सामाजिक रूपमा संलग्न बौद्ध धर्म भनेको के हो ?

Image%201%20%286%29

सामाजिक रूपमा संलग्न बौद्ध धर्म एक समकालिन गतिविधी हो जसले सामाजिक, राजनीतिक, वातावरणीय र आर्थिक समस्याहरूमा बौद्ध शिक्षाहरू र अभ्यासहरू प्रयोग गर्छ। करुणा, प्रज्ञा र अहिंसा का मूल्यहरूमा आधारित यस बौद्ध अभ्यासले केवल व्यक्तिगत स्तरमा मात्र नभई, समाज र विश्व प्रणालीहरूमा पनि दुःख निवारण गर्न खोज्दछ।

परम्परागत रूपमा, बौद्ध धर्मलाई प्रायः समाजबाट अलग वा अत्यधिक रहस्यमय भनेर गलत व्याख्या गरिएको छ। तथापि, बुद्धको जीवनका कथाहरूबाट हामीलाई थाहा हुन्छ कि उहाँका वरपरका मानिसहरू र जनावरहरूप्रतिको तीव्र करुणाको भावना थियो जसले उहाँलाई सबैका लागि दुःखबाट मुक्तिको बाटो खोज्न प्रेरित गरिएको थियो। बौद्ध अभ्यासको सामाजिक रूपमा संलग्न दृष्टिकोणले यसैले व्यक्तिगत रूपान्तरण र सामाजिक परिवर्तनबीचको यस अन्तरसम्बन्धलाई उजागर गर्छ, यो देखाउँदै कि साँचो कल्याण, र सायद ज्ञान प्राप्ति पनि, संसारका चुनौतीहरूबाट अलग भएर पूर्ण रूपमा प्राप्त गर्न सकिँदैन।

सामाजिक रूपमा संलग्न बौद्ध धर्मका उत्पत्तिहरू

सामाजिक रूपमा संलग्न बौद्ध धर्म" भन्ने पदावली २०औं शताब्दीमा लोकप्रिय बनाइएको हो, विशेषतः भियतनामी ज़ेन गुरु थिच न्यात हान्ह द्वारा। उनले युद्ध, वातावरणीय विनाश, र सामाजिक अन्याय जस्ता गम्भीर विश्वव्यापी समस्याहरूको सामना गर्न बौद्ध शिक्षाहरू प्रयोग गर्न जोड दिएका थिए। थिच न्यात हान्हलाई भियतनाममा भएको विनाशकारी युद्धको समयमा पीडितहरूको सहायता गर्न मठीय एकान्त जीवन त्याग्न प्रेरित गरियो। तर यो गतिविधिका जराहरु बुद्धका मूल शिक्षाहरूमा फेला पार्न सकिन्छ ।

बुद्धका शिक्षाहरू, जस्तै मूल चार आर्य सत्य र अष्टाङ्गिक मार्गले करुणा र पारस्परिक सम्बन्धको महत्वमा जोड दिन्छन्। यी शिक्षाहरूमा अन्तर्निहित कुरा के हो भने दुःख निवारण केवल व्यक्तिगत प्राणीहरूमा सीमित हुनु हुँदैन, बरु सबै प्राणीहरू र दुःखलाई निरन्तरता दिने सबै अवस्थाहरूमा विस्तार पर्छ।

इतिहासभरि बौद्ध समुदायहरूले प्रायः दान, अहिंसात्मक प्रतिरोध, र सामाजिक न्यायसम्बन्धी कार्यहरूमा संलग्न हुँदै आएका छन्, तर सामाजिक रूपमा संलग्न बौद्ध धर्मले परम्पराको यस पक्षलाई औपचारिक बनाउँछ। यस आन्दोलनले बौद्ध अनुयायीहरूलाई सामूहिक दुःख सिर्जना गर्ने सामाजिक, आर्थिक, र वातावरणीय संरचनाहरूमा सक्रिय रूपमा संलग्न हुन आह्वान गर्दछ।

सुलक सिवराक्साको प्रभाव (Sulak Sivaraksa)

सामाजिक रूपमा संलग्न बौद्ध धर्म आन्दोलनका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक हुन् सुलक सिवारक्सा एक थाई विद्वान्, अभियन्ता र सामाजिक आलोचक हुन्। तपाईंले उहाँसँगको हाम्रो अन्तर्वार्ता यहाँ पढ्न सक्नुहुन्छ। सिवारक्सा बौद्ध सिद्धान्तहरूलाई सामाजिक न्याय, आर्थिक समानता, वातावरणीय दिगोपन, र राजनीतिक सुधारसँग एकीकृत गर्न दृढ रूपमा वकालत गर्दै आएका छन्, वास्तवमा  यति दृढ रूपमा कि उहाँलाई धेरै पटक गिरफ्तार गरिएको छ र कहिलेकाहीँ अस्थायी निर्वासनमा जान पनि बाध्य पारिएको छ। उहाँ थाईल्यान्डमा र विश्वभर अधिनायकवादको चुनौती, मानव अधिकारको प्रवर्द्धन, र संरचनागत असमानताहरूको सम्बोधन गर्ने प्रयासहरूको अग्रपङ्क्तिमा रहनुभएको छ।

सुलक सिवारक्साको अभियान्ता कार्य बौद्ध शिक्षाहरू समाजमा व्याप्त दुःखका मूल कारणहरू समाधान गर्न प्रयोग गर्न सकिन्छ — र अवश्य प्रयोग गर्नुपर्छ — भन्ने विश्वासमा आधारित छ। उहाँले नैतिक शासन व्यवस्था, वातावरण संरक्षण, र आर्थिक निष्पक्षता न्यायको निरन्तर माग गर्दै आउनुभएको छ। सन् १९८९ मा उहाँले “अन्तर्राष्ट्रिय सामाजिक संलग्न बौद्ध सञ्जाल” (International Network of Engaged Buddhists) स्थापना गर्नुभयो, जसले संसारभरका लाखौँ अभ्यासकर्ताहरूलाई बौद्ध धर्मलाई केवल व्यक्तिगत मुक्ति प्राप्त गर्ने मार्ग मात्र नभई सामाजिक रूपान्तरणको शक्ति पनि हो भन्ने दृष्टिकोणबाट हेर्न प्रेरणा दिएको छ।

सामाजिक रूपमा संलग्न बौद्ध धर्मका मूल सिद्धान्तहरू

सामाजिक रूपमा संलग्न बौद्ध धर्मको मूलमा बुद्धका सनातन शिक्षाहरूलाई आधुनिक चुनौतीहरूमा प्रयोग गर्ने प्रयास निहित छ। यो आन्दोलन केही प्रमुख सिद्धान्तहरूमा आधारित छः

पारस्परिक सम्बन्ध

बुद्धले सबै प्राणी र सबै घटनाहरू परस्पर निर्भर छन् भन्ने शिक्षा दिनुभएको थियो। यो सिद्धान्तलाई प्रतित्यसमुत्पाद वा आश्रय उत्पत्ति भनिन्छ, जसको अर्थ हो—कुनै पनि व्यक्ति वा घटना एक्लै अस्तित्वमा रहन सक्दैन। सामाजिक रूपमा संलग्न बौद्ध धर्मले हामीलाई यो बुझ्न प्रेरित गर्छ कि दुःख प्रायः फराकिलो सामाजिक, आर्थिक र वातावरणीय प्रणालीहरूको परिणाम हो। त्यसकारण, दुःखका वास्तविक कारणहरू समाधान गर्न व्यक्तिगत र प्रणालीगत दुवै तहमा कार्य गर्नु आवश्यक हुन्छ। 

उदाहरणका लागि, वातावरणीय विनाश, गरिबी, र हिंसा यी पृथक समस्या मात्र होइनन्, यी सबै विश्वव्यापी नीति, हाम्रो व्यक्तिगत उपभोक्ता बानी, र सामाजिक असमानतासँग गहिरो रूपमा जोडिएको छ। जब हामी यी सबैबीचको आपसी सम्बन्धलाई बुझ्छौं, तब मात्र हामी यस्ता समस्याहरूलाई समग्र रूपमा समाधान गर्ने दिशामा अघि बढ्न सक्छौं।

कार्यमा करुणा

करुणा बौद्ध अभ्यासको मूल तत्व हो, र सामाजिक रूपमा संलग्न बौद्ध धर्मले यस करुणालाई व्यवहारमा उतार्न जोड दिन्छ। करुणा केवल सहानुभूति या दयालु विचारहरूमा मात्र सिमित छैन - यसमस अरूको दुःख कम गर्न सक्रिय रूपमा काम गर्नु पनि हो। यसको अर्थ सामाजिक न्यायको काममा सहभागी हुनु, पछाडि पारिएका समुदायहरूको समर्थन गर्नु, जलवायु परिवर्तनको सामना गर्नु, वा मानव अधिकारका पक्षमा आवाज उठाउनु हो। यस्ता करुणापूर्ण क्रियाकलापहरूबाट हामी बुझ्न सक्छौँ कि व्यक्तिगत आध्यात्मिक विकास र सामाजिक दुःखको समाधानबीच कुनै विवाद देखिन्दैन। वास्तवमा, तिनीहरू एक-अर्कालाई सशक्त बनाउने परिपूरक मार्गहरू हुन्।

अहिंसा

अहिंसा सामाजिक रूपमा संलग्न बौद्ध धर्मको अर्को आधारभूत सिद्धान्त हो, जुन अन्य प्राणीहरूलाई हानि नगर्ने वा नमार्ने पाँच गृहस्थ शीलहरूमध्ये पहिलोमा आधारित छ। हिंसाले केवल दुःखलाई निरन्तरता दिन्छ र घृणा र विभाजनका चक्रहरूलाई बलियो बनाउँछ, र त्यसैले हामीले सबै प्राणीहरूप्रति दया र सम्मानसहित व्यवहार गर्नु पर्दछ र सबै प्रकारका हानिलाई अस्वीकार गर्नुपर्छ - चाहे त्यो शारीरिक, मौखिक वा प्रणालीगत होस्। यसमा युद्ध, उत्पीडन र सबै प्रकारका अन्यायको विरोध समावेश छ। यसैले, संलग्न बौद्धहरू प्रायः शान्तिपूर्ण सक्रियता, मध्यस्थता र मेलमिलापका प्रयासहरूमा संलग्न भएका छन्।

सचेतना र जागरूकता

सामाजिक रूपमा संलग्न बौद्ध धर्मले हामीलाई संसारमा दुःखको वास्तविकताप्रति जागृत हुनका लागि सचेतनालाई एक उपकरणको रूपमा प्रयोग गर्न प्रोत्साहित गर्छ। सचेतनाले हामीलाई वर्तमान क्षणमा रहन, आफ्ना कार्यहरूप्रति सचेत रहन र अरूका आवश्यकताहरूप्रति खुला रहन मद्दत गर्छ। यसले हामीलाई हाम्रो जीवनशैलीका छनोटहरू, उपभोग ढाँचाहरू र सामाजिक प्रणालीहरूमा हाम्रो सहभागिताले कसरी दुःख वा कल्याणमा योगदान पुर्‍याउँछ भन्ने बारेमा चिन्तन गर्न पनि मद्दत गर्छ। सचेतनाको साथ, हामी अरूहरू र वातावरणसँग कसरी अन्तरक्रिया गर्छौं भन्ने बारेमा बढी सचेत हुन सक्छौं र त्यसैले जिम्मेवार र दयालु छनोटहरू विकास गर्न सक्छौं।

समानता

सामाजिक रूपमा संलग्न बौद्ध धर्मले सामाजिक संरचनाहरूमा निष्पक्षता र समानताको महत्त्वलाई जोड दिन्छ। यो यस तथ्यमा आधारित छ कि हामी सबैमा समान रूपमा सुख चाहने र दुःख टार्न चाहने इच्छा हुन्छ। यहाँ, हामी आर्थिक न्याय, लैङ्गिक समानता, जातीय न्याय र सबै प्राणीहरूको संरक्षण - चाहे मानव होस् वा जनावर - तर्फ काम गर्न सक्छौं। जब हामी बुझ्छौं कि अन्याय दुःखको एउटा स्रोत हो, तब हामी असमानताको प्रणालीहरू हटाउनेतर्फ लाग्न सक्छौं र प्रत्येक तहमा न्याय, समानता, र करुणाको प्रवर्द्धन गर्न सक्छौं।

सामाजिक रूपमा संलग्न बौद्ध धर्मका फाइदाहरू

आन्तरिक शान्ति

तपाईंले संसारसँग करुणापूर्ण मनोभाव र कार्यहरूका साथ सक्रिय रूपमा सम्बन्ध राख्नुभयो भने कस्तो अनुभूति हुन्छ भन्ने कल्पना गर्नुहोस्। यस्तो अभ्यासले स्वाभाविक रूपमा व्यक्तिगत सन्तुष्टि र आन्तरिक शान्तिको अनुभूति दिन्छ, जहाँ हामी जान्दछौं कि जुनसुकै कार्य गरिरहेका छौं, त्यो आफैंका लागि मात्र नभई, अरूका लागि पनि लाभदायक छ। जब हामी थाहा पाउँछौं कि हामीले विशेष गरी दुःखमा परेका मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याइरहेका छौं, त्यो हामीलाई एक बलियो उद्देश्यको अनुभूति दिन्छ र वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ कि उद्देश्यको यस्तो अनुभूति मानिसलाई अझ खुसी बनाउँछ।

सबल समुदायहरू

हामीमध्ये प्रायः सबैले सुखी र समरस समाजमा बाँच्न चाहन्छौं। सबै प्राणीहरूप्रति अनुकम्पाका साथ व्यवाहार गरेर-तिनीहरू जो कोही हुन् र समाजमा तिनीहरूको स्थिति जे भएता पनि-हामी बलियो, सुखी र अधिक समावेशी समुदायहरू सिर्जना गर्छौं। जब समाजभर दयालुता र पारस्परिक सम्मानको विकास हुन्छ, तब त्यसबाट सबैले फाइदा पाउँछन्।

आध्यात्मिक विकास

सामाजिक संलग्नताले हाम्रो आध्यात्मिक अभ्यासलाई अझ गहिरो बनाउँछ, किनकि यसले ध्यानको आसनबाट बाहिर निस्केर करुणाको अभ्यास संसारमा गर्न अवसर दिन्छ। यसले हामीलाई त्यस्ता गुणहरू अभ्यास गर्न सक्षम बनाउँछ जुन हामीले विकास गर्न चाहन्छौं भन्ने कुरा भनिरहेका हुन्छौं — जस्तै: समय र स्रोतहरूको उदारता, कठिन लाग्ने व्यक्तिसँग धैर्य, र फरक विचारहरूप्रति सहनशीलता। यस प्रकारको कार्यले अत्यन्त शक्तिशाली सकारात्मक सम्भावनाहरू सिर्जना गर्छ र बोधत्वतर्फको मार्ग तयार पार्छ।

निष्कर्ष

सामाजिक रूपमा संलग्न बौद्ध धर्म यस्तो मार्ग हो जसले आध्यात्मिक अभ्यास र सामाजिक क्रियाकलापको पूर्ण समायोजनको आह्वान गरिन्छ। यसले साँचो करुणा ध्यानको आसनमा मात्र सीमित नभई, बरु संसारमा फैलिनु पर्ने र दुःखको संरचनात्मक कारणहरूलाई सम्बोधन गर्नु पर्ने शिक्षा दिन्छ। प्रत्येक व्यक्तिको भलाइ सबैको भलाइसँग सम्बन्धित हुन्छ। सतर्क क्रियाकलाप, उदारता, अहिंसा, र न्यायप्रति प्रतिबद्धता मार्फत हामी सबै प्राणीहरूका लागि अझ करुणामय, न्यायपूर्ण र शान्तिपूर्ण संसार निर्माण गर्ने प्रयास गर्न सक्छौं।

Top