चिन्तामुक्त हुने उपाय

कतिपय बेला यो संसार विल्कुल पागलपनले भरिएको जस्तो लाग्छ। विश्वास लागेन भने एकपटक समाचार हेरौंः आतंकवादीहरू हमला गर्ने तयारीमा! अर्थतन्त्र डाँवाडोल! वातावरणको त कुरै नगरौं! हामीलाई चिन्तामा डुबाउने र एक हप्ता ओछ्यान छाड्न मन नलाग्ने बनाउन पर्याप्त खुराक त्यहाँ छन्। 

त्यो भयो बाहिरी संसारको कुरा। हाम्रो आफ्नै जीवन पनि कम झन्झटिलो छैन। अबको छुट्टी मनाउन कहाँ जाने? मैले यतिका दिन कुरेको प्रमोशन सहकर्मीले पायो, अब त्यसलाई कसरी झेल्ने? यो जीवनमा मैले साँच्चिकै के चाहिँ गर्ने होला?

सानो भएको बेला हामीलाई कसैले भनेको हुन्छ, आफ्नो सपना पछ्याऊ। तिमी जे पनि गर्न सक्छौ।” तर हामीमध्ये कतिजना आफ्नो सपना बाँचिरहेका छौं? सामाजिक सञ्जालका पोष्टहरू हेर्यो, सबैजना आफ्नो सपनाको जीवन बाँचिरहेको जस्तो देखिन्छ। हामी ईर्ष्याले मरेतुल्य हुन्छौं, र सोच्छौं – सबैजना समुद्रको किनारमा बत्तीसवटा दाँत देखाएर फोटो खिच्दै राख्दै गर्छन्, म चाहिँ यही थोत्रो अफिसमा काम गर्दै बस्नु परेको छ!

खुशी” भन्ने शब्द दन्त्यकथामा मात्र सुनिने अथवा विज्ञापनमा मात्र बजाइने कुरा हो जस्तो लाग्छ। हामीलाई लाग्छ, अहिले बल गर्यो भने भविष्यमा कुनै दिन खुशी हुन सकिएला। तर जतिसुकै पसिना झारे पनि खुशी भैहालिएला भन्ने कुनै ठेगान छैन। कोही मान्छे पिएचडी डिग्री थापेर पनि म्याकडोनल्डजस्तो पसलमा काम गर्छन्, कोही असाध्यै धनी र नामी बनिसक्दा पनि मन खिन्न बनाउँदै आत्महत्या गर्न पुग्छन्। यस्ता कुरा देखेपछि हामीलाई जीवन देखेर छट्पटी हुन थाल्छ, सामाजिक चिन्ताले सताउन थाल्छ। हामी बारम्बार आफूलाई अरुसँग दाँज्न थाल्छौं। अरुसँग आँखामा हेरेर कुरा गर्न अप्ठेरो र धक लाग्न थाल्छ, र आफ्नो स्मार्टफोन कोट्याउँदै त्यसकै पर्दापछाडि लुक्न खोज्छौं।

यो अहिलेको महारोग हो। एड्स, क्यान्सर वा डिप्रेसन जस्तो यो खतरनाक नदेखिन सक्छ। तर चिन्ताको रोगले हाम्रो सबै शक्ति खिँचेर लिन्छ, र हामीलाई सधैँभरी एकखालको उकुसमुकुसले घेरिराख्छ। हामीलाई आफ्नै विचारले लखेट्न थाल्छ, र एक्लै हुँदा त्यसलाई झेल्न नसकेर हामी नयाँ नयाँ टिभी सिरियल वा फेसबुकको न्युजफिडमा आफूलाई हराउने प्रयत्न गर्न थाल्छौं। इयरफोन हाम्रो कानमै हुनुपर्छ र गीत बज्न रोकिनु हुँदैन, होइन भने मन सम्हालिसक्नु नै हुँदैन।

स्थिति यस्तो सारो नहुनु पर्ने हो। हामी सबैलाई थाहा छ, जीवनमा जे–जति पाइएको छ, ती कुराहरूप्रति कृतज्ञ हुनुपर्छ। आफूलाई कहिल्यै अरुसँग दाँज्नु हुँदैन। तर कसरी? हामी के गरेर चिन्ताबाट मुक्त हुन सक्छौं?

पछाडि हटौं

कहिलेकाहीँ हामीले एक कदम रोकिएर आफ्नो जीवनको बारेमा सोच्नु पर्छ। त्यसो गर्न हामीलाई मन नपर्ला, तर गर्नैपर्ने हुन्छ। हामीले जीवनमा के खोजेको हो? सबैका लागि उपयुक्त हुने एउटै क्षेत्र हुँदैन, तर हामी हिँडेकै बाटोमा हामीभन्दा अगाडि पनि धेरै मान्छेहरू हिँडिसकेका छन्। हामीलाई ‘रक स्टार’ हुन मन लाग्ला, तर पत्रकार चौबिसै घण्टा पछि लागे भने हामी त्यो खेप्न सक्छौं कि सक्दैनौं? रक स्टारहरू जीवनमा पछिसम्म साँच्चिकै खुशी हुन्छन् त? सोचौं, र त्यो बाटोमा हिँड्नका लागि यतिका समय र उर्जा खर्च गर्नु ठीक छ कि छैन, विचार गरौं ।

अनुकरणीय व्यक्ति (रोल मोडल) छानौं

जीवनमा खुशी हुन र यसलाई अर्थपूर्ण बनाउन कुन बाटो लिने भन्ने निधो गरिसकेपछि त्यो क्षेत्रमा सफल भएका व्यक्ति छानौं। मानिलिऊँ हामीलाई ठूलो संगीतकार बन्नु छ। त्यसका लागि अभ्यास गर्नुपर्छ। ठूलो फुटबल खेलाडी बन्नु छ, त्यसका लागि पनि अभ्यास गर्नुपर्छ। कुनै दिन हामी साना थियौं र हिँड्न सिक्नका लागि पनि हामीले अभ्यास गर्नु परेको थियो, भलै अहिले हामीलाई त्यो सम्झना नहोला। अर्थात, कुनै पनि नतिजा पाउनका लागि त्यसको कारकतत्त्व विद्यमान हुनुपर्छ। जीवनमा केही पाउन समर्पण चाहिन्छ। एक रोल मोडल भयो भने उसले हामीलाई बाटो देखाउन सक्छ, उ हाम्रो लागि प्रेरणाको एक महान् स्रोत हुनसक्छ।

अरुलाई सहयोग गरौं

सबैलाई आफ्नै सोच र चाहनाहरूमा हराइराख्न सजिलो लाग्छ। हामी आफ्नो हितको बारेमा मात्र सोचिरहेका हुन्छौं। त्यसमा कसैले बाधा पुर्यायो भने हामी सहन सक्दैनौं। तर हाम्रो चिन्ताको एक प्रमुख कारण अरुबाट एक्लिनु हो, र अरुको आत्मीयता पाउने मुख्य उपाय भनेको भित्रैदेखि उनीहरूको हितको बारेमा सोच्नु हो। आफ्नै बारेमा मात्र सोचिराख्यौं भने दुःखले हामीलाई छोड्ने छैन। खुला दिलले अरुको सहयोग गर्नाले हामीलाई चिन्ताबाट मुक्त र खुशी हुन सहयोग गर्छ। यो वैज्ञानिक तथ्य हो।

अरुलाई गर्ने सहयोग ठूलै हुनुपर्छ भन्ने छैन। कुनै अँध्यारो दिनमा अरुलाई हेरेर त्यत्तिकै मुस्कुरायौं मात्र भने पनि उसको र आफ्नो दुवैको मुख उज्यालो हुनेछ। कसैलाई भित्रैदेखि धन्यवाद दियो भने दुवैजना उत्तिकै खुशी भइनेछ। तर यो करकापको भावले होइन, अरुलाई खुशी दिने भित्री कामनासाथ गर्नुपर्छ। यसले तपाईंको आफ्नै मनलाई कति उज्यालो बनाउनेछ, पछि हेर्नुहोला।  

आफूलाई राम्रोसँग चिनौं

सबैलाई आफू अरुभन्दा विशेष छु भन्न मन लाग्छ। तर त्यसैले नै हामी सबै उस्तै हौं भन्ने प्रमाणित हुन्छ। हामी अरुलाई “आफ्नो वास्तविक स्वरुप चिन” भन्छौं। तर त्यसको मतलब हामी आफैँलाई चिनौं भन्न खोजेको हो। सबैका आफ्नाआफ्ना समस्याहरू हुन्छन्, र सोचेजस्तो पूर्ण जीवन कसैको पनि हुँदैन। त्यसैले आफूले सोचेको कुरामा पूर्ण विश्वास पनि नगरिहालौं!

हामी आफ्नो अनुहार नराम्रो देखिने फोटो कसैलाई देखाउन खोज्दैनौं। अरुले पनि त्यही गर्छन्। हामीलाई कसैले अरुका अगाडि जिस्क्याएको मन पर्दैन। अरुलाई पनि त्यही हो। अरुले भव्य जीवन बिताइरहेको भ्रम हामीमाथि पारिरहेका हुन सक्छन्, अहिलेको युगमा त्यस्तो गर्नु सम्भव छ। तर त्यस्तो भ्रममा पर्न आवश्यक छैन। यी कुराहरूमा अलिकति ध्यान दियौं, अरुलाई खुशी दिने सच्चा प्रयास गर्यौं, र आफ्नो जीवन सार्थक बनाउनेतर्फ पहल गर्यौं भने हाम्रा चिन्ताहरू क्रमैसँग हराउँदै जानेछन्।

Top