दैनिक जीवन जीउने अनेकौं उपाय बौद्ध शिक्षामा दिइएको छ। तीमध्ये केही सुझाव यहाँ छन्।
उठ्ने बेलामा
बिहान निद्रा खुलेपछि उठ्नु अगाडि आफू अझै जीवित रहेको र एक नयाँ दिनको सामना गर्न तयार रहेकोमा एकदमै खुशी र कृतज्ञताको अनुभव गरौं। एक अठोट लिऊँ:
- यो दिनलाई म सार्थक रुपमा बिताउनेछु।
- आफ्नो सुधार र अरुलाई सहयोग गर्न प्राप्त बहुमूल्य अवसरलाई खेर नफाली काममा लाग्नेछु।
काममा जानुपर्नेछ भने मनमा निश्चय लिऊँ कि हामी आफ्नो काम पूर्ण एकाग्रता र उत्पादनमूलक ढंगले गर्नेछौं। आफ्ना सहकर्मीप्रति रिस, असहिष्णुता वा रुखोपनको व्यवहार गर्ने छैनौं। हामी सबैप्रति मित्रताको व्यवहार गर्नेछौं, तर ब्यर्थको गफ वा बकवास गरेर उनीहरूको समय बर्बाद गर्ने छैनौं। आफ्नो परिवारको हेरचाह गर्नुपर्ने छ भने हामी निश्चय गर्छौं कि आफूले सक्नेजति र प्रेमपूर्वक उनीहरूको भौतिक र भावनात्मक आवश्यकताहरूको परिपूर्ति गर्नेछौं र आफ्नो धैर्य गुमाउने छैनौं।
बिहानीको ध्यान
प्रायः बिहान खाजा खानुअघि हामी केहीबेर ध्यानमा बस्छौं। केबल पाँच वा दश मिनेट मात्र पनि शान्तिपूर्वक बसेर श्वासमा ध्यान दिने र आफूलाई केन्द्रित गर्ने अभ्यास गरेमा धेरै लाभ हुन्छ।
हामी आफ्नो जीवन आफू वरपरका सबैजनासँग कसरी गाँसिएको छ भन्ने कुराको चिन्तन गर्छौं। उनीहरूको सोच र व्यवहारले हामी र हाम्रो वरपरका सबैलाई प्रभावित गरिरहेको हुन्छ। त्यसमाथि विचार गर्दै हामी न्यानो प्रेमपूर्ण भाव जागृत गर्छौंः “सबैजना खुशी होऊन्।” त्यस्तै करुणाको भाव जागृत गर्छौंः “सबैजना दुःख र समस्याहरूबाट मुक्त होऊन्। ” हामी संकल्प गर्छौं कि आजको दिन सकेसम्म हामी अरुलाई सहयोग गर्छौं, र यदि सहयोग गर्न सकेनौं भने पनि हानि गर्नबाट आफूलाई रोक्छौं।
दिनभर होशको अभ्यास
दिनभर हामी कसरी व्यवहार गर्छौं, बोल्छौं, सोच्छौं, र अनुभव गर्छौं भन्ने कुराप्रति सचेत रहने प्रयत्न गर्छौं। खासगरी रिस, लोभ, ईर्ष्या, घमण्ड जस्ता कुनै नकारात्मक मनोभाव मनमा आयो भने हामी बढी सचेत हुन्छौं। हामी स्वार्थी वा असंवेदनशील त भैरहेका छैनौं? अथवा आफैंप्रति टीठ त खाइरहेका छैनौं? वा पूर्वाग्रही त भैरहेका छैनौं? यस्ता कुराहरूप्रति सचेत भैरहन्छौं। सूक्ष्मस्तरमा हामी यो कुराप्रति सजग रहने प्रयत्न गर्छौं कि कतै हामी आफ्नो, अरुको वा परिस्थितिको बारेमा अनावश्यक कल्पनाहरू त गरिरहेका छैनौं? लामो लाइनमा उभिएको बेला लाग्न सक्छ, मेरो पालो कहिल्यै आउँदैन। कुनैबेला यस्तो लाग्न सक्छ, मजस्तो मान्छेलाई कसैले माया गर्दैन। अनि आफूलाई “बिचरा” भन्ठान्ने भाव पनि आउन सक्छ। यस्ता क्षणहरूमा हामी होशमा रहने प्रयत्न गर्छौं।
जब हामी यस्ता कठिन क्षणहरूमा आफूले कसरी व्यवहार गर्छौं, बोल्छौं र सोच्छौं भन्ने कुराप्रति सचेत हुन्छौं, हाम्रो होशको स्तर बढ्छ। प्रथमतः हामी त्यस्ता काम गर्नबाट आफूलाई रोक्छौं जसका कारण हामीले पछि पश्चात्ताप गर्नु परोस्। यदि केही नराम्रो गरिहालेका रहेछौं भने आफूलाई तत्काल रोक्छौं र फेरी त्यसलाई दोहोर्याउने काम गदैनौं। नकारात्मक सोचहरू आइरहेका छन् भने पनि हामी यही उपाय अपनाउँछौं। आफूलाई शान्त गर्ने र मानसिक तथा भावनात्मक विषमताहरूलाई निष्प्रभावी बनाउने उपाय अपनाउँछौं। मन आफ्नो स्वाभाविक शान्तिको स्थितिमा नफर्कुञ्जेल हामी यो उपायलाई जारी राख्छौं।
हामी सबैले प्राय: भोग्ने एक उदाहरण लिऊँ। हाम्रो काम गर्ने ठाउँमा वा घरमा कसैले हाम्रो कुरा काट्ने वा हामीलाई रिस उठाउने काम गर्न सक्छ। त्यस्तो बेलामाः
- जानौं कि कराएर वा चिच्याएर समस्या समाधान हुँदैन। बरु बिहान ध्यान गर्दाजस्तै श्वासमा ध्यान दिएर आफूलाई शान्त बनाउन सकिन्छ।
- सोचौं कि सबैजना खुशी नै हुन चाहन्छन्। कोही पनि दुःखी हुन चाहँदैनन्, तर उनीहरूलाई के गर्ने भन्ने थाहा हुँदैन र त्यसैले समस्या खडा गर्छन्।
- उनीहरू खुशी होऊन् र खुशीको स्रोत उनीहरूका लागि खुलोस् भन्ने कामना गरौं।
- उनीहरू हाम्रो कुरा सुन्न राजी छन् भने उनीहरूले गर्ने व्यवहारको नकारात्मक असरहरूका बारेमा बताऔं र त्यसो नगर्न आग्रह गरौं।
- तर उनीहरू हाम्रो कुरा सुन्न बिल्कुल तयार छैनन् भने शान्तिपूर्वक त्यो घटनालाई आफ्नो धैर्यको अभ्यास गर्ने अवसरको रुपमा लिऔं। तर हामीले केही गर्न सक्ने अवस्था छ भने त्यस्तो विषम स्थितिलाई निष्क्रिय बसेर हेर्ने काम मात्र नगरौं।
अरुले हाम्रो दोष देखाउँदा प्रत्युत्तरमा गैहाल्ने प्रवृत्तिबाट बच्नु जरुरी छ। यो एक महत्त्वपूर्ण अभ्यास हो। प्रथमतः कतै अरुले भनेको कुरा सही त होइन भन्ने विचार गर्नु पर्छ। यदि हो भने माफी मागेर हामी आफ्नो व्यवहार सुधार्न सक्छौं। उनीहरूले भनेको कुरा बेकारको रहेछ भने हामी त्यसलाई गौण ठानेर बिर्सिदिन सक्छौं। अरुले कुनै महत्त्वपूर्ण विषयमाथि गलत टिप्पणी गरेका रहेछन् भने हामी उनीहरूको दृष्टिदोष औंल्याउन सक्छौं। तर त्यसो गर्दा आफ्नो व्यवहारमा कुनै अहंकार वा आक्रामकता दर्शाउन हुँदैन।
रातिको ध्यान
राति सुत्नु अगाडि दिनभरको क्रियाकलापका कारण विचलित मनको शान्तिका लागि छोटो ध्यान गर्छौं। हामी आफ्नो श्वासमा फेरी ध्यान केन्द्रित गर्न सक्छौं। दिनभरको घटनाको समीक्षा गर्दै त्यसमा हामीले कस्तो व्यवहार गर्यौं भनेर चिन्तन गर्छौं। हामीले आफ्नो मनको सन्तुलन गुमायौं कि गुमाएनौं? केही मूर्खतापूर्ण कुरा गर्यौं कि? यदि त्यसो हो भने आफूमा नियन्त्रण राख्न नसकेकोमा पश्चात्ताप गर्छौं, तर मनमा कुनै किसिमको अपराधबोध नराखी भोलिका दिन आजभन्दा राम्रो काम गर्ने संकल्प लिन्छौं। त्यस्तै हामीले दिनभर विवेकपूर्वक र मित्रतापूर्वक व्यवहार गरेका क्षणहरूको पनि स्मरण गर्छौं। त्यसमा आनन्द महसुस गर्दै त्यस दिशामा अझ अगाडि बढ्ने संकल्प गर्छौं। भोलि फेरी आफ्नो सुधार र अरुको उपकारको कामलाई जारी राख्ने विचारका साथ हामी निदाउँछौं। हामी आफ्नो मूल्यवान जीवनलाई सार्थक रुपमा बिताएकोमा साँच्चिकै प्रसन्नताको अनुभव गर्छौं।