आफ्ना कमी कमजोरीहरुबाट पार पाउँदै पूर्ण सकारात्मक क्षमताको विकास गर्नमा बुद्धधर्म केन्द्रित छ। दोषयुक्त दृष्टि, मानसिक संवेगहरुमा सन्तुलनको कमीजस्ता दोषहरूले हाम्रो जीवनमा अन्यौलको वातावरण सिर्जना गरेको हुन्छ। परिणामस्वरुप हामी रिस, लोभ, र अपरिपक्वताजस्ता मनोभावहरुको वशमा पर्छौं र त्यही अनुसारको अशान्त व्यवहार गर्छौ। अरुसँग स्पष्ट रुपमा आफ्नो कुरा राख्न सक्नु, यथार्थलाई राम्रोसँग बुझ्नु, अरुप्रति समानुभूतिको भाव राख्नु, र आफैलाई सुधार गर्दै लैजानु चाहिँ हाम्रा सकारात्मक क्षमताहरुमा पर्छन्।
बौद्ध साधानाको प्रारम्भिक विन्दु चित्तलाई शान्त गराउनु र होशको अभ्यासलाई पुष्ट गर्नु हो। यसको अर्थ हामी अरुप्रति कस्तो व्यवहार गरिरहेका छौं, कसरी बोलिरहेका छौं, र एक्लै हुँदा कसरी सोचिरहेका छौं भन्ने कुराप्रति निरन्तर जागरुक भैराख्नु हो। हामी ती कुरालाई केवल हेरेर मात्र र तिनलाई आफ्नै सुरमा छोडिदिएर मात्र बस्दैनौं। जब हामी होशमा हुन्छौं, हामी कुन कुरा सकारात्मक छ र कुन नकारात्मक छ भन्ने कुरा छुट्याउन सक्छौं। यो आत्मकेन्द्रित मात्र भैरहने अभ्यास होइन, अपितु हामी यसको अभ्यासबाट अरुप्रति अझ बढी स्नेहपूर्ण र खुला हृदयको बन्न सक्छौं।
आत्मनिरीक्षण र होशको अभ्यास हाम्रा समस्याहरुको कारण पहिल्याउनेतर्फ केन्द्रित छन्। निश्चय पनि बाहिरी मानिस वा कारणहरुले हाम्रा समस्याहरु उत्पन्न हुने परिस्थिति बनाउन केही भूमिका खेल्न सक्छन्। तर बौद्ध साधनामा ती समस्याहरुको भित्री कारण पत्ता लगाउने प्रयास गरिन्छ। यसका लागि हामीले आफ्नै मनको निरीक्षण गर्नु पर्छ। मनको स्वभाव र सकारात्मक तथा नकारात्मक मनोभावहरुले हामी जीवन कसरी भोग्छौं भन्ने कुरालाई प्रभावित गरिरहेको हुन्छ।
हामी आफ्नो काममा तनाव, निराशा, बेचैनी, एक्लोपन, वा असुरक्षा जस्ता समस्याहरूको अनुभव गरिरहेका हुन सक्छौं। तिनलाई समाधान गर्न हामीलाई कठिन भैरहेको हुन सक्छ। तर त्यस्तो कठिनाईको कारण ती समस्या आफैं चाहिँ होइनन्। हाम्रो मानसिक र संवेगात्मक अवस्थाले गर्दा त्यस्तो कठिनाई उत्पन्न हुन्छ। जीवनमा अटुट रुपमा आइरहने समस्याहरुको सामना गर्ने सबैभन्दा उत्तम उपाय भनेको चित्तलाई शान्त गर्ने, संवेगात्मक सन्तुलन कायम राख्ने, र चित्तका संशयहरू हटाउने हो।
जब हामी समस्या र कठिनाई उत्पन्न गर्ने खालका मनोभाव, दृष्टिकोण र चित्तका व्यवहारहरू प्रति होशमा रहन थाल्छौं, तब तिनलाई सुधार्ने उपायहरू पनि अवलम्बन गर्न सक्छौं।
हामीले यथार्थको अझ स्पष्ट बोध र चित्तको प्रकृतिको जानकारीबाट हासिल हुने संवेगात्मक स्वास्थ्यको उपयोग गर्नु आवश्यक छ। – चौधौं दलाई लामा
हामी सबैले आफ्नो शारीरिक स्वास्थ्यको राम्रो ख्याल राखिरहेका हुन्छौ। त्यस्तै मानसिक अवस्थामाथि विचार गर्नु पनि उत्तिकै आवश्यक छ। संवेगात्मक (इमोशनल) स्वास्थ्य हासिल गर्नका लागि तीन कुरामा ध्यान दिनु जरुरी छः मनलाई अशान्त गर्ने भावहरुको विपरीत भावको स्मरण गर्ने, तिनलाई आवश्यकता अनुसार व्यवहारमा उतार्ने, र त्यो अवस्थालाई कायम राख्ने। त्यसरी विपरीत भावको विकासका लागि हामीले:
- ती मनोभावहरू के के हुन् भनेर जान्नु आवश्यक छ।
- ती मनोभावमा ध्यान गरिरहनु पर्छ, जबसम्म हामी तिनको बारेमा र तिनलाई कसरी उपयोग गर्ने विषयमा राम्रोसँग जान्दैनौं र तिनले राम्रोसँग काम गर्छन् भन्ने कुराप्रति विश्वस्त हुँदैनौं।
- तिनलाई आफ्नो ध्यान साधनामा अभ्यास गर्नुपर्छ ताकि हामी ती मनोभावसँग राम्ररी अभ्यस्त हुन सकौं।
हामी आफ्ना लागि आफैं चिकित्सक जस्तो बन्नुपर्छ। आफ्नो रोग पहिल्याउने, तिनको कारण पत्ता लगाउने, तिनको निराकरणको उपाय जान्ने, तिनको प्रयोगबारे जानकारी लिने, र वास्तवमै तिनको उपयोग गर्ने काम गर्नुपर्छ।
हामी दीर्घरोगीजस्तो अस्वस्थ छौं भने आफ्नो जीवनशैली बदल्नुअघि त्यसो गर्दा हुने फाइदाका बारेमा राम्रोसँग विश्वस्त हुनुपर्छ। तबमात्र हामी त्यसलाई जीवनमा उतार्न सक्छौं। धेरैजसो मानिसले आहार विज्ञान र शारीरिक कसरतको अभ्यासका बारेमा गहिरोसँग अध्ययन गरिराख्दैनन्। उनीहरु सीधै आहार र व्यायामको अभ्यास शुरु गर्छन्। निश्चय पनि त्यसरी अभ्यास शुरु गर्ने बेलामा कसैको मार्गदर्शन लिनुपर्छ। जब यस्तो अभ्यासबाट केही लाभ देखिन थाल्छ, उनीहरू अझ गहिरो रूपमा अभ्यास गर्ने उत्साहित हुन्छन्।
भावनात्मक स्वास्थ्य सुधार्नका लागि पनि हामीलाई यस्तै प्रक्रिया अवलम्बन गर्नु पर्छ। होशको अभ्यासबाट स्वास्थ्यलाभको केही अनुभव भएपछि यसलाई अझ राम्रोसँग अभ्यास गर्ने र बौद्ध साधनाका बारेमा थप जानकारी प्राप्त गरी आफ्नो जीवनको गुणस्तर सुधार्ने तथा अरुका लागि सहयोगी बन्ने थप प्रेरणा र रूचि जाग्छ।
बुद्ध पनि हामीजस्तै सामान्य मानिस हुनुहुन्थ्यो। उहाँ पनि जीवनका संघर्षहरुबाट गुज्रिनुभयो। हामीहरूजस्तै उहाँ पनि आफ्नो र आफू वरपरका सबैको जीवन सुधार्न चाहनुहुन्थ्यो। आत्मनिरीक्षणका माध्यमद्वारा उहाँले के बुझ्नुभयो भने हाम्रो परिस्थिति जेसुकै भएपनि हामी सबैसँग त्यस्तो शक्ति र क्षमता छ जसका माध्यमबाट हामी शान्त र होशपूर्ण अवस्थामा रहन तथा आफ्ना मनोभावहरूलाई वशमा राख्न सक्छौं।
यो गुणलाई दलाई लामाले “संवेगात्मक स्वास्थ्य” (इमोशनल हाइजिन) भन्नुभएको छ। उहाँको भनाईमा यो कुनै संस्कार वा धर्मको परिधिभित्र मात्र रहँदैन। किनकि यसले हामी सबैको हृदयको त्यो भावलाई छुन्छ जुन हामी सबैले चाहिरहेका हुन्छौं – त्यो हो समस्याहरुबाट मुक्ति र खुशी तथा शान्तिपूर्ण जीवन जीउने अभिलाषा।