स्नेहभावको विकास

अरू पनि मानव नै हुन्, उनीहरूका पनि हाम्रा जस्तै भावनाहरू हुन्छन् भन्ने स्मरण गर्दै आफ्नो व्यवहार र बोलीले उनीहरूको भावनामा के असर पर्छ, त्यसको ख्याल राख्छौं र स्नेहभावको विकास गर्छौं।
Meditation generating care matheus ferrero

व्याख्या

श्वासमा ध्यान केन्द्रित गर्दै चित्तलाई शान्त गरिसकेपछि हामी एक सकारात्मक र सिर्जनात्मक चित्तावस्थाको निर्माण गर्न तैयार हुन्छौं। कुनै पनि ध्यानको पूर्वतयारीस्वरूप चित्तलाई शान्त गरिन्छ। अरूसँग कुराकानी गर्नका लागि उनीहरूप्रति सच्चा स्नेहभाव राख्नु र उनीहरूको ख्याल गर्नु अति आवश्यक हुन्छ। यसको अर्थ उनीहरूलाई मानवका रूपमा गम्भीरतापूर्वक लिनु र उनीहरूको पनि हाम्रोजस्तै भावना हुन्छ भन्ने याद गर्नु हो। तर यो कुरालाई हामी सजिलै भुल्छौं, र आफ्नै विषयमा मात्र व्यस्त, तनावग्रस्त, वा केन्द्रित रहने हुँदा अरूप्रति असंवेदनशील बन्छौं। यद्यपि सत्य के हो भने हामी आफ्ना बारेमा मात्र र आफ्नै समस्या तथा भावनामा मात्र जति साँघुरिन्छौं, त्यति नै बढी दुःखी हुन्छौं। त्योबेला हामी आफ्नो वरिपरिको बृहत् यथार्थबाट टाढिन्छौं।  

हामी मानव हौं, त्यसैले हामी सामाजिक प्राणी हौं। हामी आफ्नो भलाई र कल्याणका लागि परस्परमा निर्भर हुन्छौं। हामीले एक आपसमा व्यवहार गर्नुपर्ने हुन्छ। अरूसँग स्वस्थ र यथोचित व्यवहार गर्नका लागि हामीले उनीहरूको भलाई र कल्याणको ख्याल गर्नैपर्छ। विशेषतः हामीले उनीहरूको परिस्थिति, मनोभाव आदिलाई यथार्थपरक ढंगले हेर्दै त्यसप्रति संवेदनशील हुनुपर्छ र आफूले उनीहरूसँग गर्ने कुराकानीमा विशेष ध्यान पुर्याउनुपर्छ। 

कुनै दिन हाम्रासाथ के घटित भैरहेको छ, त्यसले अरूसँगको भेटका बेला हाम्रो मुडलाई प्रभावित गर्छ। त्यही कुरा अरूका हकमा पनि लागू हुन्छ। जब हामी कसैलाई भेट्छौं, उनीहरू कतै आकाशबाट टुप्लुक्क झरेका हुँदैनन्। त्यो दिन उनीहरूको कस्तो बितेको थियो र उनीहरू कुन मनोदशा (मुड) मा छन्, त्यसले उनीहरूको कुराकानीलाई प्रभावित पार्छ। हाम्रो हकमा पनि त्यही हो। तर आफ्नो र अरूको यो यथार्थप्रति हामी असंवेदनशील बन्छौं, जसले गर्दा हाम्रो संवाद सोचेभन्दा बिल्कुल भिन्न तरीकाले बढ्न सक्छ। फेरी, हामी जसरी उनीहरूसँग प्रस्तुत हुन्छौं र जे बोल्छौं त्यसले उनीहरूको भावनामाथि असर पुग्छ। त्यस्तै, उनीहरू जसरी हामीसँग प्रस्तुत हुन्छन् र जे बोल्छन्, त्यसले हामीलाई असर गर्छ। 

यी तथ्यहरूप्रति हामी सचेत भयौं र अरूसँगको भेटमा उनीहरूको भावनाको ख्याल गर्यौं भने हाम्रो कुराकारी निकै फलदायी र सन्तोषजनक हुनेछ, हाम्रा लागि पनि र उनीहरूका लागि पनि – चाहे ती हाम्रा मित्र हुन्, अपरिचित व्यक्ति हुन्, वा हामीलाई मन नपर्ने मानिसहरू हुन्।  

ध्यान

  • श्वासमा ध्यान केन्द्रित गर्दै चित्तलाई शान्त गर्नुहोस्।
  • चित्त शान्त भएपछि असल–खराबको भाव नराखी कुनै त्यस्तो मानिसलाई सम्झनुहोस् जसलाई तपाईं आत्मीय ठान्नुहुन्छ र जोसँग समय व्यतीत गर्न तपाईंलाई मनपर्छ। 
  • उप्रति यस्तो भावनाको विकास गर्नुहोस् – तपाईं पनि मानिस नै हो, तपाईंका पनि भावनाहरू छन्,
  • ठ्याक्कै मजस्तै।
  • तपाईंको मनको अवस्थाले हाम्रो कुराकानीलाई प्रभावित पार्छ,
  • मेरो मनको अवस्थाले पनि त्यसै गर्छ। 
  • मैले तपाईंसँग कस्तो व्यवहार गर्छु र के भन्छु, त्यसले तपाईंको भावनामा थप प्रभाव पर्छ।
  • त्यसैले, जसरी म चाहन्छु कि तपाईंले मेरो ख्याल गर्नुहोस् र मेरा भावनाहरूको कदर गर्नुहोस्, त्यसरी नै म पनि तपाईंको ख्याल गर्नेछु। म तपाईंको भावनाको कदर गर्नेछु।
  • अब यो सबै प्रक्रियालाई कुनै त्यस्तो व्यक्तिलाई स्मरण गर्दै दोहोर्याउनुहोस्, जोसँग तपाईंको एकदमै सामान्य चिनचान छ वा कुनै चिनजान नै छैन, जोप्रति तपाईंको कुनै खास भावनात्मक सम्बन्ध छैन। उदाहरणका लागि सिनेमाघरमा तपाईंको टिकट रुजु गर्ने मानिस।
  • अब यही सबै प्रक्रियालाई पुनः त्यस्तो व्यक्तिलाई स्मरण गर्दै दोहोर्याउनुहोस् जो तपाईंलाई मन पर्दैन, जसको साथमा तपाईं असहज महसुस गर्नुहुन्छ।

सारांश

यो ध्यानका धेरै उपयोगहरू छन् र यसलाई निकै व्यापक स्तरमा विस्तार गर्न सकिन्छ। हामी विभिन्न उमेर समूह, लिङ्ग, जातजाति लगायत धेरै प्रकारका मानिसहरूलाई माथिका तीन समूहमा बाँडेर ध्यान गर्न सक्छौं। यो ध्यानलाई हामी आफैंप्रति पनि केन्द्रित गर्न सक्छौं। हामी पनि मानव हौं र हाम्रा पनि भावनाहरू छन्। हामी आफूप्रति कस्तो व्यवहार गर्छौं, आफैंलाई मनमनै के भन्छौं, त्यसले हाम्रो मनोभावलाई धेरै हदसम्म प्रभावित गर्छ। यो प्रकारले ध्यान गर्दा हामी आफूप्रति पनि स्नेहपूर्ण भावको विकास गर्न सक्छौं।

Top