाट माथि उठ्न सक्छौं। आफ्ना साथीहरू, पेशा, खेलकूद, वा त्यस्तै अन्य धेरै कुराहरूसँग हामी प्रेम गर्न सक्छौं, तर त्यसले न त हामीले आफ्नो जीवनसाथीलाई गर्ने माया कम हुन्छ, न उसले हामीलाई गर्ने। बरु यसले उल्टै मायालाई बढाउन सघाउँछ।
ईर्ष्या कि डाहा?
ईर्ष्याका विभिन्न रूप हुन सक्छन्। हामी एक्लो छौं भने कुनै जोडी देखेर ईर्ष्याले भरिन सक्छौं वा अरुसँग सम्बन्धमा भैरहेको कसैसँग आकर्षित हुन सक्छौं। खासमा यो डाहा हो। हामी चाहन्छौं, त्यो व्यक्तिको माया वा ध्यान आफूप्रति आकर्षित होस्। अथवा, त्यस्तै खालको राम्रो सम्बन्ध मेरो पनि होस्। दुवै मामिलामा हामी आफूसँग नभएको कुरालाई लिएर डाहाले जल्छौं। यसले आफूमा भएको कमीकमजोरी र कमजोर आत्मसम्मानका धेरै जटिलताहरू सतहमा ल्याइदिन्छ।
सम्बन्धमा ईर्ष्या
हामी कसैसँग (विवाह वा प्रेमको) सम्बन्धमा रहेछौं भने ईर्ष्याले झनै विचलित गराउँछ। हामी साथी र तेश्रो व्यक्तिको बारेमा मात्र सोच्छौं। आफ्नो विशेष सम्बन्ध त्यो तेश्रो व्यक्तिले खोसिदिने हो कि भन्ने डरले सताउँछ। उसँग प्रतिस्पर्धा गर्नुपर्ने वा धोका पाइने सम्भावनाले हाम्रो सुखचैन खोस्छ। उदाहरणका लागि, हाम्रो जीवनसाथीले आफ्ना साथीहरूसँग धेरै समय बिताउँछन् वा एक्लै एक्लै कुनै कार्यक्रममा भाग लिन्छन् भने हामीलाई ईर्ष्या हुन सक्छ। यस्तो ईर्ष्या मानिसले मात्र होइन जनावरले पनि अनुभव गर्छन्। जस्तै, घरमा नयाँ बच्चा आउँदा पालेको कुकुरलाई ईर्ष्या हुन्छ। यो खालको ईर्ष्यामा असुरक्षा र अविश्वासको भाव त प्रबल रूपमा हुन्छ नै, आक्रोश र शत्रुताको भाव पनि हुन्छ।
असुरक्षाको भाव छ भने आफ्नो जीवनसाथी वा मित्रलाई अरुसँग देख्नासाथ हामीमा ईर्ष्या जाग्न थाल्छ। आफ्नै योग्यताबारे शंका हुन्छ, र साथीले आफूप्रति गर्ने प्रेममा भर हुँदैन। उसलाई विश्वास गर्न सक्दैनौं। उसले आफूलाई छाडेर जाला कि भन्ने डर लाग्न थाल्छ। यस्तो डर उसले अरुसँग समय बिताउँदा मात्र होइन, नबिताउँदा पनि हुन सक्छ। उसले कुनै बेला पनि छाडेर हिँड्ला भन्ने त्रासमा हामी उमाथि एकदमै अधिकार जमाउन थाल्छौं।
ईर्ष्याबाट मुक्ति
ईर्ष्याबाट मुक्तिका लागि प्रथमतः हामीले सबैलाई प्रेम गर्नसक्ने मानव हृदयको क्षमताबारे जान्नुपर्छ। यो हामी सबैमा हुने बुद्धस्वभाव (तथागतगर्भ) को एक अभिव्यक्ति हो। यो तथ्यलाई राम्रोसँग ग्रहण गर्न सक्यौं भने हामीलाई यो बुझ्न गाह्रो हुँदैन कि एक जनालाई प्रेम गर्दैमा त्यसबाट अरुलाई वञ्चित गर्नु पर्दैन। आफ्नै बारेमा सोचौं – हामी एकैपटक कति मानिस र चीजलाई प्रेम गर्न सक्छौं! हृदय खुला भयो भने हाम्रो प्रेम आफ्नो जीवनसाथी, साथीहरू, बालबालिका, मातापिता, घरमा पालेका जनावर, देश, प्रकृति, ईश्वर, आफ्ना रुचिहरू र सबैका लागि हुन सक्छ। हाम्रो हृदयमा सबैका लागि प्रेम हुनसक्छ, किनकि प्रेमले कसैलाई बहिस्कार गर्दैन। हामी सबै पात्रहरूसँग प्रेमपूर्ण सम्बन्ध राख्न र व्यवहार गर्न उत्तिकै सक्षम छौं, र हरेकका लागि अलग अलग तथा उपयुक्त प्रकारका भाव प्रकट गर्न सक्छौं। पक्कै पनि आफ्नो कुकुरलाई गरिने प्रेम श्रीमान् अथवा श्रीमतीलाई गरिने अथवा आफ्ना मातापितालाई गरिने प्रेमभन्दा फरक हुन्छ।
हाम्रो हृदय खुला भयो भने जीवनसाथीको वा साथीको पनि खुला हुन सक्छ। हरेक मानिसमा हृदयलाई विस्तार गर्ने र असंख्य मानिस, चीजहरू, तथा सम्पूर्ण विश्वलाई नै प्रेम गर्नसक्ने उस्तै क्षमता हुन्छ। उनीहरूले मलाई मात्र प्रेम गर्नुपर्छ, अरु कसैसँग प्रेमपूर्ण मित्रता राख्न वा अरु केहीमा रुचि राख्न पाउँदैनन् भन्ने सोच्नु वा त्यस्तो अधिकार देखाउन खोज्नु अन्यायपूर्ण र अव्यावहारिक हुन्छ। आफ्नो अलावा अरु कसैका लागि पनि हृदयमा कुनै ठाउँ बनाउनै नपाउने गरी आफ्नो साथीलाई खुम्च्याउन तपाईंलाई ठीक लाग्छ? प्रेमपूर्ण व्यवहार गर्नसक्ने र जीवनका उच्चतम खुशी प्राप्त गर्नसक्ने बुद्धस्वभावबाट उनीहरूलाई विमुख गराउन तपाईंलाई ठीक लाग्ला?
यहाँ हामी यौन सम्बन्धमा विश्वासघातको कुरा गरिरहेका छैनौं। एकपत्नी/पति र यौन सम्बन्धमा विश्वासघातको मुद्दा अत्यन्त जटिल छ र यसलाई धेरै अन्य विषयसँग राखेर हेर्नुपर्छ। जे भए पनि, यदि हाम्रा यौनसाथी, विशेष गरी हाम्रा वैवाहिक जीवनसाथीले विश्वासघात गर्छन् वा अरूसँग धेरै समय बिताउँछन्, र हामी दुवैबाट जन्मेका साना बालबालिका छन् भने त्यस्तो बेला ईर्ष्या, आक्रोश, र हक जमाउने खालको संवेगात्मक प्रतिक्रियाले कहिल्यै फाइदा गर्दैन। हामीले त्यस परिस्थितिमा विवेकसम्मत ढंगबाट व्यवहार गर्नु आवश्यक छ। आफ्ना साथीमाथि रिस पोखेर वा उसलाई दोषी देखाएर कहिल्यै उसको माया जित्न सक्दैनौं।
प्रेमका लागि खुला हृदय
घनिष्ठ मैत्रीपूर्ण प्रेम केवल एक व्यक्तिसँग मात्र हुन सक्छ भन्ने हामीलाई लाग्छ भने त्यसको अर्थ हो, हामी एकजनासँगको प्रेमलाई मात्र महत्त्व दिन्छौं चाहे त्यो साथी होस् या जीवनसाथी। अरु धेरै मानिसले हामीलाई प्रेम गरिरहेका हुन सक्छन्, तर हामी त्यसलाई बेवास्ता गर्छौं। हामी त्यसमा कुनै अर्थ देख्दैनौं। तर, सकेसम्म सबैप्रति खुला हृदय राख्ने र अरुले (मित्रहरू, आफन्तहरू, घरपालुवा जनावर, र यस्तै अरुहरूले) हामीलाई विगतमा गरेका, वर्तमानमा गरिरहेका वा भविष्यमा गर्ने प्रेमप्रति कृतज्ञताको भाव जगाउन सक्यौं भने हामी भावनात्मक रूपमा आफूलाई धेरै सुरक्षित महसुस गर्न सक्छौं। यो भावले हामीलाई कुनै एक व्यक्तिको प्रेमप्रतिको अतिशय आसक्तिबाट मुक्ति दिलाउन सक्छ।
सर्वव्यापी वा समावेशी प्रेमको अर्थ हामीले आफ्नो मन र हृदय सबैका लागि खुला राख्नु हो। जब एक बुद्धले कसैलाई कुनैबेला मैत्रीपूर्ण प्रेम गर्छन्, उनीहरूको ध्यान त्यो क्षण शतप्रतिशत त्यही व्यक्तिमाथि केन्द्रित हुन्छ। तसर्थ, सबैप्रति प्रेमभाव राख्दैमा हाम्रो प्रेम सतही वा फिक्का हुन्छ भन्ने होइन। आफ्नो हृदय धेरै मानिसका लागि खुला राख्दा व्यक्तिगत सम्बन्ध कम प्रगाढ वा अपूरो होला कि भनेर डराउनु पर्दैन। बरु त्यसो गर्दा हामी कसैसँग पनि आसक्त हुँदैनौ, उनीहरूमाथिको हाम्रो निर्भरता घट्छ। हरेकसँग बिताउने समय कम हुन्छ, तर जति समय बिताइन्छ, त्यो पूर्णतः उसकै लागि हुन्छ। अरुको हकमा पनि त्यस्तै हुन्छ। हाम्रो साथीले अरुसँग राख्ने प्रेमपूर्ण मैत्रीको सम्बन्धले हामीसँगको प्रेममा कमी ल्याउँदैन। यसमा हामीले ईर्ष्या गर्नुपर्ने कारण नै छैन।
कुनै एक व्यक्ति पूर्णरुपमा हाम्रो लागि बनेको हुन्छ, कोही हाम्रो “आधा अंग” हुन्छ जसले हामीलाई हरेक हिसाबले पूर्ण बनाउन सक्छ र जसलाई हामीले आफ्नो जीवनको हरेक आयाममा सहभागी बनाउन सक्छौं भनेर सोच्नु अव्यावहारिक हुन्छ। यो सोच प्लेटोले भनेको एक प्राचीन ग्रीक मिथकबाट प्रेरित छ, जसअनुसार हामी प्रारम्भमा एक सिंगो ढिक्का थियौं र हामीलाई पछि दुई भागमा बाँडियो। “संसारको कुनै कुनामा हाम्रो आधा अंग छ,” जोसँग पुनर्मिलन भएपछि मात्र हामीले आफ्नो सच्चा प्रेम पाउँछौं। यो मिथक पश्चिमी स्वच्छंदतावाद (रोमान्टिसिज्म) को आधार बन्यो। तर वास्तविकतासँग यसको कुनै सम्बन्ध छैन। यसमा विश्वास गर्नु भनेको एक सुन्दर राजकुमार सेतो घोडामा आउनेछ र मलाई बचाएर लैजानेछ भन्नुजस्तै हो। हामीले धेरै मानिससँग प्रेमपूर्ण मैत्रीको सम्बन्ध राख्नु उपयोगी हुन्छ ताकि आफ्ना विभिन्न रुचि र आवश्यकताहरू एकआपसमा बाँडेर पूरा गर्न सकौं। यो कुरा हाम्रा लागि मात्र होइन, हाम्रो जीवनसाथी वा साथीको लागि पनि सत्य हुन्छ। हामी एक्लैले उनीहरूको सबै आवश्यकता पूरा गर्न सक्दैनौं, त्यसले उनीहरूलाई मित्रताको अरु सम्बन्ध पनि चाहिन्छ।
सारांश
हाम्रो जीवनमा कोही नयाँ व्यक्ति आयो भने उसलाई एक सुन्दर पंक्षीको रूपमा स्वागत गरौं। मानिलिऊँ उड्दा उड्दै उ केही गरी हाम्रो झ्यालमा आइपुग्यो। हामीलाई त्यो राम्रो लाग्छ, तर फेरी उडेर अरुको झ्यालमा जाला भनेर डर लाग्छ। त्यसैले हामी त्यसलाई पिंजडाभित्र बाँधेर राखिदिन्छौं। चरा पीडाले छट्पटाउँछ, विस्तारै आफ्नो सौन्दर्य गुमाउँछ, र मर्न पनि सक्छ। त्यसको विपरीत, स्वामित्व देखाउन नखोजेर त्यो चरालाई स्वतन्त्र उड्न दिऊँ। उ जति समय हामीसँग बस्छ, त्यो अद्भूत क्षणको आनन्द लिऊँ। उड्नु चराको अधिकार हो र त्यो उड्छ। हामीसँग सुरक्षित महसुस गर्यो भने मात्र त्यो फेरी फर्केर आउन सक्छ। त्यस्तै हाम्रो साथीको हामीसँग जस्तै अरुसँग पनि आत्मीय सम्बन्ध राख्ने अधिकार छ। यो कुरालाई आत्मसात गर्न सक्यौं भने हाम्रो सम्बन्ध अझ स्वस्थ र दीर्घकालीन हुनेछ।