शरणगमन के हो?

What ias refuge%20article

हामी सबै जीवनलाई अर्थपूर्ण बनाउने उपाय खोजिरहेका हुन्छौं। त्यसका लागि हामी कहिले आफ्नो पेशामा रुमलिन्छौं, कहिले नयाँ–नयाँ फेशनमा, त कहिले टाढा–टाढाको यात्रामा। तर अन्तमा, पेशाबाट एकदिन ‘रिटायर्ड’ हुनुपर्छ, फेसनहरू दिनदिनै बदलिन्छन्, र छुट्टीहरु आँखा झिमिक्क गर्न नपाउँदै सकिइसक्छन्। यी मध्ये कुनैले पनि हामीलाई स्थायी सन्तुष्टि वा खुशी प्रदान गर्न सक्दैन। आधुनिक संसारमा हामीसँग भौतिकवादी र आध्यात्मिक दुवैतिरका लाखौं विकल्पहरू उपलब्ध छन् । तर हामी सबै जीवनमा के गर्ने भन्ने रनभुल्लमा छौं।

बुद्धधर्ममा शरणगमन भनेको आफ्नो जीवनलाई एक सार्थक दिशा प्रदान गर्ने उपाय हो। त्यो दिशा भनेको आफ्ना सबै कमीकमजोरीबाट पार पाउनेतर्फ प्रयत्न गर्नु हो, र आफू तथा अन्य सबैको कल्याणका लागि उच्चतम मानवीय क्षमता हासिल गर्नु हो। बुद्धधर्मको शरणगमन जीवनका दिग्दारीहरु, भोक र तनावजस्ता कुराबाट अस्थायी मुक्तिका लागि होइन। यो कुनै बाह्य कुरा परिवर्तन गर्नुसँग पनि सम्बन्धित छैन। हामीले कुनै विशेष कपडा लगाउनु वा आफ्नो ‘हेयरस्टाइल’ परिवर्तन गर्नु आवश्यक छैन। बुद्धधर्ममा शरणगमन भनेको हाम्रो चित्तको अवस्था परिवर्तन गर्नुसँग सम्बन्धित छ। यसको अर्थ जीवनलाई केले चाहिँ साँच्चिकै अर्थपूर्ण बनाउँछ, र केले हामीलाई अहिले र भविष्यमा पनि खुशी दिन्छ भन्ने कुरा राम्रोसँग बुझ्नु हो। छोटकरीमा भन्नुपर्दा, बौद्ध शरणगमनले हामीलाई दुःखबाट बचाउँछ।

बौद्धमार्गीहरूले सामान्यतया “शरणमा जानु” वा “शरण लिनु” भन्ने शब्द प्रयोग गर्छन् किनकि शरणगमन एक सक्रिय प्रक्रिया हो। यो आफूलाई बौद्ध मार्गमा प्रतिबद्ध गराउने एक आधारभूत चरण हो । तर हामी शरणगमन किन गर्छौं त? हामीलाई थाहा छ, हामी सबै खुशी र सन्तुष्टि चाहन्छौं र कोही पनि दुःखी हुन चाहँदैनौं।  यो मानव प्रकृति हो। हामीले ती कुरा खोज्नु पर्छ जसले यसमा सहयोग गर्छन्। यसका लागि बुद्धधर्ममा हामी तीन रत्नहरूको शरण लिन्छौं।

ती तीन रत्न हुन्ः बुद्ध, धर्म र संघ।

हामी बुद्धको शरणमा जान्छौं किनकि एक प्रबुद्ध शिक्षकका रूपमा उनले हामीलाई केवल अर्थहीन अस्तित्वबाट उम्कन मात्र सिकाउँदैनन्, आफ्ना दुःखहरुबाट सम्पूर्ण रुपमा मुक्त हुने बाटो देखाउँछन्। उनले हामीलाई बताए कि मानिसको मन मूलरूपमा शुद्ध छ, र करुणा तथा प्रज्ञाको सहायताले हामी आफूमा भएका सबै भ्रम र नकारात्मक भावहरू सदाका लागि, कहिल्यै फर्केर नआउने गरी हटाउन सक्नेछौं। धर्म त्यो अवस्थामा कसरी पुग्ने भन्ने बुद्धको शिक्षा हो। शरणगमनपश्चात हामी आफ्नो जीवनका सबै समस्याहरूको सामना गर्न विभिन्न बौद्ध विधिहरू खोज्छौं र तिनलाई अपनाउँछौं। संघ भनेको भिक्षुहरू, भिक्षुणीहरू र हाम्रा बौद्ध साथीहरू हुन्। तिनीहरू मध्ये जसले बुद्धको शिक्षालाई साँच्चिकै अभ्यास गर्दछन्, उनीहरू हाम्रा लागि आदर्श बन्दछन् र हामीलाई बौद्धमार्ग अनुशरण गर्ने प्रेरणा दिन्छन्।

तर बौद्धमार्गमा हाम्रो प्रतिबद्धताको मतलब यो होइन कि हामीले आफूलाई साथीहरू वा समाजबाट टाढा राख्नु पर्छ। वास्तवमा जब हामी तीन रत्नहरुको शरण लिन्छौं, हामी आफ्नै लागि सार्थक जीवनको सिर्जना त गर्छौं नै, साथै आफूलाई उदार बनाउँछौं र आफू तथा आफ्नो वरपर र सम्पूर्ण संसारका लागि कसरी सहयोग गर्ने भन्नेतर्फ प्रयत्न गर्न थाल्छौं।

बुद्ध, धर्म र संघमा शरण लिइसकेपछि हाम्रो जीवनका अलमलहरू सकिनेछन्। हामीलाई यो वा त्यो आध्यात्मिक बाटोहरुमा भौँतारिइरहनु आवश्यक हुँदैन। पक्कै पनि, हामीलाई भौतिक सुख–सुविधा र सम्पत्तिहरू चाहिन्छ, तर त्यसमाथिको हाम्रो निर्भरता हट्नेछ। तीन रत्नको सम्झनाले मात्र पनि हामीलाई खुशी प्रदान गर्नेछ। बौद्ध सिद्धान्तप्रति गर्ने प्रतिबद्धताले वास्तवमा हामीलाई तनावबाट मुक्ति दिन्छ। यसबाट आफूलाई भावनात्मक रूपमा अझ आनन्दित र स्वस्थ बनाउने महत्त्वपूर्ण काम गर्न हामीलाई थप समय प्राप्त हुन्छ।

शरणगमन एक निरन्तर चल्ने सक्रिय प्रक्रिया हो। हामीले यसमा निरन्तर काम गरिरहनुपर्दछ। शरणगमनको मतलब बुद्धलाई कुनै भगवानजस्तो पुज्ने र प्रार्थना गरेर बस्ने मात्र होइन। त्यस्तै, हाम्रा बौद्ध मित्रहरूले पनि हाम्रा लागि काम गरिदिन सक्दैनन्। सबैभन्दा उच्च शरणगमन बुद्धको शिक्षा अर्थात् धर्मको शरणमा जानुलाई मानिन्छ। त्यसैले यदि हामीलाई बुद्धमा पूर्ण विश्वास छ र धेरै ज्ञानी तथा करुणाशील बौद्ध मित्रहरूको साथ छ भने पनि जबसम्म हामी धर्मको शिक्षा आफैं अनुशरण र प्रयोग गर्दैनौं, तबसम्म शरणगमनको धेरै फाइदा हुँदैन। अरूलाई हानि नपुर्याउने, कल्याणकारी कामहरुमा संलग्न हुने, र मनलाई प्रशिक्षित गर्नेजस्ता धर्मका प्रमुख शिक्षाहरु अवलम्बन गर्ने हो भने हाम्रो जीवन पक्कै पनि सार्थक बन्नेछ।

हुनत बौद्ध मार्गमा औपचारिक रूपमा यात्रा सुरु गर्नका लागि विशेष समारोहहरूको व्यवस्था छ। तर वास्तविक प्रतिबद्धता हृदयबाट आउनुपर्दछ। जब हामी आफूले आफैंमा काम गर्न थाल्छौं, तब त्यो यात्रा शुरु हुन्छ। यो तबमात्र हुन्छ जब हामी साँचो अर्थमा शरणगमन गर्छौं।

Top