![What is sangha 1](https://studybuddhism.com/media/W1siZiIsIjIwMjEvMTEvMDkvMjIvMzMvMDcvMzQwMTNkNjYtODMzMy00OWNjLThjMTEtMWY3ZDRjZmI4MmNiL3doYXQtaXMtc2FuZ2hhLTEuanBnIl0sWyJwIiwidGh1bWIiLCI3MDB4Il1d/what-is-sangha-1.jpg?sha=26467d5ea169ead7)
संघको सुरुवात
धर्मचक्रप्रवर्तन सूत्रअनुसार बुद्धले बुद्धत्व लाभ गरेपश्चात विगतमा आफूसँगै धेरै समय तपस्या गरेका पाँच पूर्व मित्रहरूलाई पहिलो पटक धर्मको शिक्षा दिनुभयो, जसको विषय थियो – चार आर्यसत्य। यो शिक्षा ग्रहण गर्दै ती पाँचै जना तपस्वी बुद्धका शिष्य बने। तीमध्ये कौण्डिन्य मुक्त अवस्था अर्थात् अर्हत अवस्थामा पुग्नुभयो। केही दिनपछि बुद्धले अर्को शिक्षा दिनुभयो जसको विषय थियो – आत्माको शून्यता, अर्थात् आत्माको असम्भव सत्ता हुन नसक्ने तथ्य। यो सुनेपछि अन्य चार तपस्वीलाई पनि अर्हत्व लाभ भयो। यसरी यिनै पाँच शिष्यहरू संघको प्रथम सदस्यहरू भए अर्थात् प्रथम बौद्ध भिक्षुहरू बने।
त्यसपछि बुद्धले बाँकीको जीवन करीब ४५ वर्षसम्म आफूले हासिल गरेको ज्ञान मानिसहरूलाई बाँड्नुभयो। उहाँका अन्य धेरै शिष्यहरूले पनि उत्तरी भारतका गाउँ नगरहरू डुल्दै बुद्धका शिक्षा बाँडे। चाँडै नै समाजका अनेक तह र तप्काबाट धेरै मानिस बुद्धका अनुयायी बने। तीमध्ये कोही आध्यात्मिक शिक्षक नै थिए भने कोही राजा वा रानी, कोही किसान त कोही कसाही, वा त्यस्तै अन्य विविध समुदायका मानिस थिए। यसरी आउने अधिकांश मानिस सांसारिक गृहस्थी जीवन छाड्न चाहँदैन थिए, तर कसैले त्यो जीवन छाडेर संघमा प्रवेश गर्न चाहेमा उनीहरूलाई स्वागत गरिन्थ्यो। गृहस्थी जीवनमै रहेर विवाह गर्ने तथा सांसारिक काम गर्ने शिष्यहरूले संघलाई खानेकुरा र लत्ताकपडा दिएर सहयोग गर्थे।
समय बित्दै जाँदा धेरैभन्दा धेरै मानिस औपचारिक रूपमा बुद्धसँग जोडिँदै गए। त्यसैले एक सामञ्जस्यपूर्ण आध्यात्मिक समुदाय निर्माण गर्न शिष्यहरूका लागि निश्चित नियमहरू बनाउनु आवश्यक भयो। संघभित्र हुने अवाञ्छित व्यवहार र नतिजालाई रोक्न अनेक नियमहरू बनाइए। ती नियमहरू बनाइने, परीक्षण गरिने, र परिमार्जन गर्दै लगिने (ट्रायल एण्ड इरर) ढाँचाका थिए। बुद्धको जीवनको अन्तिम क्षणमा आइपुग्दा भिक्षु र भिक्षुणीले अपनाउनु पर्ने ती नियम सयौंको संख्यामा थिए।
![](https://studybuddhism.com/media/W1siZiIsIjIwMjEvMTEvMDkvMjIvMzIvNDEvMzdhNGY2ZDAtMGJjNC00NzUzLTgzYmEtMGVmZGU3MGM1YjQ1L3doYXQtaXMtc2FuZ2hhLTMuanBnIl0sWyJwIiwidGh1bWIiLCI3MDB4XHUwMDNlIl1d/what-is-sangha-3.jpg?sha=e1c39970e4575cde)
भिक्षुणी दीक्षा
प्रारम्भमा बुद्धले केवल पुरुषहरूलाई मात्र बौद्ध संघमा प्रवेश दिनुभएको थियो। भिक्षु संघको स्थापना भएको पाँच वर्षपछि बुद्धकी सानीआमा महाप्रजापति गौतमीले आफूलाई पनि भिक्षुणीको रूपमा प्रवेश गराउन अनुरोध गर्नुभयो, तर बुद्धले त्यसलाई स्वीकार गर्नुभएन। तर महाप्रजापति आफ्नो आग्रहमा अडिग रहनुभयो र ५०० अन्य महिलाको साथ लिई सबैले कपाल मुण्डन गर्ने, पहेँलो कपडा धारण गर्ने र बुद्धको अनुसरण गर्ने निश्चय गर्नुभयो।
महाप्रजापतिले बुद्धसामु थप दुइपल्ट अनुरोध गर्नुभयो, तर दुवैपल्ट बुद्धले उहाँहरूलाई भिक्षुणीको रूपमा प्रवेश दिन अस्वीकार गर्नुभयो। चौथोपल्ट बुद्धका काकाका छोरा आनन्दले हस्तक्षेप गर्नुभयो र महाप्रजापतिको पक्ष लिँदै सोध्नुभयो, के पुरुष सरह महिला पनि आध्यात्मिक मार्गको अनुसरण गर्न र बुद्धत्व प्राप्त गर्न सक्षम हुन्छन्? बुद्धले हुन्छन् भन्ने जवाफ दिनुभयो। त्यसोभए महिलाहरू पनि भिक्षुणी बन्न उपयुक्त हुने कुरा आनन्दले बुद्धसमक्ष राख्नुभयो। र, बुद्धले त्यसैअनुरूप महिला शिष्यहरूलाई पनि भिक्षुणीको रूपमा प्रवेश दिनुभयो।
लौकिक संघ र आर्य संघ
सामान्यतया संघ शब्दले भिक्षु र भिक्षुणीहरूको ती दुई समूह जनाउँछ जो बुद्धको शिक्षाको अनुसरण गर्छन्। “भिक्षु” शब्दको अर्थ खासमा “भिक्षा माग्ने” हो, किनकि उनीहरू सांसारिक वस्तुहरू त्यागेर एक ठाउँबाट अर्को ठाउँमा डुलिरहने, अरूले दानमा दिएका खानेकुराबाट जीवन निर्वाह गर्ने चलन थियो। संघ भन्नका लागि बोधिप्राप्तिको जुनसुकै तहमा भएपनि कम्तीमा चारजना पूर्ण रूपमा प्रवज्या लिएका वा नवप्रवेशी भिक्षु वा भिक्षुणीको समूह हुनुपर्र्छ। यसलाई लौकिक संघ भनिन्छ। अर्को संघ आर्य संघ हो, जसमा प्रवज्या लिएका वा नलिएका जे भए पनि धर्मको मार्गबाट आंशिक बोधिलाभ गरेका व्यक्तिहरू पर्छन्।
यसरी लौकिक र आर्य संघबीच फरक बुझ्नु महत्त्वपूर्ण छ। लौकिक संघमा कतिपय त उच्चस्तरका उत्कृष्ट भिक्षु वा भिक्षुणी हुन सक्छन्, तर कतिपय हामीजस्तै साधारण र आवेगात्मक विचलनले युक्त मानिसहरू हुन सक्छन् र तिनमा किन शरणगमन गर्ने भन्ने प्रश्न आउन सक्छ। त्यसैले त्रिरत्न मध्येका एक हुनका लागि आर्य संघ हुनुपर्छ, यो हामीले साँच्चिकै शरणगमन गर्ने रत्न हो। उनीहरूले हामीलाई सही मार्गदर्शन प्रदान गरेर साँच्चिकै हाम्रो हित गर्न सक्छन्।
![](https://studybuddhism.com/media/W1siZiIsIjIwMjEvMTEvMDkvMjIvMzIvMjMvYTA0M2VhNTQtNTQ0Ni00MDRhLWIxODEtNTVlZWNlMWRmZjVmL3doYXQtaXMtc2FuZ2hhLTcuanBnIl0sWyJwIiwidGh1bWIiLCI3MDB4XHUwMDNlIl1d/what-is-sangha-7.jpg?sha=727168eee1f3ca4b)
संघका गुणहरू
त्यसो भए संघमा कस्ता गुण होलान् जो हामी आफैँमा पनि विकसित गर्न चाहन्छौं?
१. शिक्षा दिँदा उनीहरूले पुस्तकमा पढेका कुरा मात्र दोहोर्याउँदैनन्। उनीहरू आफ्नो अनुभवबाट बताउँछन्, जो एकदमै प्रेरणादायी हुन्छ।
२. उनीहरूको एकमात्र चाहना अरूलाई सहयोग गर्नु हुन्छ। उनीहरू जे शिक्षा दिन्छन्, त्यसको अनुसरण आफैँ पनि गर्छन्। कुनै चुरोट खाने मानिसले हामीलाई चुरोट खानुको हानिका बारेमा बताउँदै गाली गरेको कल्पना गर्नुहोस् त! तिनले भनेको हामी किन मानौंला र! संघ आफ्नो व्यवहारमा साँचो हुन्छन्, त्यसैले हामी उनीहरूमाथि साँच्चिकै भरोसा गर्न सक्छौं।
३. खराब साथीको संगतमा रहँदा उनीहरूको कतिपय खराब बानी हामी सिकिसक्छौं यद्यपि हामीलाई अक्सर त्यसको हेक्का हुँदैन। अर्कातर्फ असल साथीहरूको संगतमा हुँदा खासै प्रयत्नबिना नै उनीहरूको असल गुण हामी सिक्छौं। त्यसैगरी धर्म अभ्यासमा प्रगति गर्न संघको ज्यादै उत्तम प्रभाव हुन्छ।
संघको महत्त्व
करिब २५०० वर्षअघि बुद्धले देहत्याग गर्नुभयो र हामीलाई उहाँको शिक्षा – अर्थात्, धर्म – अभ्यासका लागि छाडेर जानुभयो। बुद्धधर्म त्यही हो। तर राम्रोसँग अभ्यास गर्न हामीलाई भरोसायोग्य उदाहरण चाहिन्छ, अर्थात् त्यस्ता मानिसहरू हुनुपर्छ जसले बुद्धका शिक्षा सिकेका, अध्ययन गरेका, अभ्यास गरेका, यसका केही लक्ष्यहरू हासिल गरेका होउन् र जसले हामीलाई सहयोग र मार्गदर्शन प्रदान गर्न सकुन्। यस्ता व्यक्तिहरूको समूह संघ हो।
आजकल हामी अक्सर चलचित्रका नायक वा नायिका, मोडल, गायक, वा खेलाडीजस्ता सेलिब्रेटीहरूलाई आफ्नो आदर्श मान्छौं। तर उनीहरूका पनि आफ्नै समस्या हुन्छन्, होइन त? हामीलाई थाहा छ कि प्रायजसो उनीहरूको व्यक्तिगत जीवन अस्तव्यस्त हुन्छ। त्यति मात्र होइन, यस्ता सेलिब्रेटी र उनीहरूको जीवनप्रति हामी आसक्त भयौं भने त्यसै विषयमा साथीहरूसँग गफ गर्न थाल्छौं। यसबाट भौतिकताप्रतिको आसक्ति अझ बढ्छ। यस्तो व्यवहारबाट हामी आफैँ र अरुका लागि कुनै वास्तविक लाभ वा खुसी प्राप्त हुन सक्दैन। अर्कातर्फ संघ भनेका त्यस्ता व्यक्ति हुन् जो आफ्ना समस्याबाट धेरै हदसम्म मुक्त भैसकेका छन् र थप मुक्तिको अभ्यास गर्दै छन्। कस्तो गजबको कुरा! आफ्ना समस्याबाट मुक्त हुन हामीले पनि तिनको अनुसरण गर्नु तर्कसंगत हुन्छ, होइन र?
यही संघका कारण अद्भुत तवरले संरक्षित र एक पुस्ताबाट अर्कोमा हस्तान्तरित हुँदै आएका बुद्धका शिक्षा आजको आधुनिक युगमा हामीसँग उपलब्ध छन्। संघले हामीलाई आफ्ना तत्कालका समस्याबाट पर्तिर हेर्न र आफ्ना तमाम दुःखबाट पूर्ण छुटकारा पाउने बाटो छ भन्ने थाहा पाउने प्रेरणा दिन्छन्। तर संघले प्रेरणा मात्र दिने होइन, हामीलाई प्रत्येक चरणमा दिशानिर्देश, उत्साह र सहयोग पनि प्रदान गर्छन्। त्यसैले कहिलेकाहीँ के भनिन्छ भने संघ भएन भने बुद्धधर्म पनि हुँदैन।
सारांश
जीवनमा उत्तम आदर्श (रोल मोडल) कसरी छान्ने? साँच्चिकै अनुभूतिको तहमा ज्ञानप्राप्त आर्य संघ हामीले भेटाउन नसकौंला, तर धर्ममा आफूभन्दा बढी खारिएका अभ्यासीहरूलाई अवश्य भेट्न सक्छौं, उनीहरूबाट प्रेरणा लिन सक्छौं। उनीहरूको उदाहरण लिँदै उनीहरूकै बाटोमा अघि बढ्न सक्छौं।
लौकिक संघ अन्तर्गतका बौद्ध भिक्षु र भिक्षुणीको प्रतिबद्धताको फलस्वरूप नै धर्म विश्वभरी फैलिन सकेको हो। जसरी बुद्धलाई एक चिकित्सकको र धर्मलाई औषधिको उपमा दिइन्छ, त्यसरी नै संघलाई ती नर्सहरूको उपमा दिन सकिन्छ जसले हामीलाई आफ्ना दुःखबाट सधैँका लागि मुक्त हुने मार्गको अभ्यासमा प्रेरणा र मार्गदर्शन प्रदान गर्छन्।