चित्त के हो?

चित्त हरेक मानिसले आ–आफ्नै प्रकारले अनुभव गर्ने एक त्यस्तो “तत्त्व” हो जो निरन्तर, प्रत्येक क्षण परिवर्तन भैरहन्छ।

वास्तवमा चित्तको अवधारणा बुझ्न कठिन छ र हरेक भाषा यसलाई आफ्नै पाराले प्रस्तुत गर्ने गरिएको छ। मनलाई बुझाउन बुद्धधर्ममा संस्कृतको ‘चित्त’ शब्द प्रयोग गरिएको छ। यसको अर्थको दायरा व्यापक छ। यसमा इन्द्रियजन्य बोध, मूर्त एवं अमूर्त विचार, मनोभाव, सुख र दुःखका अनुभूति, ध्यान, एकाग्रता, बुद्धि इत्यादि अर्थ समाविष्ट छन्। बौद्ध दर्शनमा जब चित्त वा मनको उल्लेख हुन्छ, त्यसमा सबै प्रकारका चैतसिक वा मानसिक गतिविधिहरु पर्दछन्।

चित्तको व्याख्या शारीरिक आधारमा गरिदैँन। अर्थात्, मस्तिष्क, स्नायुप्रणाली, हर्मोनहरु आदिको आधारमा चित्तको व्याख्या गरिँदैन, न त तिनसँग सम्बन्धित रासायनिक र विद्युतीय प्रणालीको आधारमा नै गरिन्छ। बौद्ध दर्शनले यी सबै कुरालाई नकार्दैन, किनकि तिनीहरुको पनि अस्तित्व छ र ती सबै हामीमा अभिन्न रुपमा रहेका हुन्छन्। चित्त कुनै त्यस्तो अव्यक्त पदार्थ पनि होइन जसले मस्तिष्कमा बसेर आफ्नो काम गर्छ। बौद्ध दर्शनले कुनै सामूहिक अचेतन अथवा सार्वभौमिक मनको दाबी पनि गर्दैन। 

चैतसिक गतिविधि के हो?

यदि चित्त र चैतसिक (मानसिक) गतिविधि भनेको कुनै पनि कुराको आ–आफ्नै प्रकारले व्यक्तिगत रुपमा गरिने अनुभव हो भने रिस के हो त? एकातिर रिसको भाव जाग्दै हुन्छ भने अर्कोतिर हामीले यसलाई (रिसलाई) अनुभव गरिरहेका हुन्छ। यो सँगसँगै घटित भैरहेको हुन्छ। यो हाम्रा अनुभवहरुको सततः चलिरहेको क्रममा हुने एक घटना हो। तर यो अनुभव व्यक्तिगत हुन्छ। रिसाइरहेको छु भने त्यो मेरो अनुभव हुन्छ, तपाईंको होइन। तर, “मन” नाम गरेको कुनै मेशिनमा रिसको बटन थिच्ने म भन्ने अलग्गै केही तत्त्व हुँदैन। यो त समग्र अनुभवहरुको श्रृङ्खलामा आउने एक कडी हो।


यसलाई यसरी बुझौं – मानिलिऊँ हामीले स्याउजस्तै केही देख्यौं। वैज्ञानिक दृष्टिकोणबाट भन्ने हो भने, प्रकाश किरणहरू हाम्रो कोर्नियाको माध्यमबाट आँखामा प्रवेश गर्छन् र रेटिनाको फोटोरिसेप्टर कोषहरू ठोकिन्छन्। यसबाट विद्युतीय तरंगहरु उत्पन्न हुन्छन्, जसले मस्तिष्कमा प्रकाशीय (अप्टिकल) सूचना दिन्छ। त्यहाँ यो सूचनाको सोधन (प्रोसेसिङ्) हुन्छ। यसको व्यक्तिगत अनुभव भनेको स्याउको एक मानसिक चित्र (होलोग्राम) उत्पन्न हुनु हो। हामीले ‘देख्नु’ भनेको यही हो। तथापि चित्त भनेको मस्तिष्कको कुनै कुनामा भएको खाली ठाउँ  होइन जहाँ स्याउको होलोग्राम बनोस्। चित्तले अनुभव गर्ने तत्त्व भनेको त्यसरी बन्ने होलोग्राम होइन।

ध्वनि, गन्ध, स्वाद र शारीरिक संवेदनाहरूको माध्यमबाट पनि मानसिक होलोग्राम बन्न सक्छ, जुन हाम्रा कल्पना र सपनाहरूमा पनि घटित हुन सक्छ। कुनै मानसिक होलोग्राम उत्पन्न हुँदा त्योसँगै मस्तिष्कका विभिन्न भागले निश्चित हार्मोनहरु निकाल्न सक्छन् जसले निश्चित भावनाहरु र खुशी वा दुःखको प्रतिनिधित्व गर्न सक्छन्। विभिन्न क्षणमा बन्ने हाम्रा मानसिक होलोग्रामहरु धेरै कारक तत्त्वहरुको मिश्रणबाट उत्पन्न भएको हुन्छ, जस्तै कुनै दृष्य वा सोच वा भावनाहरुको सम्मिश्रण, खुशी र दुःखको अनुभूति आदि।

स्नायुविज्ञान र बुद्धधर्म

सन् १९८७ मा दलाई लामा र चिली देशका स्नायुवैज्ञानिक (न्यूरो साइन्टिस्ट) फ्रान्सिस्को भरेलाले ‘माइन्ड एण्ड लाइफ इन्स्टिच्यूट’ को उद्घाटन गरेदेखि वैज्ञानिक र अन्तर्राष्ट्रिय बौद्ध शिक्षकहरूको विभिन्न समूहले मन र मस्तिष्कको बीचमा हुने अन्तरक्रियाको अध्ययन गरिरहेका छन्। स्नायुवैज्ञानिकहरूले लामो ध्यान साधना गरेका र अनुभवहीन दुवै वर्गका व्यक्तिको मस्तिष्कको अध्ययन गर्दा पत्ता लगाए कि निरन्तर ध्यान साधनाले मस्तिष्कको न्यूरोप्लास्टिसिटीमा असर पार्छ जसले नयाँ स्नायुपथहरू (neural pathways) को निर्माण हुन्छ। यसबाट एकाग्रता र करुणाजस्ता सकारात्मक मनोभावहरू उत्पन्न गर्न सजिलो हुन्छ।

अहिलेसम्म पश्चिमी विज्ञान र बुद्धधर्मका अन्वेषकहरूले एक अर्काको ज्ञानलाई पूर्ण र समृद्ध बनाएका छन्। बौद्ध साधकहरू र प्रख्यात वैज्ञानिकहरू बीचको यस्तो संयुक्त अभियान दलाई लामाले भन्नुभएको “२१ औं शताब्दीको बुद्धधर्म” को विशेषता हो।

हामी जुन चैतसिक गतिविधिका माध्यमबाट जीवनको अनुभूति गर्छौं, वास्तवमा बुद्धधर्मले भनेको “चित्त” (मन) त्यही हो। यो गतिविधि हरेक क्षण परिवर्तन हुन्छ। विभिन्न चैतसिक तत्त्वहरूले हरेक क्षण यसलाई पछ्याई रहन्छन्। बुद्धधर्मले हामीलाई सिकाउँछ कि जीवनले हाम्रो भागमा जे फ्याँक्छ, त्यसबाट पीडित भएर बस्नु जरुरी छैन। बरु हामी यो सिक्छौं कि आफ्नो जीवनका अनुभूतिहरुमध्ये केलाई कसरी अनुभूति गर्ने भन्ने कुरा हामीमा निर्भर गर्छ, यसमा हाम्रो आफ्नै अभिन्न भूमिका हुन्छ। आफ्नो मनलाई प्रशिक्षित गरेर हामी आफ्ना अनुभूतिहरुलाई आमूल रूपले परिवर्तन गर्न सक्दछौं। प्रयासलाई निरन्तर राख्यो भने यस्तो सकारात्मक परिवर्तन सहजरुपमा हामीसँग रहनेछ।

Top