नैतिक जीवन कसरी जीउने

Uv how to lead an ethical life

स्वार्थ–केन्द्रित होइन, परार्थ–केन्द्रित चिन्तन नैतिक जीवनको आधारशीला हो

हामीले भरसक अरुको सहायता गर्नुपर्छ, यदि गर्न सक्दैनौं भने कम्तीमा अरुलाई हानि गर्नबाट चाहिँ बचौँ।  यो बुद्धधर्मको एक सार तत्त्व हो । नैतिक जीवन जीउनका लागि चाहिने मूल तत्त्व पनि यही हो।

कुनै पनि काम गर्नका लागि केही प्रेरणा चाहिन्छ। हामी कसैको अहित गर्छौं भने त्यसका पछाडि पनि कुनै चीजले हामीलाई प्रेरित गरिरहेको हुन्छ। त्यस्तै अरुलाई गर्ने सहयोगका पछाडि पनि कुनै प्रेरक तत्त्व रहेको हुन्छ। त्यसका लागि हामीलाई केही तथ्यहरू बुझ्नु जरुरी हुन्छ।  हामीले कसैलाई किन सहयोग गर्नु पर्छ र किन हानि पुर्याउनु हुँदैन भन्ने बुझ्नु जरुरी छ। 

उदाहरणका लागि जब हामी कसैलाई हानि पुर्याउन खोज्छौं, त्यतिबेला हामीभित्र एकखालको चेतना जागृत हुन्छ, जसले हामीलाई सो काम गर्नबाट रोक्छ।  हामीभित्र अरुलाई हानि नगर्ने एकखालको निश्चय हुनु आवश्यक छ। हाम्रो चित्तको कुनै कुनामा अरुको हानि गर्ने विचार आउँछ, तर चित्तको विशिष्ट मनोदशाका कारण चित्तकै अर्को भागले हामीलाई त्यसो गर्नु गलत हो, त्यसो नगर भन्छ।  त्यो गलत हो भन्ने बुझेपछि हामीले आफूभित्र एक इच्छाशक्तिको विकास गर्छौं र आफैंलाई रोक्छौं। अरुलाई हानि गर्न होस् वा नगर्न होस्, हामीभित्र एक प्रकारको जागरुकता हुनु आवश्यक छ जसले हामीलाई यो भनोस् कि उक्त कार्यको नतीजा दीर्घकालीन असर पुर्याउने खालको हुनेछ। मानिस भएका कारण हामीसँग लामो समयपछिको परिणामको पनि अन्दाज गर्नसक्ने बुद्धि हुन्छ।  यही अन्दाजका कारण हामीले आफूलाई तत्क्षण रोक्न सक्छौं।

यहाँ हामीले दुई फरक तरीका अपनाउन सक्छौं। पहिलो, हामी आफ्नो हितको बारेमा सोच्छौं र साथै अरुको कुनै प्रकारले सहायता गर्न सक्ने रहेछौं भने गर्छौं। तर सहायता गर्न सक्ने रहेनछौं भने पनि अरुको अहित गर्नबाट आफूलाई रोक्छौं। दोश्रो, हामी अरुको हितका बारेमा सोच्छौं र सके सहायता गर्छौं, नसके अहित गर्नबाट आफूलाई रोक्छौं।  आफनो हितका लागि अरुको अहित गर्नबाट आफूलाई रोक्दा यस्तो सोचाई आउँछ – “यदि मैले यसो गरेँ भने खराब परिणाम भोग्नुपर्छ। यसको कानुनी परिणाम पनि हुन सक्छ।     त्यस्तै अरुको हित सोचेर अहित गर्नबाट बच्ने क्रममा यस्तो सोचाई आउँछ – “अरु पनि म जस्तै त हुन नि।  उनीहरुलाई पनि दुःख र पीडा मन पर्दैन। त्यसैले उनीहरुलाई हानि पुर्याउने काम म गर्दिन। "

आफ्नो मनलाई प्रशिक्षित गर्ने क्रममा हामी पहिला आफ्नो हितका बारेमा सोच्छौं, त्यसपछि प्रबल रूपमा अरुको बारेमा सोच्छौं । अरुको बारेमा प्रबल रूपमा सोच्नु अझ बढी प्रभावकारी हुन्छ । प्रातिमोक्ष (विनय परम्परा अन्तर्गत व्यक्तिगत निर्वाणका लागि लिइने संकल्प) को मूलभूत आधार आफ्नो हितका बारेमा सोच्नु हो, जसका कारण हामी अरुलाई हानि पुर्याउनबाट जोगिन्छौं । आफ्नो मुक्ति नै मुख्य उद्देश्य भएकाले त्यसो गरिएको हो । अर्कोतर्फ बोधिसत्‍व अभ्यासमा अरुको हित सोच्नाको कारणले कसैलाई पनि हानि पुग्ने काम गरिँदैन।  अरुलाई हानि पुर्याउनबाट बच्नु र अरुको सहायता गर्नु परोपकारको अभ्यास हो । मैले प्रायः भन्ने गरेको सार्वभौमिक उत्तरदायित्वको सम्बन्ध यही अभ्याससँग छ ।

मनुष्यका रूपमा हाम्रो मूल स्वभाव

सामान्यतया हामी मानिसहरू सामाजिक प्राणी हौं। कुनै पनि मानिसको जीवनको अस्तित्त्व बृहत्तर मानव समुदायमाथि निर्भर रहेको हुन्छ।  एक व्‍यक्ति विशेषको जीवनरक्षा र कल्याणका लागि पनि सम्पूर्ण समाजको आवश्यकता रहन्छ।   तसर्थ अरुको कल्याणको चाहना राख्नु र त्यसप्रति चिन्तित रहनु मानिसको आधारभूत प्रकृतिकै उपज हो। लंगुर बाँदरको उदाहरण लिउँ। यो बाँदरको समूहमा सबैभन्दा बूढो बाँदरले अन्यको रेखदेखको जिम्मा लिन्छ। खाना खाने बेलामा त्यो बूढो बाँदर एक ठाउँमा बसेर आफ्ना साथीहरूको निगरानी गर्छ।  समूहको सबैभन्दा शक्तिशालीले बाँकी सदस्यलाई अरु हिसाबले सहायता गर्छ।

प्राग्ऐतिहासिक कालमा हामी मान्छेहरूसँग कुनै शिक्षा वा प्राविधिक ज्ञान थिएन । मानव समाज साधारण थियो, सरल थियो । उनीहरू सबै सँगै मिलेर काम गर्थे र मिलीजुली बस्थे । साम्‍यवादीहरूका अनुसार यो साम्‍यवादको मूल रूप हो : सबैजना सँगै काम गर्ने र आनन्द बाँड्ने।  त्यसपछि शिक्षाको विकास भयो र हामी सभ्‍य हुन थाल्यौं । मानिसको चित्त बनावटी हुन थाल्यो र उसमा लोभ बढ्न थाल्यो । यसले ईर्ष्या र घृणाको जन्म भयो ।  समय बित्दै जाँदा यी भावहरू प्रबल हुँदै गए ।

आज एक्काइसौं शताब्दीमा आइपुग्दा मानव समाजमा धेरै परिवर्तनहरू घटित भएका छन् । हामीबीच दूरी बढ्दै गएको छ । शिक्षा, रोजगारी, सामाजिक पृष्ठभूमि आदिमा भिन्नता देखिँदै गएको छ । तर हामीबीचका यस्ता भिन्नता सबै गौण हुन्, चाहे त्यो उमेर वा जातिकै आधारमा किन नहोस् । मूलभूत रूपमा हेर्ने हो भने हामी सबै मानव जाति हौं र हामी सबै एक समान छौं । यो लाखौं वर्ष अघिदेखिकै यथार्थ हो ।

यो कुरा बुझ्न साना बालबालिकाको व्यवहार हेरे पुग्छ । उनीहरू अरु बालबालिकाको सामाजिक पृष्‍ठभूमि, धर्म, जाति, रंग, वा धनसम्पत्ति हेर्दैनन् । उनीहरू सँगै खेल्छन्, र जबसम्म मित्रता रहन्छ, तबसम्म साँचो अर्थमा साथी हुन्छन् । यसका विपरीत हामी ठूला मान्छेहरू ज्यादा बुद्धिमान र अझ विकसित मानिन्छौं तर अरुसँग व्यवहार गर्ने बेलामा उनीहरूको सामाजिक पृष्‍ठभूमि हेर्न थाल्छौं।  म कसैसँग मुस्कुराएँ भने मलाई के फाइदा हुन्छ वा उसलाई बेवास्ता गरेँ भने केही नोक्सान हुन्छ कि हुँदैन भनेर हिसाब लगाएर बस्छौं ।

सार्वभौमिक उत्तरदायित्त्व

सार्वभौमिक अथवा विश्वव्यापी उत्तरदायित्वको भावनाले मानवीय स्‍तरमै काम गर्छ ।  "म पनि अरुजस्तै हुँ । हामीबीच जतिसुकै अन्तर भएपनि मेरो कुशल मंगल उनीहरूमाथि निर्भर छ," भन्ने ज्ञान भएका कारण हामी अरु मानवको चिन्ता गर्छौं । भिन्नताहरू त हुन्छन्, तर ती भिन्नता पनि सहयोगी हुन सक्छन् ।

कैयौं शताब्दीसम्म यो ग्रहको जनसंख्या केवल एक अरब रह्यो । तर अहिले ६ अरबभन्दा बढी छ । धेरै जनसंख्याका कारण त्यसै पनि कुनै देशले आफ्नो सबै जनसंख्यालाई पुग्नेगरी खाद्यसामग्री र अन्‍य स्रोतसाधन जुटाउन सक्दैन।  त्यसैकारण हामीलाई विश्व अर्थतन्त्र चाहिएको हो । विश्व अझ साँघुरिएको छ, र यहाँ सबै एक आपसमा अन्तरसम्बन्धित छन् । यही नै आजको यथार्थ हो । अहिले अर्को यथार्थ पनि छ : पर्यावरणको समस्या । पृथ्‍वीको तापक्रम बढिरहेको छ ।  यो केवल एक वा दुई देशको मात्र नभई यहाँका सबै ६ अरव मान्छेको चिन्ताको विषय हो । यो नयाँ यथार्थको सामना गर्नका लागि विश्वव्यापी उत्तरदायित्वको भावना आवश्यक छ ।

विगतमा यहाँ अंग्रेजहरूले केवल आफ्नो बारेमा मात्र सोच्ने गर्थे।  उनीहरूले समयसमयमा विश्‍वका विभिन्न भूभागको शोषण पनि गरे ।  त्यसबेला उनीहरूले अन्य मानिसको सरोकार र भावनाको बारेमा सोचेनन् ।  तर त्यो त अब विगतको कुरा भैसक्यो।  अहिले धेरै परिवर्तन भएको छ। अवस्था बदलिएको छ ।  हामीले अन्य देशको बारेमा पनि चिन्ता गर्नुपर्छ ।

तर वास्तवमा भन्ने हो भने अंग्रेज साम्राज्‍यवादी शासकहरूले केही राम्रा काम गरेका छन् । उनीहरूले भारतमा अंग्रेजी भाषामा राम्रो शिक्षा भित्र्याए ।  भारतले यसको धेरै गुन मान्नुपर्छ । बेलायतले यहाँ प्रविधि भित्र्यायो, रेल यातायातको व्‍यवस्‍था लिएर आयो ।  म पहिलो पटक भारत आउँदा यहाँ केही गान्धीवादी अझै जीवित थिए ।  उनीहरूले मलाई गान्धीको अहिंसात्मक पद्धतिको बारेमा जानकारी दिए ।  त्योबेला मलाई लागेको थियो – अंग्रेज साम्राज्‍यवादी शासकहरू एकदमै खराब रहेछन् । तर पछि मैले भारतमा स्‍वतन्त्र न्‍याय प्रणाली, स्‍वतन्त्र पत्रकारिता, बोल्ने स्‍वतन्त्रताजस्ता कतिपय राम्रा अभ्यासहरू अपनाइएको देखेँ ।  अलि गहिरिएर विचार गर्दा यी चीजहरू ज्यादै राम्रो भएको पाएँ ।

आजको विश्वमा राष्ट्र राष्ट्रबीच र महाद्वीप महाद्वीपबीच अत्यन्तै गहन अन्तरसम्बन्ध रहेको छ । यो यथार्थलाई विचार गर्ने हो भने विश्वव्यापी जिम्मेवारीबोध साँच्चै नै आवश्यक छ । हाम्रो आफ्नै भलाई पनि अरुको हितको रक्षा र उनीहरूको विकासमा निर्भर रहन्छ । त्यसैले आफ्नै भलाईका लागि पनि अरुको हेरविचार गर्नु आवश्यक हुन्छ । आर्थिक क्षेत्रमा त यो कुरा स्थापित भैसकेको छ । हामीबीच सैद्धान्तिक भिन्नता भए पनि र एकले अर्कालाई विश्वास गर्न नसक्ने भए पनि अन्तरनिर्भर विश्वव्यापी अर्थतन्त्रमा हामीले एकआपसमा अन्तरक्रिया गर्नै पर्छ । त्यसै कारण अरुको हितको सम्मान गर्दै विश्वव्यापी जिम्मेवारीबोधको अभ्यास अत्यन्त आवश्यक छ ।

हामीले अरुलाई दाजुभाई दिदीबहिनीको रुपमा लिनु र उनीहरूसँग आत्मीय भावना राख्नु जरुरी छ । यसमा धार्मिक मान्यताको कुनै सम्बन्ध छैन । हामी सबैका लागि यो साँच्चिकै आवश्यक छ । “हामीहरू” र “उनीहरू” भन्ने विचार एक हदसम्म हुन सक्छ तर सम्पूर्ण विश्व समुदायले आफूलाई “हामीहरू” भनेर लिनु आवश्यक छ ।  छिमेकीको हितमा हाम्रो आफ्नै पनि हित हुन्छ ।

सन्तोष

हामी अरुलाई हानी नपुर्याऔं बरु सकेसम्म अरुको सहायता गरौं। व्यक्तिगत रुपमा नैतिक जीवन जीउनुको अर्थ यही हो। अरुको कल्याणको कामनालाई आफ्नो नैतिक जीवनको आधार बनाऔं। त्यसो गर्न सक्यौं भने हाम्रो नैतिकताको दायरा फराकिलो हुन्छ। यो कुरालाई हामीले आफ्नो जीवनशैलीमा उतार्नु आवश्यक छ।  

अमेरिकाजस्तो देशमा पनि धनी र गरीबको बीचमा ठूलो अन्तर छ। अमेरिका संसारको सबैभन्दा धनी देश हो, तर त्यहाँ पनि गरीब क्षेत्रहरू छन्। यही सबैभन्दा धनी देशको राजधानी वाशिंगटन डीसी जाँदा मैले धेरै गरीब बस्तीहरू देखेको थिएँ। उनीहरूको आधारभूत आवश्‍यकता पूरा भएका छैनन्। त्यसैगरी विश्वस्तरमा हेर्ने हो भने उत्तरी गोलार्द्धका औद्योगीकृत राष्ट्रहरू विकसित र अपेक्षाकृत सम्पन्न छन्, तर दक्षिणी गोलार्द्धका कैयौं देशमा भोकमरीको अवस्था छ। यो नैतिक दृष्टिले गलत मात्र होइन कि धेरै समस्याको जड पनि हो। धनी राष्‍ट्रहरूले आफ्नो जीवन शैलीमाथि विचार पुर्याउनु जरुरी छ।  उनीहरूले सन्तोषको अभ्यास गर्नु आवश्यक छ।  

पन्ध्र वर्ष अगाडि जापान जाँदा त्यहाँका मानिसलाई मैले भनेको थिएँ – हरेक वर्ष आर्थिक बृद्धि भैरहनु पर्छ र हरेक वर्ष भौतिक उन्नति भैरहनु पर्छ भन्ने सोचाई राख्नु ठूलो गल्ती हो। कुनै दिन तपाईंको अर्थ–व्यवस्था खुम्चिन पनि सक्छ। तपाईंले आफूलाई त्यसका लागि पनि तयार राख्नु पर्छ, ताकि त्यसले तपाईंको मनमा कुनै ठूलो धक्का लाग्न नपाओस्। वास्तवमा केही वर्ष पछि जापानमा त्यस्तै नै भयो।

केही मान्छेको जीवनमा भोग–विलासका सामग्री अत्यधिक धेरै छन्। चोरी, शोषण वा कसैलाई धोका नदिइकन पनि उनीहरूसँग अत्यधिक धेरै सम्पत्ति छ। यदि सम्पत्ति कुनै अनैतिक स्रोतबाट आएको होइन भने उनीहरूको आफ्नै हितका हिसाबले यसमा केही गलत छैन। तर नैतिक दृष्टिबाट हेर्ने हो भने अन्य मानिस भोकमरीबाट गुज्रिरहेको अवस्थामा चाहिँ त्यसो हुनु त्यति राम्रो होइन। सबैको जीवनशैली त्यस्तै उच्चकोटीको हुँदो हो त यसमा केही समस्या थिएन। तर संसारमा त्यस्तो अवस्था छैन। हामीले आफ्नो जीवनमा अलिकति मात्र भए पनि सन्तोषको मात्रा बढाउन सक्यो भने उत्तम हुन्छ।अमेरिका, जापानलगायतका मुलुकमा मैले गरेको अनुभव अनुसार भन्न सक्छु कि मानिसहरुको जीवनशैलीमा केही सुधार आवश्यक छ।

कतिपय मुलुकमा एउटा परिवारले दुइवटा वा तीनवटासम्म कारहरू प्रयोग गर्दछन्। भारत र चीनको जनसंख्या मिलाएर दुइ अरबभन्दा बढी हुन आउँछ। यदि यहाँ पनि त्यसरी नै दुइ अरव वा सोभन्दा बढी कार भेला गर्ने हो भने समस्या खडा हुनेछ। इन्धन, भौतिक सामग्री, आदिलाई लिएर निकै जटिलता र कठिनाइहरू उत्पन्न हुन सक्छन्।

पर्यावरणको चिन्ता

नैतिक जीवनको अर्को आधार पर्यावरणप्रति सचेत रहनु हो। हामीले पानीको उपयोग कसरी गर्छौं, त्यसमा ध्यान दिनु आवश्यक छ। पानी बचाउनमा मेरो आफ्नो योगदान धेरै ठूलो नहोला। तर विगत कैयौं वर्षदेखि मैले सावरमा मात्र नुहाउने गरेको छु। बाथटबको प्रयोग गर्दिन किनकि त्यसका लागि धेरै पानी चाहिन्छ। तर म दिनमा दुइपटक नुहाउने भएकाले लगभग उत्तिकै पानी खर्च होला। त्यस हिसाबले कति जनाले मलाई बेवकूफ पनि भन्ठान्नुहोला। तर बत्तीको कुरा गर्ने हो भने म हरेक पटक कोठाबाहिर जाँदा बत्ती निभाउने गर्छु। त्यसो गर्दा पर्यावरणको संरक्षणमा मेरो केही योगदान हुन्छ भन्ने लाग्छ। विश्वप्रति जवाफदेही हुन सकियो भने जीवनमा नैतिकता आफसेआफ आउँछ।

अरुलाई कसरी सहयोग गर्ने

अरुलाई सहयोग गर्ने तरीका धेरै हुन सक्छन्। परिस्थिति अनुसार फरक फरक उपाय अपनाउनुपर्ने हुन्छ। म सात–आठ वर्षको बच्चा हुँदा मेरो गुरु लिङ रिन्पोछेसँग दुइवटा कोर्रा थिए। त्यतिबेला मेरा दाजु पनि मसँगै हुनुहुन्थ्यो। दलाई लामा पवित्र हुने भएकाले उसलाई हान्ने कोर्रा पनि पवित्र नै हुनुपर्यो! त्यसैले मेरा लागि पहेँलो रंगको कोर्रा थियो। तर कोर्रा पवित्र भए पनि त्यसको दुखाई पवित्र हुन्थेन। कठोर जस्तो देखिए पनि त्यो तरीकाले काम गर्दथ्यो।

अंततः हामीले गर्ने काम लाभदायक छ अथवा हानिकारक छ भन्ने कुरा सो कामको उद्देश्यमा निर्भर गर्दछ। अरुको दीर्घकालीन हितको उद्देश्यले गरिने कामका लागि अपनाइने उपायहरू कहिलेकाहीँ कठोर र कहिलेकाहीँ कोमल हुन सक्छन्। कहिलेकाहीँ सानो झूठले अरुको हित गर्छ भने त्यो नै सही हुन सक्छ। उदाहरणको लागि कतै टाढा तपाईंका अनन्य मित्र वा मातापिता अत्यन्तै विमारी वा मृत्युको ज्यादै निकट हुन सक्छन्। त्यो कुरा तपाईंलाई थाहा भए पनि आफ्ना मित्रलाई भन्नुहुन्न, किनकि आफ्ना आमाबुबा बिमारी भएको खबरले उनीहरू स्तब्ध वा चिंतित हुन सक्छन्। उनीहरू बेहोशीको हालतमा पुग्न सक्छन्। त्यस्तो बेला तपाईले ‘उनीहरू ठीकै छन्’ भन्नुहुन्छ। अरुलाई दुःख नपुगोस् भन्ने मात्र तपाईंको एकमात्र उद्देश्य हो भने यस्तो झूठ तपाईंका लागि त अनैतिक होला, तर अरुको हितका हिसाबले त्यो काम नै सबैभन्दा उचित हुनेछ।

हिंसात्मक र अहिंसात्मक उपाय

त्यसो भए अरुको हित गर्ने सबैभन्दा उत्तम उपाय के होला? यसको उत्तर सजिलो छैन। यसका लागि हामीमा ज्ञान हुनुपर्छ। परिस्थितिलाई राम्रोसँग बुझ्नुपर्छ। फरकफरक परिस्थितिमा फरकफरक उपाय अपनाउनुपर्ने कुराप्रति लचिलो हुनुपर्छ। तर सबैभन्दा महत्वपूर्ण त हाम्रो उद्देश्य हो। साँच्चिकै अरुको हित गर्ने उद्देश्य हाम्रो मनमा हुनुपर्छ।

उदाहरणका लागि, कुनै उपाय हिंसक छ वा छैन भन्ने कुरा धेरै हदसम्म हाम्रो उद्देश्य र प्रेरणामा भर पर्छ। हुनत निर्दोष झूठ बोल्नु पनि एक प्रकारको हिंसा नै हुनसक्छ, तर प्रेरणा ठीक छ भने हामीले यसलाई अरुको कल्याणका लागि उपयोग गर्न सक्छौं। त्यस हिसाबले यो पनि एक अहिंसात्मक उपाय नै हो। यसका विपरीत यदि हामी अरुबाट फाइदा उठाउने उद्देश्यले उनीहरूलाई कुनै उपहार दिन्छौं भने त्यो काम अहिंसात्मक जस्तो देखिए पनि फाइदाका लागि अरुलाई धोका दिने उद्देश्यबाट प्रेरित भएकाले हिंसात्मक हो। त्यसैले कुनै पनि काम हिंसात्मक हो वा अहिंसात्मक भन्ने कुरा त्यसका पछाडिको प्रेरणामा निर्भर गर्छ। केही हदसम्म यो हाम्रो लक्ष्यमा पनि निर्भर गर्छ, तर हामी लक्ष्यमा मात्र अड्किन्छौं र हाम्रो व्यवहार चाहिँ क्रोधप्रेरित हुन्छ भने त्यो पनि उचित हुँदैन। अंततः कुनै पनि कामका पछाडि त्यसको प्रेरणा सबैभन्दा महत्वपूर्ण हुन्छ।

अन्तरधर्म सद्भाव

यहाँ हामीले जति चर्चा गर्यौ, त्यसको सार भनेको आन्तरिक शान्तिको विकास गर्न प्रयत्नशील हुनु हो। हामीले यसबारे सोच्नु र आफूभित्र यसको विकास गर्नु आवश्यक छ। यहाँ उपस्थित महानुभावहरू मध्ये कति जना कुनै धार्मिक पृष्ठभूमिको हुनुहुन्छ होला वा कुनै धर्मप्रति आस्थावान हुनुहुन्छ होला। मैले सधैभरि अन्तरधर्म सद्भावमा जोड दिने गरेको छु। कुनै विशिष्ट दर्शनशास्त्र नभएका र सूर्य वा चन्द्रमाको मात्र पूजा गर्ने केही गौण धर्महरूबाहेक सबै प्रमुख धर्महरूको कुनै न कुनै दर्शन वा धर्म हुन्छ भन्ने मलाई लाग्छ। दर्शनशास्त्रमा आधारित भएका कारण उनीहरू हजारौं वर्षदेखि अस्तित्वमा छन्। तर जतिसुकै अलग अलग दार्शनिक मान्यता भएपनि ती सबै धर्मले मैत्री र करुणाको अभ्यासलाई सर्वोपरि मान्दछन्।

करुणाको अभ्यासले स्वतः क्षमाभाव उत्पन्न हुन थाल्छ। त्यसपछि सहनशीलता र सन्तोषको भाव आउन थाल्छ। यी तीनै भावका साथ संतुष्टिको भावनाको विकास हुन थाल्छ। यो सबै धर्ममा समान छ। जुन आधारभूत मानवीय मूल्यको हामी कुरा गर्दैछौं, तिनको प्रवर्द्धनका लागि पनि यो महत्वपूर्ण छ। सबै धर्महरू यस दिशामा सहायक छन्, किनकि उनीहरूले नैतिक जीवन जीउनका लागि हामीलाई प्रेरित गर्छन् जुन हाम्रो खुशीको आधार हो। यसरी सबै धर्मले एकैखाले संदेश दिने भएकाले ती सबैमा मानवताको सहायता गर्ने उस्तै क्षमता हुन्छ।

भिन्नाभिन्नै समय र स्थानमा भिन्नाभिन्नै खालका शिक्षाहरू दिइएका थिए। त्यो आवश्यक पनि थियो। पर्यावरणीय भिन्नताका कारण अलग अलग समय र स्थानमा विभिन्न खालका जीवन पद्धतिहरूको विकास भयो, जसकारण भिन्नाभिन्नै खालका धर्महरूको विकास हुन पुग्यो। त्यो समयका लागि तिनै धार्मिक मान्यताहरू उपयुक्त थिए [त्यसैकारण तिनलाई ग्रहण पनि गरियो]। यसकारण हजारौं वर्ष पुराना सबै धर्महरूका आफ्नाआफ्नै परम्पराहरू छन्। यी विविधतायुक्त परम्पराहरू आवश्यक पनि छन् : तिनीहरूले विभिन्न प्रकारका मानिसहरूको आवश्यकता पूरा गर्छन्। कुनै एक धर्म सबैका लागि उपयुक्त हुन सक्दैन र यसले सबैको आवश्यकता पूरा गर्न सक्दैन।

बुद्धको जीवनकालमा भारतमा पहिल्यैदेखि चलिआएका गैरबौद्ध परम्पराहरू विद्यमान थिए। बुद्धले भारतका सबै बासिन्दालाई बुद्धधर्ममा परिवर्तित गर्ने प्रयत्न पनि गर्नुभएको थिएन। अरु धर्म पनि आफ्नो ठाउँमा ठीकै थिए। कहिलेकाहीँ उनीहरूबीच वादबिवाद हुने गर्दथ्यो। बुद्धको जीवनकाल पछि आचार्यहरू धेरै शताब्दीसम्म एक आपसमा शास्त्रार्थ गरिरहे। यस्ता शास्त्रार्थहरू ज्ञान मीमांसाका क्षेत्रमा धेरै उपयोगी हुन्छन्। जब एक धर्मका विद्वानले अर्को धर्मका दर्शन तथा मान्यताहरूमाथि समीक्षात्मक विवेचना गर्छन्, तब सबैले आफ्नो धर्म र परम्पराको बारेमा सोच्न थाल्छन् र समीक्षा गर्न थाल्छन्। यसले स्वाभाविक रुपमा सुधारहरू ल्याउँछ। तर दुर्भाग्य, कुनैबेला यस्ता वादबिवादमा अलिकति हिंसाको पनि प्रवेश हुन्थ्यो। तर सामान्यतया यो स्वस्थ विकासको अभ्यास थियो।

यसरी हामी देख्छौं, भारत धार्मिक सहिष्णुताको राम्रो उदाहरण हो। यहाँ धार्मिक सहिष्णुता एक परम्पराको रुपमा शताब्दीयौंदेखि कायम छ, र अझै पनि विद्यमान छ। यो बाँकी विश्वका लागि पनि एक राम्रो आदर्श हो।

प्राचीन कालमा मानिसहरू अलग अलग रहन्थे। त्यो पनि ठीकै थियो। तर अहिले हाम्रो परिस्थिति भिन्नै छ। उदाहरणको लागि लण्डन एक बहुधार्मिक समाज हो। यहाँ धार्मिक सहिष्णुताको महत्व अत्यन्तै ठूलो छ। तपाईंहरूको विभिन्न धर्ममा आस्था छ भने आपसी सद्भावना र सहनशीलता धेरै नै महत्वपूर्ण हुन्छ। मौका पाउने बित्तिकै त्यसलाई बढाउनेतर्फ पहल गर्नुहोस्।

Top