जीवनलाई अर्थपूर्ण बनाऔं

जीवन त्यत्तिकै निरर्थक र नियमित ढाँचामा बितिरहेको छ भन्ने लाग्छ भने हामी यसलाई एक सार्थक दिशा दिँदै आफ्ना कमीकमजोरी हटाउन र आफ्नो पूर्ण सम्भाव्यता हासिल गर्नेतर्फ प्रयत्न गर्छौं।

व्याख्या

हामीमध्ये धेरैलाई जीवन निरर्थक ढंगले बितिरहेको जस्तो लाग्न सक्छ। आफ्नो जागिर निरर्थक लागिरहेको हुनसक्छ, वा हामी बेरोजगार हुनसक्छौं र आफ्नो उन्नतिको कुनै उपाय नदेखिरहेका हुनसक्छौं। या हामी अझै विद्यार्थी नै हुनसक्छौं र आफूले लिँदै गरेको शिक्षाको सार्थकता र मूल्यप्रति अन्यौलमा हुनसक्छौं। आफ्नो परिस्थिति अझ खराब हुने त्रास पनि हुनसक्छ र निराशामा डुब्ने खतरा पनि छँदैछ। तर साथै हामीलाई केही अर्थपूर्ण काम गर्ने इच्छा पनि हुन्छ र संसारमा केही सकारात्मक योगदान दिन सकुँ भन्ने चाहना पनि। र हामी यो भावना अरूसँग बाँड्न चाहन्छौं। हामीमध्ये धेरैलाई धन थुपार्नु र उपभोगका लागि अनेक थोक हुनुले आफ्नो जीवनको सार्थकताको खोजीमा सहयोग गर्दैन भन्ने बोध पनि हुन्छ।

यो समस्याको समाधान बुद्धधर्मले दिन्छ, जहाँ तपाईं जीवनलाई एक अर्थपूर्ण सुरक्षित दिशा दिन सक्नुहुन्छ। त्यो समाधानको नाम शरणगमन हो। मृत्युसँगै हामीलाई प्राप्त यो अमूल्य मानव जीवनको अन्त निश्चित छ; अहिले यो जीवनमै केही सकारात्मक कामहरू गरेनौं भने असाध्यै निकृष्ट रूपमा हाम्रो पुनर्जन्म हुनसक्छ। त्यसैले हामी त्यस्तो अवस्थाबाट बच्ने उपाय खोज्छौं। यदि पुनर्जन्ममा विश्वास लाग्दैन भने पनि वर्तमान अमूल्य जीवनलाई नै कदर गर्दै यो अर्थहीन तरीकाले समाप्त नहोस् र त्यसैको पश्चात्तापका साथ हामीले मर्नु नपरोस् भन्दै यो जीवन अहिलेको भन्दा निकृष्टतर अवस्थामा पुग्नसक्ने सम्भावनाबाट आतेस मान्छौं। 

बुद्धधर्मले प्रस्तुत गर्ने सुरक्षित दिशा त्रिरत्नको शरण हो। त्यसमध्ये प्रमुख धर्म हो, जसको अर्थ यथार्थ निरोध र यथार्थ मार्गबोधको चित्तावस्था हो। अर्थात्, हामी आफ्नो चित्तलाई निर्मल गर्दै र सबै सदगुणहरूको विकास गर्दै आफ्ना कमीकमजोरीहरूलाई समाप्त गर्ने र पूर्ण क्षमता हासिल गर्ने पार पाउने प्रयत्न गर्छौं। कमीकमजोरी अन्तर्गत विचलनकारी आवेग (क्लेश), एकाग्रताको कमी, आत्म–पोषणमा रमाउनु, कमजोर सञ्चार क्षमता आदि पर्छन्। सदगुणहरूमा दया, करुणा, धैर्य, समझदारी, क्षमा, इमान्दारी आदि र नैतिक आचरणको कदर, एकाग्रता र अन्तर्दृष्टि पर्छन्। बुद्धले यस्तो अवस्था पूर्णरूपमा र उच्चकोटीका साधकहरूले आंशिक रूपमा हासिल गरिसकेका हुन्छन्। यस दिशामा आफ्नो सुधारको काम गर्नुले निश्चय नै हाम्रो जीवनलाई एक सार्थकता प्रदान गर्छ। 

हामीलाई आफ्ना अनुभव अरूसँग बाँड्न मन लाग्छ, तर यसको अर्थ सोसल मिडियामा केही कुरा पोष्ट गर्नु मात्र होइन। बरु हामी थप आत्मविश्वासका साथ आफूले पाएको उपलब्धिलाई बाँड्दै अरूलाई सहयोग गर्नेतर्फ लाग्छौं, चाहे त्यो सानो स्तरमा होस् या ठूलो। त्यसैले जीवनलाई एक सुरक्षित दिशा प्रदान गर्ने आधारहरू हुन् – आफू झन् खराब अवस्थामा पुगिएला कि भन्ने आतेस, आफ्नो सुधारका लागि काम गर्नु नै जीवनलाई अधोगतिबाट बचाउने सुरक्षित दिशा हो भन्ने आत्मविश्वास, र आफ्ना उपलब्धिलाई बाँड्दै अरूलाई सहयोग गर्न विकास गरिने स्नेह र करुणाको भाव।

ध्यान 

  • श्वासमा ध्यान केन्द्रित गर्दै चित्तलाई शान्त गर्नुहोस्।
  • आफ्नो जीवनको मूल्याङ्कन गर्नुहोस्। तपाईंलाई यो सार्थक लागिरहेको छ कि छैन?
  • आफ्नो जीवनसँग सम्बन्धित कुराहरू अरूलाई भन्न चाहनुहुन्छ कि हुन्न? 
  • आफ्ना कमीकमजोरीहरूबाट मुक्त हुने र पूर्ण क्षमता हासिल गर्ने प्रयत्न गर्नाले कसरी आफ्नो जीवनले एक सार्थक बाटो पाउँछ र त्यसपछि कसरी आफ्नो जीवनका बारेमा अरूसँग सार्थक कुरा गर्न सकिन्छ, त्यसको चिन्तन गर्नुहोस्। केही व्यर्थका गफसफ वा अनलाइनमा के पोष्ट गर्नुहुन्छ त्यो होइन, अपितु व्यक्तिगत कुराकानीका क्रममा तपाईंले अरूसँग आफ्नाबारे केही सेयर गर्नुभयो, र त्यसले उनीहरूको कुनै हिसाबले कल्याण भयो भने कति उत्तम हुन्छ, त्यसबारे चिन्तन गर्नुहोस्। 
  • जीवनमा सार्थक बाटो नभेटेको, पहाडको चुचुरोबाट गहिरो खाडलमा खसेको अवस्था कस्तो होला, कल्पना गर्नुहोस्।
  • आफ्नो सुधारको काम गर्नाले कसरी यस्तो खाडलमा खस्नबाट बच्न सकिन्छ र त्यसको अनुभूति अरूसँग सेयर गरेर कसरी उनीहरूलाई लाभान्वित गर्न सकिन्छ, त्यसको चिन्तन गर्नुहोस्।
  • जीवनमा यस्तो सार्थक बाटो अपनाउने अठोट गर्नुहोस्। 
  • अब माथिकै अवस्था कल्पना गर्नुहोस्, तर यसपाली खाडलमा खस्ने ठाउँको छेउमा मात्र पुग्नुभएको छ।
  • फेरी त्यही अवस्था कल्पना गर्नुहोस्, तर यसपाली तपाईं चुचुरोबाट केही टाढा हुनुहुन्छ र क्रमशः त्यसको नजिक पुग्दै हुनुहुन्छ।

सारांश

यदि हामीलाई आफ्नो जीवन एक निश्चित ढर्रामा चलेको, दिक्दारीपूर्ण र व्यर्थमै बितिरहेको जस्तो लाग्छ भने सुधारका लागि सक्रियतापूर्वक पहल गर्नुपर्छ। आफ्नो जीवनलाई एक सकारात्मक बाटोमा लगाउनुपर्छ, जुन आफ्नो लागि मात्र नभएर अरू सबैका लागि हितकर होस्। आफ्ना सबै कमीकमजोरीबाट मुक्त हुने र पूर्ण सकारात्मक क्षमता हासिल गर्ने प्रयत्न नै त्यस्तो बाटो हो। त्यो अवस्था पूर्णरूपमा हासिल गरिसकेका बुद्ध वा आंशिक रूपमा हासिल गरेका उच्च कोटीका साधकहरूकै स्तरमा पुग्ने हाम्रो अन्तिम लक्ष्य रहेनछ भने पनि यो यात्रामा हिँड्नाले हाम्रो जीवनको गुणस्तरमा धेरै नै सुधार आउनेछ।

Top