व्याख्या
कर्मको सम्बन्ध हाम्रो बाध्यात्मक व्यवहारसँग छ। यसले त्यस्तो बाध्यकारी उत्कण्ठा र मानसिक आवेगतर्फ संकेत गर्छ जसले कुनै क्लेश र मिथ्या दृष्टिबाट प्रभावित हुँदै हामीलाई चुम्बकले तानेजसरी कुनै कुरा गर्न, बोल्न वा सोच्न लगाउँछ।
यसरी बाध्यात्मक ढंगले ती बाध्यकारी उत्कण्ठालाई कार्यान्वित गर्यौं भने फेरी त्यस्तै कायिक, वाचिक र मानसिक कृत्यलाई पुनः पुनः बाध्यकारी ढंगले दोहोर्याइरहने प्रवृत्तिको विकास हुन्छ। जब त्यसलाई बल पुग्ने परिस्थिति आउँछ (जस्तै, आन्तरिक रूपमा मनभित्रै उत्पन्न हुने क्लेशहरू अथवा बाह्य रूपमा भेटिने मानिस वा उपलब्ध हुने वातावरण) तब उक्त प्रवृत्तिले हामीलाई पुनः त्यही कृत्य दोहोर्याउने इच्छा जगाउँछ। त्यसपछि उक्त कृत्यको परिणाम के हुन्छ भन्ने विचारै नगरी हामी बाध्यात्मक ढंगले त्यसलाई गरिहाल्छौं। यस प्रकारले गरिने कृत्यले हामीलाई या त बेखुसी बनाउँछ, या त्यस्तो खुसी दिन्छ जसमा सन्तुष्टि कदापि हुँदैन। यस्तो कृत्य गराउने उत्कण्ठा र बाध्यात्मकता नै कर्म हो।
व्यवहारको यस्तै शैलीले हाम्रा लागि दुःखको सिर्जना गर्ने हो, किनभने यसका पछाडि विचलनकारी आवेगहरू (क्लेश) ले काम गरिरहेका हुन्छन् –
- बाध्यात्मक शारीरिक शैली – जस्तै, म केहीमा पनि नछुटुँ भनेर मोबाइलमा म्यासेज चेक गरिरहनु, बारम्बार फेसबुकको वाल चेक गरिरहनु, अरूको भावनाप्रति बिल्कुल मुढ हुनु र बेवास्ता गर्नु, आमाबुवासँग खाना खान टेबलमा बसेको बेला अरूलाई म्यासेस टाइप गरिरहनु आदि।
- बाध्यात्मक भाषा शैली – जस्तै, असन्तुष्टिपूर्ण गनगन गरिरहनु, आफ्नो बखान र अरूको द्वेष गर्ने भएकाले बाध्यात्मक ढंगले निन्दा गर्नु तथा अरूलाई धम्क्याउनु, होच्याउनु; धक मानेर वा आफूलाई दीनहीन ठानेर मधुरो स्वरमा बोल्नु।
- बाध्यात्मक विचार शैली – जस्तै, असुरक्षाको भावले गर्दा बाध्यात्मक तवरमा चिन्ता लिइरहनु, यथार्थका बारेमा मूढता हुनु, वा यथार्थलाई त्यागेर दिवास्वप्नमा मात्र हराउने इच्छा हुनु।
यी सबै आत्म–विनाशकारी बाध्यात्मक व्यवहारका शैली हुन् जसले हामीलाई दुःखी मात्र तुल्याउँछन्। केही सिर्जनात्मक शैली पनि हुन्छन्, तर त्यसका पछाडि पनि कुनै सनकले काम गरिरहेको हुन्छ – जस्तै, परिपूर्णता (पर्फेक्सन्) खोज्ने बानी, अरूको कुरालाई सच्याउनै पर्ने प्रवृत्ति, अरूलाई कुनै कुरामा “नाईं” भन्नै नसक्ने बाध्यात्मक परोपकारिता, कामै मात्र गरिरहने बानी आदि। यी सबैमा केही सकारात्मक मनोभाव लुकेका हुन सक्छन्, जस्तै अरूलाई सहयोग गर्ने चाहना, राम्रो गरूँ भन्ने भावना, आदि। तर यस्तो व्यवहारका पछाडि एक आसक्ति र अतिसयोक्तिपूर्ण “म” उपस्थित हुन्छ – “मैले” राम्रो गर्नुपर्छ, अरूलाई “मेरो” आवश्यकता हुनुपर्छ, “मैले” गर्ने काम परिपूर्ण हुनुपर्छ, आदि। यसरी गरिने राम्रो व्यवहारले हामीलाई केही समय त खुशी देला, तर त्यो टिकाऊ हुँदैन, र त्यसैले समस्या खडा गर्छ। उदाहरणका लागि, हामीलाई आफू कहिल्यै पूर्ण स्तरमा नपुगेको लागिरहन्छ वा आफू राम्रो छु भनेर प्रमाणित गर्न अझै केही काम गर्न बाँकी छ भन्ने भाव आइरहन्छ।
प्रथमतः हामीले मनको भागदौड कम गर्नुपर्छ र आफूलाई शान्त बनाउनुपर्छ। त्यसो हुँदा मात्र कुनै कुरा गर्ने वा भन्ने भाव आउनु र त्यसलाई बाध्यात्मक रूपमा साँच्चिकै गरिहाल्नु बीचको अन्तर देख्न सक्छौं। ती दुईबीच केही समयको अन्तर हुन्छ जसलाई हामी हेर्न सक्छौं, त्यसका पछाडि कुनै क्लेशले काम गरिरहेको छ कि, वा केही असम्भव कामका लागि आफूलाई बाध्य बनाउँदैछौं कि (जस्तै, सधैँ पर्फेक्ट हुनुपर्ने), कुनै काम गर्नु शारीरिक आवश्यकता हो कि होइन (जस्तै, चिलाएको ठाउँमा कन्याउनैपर्ने), त्यो काम गर्न हितकर छ कि हानिकारक, आदि। यसरी विवेकपूर्ण होशमा रही आफ्नो व्यवहारलाई हेर्नुपर्छ र यदि त्यसका पछाडि कुनै हितकर कारण छैन, आफ्नो सन्की इच्छाका कारण मात्र त्यसो गर्न लागिएको रहेछ भने आत्म–संयम अपनाउँदै त्यस प्रकारको व्यवहार गर्न वा बोल्नबाट आफूलाई रोक्नुपर्छ। यसका लागि हामीले आफ्नो शारीरिक व्यवहार, बोली, र विचारहरूमाथि स्मृति (होश) राख्दै दिनभर आत्मपरीक्षण र आत्म–संयमको अभ्यास गर्नुपर्छ।
हाम्रो लक्ष्य प्रज्ञामा स्थित रही बाध्यात्मक तवरको व्यवहार सकेसम्म नगर्ने, सकारात्मक (कुशल) मनोभावबाट प्रेरित व्यवहार गर्ने, तथा आफ्नो र यथार्थबारेको भ्रमलाई सकेसम्म कम गर्ने हो।
ध्यान
- श्वासमा ध्यान केन्द्रित गर्दै आफूलाई शान्त बनाउनुहोस्।
- आफूले बाध्यात्मक तवरले गर्ने शारीरिक व्यवहार, बोली र विचारहरूलाई पहिल्याउने प्रयास गर्नुहोस्।
- तीमध्ये कुनै एकलाई लिनुहोस्, र त्यसको कारणको रूपमा रहेको क्लेश वा आसक्तिपूर्ण मिथ्या दृष्टिको विश्लेषण गर्नुहोस् – जस्तै म कहिल्यै गल्ती गर्दिन भन्ने विचार।
- यसरी बाध्यात्मक तवरले काम गर्दा तपाईंले या त आफ्ना लागि मात्र या अरूका लागि पनि कुनै प्रकारको समस्या खडा गर्नुहुनेछ – यो कुरा जान्ने प्रयत्न गर्नुहोस्। यसले कसरी तपाईंलाई दुःखी बनाउँछ वा सुख दिए पनि अल्पकालीन र असन्तुष्टिपूर्ण मात्र दिन्छ, जान्ने प्रयत्न गर्नुहोस्।
- अठोट लिनुहोस् – तपाईं विवेकको प्रयोग गर्दै आफूले भन्न वा गर्न लागेको कुराको जाँच गर्नुहुनेछ। आचार्य शान्तिदेवले भन्नुभएजस्तै त्यस्तो कुरा आत्म–विनाशकारी वा अहंकारलाई पोषण गर्ने रहेछ भने आत्म–संयम अपनाउनुहोस् र काठको ठुटोजस्तै बन्नुहोस्, त्यो काम नगर्नुहोस्।
- ध्यानमा बसिरहेको बेला कतै चिलाउन वा खुट्टा हल्लाउन मन लाग्छ भने त्यो भावलाई जान्नुहोस्। उक्त भाव र त्यसअनुसार चिलाइहाल्नु वा कुनै काम गरिहाल्नुबीचको समयको अन्तरलाई पकड्न खोज्नुहोस्, त्यो काम गर्ने वा नगर्ने निश्चय कसरी गर्नुहुन्छ, जान्ने प्रयास गर्नुहोस्। त्यो काम गर्दाभन्दा नगर्दा बढी हित हुने रहेछ भने काठको ठुटोजस्तै बनेर कसरी त्यसमा आत्म–संयम राख्न सकिन्छ, जान्ने प्रयास गर्नुहोस्।
- आफ्ना बाध्यात्मक व्यवहार सम्बन्धमा अठोट लिनुहोस् – त्यसो गर्ने भाव आउनु र त्यसलाई गरिहाल्नु बीचको समय अन्तरलाई पकड्न तपाईं ज्यादा होशमा रहनुहुनेछ, र त्यसो गर्नुभन्दा नगर्नुमा बढी कल्याण रहेछ भने काठको ठुटोजस्तै बनेर त्यो काम गर्नबाट बच्ने प्रयत्न गर्नुहुनेछ।
सारांश
बाध्यात्मक तवरले आत्म–विनाशकारी व्यवहार गर्नाले दुःख र समस्याहरूको सिर्जना हुन्छ भन्ने चर्चा हामीले गर्यौं। सकारात्मक वा सिर्जनात्मक नै काम गर्छौं भने पनि यदि त्यो बाध्यात्मक तरिकाले गरिन्छ, त्यसका पछाडि असुरक्षाको भाव र आफ्नाबारे असम्भव कल्पनाहरू छन् भने हामीले पाउने खुशी अल्पकालीन हुनेछ। जस्तै, कुनै काम सम्पन्न गरिसक्दा वा कसैलाई सहयोग गर्दा पनि हामीलाई पुनः आफूलाई राम्रो सिद्ध गर्नुपर्ने बाध्यता महसुस हुन्छ।
त्यसैले हामीले शान्त रहेर कुनै कुरा गर्ने, भन्ने, वा सोच्ने भाव आउनु र त्यसलाई बाध्यात्मक तरिकाले व्यवहारमा उतार्नुबीचको समयलाई पकड्नु पर्छ। हामी आफूप्रति सजग, होशवान र विवेकी हुनुपर्छ। बोधिसत्त्व रत्नमाला (२८) मा अतीशले लेख्नुभएजस्तै –
भीडमा भएका बेला म आफ्नो बोलीमा नियन्त्रण राख्न सकुँ; एक्लै भएका बेला म आफ्नो मनमा नियन्त्रण राख्न सकुँ।
तर यसको मतलब अतिवादमा जाने र जुनसुकै बेला पनि हठी र यान्त्रिक तवरले आत्मनिरीक्षण नै गरिरहने होइन। फेरी तपाईं भन्नुहोला, यसरी आत्म–संयमको अभ्यास गर्दा आफ्नो स्वेच्छामा चल्न सकिँदैन। तर स्वेच्छाको अर्थ मनमा जे आयो त्यो काम गरिहाल्ने, त्यसको उपयोगिता वा औचित्य विचारै नगर्ने पक्कै पनि होइन। नत्र त रातमा बच्चा रोइरहेको छ भने हेर्न मन लागेन भन्दै तपाईं त्यसलाई त्यत्तिकै छाडिदिनु हुनेथियो। अथवा त्यसलाई थप्पड हान्न मन लाग्यो भन्दै थप्पड हानेर चुप लगाउनु हुनेथियो। त्यसैले, बाध्यात्मक व्यवहारको समस्याबाट बच्न – अर्थात् कर्मको समस्याबाट बच्न – हामीले यहाँ गरेजस्तै खालको ध्यान अभ्यास बारम्बार गरिरहनुपर्छ; ताकि कुनै प्रहरीले बल र कठोरताको प्रयोग गरेर रोकेझैं हामीले आफूलाई रोक्नु नपरोस्, बरू स्वतस्फूर्त र स्वभाविक रूपमा होशमा रहँदै आफूमा कुनै कुरा गर्ने भाव आएको थाहा पाउन सकियोस्।