आज म धर्मनिरपेक्ष विधिहरू अवलम्बन गर्दै मानसिक खुशी कसरी प्राप्त गर्ने भन्ने विषयमा चर्चा गर्नेछु। यहाँ यति धेरै मानिसहरूको अगाडि बोल्ने अवसर पाउँदा मलाई खुशी लागेको छ। महान् अमेरिकी वैज्ञानिक डेभिड लिभिङ्स्टोन मेरो असल मित्र हुनुहुन्थ्यो। अहिले उहाँ हामीबीच हुनुहुन्न। उहाँ भन्नुहुन्थ्यो, एक प्रेमिल मनको मान्छेले अरुलाई भेट्दा उसको आँखा अलि धेरै खुल्छ, आँखाको नानी फैलिन्छ। उहाँले मलाई भेट्दा र आफ्नो श्रीमतीलाई देख्दा त्यस्तै हुन्थ्यो रे। आजकल म जता जान्छु, सबै मान्छे उस्तै देख्छु। सबैले मप्रति सच्चा प्रेमपूर्ण व्यवहार देखाउनुहुन्छ। म यो भावनाको धेरै नै सम्मान गर्छु। यसका लागि तपाईंहरू सबैलाई धन्यवाद दिन चाहन्छु।
“धर्मनिरपेक्षता” भन्नाले के बुझिन्छ त? म यो शब्दलाई भारतीय परम्पराको सन्दर्भमा प्रयोग गर्छु। मेरा केही मुस्लिम र इसाई साथीहरूलाई चाहिँ “धर्मनिरपेक्षता” शब्द अलि धर्मको विरोधी जस्तो लाग्दो रहेछ। उहाँहरुलाई मैले यो शब्द प्रयोग गरेको त्यति मन पर्दैन। कसैकसैले “नैतिकता” धर्मको जगमा उभिनुपर्छ भन्ने ठान्नु हुन्छ। तर भारतीय संविधान “धर्मनिरपेक्षता” मै अडेको छ। त्यसको मतलब उ धर्म विरोधी भन्ने होइन। भारतमा मानिसहरू धर्मको धेरै नै सम्मान गर्छन्। महात्मा गान्धी र भारतीय संविधानका निर्माताहरू धेरै धार्मिक व्यक्तित्वहरू हुनुहुन्थ्यो। यस अर्थमा “धर्मनिरपेक्षता” को अर्थ सबै धर्मप्रति सम्मान गर्नु हो। कुनै एक धर्म अर्कोभन्दा राम्रो हो भन्ने खालको सोच नराख्नु हो। भारतमा हजारौं वर्ष अगाडिदेखि यही धर्मनिरपेक्षताको सोचले नास्तिकहरूको पनि हकको सम्मान गरेको छ। मैले प्रयोग गर्ने “धर्मनिरपेक्षता” यही अर्थमा हो।
मानवजातिका लागि मात्र होइन, जनावरहरू र कीरा फट्याङ्ग्राको हकमा पनि सबैलाई अझ धेरै शान्ति र स्थिरताको चाहना हुन्छ। कसैलाई पनि अशान्ति मन पर्दैन। सबैजना खुशी रहन तथा वाधाहरू, समस्याहरू र दुःखहरूबाट मुक्त हुन पाउनुपर्छ। यसलाई कुनै तर्क वा प्रयोगका माध्यमबाट प्रमाणित गरिरहनु आवश्यक छैन। यो प्रकृतिको सहज स्वभाव नै हो।जनावरहरू, पंक्षीहरू, मानवजाति लगायत हामी सबै चेतनशील प्राणी यही लक्ष्य प्राप्त गर्ने प्रयत्नमै हुन्छौं। कुन तरीकाबाट त्यो लक्ष्य प्राप्त गर्ने भन्ने कुरा चाहिँ महत्वपूर्ण हो। त्यो तरीका व्यावहारिक हुनु आवश्यक छ। अव्यावहारिक तरीकाले त हामी आफ्नो लक्ष्यमा पुग्न सफल हुन सक्दैनौं। कहिलेकाहीँ हामी देख्छौं जनावरहरू धेरै डराए भने उल्टो दिशातिर भाग्न थाल्छन्। खतराबाट टाढातिर जानुपर्नेमा जता खतरा छ उतैतिर दौडन थाल्छन्। तर हामी मानवजातिको अद्भूत बौद्धिक क्षमता छ, र हामी तर्क तथा बुद्धिको प्रयोग गरेर व्यावहारिक ढंगको समाधान खोज्न सक्छौं। यसबाट हामी सफल पनि हुन्छौं। हामीसँग दीर्घकालीन सोच हुन्छ, र कहिलेकाहीँ दीर्घकालीन सफलताका लागि तत्कालको लाभ स्वेच्छापूर्वक त्याग्न सक्छौं। यसले हाम्रो बौद्धिक क्षमता जनावरहरूको भन्दा बढी भएको संकेत गर्छ। यही बौद्धिक क्षमताका कारण हामी मानवजाति दीर्घकालीन लाभ प्राप्त गर्ने प्रयत्न गर्छौं।
त्यो अवस्थामा प्रश्न उठ्छ – अनुभवको कुन चाहिँ स्तर हाम्रा लागि सबैभन्दा लाभदायक हुन्छ? इन्द्रियको स्तरमा हुने अनुभव अस्थायी प्रकृतिको हुन्छ। उदाहरणका लागि तपाईंले कुनै चित्र देख्नुभयो वा कुनै खेलकूदको प्रतिस्पर्धा हेर्नुभयो भने आँखाको माध्यमद्वारा एक प्रकारको सुखको अनुभूति हुन्छ। त्यस्तै अनुभूति कुनै पर्यटकलाई नयाँ नयाँ ठाउँ, प्राकृतिक दृश्य, भेषभूषा, मानिसहरू आदि देख्दा पनि हुन्छ। दिल्लीमा मेरो गाडी चालकलाई क्रिकेट खेल मन पर्छ। कुनै बेला क्रिकेटको खेल भयो भने म उहाँलाई राति कति घण्टा सुत्नुभयो भनेर सोध्छु। उहाँको जवाफ हुन्छ – चार घण्टा। म उहाँलाई सम्झाउँदै भन्छु – खेलकुद हेरेर बस्नु भन्दा गहिरो निद्रा सुत्नु राम्रो हो। हाम्रो मनको लागि त्यो बढी लाभदायक हुन्छ। त्यस्तै संगीत वा मीठो सुगन्ध, वा खानेकुरा, वा सुखद शारीरिक संवेदनाहरू हुन्छन्। यी सबैको अनुभव इन्द्रियको स्तरमा मात्र हुन्छ, र त्यो क्षणिक हुन्छ। जब त्यो अनुभव सकिन्छ, हाम्रो सम्झनामा मात्र बाँकी रहन्छ।
अर्कोतर्फ केही अनुभवहरू मानसिक स्तरमा हुन्छन्, तिनीहरू शारीरिक संवेदनामा भर पर्दैनन्। तिनबाट प्राप्त हुने सुख अलि धेरै बेर रहन्छ। हामीले यो बुझ्नु जरुरी छ कि सुख वा दुःखको अनुभव दुई स्तरमा हुन्छ। एक, इन्द्रियको स्तरमा जुन क्षणिक हुन्छ, र अर्को मनको स्तरमा जुन अलि गहिरो हुन्छ।
अहिलेको आधुनिक युगमा मानिसहरू शारीरिक संवेदनाको स्तरमा धेरै लिप्त हुन्छन्। मानिसहरू यसैलाई सबैभन्दा महत्वपूर्ण ठान्छन्, र बाहिरी भौतिक साधनहरूमा आफ्नो खुशी खोजिरहेका हुन्छन्। आफूभित्रको गहिरो अनुभवको स्तरलाई वेवास्ता गरिरहेका हुन्छन्। धेरै वर्षअघि म जर्मनीको बर्लिनमा एक होटलमा बास बस्न पुगेको थिएँ। त्यो होटलको ठीक अगाडि एक रात्रि क्लब थियो। करीब ७:३० वा ८:०० बजेतिर म सुत्न गएँ। बाहिर रातो, नीलो, विभिन्न रंगीचंगी ज्योतिहरू चम्किरहेका थिए र ठूलो धमाकेदार आवाज आइरहेको थियो। म सुतेँ, करीब मध्यराततिर बिउँझदा त्यो सब यथावत् चलिरहेको थियो। त्यसपछि बिहान चार बजेतिर उठ्दा पनि त्यो सबै यथावत् चलि नै रहेको थियो। त्यहाँ सबै मानिसको सम्पूर्ण उर्जा त्यही इन्द्रिय संवेदनाको स्तरमा डुबेको थियो। मलाई लाग्छ भोलिपल्ट सबैजना थाकेर पूरै चूर भएका थिए होलान्।
केही समयअघि मैले एक भारतीय परिवार भेटेको थिएँ। उनीहरूका केटाकेटी र आमाबुवा सँगै थिए। हामीले केही सामान्य गफगाफ गर्यौं। मैले भनेँ – दुई तीन वर्ष भयो, मैले टेलिभिजन हेर्न बन्द गरेको छु र म बीबीसी रेडियोमा समाचार मात्र सुन्छु। केटाकेटीले भने – टेलिभिजन नहेर्दा तपाईं बोर हुनुहुन्छ होला। स्पष्टै थियो, उनीहरू टेलिभिजन धेरै हेर्थे। अमेरिका र युरोपमा बालबालिकाहरू धेरै टेलिभिजन हेर्छन्। त्यो धेरै राम्रो कुरा होइन किनकि त्यसले उनीहरूको विश्लेषण गर्ने तीक्ष्ण बौद्धिक क्षमतामा कमी ल्याउँछ। हामीले बुझ्नु पर्छ कि खुशीको खोजी इन्द्रियसुखको स्तरमा होइन, मनको स्तरमा गर्नुपर्छ।
हामीले बुझ्नु पर्ने अर्को जरुरी कुरा के हो भने भावनात्मक (इमोशनल) विचलन मनको स्तरमा हुन्छ। सुखी जीवनका लागि हाम्रो मन शान्त हुनु आवश्यक छ। अशान्तिको स्रोत मनकै स्तरमा हुने भएकाले हामीले त्यही स्तरमा काम गर्नु पर्छ। प्रथमतः हामीले आफ्नो आन्तरिक जगतमा ध्यान दिनु आवश्यक छ। आफ्नो आन्तरिक मूल्य मान्यतामा ध्यान दिनु आवश्यक छ। मस्तिष्कको सानो कोठा भित्रबाट हामी अन्तर्मनको असीम विस्तार देख्न सक्छौं। तर यथार्थमा हामीलाई अन्तर्मनको त्यो असीमताको बारेमा एकदमै थोरै मात्र जानकारी हुन्छ। हामीले आफ्नो मनोभावहरूको बारेमा जान्नु पर्छ। कुनै प्रगाढ भाव मनमा आयो भने मनकै एक भागले त्यसलाई विश्लेषण गरेर हेर्नुपर्छ। त्यसो गर्दा हामी पाउँछौं, त्यो भाव विस्तारै विस्तारै हराउँदै जान्छ। मनमा रिसको भाव प्रगाढ भयो भने हामी त्यसलाई हेर्न सक्छौं। त्यसलाई विश्लेषण गरेर हेर्ने वित्तिकै त्यसको बल कम हुन्छ। चित्तको गहिराईमा डुबेर हेर्नु धेरै रमाइलो हुन्छ।
हामी अहिले एक्काइसौं शताब्दीमा छौं। यस्तो लाग्छ, बीसौं शताब्दी मानव इतिहासमा सबैभन्दा महत्वपूर्ण समय थियो। यो शताब्दीमा वैज्ञानिक र प्राविधिक क्षेत्रमा भएका अनेकौं प्रगतिहरूका कारण हामी त्यसो भन्न सक्छौं। हाम्रो ज्ञानको दायरा बढ्यो र जीवनस्तर उकासियो। तर त्यसका साथै, विगत शताब्दी रक्तपातपूर्ण पनि रह्यो। हाम्रा आमाबुवा र हजुरबुवा हजुरआमाले धेरै नै अशान्ति र दुःख भोग्नुपर्यो। बीस करोडभन्दा बढी मानिस मारिए। तीमध्ये कति आणविक हतियारका शिकार भए। त्यो भीषण हिंसाको औचित्य सावित गर्नका लागि हामी भन्न सक्छौं कि त्यसले केही नयाँ व्यवस्थाहरूको सिर्जना गर्यो। तर कुरा त्यसो होइन। अहिले एक्काइसौं शताब्दीको प्रारम्भ भैसक्दा पनि इराक र अफगानिस्तानमा धेरै समस्याहरू विद्यमान छन्। आतंकवादको यस्तो चपेटा छ। यो विगतमा गरिएका गल्तीहरू र लापरवाहीको परिणाम हो। हामीले बाहिरी कुरालाई मात्र चाहिनेभन्दा धेरै महत्व दियौं। अब हामीले आफूभित्रको आन्तरिक मूल्यबारे सोच्नै पर्छ। बाहिरी परिवेशको मात्र सोचले हुनेवाला छैन।
भौतिक प्रगति राम्रै भएको छ। तर धनी र गरीब बीचको खाडल ठूलो समस्याको रुपमा विद्यमान छ। यहाँ अष्ट्रियामा समानताको स्तर निकै राम्रो छ, तर मेक्सिको, अर्जेन्टिना, र ब्राजिलमा स्थिति फरक छ। गत वर्ष म ती देशहरूको भ्रमणमा जाँदा मैले यही सोधेको थिएँ – धनी र गरीबबीचको दूरी कत्तिको छ? मैले जवाफ पाएँ, धेरै नै छ। यहाँ अष्ट्रियामा शायद त्यो दूरी कम छ।
मैले यो पनि सोधेको थिएँ – “भ्रष्टाचारको अवस्था कस्तो छ? धेरै छ कि थोरै?” प्रजातान्त्रिक देशहरूमा अभिव्यक्तिको स्वतन्त्रता हुन्छ र स्वतन्त्र प्रेस पनि हुन्छ। तैपनि भ्रष्टाचारको समस्या उत्तिकै छ। यसको कारण हो – आत्मसंयमको अभाव र नैतिक मूल्यमान्यताको कमी। भारतको उदाहरण लिऊँ, यो धार्मिक भावनाले अत्यन्त ओतप्रोत देश हो। तैपनि त्यहाँ भ्रष्टाचार व्याप्त छ। धेरै भारतीयको घरमा देवी वा देवताको मूर्ति हुन्छ। उहाँहरू आफ्ना भगवानलाई धुप र फूल चढाउनु हुन्छ र प्रार्थना गर्नुहुन्छ। म कहिलेकाहीँ ठट्टा गरेर उहाँहरूलाई भन्छु – तपाईं “मेरो भ्रष्टाचार सफल होस्” भनेर प्रार्थना गर्नुहुन्छ कि के हो? यो खासमा दुर्भाग्यपूर्ण कुरा हो। धेरै मानिस धार्मिक भावनाका छन्, तैपनि भ्रष्टाचार गर्छन्। उनीहरू नामका त आस्तिक हुन्, तर साँच्चिकै आस्थावान होइनन्। किनकि उनीहरू धर्मको सिद्धान्तलाई आफ्नो वास्तविक जीवनमा उतार्दैनन्, र ईश्वरको डर मानेर सोअनुसार काम गर्दैनन्।
केही वर्षअघि म एक विद्वानसँग बहुराष्ट्रिय कम्पनीहरूका बारेमा गफ गर्दैथिएँ। उनीहरूको नाफा पारदर्शी नभएको विषयमा हाम्रो कुराकानी हुँदै थियो। मैले भनेँ – “जसले यी कम्पनी चलाउँछन्, उनीहरू ईश्वरका अनुयायी जस्ता देखिन्छन्। त्यसैले उनीहरूमा केही त अनुशासन हुनुपर्ने हो।” ती विद्वानले भन्नुभयो – “त्यस्तो त अठारौं शताब्दीमा हुन्थ्यो होला!” ती मानिसहरू ईश्वरको पूजा त गर्छन् होला, तर पक्कै पनि उनीहरू त्यसमा गम्भीर छैनन्। उनीहरू गम्भीर भएका भए ईश्वरको कुरा मान्ने थिए होला र इमान्दार, प्रेमभावले युक्त, र नीतिवान हुन्थे होलान्। हामीले अरुप्रति प्रेमभाव राख्नु र वातावरणको संरक्षण गर्नु आवश्यक छ। हामीले नैतिक मूल्यमा बढी जोड दिनु आवश्यक छ। त्यसका लागि आत्मानुशासनमा ध्यान दिनु जरुरी हुन्छ। तर यस्तो अनुशासन डर वा करकापले नभई स्वेच्छापूर्वक गरिनुपर्छ। यसका पछाडि हाम्रो भावना हुनुपर्छ – “मैले यस्तो काम गरेँ भने त्यो मेरो नैतिक सिद्धान्तको प्रतिकूल हुनेछ।”
नैतिक आचरण बढाउनका लागि हामीले थप प्रयत्न गर्नु आवश्यक छ। नत्र यति धेरै जनसंख्या बृद्धि र स्रोतसाधनमा कमी भैरहेका बेला धेरैभन्दा धेरै समस्याहरू आउन सक्छन्। यो एक्काइसौं शताब्दीलाई हामी करुणामय शताब्दी बनाऔं। हाम्रा प्रयत्नहरू त्यसतर्फ लक्षित होऊन्। नैतिक आचरण र धर्मनिरपेक्ष नैतिकताको मूल सिद्धान्त यही हो।
नैतिक आचरण र प्रेमपूर्ण व्यवहारबीच गहिरो सम्बन्ध छ। यसको अर्थ अरु मानिसको सकेसम्म धेरै ख्याल गर्नु हो। अरु पनि खुशी नै हुन चाहन्छन्, कोही पनि दुःखी हुन चाहँदैन। हामी सबै परस्पर सम्बद्ध छौं। अरुको खुशी नै हाम्रो खुशीको स्रोत हो। हामीले यो कुरा बुझ्यौं भने अरु मानिसको कदर गर्न थाल्छौं। त्यसपछि झूठो बोल्ने, धोखा दिने, अरुलाई डराउने, धम्क्याउने वा उनीहरूको शोषण गर्ने कुनै गुन्जायश रहँदैन। यस अर्थमा प्रेमपूर्ण व्यवहार आनन्दको स्रोत हो। जैविक स्तरमा हामी यो आफ्नो आमाबाट पाउँछौं। आमाको मायाले हामी बाँच्छौं, उहाँको दूधले हामीलाई जीवन दिन्छ। यो अनुभव हाम्रो रक्तप्रवाह र हाम्रो आनुवांशिक जीनमै समाहित भएको हुन्छ। यहाँनेर विचारणीय छ – बालबालिका अरुबाट धन वा सांस्कृतिक विरासत पाउनेभन्दा माया पाउन बढी लालायित हुन्छन्। तर जब उनीहरू बढ्दै जान्छन्, उनीहरूको सोच साँघुरो हुन थाल्छ। ज्ञानको दायरा फराकिलो भएको छैन भने उनीहरू कुनै पनि कुरामा “आफ्नो फाइदा के छ” भनेर सोच्न थाल्छन्। यस्तो आत्म–केन्द्रित सोचले “म” भन्ने भावना बढाउँछ। धेरै ठूला समस्याहरूको जड यही भावना हो। हामीले बृहत्तर मानवजातिलाई “हामी” भनेर बुझ्नु जरुरी छ। हामीले आफूलाई युरोपियन युनियन वा सिंगै पृथ्वीको एक अंगको रुपमा लिनु जरुरी छ।संसारका सात अरब मान्छेको कोणबाट सोच्नु र उनीहरू सबैलाई “हामी” को रुपमा लिनु आवश्यक छ। हामी यो बृहत्तर समुदायका अंग हौं, न कि सानो “म” को। त्यसैले हामीले सबैलाई सम्मान गर्नु पर्छ, चाहे धनी होस् वा गरीब। सबैले उस्तै अधिकार पाउनु पर्छ, आर्थिक दृष्टिले पनि र अन्य सबै प्रकारले। यदि हामीले अरुको भलाईमा ध्यान दिन थाल्यौं भने त्यस्तो सम्मानको भाव स्वतः उत्पन्न हुन्छ।
यदि हामीले अरु सबै मानिसको सम्मान गर्न थाल्यौं भने कसैको पनि शोषण हुँदैन। त्यस्तै, प्रेमपूर्ण व्यवहार शारीरिक स्वास्थ्यका लागि पनि निकै लाभदायक हुन्छ। वैज्ञानिकहरूको भनाई अनुसार लगातारको विपत्ति र डरले हाम्रो शरीरको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ। जब हामी आत्म–केन्द्रित हुन्छौं, हामीलाई आफ्नो हितको कुराप्रति मात्र डर भैरहन्छ। अरुको विषयलाई लिएर हाम्रो मनमा गहिरो अविश्वास भैरहन्छ। यसले एक्लोपना र डरको भावना ल्याउँछ, जसबाट निराशा र अन्ततः रिस उत्पन्न हुन्छ।
तर जब हामी आफ्नो हृदय खुला राख्छौं र अरुप्रति स्नेहको भाव राख्दछौं, हामीभित्र एक आत्मविश्वास जागृत हुन्छ। यस्तो आत्मविश्वासका साथ हामी खुलापन र पारदर्शिताको व्यवहार गर्न सक्नेछौं। हामीले जसलाई भेटे पनि र जसलाई देखे पनि उनीहरू आफ्नै दाजुभाई र दिदीबहिनी जस्तो लाग्नेछ। हाम्रो हृदय स्नेहको भावले भरिएको छ र हामी अरुको ख्याल राख्न सक्छौं भने धेरै मानिसले हामीप्रति त्यस्तै सकारात्मक व्यवहार गर्छन्। तर सधैं त्यसो हुँदैन। जब मलाई गाडीमा राखेर यताउता लगिन्छ, म बाटोमा देखिने मानिसहरूतर्फ हेर्छु र मुस्कुराउँछु। एक पटक जर्मनीमा बाटो छेउमा हिँड्दै गरेकी एक महिलातर्फ हेरेर म मुस्कुराएँ, तर उहाँले के ठान्नुभयो कुन्नि, खुशी हुनुको बदला सशंकित पो हुनुभयो! उहाँ तर्सिएको देखेर म अर्कोतर्फ फर्किएँ। तर प्रायःजसो त्यस्तो हुँदैन।
स्नेह वा प्रेमको भाव हामीले आफ्नो आमाबाट सिक्छौं। हामीले यो भावलाई आफूसँग जीवनभर सम्हालेर राख्नुपर्छ। वैज्ञानिक सम्मेलनहरूमा प्रायः हामी यस्तो नारा सुन्ने गर्छौं – “स्वस्थ मन, स्वस्थ शरीर”। यसका लागि हामीले यथार्थलाई हेर्न सक्नुपर्छ। हाम्रो मन शान्त हुनुपर्छ। मनमा अशान्ति छ भने हामी पूर्वाग्रही बन्छौं र यथार्थलाई देख्न सक्दैनौं। यसले अनेक समस्याहरू सिर्जना गर्छ। स्नेह वा प्रेमको भावले मन शान्त बनाउन सहयोग गर्छ।
यदि हाम्रो मन शान्त छैन भने शिक्षा ग्रहण गर्नमा पनि समस्या हुन्छ। मन शान्त र खुशी भएन भने सिक्न धेरै नै गाह्रो पर्छ। कुनै काम गर्न होस् वा पेशा अपनाउन, यहाँसम्म कि राजनीति गर्न नै किन नहोस्, शान्त मन सहयोगी हुन्छ। छोटकरीमा भन्नुपर्दा मनको शान्तिले आत्मविश्वास उत्पन्न गराउँछ। त्यो आत्मविश्वासबाट हामी यथार्थलाई स्पष्टसँग देख्न सक्छौं, जसका आधारमा हामी अझ बढी स्नेहपूर्ण र प्रेमपूर्ण व्यवहार गर्न सक्छौं।
यी सब धर्मनिरपेक्ष नैतिक आचरणका मूल सिद्धान्तहरू हुन्। सुखी जीवन जीउने कलाको आधार पनि यही हो। मेरो कुरा गर्नुपर्दा, यी कुराहरू मैले धेरै नै उपयोगी पाएको छु। तपाईंलाई उचित लाग्यो भने यसलाई व्यवहारमा उतार्ने प्रयत्न गर्नुहोला। तपाईंलाई उचित लागेन भने बिर्सिदिनुहोला। धन्यवाद।