रिसको सामना गर्ने ८ बौद्ध तरीका

Study buddhism 8 buddhist tips dealing with anger

अहिलेको युगमा हामीलाई रिस अभिव्यक्त गर्न सिकाइन्छ। तर बुद्धले त्यसो गर्ने सल्लाह दिनुभएन। हामीले रिस पोख्ने काम गर्यौ भने भविष्यमा पनि त्यही गर्न थालिन्छ र यो एक बारम्बारको चक्र बन्न जान्छ। बुद्धले हामीलाई न त आफ्ना संवेगहरू दबाएर राख्न सिकाउनुभयो न त तिनलाई पोख्दै हिँड्न। बरु रिसको विश्लेषण गर्न र रिस उठाउने भ्रमपूर्ण मानसिकताबारे सचेत हुने सल्लाह दिनुभयो।

बौद्धमार्गीहरूले मैत्री, करुणा र सहिष्णुताको धेरै कुरा गर्छन्। तर दलाई लामाजस्ता ठूलाठूला आचार्यहरू नै कहिलेकाहिँ आफूलाई रिस उठेको कुरा गर्नुहुन्छ। हामी सामान्य मानिसको त के कुरा! विज्ञान भन्छ – रिस उठ्नु एकदमै स्वाभाविक हो। मनोवैज्ञानिकहरू भन्छन् – रिसलाई अभिव्यक्त गर्नुपर्छ। कुनैकुनै धर्मले त न्यायसंगत रिसको कुरा पनि गर्छन्। बुद्धधर्मले चाहिँ रिसलाई सधैँभरि खराब नै मान्छ।

आठौं शताब्दीका बौद्ध आचार्य शान्तिदेवले रिसलाई सबैभन्दा अधम नकारात्मक शक्तिको संज्ञा दिनुभएको छ। हामीले सम्पूर्ण मेहनत लगाएर हासिल गरेको असल परिणामलाई रिसले ध्वस्त पार्न सक्छ। यसबारे सोचौँ। हातमा बन्दुक छ भने रिसको एकैक्षणको आवेगले मानिसको स्वतन्त्रता सदाका लागि समाप्त पारिदिन र उसलाई आजीवन जेलभित्र कोच्याइदिन सक्छ। सामान्य जनजीवनकै उदाहरण लिने हो भने, दशकौं लगाएर बनाएको मित्रता र भरोसाको सम्बन्ध रिसले एकैछिनमा समाप्त गरिदिन सक्छ। संसारका सबै बम, बन्दुक, र छुरीहरूलाई एक ठाउँमा राख्ने हो भने पनि रिस अंततः ती सबैभन्दा खतरनाक हुन्छ।

हामीलाई थाहा छ, रिस उठ्नु भनेको मनको सुखी अवस्था होइन। तर रिस उठिहाल्यो भने के गर्ने त ? बुद्धधर्मले हामीलाई केही सामान्य तरीकाहरू सिकाएको छ, जसलाई अपनाउँदै हामी आफ्नो चित्त परिवर्तन गर्न सक्छौं। तर याद राख्नुस् – त्यसका लागि कुनै जादूको छडी चाहिँ छैन। रिसको सामना गर्ने मुख्य आठ बौद्ध उपायहरूको चर्चा हामीले यहाँ गरेका छौंः

१. यो जीवन हो, संसार हो

२५०० वर्षअघि बुद्धले दिनुभएको पहिलो शिक्षा सिधै मूल कुरामा केन्द्रित थियो – जीवन असन्तोषपूर्ण छ। पक्कै पनि, हाम्रो जीवन कहिल्यै पूर्ण रूपमा सन्तुष्ट हुन सक्दैन।

हामी जन्मिन्छौं र मर्छौं। त्यसबीचमा धेरै राम्रा र नराम्रा क्षणहरू आउँछन्। कति क्षणको त हामीलाई हेक्का पनि रहँदैन। यो कहिल्यै नसिद्धिने भोगाइको अनवरत चक्रलाई बुद्धधर्ममा “संसार” भनिन्छ। हामी जन्मिने बेला कसैले हामीलाई यो भन्न सक्दैन कि तिम्रो जीवन सधैँ सुखी, सहज, र निरन्तरको मोजमस्तीले युक्त हुनेछ, र तिम्रो जीवन ठ्याक्कै तिमीले सोचेजस्तै चल्नेछ। जब हामी संसारमा आफ्नो यथार्थताबारे बुझ्छौं, हामीलाई अरुका बारेमा पनि बुझ्न सजिलो हुन्छ।

यो संसारलाई हामी सबैले साथ–साथ नै भोग्नुपर्छ। कुनै कुराप्रति वा अरुहरूप्रति अथवा आफैंप्रति रिसाएर संसार राम्रो हुनेवाला छैन। अरु मानिसले जे गर्छन् वा भन्छन्, त्यो हामीलाई मन नपर्न सक्छ। कारण? किनकि उनीहरू पनि आफ्नो गएगुज्रेको जीवन नै भोगिरहेका हुन्छन् र त्यसैअनुसार व्यवहार गर्छन्। 

यो खालको सोचले हाम्रो दृष्टिकोणमा आमूल परिवर्तन ल्याउन सक्छ। आ–आफ्नो दुनियाँका लागि हामी आफैं केन्द्रबिन्दु हौँला। तर त्यसो भन्दैमा सबैथोक ठ्याक्कै हामीले चाहेजस्तो हुन्छ वा हुनैपर्छ भन्ने केही छैन।

२. नायक बनौँ, धैर्यवान बनौँ

विध्वंसकारी मनोभावहरूको सामना गर्न हामीले तिनको विपरीत मनोभावको सहारा लिनुपर्ने हुन्छ। आगोलाई निभाउन आगोकै प्रयोग गर्न मिल्दैन। हाम्रो चित्तमा दुई विपरीत मनोभावहरू एकसाथ एकैपटक रहन सक्दैनन्। हामी एकैसाथ कसैप्रति रिसले जाइलाग्न र उप्रति धैर्यको भाव राख्न सक्दैनौं – त्यसो गर्नु सम्भव हुँदैन। अरुप्रति धैर्य राख्नुलाई कमजोरीको रुपमा हेर्ने गरिन्छ, किनकि त्यसो गर्दा अरुलाई आफूमाथि हावी बन्न र जे मन लाग्छ त्यही गर्न छुट दिएको जस्तो देखिन्छ। तर वास्तविकता त्योभन्दा बिल्कुल फरक हुन्छ। विचार गरौं – निराश भएको बेला हामीलाई चिच्याउन र कराउन कति सहज लाग्छ? र, शान्त भई बस्न र आफ्नो मनोभावलाई काबुमा राख्न कति कठिन हुन्छ? भावनाले जताजता डोहोर्याउँछ, त्यतै लुरुलुरु हिँड्नु नायकको गुण होइन, बरु कमजोरी हो। त्यसैले आइन्दा तपाईंलाई रिसले छोप्यो र अरुमाथि जाइलाग्न मन लाग्यो भने आफ्नो धैर्यको तरबार निकाल्नुस्, र आफ्नै रिसको टाउको काटिदिनुस्।

तर त्यसो गर्न सकिएला? त्यसका लागि एउटा उपाय छ – आफू तनावमा आउन लागेको थाहा पाउनासाथ लामो श्वास लिन थाल्ने। रिसाएको बेला हाम्रो श्वास छोटो र तीव्र हुन्छ। त्यसको सटिक औषधि भनेको लामो श्वास लिनु हो। त्यो सँगसँगै विस्तारै एकदेखि सयसम्म गन्ती गरौं। यतिमात्रले पनि पछि आफैँलाई पछुतो हुने कुराहरू बोल्नबाट आफूलाई बचाउन सक्छौं। सीधै कसैसँग घम्साघम्सी पर्न लागेको छ र अवस्था काबुबाहिर जान लागेको छ भने त्यसअघि नै आफूलाई त्यहाँबाट निकाल्न सक्छौं। हरेक अवस्था अरुभन्दा फरक हुन्छ, त्यसैले आफ्नो विवेकको प्रयोग गरौं र त्यो अवस्थाका लागि उचित हुने उपाय अपनाऔं।

३. यथार्थवादी बनौं, स्थितिको मूल्यांकन गरौं

रिसाएको बेला हामी उग्रताको भावले भरिन्छौं। हामीलाई लाग्नसक्छ, यो भाव हाम्रो रक्षक र सबैभन्दा प्रिय साथी हो, यसले हाम्रो हितको रक्षा गर्छ तथा युद्धको मैदानमा सहयोग गर्छ। यही भ्रमका कारण हामीलाई रिस ठीकैजस्तो लाग्न सक्छ। तर अलि गहिरिएर विचार गरौं र जानौं – रिस हाम्रो साथी कदापि होइन, शत्रु मात्र हो।

रिसका कारण हामीलाई तनाव र पीडा हुन्छ, निद्रा र भोक हराउँछन्। हामी कसैसँग रिसाएका छौं भने यसले धेरै समयसम्म अरुहरूमाथि पनि असर गर्छ। आखिर एक रिसाहा मान्छेको छेउमा को पर्न चाहन्छ र?

कसैले हामीलाई कुनै आरोप लगाउँछ भने हामी आफ्नो बचाउ गर्न खोज्छौं, त्यसका लागि बेचैन हुन थाल्छौं। त्यो बेला एकछिन आफूलाई रोकौं र परिस्थितिलाई विश्लेषण गरेर हेरौं। यसमा दुइटा अवस्था हुन सक्छन्ः या त आरोप साँचो हो, या झूठो। साँचो हो भने किन रिसाउनु! आफ्नो विवेकको प्रयोग गर्दै हामी त्यो कुरालाई स्वीकार गर्न र त्यसबाट पाठ सिकेर जीवनमा अगाडि बढ्न सक्छौं। यदि त्यो झूठो हो भने आरोप लगाउने मान्छेबाट केही गल्ती भएको रहेछ भनेर बुझ्नु पर्छ। त्यसमा त झन रिसाउने कुरा नै भएन। जीवनमा त्यस्तै गल्ती हामी आफैं पनि गरिरहेका हुन्छौं, होइन र?

४. चित्तलाई जानौं, ध्यान गरौं

रिसबाट मुक्तिका लागि ध्यान र होशको साधना एकदमै सहयोगी हुन्छ। तर धेरै मानिसले ध्यानलाई समयको बर्वादीको रूपमा लिन सक्छन्। चकटीमाथि बसेर २० मिनेट समय किन खेर फाल्ने, यतिका काम गर्नु छ, भनेर। कतिपयले ध्यान भनेको जीवनका समस्याहरूबाट भाग्ने र आफ्ना बच्चा, इमेल, श्रीमान्, श्रीमती आदिबाट केही समयका लागि छुटकारा पाउने उपाय मात्र हो पनि भन्न सक्लान्।

तर ध्यानको अभ्यास त्योभन्दा धेरै बढी हो – यो वास्तवमा जीवन जिउने तयारी हो। हामी हरेक बिहान करुणा–ध्यान गर्छौं भने कार्यालय पुग्ने बित्तिकै आफ्ना कर्मचारीहरूमाथि खनिन अथवा सहकर्मीको कुरा काट्न थाल्दैनौं, त्यसो गर्यो भने ध्यान अभ्यासको अर्थ हुँदैन।

ध्यानले हाम्रो चित्तलाई धैर्य, मैत्री, करुणाजस्ता सकारात्मक भावहरूमा अभ्यस्त बनाउँछ। यी भावलाई हामी जुनसुकै बेला र जहाँ पनि व्यवहारमा उतार्न सक्छौं। मानिलिऊँ हामीले हरेक बिहान काममा जाँदा यात्राको आधा घण्टा मनपर्ने गीतहरू सुनेर मजा लिने गरेका छौं। त्यसबाट दश मिनेट निकालेर त्यो समयलाई अरुप्रति मैत्रीको भाव जगाउन उपयोग गर्न सक्छौं। यसले हाम्रो रिस कम गर्छ, हामी मैत्रीपूर्ण बन्छौं र अरुलाई हामीसँग समय बिताउन सहज हुन्छ।

५. विनम्र बनौं, आफ्ना शत्रुबाट पनि सिकौं

बुद्धधर्मले प्रायः हामीलाई जीवनमा सामान्यतया गर्नेभन्दा विल्कुल फरक व्यवहार गर्न सिकाउँछ। जस्तै, कसैसँग रिस उठ्यो भने सामान्यतया हाम्रो प्रवृत्ति भनेको उसँग बदला लिने हुन्छ। तर त्यसको परिणाम? हाम्रो दुःख घट्दैन, बरु बढ्न सक्छ। सुन्दा बेतुकको कुरा जस्तो लाग्ला, तर विपरीत व्यवहार गर्यो भने नतीजा पनि फरक आउँछ। हामी खुशी हुन थाल्छौं।

यो कुरा वाहियात लाग्न सक्छ, तर हामी रिसलाई आफ्नो प्रशिक्षक बनाउन सक्छौं। हामीलाई प्रगति चाहिएको छ, हामी बढी धैर्यशील, प्रेमपूर्ण, दयालु, र खुशी मानिस हुन चाहन्छौं भने त्यसका लागि अभ्यास गर्नैपर्छ। उदाहरणका लागि विश्वप्रसिद्ध फुटबल खेलाडी वा भायोलिन वादक बन्नका लागि धेरै समय र परिश्रम चाहिन्छ। सोही कुरा मानसिक अभ्यासको हकमा पनि लागू हुन्छ। हामीले संगत गर्नुपर्ने मानिसहरूले सधैँभरी हाम्रो चाहनाअनुसार सोच्न र व्यवहार गर्न सक्दैनन्। त्यसो हुँदो हो त कसैको जीवनमा कुनै चुनौती हुने थिएन।

यसरी विश्लेषण गरेर सोच्दा, जसले हामीलाई रिस उठाउँछ, त्यो व्यक्ति हाम्रा लागि एकदमै मूल्यवान बन्न सक्छ। उनीहरूबाट हामीले आफ्नो धैर्यलाई निखार्ने मौका पाइरहेका हुन्छौं। अरुले हामीसँग के व्यवहार गरे भनेर सोच्नुभन्दा त्यसले कसरी हाम्रो हित हुन्छ भन्ने फरक दृष्टिकोण राखेर सोच्यौं भने रिस तत्काल कम हुन थालिहाल्छ।

६. मृत्युबोध, अनित्यताको स्मरण

तपाईं कुनै दिन मर्नुपर्छ। म पनि एकदिन मर्छु। हामी सबै कुनै न कुनै दिन मर्छौं। हामीलाई कोही मानिस पटक्कै मन पर्दैन, र उसले एकदमै रिस उठाउने काम गर्यो भने एकपटक टक्क अडिएर सोचौं – “म मृत्युशैयामा भएको भए त्यसका बारेमा सोचेर बस्थेँ होला?” त्यो व्यक्तिले यो पृथ्वीलाई नै नियन्त्रणमा लिएर यसलाई ध्वस्त गर्न लागेको भए त बेग्लै कुरा, नत्र निश्चय नै हाम्रो उत्तर हुनेछ – “बस्दिनथेँ।” यो सानो ‘टिप’ एकदमै साधारण होला, तर यसले जीवनका धेरै स–साना समस्याहरू सुल्झाउन मद्दत गर्छ।

हामी सबैलाई थाहा छ कि हामीले मर्नुपर्छ। तर हामीलाई मृत्युको पक्का ज्ञान छैन, यो एक अमूर्त चीज जस्तो लाग्छ – अरुलाई मात्र आउने, बुढापाका, विरामी र दुर्घटनामा पर्नेले मात्र भोग्नुपर्ने। तर त्यो सत्य होइन। हरेक दिन युवाहरू र स्वस्थ मानिसहरू पनि मरिरहेका छन्। 

हाम्रो मृत्यु भोली पनि हुन सक्छ, एक वर्ष वा ५० वर्षपछि पनि हुन सक्छ। एक दिन निश्चित रूपमा भोग्नु पर्ने यो सत्यका बारेमा सोच्यौं भने हामीलाई दुःखी तुल्याउने कैयौँ कुराहरू तत्क्षण गौण हुनेछन्। ती कुराहरूले हामीलाई फेरी सताउँदैनन् भन्ने त होइन, तर हामीलाई थाहा हुनेछ कि तिनमा आफ्नो अमूल्य समय, आफ्नो प्राणउर्जा वा शक्ति खर्च गर्नुको कुनै अर्थ छैन।

७. गरेको फर्किन्छ, कर्मको सिद्धान्त जानौं।

मानिसहरू भन्छन्, “जे गरिन्छ, त्यो फर्किन्छ,” अथवा, “उसको कर्म नै त्यस्तो। जे भोगिरहेको छ, उ त्यही लायक थियो।” अर्थात, मानिसले जे गर्छन् त्यही अनुसारको फल पाउँछन्। तर बुद्धधर्मअनुसार कर्म भनेको ठ्याक्कै त्यस्तो होइन। यसको अर्थ अलि सूक्ष्म र जटिल छ। तैपनि सामान्य अर्थमै कुरा गर्दा, मानिसहरू सजिलैसँग अरुको दुःखका लागि उसको कर्मलाई दोष दिन्छन्। तर आफूले त्यही भोग्नुपर्यो भने आफ्नो कर्मलाई जिम्मेवार ठान्न तयार हुँदैनन्।

हामीले भोग्ने सबै अनुभवका पछाडि कुनै न कुनै कारण हुन्छ, चाहे त्यो एकदमै उल्लासको क्षण होस् वा असाध्यै दुःखको कुरा। ती कारणहरू हावाबाट फुर्र उडेर हामीमाथि खस्ने होइनन्, ती हामीले नै गरेको केही कामका कारण आउने हुन्। त्यसैले कुनै अप्रिय अवस्था आयो र हामीलाई रिस उठ्न लाग्यो भने सोचौं, “यो अवस्था जसरी सुकै आइलागेको होस्, यसलाई अझ खराब बनाउनु ठीक हो कि होइन?”

कर्मको अर्थ हामी कुनै निश्चित अवस्थामा कसरी व्यवहार गर्न बाध्य हुन्छौं र कसरी हाम्रो व्यवहारको पुनरावृत्ति भैरहेको हुन्छ भन्ने बुझ्नु हो। कर्मले कसरी काम गर्छ भन्ने बुझेपछि अहिले गर्ने व्यवहारद्वारा भविष्यका भोगाई परिवर्तन गर्न सक्छौं भन्ने जानिन्छ। यो ज्ञानको उपयोग गर्दै हामी रिस उठेको बेला धैर्यको व्यवहार गर्छौं।

८. देखेजस्तो यथार्थ हुँदैन, शून्यताको अर्थ बुझौं

रिसलाई निष्प्रभावी बनाउने एक सीधा उपाय धैर्य हो। तर सबैभन्दा ठूलो औषधी चाहिँ शून्यताको ज्ञान हो। रिसमात्र नभई हामीले भोग्ने सबै समस्या र कठिनाइको यो जडी औषधी हो। हामी जतिसुकै धैर्यवान भए पनि शून्यताको ज्ञान छैन भने समस्याहरू मनसुनको झरी जस्तै हामीमाथि निरन्तर बर्सिरहने छन्।

रिसाएको बेला हामीले एक क्षणका लागि आफ्नो मनको निरीक्षण गर्यौं भने आफूभित्र प्रबल रूपमा उर्लिरहेको “मेरो” र “म” भन्ने भाव पाउँछौं। “तिमीले मलाई भनेको कुराका कारण म एकदमै रिसाएको छु। म सोच्न पनि सक्दिन उसले मेरो साथीलाई के गर्यो भनेर! यो विषयमा म ठीक छु, उ विल्कुल गलत!” म, म, म।

त्यसैले रिसाएको बेला यो घनीभूत “म” लाई विश्लेषण गरेर हेर्ने राम्रो मौका हाम्रो सामु हुन्छ। के हो यो म? खासमा हामीले सोचेजस्तो “म” भन्ने चीज नै हुँदैन।   त्यसको मतलब हाम्रो अस्तित्व छैन वा कुनै कुराको केही अर्थ छैन भनेको चाहिँ होइन। हामी विश्लेषण गरेर हेर्छौं – के यो म भनेको मेरो मनमा छ? वा शरीरमा?कि दुवैमा?तर जति खोजे पनि “यहाँ मैले म भेट्टाएँ, यो यहाँ छ” भन्न सक्दैनौँ।

धेरैलाई यो कुरा बुझ्न गाह्रो होला, तर जब हामी गहिरोसँग विश्लेषण गरेर यथार्थलाई हेर्न थाल्छौं, हाम्रो दृष्टिकोणमा व्यापक परिवर्तन आउँछ। हामी पाउनेछौं कि हामी जुन कुरामा रिसाएको हो, त्यो कुरा हामीले सोचेजस्तो गरी यथार्थ हुँदैन।   

सारांश

हामीले जतिपल्ट “म अब रिसाउँदिन” भने पनि आवश्यक प्रयत्न गरेनौं भने सोचेजस्तो मानसिक शान्ति पाउन सक्दैनौं।

माथिका बुँदाहरूलाई राम्रा छन् भनेर एकातिर राख्दैमा हामीलाई लाभ हुँदैन। यी बुँदाहरू साँच्चिकै प्रयोग गर्न मिल्ने उपाय हुन्। यिनको प्रयोग र अभ्यासद्वारा हामी निराशा, रिस, र उदासीबाट मुक्त हुन सक्छौं।हामी सबैसँग त्यो क्षमता छ।

Top