Study buddhism what is ethics

नैतिकता मानवीय मूल्यहरुको त्यस्तो व्यवस्था हो जसले हाम्रो व्यवहार सुधार्छ र जीवनमा खुशी ल्याउँछ। नैतिकताका कारण हामी इमान्दारीको जीवन जीउँछौं। यसबाट हाम्रो अरुसँगको सम्बन्धमा विश्वास र मित्रताको वातावरण बन्छ। नैतिकता खुशीको साँचो हो।

बुद्धधर्ममा नैतिकता

बुद्धधर्म अनुसार नैतिकताको जग विवेकपूर्ण सचेतना हो। हामी आफ्नो विवेकको प्रयोग गरेर कुन कुराले स्थायी खालको खुशी ल्याउँछ र कुन कुराले बारम्बारको दुःखतर्फ धकेल्छ भन्ने कुराको निर्क्यौल गर्छौं। नैतिकताको अर्थ अन्धाधुन्द कुनै निश्चित नियमहरुको सूची पालना गर्नु होइन। यसको अर्थ नीतिपूर्ण मार्ग अवलम्बन गर्नु लाभकारी हुन्छ भन्ने कुराप्रति विश्वस्त हुनु हो।

हामी साँच्चिकै आफ्नो ख्याल राख्छौं भने हामी कस्तो व्यवहार गर्छौं भन्ने कुराप्रति सचेत हुनुपर्छ, यसको निर्णय बुद्धिमानीपूर्वक गर्नुपर्छ। सबैजना खुशी हुन चाहन्छन्। सबैजना खुशीको हकदार छन्। त्यसमा हामी आफैं पनि पर्छौं। हीनभावनाले ग्रस्त हुँदा हामी नैतिकताको परवाह नगरी व्यवहार गर्न सक्छौं। त्यसका विपरीत आत्मविश्वास छ भने आफूप्रतिको सम्मान पनि उच्च हुन्छ। आत्मसम्मान उच्च हुँदा हामी आफूप्रति गौरव गर्न सक्छौं। हामीलाई अनैतिक व्यवहार गर्नु स्वतः बेठीक लाग्छ र त्यसो गर्नबाट हच्किन्छौं।

जसरी भँवराले फूलको रस लिनेबेला फूलको रंग वा सुगंध बिगार्दैनन्, त्यसै गरी ज्ञानीजन यो संसारमा विचरण गर्छन्। धम्मपदः पुष्प वर्ग, छन्द ४९

“जेसुकै होस्” भन्ने खालको रवैयाले हामीमा एकांकीपन र उदासी मात्र बढाउँछ। नैतिकताको भावले हामी यस्तो मनोवृत्तिबाट बच्न सक्छौं। हामी विश्वासिलो, स्थायी मित्रताका सम्बन्धहरु स्थापित गर्न सक्छौं जुन सुखी र सफल जीवनका लागि आवश्यक हुन्छन्।

विवेकमा आधारित नैतिकता र शील

बुद्धधर्मको अभ्यास सामान्य व्यावहारिक विवेकमा आधारित छ। हामी स्वार्थी भयौं र अरुप्रति रिस वा घमण्ड राख्छौं भने कसरी आफ्नो लागि शान्त र सुखी जीवनको कल्पना गर्न सक्छौं?

बुद्धधर्ममा लिइने संकल्प (शील) का विभिन्न तहहरु हुन्छन्। उदाहरणका लागि तिब्बती सम्प्रदायमा उपसम्पदा (प्रवज्या) लिएका भिक्षुहरुले २५३ प्रकारका शीलहरुको पालना गर्नुपर्छ। कतिपय गृहस्थी बौद्ध साधकहरुले निम्नानुसार ‘पाँच गृहस्थी शील’ को पालना गर्छन्ः

  • प्राणी हत्या नगर्ने
  • आफूलाई नदिइएको कुरा नलिने
  • यौन दुराचार नगर्ने
  • मिथ्या वचन नबोल्ने
  • मादकपदार्थ सेवन नगर्ने

यी शीलहरु बौद्ध अभ्यासीले आफ्नो जीवनमा साधना गर्नका लागि अनुकूल वातावरण बनोस् भनेर स्वेच्छाले लिन्छन्। यी शीलहरुले हामीलाई आफ्नो सही बाटोमा अग्रसर रहन र सुखी तथा सफल जीवन जीउनका लागि आवश्यक वातावरण निर्माण गर्ने काम गर्छन्। 

सफल जीवनका लागि नैतिकता

अकूत भौतिक सम्पत्ति र शक्तिको सञ्चय गर्यो भने जीवन सफल हुन्छ भन्ने भ्रम केही मानिसलाई हुनसक्छ। हामीले यी कुरा पायौं भने पनि हामी कहिल्यै सन्तुष्ट हुन सक्दैनौं किनकि ती कुराहरु गुमाउने चिन्ताले हामीलाई सधैं सताइरहन्छ। अरुलाई हानि पुग्ने गरेर धन वा शक्ति कमाएका रहेछौं भने हामीले सँगै धेरै शत्रुहरु पनि कमाएका हुन्छौं। अरु मानिसले हामीलाई मन नपराउने जीवन सफल हो भनेर कसैले भन्न सक्दैन। सफल जीवन त त्यो हो जसमा हाम्रा धेरै मित्र हुन्छन् र मानिसहरु हाम्रो नजिक आउन पाउँदा रमाउँछन्। त्यो अवस्थामा हामीसँग कति सम्पत्ति वा शक्ति छ भन्ने कुराले धेरै अर्थ राख्दैन। त्यतिखेर हामीसँग त्यस्तो भावनात्मक सहारा हुन्छ जसले जीवनमा आइपर्ने जुनसुकै समस्याको सामना गर्ने शक्ति प्रदान गर्छ।

नैतिक जीवनको शिक्षाले कस्तो खाले व्यवहारले खुशी दिन्छ र कस्तो खाले व्यवहारले समस्याहरु सिर्जना गर्छ भन्ने कुराको मार्गदर्शन गर्छ। जब हामी इमान्दार हुन्छौं र अरुका लागि खुशीको कामना गर्छौं, अरुले पनि हामीलाई 'यसले धोखा दिँदैन, सताउँदैन, र शोषण गर्दैन' भन्ने विश्वास गर्छन्। यस्तो विश्वासले हाम्रो सम्पर्कमा आउने सबैसँग मित्रता स्थापित गर्ने आधार दिन्छ। उनीहरु हाम्रो साथ पाउँदा निश्चिन्त र खुशी हुन्छन् किनकि उनीहरुलाई हामीसँग कुनै डर हुँदैन। त्यसले हामीलाई पनि थप खुशी बनाउँछ। आफू कसैको सामु जाँदा उनीहरु डरले थरथर काँपुन् वा आत्मरक्षा गर्न थालुन् भन्ने कसको चाहना होला र? सबैलाई मुस्कुराइरहेको अनुहार नै मन पर्छ।

मानिस सामाजिक प्राणी हो। उसलाई बाँच्नका लागि मात्र पनि अरुको सहायता चाहिन्छ। भरखर जन्मेका असहाय शिशु वा अस्पताल भर्ना भएका जर्जर बृद्धहरु मात्र होइन, हामी सबैलाई जीवनभर अरुको सहयोग र सहाराको आवश्यकता परिरहेको हुन्छ। प्रेमपूर्ण मित्रताबाट पाइने भावनात्मक सहाराले जीवनलाई सुखी बनाउँछ। नैतिकताको दृढ अभ्यासले हामीलाई सबैसँग मित्रतापूर्ण सम्बन्ध बनाउन सहयोग गर्छ।

Top